Sunday, June 17, 2012

बाँचेकै छन् उनीहरु



यो जीवन अल्झिँदै जानेछ, व्यथाहरु बल्झिँदै जानेछ
भीडहरु भैकन यहाँ एक्लै एक्लै हिड्नेहरु, 
साथहरु भेटिदै जानेछ सपना पुरा हुनेछ ।

कलेज लाइफमा एकपल्ट कवि भइदिनु कसका लागि नौलो होला । कुनै समय थियो जसलाई मैले आफैलाई सान्त्वना दिन गीत लेख्ने प्रयास गरेको थिए । उपरोक्त पंक्ति तिनै २१ वर्षअघिका लेखोटका अंश हुन् । यसका मुखडा मनभरि एउटा लयमा फिरन्ते बनिरहन्छ । लण्डनमा पढ्न बसेको मेरो एउटा आफन्त भाइले गत मार्च २० तारिख मृत्यु रोज्यो । मैले त्यो घटना बारे यसअघि पनि लेखिसकेको छु
 
उ धेरैपटक अनलाइन भेटिन्थ्यो । फेसबुकमा तस्बिरहरु ट्याग गरेर प्रतिक्रिया मागिरहन्थ्यो । केहीमा लेख्थें, केहीका ट्याग म रिमुभ गरिरहन्थे । च्याटमा भिजिबल बस्न छाड्नुका कारण ऊजस्ता झण्डै आधा दर्जन आफन्त र साथीहरू हुन् । जसले अनलाइन देख्यो कि बोलाउथे, अनि व्यक्तिगत, पारिवारिकहुँदै देशको राजनीतिक हालखबर सोध्थे/सोध्छन् । जवाफ नदिए आफूलाई के सोच्लान् भन्ने अप्ठ्यारो, जवाफ दिदै गए समय खेर जानुका साथै मुड अन्तै गएर आफ्ना दैनिक काममा असर पर्ने पिरलो । अनलाइन बस्न छाडेपनि फेसबुके सन्देश बाकसहुँदै आग्रह, आदेश र गुनासा आउजाउ गरिरहन्थे । सुवास (फेसबुक नेम भण्डारीजी) ले आत्महत्या गरेपछि धेरै अफलाइन बस्दा आफैले गल्ति पो गरिएछ कि भन्ने भइरहेको छ ।
 
सुवास अनलाइन अब भेटिदैन । म जति 'अनलाइन' बसेपनि अब सदाका लागि उ 'अफलाइन' भयो भन्ने थाहा छ । तैपनि बेला बेला मन एकाहोरिन्छ । आत्महत्याको सोच आउनेहरुलाई सहारा चाहिन्छ । अन्तरंग कुरा गर्ने विश्वासिलो साथ  चाहिन्छ । कुनै शारीरिक विकार छैन । शरीरका सबै अंग सद्दे छन् । पढालेखा र करिअरप्रति सचेत मान्छेहरू । छदाखादाको जीवनलाई किन मान्छे अनाहकमा त्याग्छन् - यो प्रश्न भिन्न परिस्थितिहरूमा आफैमा जटिल छ । इच्छा भयो 'यस्ताको खोजी गरौ, जसलाई आशले ज्यूदो राखेको छ । 

सपांग र सजिला अपांगभन्दा भिन्न जीवन बाँचेर पनि जो आफन्तका बीच छन् । उनीहरूलाई आत्महत्याका सपना देख्न बन्देज भएजस्तो ।' असजिला शारीरिक अवस्थामा पनि उनीहरूको मुहारमा मुस्कान छ । नियतिका क्रुरतालाई सामान्य ठानेर बाँचेका छन् । साँच्चै त्यस्ता मान्छेहरू के गर्दैछन् ? मलाई अफिसबाट बाहिर निस्कन मन लाग्यो । गाउँ गएर त्यस्ता घर चिहाउन मन लाग्यो । म विराटनगरबाट बाहिर एक्लै बाइकमा निस्किएँ । अनि यो यात्रा एक साता चल्यो । यो अवधिमा मैले भेटेका मान्छेहरूका कथा फरक थिए । 
०००

मोरङको रंगेली-८ को आमतोला चोकमा झुप्राको सानो पसल। दाउरे चुलोको धुआँले आगन्तुकका आँखा पोल्छन्। छेवैमा बसेको भुसतीघ्रे देखिने किशोरलाई भने कुनै फरक पारेको छैन। उसलाई आगन्तुकप्रति पनि कुनै चासो छैन। 'किन यस्तो, यो भाइ को हो ?' मेरो सोधाइमा पसलेले भने 'मेरो छोरा हो। यो यस्तै छ। आफैं केही गर्न सक्दैन।' 


पसले नारायण मण्डलका १४ वर्षे छोरा सुरज सामान्य किशोरहरुभन्दा केही फरक रहेछन्। शरिर आफैं अड्याउन, हातगोडा सजिलै चलाउन नसक्ने। उभ्याइदिए उनलाई कतै अडेस लाग्नैपर्ने। 'हामी गाउँलेको घर, पहिलो सन्तान छोरो जन्म्यो, खुशीको सीमै थिएन,' मण्डलले सुनाए 'तर, बच्चा रोएन। एक हप्तासम्म आमाको दूध पनि चुसेन।' त्यसपछि लगातार उपचारका लागि भौतारिएका उनको दौडाहा एक दशकभन्दा बढी चल्यो। अहिले दुइ वर्षयता कतै पनि जान छाडेका रहेछन्। बोल्दा-बोल्दै आँखा रसाए,  भक्कानिए 'हामी आमा-बाउको सास रहुञ्जेल होला। पछि यसलाई कसले हेर्छ भन्ने चिन्ता लाग्छ।' सुरजका साना भइ र बैनी त्यस्ता छैनन्। तर, उनीहरू दाजुलाई औधी माया गर्छन्।

घरनजिकै स्कुल छ। अहिले सुरज ह्वील चियरमा बसेर स्कुल जान मन पराउँछन्। यद्यपि समान्यसरह पढ्न सक्ने अवस्थामा छैनन्। बोली स्पष्ट छैन। आमा-बुवा र भाइबैनी बुझाउनेबाहेक थोरैबाहेक शब्द उच्चारण उनीबाट हुँदैन। तस्बिर लिन खोज्दा पसलमा राखेको भुसको एउटा बोरा लड्यो। सुरज जोडसँग हाँसे। उनको मुन्टो थोरै बाँया बटारिएझै देखियो।
०००
सोराभाग गाविस-९ मा इँटाभट्टाछेउको सानो झुप्रो बस्ती। ग्वालीजस्ता लाग्ने छाप्रोभित्र एउटा युवक डोरीको खाटमा डल्लो परेर बसेका छन्। छेवैमा भुइमा केश सेतै भएकी वृद्धा छिन्। थोरै कुराकानीपछि तस्बिर खिचिदिँदा मुहारमा मुस्कान दौडियो, जोडले हाँसे। टाउको र हातगोडा अझ बटारिए झैं देखियो। यी २४ वर्षका महेन्द्र कर्मकार लोहार रहेछन्। वृद्धा उनकी आमा बिन्दा।

'के गर्नु यो यस्तै छ, यसलाई यसरी नै राख्छु, उनले भनिन् 'आमा हुँ नि । यसलाई दिशापिसाप आएको थाहा पाउछु । ढिलो भए फोहोर पारिहाल्छ ।' २ कक्षामा पढ्दै गर्दा एक दिन महेन्द्रले स्कुलबाट फर्केर 'टाउको दुख्यो' भने । विरामी परे । औषधि खुवाइयो । उनले भुँडी पनि दुख्यो भने । धामीझाक्रीका झारफुकबाट सुरु गरिएको उपचारले सञ्चो गरेन । डाक्टरी उपचारका लागि रंगेली लगियो । घर फर्किएपछि उनको जीउ बटारिए झै भयो । अघिल्लो दिनसम्म दौडदै र बोल्दै गरेका उनी अझ असक्त भए । विराटनगर लगियो । 'अस्पतालमा यसलाई सेतो मच्छडले टोकेको छ भन्थ्यो, त्यसपछिदेखि यो यस्तै छ । यसलाई मैले नै हेर्दै आएकी छु', बिन्दाले भनिन् ।
 

बोल्न सक्दैन, केही आफै गर्न सक्दैन ।' महेन्द्रका पिता ट्युवेल गाड्ने काम गर्छन् । घरमा माता-पिता, भाइ र बुहारी छन् । सबैले भ्याएसम्म उनको ध्यान राखेका छन् । आमा भन्छिन् 'कहिलेसम्म हो थाहा छैन । तर, हाम्रो जीउ रहेसम्म त यसको ख्याल गर्नैपर्‍यो ।' बिन्दाले महेन्द्रको परिचय कार्ड देखाइन । रातो कार्ड दिइएका उनले मासिक अपांग भत्ता पाउने रहेछन् ।

सोराभाग गाविसकै कर्सियाको चोकबाट करीव डेढ किलोमिटर उत्तर पुगियो । एउटा घरमा महेन्द्रभन्दा केही फरक युवक गोठमा डल्लो परेझै टुक्रुक्क बसेका थिए । देखिने १४ वर्षे गोवर्धन कर्मकार भात खाइरहेका भेटिए । आँगनमा धानको बिस्कुन थियो । त्यो बिस्कुन खान आउने चरा तर्साउन एउटा डालोलाई सानो छडीको टेको लगाइएको थियो । छडी बाधेको डोरीको एउटा फेर गोवर्धनले च्यापेर बसेका थिए । मैले उनका अभिभावकको खोजी गरेँ । उनीहरू निकै पर खेतमा मुसुरो उखेल्ने धमाधममा थिए । 

घरबाट निस्किएर खेतमा पुगेपछि मैले कुरा गर्न चाहें । 'यसलाई बेला-बेला मिर्गी (छारे रोग) ले भेट्छ, त्यो बेला बेहोस हुन्छ,' पिता लालचन्दले भने, 'हेर्न ढिला भो भने गु-मुत एकै ठाउँ । कति हेर्ने, कहिलेसम्म हेर्ने, बडो पीर लाग्छ ।' महेन्द्रका बोरमा नारायणले बताएका थिए । अनि गोवर्धनका बारेमा उनकै दिदीले । महेन्द्रको घरमा कुरा गरेपछि छिमेकमा बस्ने दिदीले आफ्नो भाइका अवस्था र भेटिने ठेगाना बताएपछि म खोज्दै त्यहाँ पुगेको थिएँ । 
०००
तीन जनालाई भेटेपछि उनीहरूका लागि काम गर्नेको बारेमा जान्न मन लाग्यो । उनीहरूका परिवारले  नै विराटनगरको सिंघिया खोला किनारमा अवस्थित समुदायमा आधारीत पुनस्थापना (सीबीआर) नामक संस्थाका बारेमा जानकारी दिएका थिए । 

दोस्रो दिन म सीबीआर पुगें । त्यो संस्थाले एक दशकदेखि यस्ता बालबालिकाका लागि काम गरिरहेको रहेछ । त्यहाँ कृत्रिम हातखुट्टा बनाउने काममा सक्रिय लव कोइराला भेटिए । 'तपाइले भेट्दै हिड्नु भएको केसलाई हामी मस्तिष्क पक्षघात भन्छौ,छोटकारीमा सीपी,' उनले भने, 'अपांगतामा यो सबैभन्दा जटिल अवस्था हो । परिवारले हेरेन भने त्यस्ता बच्चा बाँच्न कठीन हुन्छ ।' सन् २०१० र ११ का दुइ वर्षमा सीबीआरका सम्पर्कमा आएका मस्तिष्क पक्षघात पीडितको संख्या ५ सय ३६ रहेको तथ्यांक कोइरालाले दिए । यिनमा १९७ जना छोरीहरु र अन्य छोराहरू रहेछन् ।

कोइरालाले विराटनगर-५ जामुनगाछीको एउटा घरमा पुर्‍याए । ह्वील चियरमा बसेका २८ वर्षे रवि तुलाधर फेसबुक र ट्वीटर खोलेर चलाइरहेका थिए । एउटा हातको भर । खुशी भए वा केही बोल्न परे उनको मुन्टो धेरैपटक भट्का दिएजसरी बाँया फन्को मार्न खोज्थ्यो । एउटा साँझ भएको भेटले रविलाई मेरो फेसबुके साथी बनाउन पाएँ ।

'हामीले धेरै प्रयास गर्‍यौ उपचारका लागि,' रविका पिता जंगमानले भने, 'अहिले यो यतिसम्म भएको छ । काम चल्ने गरि आफ्ना कुरा बताउन सक्छ ।' पेशाले बिजुलीका सामानका मिस्त्री जंगमान र श्रीमति सूनीताले छोरालाई रुचीअनुसारको वातावरण दिने प्रयास गरेका रहेछन् । कम्प्युटर घरमा आएपछि सिकेका रविलाई भाइ-बैनीले सघाए । वर्डप्रेसमा ब्लग पनि बनाएर लेख्ने-खेल्ने प्रयास थालेका उनलाई तस्बिर संग्रह, फोटोसपबाट रंगहरुको मिश्रण गर्न रुची लाग्दो रहेछ । सीबीआरको अर्थो वर्कसपका इन्चार्ज कोइरालाले भने 'मस्तिष्क पक्षघातका धेरै नाजुक अवस्थामध्ये रविको केस हामी धेरै प्रगति भएकोमध्ये मान्छौ ।' उनका अनुसार रवि यस्ता केसमा प्रगति भएका नमूनामध्येका हुन् । उनको मुहार हँसिलो छ । उनी रमाइला रहेछन् । 
०००
अपांगका हितमा खोलिएका संस्थामा सीपी भएका बालबालिकाका बारेमा केही जानकारी हुन सक्छ भन्ने लागेर म अपांग राष्ट्रिय महासंघको विराटनगर जनपथटोलस्थित अफिसमा पुगे । त्यहाँ भेटिएकाहरूले सीपीमात्रै छुट्याएर तथ्यांक अद्यावधिक नभएको बताए । बरु धेरै जानकारी नजिकबाट दिनसक्ने एक जनाको मोबाइल उनीहरूले मलाइ दिए ।

फोन गर्दा गीता खवासले भनिन् 'पिचरा आउनुस् । अनि भेट होला ।' मोरङको नेमुवाकी खवास मस्तिष्क पक्षघातका पीडितलाई फिजियोथेरापी गराउने गर्दीरहिछन्  । उनले गराउने विशेष प्रकार व्यायामले त्यस्ता बालबालिकालाई सुधार भइरहेका उदाहरणहरू छन् । मैले खवासलाई भेटेर त्यो दिनभरि उनी जाने केही घरहरूमा पुगें । र, थेरापी हेरें । अनि अभिभावकहरूसग कुरा गरें ।
 
पाँच वर्षदेखि यो काममा खटिरहेकी खवासका सम्पर्कमा उपमहानगरभित्र र हातिमुडा र नेमुवा गाविसमा गरि ६५ जना त्यस्ता बालबालिका रहेछन् । विराटनगरको बसपार्कछेउ डेरा बस्ने खोटाङ चिसापानीका राजन र गीता बस्नेतका चार वर्षीय पुत्र सीजन, पिचरा बस्ने संखुवासभा खादवारी-९ का विष्णु र सीता चौहानकी चार वर्षीया मेलिना र बसपार्कछेउका गणेश-कमला थापाका एक्ला १८ वर्षे छोरा रोजेशसँगै पिचरामा शान्ति महत्तोकी १५ वर्षीया छोरी संगीतालाई एकै दिन भेटियो । यिनमा सबैको कथा सुधारोन्मुख अवस्था अनि अभिभावकका प्रयास र मायासँग जोडिएका रहेछन् ।  बैशाखीमा आउजाउ गर्ने संगीता बोल्न सक्छिन् । लेख्न पनि सक्छिन् । स्थानीय बालकल्याण बिद्या मन्दिरमा ६ कक्षामा पढ्छिन् । ह्वीलचियरको सहारामा रहेका रोजेश बोल्छन् तर,  बिद्यालय जान पाएका छैनन् । उनका अभिभावक स्कुल पठाउन चाहन्छन् । अपांग महासंघको काम गर्राईमा सन्तुष्टी रहेनछ ।
 
त्यस्ता केटाकेटीलाई फिजियोथेरापी गराउने तालिम पाएकी खवासले आफू ललितपुरको धापाखेलस्थित सीपी सेन्टरका लागि काम गर्ने गरेको बताइन । कुनै समय सीबीआरमै काम गरेकी उनले सीपी सेन्टर ज्वाइन गरेकी रहछिन् । खवास भन्छिन् 'बुझेका आमा-बाउले नानीहरुको अवस्था सुधार्न प्रयास गरेका छन् । गाउँमा चाहि बिजोक भेटिन्छ ।' अपांगताको परिचयपत्र र भत्ताबाहेक यस्ता नानीहरुका लागि सरकारीतवरको विकल्प छैन । 'सीपीका धेरै स्टेजमध्ये सुधार गर्न सकिने अवस्था पनि हुन्छन्,' उनले भनिन् 'धेरै परिवारमा मेरो बच्चाको कस्तो अवस्था हो, के गर्नुपर्छ भन्ने जानकारी नभएको म भेट्छु ।' 

परिवारका सदस्य एउटा यो समस्याबाट पीडित हुँदा अन्यलाई मनोबैज्ञानिक उपचार चाहिएका अवस्था पनि भेटिने उनको अनुभव छ । सीपीका पाँच अवस्थामध्ये कोमा पनि एउटा रहेछ । कोमामा गएकाहरू हलचल गर्दैनन् । बोल्दैनन् । कुनै पनि प्रतिक्रिया दिदैनन् । तर, ती बाहेकका चार अवस्थामा बालबालिका बोल्ने भएपनि नबुझिने, सञ्चार संवाद असजिलो । 
 
