Wednesday, February 29, 2012

'सर, मेरा छोरा-छोरी पढ्छन् ?'


विराटनगर- एकै सर्को धुआँ स्वाट्ट निलेर केही सेकेण्डपछि फुर्र उडाएको देख्ता कौतुहलता हुन्थ्यो । चलचित्रमा नायक होस् वा खलपात्र उनीहरुले चुरोट तान्ने स्टाइल आकर्षक लाग्ने । किसोरावस्थाको यही कौतुहलताले कहिलेकाही स्कुल बाहिर लुकीलुकी धुआँ निल्ने-ओकल्ने रहर बिस्तारै बानी भयो । यही बानी त्यसबेला महँगो भयो जब तलतल मेट्न ड्रग्सको बाटो सुरु भयो ।
        उपमहानगरभित्रको एउटा पुनस्थापना केन्द्रमा यस्तो लत छुटाउन बसेका दुइ किसोर अब फेरि स्कुल फर्किएका छन् । आजित भएका अभिभावकले उनीहरुलाई केन्द्रमा भर्ना गराएका थिए । एक अभिभावक भन्छन् 'हामीले पनि बेला बेला उसको बानीबेहोरा र पढाइबारे स्कुलमा सोधीरहने गरेको भए शायद यस्तो हुन्थेन ।' राम्रो स्कुलमा भर्ना गरियो भनेर ढुक्क पर्नु र दैनिक कामको व्यस्तताले सोधखोजीको समय निकाल्न नसक्नु आफुहरुको कमजोरी भएको उनले अहिले बुझेका छन् । भन्छन् 'छोराछोरी कसरी पढ्दैछन्, उनीहरुबारेमा कक्षाका शिक्षक के भन्छन् भन्ने पनि सोध्ने गर्नुपर्दो रहेछ ।' 
       उपमहानगरको ट्राफिकचोकस्थित एउटा गल्लीभित्रको चिया पसलमा चियासँगै स्कुले पोशाकमा चुरोटको सर्को  लिनेहरु देख्न गाह्रो छैन । तर, बढेका सन्तानको कुलत हटाउन अभिभावकलाई फुर्सदै नभएको शिक्षकहरुको बुझाइ छ । प्याव्सन मोरङका निवर्तमान अध्यक्ष राजेशकुमार दास भन्छन् '९५ प्रतिशत अभिभावकलाई आफ्ना नानीहरु कसरी पढ्दैछन् भनेर सोध्न आउने फुर्सद नै हुँदैन । स्कुलले सबैका बोनीबेहोरा कन्ट्रोल गरेर कहाँ सक्छ ' दास संसारीमाइस्थानस्थित कोशी बिद्या मन्दिरका सञ्चालक शिक्षक पनि हुन् । उनको अनुभवमा किसोर-किसोरीका अनपेक्षित व्यवहार बारे सल्लाह गर्न बोलाउदा अभिभावक झट्ट आउँदैनन् । सन्तान भर्ना गर्दाका बसाइँका ठेगाना र मोबाइल नम्बर फेरिएको जानकारी नदिने र स्कुलले बेलाबखत सचेत गराएका कुरामा नानीहरुलाई अनावश्यक 'प्रेसर' हुन्छ होला भन्ने ठानेर छुट दिनहरुका छोराछोरी कुलतमा जाने उनको भनाइ छ । भन्छन् 'सजिलो छ, बेलाबेला स्कुल जाने, उनीहरुको पढाइ कस्तो छ भनेर सोधिदिने गरेमात्रै पनि क्लास टिचर पनि सचेत हुन्छन् ।' 
   दासका अनुभवमा अधिकांश निजी विद्यालयमा यसरी सोध्न जाने अभिभावकको संख्या निकै न्युन छ । सामुदायिक बिद्यालयमा अझ अभिभावकको चासो कम छ । उपमहानगरको २० नम्बर वडास्थित मिल्स माविका प्रधानाध्यापक दीनेश श्रेष्ठ भन्छन् 'पढाउने तरिका फेरिएको छ । सजाय दिनै हुँदैन, बालमैत्री पढाइ-वातावरणमा ध्यान दिनुपर्छ ।' विद्यालयमा बालमनोविज्ञानलाई ध्यान दिइनेसम्म ठीक भएपनि घरमै सुधार आवश्यक भएको उनको बुझाइ छ । 'सोध्न आउने आमा-बाबुले छोराछोरीका पढाइ र आचरणबारे थाहा पाउन सक्छन्, सुधारको सुझाव पनि पाउन सक्छन्,' उनले भने, 'तर, सोध्नुपर्छ भन्ने हेक्का निकै थोरै आमाबाबुलाइ छ । सयमा एक-दुइजनालाई ।' १ हजार २ सय ६४ जना बिद्यार्थी रहेको मिल्समा १४ वर्षदेखि प्रअको जिम्मेवारी निर्वाह गर्दै रहेका उनले आफु आएकै महिना बिद्यार्थीकै छुरा प्रहारबाट सहपाठी मारिएको घटना देखेका थिए । 'परिस्थिति केही फेरिएको छ । तर, किसोरावस्था जिज्ञासू हुने उमेर हो,' उनी भन्छन् 'स्कुलले आफ्नो जिम्मेवारी पुरा गरेको छ कि छैन भनेर पनि अभिभावक भेट्न आउने गरे केही बिग्रँदैन ।' 
लागूऔषध प्रयोगकर्तालाई सुधारका तरिका सिकाउँदै आएका रिचमण्ड फेलोसिपका परामर्शदाता सुनील थापाका अनुसार ८ कक्षादेखि प्लस टूसम्मकाहरुको आनीबानीमा अभिभावकले ध्यान पुर्‍याउन जरुरी छ । 'धुम्रपान सिक्ने अनि राम्रा-नराम्रा बानीको सिको गर्ने बेला यहीभित्र पर्छ,' उनी भन्छन् 'धेरैपल्ट केस जटिल भएपछि म भेट्छु । कतिलाई रिह्याभमा राख्नैपर्ने भएको हुन्छ ।' 
     गत बैशाख अन्तिम सातादेखि सरकारले ल्याएको सूर्तीजन्य पदार्थ नियन्त्रण ऐनले नाबालकलाई आकर्षण गर्ने कुनै शब्द, चिन्ह राख्न नपाइने र १८ वर्ष नपुगेकासगै गर्भवतीलाई यस्ता पदार्थ बेच्न नपाइने भनेको छ । ट्रफिकचोकस्थित पान पसल दुर्गा कोल्ड स्टोरका सञ्चालक नरेश सिंह भन्छन् 'ऐनले भनेका कुरा हामीलाई चुरोट कम्पनीले भेला बोलाएर बताएपछि थाहा भयो । म त साना केटाकेटीलाई बेच्तिन ।' तर, सबै पसले सिंहजस्तै ऐनले गरेको बन्देज थाहा पाउनेहरु छैनन् । परामर्शदाता थापाका भनाइमा अभिभावकले चुरोट-खैनी किन्न नपठाउने र नानीहरुले लुकीछिपी खाएको थाहा पाए उनीहरुलाई रोक्न ध्यान दिए समस्या जटिल हुँदैन । 
(१७ फागुन बुधबारको कान्तिपुर पूर्वाञ्चल संस्करण पानामा प्रकाशित)

No comments: