Monday, February 11, 2013

एउटा राम-कहानी


वाल्मिकीको रामायणमा सबै पात्र सबलांग छन्। वीरता, कौशल, प्रेम, भ्रातृत्व, कपट, अपहरण र राजपाठका विषयभित्र विभिन्न पात्र-परिस्थिति जेलिएको कथामा रामलाई दुःख पाए पनि सग्ला, धीर-वीर र मर्यादापुरुषोतम् वर्णन गरिएको छ। तिनै रामायणका कथाबाट प्रेरित पुराना पुस्ताले छोराहरूका नाम राम राखेका हुँदा हुन्। प्राथमिक कक्षाका किताबमा अझै वाक्य पढ्न पाइन्छ- राम घर जान्छ। राम भात खान्छ। सजिलो नाम राम।
 
कास्की जिल्लाको यात्राताका यो साता पोखराबाट करिब १२ किलोमिटर पश्चिम-उत्तर चियाघुम्तीमा एउटा राम भेटिए। यिनको कहानी हामीले पढ्दै-सुन्दै र अहिलेका बच्चा पुस्ताले कार्टुन च्यानलमा हेर्ने रामायणसँग तुलना गर्न मिल्दैन। तर, इच्छाशक्तिको भरमा जीवनको गाडी गुडाइरहेका यी पात्र मलाइ गजब लाग्यो।

भीरकटेरोको घुम्तीमा आइपुगेको भरिया घुम्तीको पसलअघिल्तिर टक्क अडियो। पक्की कुलोको डिलैमा भारी बिसायो। टुक-टुक लठ्ठी बजाउदै कुनाको टेबलमा पुग्यो। बेञ्चमा बस्यो। र, साहुनीसँग नास्ता माग्यो। चिउरा, ब्रोइलरको मासुसँगै एक गिलास मदिरा आइपुग्यो। मैलो ढाका टोपीले पसिना पुछ्यो।
 
गिलास सुरुप्प पारेर नास्ता कपाकप खान थालेको केहीबेरपछि उसले थाहा पायो। एउटा आगन्तुक उसलाई हेरिरहेछ। 'लामो बाटो गलिन्छ। यो गिलासले दुखाइ बिर्साउँछ,' थोरै संकोच माने झैँ ऊ बोल्यो, 'नौलो मान्छेका अगाडि मैले खान हुँदैनथ्यो कि ! खाइहालियो। कस्तो अप्ठ्यारो !' 

संवाददाताले उसका लागि न केही गरेको थियो, न त त्यसअघि भेट र चिनजान नै थियो। आफ्नै बलले गरिखाने व्यक्तिले संकोच मान्नुको कुनै खास अर्थ थिएन। चिनजान नै नभएको मान्छेका अगाडि आफ्ना रुटीन व्यर्थै किन बिथोलिन दिनु ?

०००
रामप्रसाद भण्डारी, वर्ष ४५। नाम ठीकै हो। कदकाठी र अनुहारले उनको उमेर ५० नाघिसकेको भान गराउँथ्यो। उनले बोकेका भारीमा ब्रोइलर कुखुराका अण्डा रहेछन्। साहुनीले आफूलाई चाहिएको अण्डा राखिन् र, नास्ताको पैसा काटेर बाँकी उनका हात लाइदिइन्। हत्केलामा राखेर नोटका आकार अनुमान गरेपछि कति कतिका नोट हुन् भन्दै उनले मनैले चिनें र बोले- आज मेरो मापक (नाप्ने यन्त्र) छुटेछ। लौ हेर्नुस् यी पाँच सय, एक सय र पाँचका नोट हुन् नि ?' स्पर्शले उनको दृष्टिको काम गरेको देख्न पाउनु मेरा लागि एउटा अचम्म नै थियो।

लाचोक गाविसको भीरकटेरो पोखरा-बाग्लुङ राजमार्गमा पर्ने हेम्जाको मिलन चोकदेखि ६ किलोमिटर उत्तरमा पर्छ। ओह्रालो बाटो मर्दी खोलाको पुल तरेपछि उकालिन्छ। बाटाबाट मर्दी दोभान अत्यास लाग्दो देखिन्छ। पुल पुग्नअघि एकातिर भीर, अर्कातिर पहरो। मूल पलाएर चिसो भइरहने बाटामा चिप्लिए टेक्ने-समाउने आड छैनन्। स्थानीयका शब्दमा कहालीलाग्दो भीरका बाबजुद यो विकट होइन। दशकअघि बल्ल बाटो बन्यो। अहिले गाडी आउजाउ गर्छ।

घाचोक-३ लम्सालथर टोलका भण्डारीलाई पसले साहुनी पार्वती अधिकारीले डेढ दशक अघिदेखि देखेकी हुन्। 'पहिले भारी बोक्थे, अहिले अण्डा बोक्छन्,' उनले भनिन्, 'खोइ यिनले आँखा देख्तैनन् भन्ने त लाग्दै लाग्दैन। सबै थाहा पाउँछन् !' भीरकटेरोबाट भण्डारीले घर पुग्न दुइ/तीनवटा भीर छिचोलेर चार किलोमिटर घुम्ती र एउटा खोला पार गर्नुपर्छ । 
  
०००
साताका प्रायः चार दिन झिसमिसेमै सुरु हुने उनको पैदल यात्रा झमक्क साँझ परेपछि थामिन्छ। हातमा सेतो छडी र ढाडमा डोकोजस्तो बनाइएको क्रेट राख्ने फलामे ढाचा बोकेर बिहानै घरबाट निस्कने उनी अण्डा लिन पोखराको सिम्पाने आइपुग्छन्। ढाडमा भारी लगाएपछि बाटामा बेच्दै-बेच्दै घर पुग्दा रात छिप्पिसकेको हुन्छ। 'देख्नै नपाएपछि के रात के दिन,' उनी भन्छन्, 'कहिले सबै बिक्छ। बेलैमा घर पुग्छु। कहिले थोरै बिक्छ ढिलो पनि हुन्छ।'
 
रामका भाइ छन्। लक्ष्मण नामका। जुम्ल्याहा जन्मेकाले दुईको नाम यस्तो राखियो। 'त्यो अलि बाहिर फेर हिँडेर म जसरी काम गर्न हिम्मत गर्दैन। अनि मभन्दा अलि लुते छ,' उनले भने, 'म अलि तगडा छु। काम गरि खाको ज्यान । उमेरभन्दा अलि बुढो पो देखिन्छु कि क्या हो ?'

राम-लक्ष्मण १० वर्षको हुँदा बुवा दिवंगत भए। दुई दिदीमध्येकी सानी चाहिँ बोल्न र सुन्न नसक्ने। 'घरमा कहिलेकाही भीखमाङने आएका बेला आमा रुँनु हुन्थ्यो,' रसाएर पोखिएका आँखा पुछ्दै उनले भने, 'मेरा सन्तान पनि यसरी नै माङ्ने त हुने होलान नि भन्नुहुन्थ्यो। भएको दिइपठाउनुहुन्थ्यो। हजुर ! म माङ्ने चाहि बनिनँ, गरिखाएको छु।' 

राम-लक्ष्मण जन्मदै दृष्टिविहीन होइनन्। बाल्यकालका केही वर्ष विद्यालय पनि भर्ना भएका दुई भाइको बिस्तारै दृष्टिशक्ति घट्दै आयो। लक्ष्मण कक्षा ३ बाट उक्लन सकेनन्। राम ७ कक्षापछि नसक्ने भए। 'के थोक हो भनेर मजाले खुट्याउन नसके पनि पछिसम्म आँखाले थोरै उज्यालो र अँध्यारो अनुभव गर्थ्यो,' उनी भन्छन् 'अब त आँखाको भर छैन। भर पर्ने भनेको नाक, कान र हात-गोडा हुन्।'
 
०००
नजिकको ठूलो शहर पोखरा। गाउँलाई शहर जोड्ने मोटरबाटो बनिसकेको थिएन। भरिया गाउँमा सामान लैजान्थे। दुई दाजुभाइले अस्पतालमा आँखा देखाएका पनि हुन्। चिकित्सकले ज्योति फर्कन नसक्ने बताए। हातमा सेतो छडी आइपुग्यो। रामले भारी बोक्न थाले। 

'देख्नेहरूका बराबरी त के हुन्थ्यो, तैपनि भारी बोक्दा आम्दानी हुन्थ्यो,' उनी भन्छन् 'तर, मलाई जहिल्यै राम्रो इलाज भए फेरि देख्न सकिन्छ भन्ने लागि राख्थ्यो।' उनको अपेक्षा पुरा भएनन्। भण्डारी परिवारकी जेठी छोरी अर्थात् राम-लक्ष्मणकी ठुल्दिदी फरक थिइन्। उनलाई घरजम समस्या भएन। उनैका श्रीमान (भिनाजु) ले रामको विवाहका लागि पहल गरे।
 
२० वर्षका भएपछि छिमेक गाउँ लाचोकका अधिकारीकी छोरीसँग उनको जोडी लाग्यो। 'ऊ देख्छे, बोल्न-सुन्न सक्दिन, म देख्तिन तर, सुन्छु-बोल्छु,' उनले भने, 'जीवन जसरी चलायो त्यसरी चल्दो रहेछ। हाम्रो छोरी जन्मिइ भने दुःख पाउँछे भन्ने लागिराख्थ्यो। धन्य  छोरी भइन ।' दुई भाइ छोरा भए।
 
अहिले उनका ज्योति भएर साथ दिनुपर्ने १९ र २३ वर्ष उमेरका दुवै छोरालाई आँखाकै समस्या छ। घरजम गरिदिएका जेठा छोराका दुई छोरी छन्। 'जेठोले मजस्तै देख्तैन, कान्छाको आँखा पनि अहिले धमिलो भएर आएको छ,' उनले भने, 'भाई बेग्लै बस्छ। बुहारीको बोली लटलट छ। उनीहरूका सन्तानमा ७ वर्षको छोराले बोलेको बुझिँदैन। ४ वर्षकी उसकी छोरी पनि त्यस्तै छे।' 

०००
आफ्नो कहानी भन्दाभन्दै राम मौन हुन्छन्। निकैबेरपछि बोल्छन्, 'खै, भाग्य पनि कस्तो कस्तो लेख्छ विधिले !' २०५० देखि भरियाको दैनिकी गुजारेका रामको पेसा २०५६ मा मोटरबाटो बनेपछि खोसियो। केही वर्ष गाउँमै उनले उद्यमको पेसा गरी हेरे। 'अन्धालाई कुनै तालिममा सहभागी नगराउने रहेछन्,' उनले भने 'मैले बल गरेरै मुडा बुन्ने, मैनबत्ती बनाउने तालिम लिएँ। काम पनि गरि हेरेँ। म राम्रो बुन्छु मुडा।'
 
फरक क्षमता भएकाहरूका बारेमा सोधीखोजी गर्न आएकाहरू रामलाई खोज्छन्। उनले आफ्नो गाउँमा अपांग कति छन् भनेर सूची पनि तयार पारेका छन्। भन्छन् '१ सय २० जना अपांग छन् घाचोकमा। तिनमा दृष्टिहीनको संख्या १० छ।'

घरेलु उद्यमले गुजारा गाह्रो भएपछि उनले चार वर्ष अघिदेखि भरियास्वरुपको अर्को काम थाले- अण्डा व्यापार। पोखराको सिम्पानेस्थित सरोज भट्टराई फ्रेस हाउसबाट उनी खरिद गर्छन्। बेच्दै-बेच्दै उकालो-ओह्रालो १६ किलोमिटरको बाटो छिचोल्छन्। 'एकपल्ट म गण्डकीमा खसें, झण्डै बगायो,' उनी विगत सम्झन्छन्, 'एकपल्ट लस्ती खोलाको फलामे पुलबाट भारीसँगै झरेँ। आधाभन्दा बढी अण्डा फुटेछन्। कसैले विचरा भनेनन्।' कसैले विचरा नभन्दा काम गर्ने इच्छाशक्ति दृढ हुने उनको अनुभव छ। डोकोमा बोकेर बेच्न हिँडदा धेरै फुट्न थालेपछि उनलाई थाहा भयो -'फलामे क्यारियर बनाएर बोक्नुपर्ने रहेछ।'

उनले बेच्न थालेभन्दा अहिले अण्डाको मूल्य थोक खरिदमै बढेको छ। एक सीटमा १० वटा हुन्छन्। सिम्पानेबाट घाचोकसम्म पुग्दा दिनभरिमा २१ सीट बिक्री भए नाफा ४ सय २० रूपैयाँ। 'विहान भात खाइँदैन, १ सय २० नास्तामा खर्च हुन्छ, बेलुका भात खान घर पुगिहाल्छु,' उनी भन्छन् 'तपाइँ आँखा चिम्म गर्नुस्। भारी बोकेर अलिकति हिडिहेर्नुस्। सक्नुहुन्छ ? मैले सकेको छु, जिन्दगी चलाउँदा जसरी पनि चल्दो रहेछ।' 

आँखाको ज्योति नभएकाहरूले बाँच्नका लागि इच्छाशक्ति मजबुत पार्नुपर्ने बताएका उनको घडी बोल्यो - 'टू ओ क्लक।' पसलबाट उठे। भारी बोके र, अघि बढ्दै आवाज लगाए- 'अण्डा राख्नुहुन्छ अण्डा ?'
***
(२० माघ २०६९ मा कान्तिपुरको कोसेलीमा प्रकाशित) 

No comments: