Tuesday, August 19, 2014

विराटनगरको रथयात्रा गौरव

आज मंगलवार ३ भदौ २०७० । माथिको तस्विर छापिएको टुक्रो आजको कान्तिपुर दैनिकको पूर्वाञ्चल पाताबाट साभार हो । पत्रकारिता पेशाको १६ वर्षमा मेरो ४/५ वर्ष मोरङ बाहिर बित्यो । ती बेला यसरी रथयात्रा हेर्न पाइएन । 
अौध्योगिक नगरी भनिने विराटनगरमा राधाकृष्ण रथयात्रा मात्रै यस्तो पर्व हो, जसलाई हेर्न टाढा टाढाबाट मान्छेका भीड जुट्छ । सामान्यत जोसुकै हिन्दुले राधाकृष्ण पुजेपनि कृष्ण प्रणामीका लागि पूजा अलि विशेष छ । तर, यो रथयात्रालाई उपमहानगरले आफ्नो गौरव बनाएको छ ।
विराटनगर छाडेकाहरुले यो दिन सम्झन्छन् । यहाँको होली र लक्ष्मीपूजा सम्झन्छन् । राजनीतिका ढुसी परेका इतिहास अोल्टाइ पल्टाइ केलाउने जमातले महत्व दिने कुरो होइन यहाँका पर्व । रथयात्रा आफैमा अनुपम छ भन्ने हेर्नेले बढी नजिकबाट बुझ्छन् । 
साता दस दिनअघिदेखिको तयारी । नगरका चोक चोकमा पानी र सर्बत बाँड्नेको होड । थरि थरिका झाँकी । लोकनाचका टोलीको आआफ्नो ताल र प्रस्तुती । सडक छेउछाउ आइपुग्ने जुलेबी, समोसा र छोलाका पसल । आफैंमा अनुपम लाग्छ यो पर्व । 
सञ्चारकर्मको मेलो सुरू गरेपछि आम दर्शक हुन पाइने स्वतन्त्रता गुम्यो । रथयात्रा कुनै चोक वा घरको माथिल्लो तलामा बसेर हेरिन्थ्यो । अब रथकै अघिपछि कुदिन्छ । अनि फोटो कताबाट राम्रो आउला भन्ने ध्यान हुन्छ । 
रथ बनाएर नगर घुमाउन थालेको यो पल्ट ४७ वर्ष पुगेछ । मैले रथयात्राका बारेमा लेखेर छापिएको सामाग्री यो ब्लगमा यसअघि पनि राखेको छु । यो विराटनगर पर्वलाई आफैंले काम गर्ने पत्रिकामा भने मैले कहिल्यै सन्तोक हुने कभरेज दिलाउन नसकेको जस्तो लाग्छ । पोखरियाको मन्दिरबाट रथ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट साँझ ४ बजे निस्कन्छ । ४२ स्थानमा छोटो छोटो स्टोपेजपछि साँढे ७ किलोमिटरको परिक्रमा बेलुकी करिब ८ बजे समापन हुन्छ । 
यसको कभरेजमा धेरै तनाव हुन्छ । धेरै भीड । कताबाट फोटो राम्रो बन्छ । यात्रा समापन नहुञ्जेल कुनै अप्रिय घटना हुने हो की ! अफिस आएर फोटो कम्प्युटरमा सार्दा त्यो बेला लखतरान परिएको हुन्छ । तैपनि काम गरिन्छ । बिहान अखबार हेर्दा छापिएको हुँदैन । एकपल्ट नछापिएपछि क्रुद्ध पाठकहरूले काठमाडौं फोन गरेछन् । पर्सिपल्ट श्यामश्वेत पेजमा छापिएर गाल टरेको थियो । 
धेरैले बुझ्दैनन् । अखबारको सम्पादन डेस्कका कुरा । संवाददाताले नै काम नगरेको भन्ठान्छन् । हामी काठमाडौंका पर्व र जात्रा प्रमुखतासाथ छापिएको हेर्दै पढ्दै आएका छौं । निर्णायक ठाउँमा काठमाडौंका मुल रैथाने छैनन् । त्यसैले उनीहरूले आफ्नो पर्व जात्रा छाडेर अन्य ठाउँका पाखा लाउँछन् भन्न मिल्दैन । तैपनि बुझाइ कहाँनेर नमिलेको हो भन्ने अनौठो लाग्छ ।
कान्तिपुरमै छँदा एकपल्ट चन्द्र दाइ (चन्द्रशेखर कार्की) रथयात्राकै बेला विराटनगर आएका थिए । मैले 'म त हैरान छु, यत्रो ठूलो जस्तो लाग्ने यात्राको फोटोले पत्रिकामा ठाउँ पाउँदैन । लु तपाइ खिच्नुस् । आयो भने मेरा लागि गाल टर्छ' भनेको थिएँ । त्यो बेला पनि फोटो छापिएन । त्यसपछि मलाइ आफूले खिचेको नछापिँदा पनि नमज्जा लाग्न छाड्यो । अब स्थिति सामान्यीकरण भएको अवस्था छ । छापे छाप्छन् । नछापे जे होला होला जस्तो लाग्छ । काठमाडौंमा यस्तै केही भए हामीले कत्रो कभरेज हेर्नु पर्छ । मधेस आन्दोलनको सन्दर्भ पनि केही यस्तै लाग्छ बेला बेला । खाल्डो बाहिर हामी जे देख्छौ, भोग्छौं त्यो हाम्रा लागि मात्रै ठूला कुरा हुन् । जे हुनु छ त्यो खाल्डोमै हुनुपर्छ ।
पत्रिका त पत्रिका नै हुन्, उनीहरूले समाचारको तौललाई नापजोख गर्छन् । मुलुकभरका दिमागमा दिनुपर्ने तौलको आकार निर्धारण गरिदिन्छन् । अनलाइनहरू पनि उस्तै रोगले ग्रसित छन् । नेतालाई हाच्छ्युँ आए फ्ल्यास न्युज चल्छ ।  
पछिल्ला केही वर्षयता क्षेत्रीय पृष्ठमा रथयात्राका तस्बिर छापिन्छन् । यसरी छापिन पनि हामीले दिउँसै 'विराटनगरको धेरै मान्छे भेला हुने जात्रा हो है' भन्नै पर्छ । भनिन्छ पनि । तैपनि कता कता नमज्जा लाग्छ । नमिठा खबरमा आधारीत कुरो मात्रै बिकाउ हुने हुन् की ! तिनले मात्रै प्रमुखता पाउनु पर्ने हो की ! छनोटको तरिका हेरेर छक्क लाग्छ ।  
यसको कभरेजको तरिका बुझिएन की, यसलाई हुनुपर्नेभन्दा बढी महत्व दिएर बसिएको छ की, न्युज भ्यालु कम्ती भएको कुरो परो कि वा काठमाडौं केन्द्रित हेराइको दोष हो ? रनभुल्ल परिन्छ । तैपनि काम गरिन्छ । गरिएको छ । 

Thursday, August 14, 2014

साक्षी बसेका दम्पत्ति हत्या

अभिभावक मारिएपछि विराटनगर ल्याइएका नावालकलाई मैले भेट्न पाएको थिएँ । त्यसबेला उनीहरूको समाचार पनि लेखियो ।  पछि के के भए फलोअप छुटेछ ।
भर्खर पछिल्लोपटक सप्तरीको महुलीमा चुरेमा पर्ने सामुदायिक वनको खबर बुझ्न जाने काम परेको थियो । मलाई ती दम्पति हत्याको घटना सम्झना भयो । घटनाको चुरो कुरो त्यो बेला थाहा भयो । डम्बर भट्टराईलाई नजिकबाट चिन्नेले घटनाको बिस्तार बताए । उनको नकाम छिमेकीलाई न्यायिक निकायमा पहलका लागि मद्दत गर्नु रहेछ । जसलाई सहयोग गरेका थिए, उनको हत्यामा उनीहरूको पनि संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको रहेछ ।
मारिएको घटना लेखे पनि साथीहरूले त्यसको फलोअप लेखेको थाहा थिएन । त्यसै पनि हामी चट्याङ् परेजस्ता समाचार लेख्न बानी परेका छौ । एकपल्ट लेख्यो, फलोअप ध्यानमै रहँदैन ।
विराटनगर फिरेपछि सप्तरीका साथी जितेन्द्र खडगालाई यो घटनाको फलोअप लेखौं भने । उनले मेरो प्रस्ताव माने । सकेको खोजी लेखिपठाए । आफूले भेटेका तथ्य पनि जोडेपछि समाचार तयार भयो । जो यसरी दुवैको बाइलाइनमा प्रकाशित भयो -

सप्तरीको जण्डोल-२ मा एक दम्पतिको हत्याको कारण उनीहरू एउटा घटनाका प्रत्यक्षदर्शी भएकाले हो भन्ने निश्कर्षमा प्रहरी पुगेको छ । २०६९ पुस १७ मा ३६ वर्षीय डम्बर भट्टराई र उनकी पत्नी कौशल्याको हत्या भयो । घटनापछि उनीहरूका नाबालक दुई छोरा र एक छोरी अन्यत्रै शरणमा पुगेका छन् ।
प्रहरी अनुसन्धानबाट खुलेको तथ्यअनुसार डम्बरका छिमेकी दुलारीदेवी १६ साउन २०६८ मा बलात्कार घटनाको सिकार भएकी थिइन । रामचलितर यादवले बलात्कार गरेको डम्बरले देखेका थिए । न्यायिक उपचारका लागि सघाउन अघि सरे । दुलारीसँगै प्रहरी चौकी गए । उजुरी हाल्न लगाए । अदालतमा दुलारीका तर्फबाट साक्षीको बकपत्र पनि गरे । माओवादी पार्टीमा आबद्ध रहेकाले यादवको मुक्तिका लागि निकै पहल भयो । पक्राउको आठ महिनापछि उनी छुटे ।

त्यही घटनाको प्रतिशोध लिन यादवले अरू ६ जनाको सहयोगमा नियोजित तरिकाले भट्टराई दम्पतिको हत्या गरे । भट्टराई दम्पति हत्याको घटना सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशित भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो नै दोषी पत्ता लगाउन परिचालित भयो ।
दुर्भाग्यवश मृतक डम्बरले जसको न्यायका लागि साक्षी बसिदिएर मुद्दा गर्न सघाएका थिए, उनै बलात्कारपीडित दुलारीदेवी र उनका श्रीमान धिरेन्द्र साहको पनि दम्पत्ति हत्यामा संलग्न रहेको  अनुसन्धानबाट खुलेको छ । दुलारीदेवीले अदालतमा रामचलितरविरुद्ध जबरजस्ती करणीको मुद्दा दिएपनि पछि आएर उनीहरुबीच मेलमिलाप भएको थियो । आफूले जसको न्यायका लागि पहल गरियो उनीहरू नै बलात्कारीसँग मिलेको देखेपछि डम्बर रिसाएका थिए । दुई छिमेकीबीच यही विषयमा सम्बन्ध चिसिएको थियो ।
भट्टराइ दम्पतिको हत्याले कसलाई फाइदा पुग्छ भन्ने विषयबाट सप्तरीका तत्कालीन प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले अनुसन्धान थालेका थिए । त्यस क्रममा एसपी बस्नेतले रामचलितरमाथि यसअघि नै दुईवटा बलात्कारसम्बन्धी उजुरी रहेको फेला पारेका थिए । दुलारीदेवीको उजुरीमा डम्बरले अदालतमा बयान दिएर यादवलाई कारबाही गराउन सहयोग गरेको देखेपछि त्यस कोणबाट अनुसन्धान अघि बढेको थियो ।
भट्टराई दम्पत्ति हत्याको  चार दिनपछि यादवको सप्तरी जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दाको पेशी थियो । उनी उपस्थित भएनन् । प्रहरीको शंका अझ मजबुत भयो । घटनाको १२ दिनपछि मुख्य अभियुक्त रामचलितर यादवलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गर्‍यो । त्यसबेला सप्तरी प्रहरीले यादव मुख्य योजनाकार भएपनि उनलाई दुलारीदेवी साह र उनका श्रीमान धिरेन्द्र साहसहित आठजनाले सघाएको बताएको थियो ।
पछि प्रहरीले रामचलितर, दुलारीदेवी साह र धिरेन्द्र साहलगायत तीनजनाविरुद्धमात्रै मुद्दा चलाएको अदालतको मिसिलबाट देखिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेकी कमलपुर-६ की निरोदेवी चौधरीले दिएको बयानका आधारमा प्रहरीले सुनसरीको इटहरीबाट मुख्य अभियुक्त रामचलितरलाई पक्राउ गरेको मिसिलमा उल्लेख छ । 'हामीले रामचलितरको मोबाइलको कल ट्रेस गरेका थियौ', एस्पी बस्नेतले भने 'दिनको २/३ पल्ट रेगुलर कुरा भइरहन्थ्यो । त्यो चौधरीको भन्ने खुलेपछि त्यसलाई ल्याएर बयान लिएपछि यादव लुकेको ठाउँ पत्ता लाग्यो ।'  
पुर्पक्षका लागि थुनामा पठाइएका दुईसहित तीनै जनाको हकमा सप्तरी जिल्ला अदालतले गत जेठ २८ मा फैसला सुनाएको हो । घटनालगतै नियन्त्रणमा लिइएका दुलारीदेवीसँग प्रहरीले बयान लिएर तारेखमा छाडिदिएको थियो । रामचलितर यादव र धिरेन्द्र साहलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको स्रेस्तेदार नवराज दुलालले बताए । उनले भने 'फरार रहेकी दुलारीदेवीका हकमा दुई वर्ष कैदको फैसला भएको छ ।'
घटनालगतै अदालतले पक्राउ पुर्जी जारी गरेमध्येका रामचलितर र दुलारी पक्राउ परे । साह फरार भए । पछि उनले २०७० जेठ ६ मा जिल्ला अदालतमा आत्मसमर्पण गरे । उनलाई तत्कालै न्यायाधीश इश्वरराज आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्‍यो । यादव र साह अहिले कारागारमा छन् ।
यसरी भयो हत्या
डम्बरका १३ वर्षीय छोरा दीपेशका अनुसार महुली खोला किनार नहरको पालेघर र सँगै बनाएका गोठमा मध्यरात हत्याको घटना भएको थियो । त्यसरात पालेघरमा तीन बालबालिका र सँगैको गोठमा  भट्टराई दम्पति सुतेका थिए । ७/८ जनाको संख्यामा रहेकाको समूह आएर पहिले केटाकेटी सुतेका कोठाको चुकुल बाहिरबाट लगाइदियो । आँगनको चिम फुटायो । भित्रैबाट चिहाएका बालबालिका डरले कराउन सकेनन् ।
उनीहरूले समात्दा भाग्न खोजेका डम्बरलाई आँगनमा लडाए । डोरीले हात बाँधे । कौशल्याको टाउको गम्छा बेरेर घाटी थिचे । डम्बरलाई कुटेर मारे । दुवैको हत्यापछि उक्त समूहले केटाकेटी सुतेको कोठाको चुकुल खोलिदिएर हिडे । घटनाको अनुसन्धानका क्रममा सात/आठजनाको संलग्नता बताएको प्रहरीले तीनजनाभन्दा बढिलाई पक्राउ गरेन । न त उनीहरूको खोजी नै गर्‍यो । तीनजनाबाहेक मिसिलमा कतै अरूको नाम नभएको अदालतका स्रेस्तेदार दुलालले बताए ।
परिवार छिन्नभिन्न
घटनापछि भट्टराई दम्पतिका १३ र ७ वर्षका छोरा र ११ वर्षीया छोरीलाई विराटनगरको मधुमारामा आफन्त भक्तिप्रसाद भट्टराईकहाँ ल्याइएको थियो । १३ वर्षीय दीपेशले क्रियाकर्म गरेपछि उनको भाइ दीनेशलाई राजधानीका एक चिकित्सकले छोरा बनाएर लगे । छोरीलाई भक्तिले राखे । दीपेश धरानमा कृष्णप्रणामी शिक्षा लिइरहेका छन् ।

उनीहरूको महुलीको गोठ र घडेरी आफन्तले बिक्री गरिदिए । 'त्यो घटनाले परिवार सबै छिन्नभिन्न भयो', भक्तिप्रसादले भने, 'अब हामी ती कुरा सम्झनुभन्दा पनि केटाकेटीको उचित शिक्षादीक्षा कसरी हुन्छ । उनीहरूलाई त्यो दर्दनाक घटना सम्झनु नपर्ने कसरी हुन्छ भन्ने सोच्छौ ।' छिमेकीलाई परेको अन्यायमा न्याय दिलाउन अघिसर्दा भएको घटनापछि साक्षी वा उजुरी दिन सघाउनेलाई सुरक्षा दिन प्रहरीको ध्यान पुग्नुपर्ने उनले बताए । 


(कान्तिपुरमा २०७१ साउन १० मा प्रकाशित)
यो पनि पढौं - नावालक र नियति