Monday, March 29, 2010

शब्दको खेल


एउटा हुनुपर्नेमा अर्कै भए तीन अक्षरको एउटा शब्दले पनि निकै समस्या पार्दछ। भनाइको अर्थ र मर्म परिवर्तन गर्न सक्दछ। प्रस्तावित नयाँ संविधानको मौलिक हकसम्बन्धी मस्यौदामा यस्तै भएको रहेछ। विराटनगर आएका बेला राष्ट्रिय अपांग महासंघका अध्यक्ष वीरेन्द्रराज पोखरेलले संवैधानिक समितिमा बुझाइएको मौलिक हकसम्बन्धी मस्यौदाको व्याख्यात्मक टिप्पणीमा एउटा शब्दको फेरबदलले अपांगमाथि अन्याय भएको बताए।
 
डेलको ल्यापटप खोलेर त्यसमा पावर प्वाइन्ट प्रेजेन्टेसन गरेका उनले भने, 'सभासदले पनि सच्याएका छैनन्। संविधान पनि त्यस्तो आयो भने ठूलो अन्याय हुन्छ।' मस्यौदामा परेको 'सम्पूर्ण भन्ने शब्द हटाएर 'विविध' भन्ने शब्द राखिदिएमात्र पनि काम पुग्ने उनले बताए। 

मस्यौदा समितिले संवैधानिक समितिमा बुझाएको मौलिक हकको मस्यौदाअन्तर्गत सम्मानपूर्वक बाच्न पाउने हकको व्याख्यात्मक टिप्पणीमा 'आङ्खनो हकअन्तर्गत आफ्नो शरीर र सम्पूर्ण अंग, प्रत्यंगसहित आफ्नो पहिचान र आत्मसम्मान कायम राख्दै सम्मानपूर्वक बाँच्न पाउने हक पर्दछ' भनिएको छ।
 
यहाँ उल्लेखित सम्पूर्ण शब्दले सबैखालका अपांगलाई समेट्न नसक्ने तर्क अध्यक्ष पोखरेलको छ। उनले आफूजस्ता दृष्टिविहीन र एउटा मिर्गौला नभएकाहरु पनि अपांग हुन भने। किन यस्तो भयो भन्ने सोधीखोजीमा जानाजान अंग बेच्नेले पनि सम्मान पाउने भयो भनेर अल्पबुद्धि सभासदले त्यसो गरेका रे।
 
अपांगका अवस्था हेरेर तिनको वर्गीकरण गरिनु उपयुक्त भए पनि संविधानले चाहिँ सबै खालका अपांगलाई समेटनु पर्ने आफूहरुको माग रहेको उनले सुनाए। 

हो, संविधानले सबैलाई अधिकार सम्पन्न बनाउनुपर्छ। शिक्षा, स्वास्थ्य र अवसरमा पहुँच हुनसक्ने अधिकार दिनुपर्छ भन्नेमा दुई मत भेटिन्न। नियम लत्याएर काम गर्नेहरुले देश चलाएका बेला यति जाबो शब्द सच्याउन सभासद किन सकेनन् ? अचम्म छ।
 
मुलुकमा अपांगता भएकाहरुको संख्या ३० लाखको हाराहारीमा छ। उनीहरुका लागि केही त गरेकै बेस हो। गर्नैपर्छ। 

No comments: