Wednesday, March 14, 2012

चड्कन


'पाँच बज्यो' मोबाइलको अलार्म चिच्यायो। 
उठेँ। उसको कोठाको ढोका खुलै थियो। उ थिएन। काउन्टरको केटो टेबलमै निदाएको थियो। बोलाएपछि उठ्यो। बिल तिरेँ। बिस्तारै तल झरेँ।
 
सोचें - 'रात गइ बात गइ, आउने हो कि।' तर, उ देखिएन। ड्राइभिङ सीटमा एउटा सेतो चिर्कटोमाथि चाबी थियो। त्यो कागज अलि पर सारेर बसेँ। स्टार्ट गरेँ। डम्म कुहिरो छ। गाडी बिस्तारै अघि बढाएँ।

रातको बातले मगजमा फन्को मार्‍यो। एक्लै फत्फताएँ - 'रामबहादुरले के गरेको त्यस्तो ? यतिका वर्षको विश्वास एकै झ्वाँकमा भत्कायो। मत्थु मोरो।' 

'सरको ड्राइभर झगडा गर्दैछ' भन्दै राती ११ बजे वेटरले उठाएपछि मेरो पारो तातेको थियो। काउन्टरमा उ लठ्ठ थियो। होटल मालिक्नीले उसको सटको कलर समातेकी थिइ। दुवै तँतँ मम गर्दै अपशब्द बोलिरहेका। छुट्याउन एक चड्कन लगाएँ।
 
'सर पनि कुरै नबुझी...' भन्दै ऊ रोएको थियो।
 
दिउँसै भनेथें - 'रक्सी नखाउ है। ५ बजे नै फर्कनु पर्छ।' 
रेडियोको रिपिटर टावर राख्न डाँडामा ठाउँ छनोट गर्ने काम। जडान थाल्ने जोहो गर्न बिहान ७ बजे नै विराटनगरबाट काठमाडौं उड्नु थियो। 

***
भेडेटार-धरानको १६ किलोमिटर नागबेली घुम्तीमा ओह्रालो असजिलो लाग्छ। ब्रेकबाट खुट्टा हटाउनै मिल्दैन। सोच्छु -'छिटो कुदाएर केही जित्नु छैन-बिस्तारै गए अवश्य पुगिन्छ।' एक्लै बोलें -'ब्रेक अलि लुज भएछ कि क्या हो ! यस्तो गाडी कसरी कुदाउँछ रामबहादुर ?' 

ध्यान त्यो अघिको सेतो चिर्कटोमा पुग्यो। उठाएँ। उसले लेखेको रहेछ।
 
सर, 
त्यस्तो चिसो कोठामा सिरक थिएन। सोध्न झरेको थिएँ। होटल मालिक्नीले मनपरी बोली। पैसा तिरेरै बसेको हो, कसरी सहने ? मैले पनि जवाफ दिएँ। भनाभन भयो। उसले हात हाली। अनि तपाइँले आएर कुरै नबुझी मलाई चड्काउनु भो।

धेरै रीस उठेको थियो। त्यही झोँकमा मैले दुवै ब्रेक खोलेर पुर्जा छुट्याएँ। टुल बक्ससँगै डाँडाबाट हुर्‍याइदिएँ। पछि मलाई गल्ती गरेँ भन्ने चेत भयो। अनि खोजेँ, भेटिँन। सर, गाडी नचलाउनु होला। अरु कुनै रिजर्भ लिएर जानुहोला। म मर्मत गरेर दिउँसो लिएर फर्कन्छु। मलाई माफ गर्नुहोला। 
हजूरको आज्ञाकारी 
रामबहादुर 

***
(लघुकथा) 

No comments: