'म बेरोजगारको डेढ लाख डुब्यो,' मोरङको उर्लावारी-६ का उदयचन्द्र श्रेष्ठले सुनाए, 'झापाली साथीको ग्रुपमा म पनि उड्न तयार भएर होटलमा बसेको थिएँ ।' २०६१ भदौ २६ मा इराक घटना भएको थियो । त्यसपछि केही महिना उनले पढ्न बसेका गाउँले दाइ जीवन राईकहाँ डेरामा शरण लिए । रोजगारीको खोजी गरे । पार नलागेपछि फर्किएकै केही समय दिगो काम भएन ।
२०६३ पछि भाइले देखाएको बाटोलाई उनले परिश्रम खन्याए । आम्दानी जोड्दै लगानी थप्दै गए । आठ वर्षमा तिनै उदयचन्द्र अहिले पूर्वेली च्याउ उत्पादकमा अग्रणी छन् ।
करिब २० लाखको लगानी छ । एक बिघा करिबमा च्याउ उत्पादन हुन्छ । दुईवटा गाडी छन् । घरघडेरी जोडेका छन् । वर्षको करिब ५० ट्रयाक्टर पराल किन्छन् । एक दर्जनलाई रोजगारी दिएका छन् । उनले उत्पादन गर्ने च्याउ झापा, मोरङ र सुनसरीमात्रै होइन काठमाडौं पनि पुग्छ ।
'म झोला बोकेर पहाडबाट झरेको मान्छे,' उनले भने 'अहिले लाग्छ, विदेश जान पाएको भए पनि एउटा घर, अलिकति घडेरी र थोरै पुँजी हुन्थ्यो होला । अरू तेत्रो के उपलब्धि हुन्थ्यो ?' ताप्लेजुङको खेवाका यी युवा अहिले च्याउ उद्यमी भएका छन् । कुनैबेला उत्पादन बढी भयो । बिक्री भएन भने सुकाउन र अचार बनाउन पनि सिकेपछि यिनले घरमै चलाएको पसलबाट पनि बिक्री भइरहेको छ ।
उदयका भाइ शिवले उर्लावारीकै मदन भण्डारी प्रतिष्ठानमा कृषिमा आइएस्सी पढेका हुन् । डेरा बसेका बेला उनले च्याउ उत्पादन गर्न सकिने सिके । त्यही सीप दाजुलाई सिकाए । पछि शिव घर गए । उदयले उद्यम बढाए । 'गर्दा यहीँ हुने रहेछ,' उनी भन्छन्, 'मेहनत गर्न लाज मानिएन भने प्लानिङ र पुँजी भएको कामले सफलता मिल्छ मिल्छ । मैले अनुभवबाट सिकेको कुरा हो ।'
***
विराटनगरको तरकारी मण्डीको ३० प्रतिशत हिस्सा कटहरीका किसानको उत्पादनले धान्ने गरेको छ । यिनै किसानमध्येका एक हुन् कटहरी-९ का २९ वर्षीय कोपिन्द्र सिंह ।
कामको खोजीमा मलेसिया हान्निएका उनी चार वर्ष बसेर २०६७ सालमा फर्किए । 'ज्यान सुकाएर अर्काको देशमा मुस्किलले वर्षमा डेढ लाख बच्थ्यो,' उनले भने, 'अहिले म आफ्नै बारीमा मेहनत गरेर सबै खर्च काट्दा वर्षको ५ लाख हुन्छ ।'
उनी वैदेशिक रोजगारीबाट चार वर्षमा फिरेर आउँदा ४ लाख ६५ हजार जोगाएका थिए । 'युवा स्वरोजगार कोषले तरकारी खेती गर्छु भन्दा ६० हजार अनुदान दियो । त्यसपछि फेरि जाने विचार आएन,' गत बुधबार चार बोरा करेला रिक्शामा लोड गर्न लगाइ बजार पठाउन लागेको भेटिएका उनले भने, 'म लेबर भएर गएको मान्छे अहिले ५ जनालाई आफैंले काम दिएको छु ।'
उनले फेरि वैदेशिक रोजगारीमा जान आफ्नो राहदानी म्यानपावर कम्पनीमा बुझाइसकेका थिए । अहिले एक बिघामा मौसमी तरकारी खेती गरेका सिंह भन्छन्, 'हामी युथहरू एकैपल्ट धेरै आम्दानी हुने सपना देख्छौँ । तर, विदेशमा पैसा बनाउन धेरै दुःख छ । म अहिले आफ्नै घरमा खुशी छु ।'
मोरङको जिल्ला कृषि कार्यालयका वागवानी विकास अधिकृत काशी चौधरी भन्छन् 'कोपिन्द्रले भर्खर १ लाख ६४ हजारको हाते ट्रयाक्टर किन्दा कृषिको ७२ हजार अनुदान पनि पाए । काम त नमुना नै गरेका छन् ।' स्वरोजगार कोषले कोपिन्द्रजस्तै ४५ युवाहरूलाई विदेशिनबाट रोकेर कृषि पेसामा फर्काएको उनले बताए । 'चार/पाँच लाखको लगानीमा गरिने पेसामा ६० हजारको अनुदान उस्तो ठूलो कुरो होइन,' उनले भने, 'तर, यसले फरक प्रकारको ऊर्जा दिएको छ । मान्छेहरू घरमै बसेर सकिने व्यवसाय गरिरहेका छन् ।'
***
इलामको साकफाराको सीमानामा पर्ने मोरङको मधुमल्लामा तीनजना युवा अग्रणी किसान छन् । तीनैजना साउदी अरबमा काम गरेर फिरेका हुन् । बाँसका हस्तकला सामाग्री बनाइ बेच्ने गरेका रमेश बस्नेत भन्छन्, 'म फर्केको २ वर्षमात्रै भयो । यहाँ गाउँघरमै बसेर खेती गर्दा मात्रै पनि विदेश गएभन्दा राम्रो कमाउन सकिने रहेछ ।' १५ कट्ठामा मौसमी तरकारी खेती गरेका उनले साथीहरूसँग मिलेर तोरीबारी लघुउद्यमी कृषक सहकारी नै चलाएका छन् ।
स्थानीय ठाकुरबहादुर बुढाथोकीले भने, '१० वर्ष साउदी बसियो । लेबर काम गरियो । अब घर आएर बल्ल बुझियो त्यहाँ गर्ने जति मेहेनत आफ्नै बारीमा गरे सुन फल्ने रहेछ ।' २२ कट्ठामा तरकारी लगाएका उनलाई अहिले बजारमा भाउका बारे असन्तुष्टि छ । गाउँभरिका किसानको तरकारी सहकारीले संकलन गरेर बजार पठाउँछ । बिक्रीपछि पैसा दिन्छ । उनले भने, 'काम गर्न सकिन्छ तर, बजारमा विचौलिया मोटाएका छन् । हामीले १५ रूपैयाँमा दिने तरकारी आफैंले फेरि लिनुपरे ६० हाल्नुपर्छ । यो बीचको यत्रो पैसाको फरक देख्दा चित्त बुझ्दैन ।'
६ वर्ष कतार बसेर फिरेका स्थानीय सूर्यबहादुर श्रेष्ठको अहिले एक बिघामा तरकारी खेती छ । भन्छन्, 'बजारमात्रै व्यवस्थित भइदिने र किसानले असल मोल पाउने हो भने हामीले विदेशिनु पर्दैन ।'
मोरङका जिल्ला कृषि विकास प्रमुख राजेन्द्र उप्रेतीले भने 'बजारमा बाहिरबाट केके कृषि उपज आउँछ, त्यो हामीले उब्जाउन सकिन्छ/सकिदैन भनेर खोज्ने युवाहरू अहिले कृषिमा लाग्न थालेका छन् ।' उनका अनुसार यसले भविष्यका लागि राम्रो संकेत गरेको छ ।
'सरकारी अनुदान र सहयोग न्युन छ', उनले भने, 'कति ठाउँमा हाम्रो सल्लाह पनि आवश्यक छैन । तर, उद्यम गरेको देख्ता यी उदाहरण सबैले थाहा पाए राम्रो हुन्थ्यो भन्ने लाग्छ ।' उनका अनुसार कृषि, पशुपालनमा ठूलो क्षेत्र लिएर लगानी गरि योजनासहित काम थाल्ने दिनदिनै बढेका छन् ।
(कान्तिपुरको पूर्वाञ्चल संस्करण पृष्ठमा ४ साउन २०७० मा प्रकाशित)

No comments:
Post a Comment