अभिभावक मारिएपछि विराटनगर ल्याइएका नाबालकलाई मैले भेट्न पाएको थिएँ । त्यसबेला उनीहरूको समाचार पनि लेखियो । पछि के के भए फलोअप छुटेछ ।
भर्खर पछिल्लोपटक सप्तरीको महुलीमा चुरेमा पर्ने सामुदायिक वनको खबर बुझ्न जाने काम परेको थियो । मलाई ती दम्पति हत्याको घटना सम्झना भयो । घटनाको चुरो कुरो त्यो बेला थाहा भयो । डम्बर भट्टराईलाई नजिकबाट चिन्नेले घटनाको बिस्तार बताए । उनको नकाम छिमेकीलाई न्यायिक निकायमा पहलका लागि मद्दत गर्नु रहेछ । जसलाई सहयोग गरेका थिए, उनको हत्यामा उनीहरूको पनि संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको रहेछ ।
मारिएको घटना लेखे पनि साथीहरूले त्यसको फलोअप लेखेको थाहा थिएन । त्यसै पनि हामी चट्याङ् परेजस्ता समाचार लेख्न बानी परेका छौ । एकपल्ट लेख्यो, फलोअप ध्यानमै रहँदैन ।
विराटनगर फिरेपछि सप्तरीका साथी जितेन्द्र खडगालाई यो घटनाको फलोअप लेखौं भने । उनले मेरो प्रस्ताव माने । सकेको खोजी लेखिपठाए । आफूले भेटेका तथ्य पनि जोडेपछि समाचार तयार भयो । जो यसरी दुवैको बाइलाइनमा प्रकाशित भयो -
***
सप्तरीको जण्डोल-२ मा एक दम्पतिको हत्याको कारण उनीहरू एउटा घटनाका
प्रत्यक्षदर्शी भएकाले हो भन्ने निश्कर्षमा प्रहरी पुगेको छ । २०६९ पुस १७ मा ३६
वर्षीय डम्बर भट्टराई र उनकी पत्नी कौशल्याको हत्या भयो । घटनापछि उनीहरूका नाबालक
दुई छोरा र एक छोरी अन्यत्रै शरणमा पुगेका छन् ।
त्यही घटनाको प्रतिशोध लिन
यादवले अरू ६ जनाको सहयोगमा नियोजित तरिकाले भट्टराई दम्पतीको हत्या गरे । हत्याको घटना सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशित भएपछि प्रहरीको
केन्द्रीय अनुसन्धान ब्यूरो नै दोषी पत्ता लगाउन परिचालित भयो ।
दुर्भाग्यवश मृतक डम्बरले
जसको न्यायका लागि साक्षी बसिदिएर मुद्दा गर्न सघाएका थिए, उनै बलात्कारपीडित दुलारीदेवी
र उनका श्रीमान धीरेन्द्र साहको पनि दम्पती हत्यामा संलग्न रहेको
अनुसन्धानबाट
खुलेको छ । दुलारीदेवीले अदालतमा रामचलितरविरुद्ध जबरजस्ती करणीको मुद्दा दिए पनि
पछि आएर उनीहरुबीच मेलमिलाप भएको थियो । आफूले जसको न्यायका लागि पहल गरियो उनीहरू
नै बलात्कारीसँग मिलेको देखेपछि डम्बर रिसाएका थिए । दुई छिमेकीबीच यही विषयमा
सम्बन्ध चिसिएको थियो ।
भट्टराई दम्पतीको हत्याले
कसलाई फाइदा पुग्छ भन्ने विषयबाट सप्तरीका तत्कालीन प्रहरी प्रमुख एसपी सञ्जयसिंह
बस्नेतले अनुसन्धान थालेका थिए । त्यस क्रममा एसपी बस्नेतले रामचलितरमाथि यसअघि नै
दुईवटा बलात्कारसम्बन्धी उजुरी रहेको फेला पारेका थिए । दुलारीदेवीको उजुरीमा
डम्बरले अदालतमा बयान दिएर यादवलाई कारबाही गराउन सहयोग गरेको देखेपछि त्यस कोणबाट
अनुसन्धान अघि बढेको थियो ।
भट्टराई दम्पती हत्याको
चार
दिनपछि यादवको सप्तरी जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दाको पेसी थियो । उनी
उपस्थित भएनन् । प्रहरीको शंका अझ मजबुत भयो । घटनाको १२ दिनपछि मुख्य अभियुक्त
रामचलितर यादवलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गर्यो । त्यसबेला सप्तरी
प्रहरीले यादव मुख्य योजनाकार भए पनि उनलाई दुलारीदेवी साह र उनका श्रीमान धीरेन्द्र
साहसहित आठ जनाले सघाएको बताएको थियो ।
पछि प्रहरीले रामचलितर, दुलारीदेवी र धीरेन्द्र
साहलगायत तीनजनाविरुद्ध मात्रै मुद्दा चलाएको अदालतको मिसिलबाट देखिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेकी कमलपुर-६ की निरोदेवी चौधरीले दिएको बयानका
आधारमा प्रहरीले सुनसरीको इटहरीबाट मुख्य अभियुक्त रामचलितरलाई पक्राउ गरेको
मिसिलमा उल्लेख छ । 'हामीले
रामचलितरको मोबाइलको कल ट्रेस गरेका थियौ', एसपी बस्नेतले भने 'दिनको २/३ पल्ट रेगुलर कुरा
भइरहन्थ्यो । त्यो चौधरीको भन्ने खुलेपछि त्यसलाई ल्याएर बयान लिएपछि यादव लुकेको
ठाउँ पत्ता लाग्यो ।'
पुर्पक्षका लागि थुनामा
पठाइएका दुईसहित तीनै जनाको हकमा सप्तरी जिल्ला अदालतले गत जेठ २८ मा फैसला
सुनाएको हो । घटनालगतै नियन्त्रणमा लिइएका दुलारीदेवीसँग प्रहरीले बयान लिएर
तारेखमा छाडिदिएको थियो । रामचलितर यादव र धीरेन्द्र साहलाई सर्वस्वसहित जन्मकैदको
फैसला भएको स्रेस्तेदार नवराज दुलालले बताए । उनले भने 'फरार रहेकी दुलारीदेवीका हकमा
दुई वर्ष कैदको फैसला भएको छ ।'
घटनालगतै अदालतले पक्राउ
पुर्जी जारी गरेमध्येका रामचलितर र दुलारी पक्राउ परे । साह फरार भए । पछि उनले
२०७० जेठ ६ मा जिल्ला अदालतमा आत्मसमर्पण गरे । उनलाई तत्कालै न्यायाधीश ईश्वरराज
आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्यो । यादव र साह अहिले
कारागारमा छन् ।
यसरी भयो हत्या

त्यसरात पालेघरमा तीन बालबालिका र सँगैको गोठमा
भट्टराई
दम्पती सुतेका थिए । ७/८ जनाको संख्यामा रहेकाको समूह आएर पहिले केटाकेटी सुतेका
कोठाको चुकुल बाहिरबाट लगाइदियो । आँगनको चिम फुटायो । भित्रैबाट चिहाएका
बालबालिका डरले कराउन सकेनन् ।
उनीहरूले समात्दा भाग्न
खोजेका डम्बरलाई आँगनमा लडाए । डोरीले हात बाँधे । कौशल्याको टाउको गम्छा बेरेर
घाँटी थिचे । डम्बरलाई कुटेर मारे । दुवैको हत्यापछि उक्त समूहले केटाकेटी सुतेको
कोठाको चुकुल खोलिदिएर हिडे । घटनाको अनुसन्धानका क्रममा सात/आठजनाको संलग्नता
बताएको प्रहरीले तीन जनाभन्दा बढीलाई पक्राउ गरेन । न त उनीहरूको खोजी नै गर्यो ।
तीन जनाबाहेक मिसिलमा कतै अरूको नाम नभएको अदालतका स्रेस्तेदार दुलालले बताए ।
परिवार छिन्नभिन्न
घटनापछि भट्टराई दम्पतिका १३
र ७ वर्षका छोरा र ११ वर्षीया छोरीलाई विराटनगरको मधुमारामा आफन्त भक्तिप्रसाद
भट्टराईकहाँ ल्याइएको थियो । १३ वर्षीय दीपेशले क्रियाकर्म गरेपछि उनको भाइ
दीनेशलाई राजधानीका एक चिकित्सकले छोरा बनाएर लगे । छोरीलाई भक्तिले राखे । दीपेश
धरानमा कृष्णप्रणामी शिक्षा लिइरहेका छन् ।
उनीहरूको महुलीको गोठ र घडेरी
आफन्तले बिक्री गरिदिए । 'त्यो
घटनाले परिवार सबै छिन्नभिन्न भयो,' भक्तिप्रसादले भने, 'अब हामी ती कुरा सम्झनुभन्दा
पनि केटाकेटीको उचित शिक्षादीक्षा कसरी हुन्छ । उनीहरूलाई त्यो दर्दनाक घटना
सम्झनु नपर्ने कसरी हुन्छ भन्ने सोच्छौ ।' छिमेकीलाई परेको अन्यायमा
न्याय दिलाउन अघिसर्दा भएको घटनापछि साक्षी वा उजुरी दिन सघाउनेलाई सुरक्षा दिन
प्रहरीको ध्यान पुग्नुपर्ने उनले बताए ।
***
(कान्तिपुरमा २०७१/४/१० मा प्रकाशित)
यो पनि पढौं - नाबालक र नियति
No comments:
Post a Comment