Wednesday, June 16, 2010

साउदीमा मृत्यु


बेलबारी (मोरङ) - बाकस खोलेर पहिले प्रहरीले हेरेपछि भने 'कसले सनाखत गर्ने हो, हेर्नुस् ।' लामो समय 'कफिन बक्स' मा राखिएको ३४ वर्षीय रमेश गिरीको शव कालो र गन्ध आउने भइसकेको थियो । शव हेर्न बेलबारी-३ स्थित आँगनमा भएको भीड छिचोल्दै आएर ६२ वर्षका पिता रामकुमारले भने 'हजुर म हेर्छु । म हेर्छु ।'
शव राखिएको प्लास्टिकको फस्नर अलिकति खोलेर प्रहरीले टाउकोमात्र हेर्न मिल्ने बताए । सड्न नदिन हालिएको औषधिले रमेशको अनुहार सुकेको र कालो देखिन्थ्यो । उनको बाहिर निस्केका सेता दाँत निकैबेर घोरिएर हेरेपछि पिता चिच्च्याए, 'हो हजुर मेरै छोरो हो ।' साउदी अरबमा दुर्घटना परी निधन भएका रमेशको शव २२ महिनापछि मंगलबार बिहानमात्रै घर आइपुगेको हो । बन्द डिब्बामा ल्याइएको शव आँगनमा राखेदेखि नै घरमा रुवाबासी मच्चिएको थियो । प्रहरी आएपछिमात्र डिब्बा उघार्ने गाउँलेको सल्लाह भयो । प्रहरी आइपुग्न करिब आधा घन्टा ढिलो हुँदा रुवाबासी केही कम भएको थियो । रामकुमारले सनाखत गरेपछि रुवाबासी फेरि बढ्यो ।
एकातिर उनी अधैर्य भएर लडे, अर्कातिर रमेशकी पत्नी मीना । अबोध छोरीहरू किंकर्तव्यविमुढ देखिन्थे । चार वर्षकी कान्छी छोरी तनुजालाई आफन्त एक महिलाले शव राखेको बाकस देखाउँदै 'तिम्रो बाबा उ त्यही हो' भन्दा हँसिलो मुहारकी ती अबोध बालिकाले एकटक लगाउँदै बाकस हेरिरहिन्, केही बोलिनन् । केहीबेरमै आफन्तले चन्दा उठाएर अन्तिम संस्कारको सामग्री तयार पारे । बेलबारीको बेतना सिमसारनजिक सिम्पानेमा रमेशको अन्त्यष्टि गरियो । पिता रामकुमार छोराको क्रिया बसेका छन् । राम्रो दाम कमाएर परिवार सुखसाथ पाल्ने सपना बोकेर चार वर्षअघि रमेश रोजगारीमा गएका थिए । जाँदा उनले व्यक्तिसँग लिएको ऋण तिर्न नसक्दा परिवारले भएको एक कठ्ठाको घरघडेरी बैंकमा धितो राखेको छ । ऋणको किस्ता तिर्ने भाखा नाघेपछि बैंकले ताकेता थालेको छ । उनका दुई भाइ शम्भु र विमल पनि व्यक्तिगत ऋण गरेर दुबई र मलेसिया गएका छन् ।
शम्भुले जाँदाको ऋण तिरे पनि राम्रो काम नमिल्दा घरमा पैसा पठाउन सकेका छैनन् । विमल गत महिनामात्र विदेशिएका हुन् । विदेशमा जेठा छोरा दुर्घटनामा मारिएको खबरले बिरामी परेकी आमाको गत वैशाख २७ मा निधन भएको थियो । रमेशको शव ल्याउने पहलका लागि कुद्दाकुद्दै गिरी परिवारमाथि ऋणको भार झन् बढेको छिमेकी इन्द्राकुमारी तामाङले बताइन् । 'कोसीले बाटो भत्काएको बेला परेको थियो, उनले भनिन् 'त्यसै त केही नभएको परिवार, त्यसमाथि यस्तो विपत । काठमाडौं आउजाउमै धेरै खर्च भयो ।' आफूले मात्रै दिएकै सापटी डेढ लाख जति पुगेको बताउँदै उनले भनिन् 'अब त मेरो पनि क्षमता रहेन ।' आफूले पाउने पैसाभन्दा गिरी परिवारको घरबारी बैंकले लिलामीमा लगेको हेर्नुपर्ला भन्ने चिन्ता लाग्ने गरेको उनले बताइन् । परिवारको सुखदुःखमा लागिपर्ने सदस्य गुमाएपछि बाबु बढी नै चिन्तित छन् । आयको दरिलो स्रोत नभएका उनले बनी गर्दै घर चलाउँदै आएका छन् । 
अबुधाबी, रियाद, दिल्ली हुँदै काठमाडौंमा सोमबार दिउँसो आइपुगेको शव कान्छा भाइ किशोरले पिकप भ्यानमा राखेर रातभरिको यात्रापछि बिहान घर ल्याएका थिए । शव घरसम्म ल्याउनका लागि लागेको खर्च वैदेशिक रोजगार प्रबन्ध समितिले सहयोग गरेको परिवारले जनाएको छ ।
(०६७ असार २ बुधवारको कान्तिपुर दैनिकको पृष्ठ ३ मा प्रकाशित )

पहिले मानव अहिले अर्थोक

(आज विराटनगरमा 'हामी पहिले मानव हौ' भन्नेको कार्यक्रम थियो । अलि ढिला सुरु भयो । अनि मैले फुर्सदलाई उपयोग गर्दै केही कोरें । ती यस्ता छन् )

मलाइ पनि त्यस्तै लाग्यो
झुट्टा बोल्दा रहेछन् डार्बिन
बाँदर थियो रे मान्छे
होमोस्यापिन्स, रामापिथेकस के के हो के के
विकास हुँदै आएको रे
उस !
ताक्दै प्रहारका मौका गरेजस्तो आदर
कंक्रीटका जंगल कहाँ बनाउँछ बादर
पत्याउदिन लौ जा ।।


मान्दिन भनेपछि मान्दिन
के मैले नि हड्ताल-चक्काजाम गर्नैपर्ने
दुइ खुट्टाका भरमा उभिने
दुइ हात, दुइटा आँखा, दुइटै कान
यै हो मान्छे ?
खै पत्यार लागेन ।।

हरियाली मास्छ
अरु प्राणी नाश्छ
अनि हाँस्छ
बनाउनुभन्दा भत्काउनु धेरै
भन्छ,
उसैको पूर्पुरो दोषी रे
जोड्नु भन्दा घटाउनु धेरै
जपना छ हरदम
मलाइ र मेरै
आयु-वायु बिगार्ने यो दुष्ट
हो साँच्चै
पहिले मानव थियो कि मान्छे ।।

आउनु र जानु नियतिको खेल
सधै यो भुल्छ खाली हातको झेल
सधैको भोक
कृत्रिम ती क्रन्दन
दुष्ट
फेरिएको छ तेरो परिभाषा
फुल की कुखुरो
के पैले पैले
दिन दिनै फैर्दैछस्
आफ्नै अर्थ अहिले ।

०६७ असार २ गते , विराटनगर

Wednesday, June 9, 2010

फर्केर जानेहरू

दुवइबाट मेरा एक मित्रले घरमा फोन गरेछन्, 'टेलिभजनमा मेरो साथीलाई देख्दा खुसी लाग्यो ।' संविधानसभा निर्वाचनको बेला थियो त्यो । मैले कान्तिपुर टेलिभिजनका लागि त्यसबेला राजधानीबाट आएका साथी भुवन केसीसँगै 'लाइभ रिर्पोटिङ' को मौका पाएको थिए । उसले दुबइबाट हेरेछ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मत खसाल्दै गरेको हामीले 'लाइभ' प्रसारण भ्याएका थियौ“ । आमाले फोन आएको कुरा सुनाएपछि मैले साथी सम्झेँ । उसले फोनमा मेरी आमालाई भन्यो रे 'आमा मैले त देशमा बाँच्न जानिन । फेरि विदेशिएँ । मेरो साथीलाई टिभीमा हेर्दा आँसु आयो । खुसी लागेर फोन गरेको । उसको मोवाइल लागेन ।' 
                 अनि मैले सम्झेँ बाल्यकालको मेरो त्यो स्कुले साथी । हरि प्रधान । उ आफुलाई हरिश भन्न मन पराउँथ्यो । जोसँग १६ वर्षदेखि काम गर्ने बाटो अलग छ । अहिले पनि मैले भेट्ने ठाउँमा छैन । शायद, ऊ इ-मेल चलाउदैन होला । जति 'सर्च' गरे पनि फेसबुकजस्ता इन्टरनेट सञ्जालमा उसलाई भेटेको छैन ।  मसँग फोन नम्बर छैन । के काम गर्छ होला ? उसले पढ्न सकेन । यहाँ रहेर कुनै खास पेशा पनि गर्न सकेन । अन्ततः साउदी अरब हान्निएको थियो । १० वर्ष भएछ पछिल्लो भेटको । ऊ त्यसबेला छ वर्षपछि घर आएको थियो । 
                 घरमा आएका बेला उसले धेरै कुरा गरेको थियो । घरमा दुःखका आँधी चल्दा पनि आउन नसकेकोमा उ अत्यधिक दुःखी थियो । भन्थ्यो - 'आमालाई प्यारालाइसिस हुँदा म घरमा हुनुपर्थ्यो । त्यसबेला पैसा होइन छोरो चाहिने बेला थियो । म थिइँन । इश्वरलाई धन्वाद छ मेरी आमाको मुख देख्न पाए ।' उसका कुराले अब विदेश नजाने, यही बसेर केही गर्ने आभास मैले पाएको थिए । 
                फिरेर आएपछि उसले बिवाह गरेको थियो । त्यसबेला पत्रकारितामा म भर्खर अभ्यासको क्रममा थिए । जागिरको खोजीले मलाइ यो क्षेत्रमा ल्याएको थियो । चिनी कारखानाको जागिर मिल बन्दसँगै सकियो । अनि म स्नातक पढ्दै लोकसेवालगायत विभिन्न जागिरे परीक्षा दिदादिदै पत्रकारितातर्फ हान्निएको थिए । मसँगै कलेजमा आइए पढेको मेरो साथीले पढाइ बीचैमा छाडेको थियो । कारण, प्रथम वर्षको परीक्षामा उसको अन्तिम एउटा पेपरको जाँच दिदै गर्दा उ चिटसँग समातिएको थियो । निरीक्षकले सो दिनको उसको पेपर क्यान्सिल मात्र गरिदिएनन् , अघिल्ला सबै पेपर रद्द गरिदिएका थिए । युवावस्था । तातो रगत , हामीले ३/४ जना साथी मिलेर त्यो निरीक्षकलाई भेटियो भने काट्ने भन्दै धेरै दिनसम्म खोजेका थियौ । रिजल्ट आएपछि उसको एउटामात्र पेपरको नम्बर मार्कसीटमा थियो । पढाइबाट उ यति निराश भयो कि दोस्रो वर्ष पुरा नगरी कलेज छाड्यो । 
          उसको विवाहमा जन्ती जाँदा मेरो भूमिका स्टील क्यामेराम्यानको थियो । रील लाग्ने एनालग एसएलआर क्यामेरा मैले धक मानेर चलाएको थिए । कारण, त्यसबेलासम्म मैले एसएलआर चलाउन जानेको थिइनँ । पत्रिकाका लागि फोटो खिच्न थालेको थाहा पाएकाले उसले मलाई बिहेमा पनि त्यो काम गर्न आग्रह गरेको थियो । त्यसबेलासम्म मैले चलाउने क्यामेरा अटोफोकस थिए । ती क्यामेरा चलाउन सजिलो छ । एन्टी-लाइट नपारी विषयवस्तुतिर सोझयाएर सटर लिभर थिच्यो । फोटो राम्रै आउँछ । तर, एसएलआरमा सटर स्पिड, एपरेचर र फोकस तीन कुराको ज्ञान अनिवार्य । उसले हातमा थमाएको क्यामेरा अझ असजिलो थियो । कतिपयमा एसएलआर भइकन अटोफोकसका अप्सन पनि हुन्छ । तर, त्यसमा थिएन । म्यानुअल खिच्नु पर्ने । सामान्य केही जानकारी भएकाले मैले उसको आग्रह टार्न सकिन । त्यसबेला तस्बिरहरू राम्रै आए । गाली खाइएन । मन लगाएर उमेरमा बिहे मान्छेले एकपटक गर्छ । संस्कारले क्यामेराम्यानका लागि ठाउ सुनिश्चित गर्दैन, जहाँबाट उसले पोज बनाइ बनाइ स्मरणीय तस्बिर खिचोस् । यद्यपि दुलहा-दुलही र उनीहरूका आफन्तका लागि तस्बिरमा यी क्षण संग्रहणीय मानिन्छन् । 
                           त्यसबेला सुनसरीको चक्रघट्टी भन्ने ठाउँ महेन्द्रनगर गाविसमा पर्छ भन्ने हेक्का थिएन । त्यो बिहेमा समय निकालेर चक्रघट्टीमा काठको इनार र सुकुल बुन्दै गरेका दृश्य भएको दुइ तस्बिर पत्रिकामा छापिएपछि आएका प्रतिक्रियाबाट मेरो बुझाइको गल्ती थाहा भएको थियो । मैले अज्ञानताका कारण त्यो गाविसलाई चक्रघट्टी लेखेछु । पाठकले त्यो महेन्द्रनगर गाविस हो भन्दै प्रस्टीकरण पठाएका थिए ।
साउदीबाट फिरेपछि घरजम गरेर बसेको मेरो साथीले कमाएको उडाएन । तर, यहाँ रहँदा दिगो पेशा गर्न नसक्दा भएको पैसा सबै घरका लागि खर्च गर्‍यो । सिध्यायो । यदाकदा भेट हुदा ऊ भन्थ्यो 'मैले तँ जसरी नेपालमा बाँच्न जानिन । अब फेरि बाहिरै नगई भएन ।' अहिले दुबई पुगेको छ । वर्षौ भयो भेट छैन । 
                        यसै साता मेरा अरु दुइ स्कुले छिमेकका साथीहरु फरक फरक दिन भेट भए । बहराइनबाट ६ वर्षपछि तीन महिनाका लागि भन्दै फिरेको सुकु बज्राचार्यलाई भेट्दा मलाई उस्तो केही लागेन । कारण, सुकु पित्तलको मूर्ति बनाउने काम गर्थ्यो । उ धेरै वर्ष पाटन बसेर त्यही कामको जागिरमा बहराइन पुगेको थियो । उ विराटनगर धेरै बसेन । स्कुल छाड्नेबित्तिकै कामका लागि राजधानी हान्निएको थियो । तर, छिमेकको स्कुले रवि श्रेष्ठलाई भेटेपछि मैले हरिलाई सम्भिए । रवि सात वर्षपछि फरेको थियो । उसको घर मेरो नजिकै भएपनि आउजाउ थिएन । म उसका परिवारलाई त्यसति सारै चिन्दिन । उसको बुवा र भाइलाई चिन्छु । उसका केस फुल्न थालेछन् । मोटाएर अलि पाको उमेरको भएजस्तो देखिएको थियो रवि ।
                  लामो समयपछि देख्नेबित्तिकै मैले सोधे 'के छ रवि । फेरि जाने गरि आको हो -' उसले 'हो । यहाँ बसेर के गर्न पो सकिन्छ र । जाने नि' उसले सजिलो उत्तर दियो । अनि मैले यसरी भेट हुनेहरुलाई सुनाउने पुरानै कुरा भनेको थिए । उमेर छउन्जेल बाहिर गएर पछि आउँदा चाहि के नै गर्न सकिएला र । अलि समय गयो । आएपछि बसेर यही केही गर्नुपर्छ । सधै यसरी गइरहनु हुँदैन । युवा यसरी विदेशिएर हुन्छ । उसले आलटालको उत्तर फिरायो । उसले मलाइ प्रस्टीकरण दिइरहनु र मैले लिइरहनु उचित थिएन । तापनि श्रम गर्न कै लागि बाहिर जाने हो भने निश्चित केही समय बसेर फिरेपछि यतै बाँच्ने बाटो खोज्नुपर्छ भन्ने मेरो राय हो । तर, उसले 'ल यहाँ बसेर म के गरुँ त -' भनेर सोध्दा मैले यस्तो चाहि उचित भनी उसलाई सुझाउन सकिन ।
                    मुलुकको अर्थतन्त्रमा विदेश गएर काम गरिरहेकाहरूको ठूलो भर छ । विदेश जानु हुँदैन भन्ने होइन । तर, काम गर्ने उमेरकाहरू बाहिर गएपछि मुलुकमा दक्ष कामदारको अभाव हरेक क्षेत्रमा खड्किएको अनुभव हुन्छ । कामका क्रममा म धेरै यस्ता ठाउँ पुग्न पाएको छु- जो आफ्नै मुलुकका राम्रो आयका क्षेत्र हुन् । तर, यहाँ काम गर्नेहरू धेरै संख्यामा बाहिरबाट  ल्याइएका छन् । कामका लागि विदेशिने क्रमले नै उनीहरूलाई पनि यहाँ ल्याएको हो । तर, कुनै एक क्षेत्रमा सीप बनाउने हो भने देशभित्रै काम गर्न नसकिने भन्ने छैन । आज मुलुकका धेरै क्षेत्रमा नेपालीको उपस्थिति घट्दो छ । सहभागिता घट्दो हुनुका पछि काम नगर्नेभन्दा पनि राम्रो दामका लागि कामको खोजीमा बाहिरिएकाहरूकै कारण यस्तो भएजस्तो लाग्छ । मानिसले काम गर्ने आफू र परिवारका लागि हो । उनीहरूको खुसीमा साथ रहनुको रमाइलो भिन्न छ । निश्चित समय बाहिर बसेर आएपछि घरमा रहेर यही कतै केही गर्ने जाँगर हुँदा कति जाती हुन्थ्योहोला ।

Sunday, June 6, 2010

प्राकृतिक स्रोत र हामी

लामो समयपछि नेपाल आएका मेरा एक आफन्तलाई यहा एउटा कुरा नौलो र असहज लागेछ । उहाँले पहिले कुराकानीकै क्रममा भन्नुभयो । पछि फेरि फोन गरेर सम्झाउनु भयो । हेर्दा हेर्दै अभ्यस्त भएका हाम्रालागि यो नौलो छैन । विषय थियो- दिनहुँ ढुङ्गागिटी भारत लगिनु । दैनिक सयौंको संख्यामा ट्रक गिटीढुङ्गा बोकेर पारि जान्छन् ।
सबैले गरि खान पाउनुपर्छ । बेच्न हुने नियम बनाएको सरकारलाई संसदको प्राकृतिक स्रोत तथा संसाधान समितिले केही समयअघि सचेत गराएको थियो । केही साता निर्यातमा बन्देज पनि रह्यो । तर, अहिले फेरि त्यस्तै छ । खोलाहरुमा करोडौंको लगानीमा क्रसर राखिएका छन् । तिनले पहिले उठाउने गिटीढुङ्गा अहिले नजिकै र सजिलै पर्याप्त छैन । जुटाउन निकैमाथिसम्म पुग्नुपर्छ ।
गत साता इटहरीमा मेरा एक मित्रले भनेका थिए 'त्यो गछियामा गएर राम्ररी हेर्नुस । अहिले त्यहाँ नजिकै गिटीढुङ्गा छैनन् । यसरी रातारात रित्तियो भने भोली हामीलाई चाहिने बेलामा के गर्ने होला -' मैले उनलाई भनेथेँ 'तपाइले राम्ररी बुझनु भएको रहेछ, लेख्नुस् न ।' उनले त्यतिकै टारे । भने ' म सक्रिय पत्रकार होइन । यस्तो काम तपाइहरु जस्तोको हो । भन्दिए जेसुकै गर्नुस ।' उनको भनाइले घोचिरहेको भान हुन्छ । नीतिनिर्माता र जिम्मेवार निकाय मौन बसेको मुलुकमा लेखेर मात्र केही हुने होइन । अनि हामी राजनीतिक भाषणका खुराकलाई समाचारको मुख्य प्राथमिकताका रुपमा पस्कने बानी जो परेका छौ । हिजोआज राजमार्गमा निर्वाध गुडेका मालवाहक ट्रकमा हाम्रा प्राकृतिक स्रोतको व्यापार देख्दा नीतिनिर्माता के गरेर बसेका होलान् भन्ने लाग्छ ।
जल,जमीन र जंगल । मानवीय आवश्यकताका अकाट्य कुरा । संघीय संरचनामा मुलुक गएपछि तिनैका कारण एकपटक ठूलो विवाद देशले अवश्य भोग्छ । सत्तासीन दलहरु सरकार जोगाएर विलासी जीवनको बानी परेकाले मौन बस्नु स्वभाविक बनिसकेको छ । तर, किन कुनै पनि दल, संगठन र व्यक्तिमा यसको चिन्ता र गम्भिरता घटेको होला ? - प्रश्न सबैले आफैलाई सोध्नुपर्ने बेला भइसकेको छ ।
भारतले चार लेनको राष्ट्रिय राजमार्गका लागि नेपालबाट गएका ढुङ्गागिटी उपयोग गरिरहेको छ । एक अर्ब जनसंख्या भएको त्यो मुलुकलाई डेढ करोड जनता भएको सानो देशले भरथेग गर्ने हो र ? अहिले रकम आएको होला । पछि हामीकहाँ राजमार्ग र यस्तै ठूला भौतिक संरचनाको निर्माण गर्ने गरि योजना ल्याइए हामीले कहाँ खोज्न जाने होला ? राणाकालीन सरकारका बेलामा नेपालका जंगल मासेर भारतीय रेलमार्गका लागि काठ लगिए । नेपाली भुभागबाट बगेका नदिको पानी सदुपयोगमा भारतको आफ्नै योजना छ । सडक बनाउन हामी हौसिएर ढुङ्गागिटी बेचिरहेका छौ ।
साना कक्षामा नानीहरुलाई पढाइन्छ । जंगल भए पानी पर्छ । स्वच्छ अक्सिजन हामीलाई प्राप्त हुन्छ । अहिले वंगल जथाभावी काटिएका छन् । सामुदायिक वनको बलमा केही क्षेत्र संरक्षित देखिएपनि प्राकतिक रुपमा पाएको अवस्थामा धेरै परिवर्तन छन् । अनि स्रोत साधन रित्तिदै जाँदा हामीले पढाउने भाषा र भाव फेर्ने अवस्था आउदैन भन्न सकिन्न ।  
भनिन्छ अवको विश्वमा कुनै कुराका लागि द्वन्द्व भयो भने त्यो पानीका लागि हुनेछ । कारण, मुल सुकेका छन् । देश हाक्ने राजधानी खाल्डोमा बितेका तीन दसकमा पनि अझै पानीको जोहो छैन । भविष्यका लागि ढुक्क हुने योजना छैन । बढ्दो जनसंख्यालाई पुर्‍याउने पानीका लागि राजधानीवासी मेलम्ची सपना बोकेर जार र टंयाङ्करको पानी खाइरहेका छन् । राजधानी खाल्डो ५ सय किलोमिटर टाढा छ । विराटनगरबाट इटहरी पुगौ । त्यहा कुनैबेला गाडेका ट्युवेल खिचिरहनु पर्दैन्थ्यो । त्यहाँको पानीको सतहको अवस्था यति राम्रो थियो कि त्यसै पानी आउथ्यो । अहिले त्यो अवस्था छैन । पानीको सतह घटेको छ । जंगलको आकार घटेकाले यस्तो भएको भन्दा धेरैले अचम्म मान्छन् । जंगल मासिएको ठाउँ बस्ती विस्तारित भएको छ । ढुङ्गागिटी झिक्न थालिएका ठाउँ जंगल मासिएका छन् । 
चुरे शिवालिक क्षेत्रमा पश्चिमबाट पूर्व आउने हो भने धेरै ठाउँ क्रसर लगाइएका छन् । गत वर्ष सरकारले यसरी गरिने निर्यातमा ११३ प्रतिशत कर बृद्धि गरेको थियो । विरोधमा क्रसर सञ्चालकहरु उत्रिएका थिए । पारी लैजान बन्देज गरियो । त्यसविरुद्ध पनि ठूलो हंगामा भएकै हो । 
काटेका विरुवा बढ्न समय लाग्छ । तर, बढ्छ अवश्य । जथाभावी गिटीढुङ्गा झिक्ने हो भने त्यो फेरि बन्दैन । रोपेर पनि फल्दैन । प्रकृत्रि्रदत्त साधनमाथि बढ्दो मानवीय हस्तक्षेपका पछि सुदुर भविष्यका निश्चित योजना तय गरिएको हुनुपर्छ । रित्तिएपछि के गर्ने ? अहिले कुनै दल बोल्दैन - परिवर्तन र समुदायको अधिकारका लागि लडेको भन्दै बन्द , विरोध र गर्जन गर्ने संगठनहरु मौन छन् । अहिले बाटो हिड्ने यात्रुले प्रत्यक्ष अनुभव गर्न सक्छन् , जहाँ बालुवा र ढुङ्गा झिकिएका छन् । ती क्षेत्रका पुलहरुको आधारस्तम्भमा सतह घटेका छन् । तलसम्म खोलिएको देख्न पाइन्छ ।
बेला बितेपछि रोएर केही हुन्न । अहिले क्रसर व्यवसायमा लगानीकर्तालाई सरकारले उक्साएको छ । उनीहरुले ठूलो लगानी प्राकृतिक स्रोतसाधन रित्याउन लाइसेन्स नै पाएका छन् । उनीहरुसँग कुरा गर्दा सरकारको दोष देखाउँछन् । नीति फितलो हुनुका पछि सरकारकै दोष हो । तर, अझै उपयुक्त नीति ल्याएर प्राकृतिक स्रोत जोगाउन ध्यान नदिने हो भने भविष्य विकराल हुने संकेत प्रष्ट छ ।

Tuesday, June 1, 2010

बगैंचामा चिरबिर

गुलेली बोकेका बालकहरु देखिए भने कमलबहादुर बानिया उनीहरुलाई सम्झाउँछन् । भन्छन् 'चरा मार्नु हुदैन । हेर त , कति मजाले चिरबिर गर्छन् । हाम्रो केही बिगार्ने होइनन् ।' विराटनगर-१९ घर भएका उनलाई कसैले पनि चरा नमारे हुन्थ्यो जस्तो लाग्छ । भन्छन् 'प्रकृतिले कति राम्रा स्वर र रुपरंग दिएका पंछी छन् । उनीहरुलाई हेरिरहे मान्छेको मन नै फुरुङ्ग हुन्छ ।' उनले भनेजस्तै छन् हाम्रा वरपर देखिने चराहरु ।  उनीहरुको चिरिबिर आवाजले हामी बिहान भएछ भन्ने थाहा पाउछौ । अझ घरछेउमा बगैचा छ भने त्यहाँका बोटबिरुवामा विहान निकै चरा भेला हुन्छन् । र, तिनीहरुको चिरबिरले बिहान भयो है भन्ने जनाउ दिन्छन् । उनीहरु बोटबिरुवाका पात , डाठ र जमिन चहार्दै उड्दै खानाको खोजी गरिरहेका हुन्छन् । 
कोइली 'को हो को हो' भन्छ । उसको प्रश्नको जवाफ अरु चराले दिएजस्तो देखिदैन । अरु चरा चिरबिर गर्छन् । चराका आकारप्रकार र प्रजाति अनुसार रुपरंगसगै आवाज भिन्न-भिन्न हुन्छ । कुनै चरा एक्लै, कुनै जोडी र कतिलाई समूहमा देख्न सकिन्छ । धेरै चराका आवाज मोहक हुन्छन् । तर, कागले 'काग काग' भन्दा उसको स्वर हामीलाई कर्कस लाग्छ । 
हाम्रा छेउछाउका बगैचा तथा रुखहरुमा धेरैले सजिलै देख्न सक्ने चरामा भगेरा, रुप्पी, फिस्टा, जुरेली, धोबिनी, ढोडे कोइलीलगायत धेरै छन् । यिनमा सबैभन्दा सानो चरो फिस्टो यताउता गरिरहन्छ  । सानो भैकन मिठो आवाज निकालेर बोटविरुवा वा झाडीमा उसले कीराफट्याङ्ग्रा खोजी रहेको हुन्छ । फिस्टालाई धेरैपल्ट जोडी-जोडी डुल्दै गरेको देख्न सकिन्छ । 
चरा धेरै खालका हुन्छन् । धेरैले कीरा-फट्याङ्ग्रा खान्छन् । कतिले फुलको रसमात्र चुस्छन् । कतिले फल खान्छन् । चराले आफ्नै प्रकारले बगैचाको रेखदेख गरिरहेका हुन्छन् । उनीहरुले बगैचामा पात , फुल र फल खाने कीरालाई आफ्नो आहारा बनाएर हामीलाई थाहै नपाइने गरि सघाउँछन् । फुलको रस चुस्ने चराले फल फल्नका लागि फुलबाट हुने परागसेचन प्रक्रियामा विरुवालाई सहयोग गरिरहेका हुन्छन् । रस चुस्नेमा बुंगे चरा अघि-अघि रहन्छ । यसको साधारण अंग्रेजी नाम सनबर्ड हो । नेपालमा सात खालका बुंगे चरा पाइन्छन् । देख्ता फिस्टा जस्तै लाग्ने यो चरा अलि लामो, रंगबिरंगी, लामो वा छोटा पुच्छर भएको देखिन्छ । यसको चुचो फिस्टाको भन्दा थोरै लामो र हँसिया आकारमा केही घुम्रिएको र तीखो हुन्छ । 
फल खाने चराले विरुवाको सख्या बढाउन मद्दत गर्छन् । उनीहरुको दिसामा हुने बीउ सजिलै विरुवा भएर उम्रिएको देख्न सकिन्छ । फल खाने चरामा जुरेली, कुत्रुके, कोकले,काग र रुपीलगायत एक दर्जनभन्दा धेरै छन् । काग र रुपीले सडेगलेका फोहर पनि खाएर वातावरण सफा राख्न मद्दत गर्छन् । 
फल, फूल र पानी भएका बगैचा भए चराले मन पराउछन् । धेरैलाई वर्षभरि नै जहिले हेरेपनि देख्न सकिन्छ भने कतिपय घुमन्ते पनि हुन्छन् । घुमन्ते पनि रैथाने र फिरन्ते गरि दुइ प्रकारका हुन्छन् । फिरन्तेलाई कहिलेकाही मात्र देख्न सकिन्छ । फिरन्तेमा सुनचरी, पिट्ठा, जुरे कोइली, कुक्कु कोइली, सुगा, सुसेली चरी, राजचरी,चाँचर,झयाप्सी र फ्लाइ-क्याचरलगायत धेरै छन् । यिनीहरु नया नया ठाउ घुम्न मन पराउछन् ।
बगैचामा डुल्ने चराहरुको संख्या मौसम अनुसार घटबढ हुने गर्छ । आहाराको खोजीमा रहने उनीहरु जहा खानेकुरा पाइन्छ त्यतै खोज्दै उडिरहने भएकाले यस्तो भएको हो । बचरा हुर्काएर उड्न सिकाउदै गर्दा धेरै चराले आफुभन्दा सानालाई खानेकुरा चुचोले खुवाएको बेला-बेला हामीले देख्न पाउछौ । सबैजसो चराले आफ्ना बचरालाई आमाबुवाले हामीलाई स्याहार गरेजसरी नै खाना खुवाउने र उड्न सिकाउने गर्छन् ।   
बगैचा ठूलो र फलफुलका बोटविरुवा प्रशस्त भएको छ भने त्यस्तो ठाउ खोज्दै आउने चराको संख्या साना बगैचामा भन्दा धेरै हुने गर्छ । पानी भएको ठाउ छ भने चरा नुहाउन पनि मन पराउछन् । पानीमा हुने कीरा पनि खान्छन् । आहाराको खोजीमा राती मात्र उड्ने चरो लाटोकोसेरो हो । बत्तीको उज्यालो छ, कीरा छन् भने चिबेलगायतका चरा खुसी हुन्छन् । बत्तीमा झयाम्मिने कीरा-फट्याङ्ग्रा उनीहरुले खान्छन् ।  
(१६ जेठ ०६७ कान्तिपुर कोपिलामा प्रकाशित ) 

गाउँमा कचहरी

विराटनगर - गाविस सचिवले हिसाब पारदर्शी नराखेको विषयमा भइरहेको सडक बहसमा एक व्यक्ति झोक्किए । उनले अघि सरेर भने 'म पनि गाविसको सचिव हुँ, हामीलाई यसरी पेल्ने ?' गाविसले विकास बजेटमार्फत गराउने कामका लागि सचिवको जिम्मेवारी उपभोक्ता समितिलाई बजेट दिलाइदिनु मात्र भएको बताएका उनले भने 'हिसाब उपभोक्ता समितिको खोज्नुस ।' यो कुनै झगडा थिएन । विराटनगरस्थित आरोहण गुरुकुलले मोरङको दर्वेशामा 'कचहरी' सडक नाटक मञ्चन गरिरहँदा त्यही बाटो हिडेका शनिश्चरेका गाविस सचिव धर्मराज अधिकारीले यस्तो बताएका थिए । 
सडकमा नाटक थालेका कलाकारको हुलले कम गुणस्तरको कुलो बनाउने उपभोक्ता समितिका अध्यक्ष बनेका पात्रसँग हिसाब मागेका थिए । अध्यक्षले काम सिध्याएर हिसाब गाविसमा बुझाइसकेपछि जनतालाई बुझाउने जिम्मेवारी गाविस सचिवको भएको जवाफ फर्काए । सचिवकहा पुगेका जनताले जवाफ पाए 'यसको हिसाब उहिल्यै फर्छ्यौट भइसक्यो । हिसाब सूचना पाटीमा टास पनि गरेको हो । बेला न कुबेला आएर यसरी खोज्न पाइन्छ ?' सचिवले दिएको जवाफ स्थानीयवासीलाई मन परेको थिएन । अनि उनीहरुले कचहरी बोलाए । र, हिसाब कसरी खोज्न सकिन्छ भन्ने छलफल चलाए । उनीहरुले दोष सचिवकै देखेको दृश्य मञ्चन भइरहदा छेवैमा उभिएर नाटक हेर्दै गरेका अधिकारीलाई खपिनसक्नु भएको थियो । उनले नाटकप्रति आक्रोश मात्र पोखेनन् , हिसाब चाहने जनताले उपभोक्ता समितिमार्फत भएगरेका कामको जायजा लिइरहनुपर्ने बताए । अधिकारी कलाकार थिएनन् । उनलाई नाटकका विषयमा पनि जानकारी थिएन । तर, उनले नाटकमा देखाउन खोजिएको सन्देशलाई न्याय गरे ।
 मोरङका १५ स्थानमा कचहरी लिएर पुगेका गुरुकुलका कलाकारका लागि दर्वेशाको मञ्चन यात्राभर मध्येको पृथक अनुभव थियो । कलाकार तथा स्रस्टा विवस पोखरेल भन्छन् 'धेरैखालको अनुभव हुने रहेछ ।' उनका अनुसार धेरै गाउँमा उपभोक्ता समितिमार्फत हुने निर्माणको गुणस्तर र खर्चको हिसाबलाई जनताले पारदर्शी हुनुपर्छ भन्नेमा हेक्का राखेको भेटिएन ।  
'स्थानीयस्तरमा लोकतन्त्र कसरी बलियो हुनसक्छ भन्ने यो सानो हेराइ हो, उनले भने 'तर, यसले ठूलो अर्थ राख्ने रहेछ ।' गाउँ-नगरमा स्थानीय निकायले विकास निर्माणका काम स्थानीय उपभोक्ता समितिबाट गराउने अभ्यास पुरानो भएपनि तिनको विषयमा लिनुपर्ने चासो जगाउन नाटक मञ्चन गरिएको उनले बताए । यहाको हाटखोलास्थित गुरुकुलले लेटाङ, केराबारी, इन्द्रपुर, बयरबन, मृगौलिया, डागीहाट इटहरा, सिजुवा, अमरदह, दर्वेशा, बैजनाथपुर, हरैचा र कसेनीलगायत गाविसका १५ स्थानमा नाटक देखाएर फिरेको छ । 
सडक नाटक मञ्चनमा कलाकारहरू जीवन कुइकेल, विवश पोखरेल, रामकुमार प्याकुरेल, मिलन नेपाली, रामभजन कामत, गजेन्द्र खतिवडा,सुशील पोखरेल उद्धव सापकोटा, दीपा पोखरेल र सीता न्यौपाने आदिले अभिनय गरेका थिए ।