वाल्मीकिको रामायणमा सबै पात्र सबलांग छन् । वीरता, कौशल, प्रेम, भ्रातृत्व, कपट, अपहरण र राजपाठका विषयभित्र विभिन्न पात्र-परिस्थिति जेलिएको कथामा रामलाई दुःख पाएपनि सग्ला, धीर-वीर र मर्यादापुरुषोतम वर्णन गरिएको छ । तिनै रामायणका कथाबाट प्रेरित पुराना पुस्ताले छोराहरूका नाम राम राखेका हुँदा हुन् । प्राथमिक कक्षाका किताबमा अझै वाक्य पढ्न पाइन्छ- राम घर जान्छ । राम भात खान्छ । सजिलो नाम राम ।
कास्की जिल्लाको यात्राताका यो साता पोखराबाट करीव १२ किलोमिटर पश्चिम-उत्तर चिया घुम्तीमा एउटा राम भेटिए । यिनको कहानी हामीले पढ्दै-सुन्दै र अहिलेका बच्चा पुस्ताले कार्टुन च्यानलमा हेर्ने रामायणसँग तुलना गर्न मिल्दैन । तर, इच्छाशक्तिको भरमा जीवनको गाडी गुडाइरहेका यी पात्र मलाइ गजब लाग्यो ।
भीरकटेरोको घुम्तीमा आइपुगेको भरिया घुम्तीको पसलअघिल्तिर टक्क अडियो । पक्की कुलोको डीलैमा भारी बिसायो । टुक-टुक लठ्ठी बजाउदै कुनाको टेबलमा पुग्यो । बेञ्चमा बस्यो । र, साहुनीसग नास्ता माग्यो । चिउरा, ब्रोइलरको मासूसँगै एक गिलास मदिरा आइपुग्यो । मैलो ढाका टोपीले पसिना पुछयो ।
गिलास सुरुप्प पारेर नास्ता कपाकप खान थालेको केहीबेरपछि उसले थाहा पायो । एउटा आगन्तुक उसलाई हेरिरहेछ । 'लामो बाटो गलिन्छ । यो गिलासले दुखाइ बिर्साउछ', थोरै संकोच माने झै ऊ बोल्यो, 'नौलो मान्छेका अगाडि मैले खान हुँदैनथ्यो कि ! खाइहालियो । कस्तो अप्ठ्यारो ?' संवाददाताले उसका लागि न केही गरेको थियो, न त त्यसअघि भेट र चिनजान नै थियो । आफ्नै बलले गरिखाने व्यक्तिले संकोच मान्नुको कुनै खास अर्थ थिएन । चिनजान नै नभएको मान्छेका अगाडि आफ्ना रुटीन व्यर्थै किन बिथोलिन दिनु ?
०००
रामप्रसाद भण्डारी, वर्ष ४५ । नाम ठीकै हो । कदकाठी र अनुहारले उनको उमेर ५० नाघिसकेको भान गराउँथ्यो । उनले बोकेका भारीमा ब्रोइलर कुखुराका अण्डा रहेछन् । साहुनीले आफूलाई चाहिएको अण्डा राखिन् र, नास्ताको पैसा काटेर बाँकी उनका हात लाइदिइन् । हत्केलामा राखेर नोटका आकार अनुमान गरेपछि कति कतिका नोट हुन् भन्दै उनले मनैले चिनें र बोले- आज मेरो मापक (नाप्ने यन्त्र) छुटेछ । लौ हेर्नुस् यी पाँच सय, एक सय र पाँचका नोट हुन् नि ।' स्पर्शले उनको दृष्टिको काम गरेको देख्न पाउनु मेरा लागि एउटा अचम्म नै थियो ।
लाचोक गाविसको भीरकटेरो पोखरा-बाग्लुङ राजमार्गमा पर्ने हेम्जाको मिलन चोकदेखि ६ किलोमिटर उत्तरमा पर्छ । ओह्रालो बाटो मर्दी खोलाको पुल तरेपछि उकालिन्छ । बाटाबाट मर्दी दोभान अत्यास लाग्दो देखिन्छ । पुल पुग्नअघि एकातिर भीर, अर्कातिर पहरो । मुल पलाएर चिसो भइरहने बाटामा चिप्लिए टेक्ने-समाउने आड छैनन् । स्थानीयका शब्दमा कहाली लाग्दो भीरका बावजुद यो विकट होइन । दशकअघि बल्ल बाटो बन्यो । अहिले गाडी आउजाउ गर्छ ।
घाचोक-३ लम्सालथर टोलका भण्डारीलाई पसले साहुनी पार्वती अधिकारीले डेढ दशक अघिदेखि देखेकी हुन् । 'पहिले भारी बोक्थे, अहिले अण्डा बोक्छन्' उनले भनिन् 'खोइ यिनले आँखा देख्तैनन् भन्ने त लाग्दै लाग्दैन । सबै थाहा पाउँछन् ।' भीरकटेरोबाट भण्डारीले घर पुग्न दुइ/तीनवटा भीर छिचोलेर चार किलोमिटर घुम्ती र एउटा खोला पार गर्नुपर्छ ।
०००
साताका प्रायः चार दिन झिसमिसेमै सुरु हुने उनको पैदल यात्रा झमक्क साँझ परेपछि थामिन्छ । हातमा सेतो छडी र ढाडमा डोकोजस्तो बनाइएको क्रेट राख्ने फलामे ढाचा बोकेर विहानै घरबाट निस्कने उनी अण्डा लिन पोखराको सिम्पाने आइपुग्छन् । ढाडमा भारी लगाएपछि बाटामा बेच्दै-बेच्दै घर पुग्दा रात छिप्पिसकेको हुन्छ । 'देख्नै नपाएपछि के रात के दिन', उनी भन्छन् 'कहिले सबै बिक्छ । बेलैमा घर पुग्छु । कहिले थोरै बिक्छ ढिलो पनि हुन्छ ।'
रामका भाइ छन् । लक्ष्मण नामका । जुम्ल्याहा जन्मेकाले दुइको नाम यस्तो राखियो । 'त्यो अलि बाहिर फेर हिडेर म जसरी काम गर्न हिम्मत गर्दैन । अनि मभन्दा अलि लुते छ', उनले भने, 'म अलि तगडा छु । काम गरि खाको ज्यान । उमेरभन्दा अलि बुढो पो देखिन्छु कि क्या हो ?'
राम-लक्ष्मण १० वर्षको हुदा बुवा दिवंगत भए । दुइ दिदीमध्येकी सानी चाहि बोल्न र सुन्न नसक्ने । 'घरमा कहिलेकाही भीखमाङने आएका बेला आमा रुनु हुन्थ्यो,' रसाएर पोखिएका आँखा पुछ्दै उनले भने 'मेरा सन्तान पनि यसरी नै माङ्ने त हुने होलान नि भन्नुहुन्थ्यो । भएको दिइ पठाउनुहुन्थ्यो । हजूर ! म माङ्ने चाहि बनिनँ, गरिखाएको छु ।' राम-लक्ष्मण जन्मदै दृष्टिविहीन होइनन् । बाल्यकालका केही बर्ष विद्यालय पनि भर्ना भएका दुइ भाइको बिस्तारै दृष्टिशक्ति घट्दै आयो । लक्ष्मण कक्षा ३ बाट उक्लन सकेनन् । राम ७ कक्षापछि नसक्ने भए । 'के थोक हो भनेर मजाले खुट्याउन नसके पनि पछिसम्म आँखाले थोरै उज्यालो र अँध्यारो अनुभव गर्थ्यो', उनी भन्छन् 'अब त आँखाको भर छैन । भर पर्ने भनेको नाक, कान र हात-गोडा हुन् ।'
०००
नजिकको ठूलो शहर पोखरा । गाउलाई शहर जोड्ने मोटरबाटो बनिसकेको थिएन । भरिया गाउमा सामान लैजान्थे । दुइ दाजुभाइले अस्पतालमा आँखा देखाएका पनि हुन् । चिकित्सकले ज्योति फर्कन नसक्ने बताए । हातमा सेतो छडी आइपुग्यो । रामले भारी बोक्न थाले । 'देख्नेहरूका बराबरी त के हुन्थ्यो, तैपनि भारी बोक्दा आम्दानी हुन्थ्यो',उनी भन्छन् 'तर, मलाई जहिल्यै राम्रो इलाज भए फेरि देख्न सकिन्छ भन्ने लागि राख्थ्यो ।' उनको अपेक्षा पुरा भएनन् । भण्डारी परिवारकी जेठी छोरी अर्थात् राम-लक्ष्मणकी ठुल्दिदी फरक थिइन् । उनलाई घरजम समस्या भएन । उनैका श्रीमान (भिनाजु) ले रामको विवाहका लागि पहल गरे ।
२० वर्षका भएपछि छिमेक गाउँ लाचोकका अधिकारीकी छोरीसग उनको जोडी लाग्यो । 'ऊ देख्छे, बोल्न-सुन्न सक्दिन, म देख्तिन तर, सुन्छु-बोल्छु', उनले भने, 'जीवन जसरी चलायो त्यसरी चल्दो रहेछ । हाम्रो छोरी जन्मिइ भने दुःख पाउँछे भन्ने लागिराख्थ्यो । धन्य छोरी भइन ।' दुइ भाइ छोरा भए ।
अहिले उनका ज्योति भएर साथ दिनुपर्ने १९ र २३ वर्ष उमेरका दुवै छोरालाई आँखाकै समस्या छ । घरजम गरिदिएका जेठा छोराका दुइ छोरी छन् । 'जेठोले मजस्तै देख्तैन, कान्छाको आँखा पनि अहिले धमिलो भएर आएको छ', उनले भने, 'भाई बेग्लै बस्छ । बुहारीको बोली लटलट छ । उनीहरूका सन्तानमा ७ वर्षको छोराले बोलेको बुझिदैन । ४ वर्षकी उसकी छोरी पनि त्यस्तै छे ।'
०००
आफ्नो कहानी भन्दाभन्दै राम मौन हुन्छन् । निकैबेरपछि बोल्छन् 'खै, भाग्य पनि कस्तो कस्तो लेख्छ विधिले ।' २०५० देखि भरियाको दैनिकी गुजारेका रामको पेशा २०५६ मा मोटरबाटो बनेपछि खोसियो । केही वर्ष गाउँमै उनले उद्यमको पेशा गरि हेरे । 'अन्धालाई कुनै तालिममा सहभागी नगराउने रहेछन्', उनले भने 'मैले बल गरेरै मुडा बुन्ने, मैनबत्ती बनाउने तालिम लिए । काम पनि गरि हेरें । म राम्रो बुन्छु मुडा ।'
फरक क्षमता भएकाहरूका बारेमा सोधीखोजी गर्न आएकाहरू रामलाई खोज्छन् । उनले आफ्नो गाउँमा अपांग कति छन् भनेर सूची पनि तयार पारेका छन् । भन्छन् '१ सय २० जना अपांग छन् घाचोकमा । तिनमा दृष्टिहीनको संख्या १० छ ।'
घरेलु उद्यमले गुजारा गाह्रो भएपछि उनले चार वर्ष अघिदेखि भरियास्वरुपको अर्को काम थाले- अण्डा व्यापार । पोखराको सिम्पानेस्थित सरोज भट्टराइ फ्रेश हाउसबाट उनी खरिद गर्छन् । बेच्दै-बेच्दै उकालो-ओह्रालो १६ किलोमिटरको बाटो छिचोल्छन् । 'एकपल्ट म गण्डकीमा खसें, झण्डै बगायो', उनी विगत सम्झन्छन् 'एकपल्ट लस्ती खोलाको फलामे पुलबाट भारीसँगै झरे । आधाभन्दा बढि अण्डा फुटेछन् । कसैले विचरा भनेनन् ।' कसैले विचरा नभन्दा काम गर्ने इच्छाशक्ति दृढ हुने उनको अनुभव छ । डोकोमा बोकेर बेच्न हिडदा धेरै फुट्न थालेपछि उनलाई थाहा भयो -'फलामे क्यारियर बनाएर बोक्नुपर्ने रहेछ ।'
उनले बेच्न थालेभन्दा अहिले अण्डाको मूल्य थोक खरिदमै बढेको छ । एक सीटमा १० वटा हुन्छन् । सिम्पानेबाट घाचोकसम्म पुग्दा दिनभरिमा २१ सीट बिक्री भए नाफा ४ सय २० रूपैयाँ । 'विहान भात खाइँदैन, १ सय २० नास्तामा खर्च हुन्छ, बेलुका भात खान घर पुगिहाल्छु', उनी भन्छन् 'तपाइ आँखा चिम्म गर्नुस् । भारी बोकेर अलिकति हिडिहेर्नुस् । सक्नुहुन्छ ? मैले सकेको छु, जिन्दगी चलाउँदा जसरी पनि चल्दो रहेछ ।' आखाको ज्योति नभएकाहरूले बाँच्नका लागि इच्छाशक्ति मजबुत पार्नुपर्ने बताएका उनको घडी बोल्यो 'टू ओ क्लक ।' पसलबाट उठे । भारी बोके र, अघि बढ्दै आवाज लगाए- 'अण्डा राख्नुहुन्छ अण्डा ?'
(२० माघ २०६९ मा कान्तिपुरको कोसेलीमा प्रकाशित)
No comments:
Post a Comment