खवास र कोइरालाले मलाई डा. ममता वर्मा भेट्न सुझाव दिए । उनले सीबीआर सञ्चालनमा निरन्तर सहयोग गरेकी रहछिन् । आफू महिलाको प्रसुतीसम्बन्धी केसहरू हेर्ने भएपनि उनलाई मस्तिष्क पक्षघातबारेमा धेरै जानकारी रहेछ ।
 
ललितपुरको सीपी सेन्टरलाई पनि उनले सहयोग गरेको कुरा थाहा भयो । त्यस्ता पीडितका लागि विराटनगरमा सेवा केन्द्र खोल्ने तरखर पनि सुरु भएको उनीसँगको भेटपछि थाहा भयो । त्यसका लागि कोठा डा. बर्माले नै उपलब्ध गराउन लागेकी रहिछन्  । डा. वर्माले भनिन् 'यस्तो केस एक हजार बर्थमा २/३ वटा हुन्छ । गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच, पोषिला खानेकुरा अनि बच्चालाई रोग प्रतिरोधक खोपहरु दिनु जरुरी छ भन्ने बुझे यो टर्न सक्छ ।' कुनै खास कारणले दिमागका आदेश शरीरका अंगहरूले मान्न नसक्ने अवस्थालाई नै यो पक्षघातको स्वरुप हुने उनले बताइन । 'यो भएपछि रिकभरीको चान्स अवस्था हेरेर हुन्छ,' उनले भनिन् 'धेरै बच्चाहरुले बेलैमा उपचार र फिजियोथेरापी पाएपछि सुधार भएका उदाहरण पनि छन् ।'

डा. वर्माका पति डा. नारायण कुमारले पनि यस्ता केसबारे प्रष्ट पारे । मस्तिष्क पक्षघात एउटा जटिल अवस्था भएपनि यो कसरी हुन्छ भन्नेमा उनीहरूका कुराले म प्रष्ट हुन सकिन । जन्मदै हुने यी विकार हुर्कदै गएर कुनै खास प्रकारका घटनाका कारण पनि हुन सक्ने रहेछ । तर, धेरै यसरी जटिल अवस्थामा पनि बाचेर जीवनको सपना साँचेका छन् । 


यी सबै भेट र कुराकानीपछि कान्तिपुर कोसेलीका लागि मैले लेखेको 'जीवन अल्झाउने आशा' गत शनिवार प्रकाशित पनि भएको छ । माथि उल्लेखति कुराका धेरै अंश मेरो कोसेलीको लेखोटमा छ । पत्रिकामा ब्लग जसरी लेख्न मिल्दैन । विषयका अवस्था हेरेर दैनिकी पठाउन पनि मिल्दैन । मैले अवस्थाका जटिलतालाई शब्दमा धेरै खिप्न सकिन भन्ने लागेको छ । छापिएपछि गुगलमा खोज्दा त्यस्ता उदाहरण धेरै रहेछन् । 

मेरो लेखाइमा यसमा देशभरका अवस्था समेटिन पाएको छैन । अझ धेरै ठाउँ घुमेर लेखोट तयार पार्न सकिन्थ्यो । त्यसो गरिएन । एउटा ठाउँबाट आएका उदाहरण अन्य ठाउका मजस्ता सञ्चारकर्मी साथीका लागि पनि विषय बन्न सक्लान् भन्न लागेको छ । प्रकाशित लेखोट पढेपछि केही मान्छेबाट इमेल, फोन र एसएमएसबाट प्रतिक्रिया पाएको छु । यस्ता कुरा पनि पठनीय हुने रहेछन् भन्ने ज्ञान मिलेको छ । नाजुक अवस्थामा पनि आखाहरूले जीवनको सपना देखिरहेका उदाहरण छन् । अनाहकमा आत्महत्या गर्नेहरूलाई घटना गराइहाल्ने सोच आउँदा त्यस्ता घरमा चिहाएर हेरे हुन्थ्यो जस्तो लागेको छ । सबैथोक भएर पनि सन्तुष्टहरू भेटिदैनन् । उनीहरूले महेन्द्र, सुरज र गोवर्धनजस्ताको घर पुगेर हेरे हुने रहेछ ।

No comments: