हिजो राति एक जनाले अनलाइनमा रिवल्विङ चियर सेलमा राखेका थिए। कुर्सीको फोटो हेर्दा दाम अलि अपत्यारिलो तरिकाको सस्तो लाग्यो। बजारमा पाइनेमा आधाभन्दा पनि सस्तो।
च्याटमा सोधेँ - तपाइँले भनेकै दाम हो ?
धेरैबेर उत्तर आएन । उनले टाइप गरेको जस्तो संकेत बुझिन्थ्यो, निकैबेर उत्तर भने आएन। मलाइ लाग्यो उताको मान्छेलाई मोबाइलमा टाइप गरेर जबाफ दिन गाह्रो परेको हुनुपर्छ। अनि लेखेँ- तपाइँको नम्बर दिनुस् ।
उनले दिएको नम्बरमा कुराकानी भयो । उनले पाइने ठेगाना बताए।
आज छोरालाई मोसामा पछाडि राखेर म कुर्सी किन्न जाने भएँ। राम्रो पाए अरु साथीहरूका लागि पनि लिइदिने गरी।
बैंक पुगेँ। कार्ड छिराएपछि एटीएममा सूचना देखियो - 'तपाइँले सीमाभन्दा बढी कारोबार गरेकाले अब पैसा दिन सक्दिन।'
जिन्नगीमा कैल्यै नदेखेको सूचना !
बाहिर निस्केँ । गार्डलाई सोधेँ - बैंकले खातामा होल्ड गर्ने पैसाको अंक बढाएको हो ? मलाइ त सीमा नाघ्यो भन्छ एटीएम !
गार्ड- सीमा ५ लाखको हो। तपाइँले एक महिनामा त्यति झिकिसक्नु भो होला।
म - छैन। कहाँ झिक्नु त्यति ?
गार्ड - भित्र स्टाफलाई सोध्नुस्।
बैंक पसेँ। सामाजिक दुरीको लफडाले बैंकभित्र तीन हात परै रोकियो। परैबाट महिला कर्मचारीलाई भनेँ - मलाई एटीएमले सीमा नाघ्यो भन्यो। खातामा कतिसम्म राखेर एटीएमले पैसा दिन्छ ?
उनी बडो रुखो पारामा बोलिन् - ५ लाख झिकिसक्नु भो होला। त्यो भन्दा बढी एक महिनामा निकाल्न मिल्दैन एटीएमबाट।
म- मैले झिकेको छैन। अनि मिनिमम ब्यालेन्स कति हुनुपर्छ ?
बैंक कर्मचारी - ५ सय राखेर बाँकी निकाल्न मिल्छ ?
म - मैले सीमा नाघ्ने झिकेकै छैन। अनि मेरो कार्डमा किन एटीएमले त्यसो भनेको ? चेक गर्दिनु हुन्छ ?
बैंक कर्मचारीले रिसाएको पारामा हेर्नुभो, रिप्लाउनु भएन।
उहाँको मुद्रा देखेर फेरि सोध्न मन लागेन।
बाहिर निस्कँदै गर्दा देखियो, भित्रबाट प्राविधिकहरूले त्यो एटीएम खोलखाल पर्दै रहेछन्। अनि भित्रको गार्डलाई सोधेँ - के हुँदै हो?
उनी बोले - एटीएमले काम गरिरहेको छैन। मर्मत चल्दैछ।
काम त गर्दै थियो, त्यो सूचना दिने ! कारण त्यस्तो रहेछ।
अनि दुई किमि पर्तिरको एटीएम पुगियो। त्यसले अघिल्लो जस्तो सूचना देखाएन।

No comments:
Post a Comment