Showing posts with label यहाँ यस्तै छ. Show all posts
Showing posts with label यहाँ यस्तै छ. Show all posts

Wednesday, January 13, 2021

एटीएम

हिजो राति एक जनाले अनलाइनमा रिवल्विङ चियर सेलमा राखेका थिए। कुर्सीको फोटो हेर्दा दाम अलि अपत्यारिलो तरिकाको सस्तो लाग्यो। बजारमा पाइनेमा आधाभन्दा पनि सस्तो। 

च्याटमा सोधेँ - तपाइँले भनेकै दाम हो ?

धेरैबेर उत्तर आएन । उनले टाइप गरेको जस्तो संकेत बुझिन्थ्यो, निकैबेर उत्तर भने आएन। मलाइ लाग्यो उताको मान्छेलाई मोबाइलमा टाइप गरेर जबाफ दिन गाह्रो परेको हुनुपर्छ। अनि लेखेँ- तपाइँको नम्बर दिनुस् ।

उनले दिएको नम्बरमा कुराकानी भयो । उनले पाइने ठेगाना बताए।

आज छोरालाई मोसामा पछाडि राखेर म कुर्सी किन्न जाने भएँ। राम्रो पाए अरु साथीहरूका लागि पनि लिइदिने गरी। 

बैंक पुगेँ। कार्ड छिराएपछि एटीएममा सूचना देखियो - 'तपाइँले सीमाभन्दा बढी कारोबार गरेकाले अब पैसा दिन सक्दिन।'

जिन्नगीमा कैल्यै नदेखेको सूचना ! 

बाहिर निस्केँ । गार्डलाई सोधेँ - बैंकले खातामा होल्ड गर्ने पैसाको अंक बढाएको हो ? मलाइ त सीमा नाघ्यो भन्छ एटीएम !

गार्ड- सीमा ५ लाखको हो। तपाइँले एक महिनामा त्यति झिकिसक्नु भो होला।

म - छैन। कहाँ झिक्नु त्यति ? 

गार्ड -  भित्र स्टाफलाई सोध्नुस्।

बैंक पसेँ। सामाजिक दुरीको लफडाले बैंकभित्र तीन हात परै रोकियो। परैबाट महिला कर्मचारीलाई भनेँ - मलाई एटीएमले सीमा नाघ्यो भन्यो। खातामा कतिसम्म राखेर एटीएमले पैसा दिन्छ ?

उनी बडो रुखो पारामा बोलिन् - ५ लाख झिकिसक्नु भो होला। त्यो भन्दा बढी एक महिनामा निकाल्न मिल्दैन एटीएमबाट।

म- मैले झिकेको छैन। अनि मिनिमम ब्यालेन्स कति हुनुपर्छ ?

बैंक कर्मचारी - ५ सय राखेर बाँकी निकाल्न मिल्छ ?

म - मैले सीमा नाघ्ने झिकेकै छैन। अनि मेरो कार्डमा किन एटीएमले त्यसो भनेको ? चेक गर्दिनु हुन्छ ? 

बैंक कर्मचारीले रिसाएको पारामा हेर्नुभो, रिप्लाउनु भएन।

उहाँको मुद्रा देखेर फेरि सोध्न मन लागेन।

बाहिर निस्कँदै गर्दा देखियो, भित्रबाट प्राविधिकहरूले त्यो एटीएम खोलखाल पर्दै रहेछन्। अनि भित्रको गार्डलाई सोधेँ - के हुँदै हो?

उनी बोले - एटीएमले काम गरिरहेको छैन। मर्मत चल्दैछ।

काम त गर्दै थियो, त्यो सूचना दिने ! कारण त्यस्तो रहेछ।

अनि दुई किमि पर्तिरको एटीएम पुगियो। त्यसले अघिल्लो जस्तो सूचना देखाएन।    

Tuesday, September 1, 2015

काम सानो कहाँ हुन्छ र


समाचार जे बनाए पनि हुन्छ । विषय चयन र त्यसको प्रस्तुतिका भाषामा भर गर्छ - हामीले के दिन खोजेका हौं र, कति पठनीय छ । यहाँ मुन्तिर एउटा फीचर छ । मलाइ मन परेको विषयमाथि । काम कुनै पनि गरे हुन्छ । जसले अरुलाई अपराध लाग्दैन र, इमानदारीको पेसा हो, त्यो गरिखान पर्छ । मलाइ त्यस्ता विषय मन पर्छ । सबैले मेरै रोजाइका विषयमा लेख्नु पर्छ भन्ने होइन तर, मुलुकमा हुनेखाने र हुँदा खानेका कुरा चल्दा यस्ता मान्छेहरुका कुरा लेखिनुपर्छ जस्तो लाग्छ, जो देशमै बसेर गरिखान सकिन्छ, संघर्षबाट भाग्न हुँदैन, स्थिति फेरिन्छ भन्ने उदाहरण हुन् । लेख्ने भन्दैमा थोरै गरेर हामीले कहिलेकाही पगरी लाइदिन्छौं, जो पछि ती पात्रलाई भारी हुन्छ । उसको सँगै हाम्रा नि शिर निहुरिन्छ । त्यसो चाहिँ गर्न हुँदैन ।

पोखरा आएपछि मर्निङ वाकमा निस्कँदा एउटा पसलमा १४/१५ वटा साइकलमा मुडा, कुचो, चटाइ आदि घरेलु उपयोगका सामान लोड भइरहेको देखिने । मान्छेका हतार । लोड गर्‍यो, हिड्यो । खुब रमाइलो दृश्य । गन्ती र लेनदेनमा ती पसले साउजीको हतार पनि हेर्न लायक ।

अनि म सधैं जाने डेरीमा दूध लिन मान्छेका लाम । भैंसीको दूध लिटरको सय, गाइको ८० । अलि ढिला पुगे दुवै फिनिस । भाडा किन्न जाने पसलमा तराइ मूलका नम्र साहु । चरक अस्पताल नजिकैको सस्तो बजारका फलफूल पसले । म तरकारी किन्दा उनकोबाट एकाध किलो स्याउ पनि किन्छु । उनले सधैं भन्छन् 'बोहोनी त गरिदिनुस् ।' मलाई उनको बानी अचम्म लाग्थ्यो । बोहोनी गरिदिउँ भनेर स्याउ किन्यो, आँप पनि बोहोनी भाको छैन, अनार पनि, केरा पनि भन्ने । 

विराटनगरमा मेरो घर नै चौधरी टोलमा छ । मलाहा चौधरी । वरपर निकै घर ठाकुर छन् । तिनका सैलुन छन् । बजारमा मैले सधैं कपाल काट्नेमध्येका दुइ ठाउँ थिए/छन्- ओमप्रकाश भाइ र मामाजीको सैलुन । विराटनगर जुट मिल बन्द भएपछि मिल्स एरियाको बजार छिन्नभिन्न छ । ओमप्रकाशको सैलुन रहेको पसलको लाइनका घर भत्काइए । उनी बोडर छेउ पुगेका छन् । अब म मामाजी कहाँ जान्छु/जान्थेँ । १८० रुपैयाँमा दारी, कपाल काट्न मिल्ने । मालिस पनि गरिदिने ।
 
पोखरा आएपछि सहकर्मी शिव शर्माले त्यस्तै एउटा मान्छे भेटाए । दिलु सिंह । रमाइला । गफी । आउजाउ गरिरहँदा यहाँ मलाइ उनी नौलो लाग्न छाडेको छ । उनलाई फोन गरेर 'लु म आउँछु, भीड त छैन होला नि' भन्दै हेन्सम पार्लर गए हुने । साना पसल खोल्दा सैलुन । त्यसैलाई अलि बढि लगानी थपेर सञ्चालनमा ल्याए पार्लर भनिने रहेछ ।
 
यी वरपरका गरिखाने पेसाका सोझा मान्छे राजनीति र देश चिन्ता पनि गर्छन् । कुरा सुन्छु । विचार आयो - यीमध्येका केही मान्छेका कुरा लेखौं । सहकर्मी शिवजीका साथ उक दिनभरि घुमियो । फलफूल, सैलुन, घरायसी सामान र भाडाका पसलमा गइयो र, उनीहरूका नितान्त व्यक्तिगत कुरा सोधियो । अनि बन्यो समाचार ।
 
सधैं लाग्छ, हाम्रै वरपर काम छन् । थरिथरि पेसा छन् । इलमका काम सिक्नेले भोको बस्नु पर्दैन । र, इलम नसिके पनि सानातिना व्यवसाय गर्नेले पनि जीवन राम्रै गुजार्छन् । अलि नियालेर हेरे विभिन्न पेसा गर्न मान्छेहरू घर-परिवार, गाउँ छाडेर नयाँ ठाउँ आएका छन् । खाली सिसी-पुरानो कागजको आवाज नै सम्झनुस् । की त सम्झनुस् तरकारी, फलफूल र चटपटेका आवाज । के तपाइ-हामीले आफ्नै गाउँका तन्नेरीलाई मोटरसाइकल, कुकर र ग्यास स्टोभ मर्मतको पसल खोलेर बसेको देखेका छौं ? यी पनि त राम्रै आम्दानी दिने पेसा हुन् ।

मलाई साग फलाएर लाख, कुखुरा पालेर करोड, टमाटरले मनग्ये आम्दानी आदिका समाचार दिँदा हाम्रा प्रस्तुति ठीक लाग्दैनन् । मान्छे कुनै पनि पेसामा टिकिरहन निकै उतारचढाव झेल्छ । हामी सफलताका कथामात्रै टिप्छौं, जोखिम र, उसले खाएका हण्डरका कुरा हुन्नन् । समाचार पढेर कसैले 'आहा ! यो पो गर्नु परो । आम्दानी गज्जप रछ' भन्यो भने हात हालेपछि सराप्छ । पेसाका जोखिमबारेका जानकारी खोइ देको ?  

त्यसैले धेरैजसो यस्ता खबर लेख्दा सतप्रतिसत सही सूचना पाठकसम्म पुग्दैन । कसैको सफलताका कथा लेख्दा त्यो चरणसम्म आइपुग्न उसले गरेर संघर्षका कुरा दिनै पर्छ । कतिपल्ट लेख्दा छुट्छन् । कतिपल्ट लेखे पनि वाक्यका बुनाइ नजान्दा सम्पादन गर्ने साथीको काँटछाँटको सिकार भइदिन्छन् । 

खबर ती मात्रै होइनन् जो फ्रन्ट पेजमा आउँछन् । भित्री पानामा पनि गहकिला कुरा हुन्छन् । विषयचयन गर्दा प्राय सामान्य मान्छेका कुरा भित्री पृष्ठमा पर्छन् । जो धेरैका दृष्टिमा छुट्छन् । पढेकाहरूका लागि ठीकै छ । नपढेका वा छुटाएकाहरूका लागि यो पनि भित्री पृष्ठमा प्रकाशित भएको एउटा खबर हो । नितान्त सामान्य खबर । 

अब मूल खबर

***
काम सानो कहाँ हुन्छ र !

पोखरा- पर्यटकीय नगरी भन्दैमा यहाँका सबैको व्यवसाय पर्यटन होइन । पश्चिमका विभिन्न जिल्ला सामान पठाउनेसँगै धेरै फुटकर व्यापार छन् । र, तिनमा लागिपरेकाहरू धेरै छन् । केही भिन्न पेशा व्यवसायमा लागेका तन्नेरी, जसले गर्दै-सिक्दै व्यवहार चलाउन जाने । उनीहरूको लगनशीलताको  कहानी रमाइला छन् । फलफूल पसले राजुप्रसाद त्रिपाठी, पार्लर सञ्चालक दिलु सिंह, घरायसी सामानका विक्रेता रामचन्द्र सञ्जेल र भाँडा पसले निरज सोनी गरिखाने मामिलामा उदाहरणीयमध्येका छन् ।

***
'गाउँबाट आएकाहरू देख्यो की केही भनिहाल्लान भनेर अप्ठ्यारो लाग्थ्यो । देख्नेहरूले पनि भनिहाल्थे - लु हेर मुखियाको नाति सडकमा बसेको !', यहाँको चरक अस्पतालनजिकै सस्तो बजारका फलफूल पसले राजुप्रसाद त्रिपाठीले भने, 'व्यापार यस्तो कर्म रछ गर्न जाने दिन फेरिन्छन्, नजाने बिल्लीबाठ भइने ।'

कास्कीको कालिका-४ का त्रिपाठी सस्तोबजारको छाप्रोमा पसल थाल्नु दुर्इ वर्षघिसम्म सडकमा थिए । ठेलामा व्यापार गर्थे । 'म प्रहरीमा थिएँ । २०६२ मा जागिर छाडियो', उनले भने, 'त्यही साल सासुको सल्लाहले ठेला किनेँ, बाउबाजेले नगरेको पेसा फलफूल व्यापारमा हात हालेँ ।' 

स्नातकसम्म पढेको मान्छे गाउँमा राम्रै इज्जत । सडकमा व्यापार थाल्दा सुरू-सुरूमा निकै अप्ठ्यारो भएको उनले बताए । 'हेर्नुस् हाम्रो समाज यस्तै छ । पैसा खर्च गर्न जान्ने, सीप गरिखाए पेसाको स्तर हेर्ने,' उनले भने, 'गरिखान लाज मान्न हुँदैन । २० हजार हालेर मेरो जसरी काम गरेपनि ठाउँ ठीक भो र मेहनत गरे दिनमा हजार रूपैयाँसम्म कमाउन सकिन्छ ।' ४० वर्षीय त्रिपाठीले पहिले पोखरा-४ गणेशटोलमा घर बजाएका छन् । दुई छोरीलाई स्कुल पढाएका छन् । श्रीमान-श्रीमती पालोफेरो पसल चलाएका छन् । 

उनले भने 'हामीलाई एकैपल्ट धेरै आम्दानी हुने पेसाको आस हुन्छ । तर, गर्दै जाँदा सानो पेसाबाट पनि राम्रै गुजारा हुने मैले आफैं गर्दै सिक्दै जानेको छु ।' बिक्री हुने भनेर किनेका फलफूल नबिक्दा सड्ने, खेर जाने भइदिँदा सुरूसुरूमा निराश भएपनि बिस्तारै यो पेसाको गाह्रोसाह्रो व्यवहारले सिकाएको उनको भनाइ छ ।

*** 
स्याङजाको मालुंगा-८ का ३६ वर्षीय दिलु सिंह एक दसकदेखि कपाल काट्ने पेसामा छन् । पृथ्वीचोकनजिकै उनको हेन्सम पार्लर छ । बरालिएर हिड्ने दिलुले आठ कक्षापछि पढेनन् । केही वर्षभारतको दिल्ली गएर काम गरे । फिर्दा कपाल काट्ने सीप सिकेर आए । घर बसेनन् । विदेश जाने चक्करमा लागे । म्यानपावर जाली परेकाले उनको डेढ लाख रूपैयाँ गुम्यो तर, जान पाएनन् । 

पोखरामा ब्युटीपार्लर चलाउने चिनु गुरूङकहाँ काम पाए । पछि उनैको पुरानो पार्लर आफैंले किनेर चलाउन थाले । 'महिनाको १५ सयको जागिरबाट काम थालेको मान्छे । आज म आफ्नै पार्लर चलाउँछु', उनले भने, 'सीप भए भोको बस्नु पर्दैन । काम भनेको सानो-ठूलो हुँदैन । मैले बुझेको यही हो ।' उनले पोखरामा रहेर धेरैलाई आफ्नोजस्तो सीप सिकाएका छन् । तर, धेरैले उनी जसरी काम भने गरेका छैनन् ।
 
बाहिरबाट उपमहानगरमा आएर नाइको पेसा गर्नेहरु गल्लीचोक जतासुकै भेटिन्छन् । तर, अत्याधुनिक औजारसहित व्यवस्थित हिसाबले पार्लरको नाम दिएर सिंह जसरी सञ्चालन गर्नेहरू औंलामा गन्न सकिन्छ । 'उतारचढाव हुन्छ । काम छाडेर अर्थोक गरुँजस्तो सबैलाई हुन्छ,' उनले भने, 'तर, आफ्नो क्षमताअनुसारको काम गरिएन भने मान्छे भएको स्तरबाट पनि तल झर्छ भन्ने मलाइ लाग्छ ।' 

उनको जस्तो पार्लर थाल्न अहिले तीन लाख हाराहारी लगानी पर्छ । 'हाम्रा पहाडे केटाहरू सिक्न त सिक्छन् तर, म जसरी पार्लर खोलेर बस्ने थोरै छन्,' उनले भने, 'नेपालीको बानी नेपाली पैसा थोरै भाउ भएको बुझिने भएको छ । त्यसैले विदेश जाने ताकमा हुन्छन् ।' समयको उतारचढावले दिलुलाई धेरैथोक सिकाएको छ । उनले हेयरस्टाइलका धेरै तरिका र ट्याटु बनाउन पनि सिकेका छन् । 

'कतिपय कुरा हामीले साधनमा तत्काल लगानी गर्न नसकेर थाल्नै गाह्रो छ । तर, म हार मान्दिन बिस्तारै गर्छु,' उनले भने, 'एकैपल्ट धेरै आस गरेपनि क्षमता र लगानीभन्दा धेर आउने होइन । निराश बस्नुभन्दा काममा घोटिनु सजिलो लाग्छ ।'

***
आफन्तको साथ लागेर हेटौंडाबाट पोखरा हान्निएका रामचन्द्र सञ्जेलको सभागृह चोकमा घरायसी समानको पसल छ । एकाविहानै उनको पसलबाट १४/१५ जना साइकलमा बेच्नेले सामान लैजान्छन् । मुडा, चकटी, कुचो, डोको र भान्साका सामान आदि उनले बेच्छन् । 

'म २० वर्षको हुँदा आएको अहिले ४० को भएँ,' उनले भने, 'यही पेसा थालियो । न कहिले विदेश जान मन लाग्यो, न अरु पेसामा हात हाल्न ।' पोखरा आएका केही महिना उनले आफन्तको त्यस्तै पसलमा काम गरेका थिए । उनीहरूले नै बेग्लै त्यस्तै पसल गर्न सघाएपछि बाटो खुल्यो । 'हामीले देख्ता मान्छेले जे पेसा पनि गरेर खानसक्ने हो जस्तो लाग्छ । तर, होइन उसलाई त्यो पेसामा मन लाग्नु पर्छ । खट्न सक्नुपर्छ', उनले भने, 'सबै पेसा सबैलाई सुट गर्दैन ।'

उनीबाट बिहानै सामान लगेर साइकलमा १० हजारको सामान डुलाउनेले मज्जाले खट्दा दिनको एक हजारसम्म नाफा जोगाउँछन् । उनले भने 'तर, सबैको समय उस्तै पर्छ, उतिकै खट्छन्, बिक्री हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।' तीन छोरा, एक छोरीका पिता सञ्जेल कारोबार गर्नका लागि पुँजीसँगै ज्यान दिएर खट्न सक्ने इच्छाशक्ति जरुरी हुने सुनाउँछन् । 

'कतै पनि पैसा फल्दैन, मेहनत गर्नैपर्छ,' उनले भने, 'खट्न सकिएन भने डुबिन्छ ।' उनले देखेका छन्, साइकलमा व्यापार गर्नेहरू पनि बर्सेनि आधाजसो 'यसो गर्दा चल्छ की' भनेर ट्राइ गर्न आएका हुन्छन् । 'आधाले त बीचैमा काम छाड्छन्, अरु नै पेसामा जान्छन्', उनले सुनाए, 'केही पुराना छन् जो निरन्तर गरिरहेका छन् । र, उनीहरूको व्यापार राम्रो छ ।' गर्न खोज्नेका लागि साइकलमा सामान डुलाउनेदेखि बाटाछेउ बसेर बेच्नेसम्मका धेरै भएको बताएका उनले भने 'काम सानो हुन्न । गरेर खान लाज मान्न र, खट्न पछि सर्नु हुँदैन । समयकालले सबै ठीक गर्दै लैजान्छ ।'

***

सिर्जनाचोकमा रहेका धेरै पसलमध्ये एउटा भाँडाकुडाको पनि छ । राधे राधे भाँडा पसल । सञ्चालक हुन् ४१ वर्षीय निरज सोनी । मूल घर पर्साको मनिहार । पिता पोखरामा काँधमा बोकेर भाँडा बेच्थे । उनी ४ कक्षा पढ्दै गर्दा बुवाको साथ लागेर पोखरा आए । 

'धेरै खटाइ भएकाले बुवालाई टीबी (क्षयरोग) लागेछ । काम गर्न नसक्ने हुनुभो । अनि मैले थालेँ,' उनले भने, 'एउटा मान्छे राखेको थिएँ, उ र म बुवा जसरी नै भाँडा बेच्थ्यौं ।' बिस्तारै उनले वीरगञ्ज र जनकपुरबाट भाँडा ल्याएर नगरका पसलमा बेच्न थाले । 'पेमेन्ट रोकिदिँदा/ढिला हुँदा चालु पुँजीमै असर पर्थ्यो । म दिक्क भएँ', उनले भने, 'अनि ५० हजार हालेर आफैं पसल थालेँ । चल्दै गयो ।' 

बीचमा उनले पसल गरेको घर बिक्रीहुँदा थलो छाड्न पर्‍यो । सारेर पनि पसल छाडेनन् । ३२ लाख ५० हजारमा माइक्रोबस किने । अनि त्यसको कन्डक्टरको काम गर्न थाले । 'यसबीचमा राम्रो ठाउँमा सटर पाइयो,' उनले सुनाए, 'गाडी बेचिदिएँ, फेरि पसल चलाउँदै छु ।' 

चार छोरी, एक छोराका पिता सोनीलाई पोखराले मोहनी लगाएको छ । 'कुनै अम्मल भएन भने, व्यभिचारतिर लागिएन भने सानो व्यवसायले पनि मान्छेलाई इज्जतको जिन्दगी दिन्छ भन्ने उदाहरण म आफैं हुँ,' उनले भने, 'धेरै नाफा लिन्न । त्यसैले मेरा पुराना ग्राहक खोज्दै मैंकहाँ आउँछन् ।' 

पोखरा-८ सिमलचौरमा घर बनाउँदै गरेका सोनीले नगरमा धेरै उतारचढाव देखेका छन् । 'एकैपल्ट धेरै खोज्दा भएको पनि जान्छ त्यसैले म कसेर लिन्न । जायज लिन्छु,' उनले भने, 'व्यवसायमा टिकिरहन सजिलो छैन तर, एउटा सामानले पुँजी ब्लक गर्‍यो भने हतास हुनुभन्दा अर्को चल्ने चिज ल्यायो, बेच्यो । चल्छ ।'

***

Saturday, August 1, 2015

एउटा केटोको सम्झनाले ...

 
यो लेखोट २०७२ साउन १६ को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। एउटा व्यक्तिमाथिको फीचर। एउटा बसाइको लेखाइ लामो थियो। ती आधा छोट्टिएर प्रकाशित भएको छ। संक्षिप्त प्रकाशित हुँदाहुँदै पनि पत्रिकामा सबै कुरा पुरै छन्। जेजे सम्पादन गरियो/गरिए/भए, ती फाल्दा नि मर्म फालिएको छैन। तर, मलाइ यता ब्लगमा भने पहिलो मूल लेखाइ नै राख्न मन लाग्यो। जसमा मूल विषयभन्दा फाल्दा नि हुने गन्थन धेर छन्/भएका रछन्।
 
पोखरा आएपछि एकपल्ट लेकसाइड घुम्दाको साँझ हेल्पिङ ह्याण्ड्समा पुगेको हो। दोस्रोपटक नि पुगेपछि यिनका बारे लेख्न पर्छ भन्ने लाग्यो। त्यहाँ काम गरिरहेकाहरूका बारे चासो लाग्यो। धेरैले लेखेको र फोटो स्टोरी पनि गरिसकेको साथीहरूले सुनाउनु भयो। 

अबको चासो थियो- यी दृष्टिविहीन र बहिरालाई काम दिएर-लिएर व्यवसाय गरेकाको कथा। के कारणले यिनले यस्तालाई साथ लिए ? मान्छे सबलांग छन्। राम्रा-मिजासिला छन्। जुन व्यवसाय पनि गरिखाने योग्य देखिन्छन्। साथी केशवशरण लामिछानेले एक दिन बिहान भेटघाटको समय मिलाए। सर्त राखेर गइयो - 'यो विषय तपाइँ नलेख्नुहोला। म लेख्छु।' कुरो मिल्यो। भेट भयो। 

तर एक महिना बित्यो, मैले लेख्न भ्याइँन या भनौं अरू कामको चापले भुलायो। दीनेश थापाका कुरा सुनिसकेर एउटा मुडमा बसेर ती कुरा शब्दमा उन्न जरूरी थियो। जो अलिपछि मात्रै सम्भव भयो। यो बीचमा मित्रले आफूलाई आइपरेको टास्कमा एउटा फीचर लेख्नैपर्ने भयो। अतः मित्रले लेखेँ, नरिसाउनुस् भन्नुभो। ठीकै छ। हाम्रा काममा यस्तै पर्छ।

हामी धेरैपल्ट मान्छेका राम्रा काम र बानीमात्रै टिप्छौं। अँध्यारा पाटा छुट्छन्। कतिपय विषयको कथाले माग्दैन। कतिपल्ट हाम्रा जानकारीमा हुँदैन या भनौं खोजिँदैन। यहाँ पनि एउटा पात्रको नितान्त व्यक्तिगत भोगाइका कुरा उनिएको छ।
 
लेख्ने मामिलामा म अलि ढिला भएँ। तर, अब कथा एउटै एउटै बेला पारेरमात्रै आआफ्ना अखबारमा पठाउने सल्लाह भयो। त्यसै गरियो पनि। मेरो एक साता रोकियो, साथीको गत साता प्रकाशित भयो। उनको आएपछि मैले नछाप्नु पर्थ्यो होला। तर, आफूले लेखेको परिश्रमको माया लाग्यो। मैले रोकिन। आज छापियो। धेरैपल्ट के लाग्छ भने लहरै थुप्रै जनाले क्यामेरा लिएर कुनै घटना खिचिरहँदा हरेकका फ्रेममा अलग-अलग समय र एंगल कैद हुन्छन्। यो कथा पनि त्यस्तै हो। 

एउटै कथालाई आ-आफ्नो पाराको प्रस्तुति। मेरा साथी केशवजीको भाषागत दख्खल निकै राम्रो छ। उनको हेरिकन आफू सिकिरा'छु भन्ने लाग्छ मलाइ। तैपनि हेर्नोस् एउटै परिकार बनाउने काम दिँदा भान्सेका हातले नि स्वाद फरक पार्छन् भन्ने मानौं। अरू कति कथाले हाम्रो बाटो हेरिरहेका होलान्।

ब्लगमा अपलोड गर्दागर्दै मेरो जीमेल इन-बक्समा भोजपुरबाट पुष्पराज ढकालको  मेल हेर्दैछु । उहाँले लेख्नुभएको छ - 'लेख सारै राम्रो लाग्यो । मेरो पनि एकजना बहिरा छोरी हुनुहुन्छ ५ कक्षामा पढ्ने १२ वर्षको। थ्याङ्क्यु दाई तपाईको लेखहरू फेरि पनि पढ्न पाइयोस शुभकामना छ तपाइलाई।' 

हामी लेख्ने, तस्वीर खिच्ने कर्म गर्नेहरूका लागि विषय धेरै छन्। जति मान्छे भेट्यो भोगाइका कथा फरक फरक छन्। यो पनि तिनैमध्येको एउटा चरण हो। जे होस् यहाँ पुरा कुरा छ। 

अब मूल कथा 
अन्नपूर्ण पदमार्गबाट २० दिनको यात्रा सिध्याएर अष्ट्रियाका तात्याना स्टोइल्स र पिटर हेर्खर ११ वैशाखमा फेवाताल किनारको लेकसाइड आइपुगेका थिए। भोलिपल्ट दुवैले जीवनकै पहिलो भूकम्प होटलमै अनुभव गरे। 'हामी हतार हतार बाहिर निकिस्यौं,' तात्यानाले भनिन्, 'जीवनकै अनौठो अनुभव थियो।' पोखरामा केही दिन थकाइ मारेर सगरमाथाको गोक्यो ताल हेर्न जाने योजनामा रहेका दुवैको यात्रा सूची फेरियो। जोडिए हेल्पिङ ह्याण्डस्को राहत वितरण र भूकम्पपीडितको घर बनाइदिने अभियानमा।

'यो अभियानमा जोडिने हामीमात्रै रहेनछौ,' पिटरले सुनाए, 'हामीजस्ता १०/१२ देशका अरु पनि रहेछन्। दीनेशको अभियानले हामीलाई यात्राको मजाभन्दा पनि पीडितको सहयोग गर्न पाएकोमा आत्मिक आनन्द महसुस भयो।' परिवार, साथी र आफन्तबाट समाजिक सञ्जालका मद्दतले दुवैले ६ सय यूरोको योगदानमात्र गरेनन्, राहत बाँड्न गोरखा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोक पनि पुगे। हाम्रो अहिलेको कथा यो होइन।  

पर्यटक रिझाउन अबेर रातिसम्म बत्ती झिलीमिली हुने पोखराको लेकसाइडमा थरिथरिका पसल, होटल र रेस्टुराँ छन्। यही भीडमा बहिरा र दृष्टिविहीनहरू काम गरिहेका भेटिने ठाउँ पनि छ। धेरैले यो हेल्पिङ ह्याण्डस्मा काम गरेर जिन्दगीको गाडी सजिलै गुडाएका बहिरा र दृष्टिविहीनका कथा पढेको हुनपर्छ। यहाँ त्यही कथा दोहोरिने छैन। 

फरक क्षमताकाहरूलाई साथ लिएर वर्षौदेखि काम गरिरहेका दीनेश थापाको बाटो मोडिएको कथा आज सुन्ने हो। २१ बहिरा, ३ दृष्टिविहीन, केही दोभाषेसहित ती फरक क्षमताका ३२ जनालाई काम दिएर-लिएर आफ्नो पेसा चलाइरहेका उनकै कथा ती इलमी हातहरूभन्दा केही मानेमा पृथक छन्। 

०००
  
काठमाडौंको गोकर्णका दीनेश पोखरा आएको १६ वर्ष बितेछ। 'बुवा आर्मीमा भएपनि घरखर्च चलाउन निकै मुस्किल थियो। घरको जेठो छोरो, पढाइ छाडेर म १४ वर्षको उमेरदेखि नङ्ग्रा खियाउन थालेको मान्छे,' उनले भने, 'अब त समय धेरै बित्यो। अवस्थामा आकास-पाताल फरक परेको छ।' मजदुरीबाट काम थालेर अरुलाई काम दिनसक्ने भएको भोगाइको कथा उनले किस्ता किस्तामा सुनाए।

'पहिलो काम घरमा धारा-पाइप फिटिङ गर्ने गरियो,' उनले भने, 'पहिलो कमाइ २१ सय हात परेको थियो। आफूलाई पाण्डा जुत्ता र आमाका लागि फरिया किनेको थिएँ।' राजधानीमा जति घर थपिन्छन्, उति नै सबैथरि इलमी मिस्त्रीले काम पाउँछन्। उनले यही बाटो सजिलो मानेका थिए। 'एकजना चिनजानका मान्छेले चुच्चेपाटीमा अढाइ-तले घर बनाए। धारा-पाइप, ट्यांकी फिटिङको ठेक्का ९ हजारमा दिए,' उनले भने, 'तर, काम सकिएर पैसा दिनेबेलामा ४५ सयमात्रै दिए। छिटो सक्नु थियो, मैले आफूमात्र काम नगरेर अरू दुईलाई पनि खटाएको थिएँ। घाटामात्र लागेन, कामसँगै दिक्क लाग्यो।'

काका नकुल थापा बानेश्वर इन्द्रेणी क्याफेमा बेकरीका सेफ थिए। प्लम्बरको पेसाबाट निराश भतिजलाई उनले बाँसबारीको एउटा बेकरीमा पिठो मुछ्ने काम लगाइदिए। हात हालेका काम छिटै सिक्ने बानी भए पनि उनी त्यहाँ तीन महिनाभन्दा बढी टिकेनन्। ठमेलमा सेफको दुई महिने तालिम लिए। त्यसपछि होटल सांग्रिलाको भान्सामा काका-भतिजसँगै भए। दीनेशले सुनाए - 'धेरै काम थोरै दाम। त्यसमा पनि मन रमाएन।'

कुरिनटार रिसोर्ट खुलेको थियो। त्यहाँ कामदार चाहिएको थाहा पाएका काकाले 'उता जा' भने। तर, मानेनन्। उनले भने, 'काकाले भन्नुभयो म १७ रुपैयाँमा घर पुछेर काम थालेको मान्छे। तँ १७ सय महिनाको दिँदा नि जाँदैनस् ?' उनले काकालाई योबेला टेरेनन्। 

बबरमहल रीभीटेडको सेज क्यारोलिन रेस्टुरेन्टमा काम गर्न मन थियो। त्यहाँ काम गरेपछिको अनुभवले जहाँ कतै पनि गरिखान अप्ठेरो पर्दैन भन्ने उनले बुझेका थिए। ६ महिनाको पर्खाइपछि उनले त्यहाँ काम पाए। दर्जा थियो- कुकको सबैभन्दा सुरुवाती मानिने थर्डकपी।' महिनाको वेतन १८ सय।

'त्यो डिसवासर प्रमोसन भएर आउने पोस्ट रहेछ। सबैलाई आफ्नो छेउ आफ्नै मान्छे ल्याउन मन हुन्छ,' उनले सुनाए, 'भाँडा माझ्ने मान्छे सेफको प्यारो थियो। त्यसैले मलाई सेफले असहयोग गर्न थाले। गाह्रो र हतपत जस नदिने काम लगाउन थाले। गलोस् र छाडेर जाओस् जस्तो गरे।' सन् १९९८ को कुरा थियो यो ।

०००
फ्रान्सेली साहुनी सेज क्योरोलिन आफैं राम्रो कुक थिइन। सेफ र भाँडा माझ्नेको असहयोगका बीच पनि उनले परिकार बनाउन सिक्दै गए। 'झेल्न नसकिने नै भएपछि मैले राजीनामा दिएँ तर, धेरै कस्टमर आउने भएकाले क्रिसमसको साँझ म रेस्टुरेन्टमा उसैगरि काम गर्न गएँ,' उनले सुनाए । १९० जनाका लागि सुप बनाउनुपर्ने। ४० जनाको ग्रुप आयो। २० ले खाए, २० ले त्यसपछिको सेकेण्ड कोर्स (अर्को परिकार) मागे। थापाको जिम्मा सलाद र स्याण्डबिचको सेक्सन थियो। 

केही भरपर्दा कामदारले क्रिसमसको केही दिनअघि नै राजीनामा दिएर गएका थिए। दोस्रो कोर्स अर्डरको १५ मिनेटमा तयार पारेर ल्याउनुपर्ने थियो। सुप बनाउने कारिगर थिएनन्। 'क्यारोलिनले हामीहरूलाई सोधिन् नो वन क्यान ?,' उनले भने, 'कोही नबोलेपछि उनी रुन थालिन। मैले आइ क्यान भनेँ।' त्यो दिन उनले रेष्टुराँको प्रतिष्ठा राखेको घडी थियो। 

'मलाइ साउनीले खाममा इनाम दिइन। ७० हजार रूपैयाँ रहेछ,' उनले भने, 'राजीनामा त दिएकै थिएँ। त्यो दिनदेखि काममा गइँन। उनले मेरा काकालाई फोन गरेर मलाइ लिन मान्छे पठाइछन्।' त्यसपछि तलब १८ सयबाट ८ हजार। बीमाका सुविधा पनि थपिए। सेज क्यारोलिनको रेष्टुराँले पोखरामा शाखा खोल्ने भयो। उनी यो थालनीका लागि सेफ बनेर काठमाडौंबाट पोखरा आइपुगे। 

'म १९ वर्षको थिएँ, १९ हजार तलब,' उनले सुनाए, 'बिस्ट्रो क्यारोलिन रेष्टुराले पोखरामा पर्यटकका लागि फ्रान्सेली परिकार पस्केको थियो, जो यहाँका लागि नौलो रह्यो।' पोखरेली रेष्टुरामा उनले चार वर्ष बिताए। 'कति अर्काकोमा काम गर्ने ? उमेर थियो, रहर थिए,' उनले भने, 'आफैं केही गर्ने। नाफा-नोक्सान आफ्नै लागि हिसाब गर्ने रहरले ५ लाखमा इस्ट-मिस्ट वेस्ट रेस्टुरा किनेँ।'

०००   
आफैंले रेस्टुरा किने पनि उनका लागि फ्रान्सेली रेस्टुराले एउटा सर्त गरेर मात्रै राजीनामा स्वीकृत गरेको थियो। सर्त - धेरै पाहुना आउँदा घण्टाको एक हजार रूपैयाँ पारिश्रमिक लिनेगरि भान्सामा सघाउन आउनपर्छ। यो क्रम बेला-बेला चल्दै रह्यो।

'मैले अर्काकोमा काम गरेर तलब थाप्नु र आफैं साउजी हुनुका बीचको फरक बल्ल बुझेँ,' उनले सुनाए, '१९ जना स्टाफ थिए। तलब दिने बेलामा जहिल्यै कताबाट जोरजाम गरेर पेमेन्ट गर्ने भन्ने चिन्ता लागिरहने।' सन् २००४ अन्त्यतिरको समय। त्यो एकजना गुरूङको रेस्टुरा थियो, जो अलि राम्रो अवस्थामा चल्न सकेको थिएन, जसलाई उनले किने। सशस्त्र द्वन्द्वका कारण मुलुकमा संकटकाल। पर्यटक आउन घटे।

रेष्टुराँ-होटल र पर्यटकका गाइडको सम्बन्ध डाक्टर र औषधि पसल चलाउनेको जस्तो हुन्छ। डाक्टरका प्रेस्क्रिप्सन बोकेर बिरामी त्यही पसल पुग्छ, जो नजिक छ वा जहाँ उसलाई जान भनिएको हुन्छ। यस्ता पुर्जी बोकेकाहरू आएमात्रै औषधि पसल नाफामा चलिरहन्छन्। 'टुर गाइड मेरा केही साथी थिए, त्यहीमध्येको एउटा साथी थियो शोभित,' थापाले सम्झिए, 'उसले चारजना टुरिस्ट लिएर मेरो रेस्टुरा पसेका दिन भान्सामा ग्यास थिएन। किन्नका लागि ७ सय रूपैयाँ थिएन।' शोभितले उनलाई दिएको एक हजारबाट ग्यास आयो। पाहुनाले खान्कीको ३७५० रूपैयाँ बिल तिरेर गए। शोभितले कमिसन लिएनन् जो उनका लागि उपकार भयो।

पोखरा पर्यटन व्यापारमा फेवाताल, अन्नपूर्ण पदमार्ग र पश्चिम पहाडका दृश्यावलोकन बेच्छ। टुर गाइड खुसी पार्छ। आफ्ना होटल र रेस्टुरा चलाउँछ। पोखरामा उनलाई उनलाई साथ दिन बिस्ट्रो क्यारोलिन रेस्टुरामा सँगै काम गरेका अमीर केसी उताको काम छाडेर आए। रेष्टुराको नाम इग्रेट भ्यू राखियो। ६ महिनापछि फेरि व्यवसाय खस्कियो, नाम फेरियो- इन्लाइटेड याक।
 
०००
जग्गाधनी भीमप्रसाद गुरूङ बेलायती सेनाका रिटायर्ड। मनकारी भएकाले रेष्टुराँको मासिक १८ हजार भाडामा कुनै बेला पुरै पैसा नदिएपनि कसिकसाउ गर्दैनथे। त्यताबाट सन्तोष भएपनि व्यापार घाटाले २ वर्षको भाडा तिर्न पुगेन। ऋण खोजेको पैसा लिएर बुझाउन जाँदा उनले एक वर्षको भाडा छुट गरिदिए। 

'इन्लाइटेड याकलाई ३ वर्षन्दा बढी धकेल्न सकिएन,' थापाले सुनाए, 'चप्पल चुँडिए पनि जोडेर लाउथेँ। ऋण खोजेर पनि स्टाफलाई तलब दिन्थेँ।' 

उनले सुने- काठमाडौंमा एउटाले दाउरामा पिज्जा बनाउँछ। पोखराका लागि यो नौलो तरिका थियो। गोरखपुरबाट भट्टी ल्याएर 'ला पिज्जा दलालेगो' को नामबाट उही रेस्टुराँ फरकरूपमा अघि बढ्यो। 'महिनामा एक लाख हाराहारी बिजनेस हुन थाल्यो। कुनै बेला एक दिनमा ३ सय ९५ वटासम्म बेचियो,' उनले भने, 'पहिले स्टाफले मन लगाएर काम नगलार्न जस्तो अवस्थाको मेरो रेस्टुरेन्टमा अब लोड बढी भएर भाग्लान् जस्तो हुन थाल्यो।'

०००
व्यवसाय एउटा मोडमा पुगेर सन्तोष भइरहेका बेला उनको मैंयासँग जोडी बाँधियो। वर्षदिनमा जन्मिएकी छोरीको नाम 'खुसी' राखियो। 'जिन्दगी यहाँसम्म ठीकै थियो,' उनले भने, 'अनि फेरि अर्को मोडले मलाइ पर्खिरहेको रहेछ।' 

एकपटक मैंयालाई खाना रुचेन। दुवै जाँचका लागि मनिपाल अस्पताल पुगे। रगत जाँचका लागि प्रयोग भएको सिरिञ्जबाट उनको हातको नसामा हावा पस्यो। 'डल्लो भयो। तीन दिनपछि पाक्यो,' उनले भने, 'हामी फेरि गयौं। अस्पतालले काट्यो, फाल्यो, त्यो ठाउँ खाल्डो भयो। इन्फेक्सन भएछ।' त्यही चोटले एक दिन अर्द्ध-बेहोस मैंयालाई अस्पताल उनले पुर्‍याए। सुरूमा सामान्य बिरामी भनेर एकअर्काका अभिभावकलाई ढाँटेका थापा दम्पती त्यो दिन समस्यामा परे।

अस्पतालले चलाएको उपचारले मैंया निको भइनन्। अवस्था बिग्रिएपछि आइसीयूमा राखियो। दुवैका आफन्त आए। भेन्टिलेटरमा राखिएकी मैंयाले रगत बान्ता गरिन्। शुक्रबार साँझ अस्पताल लगिएकी उनले शनिबार बिहान आफन्तले 'जसरी भए पनि काठमाडौं लैजानु पर्छ ' भन्ने सल्लाह हुँदाहुँदै देहत्याग गरिन्।

'दूधमुखे छोरीको रुवाइ। मेरो एक्लो जीवन। म पुरै टुटेँ,' दीनेशले भने, 'जिन्दगी फेरि कसरी ट्रयाकमा आउँछ भन्ने नै भएन।'  घटना पछिका तीन महिना उनको रेस्टुराँ बन्द रह्यो। 

०००

तीनजना बालकहरू झगडा गरिरहेका थिए। दीनेशले देखे। दुईले एउटालाई कुटे। ती शायद सडक बालकहरू थिए। 'कुटेको हेरिरहन सकिएन। गएर छुट्याएँ,' उनले भने, 'बढी कुटाइ खाने १२/१३ वर्षको रक्ताम्य केटालाई बोलाएँ, उसले सुनेजस्तो गर्दै गरेन।' पछाडिबाट कुममा हात राखेपछि उसले फर्केर हेर्‍यो। ऊ बहिरो थियो। ऊसँगै एउटा कुकुर हिड्थ्यो। उनले भने, 'त्यो दिन उसलाई खान दिएँ र, पठाएँ। त्यसपछि ऊ कहिलेकाहीँ मेरो रेस्टुराँमा आउँथ्यो।' 

यसबीच दीनेशले मैंयालाई गुमाए। तीन महिनापछि पोखरा आए। 'कुनैबेला १ करोड २० लाख दिने भनेर चाइनिज आउँदा नबेचेको रेस्टुरा अब म जतिमा भएपनि बेच्ने पक्षमा पुगेको थिएँ,' उनले भने, 'परिवार रहेन भने मान्छे कसका लागि खट्छ? कसका लागि काम गर्नु? भन्ने सोच दिमागमा थियो।' ५० लाखमा उनले राजेश गुरूङलाई बेचे। माथिल्लो तलाको रेस्टुरा बेचे पनि गुरूङले मुनिका चार कोठा नबेच्न उनलाई सल्लाह दिए। 

तिनै बेचबिखनको एउटा दिन उनले सुने- फेवातालमा एउटा केटाको लास तैरिरहेको छ। उनी हेर्न गए । त्यो उही केटो थियो, जसले कुटाइ खाएको देखेर उनले मन थाम्न नसकी छुट्याएका थिए। किनारमा त्यही कुकुर एकतमासले हेरिरहेको थियो। केटोको शव किनारमा निकालेर भीडले 'खाते कसरी मरेछ -' भन्दै थियो।

'मलाइ लाग्यो यो केटालाई बेलैमा मैले सहारा दिन सकेको भए मर्दैनथ्यो होला,' उनले भने, 'त्यसपछि यस्तो के काम हुन्छ जसले यस्तालाई सहारा हुन सक्ला भन्नेतिर दिमाग गयो।' स्पा र पश्मिना बुनाइको काम बहिराले गर्न सक्छन् भन्ने लाग्यो। उनले यस्तो काम गरिरहेका राजधानीका आफ्ना साथीसँग सल्लाह गरे। उनीकहाँ थन्किएका दुईवटा तान झिकाए।

गण्डकी बहिरा संघमा गए। पाँचजनालाई ल्याएर स्पाको कामका लागि तालिममा लगाए। काम थालनी भयो 'हेल्पिङ ह्याण्स्' को नामबाट। उनले नजिकका अरु जिल्लाका अपांग र बहिराका संघसंस्थामा पनि खबर गरे। चितवनबाट सातजना आए। बिस्तारै दृष्टिविहीन थपिए, बहिरा पनि सम्पर्कमा आउन थाले। दोभाषे राखिए। 'जिन्दगीमा यो मोड अचम्म लाग्दो थियो,' उनले भने, 'उनीहरू धेरै इसारामा कुरा गर्थे, जो म बुझ्दिनथेँ। तर, यही शैली मन परेको थियो।' 
०००    

सन् २०११ मा हेल्पिङ हृयान्ड्स स्पा र ह्याण्डी क्राफ्ट सुरु भयो। एकातिर स्पाको व्यापार छ, जहाँ पर्यटकलाई मसाजको सेवा दिइन्छ। यहाँ नौजना बहिरा र एकजना शिक्षकले काम पाएका छन्। अर्कातिर बाराहीचोक नजिकैको ह्याण्डीक्राफ्ट पसलबाट पश्मिना, स्वेटर, सल र यस्तै सामान बेचिन्छ। 

सामान राखेका र्‍याक हेर्दै भित्र पसे धागो र तानहरुमा हातहरू दृष्टिविहीन र बहिराका हातहरू पस्मिना पछ्यौरा, सलदेखि स्वेटर बुन्न निरन्तर खटिएको देख्न सकिन्छ। पर्यटकको आगमनमा पर्ने प्रभावसँगै व्यापारमा उतारचढाव सामान्य छ। तर, दीनेश काममा मोडिएको जीवनको यो बाटोमा व्यस्त छन्। बर्सेनि सेतो छडी खरिद गर्छन् र, जिल्ला-जिल्लामा वितरणका लागि पठाउँछन्।
 
काममा खटिएका फरक क्षमता भएकाहरू पनि खुसी छन्। महिनाको कम्तीमा पनि साढे ९ हजार।  तलबबाहेक हरेक पिसमा ३० देखि १ सय रुपैयाँको इन्सेन्टिभ। खानेबस्ने र स्वास्थ्योपचारको सुविधा। हातेतानले एक दिनमा ५/७ वटा तयार हुन्छ भने विद्युतीय तानले बढीमा २५ वटासम्म बनाउँछ। दिनमा १ सय २५ वटासम्म तयार हुन्छ। एउटा पस्मिना सल ६ सय ५० देखि १२ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ। 

थापाको उत्पादनलाई जर्मनको एउटा संस्थाले युरोपको बजारमा बेच्छ भने बेलायतमा पनि त्यस्तै अर्काे आउटलेट छ। 'जिन्दगी जसरी चलायो त्यसरी चल्ने रहेछ तर, एउटा एउटा मोडले मान्छेलाई कताबाट के गराउन पुर्‍याउँछ भन्ने थाहै नहुने,' उनी भन्छन्, 'बहिरा र दृष्टिविहीनलाई काम दिएर उनीहरूको खुसीबाट म आनन्द लिन्छु। म कुनै समाजसेवी होइन। जिन्दगी यसरी चल्छ भन्ने भयो, यतै बाटो मोडियो।'

Wednesday, January 14, 2015

मकरका पाहुना

लाग्यो ट्वीटरका १४० शब्दभित्र मलाई व्यक्त गर्न इच्छा लागेका कुरा अँटाएनन्। केही लेखम् भयो। केहीबेर अघि म बजारको बाटो भएर घर फिर्दै थिएँ।

मिति हो, २०७१ पुस ३० बुधबार, बेलुकीको ९ः४५ बजे।

विराटनगर बजार क्षेत्रको मेनरोडमा रहेको सत्यनारायण मन्दिर (अतिथि सदन अगाडि) अगाडिको सडकमा धेरै मान्छे बसेका छन्। यो बजार एरियाका जस्ता नलाग्ने अनुहारका। नौला मान्छे। आगो तापेर सडकमा बसेकाहरूसँग कुरा गर्न मन लाग्यो। रोकिएँ।

उनीहरु नेपाली भाषा नजानेकाहरू थिए। मैथिलीमा कुरा गरियो। सुरूमा त ठट्टा नै गरे उनीहरूले। मैले क्यामराब्याग भिरेको थिएँ। गह्रौँ ब्याग। मेरो ब्याग देखेर कोही कम्बल बाँड्न आएको ठाने रे। उनीहरुले सीमावर्ती विहारको जोकीहाट, पलासी, बलवाबाट मकर संक्रान्तिमा विराटनगरमा माग्न आएको मलाई बताए। उनीहरूका अनुसार करिब आधा दर्जन गाउँबाट आएका थिए। एउटाबाट कम्तीमा सयजनाको संख्यामा। 

मकर संक्रान्तिका दिन विशेष छ। विभिन्न ठाउँमा खोलाखोल्सीमा गएर नुहाउने चलन छ। दानपुण्य गर्ने चलन छ। विराटनगरमा दानको चलन विशेष छ। नगरको बजारबासीले गर्ने दानको परम्परा पुरानो हो। परम्परा थामिदिएका छन् पारिबाट मगन्ते बनेर आउने भीडले। उनीहरुका अनुसार त्यो एक बिहान पाएको दानले ३/४ महिनालाई घरमा खान्कीको जोहो पुग्छ। त्यसैले धेरै वर्षदेखि आउने गरेका सुनाए। 

मसँग केही वृद्धाले कुरा गरे। कुराकानीको केहीबेरमा दानको पनि आस गरे। 'भोलि त तिमीहरूले पाइहाल्छौ। को हौ के हौ ? भन्ने जिज्ञासा भएर मात्रै कुरा गरेको' भनेर टारियो। खासमा हातगोडा सग्ला भएकालाई दान दिन हत्तपत्त मेरा हात अघि सर्दैनन्। यहाँ पनि त्यही भयो। पर्समा पैसा थिए, तर दान दिन मन लागेन।

भीडमा धेरै वृद्धवृद्धा र केटाकेटी थिए। ठुलालाई विराटनगर नौलो थिएन, केटाकेटीलाई भने बजार नौलो लागिरहेको भान हुन्थ्यो। उनीहरूले यहाँ आउनुको प्रयोजन बताएपछि मात्रै मेरो दिमागमा मकरका बिहान विराटनगर बजारको दृश्य आयो।
 
त्यो बिहान यो नगरलाई माग्नेको सहर भन्दिए हुन्छ। कारण - यहाँका काली, हनुमान, शनि र सत्यनारायण मन्दिर आसपास माग्नेलाई दान दिइन्छ। ६/७ सय जनाको हाराहारी भीडलाई सडकमै बसालेर खिचडी खुवाइन्छ। नगरको यो परम्परा हेर्दा नौलो र रमाइलो पनि छ। त्यो बिहान जता हेरे नि मगन्ते देखिन्छन्। 

त्यसो त विहारका तीर्थालु बराहक्षेत्र जान्छन्। त्यहाँ यसरी माग्न भने होइन, धर्म गर्न। बालाचतुर्दशीको मेला भर्नेमा उनीहरूको संख्या अत्यधिक हुन्छ। त्यसको अघिल्लो रात रानी भंसार नाकादेखि बसपार्कसम्म रातैभरि गाडी चल्छ। विराटनगरबाट बराहक्षेत्र तीर्थालु ओसार्नको भ्याइनभ्याइ चल्छ।
 
यता मकरको बिहानसम्म पाहुनाले सडकमा रात गुजार्छन्। त्यसका अघिपछि फेरि यो भीड देख्न फेरि माघे संक्रान्ति नै आउनु पर्छ। यो कहिलेदेखिको चलन हो ? यकिन भन्ने कोही छैन। तर, चलेको छ। शायद यो यात्रा लाभकारी छ, त्यसैले उनीहरू चिसोमा रात काट्न तयार छन्। थाहै नपाइ फरक खालको एडभेञ्चर जिन्दगीको प्रथासँग जोडिएको छ। यहाँ जिन्दगी यसरी पनि चलेकै छ। 

Friday, November 28, 2014

गढीमाई, बलिप्रथा र हामी

सप्तरीको कंकालिनीमा दशैंको महानवमीमा राँगो-पाडो बलि दिइन्छ। त्यो मन्दिर मेरा लागि डेढ घण्टाकै मोटरसाइकल यात्राको दूरिमा छ। काटेको, रगतपच्छे र विभत्स तस्बिर पत्रिकामा छापिन्नन्। त्यसैले खिच्न जाने कुरो पनि भएन।

तर, एकपल्ट मन लाग्यो। घरमा दशैं लागेको छ। अफिस बिदा भए पनि संग्रहका लागि 'फोटो खिच्न जाने' सुनेर श्रीमतीजीले साथै जान मन गरिन्। २ वर्षअघि हो। गइयो। खिचियो। चार सय हाराहारी बली हुने थियो। ३०/३५ भएपछि नै त्यहाँ बसिरहन मन भएन। हिँडियो। गएको दशैंमा फेरि त्यहाँ जान मन भयो। यसपटक मैले सुनसरीका फोटोपत्रकार साथीहरू यात्रा थुलुङलाई बोलाएँ। इटहरीबाट हाम्रो यात्रामा बिसप ताम्राकार पनि थपिए। बिसप पनि राम्रो फोटोग्राफीमा कुशल छन्।
 
कंकालिनी मन्दिर कोसी ब्यारेजबाट केही पश्चिममा छ। यहाँ तराईवासी र भारतीयकै भीड लाग्छ। भीड थियो। हामीले गाडी प्रहरी कार्यालय हातामा पार्किङ गरि खिच्न गयौं। पुगेलगत्तै बली सुरू भयो। ४०/४२ वटा पुगेपछि त्यो दिन पनि धेर बसिएन। हामीमध्येका धेरै यस्ता हुने- रगत हेरिरहँदा टाउको दुखेजस्तो लाग्ने। बलीका तरिका। छिनालेपछि लडेकाको टाउको र जीउ तह लाइएको हेरियो। खिचियो। हिँडियो।

*** 
सप्तरीको भारदहभन्दा धेरै बली बाराको गढिमाईमा हुने सुन्दै-पढ्दै आएको हो।  बेलायतमा गढीमाईमा हुने बलीको विरोध भएपछि यसपटक धेरैका ध्यान त्यतातिर छ। अझ भारतको अदालतले गढीमाईमा हुने बलीलाई नै लक्ष्य गरी त्यतातिर पशु बिक्रीका लागि लान नदिनु भनेपछि पनि ध्यान सोझिएको हो। गढीमाई र कंलालिनीमा दिइने बलीको हिसाब फरक छ। तरिका लगभग उस्तै हुन्।

तराईवासीमा भाकल गर्ने चलन। र, त्यो मनोकांक्षा पुरा भएको मानिए बली दिएर भारा तिरेको ठान्ने संस्कार। जाती र समुदाय विशेषका चलनका आफ्ना विविधता छन्। जसरी कसैको मौलिक भाषा, भेष र धर्मलाई सम्मान गरिनुपर्छ भन्ने मान्यता हो, त्यसैगरि गढिमाई आउने जमातका चलन पनि बुझ्न बाँकी छन्। एकोहोरो विरोधले उनीहरूका आस्थामाथि चोट पारिनु हुँदैन।
 
काठमाडौंबाट फोटोपत्रकार भाइ लक्ष्मीप्रसाद ङाखुसीले अस्ति फोनमा भनेका थिए, 'खिच्न पाइन्छ/पाइँदैन थाहा छैन दाइ। तर, खिच्नै भनेर गढिमाईतिर लागियो।' आज त्यहाँ बली सुरू भयो भन्ने खबर सञ्चारमाध्यममा छन् । ङाखुसी जसरी पुगेका साथीहरूले सुरक्षित काम गर्न पाउन् भन्ने लागेको छ। उताका खबर आसलाग्दा पढ्न मिलेको छैन। खबर पढ्दा लाग्दैछ- आफ्नो चलन मान्न पनि लुकी लुकी काम गर्नुपर्ने अवस्था पारिएको छ।

यस्ता मन्दिरमा गरिने राँगा-पाडा बलिप्रथा अलि अनौठो छ। अनौठो यस अर्थमा- बली दिन ल्याउनेले त्यो पशु ढालेपछि लैजाँदैनन्। त्यसको रगत छर्छन्। कुल र भैरव पुज्छन्। ढलेका टाउका र जीउ मन्दिर व्यवस्थापन समितिले लिलाम गर्छन्।  खरिदेको भीड लागेको हुन्छ। कंकालिनीमा महानवमीमा गरिने बली ५ सयवटा हाराहारी पुग्ने रहेछ। गढीमाईमा ४ हजार नाघ्छ भन्छन् खबरी साइटहरू।

बली दिइएका पशु त्यतिकै मन्दिर परिसरमा त नसड्दा हुन्। खरिदे त्यहाँ पनि पुग्ने होलान्। विभिन्न सहर पुग्ने मासू बिक्री हुँदो हो। कतै त्यसै नफालिए गिद्धजस्ता पन्छी र स्यालजस्ता जनावरले पनि आहारा कताबाट पाउँछन् होला।
 

आस्थामा अचम्मको नशा हुन्छ। समाज अझै पनि बिरालो बाटो काट्नुलाई साइत बिग्रने मान्छ। बली हट्न समय त लाग्छ नै। मलाई लाग्छ, समयले कुनै दिन यो हटाउँछ। बल गरेर लगाइने रोकमाथि अरू तत्वले खेल्न पाउँछन्।

डार्बिनको बाँच्नका लागि संघर्षकै सिद्धान्त हेर्दा पनि सबै प्राणी बलियाले निर्धाको सिकार गरेका छन्। प्रकृतिले आश्रित हुन सिकाएको छ। बाघ बचाउनु पर्छ भन्नेमा कसैको पनि दुई मत हुँदैन। तर, उसले घाँस खाँदैन। खाने मासू हो। मासूका लागि कुनै पनि प्राणी मारिनु हिंसा होइन र ? तर, प्रकृतिप्रदत्त पारस्थितिक चक्र यस्तै छ। एउटामाथि अर्को निर्भर छ।
  
धान फलेको खेतमा मुसा लाग्छ। मुसाले धान खान्छ। आफ्नो सन्तान वृद्धि गर्छ। तर, त्यसको संख्या धेरै हुन नदिन प्रकृतिको चक्र छ। मुसालाई बिरालो, सर्प, गरूड, लाटोकोसेरो लगायतले सिकार गर्छन्। जाति र संस्कार विशेष मान्छे पनि मुसाको सिकारमा पछि पर्दैन। यो चलनले मुसाको वंश पुरै निर्मुल हुन्न तर, संख्या अत्यधिक हुन नदिन नियन्त्रणको काम गरेको छ।
 
मान्छे सर्वश्रेष्ठ प्राणी भएकाले अरूलाई कज्याएर राख्छ। पशु पाल्छ। आफ्नो मनलागी गर्छ। उसले पाल्ने वा जंगलकै पनि कुखुरा, बाख्रा, गाई, भैंसीको सिकार कसैले नगर्ने हो भने तिनका संख्या कति हुन्थे होलान् ? मान्छेले ती सबैको संख्या नियन्त्रणकै लागि पनि संस्कृतिमा विधि बनाएको छ। हामीले देखेको अब पुराना केही संस्कार फेरिएको समयमा सटिक नलाग्न सक्छ/हुन्छन्। सुधारको बाटो खोजेको राम्रो। केही संस्कार भलै उनीहरूलाई आरिस लाग्दा होलान् तैपनि हामी दातृले दिसा गरेपछि, खाना खानअघि हात धुन पर्छ भनेर सिकाउने युगमै छौँ।
 
छठका बेला नदि, जनाशय, घाट सफा पारिनु पूजाको लागि पवित्रस्थल चाहिने भएर मात्र होइन। सफा हुनु मान्छेकै जीवनका लागि बढि महत्त्व राख्ने वैज्ञानिकता लुकेको पक्ष हो। मान्छेहरू दिवंगतको आत्माले सुख पाउन, मुक्ति मिलोस् भनेर पिण्ड दिन्छन्। पिण्ड भनिने अन्नको डल्लो खोलानालामा बगाउनु भनेको जलचरलाई आहारा दिनु हो। आहारा पाएर ती जीव बढ्छन्। अन्ततः तिनलाई निल्नेहरूमा प्राणी धेरै छन्। बढ्नै पाएनन् भने मान्छेले पनि उनीहरूबाट पाउने लाभको बाटो गुमाउँछ। प्रकृति र पर्यावरण सन्तुलित राख्न धार्मिक संस्कारमा धेरै विधि यस्ता छन् जसले सुदूर परिणाम विचारेका छन् । बुझ्दा भलै हामी झट्ट त्यहाँसम्म पुग्न सजिलो छैन। 

धार्मिक आस्थामाथि चोट दिइनु हुन्न। अझ परबाट अरू कोही फरक आस्थाकाहरूले अर्कालाई होच्याउने त गर्नै हुन्न। सुधार भित्रैबाट खोजियो भने त्यसले विवाद ल्याउँदैन। म गढीमाईमा हुने बलीको विरोधको पक्षमा छैन। तर, यसलाई एकोहोरो विरोधभन्दा व्यवस्थित बनाउन जोड दिइनुपर्छ भन्छु। 

संस्कृति जाति, समुदाय र स्थान विशेषको विशेषता पनि हो। मान्छेका संस्कारहरू सरेर संसार देशजस्तो हुन थाल्यो भन्दैमा बलले तुरून्तै केही फेरिदैन। फेर्ने हो भने सुधारका लागि योजनाबद्ध अभियान हुनुपर्छ। 

मासू कारखानाभित्र पसेर हेर्दा मलाई गढीमाईको बली दिने तरिकाभन्दा धेरै भिन्न लाग्दैन। फरक यति छ, त्यहाँ रगत बाहिर छताछुल्ल पारिँदैन। मार्ने तरिका त बली दिनेले च्वाट्ट काटेभन्दा क्रुर नै छ। अहिलेलाई बलीमा बरू स्वस्थ पशु, निश्चित संख्या, बाहिर विभत्स नदेखिने व्यवस्थापन जरूरी छ। पुरै छेकबार लगाएर त्यहाँ स्लटर हाउस खोल्न खोज्दा प्रत्युत्पादक हुन्छ।

त्यसै पनि पश्चिमाको बोलीमा लोली मिलाउँदा फाइदा बुझेकाको जमात बढ्दो छ। के विश्व बजारमा बिक्री हुन्छ र, हाम्रो गोजी बलियो हुन्छ भन्ने बुझेकाहरू बग्रेल्ती भएका छन्। हामी उताका कुसंस्कार र क्रुर चलनबारे सोध्न सक्ने भएनौ। आफ्ना घरका भित्ता फोरेर सधैं बहादुरी देखाएकै हौँ/छौँ। चेत फिर्नु पर्छ।
 
गढीमाईमा हुने बलीको विरोधले बिस्तारै संसारको ध्यान तानेको छ। यसलाई व्यवस्थित कसरी पार्ने भन्नेतर्फ अब सोच्ने बेला भएकै हो। नगर क्षेत्रमा बढेका भुस्याहा कुकुर कुनैबेला नगरपालिकाले विष खुवाएर मार्ने गरेको थियो। विरोध भयो। लामो समयपछि बल्ल बन्ध्याकरणको विकल्प कतै कतै अवलम्बन गरिएको देख्न पाइएको छ। विरोध गर्नेहरूले पनि धर्मसंस्कृतिमाथि धावा बोल्नेगरि उठ्नुभन्दा सही विकल्प सुझाउनु पर्छ। नकि पश्चिमाले विरोध गरे, उनीहरूको आवाजमा बल दिउँ भनौँ। अहिलेलाई यति नै।

Sunday, January 26, 2014

सुस्त गतिमा 'शताब्दी सहर’

उद्योगको विकास, परिवर्तन, राजनीतिक आन्दोलनको अगुवाइ गर्ने र ६ जना प्रधानमन्त्री जन्माउने विराटनगर आफ्नै विकासको गतिमा भने कछुवा चालमा छ ।


'हामीलाई गौरव लागेको छ, यस्तो कारखाना सञ्चालनको जिम्मा पाउँदा, जो नेपालकै जेठो कारखाना हो,' गत पुस ६ मा विराटनगर जुट मिलले व्यावसायिक उत्पादन गरेको उद्घाटन कार्यक्रममा बहालवाला कम्पनी विनसम  इन्टरनेसनलका प्रमुख प्रकाश चिरनियाले भनेका थिए, 'हामी कोलकाताका भएकाले पनि गौरव लागेको छ।'

आठ वर्षअघि यो कारखाना पूर्णरूपमा बन्द भएको थियो। मजदुर-कर्मचारी सबैले अवकाश पाएका थिए। सरकारले फेरि यसलाई चलाउन टेन्डर आह्वान गर्‍यो। नौ महिनाअघि बहालका प्रक्रिया सिध्याएर जेठो कारखानालाई पुनः  सञ्चालनमा ल्याएको उक्त प्रतिष्ठानले पूर्ण क्षमतामा सञ्चालन गर्न धेरै चुनौती छन्। यद्यपि इतिहास बोकेको विराटनगर जुट मिल पुनः चल्न थालेको छ।

विसं १९९३ मा स्थापित यो कारखानाको नाम मुलुकको औद्योगिक इतिहास खोतल्दा अग्रणीमा पर्नेमात्र होइन, विराटनगरकै इतिहाससमेत स्मृतिमा आउँछ। २००३ सालमा भएको मजदुर आन्दोलनपछि मजदुरले कारखाना छाडेर जहाँ  हडताल/सभा गरे, त्यो ठाउँ 'हडतालीहाट'का नामले चिनिन्छ। राणाशासनविरुद्धको आन्दोलनको जग विराटनगरबाटै बसेको थियो। उद्योगको विकास, परिवर्तन र विभिन्न कालखण्डका राजनीतिक आन्दोलनको अगुवाइ गर्ने नेता  जन्माउने यो सहर आफ्नै विकासको गतिमा भने कछुवा चालमा छ।

२०६४ सालको मधेस आन्दोलनपछि बसोबासका दृष्टिले सुरक्षित र सुगम मानेर सप्तरी, सिरहा, उदयपुर र धनुषाका वासिन्दाको मोह बढाएको नगर अहिले समग्र विकासका गुरुयोजना अभाव भोग्दैछ। चार दशक अघिसम्म गुलजार कारखानाहरू बन्द भएका छन्। बन्द गर्न नसकेर सञ्चालनमा ल्याइएका पनि समस्याग्रस्त छन्।

पूर्वप्रधानमन्त्रीहरू बिपी कोइराला, मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको राजनीति प्रारम्भको थलो विराटनगर नै थियो। परिवारको अंशबन्डापछि बनेका नयाँ  भवनबीच पिताजी कृष्णप्रसाद कोइरालाको निवास मूल सडकबाट लगभग सोझै नदेखिने अवस्थामा पुगेको छ। यही घरले मुलुकलाई तीनवटा प्रधानमन्त्री दिएको थियो। कांग्रेसको 'तीर्थ' मानिने कोइराला निवासमा अब पहिलेजस्तो  भीडभाड हुँदैन । समाजसेवी ८२ वर्षीय तोरेन्द्रमानसिंह प्रधान भन्छन्, 'यो नगरलाई व्यवस्थित गर्ने, पुराना धरोहर संरक्षित गर्ने कुनै योजना नभएर पछि पर्‍यो। सबै थोक काठमाडौं केन्द्रित भएकाले यस्तो भएको हो।'

विसं १९७१ मा रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सारिएको थियो। यो नगरले शताब्दी वर्ष मनाउने तयारी गरिरहँदा समग्र विकासका कुरा नयाँ-पुराना पुस्ता राजनीतिक नेतृत्वकै उदासीनतामाथि दोष थोपर्छन्। बिपी  चिन्तन प्रतिष्ठान, मोरङका अध्यक्ष पिताम्बर दाहाल भन्छन्, 'अरु पार्टीका कुरा गर्दिन, तर कांग्रेसको नेतृत्वले विराटनगरका विषयमा सोचेन। सायद ज्यामी अर्काको घर बनाइरहेका हुन्छन्, आफ्नो भने लड्नै आँटेको हुन्छ भन्ने तथ्य  लागू भएको हो।'

जनआन्दोलन-२ पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीसँगै राष्ट्रप्रमुखको जिम्मेवारीमा पनि थिए। त्यसबेला खानेपानी संस्थान, विराटनगरका इञ्जिनियर चण्डेश्वर साहसहित केही जागरुकले नगरको दीर्घकालीन विकासका लागि  एउटा गुरुयोजना तयार पारेका थिए। ५० वर्षपछि नगर कस्तो हुन्छ ? पानी कसरी सबैलाई पुर्‍याउने, विमानस्थलको विस्तार कसरी सम्भव छ र खेलकुदका लागि लिइएको १५ बिघा जमिनमा कस्तो पूर्वाधार कसरी विकास गर्ने भन्ने  योजना त्यसमा समेटिएको थियो। दुई साताभन्दा बढी लगाएर तयार पारिएको गुरुयोजना पुरा गर्न एक दशक लाग्ने र यसका लागि नेपाल एक्लैको लगानीले सम्भव नहुने भन्दै वैदेशिक सहयोग लिनुपर्छ भन्ने सुझाव समेटिएको थियो।

'गिरिजाबाबुको भारत भ्रमणअघि मैले त्यो गुरुयोजना बुझाउने वातावरण बनाएँ,' दाहाल भन्छन्, 'साहसँग हात मिलाएर परिश्रमका लागि उहाँले धन्यवाद दिनुभयो। तर दिन बिते, वर्ष बिते त्यो गुरुयोजना कहाँ पुग्यो थाहा नै छैन।' उनका अनुसार विराटनगरको जगमा उभिएर मुलुकको राजनीति हाँक्ने ठाउँमा पुगेकाहरूले फर्केर हेरेनन्। भन्छन्, 'विराटनगर यही भएर सबै योजनामा  ठगिएको हो।'

गिरिजाप्रसादका सहपाठी तथा प्रजातन्त्र सेनानी ८७ वर्षीय भीमराज नौलखाको बुझाइ पनि यस्तै छ। भन्छन्, 'सत्ताको नेतृत्वमा पुग्ने मान्छे विराटनगरले नदिएको होइन, तर यो नगरलाई बनाउँ भन्नेमा उनीहरूले नै चासो लिएनन् ।' नगरसँग अहिले सडक सञ्जाल विस्तार, ढल निकास, फोहर प्रशोधन र बस्ती विकासमा योजना छन्। तर ती कागजमै मात्र सीमित छन्।

यसरी बन्यो विराटनगर
इतिहास र यात्राका पुस्तकमा विसं १९७१ मा तत्कालीन बडाहाकिम जितबहादुर खत्रीले नगरको जग बसाएको उल्लेख छन्। रंगेलीबाट सदरमुकाम सारिन अघि विराटनगरको नाम 'गोग्राहा' थियो। रंगेलीबाट गोश्वारा, मालपोत,  अमिन, वनजाँच, हुलाक, जेल र अस्पताल यहाँ सारिए। विराटनगरको विगतबारे बेलाबखत लेख्दै आएका समालोचक दधिराज सुवेदीका अनुसार, १९७६ सालमा सिकार खेल्न आएका केशरशमशेर राणाले 'विराटनगर' नामकरण गरेका  हुन्।

विराटनगरबाट ५ किलोमिटर दक्षिण बुधनगरको भेडियारीमा विराट राजाको दरबारको भग्नावशेष छ। पुष्टिका आधार कमजोर भए पनि भग्नावशेष भनिएको क्षेत्रमा प्राप्त माटाका सामग्री संकलन गरेर जतन गर्दै आएका  कमलकिशोर यादव भन्छन्, 'यही विराट दरबार छ भनेर मान्छेहरूले थाहा पाएपछि गोग्राहाको नाम विराटनगर भएको हो।' महाभारत कालमा पाण्डवहरूले आश्रय लिएको विश्वास गरिने उक्त क्षेत्रमा अझै केही पुराना पोखरी छन्।  भग्नावशेष क्षेत्र भनिएको स्थानलाई घेराबेरा लगाइएको छ।

रंगेलीबाट कार्यालयहरू सारिए पनि तराईमा औलो लाग्छ भनेर पहाडबाट बसाइ आउने चलन निकै कम थियो। विराटनगर जुट मिल स्थापनासँगै कारखाना आसपास मजदुर-कर्मचारीका लागि सुविधायुक्त आवासगृह बनाइए।  विराटनगर-१९ का आइतबहादुर तामाङ भन्छन्, 'यसका दुई कारण थिए। पहिलो, दक्ष कामदार भारतबाटै ल्याउनुपर्थ्यो। तिनीहरूलाई टिकाइराख्न क्वार्टर चाहियो। दोस्रो, नेपाली कामदार काममा लागिहाले भने पनि नभागुन् भनेर  सुविधा दिनलाई।'

जोगवनीसम्म आउने रेलको ट्रयाक जुट मिलभित्रै आउन सक्ने बनाइएको थियो। चाहिने कोइला ल्याउने, तयारी जुटका उत्पादन भारत निर्यात गर्न कारखाना परिसरबाटै व्यवस्था मिलाइएको थियो। प्राध्यापनमा लामो समय बिताएका  विश्वराज पाण्डेका अनुसार, त्यसबेला विराटनगरका दुई भाग थिए - बजार क्षेत्र र मिल्स एरिया। बजार क्षेत्रमा भन्दा मिल्स एरियामा कारखाना थिए। चहलपहल थियो। भारत आउजाउ गर्न, किनमेल गर्न सजिलो थियो। बजार क्षेत्रमा कोइराला परिवारकै पहलमा भारतीय मारवाडी व्यापारीहरू बोलाएर व्यापारिक वातावरण बनाउने काम भयो। विस्तारै धान र जुटका खरिद-बिक्रीका गोला खोलिए। विराटनगरको कुनै समय फस्टाएको व्यापार धानको किनबेच  थियो।

विराटनगरबासी भाषाशास्त्री बालकृष्ण पोखरेलका अनुसार, औलो नियन्त्रण हुनथालेपछि २०१९ सालदेखि यहाँ बसाइ आउने बाक्लिए। २००५ सालमा खुलेको मोरङ सुगर मिल्स जाडो याममा ६ महिना चल्थ्यो। पहाडको चिसो छल्दै  जागिर पनि खान पाइने भएपछि भोजपुर, ओखलढुंगा, खोटाङ लगायत पहाडी जिल्लाबाट काम गर्नेहरू झर्न थाले।

यहाँको आदर्श विद्यालय मुलुकमै दोस्रो पुरानो शिक्षालय हो। कृष्णप्रसाद कोइरालाको सक्रियतामा १९९६ सालमा यो स्कुल खुलेको हो। विराटनगरलाई चाहिने विद्युत आपूर्तिका लागि लेटाङ नजिक चिसाङ खोलामा मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनीको उत्पादनगृह र मिल्स एरियामा वितरण केन्द्र स्थापना गरिएको थियो।
 
चिसाङको उत्पादनगृह २०२३ सालमा बाढीले पुरेपछि काम नलाग्ने भयो। धेरै विद्युत खपत हुने भएकाले विराटनगर जुट मिलले भने आफ्नै जेनेरेटर राखेको थियो। २००९ सालमा त्रिभुवन स्मारक अस्पताल (हालको कोशी  अञ्चल अस्पताल) र रत्नराज्यलक्ष्मी मातृसेवा सदन निर्माण भयो। जेठो कारखाना जुट मिलसँग पुराना वामपन्थी र कांग्रेस नेताका अतीत जोडिएका छन्।

२००४ सालमा मजदुर आन्दोलन भयो। मातृकाप्रसाद, गिरिजाप्रसाद र मनमोहन अधिकारीको आन्दोलनका सुरुवाती दिन जुट मिलबाटै अघि बढेको थियो। जुट मिल सुचारु भएपछि उक्त क्षेत्रमा जुद्ध म्याच फ्याक्ट्री, गणपति कटन  मिल, रघुपति जुट मिल लगायत कारखाना थपिए। विराटनगर जुट मिलले पहिलोपटक मुलुककै आद्योगिक उत्पादनको निकासी व्यापार सुरु गरेको थियो।

२००७ सालमा क्रान्तिताका मिल्स एरियाबाटै तारिणीप्रसाद कोइरालाले रेडियो पनि चलाए। त्यो रेडियो नेपालको सूत्रपात गर्ने एउटा आयाम बनेको थियो। विसं २०१९/२० नगरका लागि स्तरोन्नतिको समय थियो। यी कालखण्डमा  शिक्षालय खुले, राजनीतिक चेतनाको स्तर बढ्यो र उद्योग खुल्ने क्रमले पनि तीव्रता पायो। पहाडबाट बसाइँ आउने र पढ्नका लागि दूरदराज क्षेत्रबाट सन्तानलाई यहाँ राख्ने अभिभावक बढे। 

मातृकाप्रसाद कोइरालाले पनि मारवाडी  व्यापारीका लागि विराटनगर बसाइ र व्यापारको वातावरण सहज बनाउन भूमिका खेलेका थिए। मोरङ व्यापार संघको स्मारिकामा प्रकाशित उनको लेखअनुसार मारवाडी व्यापारी भित्रिएपछि विराटनगरको उद्योग व्यापारले गति लिएको हो।

मातृकाप्रसाद प्रधानमन्त्री हुँदा नै पहिलो सिनेमा घर हिमालय टाकिज खुलेको थियो। पछि रानी क्षेत्रमा अरुण सिनेमा र बजार क्षेत्रमा जलजला हल थपियो। २००७ फागुन ७ मा नगरका व्यापारीले मोरङ मर्चेन्ट एसोसिएसन (मोरङ  व्यापार संघ) दर्ता गराए । 

संघका अध्यक्ष अविनाश बोहरा भन्छन्, 'हाम्रो संगठन देशकै पहिलो उद्योग वाणिज्य संघ हो।' संघले स्थापनायता नगरमा विभिन्न सामाजिक काममा व्यापारीको योगदानका लागि ठाउँ फराकिलो पार्दै आयो। बिपी कोइराला प्रधानमन्त्री भएपछि रामलाल गोल्छाले रानी क्षेत्रमा हुलास स्टिल कारखाना खोले। उनको पहिलो कारखाना भएकाले यो उद्योग अहिले पनि नामकै लागि सञ्चालनमा छ।

कसरी पछि पर्‍यो ?
गतवर्ष ६० करोडको एउटा परियोजनाका लागि उपमहानगरपालिकाले जग्गा खरिद गरे पनि त्यसलाई टिकाउन सकेन। इटहरी, धरानलगायत पूर्वका विभिन्न नगरका फोहोर संकलन गरी तह लगाउने ल्यान्डफिल र प्रशोधन केन्द्रको  परियोजना फिर्ता जानुको मूलकारण सामाजिकभन्दा पनि राजनीतिक बढी थियो। 

डंग्राहा गाविसका लागि छनोट गरिएको स्थानमा विरोध भयो। उपमहानगरपालिका राख्नैपर्ने र त्यसबाट स्थानीयलाई असर नपर्ने बलियो कारण पेस  गर्नुको साटो मौन बसिदियो। दातृ निकायको सहयोगमा छनोटमा परेको परियोजनाले विरोध झेल्न सकेन। फिर्ता गयो।

नगरका योजना असफल हुनु यो पहिलो थिएन। राणा र पञ्चायतका शासक हुन्जेल नगर क्रान्तिकारीको उद्गमस्थल थियो, जसका लागि उनीहरू न कुनै ठूला योजना दिन्थे, न त नेताहरूले नै आफ्नो नगरको हितमा लडाइ गरे।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा भन्छन्, 'पहिले शासकहरूले शंकाको दृष्टिले हेरे, पछि यहाँका नेताहरू सत्ताका जिम्मेवार भएपछि पनि विराटनगरका विषयमा सोचिदिएनन्।' उनका अनुसार २०४६ को आन्दोलन अघिका केही वर्षदेखि नै विराटनगरको रौनक घट्दै आएको हो। निर्यात व्यापार र नेपाली बजारका लागि चाहिने उत्पादन गर्ने कारखाना र उद्योगी भएको विराटनगर विस्तारै शिथिल हुँदै आयो। यहाँबाट उद्योग व्यापार थाल्ने  ठूला घराना दुगड र गोल्छाले काठमाडौंमा व्यापार विस्तार गर्दै लगे।

उद्योगी मोती दुगडका अनुसार, पछिल्लो समय उद्योग व्यापारका लागि प्रतिकूल बनेको वातावरणले पनि नगरलाई फस्टाउन नदिएको हो। दुगड समूहका प्रबन्धक तथा कवि लक्ष्मण नेवटिया भन्छन्, 'सबैले बेवास्ता गरेको परिणाम हो । पहिले राजनीतिक पूर्वाग्रहले काम गर्‍यो, पछि नेताहरूमा भिजन नभएको हो।' 

मोरङ व्यापार संघका अध्यक्ष बोहराका अनुसार, पूर्वाधारका लागि पछि परे पनि आसै मार्नुपर्ने केही छैन। भन्छन्, 'अरुण-३ हाम्रो आस हो। विद्युत  भयो, किमाथांका-जोगवनी सडक सुचारु हुने हो भने फेरि दिन फर्कन्छ।'

नगरको आर्थिक सामर्थ्य वृद्धि गर्न सम्बद्ध निकाय र जिम्मेवार नेताहरू उदासीन भइदिँदा विकासे योजना अलपत्र छन्। २०५८ सालमै बनाउने घोषणा भएको नगरको ४२ किमि चक्रपथको कामले अझै गति लिएको छैन। यसका ३९  किमि बाटो खुला गरियो। बर्सेनि सानो अंशमा बजेट विनियोजन हुने दोषसम्बद्ध निकायलाई देखाएर कर्मचारी चुप लागेर बसेका छन्। नयाँ बसपार्क बनाउने प्रस्ताव दुई वर्षदेखि अलपत्र छ। त्यसका लागि जर्मन विकास बैंकले दिने  १८ करोड अनुदानको प्रस्ताव गरेको थियो। अनुदानको ७५ प्रतिशत रकम बसपार्कसँगै बन्ने व्यावसायिक भवनमा पनि लगानी गर्ने उपमहानगरपालिकाको सोचका कारण बैंकले प्रस्ताव सच्याउन भन्यो। कार्यकारी अधिकृत फेरिए।  परियोजना अघि बढ्न सकेन।

भारतीय लगानीमा मुलुकका चार नाकामा प्रस्तावित संयुक्त भन्सार जाँच चौकी निर्माण विराटनगरको भागमा पनि परेको छ। अहिले सीमावर्ती जोगवनीमा त्यसका लागि पूर्वाधार निर्माण करिब अन्तिम चरणमा पुगिसकेको छ। तर  नेपालतर्फ जग्गा अधिग्रहण भइसके पनि गति लिनसकेको छैन। संयुक्त जाँच चौकी निर्माणपछि विराटनगरसँग जोडिएको कटहरी गाविससम्म मालबाहक रेल ल्याउने योजना छ। रेलवे मार्गको निर्माणका लागि काम भइरहेको छ। तर  जाँचचौकी निर्माणको काम अझै थालिएको छैन।

वर्षाको पानीले निकास नपाएर विराटनगर बेला-बेला जलमग्न हुन्छ। ढल व्यवस्थापन गर्न एसियाली विकास बैंक, नेपाल सरकार र उपमहानगरको २ अर्ब ४० करोडको योजनामा ठेकेदार छनोटको काम गत महिना सकिएको छ।

प्रशस्त सम्भावना
कुनै समय कोशी पहाडमा बन्ने अरुण-३ जलविद्युतको आस गरेर नगरमा होटल व्यवसाय थालेकाहरूमा अहिले फेरि आस जागेको छ। जेठो उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ। बथनाहा-कटहरी १८ किमि रेलमार्ग निर्माणको धमाधम छ। आँखा उपचारका लागि चारवटा अस्पताल सञ्चालनमा आएका छन्। यिनमा दुई अस्पताल अत्याधुनिक प्रविधिसहितको भएकाले उपचार गराउन भारत, भुटान र बंगलादेशबाट समेत बिरामी आउन  थालेका छन्।

निजी क्षेत्रको विराट अस्पताल, न्युरो अस्पताल र सहकारी अस्पतालले लगानी र प्रविधि विस्तार गरेका छन्। गत महिनादेखि न्युरोमा २० करोडको लागतमा मुटुरोग उपचार सेवा थपेका डा. वीरेन्द्रकुमार विष्ट भन्छन्, 'हामीले  अत्याधुनिक क्याथल्याव प्रविधि भित्र्यायौं। उपचारको लागि अब अन्त जानु पर्दैन।' उनकै शब्दमा अब विराटनगर स्वास्थ्य उपचारको सेवाका लागि राजधानीभन्दा कम छैन। कञ्चनबारीमा खुलेको नोबेल मेडिकल कलेजले अध्यापनसँगै उपचारको सेवाको क्षेत्र पनि  फराकिलो पारेको छ।

पत्रकार मोहन भण्डारीका भनाइमा, 'सम्भावना कहिल्यै टर्दैन। योजना कार्यान्वयन गर्नेहरू गम्भीर हुन जरुरी छ।' अरूण-३ आयोजना निर्माणपछि पूर्वको विद्युत संकट कम हुने सम्भावना उनले देखेका छन्। तिब्बतसँग जोडिने  किमाथांका नाकासम्म सडक सञ्जाल विस्तार भए विराटनगर भएर भारत र चीनबीच सम्पर्क हुने देखिन्छ। विराटनगरबाट कोलकाता, बंगलादेश र भुटान पनि धेरै दुरीमा पर्दैनन्। तेस्रो मुलुकबाट कोलकातामा सामान आइपुग्छ।  त्यहाँबाट विराटनगर ल्याउँदा सडकमार्ग ५५२ किलोमिटर पर्छ। यो वीरगन्जभन्दा २२५ किमिले नजिक हो।

नगरको टोल संगठनका अगुवा केदार कार्कीका अनुसार, पूर्वाधार विकासमा ध्यान दिने हो भनेमात्रै पनि विराटनगर उद्योग, व्यापार र बसोबासका लागि उत्तम थलो बन्छ। भन्छन्, 'यहाँबाट पूर्वको जहाँ गए पनि एयरपोर्ट छ, सडक  सञ्जाल छ। अनि भारतको जहाँ पुग्न पनि जोगवनी नजिक छ।' 

भारतीय रेलवेले सेवा विस्तार गरी ब्रोडगेज लाइन बनाएर साताका दुई दिन कोलकाता र दिल्ली जोगवनीबाट सोझै यात्रा गर्न सकिने बनाएपछि यात्रा सहज भएको  छ। उनी भन्छन्, 'यसको फाइदा नेपालीकै लागि हो। यात्रु ओसार्नेमात्रै होइन, उद्योगका कच्चा पदार्थ पनि रेलमा ल्याउने वातावरण मिलाउन सरकारले पहल गरे वीरगन्जका तुलनामा यहाँका उद्यमीलाई सहुलियत हुन्छ।'

गतवर्ष विराटनगरको समग्र विकासका लागि चिन्तितहरूले २०६७ वैशाखमा एउटा बृहत् छलफल चलाए। त्यसमा विकासका सम्भावनाको खोजीका लागि १३ बुँदे घोषणापत्र पनि जारी गरियो। एकीकृत भन्सार चौकी, चक्रपथ निर्माण, विमानस्थल स्तरोन्नति, विद्युत आपूर्तिमा सुधार र पर्यटन गुरुयोजना त्यसका प्रमुख बुँदा थिए। विशेष आर्थिक क्षेत्र घोषणा हुन नसक्दा विराटनगर पछि परेको ठहर गरेको छलफलले घोषणापत्र जारी गरेर सम्भावनाका ढोका  फराकिलो रहेको देखाएको थियो।

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रदीपकुमार निरौला भन्छन्, 'सम्भावना टरेको छैन। भर्खर हामीले २ अर्ब ४० करोडको सडक, ढल र नगर विकासको एकीकृत योजना अघि बढाएका छौं। कार्यान्वयन सुरु भए लगत्तैदेखि विराटनगरको रूप फेरिन्छ।' विराटनगर-धरान प्रस्तावित ६ लेन सडकका लागि राजमार्ग आसपासका घरटहरा हटाउने काम सुरु भएको छ। अर्थात् राजनीतिमा दख्खल राखेर अघि बढ्ने नेताहरू अब विराटनगरबाट फेरि  निस्कन समय लाग्ने देखिए पनि नगरको विकासका सम्भावना जीवित रहेको देख्ने धेरै छन्।
तथ्यांकमा विराटनगर

क्षेत्रफल : ५८ वर्ग किलोमिटर
जनसंख्या : २ लाख ४ हजार ९ सय ४९
अस्पताल/नर्सिङ होम : २४
बैंक/वित्तीय संस्था : ५२
कलेज : १८
उच्च मावि : ५६
सामुदायिक विद्यालय : २२
निजी विद्यालय : ९९
मदरसा : १९

***
कान्तिपुर दैनिकमा  २०७०/१०/४ मा प्रकाशित

Sunday, June 2, 2013

कहाँबाट आउँछ पीडा ?

अघिल्लो साता विराटनगरमा भएको एउटा साहित्यिक कार्यक्रममा मैले कविहरूको जमातलाई सोधेको थिएँ- जो मान्छे सग्लो छ, हातगोडा गरिखान सक्ने छन्,आम्दानीको स्तर र परिवार राम्रो छ, परिवारका सबैले सुख दिएका छन्, त्यस्ता मान्छेले पीडाबोध कसरी गर्न सकेको हो ? लेख्न कसरी कहाँबाट त्यो पीडा ल्याउने हुन् ?

कवि मनु मञ्जिलले कलात्मक उत्तर फर्काएका थिए। भनेका थिए - 'भीमजी आफैं लेख्नुहुन्छ। कविता बुझ्नु हुन्छ। के भनिरहनु ! कवि अथवा लेखक संवेदनशील हुन्छन्। अर्काको पीडा महसुस गर्न सक्छन्। लेखाइमा तिनै कुरा सिर्जनशील भएर पोखिन्छ।' 

मलाई यस्ता कुराले कहिलेकाही अचम्म लाग्छ। इम्तियाज अलीको फिल्म 'रकस्टार' मा नायकलाई कलेजको क्यान्टिनवाला पात्रले भनेको संवाद सम्झन्छु - 'कलाकार बन्न र चर्चित हुनका लागि पीडा चाहिन्छ, छ तँसँग कुनै पीडा ?'
 
पोहोर यो बेला म मस्तिष्क पक्षघात पीडित घरहरूले खेपेको पीडालाई कथाको आकार दिन दुई साता हिडेको थिएँ। त्यो यात्राले मलाई यस्ता घरहरूमा पुर्‍याएको थियो, जहाँ पीडाका विकराल रुपसँग दैनिकी जुधिरहेका थिए। मस्तिष्क पक्षघातका विभिन्न अवस्था हुँदा रहेछन्। यसबाट पीडित सन्तान भए आमाबाबुको दैनिकी निकै कष्टकर हुने रहेछ। 

मस्तिष्कको आदेश शरीरका अंगहरूले नमान्ने अवस्था रहेछ यो। पाँचवटा चरण देखिए। थोरै र धेरै समस्या भएका बालबालिका भएका घरमा पुगियो। कतिपय घरमा आमाबुवाको अवसानपछि ती सन्तानको अवस्था के हुने भन्नेमा ठूलो चिन्ता थियो। पक्षघातका विभिन्न अवस्थामा फिजियोथेरापीले काम गर्दो रहेछ। पूर्णतया निको नहुने भए पनि जीवन चलाउन थोरै सकस काम पार्नेगरी। कतिपयलाई फिजियोथेरापीले लाभ नहुने पनि अवस्था हुने रहेछ,  मोरङको पुरा तथ्यांक पत्तो लागेन त्यसबेला। तर, यति थाहा भयो विराटनगरभित्रमात्रै मस्तिष्क पक्षघात भएका सन्तान लिएर बाँचेका घर ६५ वटा रहेछन्।
 
सन्तानको शारीरिक विकारहरू अभिभावकको चाहना होइन। यो दुर्घटना हो। कतिपय अवस्था आमाले गर्भवतीहुँदा नै ध्यान पुर्‍याउनुपर्ने रहेछ। ध्यान पुर्‍याउने जिम्मा आमाको मात्रै नभएर बाबु र परिवारका सबै सदस्यको हो। यति हुँदाहुँदै पनि सन्तानमा शारीरिक विकार बेलाबखत देखा परेकै हुने रहेछ। 

मायाका डल्लाहरूलाई बाउआमाको ज्यान छउञ्जेलमात्रै हेरचाह हुने। त्यसपछि के हुन्छ ? कसैले खोजी गरेको देख्तिन। त्यो बेला दुई सातामा म करिब डेढ दर्जन घरहरूमा पुगें। केहीका तस्बिर खिचें। धेरैसँग कुरा गरें। आफू सग्लो हुनुको महत्त्व ती घरहरुमा पुगेर अनुभव भयो।
 
त्यो यात्राले मलाई संसारका उत्कृष्ट र सुखी मान्छेहरुमध्ये हामी धेरै पर्ने रहेछौं भन्ने बोध गराएको छ। जसका आँखाले देख्छन्, कानले सुन्छन्,  जिब्रोले स्वाद महसुस गर्छ,  त्वचाले तातो-चिसो अनुभव गर्छ, खाना पचेको छ, बोल्न सकिन्छ, हातगोडा काम गर्छन्, मन मस्तिष्कले भनेका कुरा हातगोडाले मान्छन्। यदि यस्तो हो भने त्यो जस्तो भाग्यमानी अरु हुन सक्दैन।
 
मान्छेका आ-आफ्ना लक्ष्य हुन्छन्। असन्तोकी प्राणी जहिल्यै चलायमान रहने गुण बोकेको छ। यस्ताले जीवन पुरा अवधि बाँच्नु पर्छ। कसैले आत्महत्या गरेको खबर सुन्दा म यी कुरा सम्झन्छु । परिस्थिति सधैं एकनासको रहँदैन। चुनौती सबैका जीवनमा हुन्छन्। तिनलाई हेरौं जो आफू बाँच्नका लागि हरपल अरुको सहाराको भरमा हुन्छन्।

शारीरिक अप्ठ्याराका बाबजुद जो केही गरेर बाँचेका छन्, मलाई उनीहरु मन पर्छन्। उनीहरूका दिनचर्या उनीहरू जस्तैका लागि प्रेरक हुन्छन् भन्ने लागेर त्यस्तालाई भेट्न र उनीहरूका कुरा लेख्न मन पर्छ। त्यस्ता मान्छेहरू कविताका पीडा होइनन्। कथाका पात्र होइनन्। लेखकले सम्झेर भरेका बुट्टाभन्दा पृथक लाग्छन् त्यस्ता चरित्र।  तैपनि कवि त लेख्न छाड्दैनन्। लेखकहरू काल्पनिक पात्र उभ्याएर ठेलीका ठेली आख्यान तयार पार्न सक्छन्। 

संवेदनशील हुनु लेख्नेहरुका लागि एउटा गुण हो। दुर्घटनाजन्य परिस्थितिको सिकार भएर/भोगेर लेखिएका आख्यानहरू बाहेक  सुखपूर्वक जीवन बिताएकाहरू पनि पीडाका कुरा लेख्न सक्छन्। बयान गरिरहेकै छन्। हाम्रा वरपर यस्ता पात्र र परिस्थिति छरपस्ट छन्।

तर जसरी हात वा खुट्टा काटिएर वा दुर्घनामा परेर ल्याइएका बिरामी देखेर डाक्टर र नर्सले नर्भस हुन पाइँदैन, लेखन्तेहरूका लागि पनि त्यस्तै हो। उनीहरुको अवस्था देखेर भावुक हुनुको साटो हामीले कसरी लेख्ने र के लेख्ने भन्नेमा बढी ध्यान पुर्‍याउनुपर्ने रहेछ जस्तो लाग्छ।
 
त्यो यात्रा सम्झदै अर्को एउटा प्रसंग आज शेयर गर्न मन लागेको छ। गत बैशाख १२ अर्थात  २५ अप्रील २०१३ । 
यो दिन विराटनगरबाट करिब २५ किलोमिटर पूर्व टकुवा गाविसको यात्रामा निस्केको थिएँ। मलाई एकजना अपांग भेट्नु थियो। विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकको भित्री पानामा एउटा श्यामश्वेत तस्बिर दुई दिनअघि हेरेको थिएँ - टकुवामा एकजना पोलियोपीडित साइकल मिस्त्रीको काम गरिरहेका। 

राजन पौडेलले खिचेको तस्बिर। मैले राजनजीलाई भेटेर यी मान्छे भेटिने ठाउँका बारेमा जानकारी लिएँ। अनि यात्रामा निस्किएँ। रंगेली नाघेर अघि बढ्दा बढ्दै बाटैको बायाँ मैले मानिकचन्दलाई उनको झुप्रोभित्र काम गरिरहेको भेटें। 

कम्मर मुनिको भाग सुकेको मान्छे औजार लिएर साइकल मर्मत गरिरहेको थियो। उकहाँ आउनेहरूमा मैले विश्मयको भाव देखिन। कारण- मानिकको अवस्था र क्षमताबाट उनीहरू परिचित थिए।
 
यस्ता धेरै घरमा पुग्दा वा मान्छे भेट्दा जस्ता कुरा मानिकमा थिएनन्। यस्तै अरुकहाँ पुग्दा उनीहरु पत्रिकामा छापिएर आए सहयोगीले दान देलान्। सरकारले सहयोग गर्ला/गरोस्। त्यसलाई बल पुग्नेगरी प्रकाशित गरिदिन आग्रह गर्छन्। धेरै अपेक्षा राख्छन्। उनीहरूभन्दा फरक भेटिए यी मिस्त्री। विराटनगर फिरेर मैले उनका बारेमा लेखें। जो यस्तो थियो -

पोलियो बिर्सँदै पौरख

टकुवा (मोरङ)- विराटनगर-रंगेली मार्गमा पर्ने टकुवा-१ को सडकमा सानो फुसको झुप्रोभित्र एउटा मिस्त्री साइकल मर्मतमा तल्लीन भेटिन्छ। कम्मर मुनिका भाग पोलियोले सुकेका मानिकचन्द ऋषिदेव हुन् यी।
 
३१ वर्षीय मानिकलाई पोलियोले आठ वर्षको छँदा भेटेको हो। भन्छन्, 'तीन वर्ष भयो साइकल रिपेयर गर्ने पसल खोलेर बसेको। काम गरिखान सक्ने भएको छु। यसैमा गर्व लाग्छ।' ह्वील चियरमा घरबाट आएर पसलमा बस्ने गरेका मानिकले काम गरेर परिवारको गुजारा चलाएका छन्। 

'म जस्तै मान्छेहरु भिख माग्ने भएर हिडेको देख्ता दुःख लाग्छ,' उनले भने,  'सीप सिके पेसा गरेर खान सकिने रहेछ।' एक दिन गाउँकै पोखरीमा पौडी खेलेर फर्केपछि उनलाई सञ्चो भएन। बिस्तारै घुँडा सुक्दै आयो। 'डाक्टरले यसलाई पोलियो भयो, ठीक हुँदैन भने,' उनले सुनाए, 'त्यसपछि म आफ्नो खुट्टामा उभिन सक्ने भइनँ। मेरो जिन्दगी नै अपांग भयो।' 

दुई भाइमा उनी कान्छा हुन्। दाजु चार महिनाअघि कामको खोजीमा पञ्जाव गएका छन्। 
छिमेकी शिशुपाल राजवंशी साइकल मर्मतको काम गर्थे। उनीकहाँ आउदा-जाँदा मानिकले थोरै सीप सिके। त्यसपछि ५ किलोमिटर पश्चिम रंगेलीमा गइ अर्काकोमा चार वर्ष काम गरे। विवाह भयो। उनकी पत्नीको पनि एउटा हातको समस्या छ। सन्तान पनि भयो। त्यसपछि उनी आफैंले गाउँमै व्यवसाय थाले। 

'मैले चढेको अहिलेको तेस्रो ह्वील चियर हो। परिवार पाल्न सक्नुभन्दा ठूलो काम अरु देख्तिन,' उनले भने, 'खुशी त यो लाग्छ कि म मोटरसाइकलको पनि पंचर टाल्न सक्छु।'
  
उनलाई बाल्यकालदेखि देखेका गाउँले सदानन्द मण्डल भन्छन् 'मानिकको आत्मविश्वास अचम्मको छ। यसले गरेर खाएको देख्छु। बजार हिँड्दा यस्तै मान्छे मागेर हिडेको देख्छु। अचम्म लाग्छ।' शारीरिक दुर्बलताभन्दा आत्मविश्वास ठूलो कुरा भएको उनले बताए।

मानिकका चार वर्ष र नौ महिनाका छोराछोरी छन्। पत्नीको हातमा खोट भएकैले जोडी लाग्न सम्भव भएको मानिकले बताए। उनले भने, 'मेरो कर्ममा पनि परिवार  लेखेको रहेछ। नभए घस्रेर हिड्ने मान्छेको केको घरजम ?' मिस्त्री पेसा गरेर गुजारा चलाएका उनी पूर्वी मोरङका लागि अपांगता भएकाहरूमा पौरखीका उदाहरण हुन्।
 
मोरङमा अपांगता भएकाहरूको संख्या १७ हजार ५३ छ। यिनमा मानिकजस्ताको संख्या ६ हजार २९ जना छ। अपांगता भए पनि उनी जसरी पेसा गरेर जीविकोपार्जन गरि बसेकाहरु विरलै भेटिन्छन्।

Thursday, May 23, 2013

त्यो स्कुलमा पुग्दा


अघिल्लो साँझ विनोद भण्डारी दाइले सुनाएका के थिए, पुग्न रहर लागिहाल्यो । एउटा मात्रै विद्यार्थी भएको स्कुल । चारजना शिक्षक छन् । ती विद्यार्थीलाई लिन पुर्‍याउन चारजना साथी आउजाउ गर्छन् । हामी विहान ८ बजे मोटरसाइकलमा विराटनगरबाट डंग्राहाका लागि निस्कियौं । 

दुहबीनजिक  नेमुवा चोकबाट पूर्व-उत्तर भएर पुगिने ठाउँ रहेछ । बाटामा हामीले एउटा मावि स्कुल भेट्यौँ, जहाँबाट सजिलो बाटो थाहा लाग्यो । हामी त्यो गाउँ पुग्यौं । स्कुलका अवस्था समाचारमा आइहाले । ती गन्थन गर्नु छैन । मलाई लेख्न मन लागेका कुरा ती छन् जो समाचारमा आएनन् ।
 
हामी डंग्राहा गाविस-४ को पञ्चायत प्राविको प्रसंगमा छौं । हामी पुग्दा साढे नौ बजेको थियो । अरु स्कुलका केटाकेटी हतारमा लम्किरहेका थिए । नजिकको बोर्डिङ स्कुलमा आफ्ना नानीहरु पुर्‍याउन आमा-बालाई भएको हतार पनि देखियो । धेरैले हात समातेर हिड्दै , केही साइकलमा र फाट्टफु्ट्ट मोटरसाइकलमा नानी पुर्‍याउनेहरु देखिए । 

पञ्चायत प्रावि रहेको ठाउँ चौरस्ता चोक रहेछ । त्यहाँ एउटा ट्युवेल थियो । तीनजना केटीहरु लुगा धुँदै गरेका देखिए । हामीले सरहरु आउने समय सोध्यौँ । कोइराला थरका सर १० बजे, प्रधानाध्यापक सर धेरैजसो नआउने, आइहाले १२-१ बजे आउने जानकारी मिल्यो । हामी चोकको घुम्ती पसलमा बस्यौं । पसले पनि शायद नानीहरु स्कुल पुर्‍याउन गएका थिए । किनकि बन्द थियो । त्यसको फलैंचामा बसियो । भेटिएका मान्छेसग गफ गरियो । यतिकैमा उनीहरुले खेल्दै गरेको एउटा फुचे देखाए र, भने 'ऊ यही हो यो स्कुलको विद्यार्थी । यहाको व्यवस्थापन समिति अध्यक्षको छोरा हो ।'
 

हामीले राहुल ठाकुरलाई बोलायौ । उसलाई सोधेपछि थाहा भयो, २ जना सर, २ जना मिस छन् स्कुलमा कार्यरत । एकजना सर आउछन् । एकजना मिस सुत्केरी छिन् । हामी उसलाई 'घर देखा भाइ' भन्दै पछि लाग्यौँ । ५/७ घरको गल्ली बाटो भएर उसले आफ्नो घर पुर्‍यायो । त्यहा उसका पिताजी भेटिएनन् । राहुलका काकाले भने 'दाजु विहेमा उर्लावारी जानु भएको छ । बन्दले फर्कन पाउनु भएन ।' हामीले उनको मोबाइल नम्बर माग्यौं र, फेरि स्कुल तिरै लाग्यौँ । चोकमा पुगेर फेरि स्थानीयसग कुरा गर्दै गर्दा राहुल स्कुले पोसाकमा किताब लिएर आए ।
 

केहीबेरमा शिक्षक जीवनाथ कोइराला आइपुगे । उनको घर छिमेकी गाविस दुलारीमा रहेछ । त्यहाँबाट चप्पल पड्काउँदै साइकल चलाउदै आएका उनलाई एकजना स्थानीय बुढाले फलैचामा बस्न आग्रह गरे । कोइराला सरले राहुललाई भने 'जा मिसलाई बोलाएर ल्या ।' विनोद दाईलाई किताब दिएर ऊ बोलाउन गयो । बुढाले हाम्रा बारेमा भनिदिएपछि उनले स्कुलमै गएर बसौं भने । केहीबेरको कुराकानीपछि उतै लागियो ।

स्कुलका भवनहरु पक्की रहेछन् । टीनको छानो । कक्षा कोठा खुलै थिए । अफिसकोठाको ढोकामा ताला लागेको थियो । उनले राहुल आइपुगे । भने 'मिस हुनुहुन्न ।' सरले फेरि भने 'दौडेर जा । मिसको बाट चाबी लिएर आइज ।' राहुल फेरि गए । हामी बाहिरै उभिएर कुरा गर्‍यौं । राहल आए । अफिस कोठा खोलिदिए । सरले आफ्नै दुखेसो पोखे ।

गाउँलेको भनाइमा गुरुहरुले स्कुल नियमित नआउने भएकाले बच्चाहरु अन्यत्रका स्कुलमा राख्नु परेको थियो । सरको भनाइमा स्थानीयले साथ नदिएको गुनासो थियो ।
 

राहुल ठाकुरको ५ कक्षाको रजिस्टरमा ६ जनाको नाम थियो । तर, उपस्थितिमा राहुलमात्रै हाजिर देखिए । १ देखि ५ सम्म नै रजिस्टरका नामहरु केलाउँदा ४६ जनाको नाम भेटियो । तर, उपस्थिति एक्लो ठाकुर । अफिसमा कक्षाका किताबहरु असरल्ल देखिए ।
 
जीवनाथले १७ वर्ष भएछ त्यो स्कुल पढाउन थालेको । उनी सरुवा चाहँदा रहेछन् । विद्यार्थी नआएर स्कुलको दुरावस्था भएको चार वर्ष भएछ । विद्यालय व्यवस्थापन समिति गठन गर्दा नियम छ - पदाधिकारीका नानीहरु सोही स्कुलका विद्यार्थी हुनुपर्छ । तर, एकजना अध्यक्षबाहेक कसैका पनि नानीहरु आउदा रहेनछन् । हेर्ने र कडाइ गर्ने पनि कोही रहेनछ ।
 
सामुदायिक स्कुलका शिक्षकको तलब नियमित छ । सरकारद्धारा प्रदान गरिएको किताब र छात्रवृत्ति नियमित आएको रहेछ । तर, छात्रवृत्ति वितरणका बेला भीड हुने रहेछ । शिक्षक र स्थानीयको भनाइमा परस्पर एकअर्कालाई दोष देखाउने नियत देखियो । यति राम्रो स्कुललाई कसैले माया गरे जस्तो देखिएन ।

सरकारी स्कुललाई हिजोआज सामुदायिक विद्यालय भन्ने गरिएको छ । मोरङमा ६५ गाविस र विराटनगर उपमहानगरपालिका छ । यिनमा ५ सय ६२ वटा यस्ता स्कुल छन् । पञ्चायत प्रावि जस्तै अवस्था र रमिते खोला गाविसको मिक्लाजुङ प्राविको पनि छ । मिक्लाजुङ प्राविमा दुई विद्यार्थी र तीन शिक्षक छन् । यस्ता स्कुललाई अन्यत्रको स्कुलमा गाभ्नुको विकल्प छैन । तैपनि चलेकै छन् । 

***  
२८ वैशाख शनिबार कान्तिपुरमा छापिएको समाचार यस्तो थियो 

सिंगो विद्यालयका एक्ला विद्यार्थी

डंग्राहा (मोरङ) - विराटनगरबाट करिब १० किलोमिटर उत्तर डंग्राहा गाविस-४ मा चार सय घरले भरिएको बस्ती । बीचमा ५ कक्षासम्म पढाइ हुने भौतिक पूर्वाधारसम्पन्न सामुदायिक विद्यालय । यहाँ बालविकास केन्द्रकी सहयोगीसहित चार जना शिक्षक कार्यरत छन् । घना बस्ती बीचको स्कुलमा विद्यार्थी संख्या कति होला ? लख काटौं ५०, सय या डेढ सय । 

यो पञ्चायत प्रावि नामको स्कुलमा एक जनामात्रै विद्यार्थी पढ्छन् । उनी हुन् राहुल ठाकुर । कक्षा ५, रोल नम्बर १ । उनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष ठाकुरका छोरा । समिति नौ सदस्यीय छ । उनीहरूले आफ्ना बालबालिका आफ्नै जिम्मेवारीको विद्यालयमा पढाउनुपर्ने प्रावधान छ । 

समितिकै आठ सदस्यले भने अर्कै विद्यालयमा भर्ना गरेका छन् । यो विद्यालयको कक्षा १ देखि ४ सम्म एक जना पनि विद्यार्थी छैनन् । यसैको नाममा एउटा बालविकास केन्द्र पनि छ । त्यसका लागि सहयोगी शिक्षिकाको छुट्टै व्यवस्था । तर केन्द्रमा एक जना पनि बालबालिका छैनन् । यो स्कुलभन्दा डेढ किलोमिटर पूर्व अर्को सामुदायिक विद्यालय सर्वहितैशी निमाविमा करिब दुई सय बालबालिका पढ्छन् । उत्तरतर्फको लक्ष्मी मावि, सुप्रभात बोर्डिङ स्कुल र पश्चिमको नारायण माविमा पनि विद्यार्थी खचाखच छन् । ती विद्यार्थी यही बाक्लो बस्तीका घरका सदस्य हुन् ।


'आँगनमै भएको स्कुलमा सरमिस रेगुलर आउँदैनन् । पढाउँदैनन् । त्यसैले केटाकेटी अर्कोमा सारियो,' स्थानीयवासी आशाराम विश्वासले भने, 'पढाइदिने भए पो यहाँ राख्नु । यहाँबाट ५ पास गर्ने बच्चाले अआइई पनि जान्दैन ।' उनका अनुसार पढाइ गुणस्तरीय नभएका कारण सबै अभिभावकले आफ्ना नानीहरू आँगनको स्कुल छाडेर अन्यत्र पढ्न पठाउने गरेका हुन् । 

'पोहोर मेरा दुई बच्चाले यो स्कुलबाट ५ पास गरे । उनीहरूलाई अर्को स्कुलले ६ मा भर्ना लिन मानेन । नाम पनि राम्रोसँग लेख्न नजानेपछि २ मा मात्र भर्ना लियो,' अभिभावक जीतनारायण माझीले भने, 'हेडसरलाई गुनासो गरेको उल्टै आइलागे ।' त्यो घटनापछि पनि धेरैजसो अभिभावकले आफ्ना नानीहरू पञ्चायत प्राविबाट हटाई अरूमा पठाएको उनले बताए ।

उनीहरूका अनुसार प्रअ पुरुषोत्तम चौधरी सातामा एक दिनमात्र विद्यालय आउँछन् । कहिलेकाहीं त १५ दिनमा मात्र देखिन्छन् । 'उनलाई स्कुल र यहाँ भर्ना गरिएका बच्चाको भविष्यप्रति कत्ति पनि चिन्ता भएको हामीले पाएनौं,' अर्का अभिभावक नागिन चौधरी भन्छन्, 'उनी आएका दिन पनि दिउँसो हाजिर गरेर हिँडिहाल्छन् । बाँकी शिक्षक पनि जाडोमा दिनभरि घाम ताप्छन्, गर्मीमा रूखको छहरीमा शीतल खाएर घर फर्कन्छन् ।'

प्रअ चौधरीको भने आफ्नै तर्क छ । उनी भन्छन्, 'विद्यार्थी नै नआएपछि हामीले के गर्ने ?' शुक्रबार छिमेकी गाविस हात्तीमुडामा शिक्षक संघको गाउँ एकाइ गठन गर्न व्यस्त रहेका उनले भने, 'विद्यार्थी नै नभएपछि विद्यालय बसिरहनुपर्ने अवस्था छैन । त्यसैले हाजिर गरेर पेसागत संगठनको काममा हिँडेको हुँ ।' दुई/दुईपटक घरदैलो कार्यक्रम गर्दा पनि अभिभावकले आफ्ना नानीहरू विद्यालय नपठाएको उनले बताए । उनका अनुसार गत वर्ष पनि यस्तै अवस्था थियो । 'पढाउँदै नपढाइ तलबमात्र खाएको एक वर्ष भइसक्यो । अब त तलब खान पनि लाज लाग्न थाल्यो,' उनले भने । स्थानीय अभिभावकको असहयोगले विद्यालय विद्यार्थीविहीन भएको दाबी उनले गरे ।

पाँच कक्षासम्मको उक्त स्कुलमा एकमात्र विद्यार्थी भए पनि चौधरीले ४० जनाको नाममा पाठ्यपुस्तक लगेका छन् । गत वर्षको विद्यार्थी सख्याका आधारमा पुस्तक लगिएको हो । 'पोहोर ४० जना भर्ना भएका थिए । तर वर्षभरि चार जना पनि पढ्न आएनन् । यसपालि पनि त्यही भयो', उनले भने, 'छात्रवृत्तिको रकम विद्यालयको बैंक खातामै छ ।'

***

Sunday, June 17, 2012

बाँचेकै छन् उनीहरु



यो जीवन अल्झिँदै जानेछ, व्यथाहरु बल्झिँदै जानेछ
भीडहरु भैकन यहाँ एक्लै एक्लै हिड्नेहरु, 
साथहरु भेटिदै जानेछ सपना पुरा हुनेछ ।

कलेज लाइफमा एकपल्ट कवि भइदिनु कसका लागि नौलो होला । कुनै समय थियो जसलाई मैले आफैलाई सान्त्वना दिन गीत लेख्ने प्रयास गरेको थिए । उपरोक्त पंक्ति तिनै २१ वर्षअघिका लेखोटका अंश हुन् । यसका मुखडा मनभरि एउटा लयमा फिरन्ते बनिरहन्छ । लण्डनमा पढ्न बसेको मेरो एउटा आफन्त भाइले गत मार्च २० तारिख मृत्यु रोज्यो । मैले त्यो घटना बारे यसअघि पनि लेखिसकेको छु ।
 
उ धेरैपटक अनलाइन भेटिन्थ्यो । फेसबुकमा तस्बिरहरु ट्याग गरेर प्रतिक्रिया मागिरहन्थ्यो । केहीमा लेख्थें, केहीका ट्याग म रिमुभ गरिरहन्थे । च्याटमा भिजिबल बस्न छाड्नुका कारण ऊजस्ता झण्डै आधा दर्जन आफन्त र साथीहरू हुन् । जसले अनलाइन देख्यो कि बोलाउथे, अनि व्यक्तिगत, पारिवारिकहुँदै देशको राजनीतिक हालखबर सोध्थे/सोध्छन् । जवाफ नदिए आफूलाई के सोच्लान् भन्ने अप्ठ्यारो, जवाफ दिदै गए समय खेर जानुका साथै मुड अन्तै गएर आफ्ना दैनिक काममा असर पर्ने पिरलो । अनलाइन बस्न छाडेपनि फेसबुके सन्देश बाकसहुँदै आग्रह, आदेश र गुनासा आउजाउ गरिरहन्थे । सुवास (फेसबुक नेम भण्डारीजी) ले आत्महत्या गरेपछि धेरै अफलाइन बस्दा आफैले गल्ति पो गरिएछ कि भन्ने भइरहेको छ ।
 
सुवास अनलाइन अब भेटिदैन । म जति 'अनलाइन' बसेपनि अब सदाका लागि उ 'अफलाइन' भयो भन्ने थाहा छ । तैपनि बेला बेला मन एकाहोरिन्छ । आत्महत्याको सोच आउनेहरुलाई सहारा चाहिन्छ । अन्तरंग कुरा गर्ने विश्वासिलो साथ  चाहिन्छ । कुनै शारीरिक विकार छैन । शरीरका सबै अंग सद्दे छन् । पढालेखा र करिअरप्रति सचेत मान्छेहरू । छदाखादाको जीवनलाई किन मान्छे अनाहकमा त्याग्छन् - यो प्रश्न भिन्न परिस्थितिहरूमा आफैमा जटिल छ । इच्छा भयो 'यस्ताको खोजी गरौ, जसलाई आशले ज्यूदो राखेको छ । 

सपांग र सजिला अपांगभन्दा भिन्न जीवन बाँचेर पनि जो आफन्तका बीच छन् । उनीहरूलाई आत्महत्याका सपना देख्न बन्देज भएजस्तो ।' असजिला शारीरिक अवस्थामा पनि उनीहरूको मुहारमा मुस्कान छ । नियतिका क्रुरतालाई सामान्य ठानेर बाँचेका छन् । साँच्चै त्यस्ता मान्छेहरू के गर्दैछन् ? मलाई अफिसबाट बाहिर निस्कन मन लाग्यो । गाउँ गएर त्यस्ता घर चिहाउन मन लाग्यो । म विराटनगरबाट बाहिर एक्लै बाइकमा निस्किएँ । अनि यो यात्रा एक साता चल्यो । यो अवधिमा मैले भेटेका मान्छेहरूका कथा फरक थिए । 
०००

मोरङको रंगेली-८ को आमतोला चोकमा झुप्राको सानो पसल। दाउरे चुलोको धुआँले आगन्तुकका आँखा पोल्छन्। छेवैमा बसेको भुसतीघ्रे देखिने किशोरलाई भने कुनै फरक पारेको छैन। उसलाई आगन्तुकप्रति पनि कुनै चासो छैन। 'किन यस्तो, यो भाइ को हो ?' मेरो सोधाइमा पसलेले भने 'मेरो छोरा हो। यो यस्तै छ। आफैं केही गर्न सक्दैन।' 


पसले नारायण मण्डलका १४ वर्षे छोरा सुरज सामान्य किशोरहरुभन्दा केही फरक रहेछन्। शरिर आफैं अड्याउन, हातगोडा सजिलै चलाउन नसक्ने। उभ्याइदिए उनलाई कतै अडेस लाग्नैपर्ने। 'हामी गाउँलेको घर, पहिलो सन्तान छोरो जन्म्यो, खुशीको सीमै थिएन,' मण्डलले सुनाए 'तर, बच्चा रोएन। एक हप्तासम्म आमाको दूध पनि चुसेन।' त्यसपछि लगातार उपचारका लागि भौतारिएका उनको दौडाहा एक दशकभन्दा बढी चल्यो। अहिले दुइ वर्षयता कतै पनि जान छाडेका रहेछन्। बोल्दा-बोल्दै आँखा रसाए,  भक्कानिए 'हामी आमा-बाउको सास रहुञ्जेल होला। पछि यसलाई कसले हेर्छ भन्ने चिन्ता लाग्छ।' सुरजका साना भइ र बैनी त्यस्ता छैनन्। तर, उनीहरू दाजुलाई औधी माया गर्छन्।

घरनजिकै स्कुल छ। अहिले सुरज ह्वील चियरमा बसेर स्कुल जान मन पराउँछन्। यद्यपि समान्यसरह पढ्न सक्ने अवस्थामा छैनन्। बोली स्पष्ट छैन। आमा-बुवा र भाइबैनी बुझाउनेबाहेक थोरैबाहेक शब्द उच्चारण उनीबाट हुँदैन। तस्बिर लिन खोज्दा पसलमा राखेको भुसको एउटा बोरा लड्यो। सुरज जोडसँग हाँसे। उनको मुन्टो थोरै बाँया बटारिएझै देखियो।
०००
सोराभाग गाविस-९ मा इँटाभट्टाछेउको सानो झुप्रो बस्ती। ग्वालीजस्ता लाग्ने छाप्रोभित्र एउटा युवक डोरीको खाटमा डल्लो परेर बसेका छन्। छेवैमा भुइमा केश सेतै भएकी वृद्धा छिन्। थोरै कुराकानीपछि तस्बिर खिचिदिँदा मुहारमा मुस्कान दौडियो, जोडले हाँसे। टाउको र हातगोडा अझ बटारिए झैं देखियो। यी २४ वर्षका महेन्द्र कर्मकार लोहार रहेछन्। वृद्धा उनकी आमा बिन्दा।

'के गर्नु यो यस्तै छ, यसलाई यसरी नै राख्छु, उनले भनिन् 'आमा हुँ नि । यसलाई दिशापिसाप आएको थाहा पाउछु । ढिलो भए फोहोर पारिहाल्छ ।' २ कक्षामा पढ्दै गर्दा एक दिन महेन्द्रले स्कुलबाट फर्केर 'टाउको दुख्यो' भने । विरामी परे । औषधि खुवाइयो । उनले भुँडी पनि दुख्यो भने । धामीझाक्रीका झारफुकबाट सुरु गरिएको उपचारले सञ्चो गरेन । डाक्टरी उपचारका लागि रंगेली लगियो । घर फर्किएपछि उनको जीउ बटारिए झै भयो । अघिल्लो दिनसम्म दौडदै र बोल्दै गरेका उनी अझ असक्त भए । विराटनगर लगियो । 'अस्पतालमा यसलाई सेतो मच्छडले टोकेको छ भन्थ्यो, त्यसपछिदेखि यो यस्तै छ । यसलाई मैले नै हेर्दै आएकी छु', बिन्दाले भनिन् ।
 

बोल्न सक्दैन, केही आफै गर्न सक्दैन ।' महेन्द्रका पिता ट्युवेल गाड्ने काम गर्छन् । घरमा माता-पिता, भाइ र बुहारी छन् । सबैले भ्याएसम्म उनको ध्यान राखेका छन् । आमा भन्छिन् 'कहिलेसम्म हो थाहा छैन । तर, हाम्रो जीउ रहेसम्म त यसको ख्याल गर्नैपर्‍यो ।' बिन्दाले महेन्द्रको परिचय कार्ड देखाइन । रातो कार्ड दिइएका उनले मासिक अपांग भत्ता पाउने रहेछन् ।

सोराभाग गाविसकै कर्सियाको चोकबाट करीव डेढ किलोमिटर उत्तर पुगियो । एउटा घरमा महेन्द्रभन्दा केही फरक युवक गोठमा डल्लो परेझै टुक्रुक्क बसेका थिए । देखिने १४ वर्षे गोवर्धन कर्मकार भात खाइरहेका भेटिए । आँगनमा धानको बिस्कुन थियो । त्यो बिस्कुन खान आउने चरा तर्साउन एउटा डालोलाई सानो छडीको टेको लगाइएको थियो । छडी बाधेको डोरीको एउटा फेर गोवर्धनले च्यापेर बसेका थिए । मैले उनका अभिभावकको खोजी गरेँ । उनीहरू निकै पर खेतमा मुसुरो उखेल्ने धमाधममा थिए । 

घरबाट निस्किएर खेतमा पुगेपछि मैले कुरा गर्न चाहें । 'यसलाई बेला-बेला मिर्गी (छारे रोग) ले भेट्छ, त्यो बेला बेहोस हुन्छ,' पिता लालचन्दले भने, 'हेर्न ढिला भो भने गु-मुत एकै ठाउँ । कति हेर्ने, कहिलेसम्म हेर्ने, बडो पीर लाग्छ ।' महेन्द्रका बोरमा नारायणले बताएका थिए । अनि गोवर्धनका बारेमा उनकै दिदीले । महेन्द्रको घरमा कुरा गरेपछि छिमेकमा बस्ने दिदीले आफ्नो भाइका अवस्था र भेटिने ठेगाना बताएपछि म खोज्दै त्यहाँ पुगेको थिएँ । 
०००
तीन जनालाई भेटेपछि उनीहरूका लागि काम गर्नेको बारेमा जान्न मन लाग्यो । उनीहरूका परिवारले  नै विराटनगरको सिंघिया खोला किनारमा अवस्थित समुदायमा आधारीत पुनस्थापना (सीबीआर) नामक संस्थाका बारेमा जानकारी दिएका थिए । 

दोस्रो दिन म सीबीआर पुगें । त्यो संस्थाले एक दशकदेखि यस्ता बालबालिकाका लागि काम गरिरहेको रहेछ । त्यहाँ कृत्रिम हातखुट्टा बनाउने काममा सक्रिय लव कोइराला भेटिए । 'तपाइले भेट्दै हिड्नु भएको केसलाई हामी मस्तिष्क पक्षघात भन्छौ,छोटकारीमा सीपी,' उनले भने, 'अपांगतामा यो सबैभन्दा जटिल अवस्था हो । परिवारले हेरेन भने त्यस्ता बच्चा बाँच्न कठीन हुन्छ ।' सन् २०१० र ११ का दुइ वर्षमा सीबीआरका सम्पर्कमा आएका मस्तिष्क पक्षघात पीडितको संख्या ५ सय ३६ रहेको तथ्यांक कोइरालाले दिए । यिनमा १९७ जना छोरीहरु र अन्य छोराहरू रहेछन् ।

कोइरालाले विराटनगर-५ जामुनगाछीको एउटा घरमा पुर्‍याए । ह्वील चियरमा बसेका २८ वर्षे रवि तुलाधर फेसबुक र ट्वीटर खोलेर चलाइरहेका थिए । एउटा हातको भर । खुशी भए वा केही बोल्न परे उनको मुन्टो धेरैपटक भट्का दिएजसरी बाँया फन्को मार्न खोज्थ्यो । एउटा साँझ भएको भेटले रविलाई मेरो फेसबुके साथी बनाउन पाएँ ।

'हामीले धेरै प्रयास गर्‍यौ उपचारका लागि,' रविका पिता जंगमानले भने, 'अहिले यो यतिसम्म भएको छ । काम चल्ने गरि आफ्ना कुरा बताउन सक्छ ।' पेशाले बिजुलीका सामानका मिस्त्री जंगमान र श्रीमति सूनीताले छोरालाई रुचीअनुसारको वातावरण दिने प्रयास गरेका रहेछन् । कम्प्युटर घरमा आएपछि सिकेका रविलाई भाइ-बैनीले सघाए । वर्डप्रेसमा ब्लग पनि बनाएर लेख्ने-खेल्ने प्रयास थालेका उनलाई तस्बिर संग्रह, फोटोसपबाट रंगहरुको मिश्रण गर्न रुची लाग्दो रहेछ । सीबीआरको अर्थो वर्कसपका इन्चार्ज कोइरालाले भने 'मस्तिष्क पक्षघातका धेरै नाजुक अवस्थामध्ये रविको केस हामी धेरै प्रगति भएकोमध्ये मान्छौ ।' उनका अनुसार रवि यस्ता केसमा प्रगति भएका नमूनामध्येका हुन् । उनको मुहार हँसिलो छ । उनी रमाइला रहेछन् । 
०००
अपांगका हितमा खोलिएका संस्थामा सीपी भएका बालबालिकाका बारेमा केही जानकारी हुन सक्छ भन्ने लागेर म अपांग राष्ट्रिय महासंघको विराटनगर जनपथटोलस्थित अफिसमा पुगे । त्यहाँ भेटिएकाहरूले सीपीमात्रै छुट्याएर तथ्यांक अद्यावधिक नभएको बताए । बरु धेरै जानकारी नजिकबाट दिनसक्ने एक जनाको मोबाइल उनीहरूले मलाइ दिए ।

फोन गर्दा गीता खवासले भनिन् 'पिचरा आउनुस् । अनि भेट होला ।' मोरङको नेमुवाकी खवास मस्तिष्क पक्षघातका पीडितलाई फिजियोथेरापी गराउने गर्दीरहिछन्  । उनले गराउने विशेष प्रकार व्यायामले त्यस्ता बालबालिकालाई सुधार भइरहेका उदाहरणहरू छन् । मैले खवासलाई भेटेर त्यो दिनभरि उनी जाने केही घरहरूमा पुगें । र, थेरापी हेरें । अनि अभिभावकहरूसग कुरा गरें ।
 
पाँच वर्षदेखि यो काममा खटिरहेकी खवासका सम्पर्कमा उपमहानगरभित्र र हातिमुडा र नेमुवा गाविसमा गरि ६५ जना त्यस्ता बालबालिका रहेछन् । विराटनगरको बसपार्कछेउ डेरा बस्ने खोटाङ चिसापानीका राजन र गीता बस्नेतका चार वर्षीय पुत्र सीजन, पिचरा बस्ने संखुवासभा खादवारी-९ का विष्णु र सीता चौहानकी चार वर्षीया मेलिना र बसपार्कछेउका गणेश-कमला थापाका एक्ला १८ वर्षे छोरा रोजेशसँगै पिचरामा शान्ति महत्तोकी १५ वर्षीया छोरी संगीतालाई एकै दिन भेटियो । यिनमा सबैको कथा सुधारोन्मुख अवस्था अनि अभिभावकका प्रयास र मायासँग जोडिएका रहेछन् ।  बैशाखीमा आउजाउ गर्ने संगीता बोल्न सक्छिन् । लेख्न पनि सक्छिन् । स्थानीय बालकल्याण बिद्या मन्दिरमा ६ कक्षामा पढ्छिन् । ह्वीलचियरको सहारामा रहेका रोजेश बोल्छन् तर,  बिद्यालय जान पाएका छैनन् । उनका अभिभावक स्कुल पठाउन चाहन्छन् । अपांग महासंघको काम गर्राईमा सन्तुष्टी रहेनछ ।
 
त्यस्ता केटाकेटीलाई फिजियोथेरापी गराउने तालिम पाएकी खवासले आफू ललितपुरको धापाखेलस्थित सीपी सेन्टरका लागि काम गर्ने गरेको बताइन । कुनै समय सीबीआरमै काम गरेकी उनले सीपी सेन्टर ज्वाइन गरेकी रहछिन् । खवास भन्छिन् 'बुझेका आमा-बाउले नानीहरुको अवस्था सुधार्न प्रयास गरेका छन् । गाउँमा चाहि बिजोक भेटिन्छ ।' अपांगताको परिचयपत्र र भत्ताबाहेक यस्ता नानीहरुका लागि सरकारीतवरको विकल्प छैन । 'सीपीका धेरै स्टेजमध्ये सुधार गर्न सकिने अवस्था पनि हुन्छन्,' उनले भनिन् 'धेरै परिवारमा मेरो बच्चाको कस्तो अवस्था हो, के गर्नुपर्छ भन्ने जानकारी नभएको म भेट्छु ।' 

परिवारका सदस्य एउटा यो समस्याबाट पीडित हुँदा अन्यलाई मनोबैज्ञानिक उपचार चाहिएका अवस्था पनि भेटिने उनको अनुभव छ । सीपीका पाँच अवस्थामध्ये कोमा पनि एउटा रहेछ । कोमामा गएकाहरू हलचल गर्दैनन् । बोल्दैनन् । कुनै पनि प्रतिक्रिया दिदैनन् । तर, ती बाहेकका चार अवस्थामा बालबालिका बोल्ने भएपनि नबुझिने, सञ्चार संवाद असजिलो । 
 
खवास र कोइरालाले मलाई डा. ममता वर्मा भेट्न सुझाव दिए । उनले सीबीआर सञ्चालनमा निरन्तर सहयोग गरेकी रहछिन् । आफू महिलाको प्रसुतीसम्बन्धी केसहरू हेर्ने भएपनि उनलाई मस्तिष्क पक्षघातबारेमा धेरै जानकारी रहेछ ।
 
ललितपुरको सीपी सेन्टरलाई पनि उनले सहयोग गरेको कुरा थाहा भयो । त्यस्ता पीडितका लागि विराटनगरमा सेवा केन्द्र खोल्ने तरखर पनि सुरु भएको उनीसँगको भेटपछि थाहा भयो । त्यसका लागि कोठा डा. बर्माले नै उपलब्ध गराउन लागेकी रहिछन्  । डा. वर्माले भनिन् 'यस्तो केस एक हजार बर्थमा २/३ वटा हुन्छ । गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच, पोषिला खानेकुरा अनि बच्चालाई रोग प्रतिरोधक खोपहरु दिनु जरुरी छ भन्ने बुझे यो टर्न सक्छ ।' कुनै खास कारणले दिमागका आदेश शरीरका अंगहरूले मान्न नसक्ने अवस्थालाई नै यो पक्षघातको स्वरुप हुने उनले बताइन । 'यो भएपछि रिकभरीको चान्स अवस्था हेरेर हुन्छ,' उनले भनिन् 'धेरै बच्चाहरुले बेलैमा उपचार र फिजियोथेरापी पाएपछि सुधार भएका उदाहरण पनि छन् ।'

डा. वर्माका पति डा. नारायण कुमारले पनि यस्ता केसबारे प्रष्ट पारे । मस्तिष्क पक्षघात एउटा जटिल अवस्था भएपनि यो कसरी हुन्छ भन्नेमा उनीहरूका कुराले म प्रष्ट हुन सकिन । जन्मदै हुने यी विकार हुर्कदै गएर कुनै खास प्रकारका घटनाका कारण पनि हुन सक्ने रहेछ । तर, धेरै यसरी जटिल अवस्थामा पनि बाचेर जीवनको सपना साँचेका छन् । 


यी सबै भेट र कुराकानीपछि कान्तिपुर कोसेलीका लागि मैले लेखेको 'जीवन अल्झाउने आशा' गत शनिवार प्रकाशित पनि भएको छ । माथि उल्लेखति कुराका धेरै अंश मेरो कोसेलीको लेखोटमा छ । पत्रिकामा ब्लग जसरी लेख्न मिल्दैन । विषयका अवस्था हेरेर दैनिकी पठाउन पनि मिल्दैन । मैले अवस्थाका जटिलतालाई शब्दमा धेरै खिप्न सकिन भन्ने लागेको छ । छापिएपछि गुगलमा खोज्दा त्यस्ता उदाहरण धेरै रहेछन् । 

मेरो लेखाइमा यसमा देशभरका अवस्था समेटिन पाएको छैन । अझ धेरै ठाउँ घुमेर लेखोट तयार पार्न सकिन्थ्यो । त्यसो गरिएन । एउटा ठाउँबाट आएका उदाहरण अन्य ठाउका मजस्ता सञ्चारकर्मी साथीका लागि पनि विषय बन्न सक्लान् भन्न लागेको छ । प्रकाशित लेखोट पढेपछि केही मान्छेबाट इमेल, फोन र एसएमएसबाट प्रतिक्रिया पाएको छु । यस्ता कुरा पनि पठनीय हुने रहेछन् भन्ने ज्ञान मिलेको छ । नाजुक अवस्थामा पनि आखाहरूले जीवनको सपना देखिरहेका उदाहरण छन् । अनाहकमा आत्महत्या गर्नेहरूलाई घटना गराइहाल्ने सोच आउँदा त्यस्ता घरमा चिहाएर हेरे हुन्थ्यो जस्तो लागेको छ । सबैथोक भएर पनि सन्तुष्टहरू भेटिदैनन् । उनीहरूले महेन्द्र, सुरज र गोवर्धनजस्ताको घर पुगेर हेरे हुने रहेछ ।