Sunday, March 14, 2010

आखिर चल्दो रहेछ


हातमा साना दुई झोला बोकेर विद्यालय परिसर पसेकी महिला बिस्तारै बसिन्। त्यहाँ काम गर्ने एक युवकलाई भनिन्, 'मेरा छोराछोरी बोलाइ दिनुस्न्।' ती युवक बाहिरिए लगतै पाँच वर्षका बालक र सात वर्षकी बालिका आए। दुवै लुटपुटिए। उनले दुवैलाई म्वाइ खाइन। माया गरिन। 

छोरो लुटपुटियो। छोरी केहीबेरमै झोला हेर्न थालिन्। आमालाई सोधिन्, 'हामीलाई के ल्याइदिनुभएको छ ?' उत्तर आयो, 'मालपुवा।' आमाले झोला खोल्दै दिन थालिन्। 'धेरै दिन भएछ छोराछोरी नभेटेको,' उनले भनिन् 'त्यही भएर यिनीहरुलाई नियास्रो लागेको होला।' मोरङको झुर्किया गाविस-८ की यी वसन्तीदेवी गनगाई हुन्। उनले भेटेका नानीहरु १ कक्षामा पढ्ने रुपेश र २ कक्षाकी सिर्जनाकुमारी।
 
यी नानीहरु पढदै रहेको विद्यालय हो - सुनसरीको हाँसपोसा गाविसको भवानीपुरमा पर्ने सहीद स्मृति आवसीय प्राथमिक विद्यालय। नामकै सहीद स्मृति भएपछि यहाँ कस्ता बालबालिका भेला भएका छन् भन्ने अनुमान असहज छैन। कुनै बेलाका शिक्षक सहदेवको सम्झनामात्र बाँकी रहेको सुनाएकी वसन्ती भन्छिन्, 'अब चाहिँ नानीहरुले राम्ररी पढ्छन् की भन्ने लागेको छ।' 

पहाडमा शिक्षण पेसामा रहेका सहदेवलाई बस्न असजिलो भयो। उनले सुनाइन, 'त्यसपछि घर आउनुभो, सरुवा मिलेन। जागिर खान पनि सक्ने स्थिति भएन।' त्यसबेला माओवादी द्वन्द्वले समस्यामा पारेको सहदेवले वसन्तीलाई सुनाएका थिए। 'जुन पार्टीका कार्यकर्ताका कारण पहाडमा बस्न नसक्ने हुनुभएको थियो आजित भएर उहाँ पनि त्यही पार्टीमा लाग्नुभयो,' उनले भनिन्। पार्टीमा लागेको पाँच महिनामा मोरङको कल्याणपुरमा सहदेव सुरक्षा फौजको कार्वाहीमा परे। 

केही भावुक देखिएकी वसन्ती भन्दै गइन्, 'उहाँ त्यस्तो घटनामा परेपछि हाम्रो बिजोक भयो। तर, जीवन जसरी पनि चल्दो रहेछ।' नानीहरुमा पनि मानसिक आघात परेको उनको अनुभव थियो। 'पछि यो स्कुल खुलेको सुनें,' उनले भनिन् 'नानीहरु यहाँ ल्याएर भर्ना गरियो। आफू जसरी गाउँमा थिएँ, त्यसरी नै छु।' नानीहरु विद्यालय हालेका एक महिना बिछोडिएर बस्न असजिलो भए पनि अबका दिन केही सहज भएको उनको भनाइ थियो।

वसन्तीजसरी आफ्ना नानीहरु भेटन आउने अभिभावक यहाँ भइरहन्छन्। नानीहरु फरक भूगोल, भाषा-संस्कृति र परिवेशबाट आएर यहाँ भेला भएका छन्। उनीहरु साथीको भाषा सिक्छन्। आफ्नो सिकाउँछन्। र, साथी बन्छन्। 

२ कक्षाकी सिर्जनालाई स्कुल सुरु-सुरुमा मन परेको थिएन। 'अहिले रमाइलो लाग्छ,' उनले भनिन्, 'अहिले धेरै साथी छन्। यहाँ रमाइलो छ।' समूहमा खाना खानु। आ-आफूलाई तोकिएको ठाउँमा सुत्नु। बिहान उठेर दाँत माझ्नु। समूहमा प्रार्थनामा सहभागी हुनु। पढ्नु-खेल्नु दिनचर्याको रमाइलो दैनिकी भएको बालमस्तिष्कको बुझाइमा पर्छ। उनले भनिन्, 'भाइलाई चाहिँ अलि समय लाग्यो। उसले ममी खोजिरहन्थ्यो। आएकै ६ महिना भइसक्यो अब यहाँ बानी परिसक्यो।' 

बाँस फोरेर प्लाष्टिक बेरी बनाइएको छानो र बाँसकै खाबाखुट्टाको ढाचामा खडा भएको विद्यालयमा सहदेवजस्ता विभिन्न घटनापरि दिवगत धेरैका नानीहरु अहिले कखरा सिकिरहेका छन्। प्रधानाध्यापक रीता फुयाल भन्छिन्, 'हामीसँग अहिले ११० जना नानीहरु छन्।' 

चारकोसे वन क्षेत्रनजिक रहेको यो विद्यालय माओवादी नेतृत्वको सरकारछँदा खुलेको हो। त्यसबेला सरकारले पाँच विकास क्षेत्रमा यस्ता एउटा-एउटा स्कुल चलाउने नीति ल्याएको थियो। नीति ल्याएपछि पूर्वका लागि सुनसरीको हाँसपोसासँगै पोखरा, दाङ, धनगढी र जिरीमा यस्तै विद्यालय खोलिए। 

धरान-इटहरी मार्गको तरहरादेखि पाँच किलोमिटर पश्चिम भवानीपुरमा स्कुल खुल्यो तर, पर्याप्त पूर्वाधार छैन। विद्यालयका कक्षा कोठामा चिहाउने घाम र बग्ने तातो हावा टिठलाग्दो छ। बालबालिका सामूहिक पढाइको अभ्यास मात्र गर्दैनन् खेलकूदमा पनि मिलेर सहभागी भइरहेका देखिन्छन्। सञ्चालक अध्यक्ष राम कोइराला भन्छन्, 'सरकारले दिने अनुदानले पुग्दैन। हामी सहयोग संकलन गरेर स्कुल चलाइरहेका छौँ।' उनका अनुसार सहयोग संकलनकै लागि विद्यालयले पूर्वका विभिन्न सहरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्‍यो। त्यसबाट झण्डै १० लाख रुपैयाँ उठेको छ। 'पर्याप्त होइन, तर सहयोगको क्रम यसले सुरु गरेको हामी मान्छौँ,' उनले भने।

*** 
(२०६६/११/२९ को कान्तिपुर कोसेलीमा )

2 comments:

Unknown said...

भीम दाई, तपाईको यो फिचर सारै भाभुक रहेछ । पढ्दै जादा मन भारी भयो । बास्तवमा माओवादी द्वन्द्वकालमा यस्ता धेरै निर्दोश व्यक्ति सहिद भएका छन् । अब भने नेपालमा कसैले कसैलाई नमारोस् अनि कोही बालबालिका पनि टुहुरा नहुन् । आपसी सद्भाव बढोस् । यही कामना गर्दछु ।

Aakar said...

कोसेली पढ्न छुटाइएको थियो यो पटक !

मार्मिक कथा रहेछ । व्दन्दकाल सँग यस्ता मार्मिक घटनाहरु सुन्दा, मुटु कामेको अनुभव हुन्छ । तर जसले जे को लागि बलिदानी हुनुपर्यो, उनीहरु को सपना त कहिले पुरा हुने भएन, यो फोहोरी राजनिति ले ।

एउटा मार्मिक फिचर को लागि धन्यवाद ! आशा गरौँ, मंगल कामना गरौँ ।