राजधानी खाल्डोले देशको शासन मात्रै चलाउँदैन, स्रष्टा चन्द्र भण्डारीका शब्दमा साहित्यमा पनि यसले नाउँ चिनाउने मार्ग प्रशस्त गर्ने हैसियत राख्छ। जो त्यहाँ पुग्दैन, बस्दैन, उसले राष्ट्रिय चिनारी पाउन सक्दैन।
सेतै कपाल र सेतै फ्रेञ्चकट दाह्री भएका ५७ वर्षीय आचार्य आसनमा केहीबेर अलि छटपटिए। आफ्नाबारे भण्डारी र चूडामणि रेग्मीले बताइरहँदा उनी कलम झिकेर कविताका पानामा टिक लगाएजस्तो गर्थे। थोरै मुस्काउँथे। यी दुई वक्तापछि भने मञ्च पूरै उनको भागमा आयो। 'निरुत्तर' कविताबाट उनले यात्रा थाले। संयमित र आत्मविश्वासी देखिएका कवि बोले -
प्रजातन्त्र
यो बत्तीको सलेदो पनि
थोत्रो कपडाको धरो हालेको छु।
जंगल, गाउँबाट टाढा टाढा-हुँदै गयो
अँगेनामा, मकैका ढोड बालेको छु।
यो छानो पनि,
तारामण्डल भइसक्यो
तारामण्डल भइसक्यो
त्यसमा,
कतै जिन्दावाद कतै मुर्दावादले टालेको छु
कतै जिन्दावाद कतै मुर्दावादले टालेको छु
तिर्खा लाग्यो होला हजुरलाई
एक बटुको मोही ख्वाउन सक्तिनँ
गोठमा थारो प्रजातन्त्र पालेको छु....
झापाको गरामनि बस्ने आचार्य तेस्रो स्रष्टा हुन्, जसलाई नाटकघरले एकल वाचनको निम्तो दिएको हो। संयोजक खेम नेपालीका अनुसार कृष्णभूषण बल र गायिका ज्ञानु राणापछि आचार्यलाई बोलाइएको हो। एकल कार्यक्रमको अभ्यास थालेको नाटकघरले तेस्रो मेलोमा पनि मनग्गे दर्शकश्रोता पायो। झापा र पूर्वोत्तर मोरङबाट दुइटा बस रिजर्भ गरी स्रष्टाहरू आएका थिए। सुनसरी र मोरङका साहित्यप्रेमीको भेलाले पनि कविलाई हौस्यायो।
२४ कविता ठिक्क पारेका आचार्यले २० वटा आफैं वाचन गरे। उनकी जीवनसंगिनी शारदा, टंक विकल्प, अम्बिका कडरिया र खिलप्रसाद आचार्यले अरूमा उनलाई सघाए।
धरानस्थित ज्ञानचक्षुका कक्षा ९ का दृष्टिविहीन विद्यार्थी रमेश प्रसाईं कार्यक्रमका अर्का आकर्षण भए। उनले आचार्यको 'मेरा बा रंगलाल भन्नुहुन्छ' वाचन गरे। पाना लिएर पढी सुनाउने सहयोगी वाचकमध्ये उनले पाना लिएनन्। पढेनन्, सीधै फरर्र कविता वाचे।
दुलाको आदेश खुला पालना हुने यो मुलुकमा
घर र दरबारलाई काँडेतारले छेकेर के हुन्छ ?
यस परिवेशमा,
बा रंगलाल भन्नुहुन्छ
बा रंगलाल भन्नुहुन्छ
ए केशे, तैंले कविता लेखेर के हुन्छ ?
मुक्तक, कविता र गजलका संग्रहहरू प्रकाशित गरिसकेका आचार्यका दुई कृति अब बजारमा आउँदै छन्। २०३२ देखि निरन्तर लागिपरेका उनले झापाबाट 'जनआन्दोलन' साप्ताहिक, 'विश्वदीप' र 'माभनु' नामक दुई साहित्यक मासिकमा सम्पादनको काम गर्दै आएका छन्। कार्यक्रम सकेर उनले भने, 'यो मेरो पहिलो एकल कविता कार्यक्रम थियो, धन्न म नर्भस चाहिँ भइनँ।'
***
(प्रकाशित मिति: २०६८ फाल्गुन ११)

No comments:
Post a Comment