गत बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाह भविष्य पुराणका अतिथि भएर सुनसरीको झुम्का पुगे। बुद्ध एयरको एटीआर-७२ विमानबाट विराटनगर विमानस्थल ओर्लदा उनको धेरै वर्ष पहिलेजस्तो तस्बिर लिन समस्या थिएन। पत्रिकाले छाप्ने ग्यारेन्टी थिएन, तापनि विराटनगरसँग जोडिने भएकाले उनको तस्बिर खिचिराख्दा घाटा हुने देखिएन।
त्यसैले म विमानस्थल पुगेको थिएँ। पुग्दा म दोस्रो सञ्चारकर्मी भएँ। झापाली टेलिभिजन हिमशिखरका संवाददाता भाइ यज्ञ मात्र एकजना पुगेका थिए। बिस्तारै साथीहरुको संख्या थपियो। संख्या थपिनुको अर्को कारण रहेछ एसएमएस। पत्रकार महासंघ शाखाका कार्यालय सचिव दीपक भाइले अवतरणको आधा घण्टाअघि राप्रपा नेपालले विमानस्थलमा गरेको निम्तोको एसएमएस सन्देश पठाएका थिए। मैले त्यो सन्देश विमानस्थलमै हेरेँ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मी साथीहरुले कहिलेकाही गजब गर्छन्। कोही चढ्न-उत्रन नभ्याउदै पुग्छन्। यो आयो, उ गयो, यसले ख्वाक्क गरो, उसले प्वाक्क लाग्ने बोल्यो। फलानो चुप लाग्यो। फलानोले हुंकार र चिलानोले डकार गर्यो। अनि तातो-तातो समाचार बनाउँछन्। मलाई अघोषित एयरपोर्ट सञ्चार क्लबको उति चासो रहन्न। जानैपर्ने गतिलो कारण भएमात्रै पुगिन्छ।
०००
यसपटक मलाइ हेर्नु थियो, माघ १९ को 'कु' पछि पूर्वाञ्चलवासीका तर्फबाट राजारानीलाई अभिनन्दन भन्दै आएका बेला ज्ञानेन्द्रको तस्बिर लिन हम्मे परेको थियो। उनी कोसीअञ्चल अस्पताल पसेका थिए। म तस्बिर लिन भित्र जान खोजेको शरद चन्द नामका डीएसपीले 'भाइले नेपाली टोली लगाउनु भएको छैन । भित्र जान मिल्दैन' भनेर पस्नै दिएनन्।
अस्पतालको मुल गेटबाट हाडजोर्नी विभागको गेटको दूरि झण्डै पाँच सय मिटर। बाटामा सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको थियो। सुरक्षाकर्मीलाई परिचयपत्र देखाउदै, अनुरोध गर्दै बल्ल पुगियो। त्यो गेटमा सइ मोहन बोगटी भेटिए। उनलाई मैले तीन वर्षअघि चिनेको थिएँ। परिचय राम्रै थियो। उनलाई समस्या बताएपछि चोर जसरी भीडबाट लुसुक्क पस्न सिकाए। त्यसै गरियो । भित्र पसेर तस्बिर लिन सक्दा युद्ध जिते बराबर भएको थियो।
ज्ञानेन्द्र गेटबाहिर उनको सवारीमा बसेनन्। लुरुलुरु हिडे, मानौँ चुनाव प्रचारमा भोट माग्न आएका नेता हुन्। त्यसबेला बाटामा फोटो लिन पनि हम्मे पर्यो। सेनाले छेकेको छेकेकै। लिइयो, समाचार पनि लेखियो 'राजा सडकमा' भनेर।
०००
दोस्रोपटक गत वर्ष गणेश पूजामा उनी आउँदा अघिल्लोपटक जस्तो सकस भएन। बरु असारे झरीको बेला थियो। मेरो क्यामेरा बिग्रेको थियो। एक जना साथीको मागेर काम चलाइयो। झरीमा आफू भिज्दा क्यामेरा चाहिँ केही नहोस् भन्ने चिन्ता थियो।
कृष्णजन्माष्टमीका भोलिपल्ट रथमा मूर्ति राखेर नगर घुमाइने चलन विराटनगरको ठूलो सार्वजनिक पर्व मानिन्छ। यो ६ दसक पुरानो चलन अझै निरन्तर छ। यसबेला विराटनगरमा धेरै भीड हुन्छ। यस्तै कुनै रथयात्राका बेला रथ तान्ने र हेर्नका लागि बाटामा पानी र सर्बत वितरण गर्ने एउटा जमातको चित्त बुझेन। रथयात्रा आयोजकसँग मनमुटाव भएछ। त्यसपछि उनीहरुले पनि त्यस्तै अर्को कार्यक्रम डिजाइन गरे। यही हो गणेश चौथीमा गणेशको मूर्ति राखेर पूजा गर्ने चलन।
राधाकृष्ण रथयात्रा पोखरियास्थित मन्दिरबाट सुरु हुन्छ। गणेशपूजा बजारस्थित सरस्वती हाइस्कुल परिसरमा। गणेश पूजाका लागि सक्रिय हुने जमातका केही प्रभावशाली राप्रपानजिकका छन्। त्यसैले ज्ञानेन्द्र आउने चाँजो मिलेको थियो।
जे होस् गणतन्त्र घोषणापछि ज्ञानेन्द्र घुमफिर गर्दा तस्बिर लिन समस्या छैन। तैपनि उनको तस्बिर लिनसक्नु आफैंमा सजिलो हुँदैन। उनको सुरक्षा घेरा। प्रहरीको आवश्यकताभन्दा बढी नै सतर्कताको बनावटी पारा। त्यसबेला तस्बिर लिइयो। अघिल्लोपटकजस्तो समाचार लेख्न अघि सरिएन। मलाई कभरेज शैलीको भान थियो। पेपरले महत्त्व दिँदैन वा कम महत्त्वको समाचारको श्रेणीमा राख्छ। त्यसैले अघि सर्न उचित भएन।
०००
यसपटक झुम्कामा भविष्य महापुराणका अतिथि भएर आएका ज्ञानेन्द्र विमानस्थलबाट करिब दुई सय मिटर पैदल हिँडे। आप्ना लागि शुभेच्छुकले लगाएका नारा सुने। अनि झुम्का गए।
फिरेर आएपछि पत्रकार भेटघाट भनिएको होटल रत्नामा हामीलाई बोलाइएको थियो । गइयो, उनका संक्षिप्त कुरा सुनियो। उनी केही गलेकाजस्ता देखिए। उनले देशभक्तिका कुरा गरे। गर्नै नपाइने भने होइन। तर, ',,, दैला देख्यो'को उखान सम्झना हुन्छ। समय बित्यो।
उनका तस्बिर खिचियो। यसपटक ज्ञानेन्द्रका तस्बिर खिच्नु प्रचण्डभन्दा सजिलो देखियो। बेला-बेला प्रचण्डका सुरक्षामा खटिएकाहरुले नजिक जान रोक्छन्। खिच्न खोज्दा अघि आइदिन्छन्। परिदृश्य कसरी फेरिँदो रहेछ भन्ने तस्बिर हेरेर सोच्छु।

No comments:
Post a Comment