उपमहानगरभित्रको एउटा पुनःस्थापना केन्द्रमा यस्तो लत छुटाउन बसेका दुई किसोर अब फेरि स्कुल फर्किएका छन्। आजित भएका अभिभावकले उनीहरुलाई केन्द्रमा भर्ना गराएका थिए। एक अभिभावक भन्छन्, 'हामीले पनि बेला बेला उसको बानीबेहोरा र पढाइबारे स्कुलमा सोधिरहने गरेको भए शायद यस्तो हुन्थेन।' राम्रो स्कुलमा भर्ना गरियो भनेर ढुक्क पर्नु र दैनिक कामको व्यस्तताले सोधखोजीको समय निकाल्न नसक्नु आफूहरुको कमजोरी भएको उनले अहिले बुझेका छन्। भन्छन्, 'छोराछोरी कसरी पढ्दैछन्, उनीहरुबारेमा कक्षाका शिक्षक के भन्छन् भन्ने पनि सोध्ने गर्नुपर्दो रहेछ।'
उपमहानगरको ट्राफिकचोकस्थित एउटा गल्लीभित्रको चिया पसलमा चियासँगै स्कुले पोसाकमा चुरोटको सर्को लिनेहरु देख्न गाह्रो छैन। तर, बढेका सन्तानको कुलत हटाउन अभिभावकलाई फुर्सदै नभएको शिक्षकहरुको बुझाइ छ। प्याव्सन मोरङका निवर्तमान अध्यक्ष राजेशकुमार दास भन्छन्, '९५ प्रतिशत अभिभावकलाई आफ्ना नानीहरु कसरी पढ्दैछन् भनेर सोध्न आउने फुर्सद नै हुँदैन। स्कुलले सबैका बोनीबेहोरा कन्ट्रोल गरेर कहाँ सक्छ !'
दास संसारीमाइस्थानस्थित निजी विद्यालय कोशी विद्या मन्दिरका सञ्चालक शिक्षक पनि हुन्। उनको अनुभवमा किसोर-किसोरीका अनपेक्षित व्यवहार बारे सल्लाह गर्न बोलाउँदा अभिभावक झट्ट आउँदैनन्। सन्तान भर्ना गर्दाका बसाइका ठेगाना र मोबाइल नम्बर फेरिएको जानकारी नदिने र स्कुलले बेलाबखत सचेत गराएका कुरामा नानीहरुलाई अनावश्यक 'प्रेसर' हुन्छ होला भन्ने ठानेर छुट दिनहरुका छोराछोरी कुलतमा जाने उनको भनाइ छ। भन्छन्, 'सजिलो छ, बेलाबेला स्कुल जाने, उनीहरुको पढाइ कस्तो छ भनेर सोधिदिने गरेमात्रै पनि क्लास टिचर पनि सचेत हुन्छन्।'
दासका अनुभवमा अधिकांश निजी विद्यालयमा यसरी सोध्न जाने अभिभावकको संख्या निकै न्यून छ। सामुदायिक विद्यालयमा अझ अभिभावकको चासो कम छ। उपमहानगरको २० नम्बर वडास्थित मिल्स माविका प्रधानाध्यापक दीनेश श्रेष्ठ भन्छन्, 'पढाउने तरिका फेरिएको छ। सजाय दिनै हुँदैन, बालमैत्री पढाइ-वातावरणमा ध्यान दिनुपर्छ।' विद्यालयमा बालमनोविज्ञानलाई ध्यान दिइनेसम्म ठीक भएपनि घरमै सुधार आवश्यक भएको उनको बुझाइ छ।
'सोध्न आउने आमा-बाबुले छोराछोरीका पढाइ र आचरणबारे थाहा पाउन सक्छन्, सुधारको सुझाव पनि पाउन सक्छन्,' उनले भने, 'तर, सोध्नुपर्छ भन्ने हेक्का निकै थोरै आमाबाबुलाई छ। सयमा एक-दुई जनालाई ।' १२६४ जना विद्यार्थी रहेको मिल्स माविमा १४ वर्षदेखि प्रअको जिम्मेवारीमा रहेका उनले आफू आएकै महिना विद्यार्थीकै छुरा प्रहारबाट सहपाठी मारिएको घटना देखेका थिए। 'परिस्थिति केही फेरिएको छ। तर, किसोरावस्था जिज्ञासू हुने उमेर हो,' उनी भन्छन् 'स्कुलले आफ्नो जिम्मेवारी पुरा गरेको छ कि छैन भनेर पनि अभिभावक भेट्न आउने गरे केही बिग्रँदैन।'
लागूऔषध प्रयोगकर्तालाई सुधारका तरिका सिकाउँदै आएका रिचमण्ड फेलोसिपका परामर्शदाता सुनील थापाका अनुसार ८ कक्षादेखि प्लस टूसम्मकाहरुको आनीबानीमा अभिभावकले ध्यान पुर्याउन जरुरी छ। 'धुम्रपान सिक्ने अनि राम्रा-नराम्रा बानीको सिको गर्ने बेला यहीभित्र पर्छ,' उनी भन्छन् 'धेरैपल्ट केस जटिल भएपछि म भेट्छु। कतिलाई रिह्याभमा राख्नैपर्ने भएको हुन्छ।'
गत वैशाख अन्तिम सातादेखि सरकारले ल्याएको सूर्तीजन्य पदार्थ नियन्त्रण ऐनले नाबालकलाई आकर्षण गर्ने कुनै शब्द, चिन्ह राख्न नपाइने र १८ वर्ष नपुगेकासगै गर्भवतीलाई यस्ता पदार्थ बेच्न नपाइने भनेको छ। ट्रफिकचोकस्थित पान पसल दुर्गा कोल्ड स्टोरका सञ्चालक नरेश सिंह भन्छन्, 'ऐनले भनेका कुरा हामीलाई चुरोट कम्पनीले भेला बोलाएर बताएपछि थाहा भयो। म त साना केटाकेटीलाई बेच्तिन।' तर, सबै पसले सिंहजस्तै ऐनले गरेको बन्देज थाहा पाउनेहरु छैनन्।
परामर्शदाता थापाका भनाइमा अभिभावकले चुरोट-खैनी किन्न नपठाउने र नानीहरुले लुकीछिपी खाएको थाहा पाए उनीहरुलाई रोक्न ध्यान दिए समस्या जटिल हुँदैन।
***
(१७ फागुन बुधबारको कान्तिपुर पूर्वाञ्चल संस्करण पानामा प्रकाशित)

No comments:
Post a Comment