-'तिमीले चरा देखेनौ ?'
- 'अहँ, खोइ कहाँ छ चरा ?'
सेतो रंगको पर्खाल, तार जेलिएका बिजुलीका खाबा, सुर्यास्त सांकेतिक पहेलो आकाश खिचेको उसको लो एंगल तस्बिरलाई धेरैबेर हेरिरहेँ । उ त्यसमा चरा खोज्न आग्रह गरिरहेको थियो । म चराका कुनै आकृति ठम्याउन सकिरहेको थिइँन ।
धेरैबेर कुनै भित्तो हेरिरहे, उक्किएका रंग, चर्किएका धर्का र झिँगाले बिष्ट्याएका दागहरु आकृति देखिन्छन् । तर, न म एकोहोरिन सकिनँ वा ऊ मलाई उल्लु बनाउन उद्दत थियो । ठम्याउन सकिएन । मनोविज्ञानको 'अब्सेसन कम्पल्सन' को पाठ मगजमा घुम्यो । त्यसमा थियो 'यो रोगी उसले सोचेजस्तै भएको ठान्छ । गुडिरहेको गाडी पल्टिन्छ जस्तो, सोचेजस्तो आकृति देखेजस्तो । मात्रा बढ्दै गए उ डराएरै मर्न पनि सक्छ । त्यस्तालाई उसका कुरा प्रतिवाद होइन समर्थन गर्दै सहानुभूतिको उपचार थाल्नुपर्छ ।' मनले भन्यो 'ऊ मनोरोगी हुनसक्दैन, उ दर्शनको छात्र पनि त होइन । उसले झुक्याउन सक्दैन । कारण, उ फोटोग्राफर, जे खिच्छ, त्यही पस्कन्छ । जस्ताको तस्तै ।'
उसको पोस्ट मुन्तिर दिनेभए सोझै प्रतिक्रिया, 'लाइक' को अप्सन थिएन । शिर्षक थियो -'आकाश र चरा ।' एकले 'तस्बिर मन पर्यो', दोस्रोले 'क्या दामी' लेखेका, मैले 'खोइ, चरा त देखिन है ।'
फोटोब्लगमा उसका पाना किन हेरिएछ ? हेरेपनि प्रतिक्रियामा किन हतार ? भित्रभित्रै छटपटी भयो । ऊ म्यासेन्टरको च्याटमा अनलाइन, बारम्बार चरा खोज्न आग्रह गरिरहेको थियो । सबै सोधाइमा मैले सुरुकै प्रतिक्रिया दोहोर्याइरहेँ । डर थियो, देखे भन्दिदा कहाँ छ लौ देखा भन्ला । हो, उसका तस्बिरमा चरा थिएनन् । 'सीआरटी मनिटर' मा करीव आधा घण्टा चराको खोजी गर्दा मेरा आँखा टट्टाएका थिए ।
उसले संवाद अन्त्यको संकेत गर्यो 'तँ आजबाट मेरो साथी होइन । म तँलाइ मेरो मित्रसूचीबाट हटाउँदैछु ।' अफलाइन भयो । इ-मेल आयो । उसको थियो 'हो, तस्बिरमा वास्तवमै चरा छैन । तर, के चरा भौतिक रुपमै देखिनुपर्छ ? तस्बिरले समेटेको क्षितिजमा म अनगिन्ती चराहरु गुँड फर्किरहेको देख्छु । म जसरी नदेख्नेलाई मेरो साथी हुने अधिकार छैन ।' (लघुकथा)
No comments:
Post a Comment