
दुई भंगाला तरेर डुंगाबाट पारि उत्रने बेलामा माझीले भनेका थिए, 'सरहरू आइहाल्नुभो। धेरै जुका लाग्छ। हेर्दै झार्दै जानुहोला।' मनमा चिसो पस्यो। मान्छे हराउने हरिया काँसघारीमा रक्तभक्षी जुकासँग कसरी जोगिने ? मान्छे हिँडिरहने भए पो गोरेटोजस्तो बाटो हुन्थ्यो। मडारिएका घाँस पहिल्याउँदै अघि बढ्ने मार्ग थाहा हुन्थ्यो। आफैं हिँडेर बाटो पहिल्याउनुपर्ने गन्तव्य। के होला, जे होला भन्दै अघि बढियो। कहिले पानी परेको परेकै, कहिले अरू कामले यात्रामा निस्कन नदिएर बल्लतल्ल साइत जुरेको थियो।
सुनसरीको मधुवन गाविसस्थित कोसी क्याम्पबाट केही पश्चिम हिँडेपछि सप्तकोसी नदीको पूर्वी तटबन्ध भेटियो। त्यहाँबाट केही दक्षिण हुँदै करिब डेढ सय मिटर पश्चिम लागेपछि अगाडि नदीको पहिलो सानो भंगालो भेटियो। भेलका बीच डोजर, एस्काभेटरभन्दा तीन गुणा ठूलो आकारको घरजस्तो यन्त्र बसेको थियो।
'कटरड्रेजर भन्छन् यसलाई,' किनारमा भेटिएका भारतको कोसी परियोजनाका कामदारले बताए, 'यसले खोलाको बालुवा निकालेर बाहिर थुपार्छ।' उनका अनुसार त्यसको आवाज कुनै कारखाना चलेभन्दा कम आउने थिएन। हामी पुग्दा भने त्यसले काम गरिरहेको थिएन। उनीहरूले बताए, 'यसले घन्टामा ४०/४५ लिटर डिजल खान्छ, धेरै बालुवा निकाल्छ।'
सुनकोसी, तामाकोसी, दूधकोसी, इन्द्रावती, लिखु, अरुण र तमोरसमेत सातवटा नदीको संगम सप्तकोसी जहिल्यै विहारको दु:ख मानिन्छ। कारण, नेपाली भूभागबाट २६० किलोमिटरको यात्रा गरी गंगामा मिसिन पुग्दा कोसीले विहारका अररिया, सुपोल, सहरसा, पूणिर्या, कटिहार, खगडिया र भागलपुरलाई प्रभाव पार्छ।
बढी पानी भएका बेला ब्यारेजमा जलस्तर नियन्त्रण गरिएन भने भारतीय गाउँहरू डुबानमा पर्छन्। ब्यारेजमा ५६ वटा ढोका छन्। भारतले बनाइदिएर उसकै प्राविधिक नियन्त्रणमा रहेको ब्यारेज स्थापनाकालदेखि नै पूर्वपश्चिम राजमार्गमा सप्तरी र सुनसरीलाई जोड्ने पुल रहेको छ। ब्यारेज कुनै दिन भत्कियो वा बग्यो भने तराईको सडक सम्पर्क फेरि जोड्न हम्मे पर्छ। यसको नियन्त्रण-मर्मत मात्र होइन ब्यारेजदेखि उत्तर ३२ किलोमिटरसम्ममा तटबन्ध मर्मतको काम पनि भारतीय परियोजनाको जिम्मामा छ। तीन वर्षअघि कुसाहामा तटबन्ध भत्किँदा नदीको बहावले दिशा फेरेको थियो। त्यसले नेपाली भूभागभन्दा धेरै असर सीमावर्ती विहारमा गरेको थियो।
यसपटक धेरै बालुवा थुप्रिएकाले सानो भंगालो भएर हुने निकास प्रकाशपुर क्षेत्रनजिक अवरुद्ध थियो। कामदारले बताए, त्यसकै लागि कटर ड्रेजर झिकाएर काम भइरहेको हो। खानेपानी संस्थानले भण्डारण गर्न मूलबाट पानी ल्याउनेजस्ता ठूला पाइप जोडिएको त्यो यन्त्रले नदीको बालुवालाई झिक्दै तीव्र रूपमा पाइप हुँदै निश्चित गरिएको ठाउँमा थुपार्ने रहेछ।
अनगिन्ती विविधता छन्। पहाडबाट वराहक्षेत्र आइपुगेर समथर भूभागमा पस्ने कोसीले धेरै ठाउँ बालुवा थुपारेर जमिनका भाग बीच-बीच छाडेको छ। यही छाडेमध्येको एउटा सानो टापुको यात्रामा निस्कँदा हामीलाई त्यहाँ मानव बसोवास छैन भन्ने हेक्का थियो। मान्छे नबसेकै कारण यहाँ प्रशस्त घाँस, काँस र झाडी-बुट्यान अनि केही सुकेर लडेका रूखका ठुटा थिए।
धेरैले देखेसुनेको कोसीटप्पु वन्यजन्तु आरक्षको संरक्षित क्षेत्र सजिलै पुग्न सकिँदैन। कोसीका पूर्वी तटबन्धमा आरक्षको कार्यालय छ। छोटो समय लिएर घुम्न जानेहरू आरक्ष कार्यालयबाट तटबन्धसम्म पुग्छन्। किनारका काँसघारी, बयरका बुटा र बगरबाट छाल हेरेर फिर्छन्। छाल हेरेर धेरैपटक फिरेकाहरू समय मिलाएर भित्रसम्म पुग्ने योजना बनाउँछन्। करिब एक घन्टाको डुंगा यात्रापछि मात्रै आरक्षको मूल संरक्षित क्षेत्रमा पुग्न सकिन्छ। समयले साथ दिए भित्र गएका बेला यहाँ अर्ना भनिने जंगली भैंसी र चरा हेर्न सकिन्छ। स्वतन्त्र विचरण गर्ने पशुपन्छी मान्छेको उपस्थितिको आभाससम्मले लुक्छन्, भाग्छन्।
मौसम सफा थिएन। तर, पानी परेन। काँसघारी छिचोल्दा वर्षे जुकाहरू सिकारका पदचाप पर्खिरहेका रहेछन्। १५ मिनेट हिँडेपछि कटर ड्रेजरले थुपारेको बालुवाको सानो 'पहाड' देखियो। सुकेर लडेको सिसौमा अडिएर जीउभरिका जुका फालियो। टिपेर मिल्काउँदा त्यसले चुसेको भाग चिलायो र रगत आयो। निकैबेरमा चिलाउन थालेपछि थाहा भयो, कति जुका संवेदनशील ठाउँसम्मै पुगेछन्।
'हामीले खोजेको ठाउँ यही हो,' हाम्रो टोलीका अनिस तिम्सिना बोले, 'यहीँ छ इग्रेट कोलोनी।' उनले भनेको ठाउँ बकुल्लाको बासस्थान थियो। त्यही चरो, जो पोखरी, जलाशय र नदी किनारमा माछा र पानीकीरा रुँगेर ध्यानी भएको देखिन्छ। अडिएको ठाउँबाट केही उत्तर हिँडेपछि थरीथरीका धेरै बकुल्ला देखिए। रूखभरि लटरम्म फल फलेजस्तो गुँड। गुँडैपिच्छे कुनैमा बचरा, केहीमा फूल। पानीमा आहार खोजे पनि बस्न शान्त र झ्याम्म परेको रूखबुट्यान खोज्ने बकुल्लोका यहाँ थरीथरी प्रजाति देखिए। टप्पुमा चरा हेर्न कोसी क्याम्प हुँदै आउने आगन्तुकलाई अनिस बाटो देखाउँछन्। फोटोपत्रकार साथी यात्रा थुलुङ, हिमालयन नेचरसम्बद्ध प्रकाशपुरका भाइहरू सुमन आचार्य र दिनेश घिमिरे साथ थिए। अनिसले यसपटक बकुल्लाका गुँड बढेको सुनाए, 'पोहोरभन्दा केही बढेको छ।'
गत वर्ष रुप्पीको नयाँ प्रजाति 'ह्वाइट सोल्जर स्टारलिङ' थपिएपछि कोसीटप्पुमा पाइएका चराका प्रजातिको संख्या ४९२ पुगेको छ। सबै चरा एकैसाथ एकैनास सबै मौसम र स्थानमा देख्न सम्भव छैन। यस्तै यहाँ बकुल्लाका पनि सबै प्रजाति भने थिएनन्। बकुल्ला मात्रै मुलुकमा हालसम्म १३ थरीका पाइएको हेल्म फिल्ड्स गाइडको पुस्तकमा उल्लेख छ। बकुल्ला समुद्र सतहदेखि ३ हजार ५० मिटरसम्मको उचाइमा पाइन्छन्। त्यसमाथि देखिँदैन। एक हजार मिटरसम्मका उचाइमा भने स्थान विशेषअनुसार सबैथरी बकुल्ला देख्न सकिन्छ।
गाईवस्तुजस्ता चौपायाका अघिपछि हिँड्न मन पराउने, टाउकोमा केही पहेंलो भएको वस्तु बकुल्ला, सुनजस्तो छिर्केमिर्के रंग भएको पर्पल हेरोन भनिने ठूलो अग्लो ध्यानी बकुल्ला, इन्टरमिडिएट इग्रेट भनिने मझौला बकुल्ला थिए। यिनैमा रूपरंगमा सुन्दर ब्ल्याक क्राउन नाइट हेरोन भनिने बाँके बकुल्ला थिए। केही गुँडमा अण्डा छोपेर ओथारो बसेका, केही माछा ल्याई ओकल्दै बचरालाई खान दिदै गरेका, केही काग धपाउँदै र केही रमाउँदै उड्दै गरेका। कागले बकुल्लाका अण्डा र मसिना बचरा सिकार गर्ने रहेछ। त्यो पनि प्रकृतिप्रदत्त चरो। उसको चर्तिकला हेरिरहनबाहेक मान्छले गर्ने केही थिएन।
बकुल्लाले हामीलाई सोझै हानि गर्दैन। तर, यसले गुँड लगाउने ठाउँहरू बिस्टाका कारण फोहोर हुन्छ। यहाँ त्यस्तै भेटियो। उनीहरूलाई बाधा थिएन। कोही कराउने, धपाउने नहुँदा जीउछाडा बनेका यी पन्छीका केही गुँड भुइँबाट दुई/तीन फिट मात्रैको उचाइमा पनि देखियो। यसले मसिना झिक्रा बटुलेर गुँड बनाउने रहेछ। छिट्टो गरी आफैं उड्न परे पखेटाले लागेर कुनै बेला अण्डा, कुनै बेला बचरा तल झर्ने रहेछन्। तल झरेकालाई यसले बोकेर गुँड फिराउन सक्दैन। जति जसरी बाँच्छन् यही प्रकृतिको नियम हो।
माउहरू आहार लिएर आई गुँडमा ओकल्दा त्यसलाई आहार जानेर खाने बचरा नै बढ्ने रहेछन्। बकुल्लो घरपालुवा चरा होइन। त्यसैले यो मान्छेको सम्पर्कमा बस्दैन। हाम्रो टोली देख्दा पनि बकुल्ला गाउँ सतर्क भयो। चार घन्टा बिताए पनि बकुल्ला गाउँको चहलपहल हेरिरहन मन अघाएन। एकतमासको आवाज, हल्ला र बचरा। कतै हाट भर्न पुगेजस्तो भान पर्ने।
टप्पुको चरा घटबढमा अद्यावधिक भइरहने चराविद् डा. हेमसागर बरालका अनुसार सन् १९९४ मा यो क्षेत्रमा २५ हजार ९३ गुँड थिए। सन् १९९६ मा १२ प्रजातिका २५ हजार ७३० गुँड भेटिए। यीमध्ये २१ हजार २५७ वटा गुँडमा बचरा थिए। त्यसपछि चराविद्हरूले गणना नियमित गर्न पाएका छैनन्। 'पहिले ठूलो कोलोनी थियो, कोसीले काट्यो, मौसम परिवर्तन र अर्थोकको असर भयो,' डा. बराल भन्छन्, 'अब फेरि यी ठाउँमा गुँड लगाउने क्रम बढ्दा चरा हेर्न रमाउनेहरू खुसी भएका छन् ।'
***
(कान्तिपुर कोसेलीमा ०६८ असार ३२ गते प्रकाशित)
1 comment:
I enjoyed reading... its very informative !! best of luck for your conservation passion
Post a Comment