Showing posts with label देश परिवेश. Show all posts
Showing posts with label देश परिवेश. Show all posts

Thursday, August 7, 2025

नूरसँगको यात्रा -२



यात्रामा म फोटोग्राफी गरिरहेको थिएँ। पाहुनाका भन्दा सस्तो नै सही तर मसँग पनि डीएसएलआर क्यामरा थियो, फोटो एडिट गर्न र समाचार लेख्न एसरको एस्पायर वन भन्ने नोटबुक थियो। जहाँ पुगे पनि आफू काम गरिरहेको अखबारका लागि समाचार र फोटा पठाउने काम भइरहेको थियो। नौलो ठाउँ पुगिन्थ्यो। फोटोका विषय पनि नौलो हुन्थ्यो। छापिइ नै रहेको थियो। त्यसले मलाइ यात्रा उपयोगी भइरहेको भान थियो। 

म दुवैका लागि बाटो देखाउने र भाषा अनुवादकको काममा थिएँ। मेरो अंग्रेजी राम्रो थिएन, न मैथिली र भोजपुरी नै राम्रो थियो। तर, काम चलाउन गाह्रो पनि थिएन। कारण, पेप थोरै बोल्थे। उनको अंग्रेजी बुझिने नै थियो। रफिक उर्दु पनि बोल्थे। तर, कम कम। उनलाई अंग्रेजी नै सजिलो लागेको जस्तो बुझिन्थ्यो।

*** 

पूर्वपश्चिम राजमार्गको यात्रामा धनुषाको ढल्केवर र सिरहाको बन्दीपुर सम्झना छ ? कमला नदी पुल त सम्झना पक्कै हुनुपर्छ। हो, त्यो कमला पुलको केही वारि धनुषापट्टि राजमार्ग छाडेर दक्षिण लाग्ने ग्राभेल सडक। करिब ४/५ किलोमिटरको यात्रापछि रघुनाथपुर पुगिने रहेछ।


बाटो निकै खराब थियो। धेरै ठाउँ खाडलै खाडल। एउ ठाउँमा गाडी खाडल पार गर्न नस्कने भयो। चालकले भने, 'तपाइँहरु यहाँबाट हिँडेर जानुस्। म गाडी कुर्छु, यहीँ हुन्छु।' विकल्प थिएन। पैदल यात्रा गाह्रो थिएन। तर, साथीहरुको ट्राइपोर्ट, ब्याट्री लगायतका सामान वजनदार थिए। तैपनि तीन जनाले सक्नेजति बाँडेर बोकियो। हिँडियो। एकाध किलोमिटर अघि बढेपछि एउटा चिया पसलमा केही मान्छे गफिइरहेका भेटिए। 

हामी जसलाई भेट्न जाँदैथियौं उनको घर सोधियो, अलि परै रहेछ। एक जनाले सँगै गएर घरैसम्म लगिदिने भए। हामीलाई पनि राहत भयो। उनी अघि अघि लागे। हामी पछिपछि। बाटो छाडेर गोरेटो र खेतका आली गर्दै त्यो घरमा पुगियो।  

नेपालमा जहाँ पुगे पनि नेपाली भाषा बोले सबैले बुझ्छन्, सञ्चार-संवाद सहज छ भन्ने मेरो भ्रम त्यहाँ पुग्दा तोडियो। कारण, कुरा गर्न मैथिली नै बोल्नुपर्ने रहेछ। 

हामी एक जना महिलासँग संवाद गर्न खोजिरहेका थियौं, जसलाई फिस्टुलाको समस्या थियो। उनले निकै कष्ट खेपेकी थिइन। उनको नाउँ सोध्दै, घर खोज्दै पुगियो। तर, अपरिचित पुरुषहरुसँग बोल्न उनले निकै अप्ठ्यारो मानिन। सुरुमा त बोल्नै पनि मानिनन्।

तर, हामीलाई त्यो गाउँमा स्थानीय जनप्रतिनिधिले उनको घर देखाइदिएका थिए। उनी गाउँका गन्यमान्य रहेछन्, अभिभावक मानिने। उनले भने गाउँलेले  शिरोपर गर्ने बुझियो। अनि उनैलाई मैले सिफारिसको आग्रह गरेँ। उनले ती महिलालाई सम्झाइदिए।

***
हामीले उनीसँग अडियो-भिडियो र फोटो कुराकानी गर्‍यौं। अँध्यारो भइसकेकाले फोटो/भिडियो खिच्न एक्स्ट्रा लाइट प्रयोग गर्नु पर्‍यो। 

संवाद सुरुवातका करिब १० मिनेट उनले कुरा गर्न धक मानेको देखियो। त्यसपछि बिस्तारै भन्दै गइन। उनको माइती कमला पारि सिरहामा तटीय क्षेत्रको एउटा गाउँमा थियो। १७ वर्षकै उमेरमा विवाह कमला पारिको छिमेकी गाउँमा भएको थियो। माइती र घर वारिपारि आउजाउका लागि खोला तर्न डुंगा चल्थ्यो। 

श्रीमान सामान्य मजदुर। घरको आर्थिक अवस्था राम्रो थिएन। दम्पती नै अर्काको खेतमा काम गर्थे। एउटा गर्भ खेर गएपछि उनलाई मलमुत्र नअडिने समस्या जब आयो, निकै सास्ती पाइन। त्यो समस्या गाउँमा कसैलाई भन्न मिल्ने पनि थिएन। भनिहालियो भने नानाथरी कुरा काटिने, अपहेलित भइने डर थियो। माइती गएका बेला त्यहाँको स्वास्थ्य चौकीमा पुगिन्। डाक्टरलाई समस्या बताइन। डाक्टरले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सल्लाह दिए।

उनले धरानसम्मको यात्रा कसरी गरिन् भन्ने कथा फेरि छुट्टै लामो थियो। सुरुमा त आफ्नो समस्या श्रीमानलाई भन्नै गाह्रो परेको थियो। आफ्नो बिमारी बताउँदा श्रीमानले 'अब घर आउनुपर्दैन, माइतीमै बस्नु, म अर्की ल्याउँछु' भन्ने सम्भावना उच्च थियो। किनभने गाउँको वातावरण त्यस्तै थियो।

धेरै संघर्षका दिनपछि उनका लागि धरानको यात्रा मात्रै सम्भव भएन, उपचार पनि भयो। हामीले भेट्दा उनी निको भएकी थिइन। उनले आफ्नो भाषामा हामीलाई सकसका दिनको भोगाइन सुनाइन। बेला बेला आँसु झार्दै ती दिन सम्झेर नमिठो मानिन।

*** 
एउटा प्रश्नमा उनले दिने जवाफ सकिँदा मैले अनुवाद गरेर क्यामराधारी दुई मनुवालाई बुझाइरहेको थिएँ। उनी मैथिलीमा भन्थिन्, म नेपालीमा बुझ्थेँ र ब्रोकेन अंग्रेजीमा उनीहरुलाई बुझाउँथेँ। उनीहरु - 'ओह ! यस यस... द्‍यान, द्‍यान... ओह गड' भनिरहेका हुन्थे। 

हाम्रो संवाद करिब २ घण्टा चल्यो। सकिएपछि हामीले उनी, उनको परिवार र हामीलाई बाटो देखाउने स्थानीय अगुवालाई धन्यवाद दियौं। उनीहरुको आतिथ्य भाव निकै प्रभावित पार्ने खालको थियो। 

'राति यात्रा गाह्रो हुन सक्ला, हाम्रै गाउँमा रोकिनुस्। तपाइँहरुलाई बासको प्रबन्ध गर्छौं,' स्थानीय अगुवाले भने। दुवै पाहुनालाई रोकिनु थिएन। किनभने उनीहरु यात्रामा कहाँ कहिले कति बजेदेखि कति बजेसम्म रहने र कहाँ के गर्ने भन्ने सूची बनाएर आएका थिए। उक्त तालिका अनुसार भोलि बिहानै धरानमा अर्का एक जनालाई भैट्नु थियो।

आग्रहका लागि आभार प्रकट गरेर हामी बिदा भयौं। 

***
फर्किँदा रफिकीले भने, 'कहीँ नुक्कडवाली चाय मिलेगा ?'
मैले भनेँ - 'क्यों नहीँ, चिनी कम दूध ज्यादा, पानी कम रङ ज्यादा?'
- हाँ हाँ
- चलो आगे कहीँ मिलेगी जरुर । वहीँ रुक के चाय पिके आगे बढेंगे।
-जरुर जरुर
उनको मातृभाषा उर्दु थियो। मलाइ पनि संवाद सजिलो। केही अगाडि उही चिया पसल थियो, जहाँबाट हामीले बाटो देखाउनेको साथ पाएका थियौं। रोकियौं र दुई ँजनाले भनेजस्तो चिया पियौं। पेपले चिया खाएनन्।

चिया खाएपछि हामी गाडी भएको ठाउँमा आयौं। बेलुकीको करिब ९ बजेको थियो। चारैतिर घुप्प अँध्यारो। आकाश खुल्ला थियो। चालकले गाडी राजमार्गमा ल्याएपछि हामीलाई धरान पुगुन्जेल कतै रोकिनु थिएन। हेर्दै आइयो। 
  
***
अगाडिका प्रसंग फेरि अर्को किस्तामा लेखौंला। अहिलेलाई यति नै । 

***
 11/28/2014 को लेखोट पढेर जुगपछि ती दिन मगजमा ताजा भए। सम्झेर 8/7/2025 मा ती गन्थनमा थपथाप । 

Sunday, August 3, 2025

पत्रकारितामा एआइको प्रयोग : सम्भावना, उपयोगिता र सही अभ्यास

युग डिजिटल हो, हामी कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गर्न पाउने अवस्थामा आइसकेका छौं। सबै पेसा-व्यवसायमा रहेकाहरुले एआइको प्रयोग गरिरहेका छन्। 

भाषा र तथ्य/तथ्यांकसँग दिनहुँ खेल्नुपर्ने पत्रकारिता पेसाका लागि एआइ सहयोगी छ। पत्रकारले एआइ प्रयोग गर्न नथालेका होइनन्। तर, जसजसले थाल्नुभएको छैन, उहाँहरुलाई उपयोगी होस् भनेर यो लेख तयार पारिएको हो। कहाँ कतिले एआइ प्रयोग गर्दैछन् भन्ने विषयमा हामी अर्को लेखमा चर्चा गरौंला। अहिले प्राथमिक कक्षा जस्तै कुराकानीबाट एआइका उपयोगिता विषयमा जानौँ। 

जे सोध्यो भन्छ, सल्लाह दिन्छ। भारी भरकम तथ्य तथ्यांकलाई छोटो छरितोमा बताउँछ। एआइ एउटा महत्त्वपूर्ण उपकरण बन्दैछ। समाचार संकलन, सम्पादन, तथ्यजाँचदेखि सामग्री प्रस्तुतिकरणसम्म एआइले पत्रकारलाई छिटो र प्रभावकारी ढंगले काम गर्न सहयोग पुर्‍याइरहेको छ। पत्रकारले समयसँगै नयाँ प्रविधि सिकेर आफैंलाई अद्यावधिक गर्नुपर्ने हुन्छ। एआइ सिक्ने र प्रयोग गर्ने सीप हासिल गर्नु अब विकल्प होइन आवश्यकता बनेको छ।

क्यालकुलेटर आएपछि हामीलाई हिसाबमा दिमाग लगाउन मन नलाग्नु, मोबाइलमा सेभ हुने भएर मान्छेका सम्पर्क नम्बरहरु याद नहुनु जस्ता अपवादबाहेक एआइ हाम्रा लागि सहयोगी छ। कति काम लिने, कसरी र कस्तो भन्ने चाहिँ हामीमै निर्भर छ। 

कुराकानीको सन्दर्भलाई अल्छिलाग्दो नबनाउन एउटा रमाइलो घटना सुनाउँछु। कतै उद्घोषण प्रयोजनका लागि दुई जना महापुरुषको बायोडाटा मकहाँ आयो। फेहरिस्त लामो थियो र, सबै अंग्रेजीमा थियो। जीवनी मैले झट्टै बनाएर दिनुपर्ने भयो। म अफिसको काममा व्यस्त थिएँ। 

त्यो पुरै पढेर नेपालीमा बनाइदिन समय थिएन। च्याटजीपीटी खोलेँ र त्यसमा दुवै बायोडाटा एट्याच गरिदिएँ र लेखेँ- यी दुवै जनाको संक्षिप्त जीवनी चाहियो? करिब १६०/१६० शब्दको। एकैछिन उसले पढ्न लागयो अनि मैले तुरुन्तै उत्तर पाएँ। अनि फेरि भनेँ- यी दुई जनालाई सम्मान गर्नुपर्ने छ। सम्मानको नाम फलानो, दिने संस्था र अध्यक्ष फलानो।

खरर जवाफ आयो। साह्रै सरल भाषामा। तर, एकाध शब्द हिन्दीका मिसिएका थिए, जस्तोकी 'लोग।' म्याटर कपी गरेँ। च्याटजीपीटीलाई 'अच्छा' संकेत गर्ने बुढी औंलोको संकेत चिन्ह थिचेँ। थोरै भाषा सम्पादन गरेँ, अनि पठाउनुपर्ने व्यक्तिलाई ह्वाट्स्एप गरिदिएँ।  'छिटो राम्रो' भन्दै उताबाट आभार प्रकट भयो।

नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषका  प्रक्रिया बारे जानकारी लिनु थियो। गुगल गरेँ, उक्त उक्त कोषको १५ पेजको सञ्चालन कार्यविधि-२०८० भेटेँ। google gemini मा एट्याच गरेर सोधेँ- कर्मचारी बचत वृद्धि अवकाश कोष सञ्चालन कार्यविधिमा सहभागी कुनै कर्मचारीले कार्यालय परिवर्तन गरे वा जागिरको निकाय फेरियो भने कोषमा आफ्नो सहभागितालाई निरन्तरता कसरी दिने ? यो बारेमा केही व्यवस्था छ कार्यविधिमा ?

उत्तर आयो -  कर्मचारी बचत वृद्धि अवकाश कोष सञ्चालन कार्यविधि, २०८० अनुसार, यदि कुनै सहभागी कर्मचारीले आफ्नो कार्यालय वा जागिरको निकाय परिवर्तन गरेमा, उनीहरूको सहभागितालाई निरन्तरता दिनका लागि केही व्यवस्था गरिएको छ ।

  • कार्यालयले जानकारी गराउनुपर्ने: कर्मचारी सरुवा भएमा, सम्बन्धित कार्यालयले ईमेल वा एसएमएस जस्ता विद्युतीय माध्यमबाट कोषलाई जानकारी गराउनुपर्नेछ ।

  • परिचयपत्र नम्बरको प्रयोग: सरुवा भएको जानकारी दिँदा, सरुवा हुनुअघि कार्यरत कार्यालयबाट मासिक कोष कट्टी गर्दा कोषले उपलब्ध गराएको परिचयपत्र नम्बर नयाँ कार्यालयबाट मासिक पठाइने फाँटबारी विवरणमा उल्लेख गरी कोषलाई जानकारी दिनुपर्नेछ ।
  
***

माथिका दुई प्रतिनिधि उदाहरण हुन्। प्रयोग गर्ने तरिका तपाइँका हातमा छ। एआइलाई तपाइँ जे सोध्नुस् इन्टरनेटमा सन्दर्भ सामग्री भेटिने विषयवस्तुको सटिक जवाफ दिन्छ, फोटो र भिडियो बनाइदिन्छ। अडियो फाइल अपलोड गरेर त्यसको लिखित (टेक्स्ट) पाउन सकिन्छ। जरुरी छ उसलाई सही निर्देश (प्रम्प्ट) दिन। लामा लामा फाइल अपलोड गरेर त्यसको सारांश सोध्नुस्, सके जति काम लिनुस्।

नेपाली युनिकोडमा टाइप गरेका कुनै समाचार कपी गरेर च्याटजीपीटी, डीपसीक वा जेमिनीमा पेस्ट गर्नुस्, अनि सोध्नुस् - 'यो समाचारका मुख्य मुख्य ५ बुँदा केके हुन्?' सर्रर उत्तर आउँछ तपाईंका लागि ब्रेकर तयार। ५/७ वटा समाचारका लिङ्क दिनुस् र सोध्नुस् - तथ्यगत गल्ती केके छन्? जवाफ खुरुखुरु आउँछ। तर, तपाइँले त्यसलाई सही ठानेर पठआउनुअघि हो/होइन भन्ने चाहिँ मिहिन तरिकाले चेक गरेकै हितकर हुन्छ।

  • पत्रकारितामा मुख्य उपयोगिता समाचार संकलन र अनुसन्धानमा सहजता एआइका सक्षम खोज उपकरणले लाखौं डाटा र दस्तावेजलाई छोटो समयमा विश्लेषण गर्छ। तथ्यांक, रिपोर्ट, प्रेस विज्ञप्ति वा पुराना लेख छिट्टै पत्ता लगाउन मद्दत पुर्‍याउँछ। 
  • तथ्यजाँच र स्रोत प्रमाणीकरण डीपफेक वा गलत सूचना बढ्दै गएको सन्दर्भमा, एआइले स्रोत र सामग्रीको विश्वसनीयता छानबिन गर्न सक्छ। गुगल फ्याक्ट चेक, लोजिकलीम फुल फ्याक्ट जस्ता एआइ–आधारित उपकरणले अफवाह पत्ता लगाउन सहयोग गर्छ।
  • भाषा अनुवाद र बहुभाषिक सामग्री एआइ–चालित अनुवाद प्रणाली (जस्तै Google Translate, DeepL) ले समाचारलाई धेरै भाषामा उपलब्ध गराउन सक्छ। बहुभाषिक पाठकको पहुँच बढ्छ र पत्रकारको काम सजिलो हुन्छ।
  • समाचार लेखन र सामग्री निर्माण ChatGPT, Jasper, Writesonic जस्ता एआइ उपकरणले समाचारको प्रारम्भिक ड्राफ्ट तयार गर्न सक्छ। पत्रकारले त्यसलाई सम्पादन, तथ्यजाँच र शैली मिलाएर प्रयोग गर्न सक्छन्।
  • डेटा पत्रकारिता र विश्लेषण ठूलो डाटासेटको विश्लेषण एआइमार्फत सजिलो हुन्छ। चुनावी परिणाम, आर्थिक तथ्यांक वा सामाजिक सर्वेक्षण जस्ता डाटालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्न सकिन्छ।
  • अडियो-भिडियो सामग्री निर्माण एआइ-आधारित भ्वाइसओभर, भिडियो एडिटिङ र ग्राफिक्स उपकरणले मल्टिमिडिया समाचारलाई आकर्षक बनाउँछ। उदाहरण: Descript, RunwayML, Pictory आदि। 
  • एआइलाई सही तरिकाले प्रयोग गर्न प्राम्प्टिङ सीप एआइसँग प्रभावकारी रूपमा कुरा गर्न 'प्राम्प्टिङ' महत्त्वपूर्ण हुन्छ। हामीलाई चाहिएको के हो भन्ने एआइलाई बुझाउनु पर्छ, निर्देशन उसले बुझ्नसक्ने तरिकाको हुनुपर्छ। पत्रकारले प्रयोग गर्दा प्रम्प्ट स्पष्ट र सटिक हुनैपर्छ। त्यस्ता प्रम्प्ट दिए भने मात्र गुणस्तरीय सामग्री प्राप्त हुन्छ।
सही प्राम्प्ट कसरी गर्ने तयार ? 
स्पष्ट र ठोस निर्देशन अस्पष्ट प्रश्न भन्दा ठ्याक्कै के चाहिएको हो भनी लेख्नुपर्छ। उदाहरण : नेपालको हालको मौद्रिक नीतिको मुख्य बुँदा संक्षेपमा लेख। 

  • सन्दर्भ र उद्देश्य प्रष्ट पारौं 
समाचारको शैली (विश्लेषणात्मक, सूचनामूलक, अनौपचारिक) उल्लेख गर्नुपर्छ। उदाहरण : 'अन्तर्राष्ट्रिय व्यापार सम्झौताबारे ३०० शब्दको समाचार लेख, सरल भाषामा।' 
  • भाषा र स्वर तोक्नुपर्छ 
नेपाली वा अंग्रेजी भाषा स्पष्ट पारौं। औपचारिक, मित्रवत्, पत्रकारिक शैली के चाहिन्छ भन्ने जानकारी दिनुपर्छ। 
  • क्रमबद्ध प्रश्न सोध्नुपर्छ 
जटिल विषयलाई चरणबद्ध रूपमा सोध्दा एआइले राम्रो जवाफ दिन्छ। 
  • आफ्नो आवश्यकता अनुसार आउटपुट सम्पादन गरौं 
एआइले दिएको सामग्रीलाई जस्ताको तस्तै प्रयोग गर्नु ठीक हुँदैन। हामीले पत्रकारिको मानकअनुसार परिमार्जन गर्नुपर्छ। 
  • लोकप्रिय एआइ साइट र उपकरणहरू 
आज इन्टरनेटको संसारमा हजारौं एआइ टुल्स छन्, तर पत्रकारका लागि उपयोगी केही मुख्य प्लेटफर्म यस प्रकार छन्-

  1. ChatGPT (OpenAI) : समाचार लेख, अनुसन्धान, विचार निर्माणमा प्रभावकारी। 
  2. Google Gemini (पूर्व Bard) : ताजा जानकारी र विश्लेषणका लागि। 
  3. Perplexity AI : तथ्यांकमा आधारित उत्तर र स्रोतसहितको जानकारी दिन सक्षम।
  4. Jasper AI : मार्केटिङ र सामग्री निर्माणमा उपयोगी।
  5. Writesonic : समाचार, ब्लग र SEO सामग्री बनाउन प्रयोग हुने। 
  6. Descript : अडियो/भिडियो सम्पादन र ट्रान्सक्रिप्सनका लागि।
  7. Runway ML : भिडियो र क्रिएटिभ भिजुअल सामग्री निर्माण।
  8. Canva (Magic Write सहित) : ग्राफिक्स र छोटो सामग्री लेखन। 
यसका अलावा Grammarly, DeepL, Quillbot जस्ता उपकरणले भाषा सुधार र अनुवादमा सहयोग पुर्‍याउँछन्। 

पत्रकारितामा एआइको प्रयोगले समाचार उत्पादन प्रक्रियालाई छिटो, भरपर्दो र आकर्षक बनाएको छ। तर, एआइलाई पूर्ण रूपमा भरपर्दो स्रोत मान्न सकिँदैन। पत्रकारले तथ्यजाँच, सन्दर्भ बुझाइ र नैतिक पक्षलाई प्राथमिकता दिनैपर्छ। 

सही प्राम्प्टिङ र सही उपकरण प्रयोग गर्न सक्ने पत्रकार नै नयाँ युगमा सफल हुनेछ। सही प्राम्प्टिङ सीप र एआइ टुल्सको ज्ञानले पत्रकारलाई भविष्यमा प्रतिस्पर्धी र सक्षम बनाउन मद्दत पुर्‍याउँछ। पत्रकारले अब एआइ प्रयोग सिक्नै पर्छ, किनभने यो मात्र प्रविधि नभई पत्रकारिताको नयाँ शक्ति हो। 

एआइले पत्रकारितामा तीव्र परिवर्तन ल्याइरहेको छ। यसले समाचार उत्पादनलाई छिटो, आकर्षक र तथ्यपूर्ण बनाउन सहयोग पुर्‍याउँछ। तर, एआइलाई पूर्ण भरपर्दो मान्नु गलत हुन्छ। पत्रकारले तथ्यजाँच, सन्दर्भ बुझाइ र नैतिक मानकलाई सधैं प्राथमिकता दिनुपर्छ। 

(यो लेख तयार गर्दा च्याटजीपीको मद्दत लिइएको छ। तस्वीर एआइ इमेज जेनेरेटर क्राइयोनद्वारा सृजित हुन्)

Monday, September 13, 2021

ट्याक्सी

अस्पतालबाट डेराको यात्रा आज जसोतसो प्रबन्ध भयो ।  हामीहरु केही कुराको प्रतीक्षा गर्छौ ।  प्राप्तिसँगै पट्यारलाग्दो त्यो प्रतीक्षाको समयलाई बिर्सन्छौं । आज त्यसैगरी नबिर्सन ब्लगमा लेखिराखेको । कोठामा आइसकेपछि लागेको के हो भने यस्तो त अरुलाई पनि पर्छ। ट्याक्सी कसरी व्यवस्थापन हुँदो होला ?

गत साता श्रीमती र छोरालाई कोभिड-१९ को संक्रमण भयो । छोरालाई खासै शारीरिक समस्या देखिएन,
श्रीमतीलाई भने यो रोगले निकै दु:ख दियो । भएको के थियो भने उनी एउटा विवाह समारोहबाट स्कुटर कोठा फर्किँदा वर्षामा भिजेकी थिइन । ज्वरो आयो, रुघा लाग्यो । हामीले ठान्यौं -भिजेका कारणले हुनुपर्छ। ३/४ दिनसम्म पनि सञ्चो नभएपछि हामीले कोभिड पनि हुनसक्ने शंका गर्दै घरमा सतर्कता अपनायौं। निको नहुनु, ज्वरो र रुघाखोकी लम्बिनु, जिउ दुख्नु, खान मन नलाग्नु आदि लक्षण हाम्रा परम्परागत मौसमी रुघामर्कीका हुन् भन्ने सुनिआएको हो । तैपनि  एकपटक कोभिड टेस्ट गरि हेरौं भन्ने सल्लाह गरियो । 

अघिल्लो आइतबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गराउन पुग्यौं । एक्सरे पनि गरायौं । पीसीआरको रिपोर्ट बेलुकी ८ बजे एसएमएसमा आयो - कोरोना पोजिटिभ । त्यही रात छोरालाई पनि ज्वरो आयो । मैले भोलिपल्ट उसलाई अस्पताल पुर्‍याएँ । उसको पनि रिपोर्ट पोजिटिभ।

छोरालाई जँचाउन जाँदा मैले श्रीमतीजीको एक्सरे रिपोर्ट लिएँ, ओपीडीमा देखाएँ । डाक्टरले उनलाई निमोनियाका सामान्य लक्षण सुरु भएको संकेत गरे । भने 'फोक्सोमा सेता दाग देखिन थालेका छन्। लेखेको औषधि खुवाउनुस् । झोल पदार्थमा बल गर्नुस् । आत्तिनु पर्दैन।'

मंगलबार श्रीमतीजीको अक्सिजन लेवल घट्यो । अक्सिमिटरले सामान्य अवस्थामा हाम्रो शरीरमा अक्सिजनको मात्रा ९४ देखि ९७ सम्म देखाउने रहेछ । उनको ९३ देखायो । खोकी बढ्यो । दमको समस्या भए जसरी सास फेर्न थालेपछि मैले उनलाई पीसीआर गरेकै अस्पतालको आकस्मिक कक्ष पुर्‍याएँ । तर त्यहाँ त्यतिबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले 'अवस्था गम्भीर होइन, घर जानुस्' भने । ५/६ मिनेट पैदल हिड्न लगाएर अक्सिजनको मात्रा जाँच्दा मेसिनले ९५ देखाएपछि उनीहरुले खोकी कम गर्ने औषधि लेखिदिएर पठाएका थिए । भनेका थिए - 'अक्सिजनको मात्रा ९० भन्दा तल गयो भने आउनुस् । हामी गम्भीर बिरामी हेर्छौ। उहाँको अवस्था गम्भीर छैन ।' डाक्टरका कुरा प्रतिवाद गर्न भएन । तर श्रीमतीजीलाई गाह्रो भइरहेको थियो। तैपनि हामीलाई लाग्यो - डाक्टरले भनेको मान्नु ठीक । औषधि लैजाउँ, कसो बिसेक नहोला ।

बिसेक भएन । अक्सिजन लेवल ८५ मा झरेपछि बिहीबार सवेरै हामी फेरि त्यहीँ पुग्यौं । यसपटक स्वास्थ्यकर्मीले सतर्कतासाथ उपचार सुरु गरे । अक्सिजन सपोर्टमा राखियो । छातीको एक्सरे, रगत र पिसाब जाँच गर्न लगाए । निमोनिया निकै बढिसकेको थियो । अस्पतालमै भर्ना गरेर उपचार सुरु भयो ।

कोभिड जनरल वार्डमा  चार रात, पाँच दिन बिते । कसरी कसरी र त्यसबेला केके देखिए भन्ने पछि अर्को गफ गरौंला । मलाइ यतिबेला ट्याक्सीका कुरा लेख्नु छ ।

***

हिजो नै डाक्टरले 'घर लैजानुस्, अब आत्तिनु पर्दैन' भनेका थिए ।  जब जब अक्सिजनको पाइप झिक्यो, खोकी बढ्न थालिहाल्ने अवस्था कम भएको थियो । तर फेरि जोखिम कसरी लिने ? हामीले एक रात बिना अक्सिजन सपोर्ट अस्पतालमै बस्ने, अवस्था बिग्रिएन भने मात्रै  डिस्चार्ज लिने निर्णय गर्‍यौं ।

आज डिस्चार्ज लिइयो । दिनको करिब १ बजे डिस्चार्ज पेपर तयार भएपछि म ट्याक्सी खोज्न थालेँ । सुरुमा आफ्नो डेरा छेवैका एकजना गुरुजीलाई फोन गरेँ, जसले अघिल्लोपटक अस्पताल ल्याइदिएका थिए । उनले यतिबेला काँडाघारीतिर रहेकाले नभ्याउने अवस्था रहेको सुनाए । अस्पताल आएका धेरैजसो ट्याक्सीहरुलाई सोधेँ,  उनीहरु जसलाई लिएर आएका थिए, उनीहरुलाई नै लिएर फर्किने भेटिए । खाली भेटिएका २/३ वटाले बिरामी नबोक्ने जवाफ दिए । 

*** 

कोरोनासँग डराउनु पर्छ, सही हो । सतर्कता अपनाउनै पर्छ भन्नेमा दुबिधा पटक्कै राख्न हुँदैन । तर मैले घर लैजान लागेको व्यक्तिलाई संक्रमणको लक्षण देखिएको १४ दिन पुगिसकेको थियो । अस्पतालले 'घर लानू' भनिसकेपछि बिरामीको अवस्था अब रोग सार्ने थिएन ।  तर ट्याक्सी मानेनन् ।

निको भएकालाई एम्बुलेन्समा लैजाने कुरा पनि भएन । 'पठाओ' को सम्झना भयो । मोबाइल एपमा त्यसबाट ट्याक्सी खोजेँ । तुरुन्तै पाइयो । अर्डर कन्फर्म गर्नुअघि पठाओले कोभिड संक्रमित हो/होन पनि सोध्दो रहेछ । हामी संक्रमणमुक्त थियौं । त्यही अप्सन छनोट गरियो ।  हामीलाई लैजाने चालक र गाडी नम्बर देखायो । ट्याक्सी आउनेमा ढुक्क भयो । भाडा ३६९ रुपैयाँ पनि देखाएपछि अघिल्लोपटक आउँदाको भाडासँग तुलना गरेँ । महंगो होइन ।

बिरामी र पोको पारेका झोलाहरु  बाहिर निकालियो । वार्डबाट बाहिर आएर आकस्मिक कक्ष छेउ झोला बिसाएर ट्याक्सीको प्रतीक्षा थालियो । अचानक मोबाइलमा पठाओको एपले म्यासेज देखायो - 'राइडर ह्याज क्यान्सिल ।' (चालक जान मानेनन्)

*** 

अब फेरि अघिकै अप्सन ट्राइ गर्नुको विकल्प रहेन । म अस्पतालको गल्ली छाडेर त्रिपुरेश्वर-कालीमाटी मूल सडकमा आएँ । अस्पतालले डिस्चार्ज गरेको बिरामी बोक्छु भन्ने ट्याक्सी खोज्न निकैबेर लाग्यो । बल्ल बल्ल एउटा ट्याक्सी सहमत भयो । तर चालकले कोरोना सर्ने अवस्था हो/होइन भन्नेमा निकै केरकार गरे । 

जे होस् उनले गुँडमा पुर्‍याइदिए । फर्केपछि सोच्दैछु- कोरोनाले सबैतिर गाँजेको छ । जुनसुकै अस्पतालमा बिरामी बग्रेल्ती छन् । ट्याक्सी नपाइने समस्या अरुतिर पनि होला की नहोला ?

Sunday, April 28, 2019

Visit Pokhara - आउँ है पोखरा


गाडीमा ओर्लनुस् की हवाईजहाजबाट । तपाइँले यहाँको भुइँ टेक्नेबित्तिकै एउटा प्रश्नको सामना गर्नुपर्छ - कहाँ जानुहुन्छ ? होटल चाहिन्छ ? त्यसपछि तपाइँले आफ्नो बजेटअनुसार सवालजवाफ गर्नुस् । निराश पटक्कै हुनुपर्दैन,  किनभने पोखराले आतिथ्य गर्न जानेको छ । 

बिग्रियो, भत्कियो, नासियो र मासियो भनेर बारम्बार आइरहने नकारात्मक खबरहरूबाट ध्यान हटाएर यात्रामा रम्ने सुर कस्नेका लागि छोटो दुरीभित्र प्रशस्त गन्तव्य कतै छन् भने त्यो पोखरा नै हो । एउटै सहरभित्र ताल, गुफा, स्तुप र संग्रहालय हेर्न सकिने मात्रै होइन, सजिलो सडक र खानबस्नको सुबिस्ता पनि विशेषता भएकाले घुमन्तेका लागि यो सजिलो ठाउँ छ ।

एक्लै, साथीभाइ वा परिवारका साथ पोखरा घुम्न आउने निधो गरेकाहरूले होटल-रेस्टुरेन्टको चयन अब अनलाइनबाटै गर्न सक्छन् । इन्टरनेटको सर्च इञ्जिनमा पोखराका होटल खोजेर त्यहाँ भेटिने नम्बरमा फोन गर्दा आफ्नो बजेट अनुसारको खर्चमा बास, खानपान र घुमघामको व्यवस्थापन सजिलै हुन्छ । कार्यालयको कामविशेषले आइपुगेर गत मंगलबार पोखरा घुम्दै गरेको भेटिएका विराटनगरका पंकज वर्माले भने 'पहिले पहिलेभन्दा पोखरामा भीड बढेछ । घर, गाडी र मान्छे बढेछन् । तैपनि यो सहर घुम्न पाउनुको आनन्द बेग्लै छ ।' सहरले बढ्दो जनघनत्वसँगै घुमघामको गन्तव्य पनि थपेको पाएको उनले बताए ।
 
त्यसो त धेरै वर्ष अघिदेखि पोखरा उपत्यकाको मुख्य आकर्षण फेवाताल र माछापुच्छ्रे हिमाल हो । पोखराबाट माछापुच्छ्रे हिमालको हवाई दुरी ३३ किमि मात्रै छ । संसारका अग्ला १४ हिमालमध्ये तीन वटा पोखराबाट देख्न सकिन्छ । मौसम सफा रहँदा फेवातालमा पौडी खेलेको सुन्दर आकृति देखिने माछापुच्छ्रे हिमाल ६९४७ मिटर अग्लो चुचुरो हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने उक्त चुचुरो आरोहणका लागि खुला गरिएको छैन । त्यसैले माछापुच्छ्रेलाई 'कुमारी हिमाल' पनि भन्ने गरिएको छ । गाउँपालिकाले आन्तरीक स्रोत वृद्धिका लागि उक्त हिमालमा पनि आरोहण खुला गरिनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अहिले बहसको विषय भएपनि सरकारले आरोहण खुला गरिसकेको छैन ।
 
पोखरा उपत्यकामा फेवातालमात्रै धेरैले र सजिलै देख्नेमा पर्छ । तर, यहाँ बेगनास, रुपा, खास्टे, दिपाङ, गुँदे, न्युरेनी, मैदी, र कमल लगायतका नौ ताल छन् । फेवाताल र बेगनासका लागि नगरबस नै सञ्चालनमा छन् । अन्य ताल पुग्न गाडीमा वा हिडेरै जान पनि सकिन्छ । फेवातालमा तालबाराही मन्दिर छ । पोखरा घुम्न आउनेले बाराहीघाटबाट प्रतिव्यक्ति ६० रूपैयाँ तिरेर मन्दिर आउजाउ गर्न सक्छन् ।
 
फेवा डुंगा व्यवसायी संघका सचिव रुद्र भुजेल भन्छन्, 'बाराहीघाटमा डुंगा चलाउनेलाई कहिल्यै फुर्सद हुँदैन । बिहानदेखि बेलुकीसम्म घुम्न आउनेको चाप हुन्छ ।' पामेदेखि ड्यामसाइटसम्म गरेर फेवातालका आठ वटा घाट छन् । बाराहीघाट मन्दिर आउजाउ गर्न चाहनेको भीड हुने ठाउँ हो भने अन्य घाटमा निश्चित समयवधिका लागि डुंगा भाडामा लिएर तालको सयर गर्न सकिन्छ ।
 

आठै वटा घाट गरेर फेवातालमा ७३४ वटा डुंगा छन् । यिनमा ३५६ वटा डुंगा बाराहीघाटमा मात्रै रहन्छन् । यही घाटमा पनि छानो भएका सुरक्षित मानिने डुंगा ३५ वटा छन् । अन्य साना डुंगा छन् । ठूलो एउटा डुंगामा १२/१३ जना र सानोमा ४/५ जना चढ्न मिल्छ । 

'बाराहीघाटबाट मात्रै एक दिनमा कम्तीमा चार हजार जनादेखि बढीमा १० हजार जनासम्म ढुंगा चढ्छन्,' सचिव भुजेल भन्छन्, 'हामीले देख्तादेख्तै डुंगाको यात्रा धेरै सजिलो र सुरक्षित बनाइएको छ ।' यात्रुले लाइफज्याकेट लगाउनै पर्छ । 

दुर्घटनाका अवस्थामा उद्धारका लागि सशस्त्र प्रहरीको एउटा युनिट नै तैनाथ छ । तुलनात्मकरूपमा फेवाभन्दा अन्य तालमा भीड छैन । तर, लेकसाइड र फेवातालको भीडभन्दा केही पर्तिर रमाइलो गर्न चाहनेका लागि बेगनास अर्को सजिलो गन्तव्य छ । यहाँ २५७ वटा डुंगा छन् । यात्रुले समय तोकेर भाडा तिरेपछि घुम्न पाइन्छ । ३०९ हेक्टरमा फैलिएको बेगनास ताल एकान्तप्रेमीका लागि घुमघामको उपयुक्त थलो छ । बेगनासको बसबिसौनीबाट तालतर्फ नलागी पूर्व उक्लने हो भने अलि माथि पुगेपछि एकातिर बेगनास र अर्कातिर रुपाताल दृश्यावलोकन सहज छ । जाँदाजाँदै बाटामा पर्ने सुन्दरीडाँडामा भ्युटावर पनि छ । त्यहाँ उभिएर दुवै ताल हेर्न रमाइलो छ ।
 
पोखरा उपत्यका मुलुकमै सर्वाधिक पानी पर्ने क्षेत्र हो । किन यहाँ धेरै पानी पर्छ ? हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकाल भन्छन् 'यहाँको भूबनोट नै त्यस्तै भएर हो ।' तालतलैया धेरै हुनु, हिमालको नजिक, प्रशस्त वनजंगल र पहाडले घेरिएको भएर यहाँ वर्षा नियमित भइरहने उनले बताए । 'वाष्पीकरणको प्रक्रिया चलिरहँदा वर्षा नियमित हुन्छ,' उनले भने, 'यही पानी परिहरने भएकैले यहाँको मौसम सन्तुलित रहन सकेको पनि हो । यो पोखराको आफ्नै विशेषता हो ।' न धेरै गर्मी न धेरै जाडो । पोखराको मौसमको यही विशेषताले हिमालीदेखि गर्मी ठाउँमा हुने वनस्पति यहाँ पाइन्छन् । सिस्नुदेखि आँप र कटहरसम्म पाइने पोखराको विशेषता यहाँको मौसममा निर्भर रहेको उनले बताए ।
 
जहाँ डाँडा-डाँडाबाट झरेका खोलाले तालमा पानी ल्याएका छन्, त्यहीँ गहिरिएर बगेको सेती नदि पोखराको अर्को विशेषता छ । पुरानो पोखराको मध्यभागबाट बगेको सेती नदि केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म गहिरिएर बगेको छ । रामघाटमा प्रष्ट देखिने नदिको पानी त्यहाँबाट पुनः गहिरिँदै भूमिगत भएर दक्षिणको यात्रा गरिरहेको छ ।
 
यहाँ प्राकृतिक गुफाहरू पनि उत्तिकै संख्यामा छन् । छोरेपाटनमा रहेको गुप्तेश्वर, बाटुलेचौरको महेन्द्र र चमेरे गुफा यहाँ घुम्न आउनेले नछुटाउने गन्व्यमा पर्छ । दुई भागमा विभाजित गुप्तेश्वर गुफाको पहिलो भाग ४० मिटर लामो छ । त्यहाँभित्र महादेव मन्दिर बनाइएको छ । दोस्रो भाग करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स भनिने पाताले छाँगो देखिन्छ । गुप्तेश्वर पस्न अघि नै बाटोवारि छाँगो हेर्ने ठाउँ छ । घुमन्तेहरू धेरैले गुफाबाट छाँगो हेर्दैनन् । बेला बेला जलस्तर बढ्दा गुफा छाँगो हेर्ने ठाउँसम्म पुग्ने बाटो बन्द गर्ने गरिएको छ । आगन्तुकको सुरक्षाका लागि त्यसो गर्ने गरिएको हो । फेवातालको बाँधबाट पानी छाँगो हुँदै एक किलोमिटर भूमिगत यात्रा गरेर फुर्सेखोलामा पुगेको छ ।
 

बाटुलेचौर पुग्दा महेन्द्र गुफा र चमेरे गुफा नजिकै छन् । दुवै गुफा घुमन्तेका लागि रोचक अनुभव दिन्छन् । थुप्रै चमेरा झुण्डिएर बसेको देखिने चमेरे गुफा पस्नुअघि टर्चलाइट बोक्नै पर्छ । धार्मिक पर्यटकका लागि पनि पोखरामा पर्याप्त स्थान छन् । फेवाताल आइपुग्ने जो कोही तालबाराही पुग्छन् भने थाहा नभएकाहरूलाई पर्यटनकर्मीले विन्ध्यवासिनी, भद्रकाली र माटेपानी गुम्बासम्म पुग्ने सल्लाह दिएकै हुन्छन् । 

फेवातालबाट पुम्दीभुम्दीको डाँडामा विश्व शान्ति स्तुप छ ।  त्यहाँसम्म दुइ तरिकाले पुग्न सकिन्छ । पहिलो- फेवातालबाट डुंगामा पारी गएर आधा घण्टा पैदल डाँडा उक्लने, दोस्रो छोरेपाटनहुँदै गाडीमा स्तुपाको फेदीसम्म पुगेर भर्‍याङ चढ्ने । दुवै यात्रा आफैंमा रोचक हुन्छन् । मौसम खुलेका दिन स्तुपबाट उत्तरतर्फमाथि माछापुच्छ्रे र अन्नपूर्ण लगायतका हिमशृंखला र तल फेवातालको पूर्ण आकार हेर्न सकिन्छ ।
 
स्तुपभन्दा केही माथि छोटो पदयात्रा रुचाउनेका लागि पुम्दीकोट छ । त्यहाँ भ्युटावरमात्रै छैन, एक रात बास बस्छु भन्नेलाई पनि सहज छ । कालाबाङ घरेडी भनिने उक्त बस्तीमा होमस्टेको व्यवस्था छ । त्यसो त पोखरा आफैंले मात्रै आतिथ्यमा आधारीत व्यवसायको लाभ लिएको छैन, प्रत्येक डाँडाकाडाका बस्ती बस्तीमा होमस्टे, होटल र रेस्टुरा पुगेका छन् । स्थानीयले पाहुनालाई आतिथ्य गर्न जानेका छन् । महानगरबाट बाहिर रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामध्ये जहाँ पुगे पनि आगन्तुकका लागि खान-बस्न सहजै पाइन्छन् ।
 

पोखरामा प्राकृतिक सम्पदाका रूपमा ताल, पहाड र खोलामात्रै दर्शनीय नभइ मानव निर्मित संरचना पनि यात्रामा छुटाउनै नहुने बनेका छन् । यस्ता गन्तव्य संग्रहालय हुन् । पोखरामा पाँच वटा संग्रहालय छन् । बर्सेनि सर्वाधिक अवलोकनकर्ता पुग्ने थलो रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । उक्त संग्रहालयमा मुलुकका अग्ला हिमाल, आरोहण इतिहास, जलवायु परिवर्तनका जानकारीसँगै हिमाली र पहाडी क्षेत्रको जनजीवनको यथेष्ट जानकारी पाउन सकिन्छ । 

'हामीकहाँ वर्षमा करिब २ लाख ५० हजार हाराहारी अवलोकनकर्ता आउँछन्,' संग्रहालय व्यवस्थापक बलप्रसाद राई भन्छन्, 'घुम्न आउनेहरू बर्सेनि बढेका छन् । त्यसैले हामीले सोधखोज गर्नेका लागि टेक्नोलोजीले सजिलो पनि पार्दै लगेका छौं ।' संग्रहालय प्रवेश गर्नेले मोबाइल एप्लीकेसन डाउनलोड गरेर पसेपछि सबै कक्षमा प्रदर्शनमा राखिएका विषयको जानकारी अडियो-भिडियो र पढ्न मिल्नेगरि पाउने उनले बताए ।
   
पश्चिमाञ्चलको जनजीवन झल्काउने क्षेत्रीय संग्रहालय नयाँ बजारमा छ । गोर्खालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुलनजिक र शक्तिघाटमा गुरुङ जनजीवनको क्होइबो छ । पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियममा पुतलीका संग्रह हेर्न सकिन्छ । यहाँ पुतलीका करिब ६ सय प्रजाति संग्रहीत छन् ।


बढ्दो सहरीकरणले प्राकृतिक भूबनोटमा पारेको असरबाट सिर्जित समस्याबाट पोखरा अछुतो छैन । तैपनि अझै पोखरामा घुम्ने ठाउँ पर्याप्त भएकै हुनाले रोजाइको गन्तव्य बनेको हो । तनहुँको डुम्रेबाट लमजुङको बेंसीसहर हुँदै मनाङको थोराङ-ला पास उक्लेर मुस्ताङको मुक्तिनाथ झर्ने पदयात्री म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । 

पोखरा-बागलुङ मार्गको नयाँ पुलबाट वीरेठाँटी हुँदै अन्नपूर्ण आधार शिविरको यात्रा गर्नेहरूका लागि पनि सुरुवातको गन्तव्य पोखरा हो । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा रुचाउनेदेखि मनाङ-मुस्ताङ जाने योजनामा रहेकाहरू पोखरा आउन मन पराउँछन् । सहज बसाइँ, सजिला घुमघामका गन्तव्यदेखि अल्ट्रालाइट, प्याराग्लाइडिङ, बञ्जी जम्प र जीपफ्लायरका साहसिक खेल रुचाउनेमात्रै होइन कालीगण्डकी र मादीमा र्‍याफ्टिङका लागि निस्केकाहरूले पनि पोखरा टेकेकै छन् ।

***
(कान्तिपुरको नव वर्ष परिशिष्टांक 'आरम्भ' मा २०७५ चैत  २९ मा प्रकाशित) 

Monday, July 3, 2017

बसबाट फोहोर कता फाल्ने ?

पाल्पाको बर्तुङबाट पोखराको बसयात्रामा मैले गत साता झ्यालबाट मिल्काइदिऊँ जस्तो–जस्तो लागेको पानीको खाली बोतल फालिनँ। सहचालकलाई सोधेँ, ‘भाइ यो कता फाल्ने ?’ उनले सिटमाथिको सामान राख्ने ठाउँ (लगेज र्‍याक) देखाए, त्यसमै राख्न इसारा गरे। त्यसै गरेर गाडीले खाना खान गल्याङ रोकेपछि सोधें, ‘त्यस्तो प्लास्टिक बोतल कहाँ फाल्नुहुन्छ?’ उनले हाँसेर टारे। भने, ‘के ठट्टा गर्नुहुन्छ ! त्यस्तो जाबो चीज फाल्न जता मन लाग्यो त्यतै नि। कल्ले पो सोध्छ।’

सामान्यतः यो ठूलो कुरा कहाँ हो र ! तर, दिनमा हजारौं सवारीसाधन गुड्छन्। लाखौं लिटर पानी खपत हुन्छ। अनि धेरै प्लास्टिकका बोतल मिल्काउने बेला हामी गाडी स्टाफलाई सोध्दैनौं। गाडीहरूले पनि भित्रै ‘डस्टबिन’ व्यवस्था गरेर यात्रुका खानेकुराका खाली प्याकेट, फलफूलका बोक्रा र पानीका बोतल भेला पार्दै तह लाउने चलन बसेकै छैन।

गत मंसिरको अन्तिम साता सञ्चारमाध्यमहरूले ‘बसबाट बाहिर फोहोर फाले जरिवाना हुने’ खबर प्राथमिकतासाथ दिएका थिए। सभ्य व्यवहारका लागि राम्रो मानिएको उक्त खबरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरिसकेको उल्लेख थियो। गत पुसदेखि लागू हुने भनिएको उक्त नियमअनुसार सबै यात्रुवाहक सवारीसाधनले भित्रै ‘डस्टबिन’ व्यवस्था गर्ने र पहिलो चरणमा सहचालकमार्फत यात्रुलाई बाहिर फोहोर नफाल्न सचेत पारिने भनिएको थियो। अभियानका रूपमा सुरु गरिने भनिएको नियम उल्लंघन गरी बाहिर फोहोर फाल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्न सकिने खबरमा उल्लेख थियो।

राजधानीबाट मुलुकभर लागू हुने भनिएको खबर आयो। त्यसको फलोअप हरायो। हाम्रो व्यवहार जस्तो थियो, त्यस्तै छ। सरसफाइका लागि लागू गर्न कुनै भार नपर्ने यो नियमबारे चासो बोलेको देखिँदैन। सवारीसाधनले ‘डस्टबिन’ व्यवस्था गरी संकलन हुने फोहोर कुनै निश्चित स्थानमा लगेर तह लगाउन नसक्ने पनि होइनन्। यात्रुले पनि ‘बाहिर नफाल्नुस्, ऊ त्यो भाँडोमा हाल्नुस्’ भनिदिए प्रतिवाद गर्नुपर्ने पनि कारण हुँदैन। लोकप्रिय लाग्ने अभियान घोषणामा रमाउनेहरूले अनुगमन गरे निश्चय पनि यो व्यवहारमा लागू हुने नै छ।

लामो दूरिका सवारीसाधनले बीच बाटोमा कतै रोकेर यात्रुलाई दिसापिसाब गराउने चलन पनि हट्न सकेको होइन। त्यसमाथि खानेकुराका प्याकेट र पानीका बोतल जथाभावी फाल्न हुँदैन कसरी भन्लान् ! सरसफाइका लागि हेर्दा–सुन्दा सामान्य लाग्ने यो चलन बसाउन तामझामका साथ मन्त्री, सरकारी अधिकारी वा यातायात व्यवसायी–मजदुरका अगुवाले उद्घाटन गरिरहनु अवश्य पर्दैन।

प्लास्टिक र कागज पुनर्प्रयोग हुनसक्छन्। फलफूलका बोक्रा सड्ने भएकाले निश्चित स्थानमा तह लगाउन सकिन्छ। पुनःप्रयोग हुनसक्ने वस्तु सहरबजारमा संकलकहरू दिन–रात खोजी हिँडेका छन्। सवारी आउजाउ गरिरहने चोक–चौरस्ता र बसपार्कहरूमा सवारीसाधनले आफ्ना ‘डस्टबिन’ खन्याउन मिल्ने व्यवस्थाका लागि स्थानीय तहले पहल गर्नसक्छ। फोहोर बाहिर नमिल्काऊँ भनेर यात्रुलाई यातायातकर्मीले अनुरोध गरेमात्रै पनि पुग्छ। 

बढ्दो सहरीकरणसँगै यतिबेला गाउँहरू बजारमा रूपान्तर भइरहेका छन्। सबैजसो ठाउँमा सवारी आवागमन भई नै रहेको छ। जहाँ–जहाँ यात्रु लिएर सवारी पुग्छन्, त्यहाँ प्याकेटका खानेकुरा र पानीका बोतल पुगेकै छन्। तर, वस्तु उपभोगपछि फालिने चीजबिजका लागि निश्चित स्थान तोकेर राख्ने चलन सुरु हुन सकेको छैन। 

गाडी रोकिने ठाउँहरू र बसपार्कहरूमा सार्वजनिक शौचालयको प्रबन्ध हुनुपर्छ। शौचालय भएका स्थानमा सरसफाइ नियमित हुनुपर्छ। सवारीसाधनले रोकेर बीच बाटामा कतै त्यस्तो व्यवहार नगर्न/नगराउन सामान्यरूपमा सचेत गराउन जरुरी छ। लामो तथा छोटो दूरीका सवारी आउजाउ भइरहने क्षेत्रमा सार्वजनिक शौचालयमै मलमूत्र त्याग गर्न लगाउने चलन बसाउन कुनै ठूलो आन्दोलन पनि खाँचो हुने कुरा होइन।

एक महिनामात्रै यो विषयमा सरकारको सम्बद्ध निकाय, यातायातकर्मी र यात्रुले सचेत भइदिए हाम्रो व्यवहार बस्छ। यतिबेला सार्वजनिक सवारीभित्र धूमपान गरेको भेटिँदैन। कसैले भित्र धूमपान गरे यातायातकर्मी र अन्य यात्रुले पनि ‘नगर्नुस्’ भनेकै देख्न पाइन्छ। 

एक दशकअघिसम्म यात्रामा सवारीसाधनभित्रै धूमपान गर्नेहरू भेटिन्थे। त्यो व्यवहार अहिले परिवर्तन भएको छ भने फोहोर निश्चित स्थानमा तह लगाउने बानी पनि बसाउन सकिन्छ। कुनै ठूलो जरिवानाको त्रास देखाएर नियम लागू गर्नु/गराउनुको साटो सामान्य प्रयासबाट यो अपनाउन सकिने व्यवहार हो।

***
(२०७४/३/१६ मा कान्तिपुरको विविधा पृष्ठमा प्रकाशित)

Friday, November 9, 2012

रहरमा पखेटा लागेपछि

-चित्र पौडेल 


त्यति बेला म झापाको बिर्तामोडमा नौ कक्षामा पढ्थेँ। काठमाडौँ जाने मौका मिल्यो। लम्कीका यामलाल रसाइलीसँग भेट भयो। उनले भने, "म मेची-महाकाली साइकल यात्राको योजनामा छु।" 
एउटा गोडा नभएको मान्छे अनि यति लामो साइकल यात्राको रहर। मलाई अनौठो लाग्यो। तर, उनको इच्छाशक्तिको कदर गर्न मन लाग्यो। सोचेँ, मेरा गोडा त उनीका भन्दा केही भरपर्दा छन्। किन म त्यस्तो केही नौलो काम गर्ने रहर गर्दिनँ ? अनि रहर जाग्यो, साइकल यात्राको। तर, मसँग न साइकल थियो, न त चलाउनै आउँथ्यो। 
***
चार वर्षको छँदा मलाई पोलियो भएछ। निको भएन। दायाँ गोडा सुकेका छन्। केही छोटो छ। कामै नगर्ने त होइन तर सामान्य छैन। झापा फर्केपछि एक महिनामा साइकल सिकियो। मेरो मेची-महाकाली साइकल यात्राको रहरलाई धेरैले निको मानेनन्। माओवादी सशस्त्र द्वन्द्वको समय जो थियो। नेपाल अपांग संघ झापाका अध्यक्ष धनञ्जय श्रेष्ठले साथ दिए। उनले १४ हजार हालेर साइकल किनिदिए। तीन हजार बाटोखर्च पनि दिए। बाटामा पर्ने अपांगसम्बद्ध संस्थालाई सहयोगका लागि खबर गरिदिने  जिम्मेवारी पनि लिए। भद्रपुरबाट मंसिर २०५९ मा यात्रा थालियो। पहिलो रात दमक, दोस्रो रात इटहरी, तेस्रो रात कोसी ब्यारेजपार सप्तरीको क्षेत्र हुँदै अघि बढियो। 


***
साइकल लगातार चलाइरहन सजिलो रहेनछ। जीउ दुख्ने, नितम्ब पोल्ने र धेरै थकान हुने रहेछ। त्यसैले छोटो-छोटो दूरी पार गर्दै बाटाका प्रहरी चौकीमा बासको प्रबन्धका लागि अनुरोध गर्दै गइयो। प्रहरीले चौकीमा बसाउँदैनथे। आफैँमाथि आक्रमणको भय पालेर ड्युटीमा रहेका प्रहरी नजिकको गाउँ, होटल वा धर्मशालामा प्रबन्ध गरििदन्थे। लहानको एउटा होटलमा बसेको रात त्यहाँको प्रहरी चौकीमा आक्रमण थियो। गोलीका आवाजले निद्रा खुल्यो। होटलको छतबाट दृश्य हेरियो। 
यात्रामा दुई थोक अनिवार्य रहेछन्, नम्रता र संयम। नम्र भएर बोले त्यस अनुसारको व्यवहार पाइने। हतार नगरी अघि बढे यात्रा सहज हुने। साइकल चलाउन मात्र जानेर नहुने, शिक्षा त्यही यात्राले दियो। सामान्य मर्मत र पन्चर टाल्नेसम्मका सीप यात्रीका लागि जरुरी रहेछ। धेरै ठाउँमा साइकल बनाइदिने भेटिँदा रहेनछन्। 
***
नेपालगन्जबाट चिसापानीको कर्णाली  पुल पुग्दा झमक्क साँझ परेको थियो। मैले कतै बास पाइनँ। नयाँ मान्छेलाई बास दिने अवस्था थिएन। एकातिर सेना वा प्रहरीको सुराकी हुन सक्ने भनेर माओवादीले दुःख दिने,अर्कातिर माओवादीको मान्छे ठानेर भोलिपल्ट सुरक्षाकर्मीको केरकारमा परनिे भय । चिसो मौसममा चिसापानीको रात कष्टकर बन्यो। पुलका गार्डसँगै आगो तापेर जागा नै रात बित्यो। पूर्वबाट मकवानपुर, चितवन हुँदै काठमाडौँ पुगेँ। त्यहाँबाट फर्किएर फेर नारायणघाट हुँदै पश्चिम लागेँ । १ हजार ५० किलोमिटरको यात्रा २१ पुस २०५९ मा महाकालीको गड्डाचौकी नाकामा पुगेर फत्ते भयो । मलाई विश्व साइकल यात्राको रहर लाग्यो। रहर गर्न पैसा पर्दैन। तर, रहर गरेर मात्र नपुग्ने। नागरकिता बनेको थिएन। घर आएपछि नागरकिता र राहदानी बनाएँ।
***
चरा उड्छन्। तर, उडिरहँदैनन्। गुँडमा र्फकन्छन्। वंशवृद्धिका लागि प्रकृतिले निर्धारण गरिदिएको  नियम पछयाउँछ। मान्छे उडेर, भागेर हिँड्न सक्दैन। आमाको निधनपछि बुबाले दोस्रो विवाह गरे। दाजुहरू छुटि्टए   गाउँकै केटीसँग मागी बिहे गरियो,  परिश्रम गरेर खाने हो भने जग्गा थियो। तर, यात्री मन घरमै थन्किन मानेन। 
चार महिनापछि फेरि यात्रामा निस्किएँ। यात्रीको मन पिँजडामा बस्न नसक्ने रहेछ। मलेसिया पुगेका बेला घरमा छोरो जन्मेको खबर पाएँ। छोराको न्वारानको दुई हप्तापछि यात्रामै हिँडेँ। आसियान मुलुक यात्रामा मैले आठ मुलुक छिचोलेँ। जहाँ पुग्यो, नेपाली भेटिन्छन्। देशको खबर सोध्छन्। यात्राका कष्टबारे जिज्ञासा राख्छन्।  
***
ब्रुनाई र सिंगापुरमा नेपाली भेट्दा देशबाहिर छु भन्ने भान हुँदैन  मलेसिया, इन्डोनेसिया, लेबनान, टर्की, कुवेत, साइप्रस जता पुगे पनि नेपाली भेटिने। त्यसैले त हङ्कङ्, दक्षिण कोरयिा, जापान, यमन, इजिप्ट, ओमन, दुबई र बेल्जियमको यात्रा रमाइलो भयो। पपुआन्युगिनी र फिजीलगायत केही मुलुकमा भने नेपाली भेटिएनन्। साइकल यात्रा सरकारी सहयोग वा कसैको लोगो लिएर गरेको होइन। बुद्ध धर्ममा आस्था राख्ने मसँग देशको झन्डा छ। विदेश बसेका नेपालीहरू मनकारी भेटेको छु। सन् ०१६ भित्रमा संसार घुमिसक्ने लक्ष्य छ। 
६ महिना भयो, मोरङ बयरवन-२ स्थित घरमा छु। अब क्यानाडाको साइकल यात्राको  तयारीमा छु। श्रीमतीसँग भेट नभएको चार वर्ष भयो। म आएको बेला उनी हुन्नन्। उनी आउँदा म यात्रामा हुन्छु। छोरालाई माइतीमा राखेर वैदेशिक रोजगारका लागि गइछन्। 



(अपांग विश्व साइकलयात्री पौडेलसँग भीम घिमिरेको कुराकानीमा आधारीत / २०६९ कात्तिक २६ को नेपाल साप्ताहिकमा प्रकाशित )



Saturday, September 3, 2011

सेलिब्रिटी गाडीको नेपथ्यबाट


मुस्ताङ निर्माणको कथा

पहाड गोरखाका डा. बाबुराम भट्टराईले काठमाडौंमा प्रधानमन्त्री पदको सपथ लिएपछि तराईको मोरङमा बनेको गाडी चढेर हिमालपारिको जिल्ला मुस्ताङको नाम चर्चामा ल्याइदिए। हिमाल, पहाड र तराई तीनै क्षेत्रसित जोडिएको यो प्रकरण अहिले देशमा सबभन्दा चर्चामा छ। कतिपय बेला त यस्तो लाग्छ, प्रधानमन्त्रीभन्दा बढी उनको गाडीको चर्चा छ ।विदेशबाट सामान ल्याइएको भएपनि नेपालमा एसेम्बल हुने भएकाले मुस्ताङ गाडीलाई स्वदेशी उत्पादन मानेर प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि पहिलो निर्णय गरे, - 'म स्वदेशी गाडी चढ्छु, मुस्ताङ।' 

सरकारी निकायका उच्च अधिकारीहरुसमेतलाई यो गाडीका बारे थाहा थिएन। केही आलोचकहरुले भट्टराईको सस्तो गाडी चढ्ने निर्णयलाई 'प्रचारबाजी' को संज्ञा दिएका छन्। तर, मिडिया र सहरमा भने यसलाई बाबुरामको राम्रो सुरुवातको रुपमा लिइएको छ। भ्रष्टाचार र व्यापार घाटाले ध्वस्त भएको अर्थतन्त्र सुधारका लागि खर्च कटौती र मितव्ययिताको यो एउटा उदाहरण बन्न पुगेको छ । प्रधानमन्त्रीले अचानक सुशासन र नैतिकताको प्रतीकजस्तै बनाइदिएको यो गाडी विराटनगरको पूरानो औद्योगिक क्षेत्रमा बन्छ, जहाँ वरिपरिका धेरै कारखाना बन्द भइसकेका छन् ।
 

     ***
उत्तर फर्किएको एकपाखे छानोभित्र सानो अफिस । कोठाका भीत्ताभरि विभिन्न थरी गाडीका पेन्सिल चित्र छन् । कुनैमा रंग भरिएका, कुनै श्यामश्वेत । आगन्तुक हतारमा छन् । इन्जिनियर भेट्न र नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढेपछि सेलिबि्रटी बनेको गाडी हेर्न चाहन्छन् । तिलचामले कपालले टाउको ढाकिएका पातला महेन्द्रमोहन प्रधान चश्मा सोझ्याउँछन् । आफु बस्ने टेबलबाट दक्षिणको भीत्तो हेर्छन् । हतारमा टेबलको घर्रा खोल्छन् । भन्छन् 'केही देखाउनु छ । हेर्नुस्न् ।' 

सञ्चारकर्मीको दोहोरीलत्तलाई सेलिबि्रटी गाडी र त्यसका विषयमा मात्र खोज्नु छ । हतार-हतार टेबलमा खोलेका पुराना फाइल पट्याउँछन् र, अलमल्ल पर्छन् । भन्छन् 'खोइ मेरो कुरा पनि सुने हुन्थ्यो ।' वीरगञ्जको कृषि औजार कारखानामा २४ वर्ष जागिरपछि प्रधानले हुलास मोटर्समा एक दसकभन्दा बढि समय बिताइसकेका छन् । उनी फाइल पल्टाउँछन् र, भन्छन् 'लौ हेर्नुस । अहिले प्रधानमन्त्रीले चढेको गाडीको पहिलो स्केच यही हो ।'कारखानामा निर्देशक र इन्जिनियर उनलाई अघि बसाउँछन् । चाहेजस्तो गाडीको बनोट बताउँछन् । कथा सुनेजसरी उनी त्यसैमा स्केच तयार पार्छन् । उनको दैनिकी यसरी चल्छ । प्रधान सुनाउँछन् 'पहिले डमी स्केच गर्ने, अनि त्यसको सीट, लाइट, टायर र भित्री भागको बनोट उतार्ने ।' भीत्ताका चित्र देखाउँदै सुनाउँछन् 'बन्छ बन्दैन थाहा छैन तर, हामीले बसको पनि डिजाइन बनाइसकेका छौ । थोरै सीट भएको भीआइपी टुरिस्ट बस ।'
                                                                           ***
विराटनगर १७ स्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयनजिक पुरानो जुटप्रेस गल्लीमा कुनै कारखाना चलेकै अवस्थामा होला भन्ने धेरैलाई लाग्दैन । कारण, प्रहरी कार्यालयबाट मोडिएर निकै थोरै मात्र सवारीसाधनले यो गल्ली छिचोल्छन् । मिल्सएरियामा ठूलो क्षेत्रफल ओगटेका कारखानाका अस्तित्व समयसँगै क्रमशः इतिहास बनेका छन् । मुलुककै जेठो कारखाना विराटनगर जुट मिल, गणपति कटन मिल, अशोक टेक्सटायल र मोरङ सुगर मिल बन्द भएको बर्षौ भएको छ । बन्दहुँदै चल्दै मुत्यु शय्याका विरामीजस्तो दि जुद्ध म्याच कारखाना पनि पुरै बन्द भएपछि मिल्सएरिया नाम मात्रको भएको छ । 

यही एरियाभित्रको हुलास मोटर्स धेरैलाई चलेको छ वा बन्द भन्ने थाहा हुने अवस्था छैन ।प्रधानमन्त्री भट्टराईले यहाँ उत्पादित गाडीलाई आफ्नो सवारी बनाएपछि धेरैले खोजी गर्ने क्रम सुरू भएको छ । 'प्रधानमन्त्रीका कारण चर्चामा आएपछि मात्रै हाम्रो अवस्थाको खोजी सुरू भएको छ', प्रबन्धकसमेत रहेका इन्जिनियर प्रफुल्लचन्द्र दास भन्छन्, 'खै कति खुसी हुनु कि दुखी हुनु ?' कारखानामा स्थापनादेखि जोडिएका दास अलमलमा छन् । कारण, प्यासेन्जर भेहिकल भनेर डिजाइन गरिएको गाडीलाई प्रधानमन्त्रीले सवारी बनाए । अब कस्ता सुविधा थप्ने र विदेशबाट आयातित गाडी बराबरका सुविधा जुटाएर उपलब्ध गराउने ? राजविराजबाट एसएलसी गरेर पढ्न विहार हान्निएका दासले जमशेदपुरबाट इन्जिनियरिङ सिध्याउँदा भारतको टाटा मोटर्समा जागिर खाने ध्याउन्न थियो । 

पढाइकै दौरान टाटामै १८ महिने अल्पकालीन जागिर पाएका उनी विदामा विराटनगर आएपछि लक्ष्य फेरियो ।'सुरेन्द्र बाबुसँग भेट भयो' डेढ दशकअघिको त्यो भेट सम्भिए 'उहाँ किसानका लागि सिंचाइ, थ्रेसिङ र ढुवानी गर्न सक्ने साधन बनाउन चाहनुहुन्थ्यो । रूची मिल्यो । म यतै बसें ।' गोल्छा अर्गनाइजेशनको हुलास एग्रो कारखानाले 'पावरकार्ट' बनायो । सिंचाइका लागि पम्पिङसेटको काम गर्ने, धान-गहुँ दाउनीका लागि थ्रेसरको काम गर्ने र तिनलाई ढुवानी गरेर चाहेको ठाउँ पुर्‍याउने । फलामको बढ्दो भाउ, पाटपुर्जा, श्रम र तिनको लगानी हिसाब गर्दै आएको कम्पनी स्थापनादेखि नै आर्थिक रूपमा उत्साहप्रद थिएन । पावरकार्टमा हुने प्रविधिलाई नै फेरबदल गर्दा गाडी बनाउन सकिने उपायमा महाप्रबन्धक र दासबीच सल्लाह मिल्यो । २० डीको सानो इन्जिन राखेर हुलास सेर्पाको नामबाट पहिलो गाडी बनाइयो । 
                                                                              ***
पावरकार्टबाट थालेको उत्पादन सेर्पा, सेर्पा ४६डी, सेर्पा इ-ड्राइभ, मुस्ताङ, मुस्ताङ भीटू र मुस्ताङ म्याक्ससम्म आइपुग्दा हुलास मोटर्सको कारखानाको संरचना खासै फेरिएको छैन । कारखानाले ग्यास र व्याट्रीबाट चल्ने सवारी उत्पादन पनि गरि हेर्‍यो । लगानी अनुपातमा आम्दानी दिने खालका भएनन् । चीनबाट इन्जिन, भारतबाट केहीपाट पुर्जा झिकाएपछि चेसिज, सीट र बडी कारखानामै बनाएपछि हुलास मोटर्सको गाडी तयार हुने गरेको छ । 'गाडीमा यस्तै हुन्छ चाहिने कुरा धेरैतिरबाट भेला पारेपछि एसेम्बल्ड गर्ने हो,' इन्जिनियर दास भन्छन् 'चाहिनेमध्ये अहिले धेरैथोक हामी आफै बनाएर लगाउँछौ । ५०/५० को हिसाब मान्दा हुन्छ ।' उतारचढाव झेलेको कारखानालाई जोगाइराख्न गोल्छाले लगानीका अन्य क्षेत्रको आम्दानीको भरथेग यहाँ गरेको छ । 'हामी एकपटक लौ भएन, यसरी चल्दैन, बन्द गर्नेकी के गर्ने ? भन्नेमा पुगेका थियौ', उनले सुनाए 'डाइरेक्टरले अन्तिम प्रयास गरौ भन्नुभयो । अनि यो मुस्ताङ म्याक्स लञ्च गरियो ।' व्यापारका अवस्था भन्दा पनि गोल्छाको साखका लागि कारखाना चलेको छ ।
                                                                               ***
त्यसबेला म निराश भएँ । प्रचण्ड प्रधानमन्त्री हुन चार दिनअघिको कुरा थियो । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न नेपालमै बनेको गाडी चढ्नुपर्छ भन्ने प्रस्ताव लगेको थिएँ । सुरक्षाका कारण देखाइ मलाइ फिराइयो । तीन वर्ष चुप लागें । डा. बाबुराम प्रधानमन्त्रीको उम्मेदवार हुने भएपछि बताउन मन लाग्यो,' काठमाडौंको धापासी बसेर २५ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न रामेश्वर सापकोटाले भने । 'नानी पाउनु कैले कैले भोटो सिउनु अहिले भन्दै मैले सानेपा पुगेर डा. साबलाई प्रस्ताब गरें', उनले भने, 'गाडी लगेर गएपछि टेष्ट ड्राइभ उहाँको निजी ड्राइभरले गरे । मलाइ हुने रहेछ, तडकभडक किन चाहियो र भनेर डा. साबले जवाफ दिनुभयो,' उनले सुनाए । प्रस्ताव गरेको दुइ दिनमै सुरेन्द्र गोल्छालाई फोन गरेर गाडी झिकाएपछि सापकोटा र गोल्छाका म्यानेजर अशोककुमार सिंह भट्टराई निवास पुगेका थिए । 

प्रधानमन्त्री निर्वाचन भएका दिन सापकोटाले गृह मन्त्रालय र यातायात कार्यालयको प्रक्रिया पुरा गराइ नम्बरप्लेट लेखाएर राती गाडी आफ्नो घरमा ल्याइ राखेका थिए । १ बजेका लागि तय भएको सपथका दिन साँढे १२ बजेसम्म गृह मन्त्रालयका अधिकारीहरूका अघि सुरक्षामा दृष्टिले समस्या नहुने उनी जिकिर गरिरहेका थिए । मेगा बैंकका सञ्चालक सदस्यसमेत रहेका सापकोटा भन्छन् 'गाडीका लागि धेरै पैसा विदेशिन्छ, स्थानीय उत्पादनमाथि नै लगानी बढ्यो भने थोरै पनि अर्थतन्त्रलाई बल पुग्छ भन्ने हो, अरू स्वार्थ छैन ।' 
                                                                           ***
गोल्छा अर्गनाइजेशनमा सुरेन्द्रको जिम्मेवारीको भाग खाद्यान्न र हुलास मोटर्स छ । 'हाम्रो सोच आफुलाई चाहिने आजारका लागि धेरै लगानी गर्न नसक्ने किसानका लागि गाडी बनाउने थियो । गर्दागर्दै मुस्ताङ म्याक्ससम्म आइपुगियो,' उनी भन्छन् । इञ्जिन र चाहिने पाटपुर्जा आयात गरेर बनाउने होस् वा तयारी गाडी नै ल्याएर बेच्ने, सरकारको हेराइ एउटै भएकाले कारखानाले गति लिन हम्मे भएको उनको गुनासो छ । सन् १९८५ सम्म भारतको अनुदार अर्थनीतिको उदाहरण उनलाई मनपर्छ । खुला बजार अर्थनीतिमा आउनअघि सरकारले भारतीय कारखाना जोगाउन त्यस्तो व्यवस्था गरेको थियो । 

त्यसबेलासम्म फस्टाएका भारतीय कारखाना अहिले विश्वमै बलिया भएका छन् । 'आफ्नो उद्योग जोगाउन सरकारले प्रतिस्पर्धात्मक क्षमता बढाउनेतिर बल गर्नुपर्छ । हामी उत्पादन दिन्छौ, मान्छेले सुविधा र मूल्यमा छनोट गर्न पाउनुपर्छ,' उनी भन्छन् । 'लोकप्रीय' प्रधानमन्त्रीका रुपमा पद सम्हालेका डा. भट्टराईको सरकारमा धेरै दल समावेश भएकाले यो पनि एक किसिमको 'एसेम्बल्ड' सरकार हो । मुस्ताङ गाडीको जस्तो यसको पाटपुर्जा भने विदेशबाट ल्याइएको छैन । प्रधानमन्त्रीको यो सवारी पहाडका नयाँ र अप्ठ्यारा बाटालाई ध्यानमा राखेर बनाइएको हो । र, यो सरकारका अघिल्तिर तेर्सिएको बाटो पनि करिब-करिब त्यस्तै छ । स्वदेशी पाटपुर्जा र स्वदेशमै निर्माण भएको सरकारले चाहिँ मुस्ताङ म्याक्सको जस्तो 'पिकअप' लिनसक्छ कि सक्दैन, त्यो चाहिँ प्रतिक्षाको विषय छ ।  

'दिनको सयवटा फोन आइरहेको छ'
सुरेन्द्र गोल्छा
धान/गहूँ चुट्ने थ्रेशरको बजार प्रवर्द्धनका लागि गाउँगाउँ घुम्दा सुरेन्द्र गोल्छालाई आफैले यस्तो मेशिन किन नबनाउने भन्ने लाग्यो । थ्रेशरलाई पम्पसेटको सहयोगमा कुदाएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याई धान गहूँ चुट्ने गरिन्छ । २०५२ सालमा उनले केही थ्रेशर मेशिन बनाए तर लागत बढी परेका कारण आयातीत थ्रेशरभन्दा मँहगो भएकाले उनको उत्पादन टिक्न सकेन ।

थ्रेशरमा सफलता हात नलागे पछि उनले केही कदम अघि बढेर गाडी बनाउने योजना बनाए । थ्रेशर बनाएको दुई वर्षमा हुलास मोटर्सले 'शेर्पा' जिप बजारमा ल्यायो । २०५७ सालमा विराटनगरको औद्योगिक मेलामा पुगेका राजा वीरेन्द्रले शेर्पा गाडीमा चढेर सराहना गरेका थिए । झण्डै एक दशकमा शेर्पा सिरिजका चार मोडल उत्पादन गरेपछि हुलास मोटर्सले पाँच वर्षअघि मुस्ताङ सिरिज सुरु गरेको हो । मुस्ताङ भि-२ उत्पादन गरिरहेको उद्योगले पाँच महिनाअघि मुस्ताङ म्याक्स बजारमा ल्याएको हो ।
 
स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने तथा मितव्ययिता अपनाउने पक्षका प्रधानमन्त्रीले गृह जिल्लामा देखिसकेका कारण मुस्ताङ म्याक्समा भरोसा गरेको हुनसक्ने गोल्छालाई लागेको छ । हुलास मोटर्सको अधिकांश उत्पादन गोर्खा, तनहूँ, लमजुङलगायतका पहाडी भेकमा खपत हुन्छ । 'गोर्खामा हाम्रा दर्जनौं गाडी गुडिरहेको छन्,' उनले थपे ।
अपर्झट माग भएपछि कामचलाउन तयार अवस्थामा रहेको गाडी उपलब्ध गराएको हुलास मोटर्सले प्रधानमन्त्रीका लागि छुट्टै गाडी बनाउँदैछ । 'अहिले चढेको गाडी पहाडी भूगोलका लागि बनाइएको हो,' उनले भने, 'बनाउन लागेको गाडी सहरका लागि आवश्यक सुविधायुक्त हुनेछ ।' गाडीमा एसी, सेन्ट्रल लक, पावर स्टेयरिङ, पावर लक, बकेट सिटलगायतका सुविधा हुनेछन्, जुन अहिले चढिरहेको गाडीमा छैन । पाँच सातामा गाडी तयार हुने भए पनि दसैं नजिकिएकाले दुई महिना तन्किनसक्ने उनले बताए ।

प्रधानमन्त्रीले चढ्न थालेपछि मुस्ताङ म्याक्समा चासो बढेको छ । हुलास मोटर्सको अफिस र सुरेन्द्रको मोबाइलमा गाडीबारे सोध्न दैनिक एकसयभन्दा बढी कल आइरहेको छ । तर अहिलेसम्म कसैले अर्डर चाहिँ गरेको छैन । उनको परिवार फोर्ड, इहात्सुलगायतका प्रख्यात कम्पनीको आकर्षक गाडीको व्यापारमा पनि संलग्न छ । तर निरन्तर घाटा भए पनि सुरेन्द्रचाहिँ चौध वर्षदेखि हुलास मोटर्सको उत्पादन प्रवर्द्धनमा लागिपरेका छन् ।
 
(०६८ भदौ १७ को कान्तिपुर कोसेलीमा प्रकाशित )

Saturday, November 13, 2010

धेरै सोचेर समस्यामा

विवाहका तीन वर्षपछि आफ्नो यौन क्षमतामा कमी आएको शंका गर्दै धरानका सगुन राई (छद्म नामथर) उत्तेजक औषधि खोज्दै विभिन्न क्लिनिक र सडक छाप चिकित्सकहरुकहाँ धाउन थाले।

पत्नीसँग संसर्ग सुरु नगर्दै वीर्य स्खलन भएर सधैं आजित भएका उनले क्लिनिक पुगेर सोध्ने गरेका थिए, 'सेक्सको समयलाई कम्तीमा एक घण्टा कायम राख्ने औषधि छ ? यौन क्षमता बढाउन अरु उपाय के के छन् ?' औषधि बिक्रेताले आधा दर्जन ब्राण्डका औषधि देखाएर यौन दुर्बलता कम गर्ने नाममा जे उपलब्ध छ त्यही दिएर उनलाई पठाए। क्लिनिकबाट ल्याएको औषधिले उनको समस्या समाधान भएन। झन् चिन्ता थपियो।
 
पत्नीबाट उनले नपुंसकको संज्ञा पाउन मात्र बाँकी थियो। यौन सन्तुष्टि आफूले दिन नसके जीवनसंगिनीको परायासँग सम्बन्ध बढला भन्ने पीरले मनमा घर गर्‍यो। धेरै दिन भौँतारिए। अन्ततः केही सातापछि एक दिन धरानकै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागमा पुगे। त्यहाँ परामर्श लिएपछि भने उपचार भयो। उनी मानसिक रुपमा शीघ्र पतनको सिकार भएका थिए।
 
परामर्श र साधारण औषधिकै भरमा चिन्तामुक्त भएपछि उनी भन्छन्, 'भन्न नहुने, नभनी पनि नहुने यस्ता समस्या धेरैका होलान्।' उनले भनेजस्तै छ समाज। यौनका कुरा गर्न धक मान्छ। समस्याबाट आजित भएपछि बाहिर नआउने भन्ने कुरा त छैन आखिर। क्लिनिक, नर्सिङ होम र अस्पताल लगायतका सबैजसो उपचार केन्द्रमा यौन विशेषज्ञ सजिलै उपलब्ध छैनन्। सडकमा पसल थापेर यौन शक्तिवर्धक ओखती पाइन्छ भनी माइक लगाउनेका वरपर झुम्मिने भीडमा सगुनजस्ता धेरैले समस्याको निदान पाउने आस गरिरहेका भेटिन्छन्। 

सडकमा बसेका झोले क्वाकले दिएका ओखती र सल्लाहको भरमा धेरै दम्पती यौन दुर्बलताको उपचार गर्नबाट बन्चित भएका छन्। कतिपय त भारतको जोगबनी, सिलिगुडीसम्म पनि जाने गरेका छन्। लुकीलुकी हेरिने नीलो चलचित्रमा देखाइएजस्तो क्रिडाको क्षमता किन नभएको होला भन्दै मनमा कुण्ठा पाल्नेहरु विस्तारै मनोविमर्शकर्तातर्फ परामर्शमा अग्रसर भएका छन्।
 
प्रतिष्ठानको मानसिक रोग विभागमा सगुनको भन्दा अलिक फरक घटना लिएर एक दम्पती आए। उमेरले भर्खरै ३० नाघेका उनीहरुको समस्या थियो- पत्नीको यौन चाहना एकाएक घट्यो। विवाह गरेको एक दसक बित्यो। दम्पतीमध्ये एक जनामा यौन इच्छा हराउन थालेपछि अर्कालाई चिन्ता लाग्नु स्वाभाविक थियो। पत्नीको चाहनामा कमी मात्र आएन, पतिलाई अस्वाभाविक लाग्ने सल्लाहसमेत दिन थालिन्। बिपी प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्राडा प्रमोद स्याङवाकहाँ आएका उनीहरुले समस्या सुनाए। संसर्गका बेला पत्नी भन्थिन्, 'मलाई चाहना छँदैछैन, दुख्छ। बरु, पैसा दिन्छु बाहिर कतै गएर तिम्रो यस्तो इच्छा पुरा गर।' यस्तो सल्लाह दिने गरी पत्नीमा शारीरिक र मानसिक रुपमा केही न केही गडबडी छ भन्ने लागेर उनीहरु मानसिक रोग विभागमा सुटुक्क समाधानको उपाय खोज्दै आएका थिए।

'उनीहरुको पारिवारिक-समाजिक परिवेश अध्ययन गरियो, अनि जाँच गर्न लगाइयो,' डा. स्याङ्वाले भने, 'योनीमा इन्फेक्सन थियो। त्यसैले त्यस्तो भएको रहेछ।' महत्त्वपूर्ण अंगमा हुने कुनै पनि संक्रमणले मान्छेको प्राकृतिक बानीमा फेरबदल हुनसक्ने उनले बताए। उपचारपछि उनीहरु फिरेका छैनन्। अस्पतालको बुझाइमा उपचार पाएकाले अब उनीहरु पुनः शिकायत लिएर आउने छैनन्।

खुला उपभोक्तावादी समाज, सहरिया जीवनशैली, चलचित्र, खानपान र रात्रिजीवन आदिको प्रभावले युवायुवती र दम्पतीले यौनलाई सुख-आनन्द दिलाउने प्रमुख शक्तिका रुपमा मानिरहेको अवस्था छ। तर, विभिन्न कारणले धेरैलाई सुखद अनुभव नभएका अवस्था पनि छन्।  जैविक, मनोवैज्ञानिक, सामाजिक, परिवारिक, धार्मिक, परम्परा र संस्कृतिलगायत जेसुकै मूल कारक हुन्, पीडितहरु भन्न नचाहेरै पनि शक्तिवर्धक अवस्थाको खोजी गरिरहेको डा. स्याङबा बताउछन्। भन्छन्, 'यौन क्षमता कति हो भन्ने नै थाहा नपाएका कारण धेरै दम्पतीहरु अनावश्यक मानसिक तनावमा पनि पर्ने गरेका छन् । यस्ता दम्पतीहरु धेरै छन् समाजमा।'

उनको बुझाइमा यौनउत्तेजना बढाउने औषधि, विधि र प्रक्रियाको खोजी आधुनिक समयमा मात्र भएको होइन, मानव सभ्यताको प्रारम्भदेखि नै यस्ता खोजी हुँदै आएका छन्। पछिल्लो समय जीवनलाई आनन्द र सुख अनुभव गराउने मुख्य कार्य मान्न थालिएपछि बढी वैज्ञानिक अध्ययन-अनुसन्धान भएका छन्। उनका अनुसार यौनलाई विज्ञानले पनि आधारभूत शारीरिक आवश्यकतामा राखेपछि सन्तुष्टि पाउनका लागि के गर्न सकिन्छ भनेर झन धेरै उपायका खोजी पनि भएका छन्।
 
यौन क्रिया मानिस त के कुनै पनि जीवजन्तु, पशुपक्षीको अस्तित्व नै नहुने यथार्थ एकातर्फ छँदैछ। अर्कातिर सन्तान उत्पादनका लागि मात्र भन्दा पनि चरम आनन्द लिने बानी परेकाहरु धेरैलाई दुर्बलताको कमजोरीमा परामर्श र उपचार सेवा लिइरहेको भेटन सकिन्छ। जुन जीवमा यौन दुर्बलताको असर पर्छ त्यसको वंश वा प्रजाति कुनै पनि बेला समाप्त हुने विषयमा वैज्ञानिकहरु पनि सहमत छन् । प्राणीमा यौन क्षमता प्रकृतिले नै दिएको हो। 
०००
यौन क्रियालाई सरल रुपले बुझने हो भने यो जटिल मानवीय व्यवहार भएको मनोविमर्शकर्ताहरुको भनाइ छ। यौनलाई सहज, आनन्ददायक, सुखदायक र दम्पतीको लागि सर्वस्वीकार्य बनाउन मानवीय शरीरको स्नायु प्रणालीदेखि समाज, धर्मसंस्कृति, रीति, खानपान, रहनसहन, समय र सान्दर्भिकताबीच सामान्जस्यता हुनुपर्ने उनीहरु बताउँछन्।
  
प्रकृतिले मानिसलाई यौन क्षमताले भरिपूर्ण बनाएपनि विभिन्न जैविक, सामाजिक, पारिवारिक, धार्मिक कारणले दुर्बल बनाउने गरेको छ। यौन दुर्बलताका कारणहरु बारे डा. स्याङबा भन्छन्, 'यौन दुर्बलता निम्ताउने प्रमुख कारणमा स्नायु प्रणालीको अहम् भूमिका हुन्छ। जसरी हाम्रो ब्रेनमा भोक प्यास, निद्रा थाहा पाउने स्नायु केन्द्रहरु हुन्छन्, त्यस्तै यौन चाहना कायम राख्ने हाइपोथेलामस स्नायु प्रणाली हुन्छ।' हाइपोथेलामस स्नायु प्रणालीमा कुनै कारणले क्षति पुगेमा यौन दुर्बलता देखिने उनी स्पष्ट पार्छन्। त्यस्तै शरीरको स्नायु प्रणालीमा विपरीत लिङ्गीप्रति आकर्षित हुने केन्द्र पनि हुन्छन्। ती केन्द्रमा पनि क्षति पुगेमा पनि यौनाकर्षणमा कमी हुने उनले बताए।
 
मेरुदण्डको पेरीफेरल सेन्ट्रल नर्भस सिस्टममा कुनै प्रकारको आघात परेर क्षति पुगेमा पनि यौन क्षमतामा कमी आउँछ। यी बाहेक अरु पनि कारणहरु हुनसक्छन्। यौनका बारेमा खुला समाज र बन्द समाजको प्रभावले पनि यौन क्षमतामा असर पर्ने गरेको छ। मनोवैज्ञानिक अध्ययनअनुसार खुला समाजमा यौनलाई सामान्य र सकारात्मक प्रक्रियाका रुपमा लिने गरिएकाले स्वतन्त्रता बढी छ। यसले यौन चाहना र क्षमतामा वृद्धि हुन्छ भने बन्द समाजमा पाप, घृणित काम, व्यभिचारीको रुपमा लिइने भएकोले यौन आनन्द लिएपछि पनि कतिपय अवस्थामा आत्मग्लानि भएको महसुस गर्दै मानिसहरु बाँच्न बाध्य छन्।
 
डा. स्याङबा भन्छन्, 'घर पारिवार र समाजको वातावरण अति धार्मिक परिवेशको भएमा पनि व्यक्तिको यौन क्षमतामा कमी आउन सक्छ। धार्मिक प्रवृत्तिका मान्छेले यौनलाई सामान्यतया सन्तान उत्पादनका माध्यमको रुपमा मात्र हेर्छन्। आनन्दका लागि होइन भन्ने संकुचित दृष्टिकोणका प्रभावले कतिपय अवस्थामा यौन क्षमता घट्न सक्छ।' यस्तै, महिला र पुरुषमा कुनै प्रकारको मानसिक आघात परेको बेला पनि यौन चाहना वा क्षमतामा कमी आउने गरेको उनी बताउँछन्। संसर्गका लागि परिपक्व हुनअघि नै बलात्कृत भएमा वा यौन दुर्व्यवहार खेपेका महिलामा पनि यौन चाहना कम हुने विभिन्न अनुसन्धानले देखाएको प्रसङ्ग कोट्याउँदै डा. स्याङबाले बताए, 'त्यस्ता महिलाले जिन्दगी भरि पुरुषलाई विश्वास नै गर्दैनन्। कतिपयमा यौनलाई हेर्ने दृष्टिकोण पुरै नकारात्मक भएको हुन्छ।'

शारीरिक-मानसिक तनाव भएको बेला पनि व्यक्तिमा यौन दुर्बलता उत्पन्न हुन्छ। नवविवाहित वा पहिलोपटक यौन सम्पर्क गर्दा विभिन्न डर त्रास, हतार आदिको कारण चाडै वीर्य स्खलन हुनु स्वाभाविक मानिन्छ। तर, यही घटनालाई लिएर कुनै पुरुषले आफ्नो शारीरिक कमजोरी मान्न थाल्यो भने त्यसले उसलाई अनावश्यक तनावतिर डोर्‍याउँछ। एक दुईपल्ट यौन सम्पक गर्दा शीघ्रपतन भएमा आफूलाई नपुंसक सम्झन थाल्दा यौन साथीले पनि थोरै मात्र प्रतिक्रिया दिनाले त झन समस्या बढाउने गरेको छ। 

चिकित्सकहरु यस्तो समस्यालाई प्रिमाच्योर इज्याकुलेसन भन्छन्। यौन साथीलाई पनि पुरुषमा हुने कतिपय यस्ता क्रियाहरु बारे थाहा नपाएर साँच्चै नै यौन सन्तुष्टि नदिने हो की भन्ने अन्धविश्वासले तत्काल प्रतिक्रिया जनाउने गर्छन्। जसले थप यौन दुर्बलता मात्र होइन मानसिक तनाव र चिन्ता बढाउन मद्दत गर्ने गरेको मनोचिकित्सकको भनाइ छ। 
यौन क्षमतालाई बढाउन र कायम राख्न जैविक पक्षको मात्र सुधार गरेर हुँदैन। सबैभन्दा पहिले त स्वस्थ रुपमा मनोवैज्ञानिक तयारी हुनुपर्छ। जैविक स्वस्थतासगै सामाजिक, मनोवैज्ञानिक, पारिवारिक वातावरण स्वस्थ भएमा स्वतः यौन क्षमता कायम रहने मनोवैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ।

***
(कान्तिपुर कोसेलीको २०६७/०७/१३ को पूर्वाञ्चल संस्करणमा  प्रकाशित प्रदीप मेन्याङ्बोको रिपोर्ट)

Saturday, October 23, 2010

भुत्ते कूटनीतिका सिकार शरणार्थी

शुक्रबार दिउँसो राजधानीबाट प्रसारित हुने एउटा एफएम रेडियोमा फर्माइसी गीतको कार्यक्रम चलिरहेको थियो।  सञ्चालिकाले बारम्बार फोन गर्नेमध्येका एक स्रोताको फोन रिसिभ गरिन्। उनी मोरङ पथरीनजिक शनिश्चरे शिविरका कलर रहेछन्।

दसैं कस्तो बित्यो भन्ने कुराको प्रसंगमा उनले एकै सासमा भने - 'अन्तिम दसैं हो। अर्कोपालि कहाँ पुगिने हो। मजाले मानियो यसपालि।' तेस्रो मुलुक पुनर्वासअन्तर्गत शरणार्थी शिविरका भुटानी जनता अहिले अमेरिका-युरोपका विभिन्न मुलुक पुगेका छन्। भुटानले नेपालीभाषी जनतालाई बेघर बनाएपछि मोरङ र झापाका शिविरमा शरण लिएको दुई दसक नाघेको छ। उनीहरुका लागि घर फर्कन भरपर्दो कूटनीतिक पहल कहिल्यै हुन सकेन। पछिल्लोपटक उनीहरुका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला इकाइले तेस्रो मुलुक पुनर्वासको उपाय सुझाएर कार्यान्वयनमा ल्यायो।

एफएमकी आरजेलाई उनको जवाफलाई महत्त्व दिनुभन्दा गीत रोज्न आग्रह गरिन्। आफूलाई फलानो भनेर चिन्ने सबैका लागि भन्दै उनले नयाँ हिन्दी फिल्मको गीत रोजे। छोटो संवाद सकियो। गीत बज्यो। ती स्रोतासँग संवाद लामो हुनसक्थ्यो। यद्यपि मनोरञ्जक कार्यक्रमका लागि त्यो शायद आवश्यक मानिएन। अथवा हुनसक्छ आरजेलाई शिविरका शरणार्थीको जीवन र अवस्था बारेमा बढी चासो भएन वा थिएन।

गत असार पहिलो साता राजधानीबाट आएका सञ्चारकर्मी मित्र दीपक अधिकारीका लागि झापाको शान्तिनगरस्थित टिमाइ शिविर जानुपर्ने भयो। भुटानबाट विस्थापित एक परिवारकी महिलासँग उहाँले अन्तर्वार्ता गर्नु थियो। उनका श्रीमान भुटानको कुनै जेलमा थिए। छोराछोरी काठमाडौंको  स्कुलमा पढ्दै। एक्ली महिला शिविरको छाप्रामा कुरुस-काटासँगै जीवनका दिन आँसूमा उनीरहेकी।

बेलडाँगी, खुदुनावारी र शनिश्चरे पुगे पनि टिमाइ पुगेको त्यो पहिलो अवसर थियो मेरा लागि। अघिल्ला तीन शिविर घुमेभन्दा टिमाइ फरक देखिएन। बाँस फोरेर छानो बनाइएका झुप्रा, त्यसअघिल्तिर घामबाट खाना पकाउने सौर्य चुलोमा भाडो। समूह-समूह बसेर आ-आफ्ना काम र गफमा तल्लीन शरणार्थी। भाषा नेपाली हो। त्यसैले हामीभन्दा भेषभूषामा फरक केही भेटिन्न। शिविरभित्र फलामका काम गर्नेहरु सानो छाप्रोमा घरेलु कृषि औजार बनाउन हतौडी र छिनो चलाइरहेका छन्।

बाहिरबाट चिहाउन सकिने ठूला छाप्रा भएको स्कुल। धेरै नानीहरु पढिरहेका छन्। स्कुलेका तस्बिर खिच्न थाल्दा उनीहरुका गुरुहरु नजिक आए। परिचय सोधे। अनि त्यहाँको अवस्था बताए। उनीहरुलाई भुटानकै भाषा, भूगोल र अवस्था बताउन शैक्षिक सामाग्री पर्याप्त रहेनछ। अनि पढाउनेहरु पनि एक/दुई गर्दै पुनर्वास कार्यक्रममा नाम निकालेर बाहिर जाने क्रम बढेपछि साना नानीहरुलाई अध्यापन गर्नेको अभाव बढ्दो रहेछ। टिमाइको प्राथमिक तह पढाइ हुने स्कुलमा करिब ६ सय बालबालिका रहेछन्। 

भित्ताबाहिरबाट घामको प्रकाश कक्षामा पसेको छ। ३ कक्षाको एउटा कोठामा एउटा फुच्चे सहपाठीहरुलाई राजेशपायल राइको आधुनिक गीत सुनाइरहेको छ -'बल्ल बल्ल भेट भो दर्शन नमस्ते।'

अनिश्चित भविष्य लिएर शरणार्थी जीवन बिताइरहेकाहरु अहिले धमाधम तेस्रो मुलुक गएका छन्। जान चाहनेहरु आफ्ना नाम सूचीमा पर्ला भनेर पालो पर्खिरहेका छन्। अनि नाम निस्केकाहरु जानका लागि बिदावारीमा छन्। 'तिनीहरुले मेरो घर खोसे तर, भविष्य खोस्न सक्दैनन्' यो विश्व शरणार्थी दिवसको नारा हो। यसले शरणार्थी व्यथा बोल्छ। तर, उनीहरुका लागि थातथलोमा फिराउनुको साटो अर्कै मुलुकमा बसाइ लैजाने क्रमले तीव्रता पायो। 

सन् २००८ मार्चदेखि सुरु भएको नेपालस्थित शिविरका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रममा हालसम्म ३१ हजार गइसकेका छन्। पुनर्वास कार्यक्रमले गएका चार महिना भरथेग गर्ने, त्यसपछि उनीहरु आफैं कमाएर बाँच्न सक्ने हुनुपर्ने नियम छ।

पढेलेखेका युवा पुस्ताका लागि यो सहज हुनसक्ला। तर, वर्षौदेखि खेतीकिसानी गरेर जीवनका उर्जाशील समय व्यतीत गरेका शरणार्थीका लागि युरोप र अमेरिकाको जीवन सहज छैन। तापनि तत्काल तेस्रो मुलुक जानबाहेक अरु सहज विकल्प छैनन्।

शरणार्थी समस्या समाधानका घरफिर्ती, पुनर्वास र स्थानीयकरण। यी तीन विकल्पबाहेक अरु केही हुन सक्दैन।  ग्लोबल ट्रेण्ड रिपोर्टले विश्वमा शरणार्थी संख्या बढ्दै गएको र घर फर्कनेको संख्या घट्दो रहेको सार्वजनिक गरेको छ। 

गत वर्ष २ लाख ५२ हजार शरणार्थी स्वदेश फर्किएको तथ्यांक छ। जुन सन् १९९० यताकै सबैभन्दा कम हो। आफ्नो देश र घरभन्दा प्यारो मानिसलाई अरु केही नहोला। यस्ता आधारभूत अधिकारबाट शरणार्थीलाई बञ्चित नगर्न नेपालको दायित्व ठूलो छ। तर, कूटनीतिक पहलमा ध्यान पुर्‍याउन सधैं ढिलाइ भइआएकै हो। 

राजनीतिक संकटबाट नेताहरुले मुलुकलाई कहिल्यै शान्तिको सास फेर्न दिएको अवस्था छैन। बुद्धि फिरोस्। अनि शरणार्थीका मामिलामा सरकारले आफैंबाट पहल हुन नसक्ने हो भने अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गरेर अघि जाने बाटो पहिल्याओस्।

Monday, September 6, 2010

उनीहरु सोध्छन्

फेसबुके र जीमेलको च्याटमा भेटिनेहरुको साझा प्रश्नको उत्तर फर्काउदा फर्काउँदै अफलाइन बस्न मन लाग्छ। मलेसिया, कतार, अफगानिस्तान, पाकिस्तान, मालद्धीप्स्, मुम्बई, कोरिया, जर्मनी, टर्की, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नर्वे र अमेरिकाका विभिन्न राज्य। अनि अहिले झट्ट नाम लेख्न छुटेका कता हो कता। नेपाली जहाँ छन् , उनीहरु देश चिन्ताको  गर्ने रहेछन्। उनीहरु सोध्छन् 'को बन्छ प्रधानमन्त्री ? कहिले देशले राजनीतिक निकास पाउँछ ?' के हामी भविष्यवक्ता हौं र फ्याट्ट भन्दिउँ !

त्यसो त हामी नेपालीको बानी कुनै डाक्टरभन्दा कम कहिल्यै भएन। पेट वा टाउको दुख्यो, नभए अर्थोकै केही भयो भन्ने गुनासो भुइमा खस्न नपाउँदै उत्तर आउँछ 'मैले यस्तो औषधि खाथेँ, तँ पनि त्यो ट्राइ गर चट्टै हुन्छ चट्टै।' ओखतीका लागि दिइने यस्ता सजिला सल्लाहले कहिलेकाही गाह्रो पार्छ। पारेको छ। कारण, रोगको अवस्था, रोगीको उमेर, शारीरिक क्षमता आदि सबै हेरेर स्वाथ्यकर्मीले औषधिको सल्लाह दिने हुन्। परीक्षण बिना नै औषधि खाँदा टाउकोको दुखाइ कम गर्ने ओखती झाडापखाला रोक्न काम लाग्ला भन्दै खाएजस्तै हुन्छ। तर, यसरी दिनेजस्तो सल्लाह सुझावले नेपाली राजनीति चल्दैन। चलेको पटक्कै छैन। बेकम्माहरुको खेल। सबैलाई थुनेर सफा पार्नुजस्तो।

जनआन्दोलन-२ चलिरहँदा जब तत्कालीन राजाले दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरेका थिए। त्यसबेला छिमेकले हतारिएर सो वक्तव्यको स्वागत गर्दा पनि आन्दोलन थामिएन। नेताहरु नै छक्क परे। उनीहरुले कल्पना पनि गरेका थिएनन् अहिलेजस्तो ढलीमली होला भनेर। अहिले तिनै आन्दोलनमा सहीद भएकाहरुका परिवारले के सोच्दा हुन्  किन व्यर्थै गुमेछ हाम्रो आफन्तको ज्यान ?

च्याट साइटहरुमा साथी बनेकाहरु अहिले गाउँघरको हाल खबरभन्दा पहिले देशको राजनीति कता जाँदैछ ? के होला ? भन्ने सोध्न रुचाउँछन्। फेरि उही पट्यारलाग्दो विषय राजनीति। युवालाई चासो भएको विषय होइन। तर, अछुतो भइरहन पनि नमिल्ने। मलाई पटक्कै रुचि छैन । साँच्चै रुचि छैन। तर, पत्याए पो। बिग्रिएका सबैथोक राजनीतिसँग जोडिएको मुलुकमा हामी नै कहाँ सप्रिएकाहरुको श्रेणीमा छौँ र !  

सत्तामा शक्ति छ। र, शक्तिको आड पाउने दौडका लागि सबैको आ-आफ्नै धुन। हरेक सरकारी संयन्त्र दल र तिनको प्रभावलाई छाम्ने, अनि आफ्ना अनुकुलको बनाउने प्रयासमा रहेको दौडधुप देख्न पाउनु नौलो दृश्य रहेन।
शक्तिका लागि सत्ता। टिकिरहने अभ्यासका लागि सत्ता र अस्तित्व टिकाउने खुइल्याउने,पाखा लगाउने, हराउने, आउने-जाने सबैखालका अभ्यासका लागि दलहरुको एकमात्र ध्येय यही भइरह्यो। हाम्रो निराशा यहीँनेर छ। म्याद थपिएपछि नयाँ संविधानको माधवकुमार नेपालले दिएको राजीनामापछि रामचन्द्र र प्रचण्डको दौडले छायामा पारेको छ। छैटौं चरणमा पनि दुवैको सत्तालिप्साले लक्ष्य पाउन सकेन। पछारिएको पछरिएकै भए।

राजनीतिक समीक्षकहरुको राय जेसुकै रहोस् तर, मलाई लाग्छ आफ्नो मत पुगेको सरकार भएका बेला हतारिएर प्रचण्डले राजीनामा दिनु गलत थियो। गरे गरिहाले। अहिले त्यही सत्ता पाउन केही गर्न पछि परेनन्। लाज पनि पटक्क नहुने रहेछ। अनि तमाम विरोधका बाबजुद टिकिरहेको देखाएका माधवकुमार नेपालले पनि राजीनामा दिएको समय अनुपयुक्त थियो। न प्रचण्डले उनले भनेजस्तै रुक्मागद कटवालको केही बिगार्न सके, न त माधवकुमारले संकट टार्न सके। दुवैले संकट बढाएमात्र।

दुवैको राजीनामा प्रसंगमा मिलेको एउटै तन्तु - पार्टीको आन्तरिक दबाब। हुन त मान्छेलाई घरले आधार नदिने हो भने टिक्नै सक्दैन। अनि दुवैको घर भनेको पार्टी नै थियो शायद। दुवैका लागि क्षणिक आवेशमा बगेको आन्तरिक दबाब दिने तत्वका लागि देश ठूलो भएन। आन्तरिक कलह नै ठूलो भयो। दुवैले राजीनामा दिए। एउटाको सत्ताप्राप्तिको संघर्ष छैटौंपटक प्रधानमन्त्रीको चुनावमा भएको हारपछि पनि जारी छ। अर्काको सजिलो बाटोको ताक छ एमालेको झलनाथ समूह। न मिल्न सक्ने , न त अरुलाई सघाउन नै सक्ने। तर, जसरी पनि जस चाहिने। भूमिका चाहिने।

इतिहास बोकेको प्रजातान्त्रिक पार्टी भनाउने कांग्रेसलाई पनि पटक्क लाज लागेको छैन। जसरी पनि सत्ता चाहिएको छ। दलहरु बग्रेल्ती छन्। कोही मिल्न नसक्ने। कोही एकअर्कालाई सघाउन नसक्ने। यस्तो अवस्था कहिलेसम्म रहने ? नेपाली जनतालाई राजनीति बुझन गाह्रो भएन। र, यो लुछाचुँडीले अवरुद्ध पारेको निकासबीच राजनीतिको अर्थ राम्रो पटक्कै होइन भन्ने पारेको छ। 

दलहरुलाई नेतृत्व चयनको लुछाचुँडीमा छन्। गाइजात्रा देखाइरहँदा पनि जनताले तिरेको करले चलेको राजस्वमाथि विलासिता चलेकै छ। जो सरकार छाडेका छन्  र, जस जसले कामचलाउका रुपमा चलाएका छन्। सबैले राज्यको सुविधा उपभोग गरिरहेकै छन्।

मुलुक हाँक्ने जिम्मेवारीमा यस्तो भइरहे संयन्त्र बहकिनु अस्वाभाविक छैन। सुरक्षा, प्रशासनलगायत जिम्मेवार संयन्त्रको काम गराइमाथिको निगरानी र नियन्त्रण कमजोर भएको छ। निर्लज्ज नेताले सजिलोसँग फलाकेजसरी सहमति खोज्दा केही बिग्रँदैन। परिस्थिति सुध्रन पनि समय धेर लाग्दैन। सम्भावना कहिल्यै टर्दैन। 

तमासे जनताले सत्ता खोस्दैनन्। तर, उनीहरुलाई गर्ने खबरदारीमा पनि नागरिक समाज भनिने जमात चुप लागेर बसेको देख्ता उदेक लाग्छ। जसरी बजारमा बढेको महँगी र ठगीका समाचार सार्वजनिक भइरहँदा उपभोक्ता अधिकारवादी भनाउन मन पराउनेहरु चुप लागेर बस्छन्, त्यस्तै भएको छ नागरिक समाज। अन्यथा यति लुछाचुँडी चलिरहँदा पनि नेताहरुलाई सहमतिमा आउन सचेत बनाउने गतिविधि किन नभएको हो ? अचम्म छ। 

देशको राजनीतिक अवस्था यस्तो छ। अब के जवाफ दिनु ती च्याटमा आउनेहरुलाई। बरु ठीकै छ, आफैं अफलाइनमा बस्यो वा इनभिजिवल भयो। अनि को-को अनलाइन भएका छन् भन्ने हेर्‍यो। अनि आफ्नो काम गर्दै रह्यो।