
सडकमा नाटक थालेका कलाकारको हुलले कम गुणस्तरको कुलो बनाउने उपभोक्ता समितिका अध्यक्ष बनेका पात्रसँग हिसाब मागेका थिए । अध्यक्षले काम सिध्याएर हिसाब गाविसमा बुझाइसकेपछि जनतालाई बुझाउने जिम्मेवारी गाविस सचिवको भएको जवाफ फर्काए । सचिवकहा पुगेका जनताले जवाफ पाए 'यसको हिसाब उहिल्यै फर्छ्यौट भइसक्यो । हिसाब सूचना पाटीमा टास पनि गरेको हो । बेला न कुबेला आएर यसरी खोज्न पाइन्छ ?' सचिवले दिएको जवाफ स्थानीयवासीलाई मन परेको थिएन । अनि उनीहरुले कचहरी बोलाए । र, हिसाब कसरी खोज्न सकिन्छ भन्ने छलफल चलाए । उनीहरुले दोष सचिवकै देखेको दृश्य मञ्चन भइरहदा छेवैमा उभिएर नाटक हेर्दै गरेका अधिकारीलाई खपिनसक्नु भएको थियो । उनले नाटकप्रति आक्रोश मात्र पोखेनन् , हिसाब चाहने जनताले उपभोक्ता समितिमार्फत भएगरेका कामको जायजा लिइरहनुपर्ने बताए । अधिकारी कलाकार थिएनन् । उनलाई नाटकका विषयमा पनि जानकारी थिएन । तर, उनले नाटकमा देखाउन खोजिएको सन्देशलाई न्याय गरे ।
मोरङका १५ स्थानमा कचहरी लिएर पुगेका गुरुकुलका कलाकारका लागि दर्वेशाको मञ्चन यात्राभर मध्येको पृथक अनुभव थियो । कलाकार तथा स्रस्टा विवस पोखरेल भन्छन् 'धेरैखालको अनुभव हुने रहेछ ।' उनका अनुसार धेरै गाउँमा उपभोक्ता समितिमार्फत हुने निर्माणको गुणस्तर र खर्चको हिसाबलाई जनताले पारदर्शी हुनुपर्छ भन्नेमा हेक्का राखेको भेटिएन ।
'स्थानीयस्तरमा लोकतन्त्र कसरी बलियो हुनसक्छ भन्ने यो सानो हेराइ हो, उनले भने 'तर, यसले ठूलो अर्थ राख्ने रहेछ ।' गाउँ-नगरमा स्थानीय निकायले विकास निर्माणका काम स्थानीय उपभोक्ता समितिबाट गराउने अभ्यास पुरानो भएपनि तिनको विषयमा लिनुपर्ने चासो जगाउन नाटक मञ्चन गरिएको उनले बताए । यहाको हाटखोलास्थित गुरुकुलले लेटाङ, केराबारी, इन्द्रपुर, बयरबन, मृगौलिया, डागीहाट इटहरा, सिजुवा, अमरदह, दर्वेशा, बैजनाथपुर, हरैचा र कसेनीलगायत गाविसका १५ स्थानमा नाटक देखाएर फिरेको छ ।
सडक नाटक मञ्चनमा कलाकारहरू जीवन कुइकेल, विवश पोखरेल, रामकुमार प्याकुरेल, मिलन नेपाली, रामभजन कामत, गजेन्द्र खतिवडा,सुशील पोखरेल उद्धव सापकोटा, दीपा पोखरेल र सीता न्यौपाने आदिले अभिनय गरेका थिए ।
No comments:
Post a Comment