Monday, November 28, 2011

दुर्घटनाजस्तै सर्पदंश


काठमाडौंमा धेरै घर छन् । बहालमा बस्ने पनि उतिकै । उपभोग्य आवश्यकताका सवाल जे हुन्, घरबेटीले के रुचाउँदैनन्, डेरामा बस्नेले हेक्का राख्नैपर्छ । शैलेन्द्र बस्नेतका लागि त्यस्तै थियो । 'मलाई रहर लागेर जर्मन शेर्फड कुकुर ल्याएँ,' उनले भने, 'अर्काको घर । बाहिर छाड्न मिलेन । बाँधेर पालियो । विस्तारै त्यो रिसाहा बानीको भयो । कहिलेकाही बाहिर निकाल्दा मलाई पनि नटेर्ने ।' कुकुर उनको नियन्त्रणमै नआउने भएपछि विष दिएर तह लगाउनुको विकल्प भएन । पाल्ने रहर मेटिएन । आठ वर्षपछि विराटनगर-४ मा घर बनाएर आए । फेरि अर्को जर्मन सेफर्ड नै ल्याए । नाम उही पहिलेकैको राखियो - टाइगर । 
'साथीहरूले हेर्न खोजेपछि मैले टाइगर टाइगर भनेर जोडले बोलाए, उ यहीँ ढोकाको कुनामा रहेछ,' उनले भने, 'उठ्यो । भुक्लुक्क ढल्यो । म त के गरौ गरौ भो नि ।' गत असोज २४ गतेको बेलुकी साढे १० बजे बस्नेतको घरमा कुकुरको दसाले सबै आत्तिए । आधा घण्टाअघि त्यसले लामो र मोटो गोमन सर्प मारेको थियो । केहीले सल्लाह दिए- 'पानी खन्याइरहे विषको असर कम हुन्छ । भोली उपचार गराउन सकिन्छ ।' बस्नेत परिवारले त्यही गर्‍यो । चार घण्टापछि टाइगरको अवस्था केही सामान्य भएपनि उ अरूबेला जस्तो चनाखो थिएन ।
घटनाको तीन दिनअघि उनको घर परिसरमा त्यो सर्प देखिएको थियो । गेटबाट बाहिर धपाउन खोज्दा  भागेन । बरु भित्रकै करेसावारीमा लुक्यो । दोस्रो दिन सर्पले घरभित्र पस्न जालीदार झयालबाट चिहायो, सकेन । बाहिर पठाउने उपाय खोज्न शैलेन्द्र मोरङ जिल्ला प्रहरी कार्यालय पुगे । उपाय लागेन । समात्न जान्ने एकजनालाई घरमा ल्याए । फेरि देखिएन । तेस्रो दिन कुकुरले देख्यो, २० मिनेटको लडाइपछि मार्‍यो पनि ।  
डा. गंगाप्रसाद यादव भन्छन् 'झगडा गर्दा त्यो कुकुरले टोकेर उसलाई विषको असर भएको हो । साँपले ठुँगेको होइन । ५ भाइल स्न्टीस्नेक भेनम दिएपछि निको भयो ।' पशु सेवा कार्यालयमा सर्पले घरपालुवालाई टोकेका घटना यदाकदामात्रै आउने भएकाले उपचारका लागि विष प्रतिरोधक खोपको व्यवस्था छैन । 'मेरो जीवनमै यो पहिलो केस हो कुकुरलाई सापको विष लागेर उपचार गर्नुपरेको,' डा. यादव भन्छन् 'यस्तो केसमा धेरै ढिला भए मान्छे बचाउन गाह्रो हुन्छ, जनावरको त कुरै के भो र ।' सर्पको राजा मानिने गोमनले मजैले ठुँगीहाले कुकुर त के विष प्रतिरोध क्षमता अरू जीवमा विरलै होला । 
०००
'भान्साको ढोकाछेउमा देखियो, लामो कालो-कालो छ,' विराटनगर-१६ का कृष्णबहादुर क्षेत्री भन्छन् 'झटपट छिमेकी विष्ट भाइलाई बोलाइयो । उनले समातिहाले । घोर करेत रहेछ ।' सर्प घर वरपर देख्तैमा समातेर तह लगाउन पाइहाल्ने सबै कृष्णबहादुरका परिवारजस्तै भाग्यमानी हुँदैनन् ।
प्रहरीको लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइका हवल्दार प्रेमकुमार विष्ट भन्छन् 'सबै ठाउँ यसरी सजिलै समात्न कहाँ पाइन्छ । दुलामा, झाडीमा हुन्छ कि छानोमा ।' ४४ वर्षीय विष्टले समात्न थालेको केटाकेटीदेखि नै हो । निमाविस्तरसम्ममात्रै पढेका उनलाई सर्पबारे बैज्ञानिकका कुरा थाहा छैन । 'मैले देखेको सर्पले त्यसै टोक्दैन, टोक्ने दुइ अवस्था हुन्छन् - आत्मरक्षा गर्न वा रिसाएर,' उनी भन्छन्, 'धेरै सर्पहरू मान्छे देखेरै डराउँछन् । मार्नै पर्दैन, जान दिए भाग्छन् । तर, मान्छेको बानी मारेरै फाल्छन् ।' समात्दा-समात्दै विष्टको परिचय उनको विभागभित्र मात्र होइन उपमहानगरभरि फराकिलो भएको छ ।' 
बोराको थैलामा हावा आउजाउ गर्न पोलिथिनका पाइपका टुक्रा लगाएर घरमा राखेका तीनवटा सर्प देखाएर उनले भने 'दुइटा गोमन छन् । एउटा घोरकरेत छ । सुरक्षित ठाउँमा लगेर छाडिदिन्छु । प्राणी हुन्, भरसक मार्न हुँदैहुँदैन ।' खोटाङको सिम्पानीमा छँदा बितेको बालापन सम्झेर उनले भने 'साथीहरू साँप मार्थे, म माला लगाउँथे । मज्जा लाग्थ्यो ।' समात्ने साधन छैन । हातैले समात्दा भन्छन् 'ठूलो छ भने पुच्छर समात्ने । त्यसले बेस्सरी बल गर्छ, अनि विस्तारै शिथिल हुन्छ । बल गर्न छाडेपछि तान्ने हो । नठुँगोस् भन्ने चाहि ध्यान पुर्‍याउनुपर्छ ।' 
समात्दा-समात्दै उनले देखेका छन् , आनीबानी प्रजातिपिच्छे फरक छन् । गोमन पछि हट्दैन । मान्छेले हिर्काउन-चलाउन थाले प्रतिकार गर्छ । धामन लोग्नेमान्छेको आवाज सुने भाग्छ । करेत सोझो सर्प हो । घरका छत र काठका ढाँचा खोजेर लुकी बस्छ । ढोडिया भनिने पानी सर्प छिटो टोक्छ र भाग्छ । विष्ट भन्छन् 'डराउनु हुँदैन । झुल लगाएर सुत्नुपर्छ । सुत्नअघि ओच्छ्यान टक्टक्याउने गर्नुपर्छ । धेरै चिसो बेलामा सर्प न्यानो हुने ठाउँ खोज्दै ओच्छ्यानमा पनि लुकेको हुन सक्छ ।' हालसम्म विभिन्न प्रजातिका करीव तीन सय सर्प समातेका विष्ट भन्छन् 'टोकीहाले  आतिनु हुन्न । धेरैपल्ट मान्छे विषभन्दा म मर्ने भए भन्ने हतासले मर्छन् ।' 
०००
झापाको कोरोवारी-२ मा चार वर्षकी बबिता राजवंशीलाई सर्पले टोक्यो । परिवारले औषधोपचारअघि झारफुक गराउन सोही गाउका पदम सतारकहाँ लगे । धुपध्वाँरमा डेढ घण्टा बित्यो । निको भएन । अवस्था बिग्रिएपछि गाउँकै ओमप्रकाश राजवंशीले मोटरसाइकलमा हाले । उपचार केन्द्रतर्फ हुइकिए । बाटामै तिनको ज्यान गयो ।  गत जेठ १७ को घटना सुनाएका दमकस्थित रेडक्रसको सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीको भनाइ विष्टभन्दा कतिपनि फरक छैन । भन्छन् 'हो नि । मान्छे विषभन्दा धेरै हिम्मत हारेर मर्छन् । टोक्नेबित्तिकै उपचारमा लैजान सके बचाउन सकिन्छ ।'
उनी सावधानीका तरिका सुनाउछन् । ठुँगे विरामीलाई खान दिनुहुँदैन । चोटमा चिर्ने-चुस्ने गर्नुहुदैन । हिडाउनु हुँदैन । सपोर्टका लागि हलुका पट्टी लगाएर सकेजति छिटो उपचारमा लैजानुपर्छ ।  दमक केन्द्रमा गत वर्ष उपचारका लागि १ हजार ९४ जना आएका थिए, चालु वर्ष गत साउनयता आएकाको संख्या ६ सय ६७ पुगिसकेको छ । सर्पदंशको उपचारमा आउनेहरू धेरै भएपछि रेडक्रसले तीन वर्षदेखि करीव ६ सय जनालाई मोटरसाइकल स्वयंसेवी तोकेको छ । विरामीलाई केन्द्रमा पुर्‍याउदा यी स्वयंसेवीलाई रेडक्रसले खर्च भएको इन्धन दिन्छ ।   
०००
सन् २००३/०४ को एउटा सर्वेक्षणले मुलुकका २६ जिल्ला सर्प प्रभावित मानेको छ । त्यसमा झापा, चितवन, सुनसरी र मोरङ अग्रणी छन् । पहाडका तुलनामा तराइमा यी सरिसृप बढि पाइन्छन् ।   राजधानीस्थित प्राकृतिक संग्रहालयका सर्पविज्ञ प्राध्यापक करनबहादुर शाह भन्छन् 'सर्पले मान्छेलाई खोजी-खोजी टोक्ने होइन । र, जथाभावी मार्न थालियो भने प्रकृतिको पर्यावरणीय चक्रमा यसको सोझो असर देखिन्छ । मुसा बढ्छन् । मान्छेलाई अन्नले खान पुग्दैन ।'
उनका अनुसार मुलुकमा हालसम्म ७९ प्रजातिका सर्प पाइएका छन् । यिनमा १९ प्रजाति विषालु छन् । विषालुमध्येपनि गोमनका तीन र  करेतका पाँच प्रजाति पाइएका छन् । गोमनले एकपटक उसलाई सजिलो हुनेगरि डस्दा १ सय ५० देखि तीन सय मिलिग्रामसम्म विष फाल्न सक्छ । वयस्क मान्छेको इहलीला सिध्याउन त्यसको १२ मिलिग्रामले नै पुग्छ । करेतले २० मिलिग्राम, गनगुहारीले ५०, रसेल भाइपर (टाटे खैरो) ले  २ सय ५० र राजगोमनले एक सय मिलिग्रामसम्म विष फाल्न सक्छन् । करेत र गनगुहारीको १०/१०, टाटेको ४० र राजगोमनको १२ मिलिग्रामले मात्रै पनि मान्छे मार्न सक्छ । 
धेरैजसो पहाडी क्षेत्रमा पाइने हरेउ सर्पले एकपल्ट डस्दा १४ मिलिग्राम विष फाल्न सक्छ । तर, यसको एक सय मिलिग्रामले मात्रै मान्छे मर्न सक्छ । 'असर हुन विषालु प्रजातिका भए-नभएको र उसले कस्तो अवस्थामा टोकेको हो भन्नेमा पनि भर गर्छ । विषको मात्रा अनुसार त्यसको पुरा असरको अवधि हुन्छ,' प्रा. शाह भन्छन्, 'विषालु छैन भने टोक्दैमा मान्छे मर्ने होइन । विषले स्नायुमा असर गर्छ । कहिलेकाही टोकेका कुनै भाग प्यारालाइसिस हुनसक्छ ।' एकपटक खाएपछि लामो समय नखाइ बस्न सक्ने र चिसो रगत हुने भएकाले वातावरणबाट शरीरको तापक्रम संतुलित बनाउने विशेषता यी सरिसृपका हुन् । सर्पले अण्डा पार्छ । छोपेर बस्दैन । उचित तापक्रम पाएर निस्कने बच्चाहरू बाहिरिदै सिकारी भएर बाँच्छन् । सरदर २० वटा बच्चा निस्किएभने मुश्किलले चार/पाँच वटामात्रै वयस्क हुने भाग्य पाउँछन् । हुर्कदैगर्दा सर्पलाई आहार बनाउने जीव पनि धेरै छन् । 'सबै मांशाहारी हुन्छन् । मुसा, भ्यागुता, चरा, माछा खान्छन् , राजगोमनले चाहि आफुभन्दा साना सर्प नै खान्छ', उनले भने, 'सर्प जसरी मान्छेले खाने हो भने एकैपटकमा ३०/४० केजीको खाना खान्थ्यो होला । सर्पले आफ्नो आकारभन्दा छ/सात गुना ठूलो कुरा खान सक्छ । चपाउने होइन, बिस्तारै सर्लक्क निल्छ ।' देख्यो कि मान्छेले मारिहाल्ने गरेबाट सर्पका प्रजाति संकटमा परिरहेको उनले बताए । 'प्रकृतिले सबैका लागि खानेकुरा अनि त्यसको भूमिका निर्धारण गरिदिएको छ,' उनी भन्छन् 'प्रकृतिमा एउटा जीव लोप हुन्छ भनेपनि त्यसको अभावमा पर्यावरणमा असर पर्छ-पर्छ । यो फोटोमै झट्टै देखाउन मिल्दैन, असर क्रमिक देखिन्छ ।' 
०००
'ओहो, त्यो बेला सम्झँदा त मन ढक्क फुल्छ,' डा. सञ्जीवकुमार शर्मा भन्छन् 'कल्पना गर्नुस् त एउटा मान्छेलाई सयौं साँप भएको डिब्बाजस्तो कोठाभित्र पठाइयो ।' तीन वर्षअघि तीन दिने एउटा तालिमको दौरान अष्ट्रेलियाको एलाइड विश्वविद्यालयमा आफुले पार गरेको एउटा चरण उनले बताए । 'विशेष खालको लुगा लगाएर पसेपछि हामीलाई कसरी टोकाइबाट जोगिने भन्ने सिकाइएको थियो,' उनले भने, 'स्थिर भएर उभिइरहे सर्पले केही गर्दैन । हामीले सर्पको नेचर बुझन गर्ने प्राक्टिकलमध्येको त्यो एउटा विधि रहेछ ।' डा. शर्मा हाल चितवनको भरतपुर, झापाको दमक र चारआलीमा सञ्चालित सर्पदंश उपचार केन्द्रका लागि अनुगमनको काम गर्छन् । यी केन्द्रलाई बेलायत, स्वीटजरल्याण्ड र जर्मन परियोजनाले एन्टीस्नेक भेनम उपलब्ध गराउन सहयोग गरेका छन् । उनको काम शोधमा आधारीत छ । भन्छन् 'सन् २००१ मा पूर्वका १० वटा अस्पतालमा गरेको अनुसन्धानमा सर्पले टोकेका ९८ जनाको मृत्यु भएको तथ्यांक भेटिएको थियो । अवस्था फेरियो, अहिले सयमा कम्तीमा तीनजना मर्छन् ।' 
सर्पदंशको उपचारका दुइ विधि छन् । टोकेको सर्प चिनेर त्यसको विष प्रतिरोध गर्ने मोनो भाइलेन्ट र जुनसुकैले टोकेपनि सबैलाई उपयोगी हुने पोली भाइलेन्ट खोप विधि । 'हामी अझै परम्परागत चरणमै छौ, हामी पोली भाइलेन्ट विधिबाटै उपचार गर्छौ,' उनले बताए, 'विकसित देशहरूमा भने मोनो भाइलेन्ट विधि उपयोग गर्ने गरिन्छ ।' सर्पदंशलाई सामान्य समस्या ठानेर सरकारले विशेष कार्यक्रमभित्र नपारेको उनको गुनासो छ ।
 विष प्रतिरोधका लागि उपयोग गरिने खोपमा पनि विषको मात्रा हुन्छ । हामीकहाँ भारतमा निर्मित खोप उपयोग गरिन्छ । कारण दुइ देशको भौगोलिक अवस्था उस्तै भएकाले पाइने सर्पका प्रजाति पनि उस्तै हुनु हो । बजारमा किन्दा महँगो हुने भएकाले सरकारले विषविरूद्धको खोप निश्चित अस्पताल र उपचार केन्द्रलाई वर्षेनी उपलब्ध गराउने गरेको छ । 
विराटनगरस्थित क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साह भन्छन् 'अहिले पूर्वको १६ जिल्लामध्ये कम्प्लीकेसन  रहेका केस धरानको वीपी प्रतिष्ठान पुग्छ । स्वास्थ्य मंत्रालयमार्फत आएर हामीले उपलब्ध गराउने एन्टीस्नेक भेनम अस्पताल, आवश्यकता र उपयोगिता हेरेर वितरण गर्छौ ।' उनका अनुसार मेची, कोशी र सगरमाथाका अस्पताल र उपचार केन्द्रलाई २०६६/६७ मा ७ हजार ९३, २०६७/६८ मा ६ हजार ६ सय र गत साउनयता हालसम्म ३ हजार ६ सय ३५ भाइल एन्टीस्नेक भेनम उपलब्ध गराइएको छ । 'पहिले-पहिलेभन्दा उपचार अहिले धेरै सजिलो भएको छ,' प्रमुख साहले भने, 'तर, साँपले टोक्नु दुर्घटना भएजस्तै त हो ।'
 (३ मंसिर ०६८ शनिवार कान्तिपुर कोसेलीमा प्रकाशित यो सामाग्रीका सम्पादनअघिको लेखोट ब्लगमा समावेश गरिएको छ ।)