Friday, November 28, 2014

नूरसँगको यात्रा

'यू डोन्ट नो अबाउट लाइट', रफिकी र पेप दुवै मलाइ हेरेर मज्जाले हाँसे । अनि पेप बोनेटले भने, 'वी वील बी ब्याक इन दीस रूरल एरिया अफ्टर थ्री । वी कान्ट डु फोटो इन दिस लाइट ।' खाना खानका लागि हामी कोसीब्यारेजतिर फर्कियौं । सप्तरीको जोगिनियाँमा थियौं । दिउँसोको १ बज्दै थियो । टन्टलापुर घाम । ब्यारेजमा कंकालिनी मन्दिरबाट केही पश्चिममा आइपुग्ने चोक भारदह हो । त्यहाँबाट पूर्व-पश्चिम राजमार्ग छाडेर राजबिराजतर्फ लाग्न हनुमाननगरको बाटो जान सकिन्छ । हनुमाननगरबाट एक किलोमिटर वरको गाउँ नै जोगिनियाँ हो । हामी यहीँ थियौं । यो सप्तकोशीको पश्चिमी तटबन्ध क्षेत्रबाट नजिक छ ।
खाना खाएर आएपछि फेरि फोटो गर्ने । त्योबेला मान्छे होइन गाउँका दैनिकी, खोला किनारका बस्तीका गतिविधि खिच्ने सल्लाह थियो । असिम रफिकीले 'खाना खान जाने' प्रस्ताव गर्दा मैले जिस्कने पारामा भनेको थिएँ 'ह्वाइ डोन्ट वी कम्प्लिट टास्क नाउ ? द्यान गो फर लञ्च ।' उनीहरूले मलाइ गिज्याउने पारामा 'तँलाइ फोटोग्राफीमा लाइटको महत्वबारे थाहा रैनछ' भने । मैले हाँसेर टारें । कारण - कुबेला जिस्किने गरि बोल्नु मेरो गल्ती नै थियो ।
 लाइटको भाषा बुझेकाहरूबाट सुन्न मिल्छ । सामान्यतः आउटडोर फोटोग्राफीका लागि बिहान १० बजेअघि र दिउँसो ४ बजेपछिको समय उपयुक्त मानिन्छ । कारण - सूर्यको प्रकाश । घाम कताबाट छ । लिनपर्ने विषयमाथि पर्ने प्रकाशको अवस्था नबुझे राम्रो फोटो लिन सकिन्न । फोटोग्राफी प्रकाशको भाषा हो । क्यामेराले जेसुकै विषयमाथिको उज्यालोलाई खिचेर चित्र बनाउँछ । 
जीप ब्यारेजतिर फर्कियो । हाम्रो यात्रामा अर्को गाडी पनि अघिपछि भयो । यी थिए कम्बोडियाको रुम कलेक्टिभका पत्रकारको टोली । म नूर इमेजेजका दुइ फोटोपत्रकारका साथ थिएँ । रूमका निक र ल्युक अलिपछिमात्रै भेट भएका थिए । उनीहरूको साथ खाना खानेबेलासम्मका लागि मात्रै थियो । कारण- उनीहरूले खोज्ने खबर र खिच्ने तस्बिरका विषय हाम्राभन्दा फरक थिए ।
खाना खाएपछि टोली पुनः फिर्‍यो । ठाउँ खोजी खोजी खिच्यो । एउटै विषयमाथि धेरै समय लगायो ।  म गत साताको यात्राको कुरा गरिरहेको छु ।
***
अस्ति भर्खर पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष महेन्द्र विष्टले सुनाएका थिए । विराटनगर सतवार्षिकोत्सव समारोह समितिका सदस्य रहनु दोष आउला कि जस्तो लागेको कुरा  ।  '४८ लाख खर्च भयो भन्छन् । जहिले सोध्छु केकेमा खर्च भो हिसाब देखाउनुस् । हामी पनि हेरौं', उनले भने, 'कर्मचारी हामीले हिसाब मिलाइसक्यौ, केलाइ खोज्नु हुन्छ पो भन्छन् । सदस्यका नाताले एउटा बैठकमा मैले एक कप चियाबाहेक केही खाएको छैन । हिसाबमा तलंमाथि निस्क्यो भने दोष आउला भन्ने पीर छ ।' 
यो एउटा कार्यक्रमको हिसाब मिलानको प्रसंग थियो । हाम्रा सरकारी कार्यक्रम स्वास्थ्य, शिक्षा, नगर विकास आदि जेमा पनि जति गहिरिएर हेर्‍यो बजेट खर्चनुको तरिका, क्षेत्र र उपयोगमाथि प्रश्न उठाउने ठाउँ निस्कन्छ । दातृका कार्यक्रममा पनि बजेटको राम्रै हिस्सा कन्सल्ट्यान्टले लैजान्छन् । धेरै कार्यक्रम यस्ता छन् जसको अनुगमन आग्रहले अोतप्रोत हुन्छ ।
२०७१ मंसिर ११ का विराटनगरका पत्रिकाले रमाइलो खबर लेखेका थिए । सिडिअोको नेतृत्वमा खोलाका ढुंगा-गिटी अनुगमनमा हिडेको टोलीको । योजना अधिकृत बीच बाटैबाट त्यही ठेकेदारको गाडी चढेछन् जसको कामबारे अनुगमन गर्न टोली हिडेको थियो । बाटामा उतारेर सिडियोले सार्वजनिक रूपमै हप्काएछन् । भैगो यी कुरा ।
 नूरको टिम यस्तै एउटा खबरको लागि आएको थियो, जो कुनै संयुक्त राष्ट्र संघीय कार्यक्रमको हाँगाको भरमा धेरै विकासोन्मुख मुलुकमा चलेका छन् । खासमा रिपोर्टले सेवाग्राही भनेर पठाएका नामहरूले सेवा पाएकै हुन् ? हुन भने कस्तो अवस्थाका हुन् ? त्यो सेवा लिने अवस्थासम्म उनीहरू कसरी पुगे ? काम गराई पुरै समयको हिसाब किताबको थियो । काममा कुनै कसैको आग्रह र हस्तक्षेप थिएन ।

***
नूर इमेजेजको टिमसँग ५ दिन यात्रा गर्दा हाम्रो राजधानी बाहिरका पत्रकारले गर्ने फोटोग्राफी र विदेशीले गर्ने बीचका अन्तरहरू देख्न पाइयो । रफिकी पोट्रेट फोटो र बोनेट डीएसएलआरबाट भिडियो खिच्ने । दुवैलाई आफूले खिचेका विषयमाथिका कथा पनि चाहिएको थियो ।
फोटो, भिडियो, लेखन, अडियो लिने सबै काम एकसाथ गरिरहेका थिए । एउटा विषयमा चाहिने जानकारी केही नछुटाउने तरिकाको काम गराइ थियो उनीहरूको । फोटो र भिडियोका लागि प्रकाशको मापदण्ड पुरै नापजोखसहितको । लाइट मिटर, जीपीएस आदि सबैको काम लिइने । पोट्रेट खिच्न पनि सब्जेक्टको ब्याकग्राउण्डमा सेतो पर्दा राख्ने, एक्स्टर्नल फ्ल्यास पनि कोडालाइटको ठूलो चलाउने । त्यसको ब्याट्री पनि भारी भरकम । पहिले भिडियो-अडियो । त्यसपछि फोटोको काम । 
हुन त फोटोपत्रकारिता आफैमा जटिल छ । जटिल यस अर्थमा - खिचेर हिड्न पाइँदैन । के खिचियो ? त्यसको जानकारी टिप्नै पर्छ । टिपेको जानकारीलाई न्याय दिने फोटो हुनैपर्छ । हाम्रो नेपाली फोटोपत्रकारितालाई अर्थ्याउनु पर्दा मलाई शोखका लागि गीति एल्बम निकल्ने र गायनलाई निरन्तरता दिएर टिक्न खोज्नेका उदाहरण सटिक लाग्छ । आफ्नो आवाज सुन्नके लागि नि पैसा खर्च हुन्छ । यो रहर, ट्रायल अनेक रूपमा हुन सक्छन् । करिअर नै बनाउनका लागि पनि मान्छे जिन्दगीमा 'टर्निङ प्वाइन्ट' पर्खिरहेको हुन्छ । राम्रो गाउनेले पनि खास प्रकारका मोडमा आफूलाइ प्रमाणित हुनेगरि उपस्थित गराउन सकेन भने करिअरको बाटो फेरिन्छ । यो बाटोको तालमेल अनौठो छ । 
फोटोपत्रकारिताको करिअर बनाउँछु भनेर कस्सिनेका लागि हाम्रा नेपाली सञ्चारमाध्यम कति मित्रवत छन् भन्नेमा केलाउनु-खुर्किनु पर्ने कुरा धेरै छन् । आफ्नो घरबाट पैसो हालेर सञ्चारमाध्यमका लागि काम गरिरहेको युगमा नेपाली छन् । केही समय बिताउन रहर गरेर सञ्चारमाध्यममा पस्ने पनि जमात छ । त्यो पक्कै लामो समय टिक्दैन तर, पारिश्रमिक पाए/नपाए पनि निस्फिक्री रहने मनुवाहरूका कारण यसैलाई करिअर बनाउँछु भन्नेलाई अप्ठ्यारा सिर्जित हुन्छन् । नेपाली फोटोपत्रकारितामा अहिले पनि २/४ जनाबाहेक अरूले आफ्नै निजी सम्पत्ति खर्चेर किनेका सामान खियाएका छन् । काम गरिरहेको माध्यम देखिने ठाउँ हो, यसका आधारमा बाहिरका आवधिक अवसर हात पार्ने काम गरिन्छन्/गर्छन् । की वायर सर्भिसका लागि काम गर्न पाए टिकिने, कि त आफ्नो अर्को बलियो आधार भएर पत्रकारिता नामका लागि गर्नेलाई सजिलो छ ।  
यी दुइ पाहुना आफू कार्यरत संस्थालाई सबथोक किनाएर क्याप्चर भएका कुरामात्रै दिनेगरि आएका थिए । कसैलाई भेट्नै परे उसको समय नाश हुने, आर्थिक नोक्सानी पर्ने अवस्थामा क्षतिपूर्ति दिनेसम्मको विकल्प उनीहरूका साथ थियो । 
**** 
पाकिस्तानी मुस्लिम परिवारका रफिकीले आफ्ना अनुभव सुनाए -'मैले धेरैपल्ट टाइम्स, न्यूयोर्क टाइम्स र यस्ता ठूला पत्रिकाका सम्पादक तहकाहरूसँग झगडा गरेको छु । धेरैजना फोटोपत्रकारलाई अवमुल्यन गरेर हतोत्साही गरिरहेका हुन्छन् ।' आफ्नो कामको मूल्यांकन आफै गरेर अघि बढ्नको विकल्प नभएको उनले बताए ।
'धेरैपल्ट फोटो स्टोरी त्यस्ताको प्रमुखतासाथ छापिन्छ, जो एडिटर, पेज एडिटरका चिनजानका, आफन्त र मुल रूपमा फोटोपत्रकारितालाई मुख्य काम मानेर गर्ने हुँदैनन्', उनले भने, 'यो एक प्रकारले फोटोपत्रकारलाई चिढ्याउने काम हो । पेशामाथिको भद्दा मजाक हो । तर, गर्छन् । गरिरहेका छन् । त्यसैले कहिलेकाँही झगडा पर्छ ।' यस्तो स्थिति जहाँसुकैका सञ्चारमाध्यममा समस्या भएको उनले सुनाए । 'तर, निराश नभइ आफूले छानेको विषयमाथि राम्रो काम गरेर अडान राख्नैपर्छ', उनले विकल्प बताए, 'सोसल मिडियामा आफ्नो कामको प्रचार हुनेगरि पोस्ट बढाउनु पर्छ । यसका लागि फेसबुक, इन्स्ट्राग्राम र यस्ता माध्यम ठीक छन् । पत्रिकाका पाठकले यी माध्यमबाट पनि फोटोपत्रकारको कामलाई याद गर्छन् ।'
रफिकी सञ्चारमाध्यमसँगको कामका मामिलामा कुरा गराइले अनुभवी लागे । उनका तर्क हाम्रो कामका मामिलामा पनि धेरै फरक थिएन । 'एउटा फोटो स्टोरी गरौ । त्यसको अलि लामो टेक्स्ट लेखौं । पेज एडिटरले २/३ वटा फोटोमात्रै छानेर काम खत्तम गर्छ', उनले बताए, ' अरू फोटा जतगसाथ राख्ने अनि मौका पर्खने । छिटो र भनेकै बेला नहुन सक्ला तर, त्यो कामको कदर हुने समय आउँछ ।'
मलाइ लाग्यो- 'के कुरा गर्छ यसले । सोझो र सुनिदिने भेटेर खुब अर्तिवाला कुरा गरिरहेछ !' मैलै सोधे 'त्यसरी मौका आउला भनेर कसरी चल्छ ? कहिले आउँछ त वास्तवमै मौका ?' उनी हाँसे र, भने 'म भन्न सक्दिन । तर, आउँछ भन्ने थाहा छ । मेरा लागि आएका छन् ।'  साँच्चै आदर्शका कुरा गर्न सजिलै हुन्छ । व्यवहारिक हुने कसरी भन्ने चाहि मान्छेले भोग्छ-सिक्छ । 
उनले सम्झौता नगरी विषय टिप्नुपर्ने बताइरहे । म सुनिरहें । भेटको दोस्रो दिन थियो दुवैका कामका तरिका देख्न पाएको । धरानको बसाइँमा मैले यी दुवै भेट्रानहरूका गूगलले देखाएका केही लिंक खोलेर हेरें । साँच्चै निकै काम गरेकाहरू रहेछन् । 
पेपको काम गराइ रफिकीभन्दा फरक । उनले विषयलाई आफ्नो उपस्थितिको बाधा पर्न नदिइ खिच्थे । यो शैली मलाइ मन परेको हो । उनी कम बोल्थे । फरर नभए नि काम चल्ने उर्दू बोल्ने रफिकी कश्मीरका मुसलमान परिवारका, हाल उनका आफन्त पाकिस्तानमा । आफू अफ्रिका बसेर रूवान्डामा काम गरिरहेका । नेचुरल लाइटमै काम गर्न मन पराउने पेप स्पेनिस । 'म लाइट डिस्टर्ब गरेर खिच्दा रमाउँदिन', उनले भने, 'जस्तो छ त्यही नेचुरल लाइटमा फोटो गर्दा राम्रो । मैले अहिलेसम्म त्यस्तै गर्दै आएको छु ।'
***
निकोनको  डी८१० (फुलफ्रेम) क्यामेराधारी यो जमात फिक्स र २.८ लेन्स चलाइरहेका थिए । दुइवटा ट्राइपोर्ट, एक्स्टर्नल भ्यू-फाइन्डर, हार्ड-ड्राइभ, फ्ल्यास, माइक, रेकर्डर, त्यसका आवश्यक डिभाइसहरू । एप्पलका ल्यापटप । लोप्रोका ब्याग ।  सामानको अति जतन गर्ने । हराउला, झर्ला, धूलो लाग्ला भनेर चनाखो । स्थितिअनुसार बढी ट्राइपोर्ट नै प्रयोग गर्ने । 
एउटा खास विषयका लागि यिनीहरू आफू अनुकूल परिस्थिति बनाउन हरतरहले तयार थिए । खोटाङ फर्कनुपर्ने एउटा जोडीलाई एक दिन रोकिन लगाएर होटल, खाना र गाडीभाडा दिएपछि उनीहरू कतिसम्म तयारीमा थिए भन्ने बुझियो ।
फुर्सदमा पेप एमेजोनमा आउने क्यामेराका सहयोगी डिभाइसबारे सर्च गरिरहने । रफिकी इन्स्ट्राग्राममा फोटो पोष्ट गरिरहने । नूरको अर्को टोली पाकिस्तान पुगेको रहेछ । त्यो टोली पनि उसैगरि फोटो पोष्ट गरिरहेको थियो ।  
***
हामीले धरानबाट थालेको यात्रामा सप्तरीको जोगिनियाँ, सिरहाको कर्जन्हाहुँदै धनुषाको  रघुनाथपुर छिचोलियो । रघुनाथपुरको किरतपुर पुग्दा झमक्क साँझ परेको थियो । नेपाली भाषा बुझ्ने नै भेट्न गाह्रो । तर, तराइका भाषा सजिला छन् । जवाफ उनीहरूकै लबजमा फिराउन सकिएन भने पनि भोजपुरी-मैथिली मिसाएर बोल्दा चल्छ । थोरै हिन्दी थोरै नेपाली मिसाएर जवाफ दिँदा पनि सञ्चार हुन्छ । भाषैले समस्या भएन ।
अहिलेका डीएसएलआर क्यामेरा भिडियो खिच्न गज्जप सुविधासहितका छन् । तर, कस्तो खिच्ने ? जेमा दिनुपर्ने हो, त्यहाँ गुणस्तर बुझेकाहरू के खोज्छन् ? यी प्रश्न महत्व राख्छन् । ती महत्वअनुसारै हुने रहेछ मूल्य र गुणस्तरका लागि क्यामेराको चयन ।
फोटो सकभर ठूलो साइजमा 'र' फर्मेटमा खिच्ने ।


नेपाली यूनिकोडमै फरर टाइप गर्दै जाम भनेको ..................
लेख्ता लेख्तै अल्छि लाग्यो । 
कुनैबेला लेखम्ला फुर्सदमा फेरि । 






No comments: