Saturday, February 25, 2012

मुर्मु थेरापी


गाउँमा जन्मेको शिशुको न्वारनका लागि बिजोर दिन छानियो । १, ३, ५ वा ७ यस्तै कुनै । टोलभरिका सबैलाई निम्तो । ठूलो भाडामा उसिना चामलको भात । धेरै घरमा सधै पाक्नेभन्दा पृथक स्वाद छ । परिकारको नाम- निमदामणि । कारण हो, निमको तीतो हुनु । निमका हरिया पात भुटेर पिसेपछि बनाइएको धूलो यसमा मिसाइएको छ । 'संस्कारको प्रसाद हो, सबैले खानै पर्छ, मोरङको रंगेली-८ आमतोलाका परमेश्वर मुर्मु भन्छन् 'हाम्रो यो परम्परागत खाना हो । यो यस्तै सांस्कृतिक विधिका दिनमात्रै पाक्छ । पेट सफा हुन्छ ।'
निमको परिचय धेरैलाई गराइरहनु पर्दैन । कारण, हरिया पात, साना दाना फल्ने यो वनस्पति गुणकारीमा पर्छ । अधिक जानकारी नराख्नेहरुलाई पनि थाहा हुन्छ, बेग्लै प्रकारको तीतो हुने नीमका हाँगा टुक्रा पारेर 'दतिवन' गरे मुख र दाँतका रोग हट्छ । पातलाई बालीमा रोगकीरा हटाउन ओखतीका रूपमा चलाइन्छ । यसले धेरै प्रकारका रोगमा ओखतीको काम गर्छ । इन्टरनेटमा सर्च गरे भेटिने वीकीपेडियाको पृष्ठमा लेखिएको छ- औषधीय गुण भएको नीमसँग धेरैका परम्परागत संस्कार जोडिएको छ । कतिलाई यो संस्कारमा नभइ नहुने वनस्पतिमध्ये पर्छ । सन् १९९५ मा यूरोपियन पेटेन्ट अफिसले 'एन्टी-फंगल' उत्पादनका लागि निमको पेटेन्ट अधिकार अमेरिकी कृषि विभाग र डब्ल्युआर ग्रीस एण्ड कम्पनीलाई दिएको थियो । तर, यसलाई भारतले चूनौती दिदै आफूकहाँ २००० वर्ष पहिलेदेखि प्रयोग हुँदै आएको दाबी गर्‍यो । पेटेन्ट अफिसले भारतलाई अग्राधिकार दिएपछि डब्ल्युआर ग्रीस असन्तुष्ट रहेको वीकीपेडियामा उल्लेख छ । कथा जैविक अधिकारका मामिला केलाउन लक्षित छैन । अब फर्कौं मुर्मुको गाउँमा । सतार परम्परालाई परिष्कृत गर्दै आएको परमेश्वरको परिवारको अभ्यास धेरैका लागि नौलो छ ।  
०००
भारत, विहारको बथनाहाका ३३ वर्षीय अजय हेमरम नसोचेको दुर्घटनामा परे । सधैं टेम्पोमा चालकसँगैको सीटमा उनलाई बस्न मन पर्थ्यो । घर फर्किरहेका बेला विपरीत दिशाबाट आएको टेम्पो जुध्यो । दुर्घटनामा उनको दाया तीघ्रामा दख्खल पर्‍यो । 'हाड नै भाँचिएछ, पटनामा उपचार गराउन पुगेँ,' उनी भन्छन्, 'तीघ्रामा स्टील त हालिदिए, बारम्बार फिजियोथेरापीको चक्कर छुटेन ।' उपचारका आठ महिनापछि पनि तंग्रिन नसक्दा उनी अहिले आमतोलाको मुर्मु उपचार केन्द्रमा छन् । चार वर्षको छोरा र श्रीमतिसहित उपचारमा बसेका उनी भन्छन्, 'यहाँ आएको अढाइ महिना भयो । अहिले बिसेक हुँदै आएको छ ।' 
बिरगंज-६ कुमाल टोलका ६० वर्षीय भक्ति गेलाल एक वर्षदेखि नसासम्बन्धी रोगले पीडामा छन् । भन्छन् 'बिरगंजमा मात्रै हो र, पटना-बनारससम्म उपचार लाउन पुगेँ । बीसको उन्नाइस भएन ।' हेर्दा सामान्य देखिने उनलाई बेला बेला हिड्न समस्या हुन्छ । गोडा चल्दैनन् । उनी रक्सौलको कस्टम कोलोनीमा सुरक्षा गार्डको काम गर्थे । एक प्रकारको बाथ रोगले च्यापेका उनले नाम चलेका अस्पतालका न्युरोलोजी, अर्थोलगायत विभाग धाएपनि सुधार नभएपछि खोज्दै मुर्मुकहा आइपुगेको बताए । भन्छन्, 'चार महिनादेखि यहाँ छु, अब केही सुधार महसुस हुन थालेको छ ।' 
सवारीचालक काम गर्ने मोरङ सिसवनी जहदा-५ का २४ वषीय सन्तोसकुमार मुखियाको बायाँ गोडा मारुती भ्यानको पछाडि चक्काले च्यापियो । विराटनगरको कोइराला निवास गेट अगाडि उनी उभिएका थिए । पार्किङका लागि ब्याक गरेको गाडी हुत्तिएर पछाडि आएपछि उनको गोडा कर्‍याप्पै पार्‍यो । धेरै विरामीलाई धरान-विराटनगरका अस्पताल लैजाने-ल्याउने गरेका उनी भने अस्पताल गएनन् । 'ठूलो कुरा खर्चको हो । गरिबले अस्पतालको महँगो शुल्क तिर्न गाह्रो छ,' उनी भन्छन्, 'मलाइ यहाँको उपचार विधि थाहा थियो । त्यसैले यहाँ आइपुगेँ ।' आठ/आठ दिनमा पट्टी फेर्दै उनी अहिले निको हुने चरणमा बैशाखी टेकेर आउजाउ गर्छन् ।
०००
उपचारको केन्द्र भन्नेबित्तिकै चिल्लो बाटो, सुकिलो भवन, सेतो एप्रोन लगाएका स्वास्थ्यकर्मी झट्ट मगजमा आउछ भने मुर्म उपचार केन्द्र त्यो भन्दा भिन्न छ । कतै विज्ञापनजन्य सामाग्री भेटिदैन । विराटनगरबाट १८ किलोमिटर पूर्व । कालोपत्रे सडक छाडेर ग्राभेलको झण्डै एक किलोमिटर दक्षिण-पश्चिम । आमतोलामा अंग्रेजी 'एल' आकारको झुप्रो देखिन्छ । वरपर बजार-पसल छैन । न त सहरीया विकास बुझाउने केही यो टहरोमै देखिन्छ । बास-कर्चीको बेरा, माटोको भीत्तो । गाइभैसी बाँध्ने थलोजस्तो देखिने घरको आगन अलि फराकिलो छ । यही हो मुर्मु (सतार,सञ्थाल) उपचार केन्द्र । 
'सधै भीड हुँदैन, कहिले हामी खाली बस्छौ,' ६० वर्षीय लखीराम मुर्मु भन्छन्, 'कहिले भ्याइनभ्याइ हुन्छ ।' लखीराम नै यहाँका मुल उपचारक हुन् । विरामीलाई टहरोको आवसीय सेवा दिनुपरे एक दर्जनभन्दा बढिलाई राखिँदैन । कारण, त्यो भन्दा बढिको क्षमता छैन । तर, टहरोमा विरामी निमिट्यान्न भएका दिन हुँदैनन् । उनी भन्छन् 'सबै जाति परम्परामा जडीबुटीबाट गरिने उपचार बुढाहरुलाई थाहा थियो । कतिका नया पुस्ताले सिके । धेरैले सिकेनन्, हामीले थोरै भएपनि सिक्यौ । यो त्यसकै निरन्तरता हो ।' उनको परिवारमा छोराहरु कुमार, परमेश्वर र कृष्णसगै छोरी सोनुले सघाएकी छन् । कुमार नसा र हाडजोर्नीको उपचार योगविधिबाट गर्छन् भने कृष्ण र परमेश्वर फिजियोलोजिस्ट जस्तो काम गर्छन् । भर्खरै सीएमएको पढाइ सिध्याएकी सोनुले अब सघाउन थालेकी हुन् । 
आमतोलामा विरामीलाई राख्नै पर्ने भए एउटा खाट र चुलो दिइन्छ । ओढ्ने-ओच्छ्याउने, खाने र इन्धनका सामान विरामी आफैले लिएर पुग्नुपर्छ । भूइँमा तीनवटा माटामा चुला छन् । दाउरा-गुइँठा बालेर खाना पकाउन सकिन्छ । लामो अवधि यहाँ राखिनेमा हाड र मेरुदण्डका निकै धेर समस्या भएकाहरुमा पर्छन् । 
०००
इटहरी र विराटनगरको बरगाछीमा साना कोठा लिएर चलाइएका केन्द्रको मुल रंगेलीको आमतोला हो । ओखती सबै घरेलु जडिबुटी । योगविधिबाट उपचार गर्ने कुमार भन्छन् 'हामीले सक्ने काममात्रै जिम्मा लिन्छौ । धेरैजना धेरै ठाउँ उपचार गराएर हरेस खाएपछि हामीकहाँ आइपुगेका हुन्छन् ।' कुमार स्वास्थ्य शिक्षाका ज्ञाता होइनन् । थोरै आफ्नै जातीय, संस्कार र केही तालिमपछि उनी उपचार गर्न सक्ने भएका हुन् । हाडजोर्नीका समस्या भएकाहरुले एक्स-रे रिर्पोट लिएर पुगे उनलाई काम गर्न सजिलो हुन्छ । ग्रामीण उपचार प्रविधिमा केही फ्युजन पनि छ । जस्तो कि केही आधुनिक ब्याण्डेज, औजार र एक्स-रे रिपोर्टको उपयोग ।
सञ्थाल अल्पसंख्यक जातिमा पर्छन् । यीमध्ये पनि जातीय परम्परालाई निरन्तरता दिने परिवार विरलै भेटिन्छ । लखीराम भन्छन् 'अहिले हाम्रो तेस्रो पुस्ताले उपचारको परम्परा थामेको छ । हामी धेरै केही गर्न सक्दैनौ भने पनि बुढाहरुका ज्ञानलाई सिक्ने प्रयास गरे घरैमा उपचारका विधि छन् ।' विकासले मान्छेको श्रम घटाएको बताउने लखीराम आउदा दिन अझ धेरै विरामी बढिरहने देख्छन् । भन्छन् 'हुँदाहुँदा हामी शारीरिक कसरत पर्ने काम निकै कम गर्न थालेका छौ, खानपान बिग्रिएको छ । ज्यान रोगी हुने मुल कारक नै यही हो ।' 
सञ्थाल परम्परामा गुरु थापेर दसैंमा युवाले बुढाका कुरा सिक्ने परम्परा छ । लखिरामका भनाइमा यसरी दिइने दीक्षालाई प्रयोगमा निरन्तरता दिनेका मात्रै हात उपचारमा पोख्त हुन्छन् । चलाइने सबैजसो ओखती गाउँघरमै पाइने अन्न, झार, रुखका पात, फल, फूल, बोक्रा जरा आदि । केही सामाग्री भारतको झारखण्डबाट ल्याउने गरिएको छ । 'अब गर्मी सिजनदेखि हामी आफै चाहिने जडीबुटीको खेती गर्ने सोचमा छौ,' लखीरामले योजना सुनाए, 'हामीले नचिनेर धेरै बिरुवा मासिँदै गएका छन् । चिन्नेहरु नै सकिएपछि घाँस हो कि काम लाग्ने कुरा भनेर कसरी थाहा पाउने ?'
लखीरामका पिता बड्का मुर्मु सर्पको विषको व्यापार गर्थे । २०२४ सालमा ७० वर्षको उमेरमा दिवंगत बड्का सर्पको विष लिएर कोलकाता पुग्थे । गाउँमा विरामीको उपचार गर्थे । उनको निधनपछि लखिरामले उपचारको कामलाई नै पेसा बनाए । अहिले छोराहरुले सघाउन थालेका छन् । भारतको जमसेदपुर, राँची र दुम्कीका केही स्थानमा सञ्थालका यस्तै उपचार केन्द्रहरु भएको लखीरामलाई थाहा छ । त्यहाँ बेलाबखत हुने उपचारकको भेलामा अहिले छोराहरु प्रतिनिधित्व गर्छन् । जान्छन्, साथमा चाहिने ओखतीका सामान पनि ल्याउँछन् । 
सुनसरी-मोरङमा चार दर्जन हाराहारी अस्पताल र नर्सिङ होम भएपनि मुर्मु उपचार केन्द्र बिना कुनै प्रचार चलेको छ । 'मान्छेले विरामी नहुन आफ्नो दैनिकी र खानपानमा सुधार गर्नुपर्छ,' लखिराम भन्छन्, 'फेरिएको समय छ, हामीले जीउ, हातगोडा र आँखालाई कसरत दिनुपर्छ । पेटले पचाउन सक्ने खानेकुरामात्रै खानुपर्छ ।' उनले दिने प्रेस्क्रीप्सनको बायाँ कोष्ठमा बार्नुपर्ने भनि लेखिएका छन् - लौका, फर्सी, अदुवा, बैगुन, लहरे सिमी, कालो दाल, खेसारी, रहर, बयममा राखेका अचार, कटहर पापड । रोगको लक्षणका आधारमा यीमध्येका कुनै कुरा बार्ने सल्लाहपछिमात्रै उपचार सुरु हुन्छ ।  
(२०६८ फागुन १३ शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित)

No comments: