यात्रामा म फोटोग्राफी गरिरहेको थिएँ। पाहुनाका भन्दा सस्तो नै सही तर मसँग पनि डीएसएलआर क्यामरा थियो, फोटो एडिट गर्न र समाचार लेख्न एसरको एस्पायर वन भन्ने नोटबुक थियो। जहाँ पुगे पनि आफू काम गरिरहेको अखबारका लागि समाचार र फोटा पठाउने काम भइरहेको थियो। नौलो ठाउँ पुगिन्थ्यो। फोटोका विषय पनि नौलो हुन्थ्यो। छापिइ नै रहेको थियो। त्यसले मलाइ यात्रा उपयोगी भइरहेको भान थियो।
म दुवैका लागि बाटो देखाउने र भाषा अनुवादकको काममा थिएँ। मेरो अंग्रेजी राम्रो थिएन, न मैथिली र भोजपुरी नै राम्रो थियो। तर, काम चलाउन गाह्रो पनि थिएन। कारण, पेप थोरै बोल्थे। उनको अंग्रेजी बुझिने नै थियो। रफिक उर्दु पनि बोल्थे। तर, कम कम। उनलाई अंग्रेजी नै सजिलो लागेको जस्तो बुझिन्थ्यो।
***
पूर्वपश्चिम राजमार्गको यात्रामा धनुषाको ढल्केवर र सिरहाको बन्दीपुर सम्झना छ ? कमला नदी पुल त सम्झना पक्कै हुनुपर्छ। हो, त्यो कमला पुलको केही वारि धनुषापट्टि राजमार्ग छाडेर दक्षिण लाग्ने ग्राभेल सडक। करिब ४/५ किलोमिटरको यात्रापछि रघुनाथपुर पुगिने रहेछ।
बाटो निकै खराब थियो। धेरै ठाउँ खाडलै खाडल। एउ ठाउँमा गाडी खाडल पार गर्न नस्कने भयो। चालकले भने, 'तपाइँहरु यहाँबाट हिँडेर जानुस्। म गाडी कुर्छु, यहीँ हुन्छु।' विकल्प थिएन। पैदल यात्रा गाह्रो थिएन। तर, साथीहरुको ट्राइपोर्ट, ब्याट्री लगायतका सामान वजनदार थिए। तैपनि तीन जनाले सक्नेजति बाँडेर बोकियो। हिँडियो। एकाध किलोमिटर अघि बढेपछि एउटा चिया पसलमा केही मान्छे गफिइरहेका भेटिए।
हामी जसलाई भेट्न जाँदैथियौं उनको घर सोधियो, अलि परै रहेछ। एक जनाले सँगै गएर घरैसम्म लगिदिने भए। हामीलाई पनि राहत भयो। उनी अघि अघि लागे। हामी पछिपछि। बाटो छाडेर गोरेटो र खेतका आली गर्दै त्यो घरमा पुगियो।
नेपालमा जहाँ पुगे पनि नेपाली भाषा बोले सबैले बुझ्छन्, सञ्चार-संवाद सहज छ भन्ने मेरो भ्रम त्यहाँ पुग्दा तोडियो। कारण, कुरा गर्न मैथिली नै बोल्नुपर्ने रहेछ।
हामी एक जना महिलासँग संवाद गर्न खोजिरहेका थियौं, जसलाई फिस्टुलाको समस्या थियो। उनले निकै कष्ट खेपेकी थिइन। उनको नाउँ सोध्दै, घर खोज्दै पुगियो। तर, अपरिचित पुरुषहरुसँग बोल्न उनले निकै अप्ठ्यारो मानिन। सुरुमा त बोल्नै पनि मानिनन्।
तर, हामीलाई त्यो गाउँमा स्थानीय जनप्रतिनिधिले उनको घर देखाइदिएका थिए। उनी गाउँका गन्यमान्य रहेछन्, अभिभावक मानिने। उनले भने गाउँलेले शिरोपर गर्ने बुझियो। अनि उनैलाई मैले सिफारिसको आग्रह गरेँ। उनले ती महिलालाई सम्झाइदिए।
***
हामीले उनीसँग अडियो-भिडियो र फोटो कुराकानी गर्यौं। अँध्यारो भइसकेकाले फोटो/भिडियो खिच्न एक्स्ट्रा लाइट प्रयोग गर्नु पर्यो।
संवाद सुरुवातका करिब १० मिनेट उनले कुरा गर्न धक मानेको देखियो। त्यसपछि बिस्तारै भन्दै गइन। उनको माइती कमला पारि सिरहामा तटीय क्षेत्रको एउटा गाउँमा थियो। १७ वर्षकै उमेरमा विवाह कमला पारिको छिमेकी गाउँमा भएको थियो। माइती र घर वारिपारि आउजाउका लागि खोला तर्न डुंगा चल्थ्यो।
श्रीमान सामान्य मजदुर। घरको आर्थिक अवस्था राम्रो थिएन। दम्पती नै अर्काको खेतमा काम गर्थे। एउटा गर्भ खेर गएपछि उनलाई मलमुत्र नअडिने समस्या जब आयो, निकै सास्ती पाइन। त्यो समस्या गाउँमा कसैलाई भन्न मिल्ने पनि थिएन। भनिहालियो भने नानाथरी कुरा काटिने, अपहेलित भइने डर थियो। माइती गएका बेला त्यहाँको स्वास्थ्य चौकीमा पुगिन्। डाक्टरलाई समस्या बताइन। डाक्टरले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सल्लाह दिए।
उनले धरानसम्मको यात्रा कसरी गरिन् भन्ने कथा फेरि छुट्टै लामो थियो। सुरुमा त आफ्नो समस्या श्रीमानलाई भन्नै गाह्रो परेको थियो। आफ्नो बिमारी बताउँदा श्रीमानले 'अब घर आउनुपर्दैन, माइतीमै बस्नु, म अर्की ल्याउँछु' भन्ने सम्भावना उच्च थियो। किनभने गाउँको वातावरण त्यस्तै थियो।
धेरै संघर्षका दिनपछि उनका लागि धरानको यात्रा मात्रै सम्भव भएन, उपचार पनि भयो। हामीले भेट्दा उनी निको भएकी थिइन। उनले आफ्नो भाषामा हामीलाई सकसका दिनको भोगाइन सुनाइन। बेला बेला आँसु झार्दै ती दिन सम्झेर नमिठो मानिन।
***
एउटा प्रश्नमा उनले दिने जवाफ सकिँदा मैले अनुवाद गरेर क्यामराधारी दुई मनुवालाई बुझाइरहेको थिएँ। उनी मैथिलीमा भन्थिन्, म नेपालीमा बुझ्थेँ र ब्रोकेन अंग्रेजीमा उनीहरुलाई बुझाउँथेँ। उनीहरु - 'ओह ! यस यस... द्यान, द्यान... ओह गड' भनिरहेका हुन्थे।
हाम्रो संवाद करिब २ घण्टा चल्यो। सकिएपछि हामीले उनी, उनको परिवार र हामीलाई बाटो देखाउने स्थानीय अगुवालाई धन्यवाद दियौं। उनीहरुको आतिथ्य भाव निकै प्रभावित पार्ने खालको थियो।
'राति यात्रा गाह्रो हुन सक्ला, हाम्रै गाउँमा रोकिनुस्। तपाइँहरुलाई बासको प्रबन्ध गर्छौं,' स्थानीय अगुवाले भने। दुवै पाहुनालाई रोकिनु थिएन। किनभने उनीहरु यात्रामा कहाँ कहिले कति बजेदेखि कति बजेसम्म रहने र कहाँ के गर्ने भन्ने सूची बनाएर आएका थिए। उक्त तालिका अनुसार भोलि बिहानै धरानमा अर्का एक जनालाई भैट्नु थियो।
आग्रहका लागि आभार प्रकट गरेर हामी बिदा भयौं।
***
फर्किँदा रफिकीले भने, 'कहीँ नुक्कडवाली चाय मिलेगा ?'
मैले भनेँ - 'क्यों नहीँ, चिनी कम दूध ज्यादा, पानी कम रङ ज्यादा?'
- हाँ हाँ
- चलो आगे कहीँ मिलेगी जरुर । वहीँ रुक के चाय पिके आगे बढेंगे।
-जरुर जरुर
उनको मातृभाषा उर्दु थियो। मलाइ पनि संवाद सजिलो। केही अगाडि उही चिया पसल थियो, जहाँबाट हामीले बाटो देखाउनेको साथ पाएका थियौं। रोकियौं र दुई ँजनाले भनेजस्तो चिया पियौं। पेपले चिया खाएनन्।
चिया खाएपछि हामी गाडी भएको ठाउँमा आयौं। बेलुकीको करिब ९ बजेको थियो। चारैतिर घुप्प अँध्यारो। आकाश खुल्ला थियो। चालकले गाडी राजमार्गमा ल्याएपछि हामीलाई धरान पुगुन्जेल कतै रोकिनु थिएन। हेर्दै आइयो।
***
अगाडिका प्रसंग फेरि अर्को किस्तामा लेखौंला। अहिलेलाई यति नै ।
***
No comments:
Post a Comment