Thursday, July 24, 2014

रहरका रेडियो

सूचना र मनोरञ्जनको सहज माध्यम रेडियोको पहुँच सञ्चारमाध्यममध्ये सबैभन्दा बढी छ। प्रजातन्त्र पुनःस्थापनापछि निजी क्षेत्रमा एफएम रेडियो खुल्ने क्रम बढेसँगै यसका स्रोता पनि ह्वात्तै बढेका हुन्। खासगरी रहरैरहरमा खोलिएका एफएमहरूमा कुशल व्यवस्थापन अभावका कारण समस्या छन्। आम्दानीको स्रोत सीमित भएकाले आर्थिक संकट झेलिरहेका छन्। 

एकसमय कान्तिपुर एफएमका कार्यक्रममा पूर्वबाट रामभरोस चुलबुलेका नाममा अत्यधिक फोन गर्ने विराटनगरका पंकजहरि शर्मालाई एफएमकर्मीहरूसँगको भेटघाटले रेडियो खोल्ने रहर लाग्यो। पाञ्चालीस्थित घरैमा 'हेलो' एफएम खोले। एक वर्ष चलाएपछि बेचे। 

'रेडियो चलाउन रहरले नहुने। योजना चाहिने, टिम चाहिने र आम्दानी दिगो बनाउन धेरै खट्नुपर्ने हुने रहेछ,' उनले भने, 'बेचिहालियो। फेरि अर्को त्यस्तै योजनामा छु।' २००७ सालमै क्रान्ति गीत प्रसारण गरेर रेडियो बजेको उपमहानगरमा हाल १० वटा एफएम छन्। 

धेरैको सञ्चालन सुरुवातका कथा पंकजसँग मिल्दाजुल्दा छन्। रेडियो पूर्वेली आवाजका स्टेशन मेनेजर विक्रम लुइटेल भन्छन्, 'मोरङमा १७ वटा पुगिसके। केहीको अवस्था नाजुकै छ।' २०५६ मा खुलेको यहाँको पहिलो रेडियो कोशी एफएमबाट छुट्टिएका सन्देशदास श्रेष्ठले 'बीएफएम' सञ्चालनमा ल्याए। 

उनी भन्छन्, 'मेरो चलाउने तरिका अलि फरक छ। बजार र रेट बिगारेर विज्ञापन लिनै हुन्न। आफ्नो अडान राखे बजार बन्दै आउँछ भन्ने हामीले गरेर देखाएका छौँ।' बजार व्यवस्थापन चुस्त हुन नसकेका केही एफएम रहरका मात्रै छन्। भरपर्दो आम्दानी नभएर विद्युत, घरबहाल, कर्मचारी खर्च पुर्‍याउन संकट छ।

अस्वस्थ प्रतिष्पर्धा 
पाँचथर- २०६४ मा सुम्हालुङ एफएम स्थापित हुन नपाउँदै केही व्यवसायीले अर्को खोल्ने सोच बनाए । कारण थियो- सुम्हालुङको शेयर खरिद गर्न नपाउनु। त्यसबेला सुम्हालुङको 'लिम्बुवान' को क्षेत्रीय राजनीतिबारे बढी प्राथमिकता थियो। 'सन्तुलित समाचार अभावमा व्यवसायिक रेडियोले जन्म लिएको हो' सिंहलीला एफएमका तत्कालीन स्टेशन मेनेजर तुलसी थापाले भने, 'हामी लगानीकर्ताले पैसा थप्दै चलाउँदै छौं । लगानी उठोस् नउठोस् जेनतेन चल्दिए हुन्थ्यो ।' फिदिममा  तीनवटा एफएम छन् ।

सञ्चालकबीच बेमेल, टिमवर्क अभाव, कमजोर व्यवस्थापन, दक्ष जनशक्ति कमी, विज्ञापनको सीमितता र अस्वस्थ प्रतिस्पर्धाजस्ता कारण संकटमा छन्। प्रायः एकैखाले समस्यामा गुज्रिरहेका रेडियोहरूमा महसुल बुझाउन नसक्दा पटक-पटक टेलिफोन र बिजुली काटिने समस्या छ। उपकरण बिग्रिए हप्तौं बन्द पनि हुन्छन्। धेरै गीति र 'फोनइन' कार्यक्रम चलाउने गरेका रेडियोले इन्टरनेटको सहारामा स्थानीयभन्दा बढी राष्ट्रिय समाचार प्रसारण गर्छन्।

'स्थानीय समस्या र सन्दर्भमा पर्याप्त कार्यक्रम छैनन्। सुन्ने कि नसुन्ने भन्ने हुन्छ,' गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष बालकृष्ण ओझाले भने। राष्ट्रिय रेडियोकै ढाचाका कार्यक्रमले स्थानीय रेडियो छान्न स्रोतालाई मुस्किल परेको सुम्हालुङ एफएमका अध्यक्ष दिलेन्द्र कुरुम्बाङले स्वीकारे। 'एफएमबीच समन्वय भएन,' उनले भने, 'गुणस्तर बढाउनुभन्दा अस्वस्थ प्रतिस्पर्धाबाट विज्ञापन तान्ने ध्याउन्नमा अवस्था खस्कँदै गएको हो।'

इगल एफएमको सञ्चालक याक्थुम्हाङ मिडियाका अध्यक्ष तेजकुमार कुरुम्बाङले भने, 'लगानी उठ्ने सम्भावना छैन। खर्च धानेर चले भइगयो। सामाजिक प्रतिष्ठा र पहिचानको लागि घाटा भए पनि रेडियो चलाइन्छ।'

२० लाखको लगानीको सय वाटको सुम्हालुङमा शेयरधनी ७५ जना छन्। १० जना नियमित कर्मचारी राखेर सञ्चालन भइरहेको रेडियोको मासिक ५० हजारमात्र खर्च छ। आम्दानी पनि त्यो भन्दा बढेको छैन। 'बीबीसी र सामुदायिक रेडियो प्रसारक संघ(एकोर्‍याब) लगायतबाट आउने सहयोगले चलिरहेको छ,' व्यवस्थापक चन्द्र आङदेम्बेले भने। ५० लाख लागतको सिंहलीला एफएममा खर्च जति आम्दानी नहुँदा १० लाख लगानी थपिएको सम्बद्ध रेडियोकर्मीले बताए। 

स्थानीय विज्ञापनको भर
ताप्लेजुङ- रेडक्रस शाखा सभापति टीकाराम गौतमको निधनमा ताप्लेजुङ एफएमले तीन वर्षघि समवेदनाबाट ९५ हजार कमायो। प्रत्येक उपशाखा र संघसंस्थाले एकदेखि दुई हजारका दरले दिएको समवेदना सात दिन बजाउँदा कर्मचारीलाई तलब खुवाउन पुग्यो। 

उद्योग वाणिज्य संघ अध्यक्ष सन्तोष खतिवडा महासंघ केन्द्रीय सदस्य हुँदा बधाई विज्ञापन दिनेबाट ५० हजार उठ्यो। निधन वा कसैको पदोन्नति भए एफएममा विज्ञापन दिने चलन छ। तत्कालिन मार्केटिङ म्यानेजर सुवास आचार्यका अनुसार शिक्षा कार्यालयका लयप्रसाद निरौला उपसचिव बन्दा एफएमबाट बधाई शुभकामना दिने शिक्षक सयभन्दा बढी थिए। 

'पहिले-पहिले मार्केटिङ गर्न हिड्नु पर्दैनथ्यो,' उनले भने, 'अहिले विज्ञापन घट्यो। बहुराष्ट्रिय कम्पनीका विज्ञापन आइनपुग्ने जिल्लामा लोकल एड खोजेरै खर्च धान्नु पर्छ।' १ लाख २७ हजार जनसंख्या भएको ताप्लेजुङमा तीन एफएम छन्। जिल्लाको पहिलो तमोर एफएमका स्टेशन म्यानेजर सजन पौडेलले भने, 'आ-आफ्नो ढंगले चल्ने हो। मलाई रेडियो चलाउन समस्या लाग्दैन।'  

ऋण उकास्न धौधौ
धरान- ६ वर्षअघि ५० जना सञ्चारकर्मी, उद्योगी, व्यवसायी मिलेर धरानमा हजार वाटको विजयपुर एफएम सञ्चालनमा ल्याए। करिब ६० लाख लगानीको एफएम दैनिक १८ घण्टा घन्कँदा शेयर सदस्यदेखि रेडियोकर्मी सबै दंग थिए। अग्रिम पुँजीका आधारमा खुलेको एक वर्षपछिमात्र सञ्चालकले रेडियोका मुख्य समस्या थाहा पाए। सानो बजार, विज्ञापन अभाव, अनुभवहीन व्यवस्थापन, सिकारु प्राविधिक र कार्यक्रम सञ्चालकमा देखिएको अपरिपक्वपनले चलाउन गाह्रो भएको विजयपुर मिडिया ग्रुपका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले बताउँछन्।

ऋण उकास्न रणनीति फेर्दै उक्त रेडियोमा हाल नयाँ व्यवस्थापनमा छ। स्टेशन म्यानेजर हिमाल राईले भनिन्, 'स्थापित हुनुपर्नेमा उल्टै घाटामा जान थालेको थाहा पाएपछि कार्यसमितिका साथीहरूले मेरो हङकङमा हुँदाको १२  वर्षे रेडियो संचालनको अनुभवको आधारमा स्टेशन म्यानेजर बनाए। केही सुधार गरेकी छु।'

१७ कर्मचारीको मासिक तलब, विद्युत महसुल र घरभाडा तिर्ने बेलामा धान्नै गाह्रो परिरहेको उनले बताइन्। उनले भनिन्, 'महिनाको नियमित खर्च ३ लाख भन्दा बढी हुन्छ। त्यति नै आर्जन गर्न विज्ञापन जुटाउन चुनौती छ।' 

धरानमा ५ वटा एफएम छन्। दन्तकाली एफएमका स्टेशन म्यानेजर दुर्गा भुजेलले भने, 'स्थापना गरिहालियो, चलाउनै गाह्रो भो ।' १० जना शेयर सदस्यको ३५ लाख लगानी भएको उक्त एफएम पनि संकटमुक्त छैन। उनले भने, 'वर्षमा २५ लाख कमाइ, ३० लाख खर्च। अनि कसरी धान्ने हो, समस्या छ।' राजधानीकेद्रित विज्ञापन पाउन गाह्रो भएकाले पनि समस्या पर्ने उनको अनुभव छ।

रेडियो धरानका अध्यक्ष लक्ष्मण श्रेष्ठको अनुभव पनि फरक छैन। उनले भने, 'विज्ञापन निराश लाग्दो छ। चलाउनै गाह्रो भो।' एमाओवादी फुटेपछि धरानकै गणतन्त्र एफएम दुई समूहमा विभाजित भएको छ। फुटेर गएको समूहले जनसन्देश एफएम चलाउने बताएको छ। 

गणतन्त्र एफएमका प्रबन्धक डेविड बस्नेतले भने, 'माओवादीको एफएम भनेर सोचिदिनाले बजारमा अलि गाह्रो छ।' पछिल्लोपटक खुलेको हार्ट एफएम सात इशाइ धर्मावलम्बीको समूहले स्थापना गरेको हो। सञ्चालक अध्यक्ष हिमाल राईले भने, 'व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। कर्मचारीलाई भनेको बेला तलब दिन सकिएको छैन।'

पहाडदेखि हिमालसम्मै
ओखलढुंगामा आफ्नो र रमाइलो सामुदायिक हुन् भने रेडियो ओखलढुंगा व्यावसायिक एफएम हुन्। बेलायतको 'फिभा रेडियो' को सहयोगमा मानव विकास तथा सामुदायिक सेवा नामको संस्थाले चलाएको 'आफ्नो एफएम' नियमित बज्छ। 'फिभाले सुरुमा चार वर्षमात्रै सहयोग गर्छौं' भनेको थियो,' स्टेशन म्यानेजर बिनुमाया राईले भनिन्, 'उनीहरुले हात झिक्नेबित्तिकै रेडियो बन्द हुने स्थिति देखेपछि हालसम्म सहयोग पाइएको छ ।'

थप दुई रेडियो दर्ता भएर प्रसारणको तयारीमा छन्। जिल्लामा उद्योग कारखाना नहुनु र सानो बजार भएको ठाउँमा रेडियो चलाउनु चुनौती छ। व्यावसायिक रेडियोको रुपमा दर्ता भएको 'रेडियो ओखलढुंगा' मौसमी ढंगबाट बज्दै आएको छ।

सामुदायिक भनेर स्वीस विकासको सहयोगमा स्थापित 'रमाइलो सामुदायिक रेडियो' मा पनि व्यवस्थापन अस्तव्यस्त छ। पारिश्रमिककै कारण कर्मचारी र पत्रकारले रेडियोको काम छाड्नु यहाँ नौलो छैन। 

सोलु एफएमबाट सुरू भएको सोलुखुम्बुमा हाल ६ वटा रेडियो छन्। हिमाल, दूधकोशी, शिखर, चोमोलुङमा, खुम्बुलगायत प्रसारणमा छन्। 'पहिले हाम्रोमात्रै हुँदा निकै सहज थियो। अहिले कम्पिटिसनले चलाउन चुनौती छ,' सोलु एफएमका अध्यक्ष बुद्धिनारायण राजभण्डारीले भने, 'उही सामग्री, उही ठाउँ, उही विज्ञापनले कसरी चलाउनु ? पहिले एउटाले पाउने विज्ञापन अहिले चार,पाँच वटाले बाँड्नुपर्छ।'

१० वर्षदेखि सञ्चालनमा रहेको सोलु एफएममा २० कर्मचारी छन्। गाउँबाटै प्रसारण गर्ने रेडियोमा काँगेलबाट चोमोलुङमा एफएम छ भने नाम्चेको स्याङबोचेबाट खुम्बु एफएम बजिरहेको छ।

हिमाली संचार लिमिटेडले सुरु गरेको खुम्बु एफएम संसारकै सबैभन्दा उँचो भागबाट बज्ने दाबीसमेत गरिएको छ। यो समुन्द्री सतहबाट १४ हजार फिट उचाईमा अवस्थित छ। स्टेशन म्यानेजर भानुभक्त ढुंगानाले भने, 'काम गर्न दक्ष जनशक्तिको अभाव छ अर्कोतिर व्यवसायिक पनि बनाउन सकिएको छैन।'

सञ्चालनमा समस्या
सिरहा- आधा दर्जन सबै एफएम सिरहामा आर्थिक संकटमा छन्। समाद एफएमका सञ्चालक अध्यक्ष नन्दकिशोर चौधरीले भने 'दिगो रूपमा चलाउन वार्षिक १५ रुपैयाँ बुझाउने हालसम्म २ हजार सदस्य बनाइसकेका छौं।' 

चट्याङ परेर ट्रान्समिटर जल्यो। सापटी गरेर नयाँ खरिद गरेकोले कर्मचारीहरुलाई समयमा तलब दिन नसकेको सामुदायिक रेडियो सल्हेश एफएमका अध्यक्ष चन्द्रदेव कामतीले बताए। उनले भने, 'कृषि विकास बैंकबाट लिएको १८ लाख ऋण तिर्न नसक्दा हैरान छौँ।'  

नौजना व्यापारीले ३५ लाख लगानी गरि सुरु गरेको मिर्चैयास्थित रेडियो धडन एफएममा वर्षदिनमै ८ लाख घाटामा गयो। ६ जनाले शेयर फिर्ता लिए। प्रबन्धक तथा सञ्चालक अन्जय साहले भने 'खर्च धेरै विज्ञापन कम हुनाले संकट पर्ने गरेको छ।' लहानमा सञ्चालित सामुदायिक रेडियो समग्र, सौगात एफएम र गोलबजारमा आकाश गंगा एफएमको पनि आर्थिक अवस्था धरमर छ। 

सुनसरीको इटहरीमा पाँचमध्ये एउटा एफएम बन्द भयो। 'प्राय एफएमहरूको अवस्था धरासायी छ', सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा ब्रोकास्टिङ एशोशिएसन नेपालका महासचिव चन्द्र न्यौपानेले भने, 'सञ्चालनको आवश्यक पूर्वाधारबिनै सरकारले लाइसेन्स दिएपछि नयाँ खुलेकाको बिजोकै छ।'

आर्थिक समस्याले पूर्वोदय एफएम बन्द भयो । झुम्का बजारमा रामधुनी र इनरुवामा पपुलर एफएम थपिए। 'जो प्रतिस्पर्धामा जो खरो उही दह्रो। धेरै खुलेर केही हुन्न', इटहरी एफएमका अध्यक्ष चेतन धमलाले भने, 'मेहनत नगरी खोल्नेबित्तिकै पैसा बर्सिन्छ भन्ने सोच राखेकाहरू टिक्दैनन्।' 

संखुवासभाको खाँदबारीमा तीनवटा एफएम छन् । १३ लाख  संकलन गरि सञ्चालनमा ल्याइएको सामुदायिक रेडियो खाँदबारी एफएमका ३ सय ५१ जना शेयर सदस्य छन्। परीक्षण प्रसारण थालेको सुनाखरी रेडियोका प्रबन्ध निर्देशक वीरबहादुर लिम्बुले करिब ३० लाख लगानी गरेको बताए। 

करिब ४४ लाख संकलनपछि सञ्चालनमा आएको गुराँस एफएमका मेनेजर गंगा विष्टले आम्दानीको स्रोत भरपर्दो नभएको बताए। 

झापामा १६ वटा एफएम छन्। केही दर्ता भएर प्रसारणको तयारीमा पनि छन्। ८ लाख १२ हजार ५ सय ६० जनसंख्या भएको जिल्लामा यतिविघ्न एफएम आवश्यक हुन् कि होइनन् भन्ने बहस सुरू हुन थालेको छ। 

'एफएम खोल्नका लागि आवश्यक पूर्वाधार, बजारको अवस्था र फ्रिक्वेन्सीको ख्याल नगरी लाइसेन्स बाँड्दा रेडियो समाजको सबभन्दा अब्यवस्थित क्षेत्र बनेको छ,' कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले भने, 'सफल ब्यवसायी पनि रेडियोमा लगानी गरेर डुबेका छन्।'

३७ लाख लगानीमा खुलेको सुरूङ्गास्थित रेडियो सन्देश तेस्रो वर्ष आइपुग्दा संचालकलाई धान्नै हम्मे पर्‍यो। 'एफएम नाफामा छैन,' संचालकमध्येका राजेन्द्र मैनालीले भने, 'तीन वर्षमा खर्च करोड नाघ्यो। आम्दानीको हविगत नाजुक।'

रहर र 'प्रेस्टिज' का लागि खुलेका झापाली धेरै रेडियोको हालत नाजुक छ। पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेलले भने, 'अस्वस्थ प्रतिष्पर्धाले बजार बिगारेको छ। योजनाविनै खुलेका रेडियोको हविगत त पत्ला हुने नै भयो।' बिना योजना प्रविधिमा ठूलो लगानी फँसेपछि धेरैलाई निल्नु न ओकल्नु भएको उनले बताए। झापाको बिर्तामोडमा ७ वटा एफएम छन्। पूर्वी नाका काँकडभिट्टादेखि दमकसम्मको करिब ४० किलोमिटर राजमार्ग क्षेत्रमा चोकैपिच्छे एफएम स्टेशन छन्। 

पत्रकारलाई महँगो पर्दै रहर 
एफएममा आवाज सुनेका रेडियो प्रस्तोता(आरजे)लाई सेलिब्रेटी मान्ने युवापुस्ता आफू पनि रेडियोमा बोलेर अरूका लागि यस्तै बन्न चाहन्छन्। क्रेजका अगाडि पैसाको तुलनै नहुने भएकाले बिना पैसा रेडियोमा काम गर्न तयार हुनेहरू धेरै छन्।

त्यसो त राजधानीका चलेका एफएममा काम गरिरहेकामध्ये धेरैजनाका लागि जिल्लाहरूबाटै काम गरेको अनुभवले बाटो खोलेको छ। हाल टेलिभिजन कार्यक्रम प्रस्तोता भएका झापा लखनपुरका भुपाल लुइटेलले चार वर्षघिका कुरा सम्झँदै भने, 'मलाइ रेडियो क्रेज यस्तो थियो सप्तरंगी एफएममा दुई वर्ष पैसै बिना काम गर्छु भनेथें। यसो भन्नु गलत रहेछ। क्षमता बनाएर रेडियोमा प्रवेश गर्ने र सुरुकै दिन देखि पारिश्रमिक लिनुपर्ने रहेछ।'

एफएमहरुलाई अत्यावश्यक खर्च जुट्छ। तर, कार्यरत सञ्चारकर्मीलाई तलब दिन लेखापाल भन्छन् 'पैसा पुग्दैन।' यसमा काम दिने र लिने दुबै पक्ष जिम्मेवार भएको ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका पूर्वाञ्चल उपाध्यक्ष कुमार भट्टराई बताउँछन्। 'काम दिनेले राम्रो काम दिने र लाउनेले पनि श्रमको मूल्य दिनै पर्छ।' दमकको सप्तरंगी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराई भन्छन्, 'आर्थिक रूपमा सुदृढ नभइ रेडियोहरूले पत्रकार-कर्मचारीलाई खुशी पारेर पाल्न सक्दैनन्। 

प्रतिवेदनले के भन्छ ?
सञ्चार मंत्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको श्रमजीवी पत्रकारको पारिश्रमिक अध्ययन प्रतिवेदन २०७० ले एफएमको अवस्था कमजोर देखाएको छ। रेडियोका ६७.४ प्रतिशत सञ्चारकर्मीले मात्र महिनैपिच्छे तलब पाउँछन्। 

दुई महिनामा एकपटक तलब पाउने १३.३६ र दुई महिनाभन्दा बढी समयमा तलब पाउने १२.६९ प्रतिशत छन्। श्रमजीवी पत्रकार ऐन (संशोधित २०६४) ले न्यूनतम तलब मासिक १० हजार ८ रुपैयाँ तोकेको छ। रेडियोका ४७.८८ प्रतिशतले न्यूनतम भन्दा कम पाउँछन्। 

'व्यवस्थापन सुधारौं'
ब्रोडकास्टर्स एसोसिएसन अफ नेपाल (बान) का केन्द्रीय अध्यक्ष गोपाल झाले अनियन्त्रित लाइसेन्स वितरण, स्रोतको असमान वितरण, समाचार र कार्यक्रमका लागि बढ्दै गएको परनिर्भरता, व्यवस्थापनमा कमजोरी र कमसल प्रविधिका कारण रेडियोहरू धराशायी बन्दै गएको बताएका छन्।  

'४/५ हजार जनसंख्या भएको ठाउँमा बजारको अध्ययन नै नगरी ३/४ वटा रेडियो चलाउने स्वीकृति दिइएको छ,' उनले भने, 'सूचना/मनोरञ्जनको क्षेत्रमा सबैभन्दा बढी लोकप्रिय र ग्रामीण क्षेत्रसम्म पहुँच भएका रेडियोलाई कम विज्ञापन छुट्याइनुले अझ समस्या पारेको छ।' 

नेटवर्कमा आबद्ध भएर काठमाडौंमा उत्पादन भएका समाचार र कार्यक्रम बजाउने पूर्णरूपले आश्रित हुने स्थानीय रेडियोलाई आर्थिकरूपले कमजोर बनाएको उनको टिप्पणी छ। 'स्थानीय रेडियोमा स्थानीय भाषा, समाचार, कार्यक्रमलगायत सामाग्री नपाउँदा एकातिर यसले आफ्नो आवाजलाई कमजोर बनाइरहेको छ भने अर्कातिर स्थानीय रेडियोसम्म सानो हिस्सामात्र सहयोग पुग्ने गरेको छ,' उनले भने । 

आर्थिकरुपले धराशायी भएका रेडियोले मेहेनेत गरेर कार्यक्षमतामा वृद्धि गरेनन् भने टिकाइराख्न समस्या हुने भनाइ उनको छ। रेडियोले आफ्नो कमजोरी ध्यान दिएर सुधार्नुको विकल्प नभएको बताए। उनले भने, 'सरकारले पनि विज्ञापन नीतिमा परिवर्तन गरी एफएमलाई स्थापित गराउन पहल थाल्नु पर्छ।' 

बानका अनुसार नेपालमा ४१४ वटा ५० देखि १० हजारसम्म क्षमताका रेडियो दर्ता भए पनि ३७७ वटा सञ्चालनमा छन्। आवेदन दिएर सञ्चालनमा नआएका करिब तीन सय रेडियोको अनुमतिपत्र खारेज भएको छ।
***
(विराटनगरबाट भीम घिमिरे, सुनसरीबाट प्रदीप मेन्याङ्बो, वेदराज पौडेल, पाँचथरबाट लवदेव ढुंगाना, ताप्लेजुङबाट आनन्द गौतम, ओखलढुंगाबाट कुम्भराज राई, झापाबाट चेतन अधिकारी, पर्वत पोर्तेल र सिरहाबाट देवनारायण साहको २०७१/०४/०२ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट)

No comments: