Friday, March 23, 2012

त्यो अन्तिम ' कमेन्ट '



इन्टरनेटका सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बीबीसी नेपाली सेवा रेडियोका नेपाल प्रमुख रविन्द्र मिश्र लेखिरहन्छन् । धेरैपल्ट उनका स्टाटसमा कमेन्ट लेख्न मन लाग्दैन, लेखिंदैन । मंगलबार उनले आफ्नो फेसबुके भीत्तोमा आफ्नै नयाँ तस्बिर अपलोड गरे र, यस्तो लेखे - 'नेपाली-नेपाली बीच मन फाटेका बेला साना-साना सदभावका कदमले पनि ठूलो अर्थ राख्छ । म पुस्तौंदेखि काठमाण्डुमा बसोबास गरेको हुनाले चलनचल्तिको गलत परिभाषा अनुसार म पहाडे हुँ । तर, मधेसको मन दुखिरहेका बेला मैले अब 'मधेसी पहिरन'लाई आफ्नो 'फ्याशन' को नियमित अंश बनाउने निर्णय गरेको छु । यस्ता कदमले पनि दुखेको मनमा मल्हम लगाउन सहयोग नै पुग्छ भन्ने मेरो विश्वास छ ।'
सञ्चारमाध्यम र पुस्तकमा चाख दिनेले लामो समयदेखि रेडियो पत्रकारिता गर्दै रहेका मिश्रलाई आरामले चिन्छन् । बीबीसीमा उनले नेता, मन्त्री वा त्यस्तै जिम्मेवारलाई हक्की र चोटिलो पाराले प्रश्न सोध्ने शैली गजबको छ । उनको उपरोक्त स्टाटसलाई बुधबार साँझ दोहोर्‍याएर हेर्दा ७ सय ९१ जनाले 'लाइक' गरेछन् । १ सय ४१ जनाले 'कमेन्ट' लेखेछन् । 
०००
मंगलबार साँझ अफिसबाट निस्कने बेलामा फेसबुकको सन्देश बक्समा मेरो सानिमाको छोरा (भाइ) ले केही पठाएछ । उ दुइ वर्षदेखि लण्डनमा छ । श्रीमान/श्रीमति पढदै काम गर्दै । उसले रोमनमा नेपाली लेखेको रहेछ 'रविन्द्र मिश्रको मधेसी पोशाकसहितको स्टाटसमा मेरो कमेन्ट पढ्नु दाजु ...तपाइलाई कस्तो लाग्छ ।' मैले जवाफमा लेखें 'मेरो पढिस् ' उसको जवाफ तत्काल आएन । म मिश्रको फेसबुके भित्तोमा गएँ । 
उसले यस्तो लेखेको रहेछ 'मेरो बुर्झाईमा भित्री मनैदेखि जसले आफुलाई नेपाली भन्न रुचाउँछ साथै नेपालको भलो चाहन्छ भने त्यो जहासुकैको मान्छे किन नहोस् उ नेपाली हो । तर, केवल आफ्नो स्वार्थपूर्तिका लागि मात्र आफुलाई नेपाली ठान्नेहरुलाई नेपाली मानिनु हुँदैन । त्यसैले मेरो बिचारमा कानुनी हिसाबले स्वीस नागरिक भए पनि स्वर्गीय टोनी हेगनले आफुलाई नेपाली भन्न रुचाएका थिए भने उनलाई हामीले नेपाली भन्न हिचकिचाउनु पर्ने देखिंदैन । त्यस्तै स्वर्गीय गोपाल भुटानी जसको नेपाली नागरिकता थिएन । तर, त्यत्रो बर्ष नेपालमा बसेर नेपाली चलचित्रको लागि धेरै योगदान दिए । अनी भित्री मनैदेखि नेपाली भन्न रुचाए, त्यसैले साचो रुपमा उनी नेपाली हुन् । उता नेपाली नागरिकता भए पनि केवल नेपाली श्रोताबाट प्रशंसा पाउन अनी तत्कालीन श्री ५ बाट गोरखादक्षण्बाहु पाउने लोभले मात्र आफुलाई नेपाली हु भन्ने गायक उदितनारायन नेपाली होइनन् ।'
मिश्रको स्टाटसमाथिका सबै कमेन्ट सर्सती पढन निकै समय चाहिन्थ्यो । केही पढियो, धेरैले उनको भनाइमा समर्थन, केहीले सिर्जनात्मक आलोचना र केहीले नकारात्मक टिप्पणी लेखेका रहेछन् । तैपनि भद्र विचारलाई समर्थन गर्ने मिश्र तस्बिरमा खुशी नै देखिन्छन् । भाइ सुवास भण्डारी (फेसबुकमा भण्डारीजी) को भनाइमा सहमति वा असहमति केलाउन खोजेको होइन । उसले सन्देश पठाएपछि उसको विचार पढियो । मैले अपलोड गर्ने तस्बिर र स्टाटसमा पनि उ बेलाबखत कमेन्ट गरिरहनेमध्येको उ एक थियो । 
उसको जवाफ नआएपछि मैले सन्देश लेखें 'गजब कान्छा । राम्रो झटारो । मैले पढें ।' तर, २४ घण्टा बित्यो, उसले जवाफ फिराएन । 
०००
पत्रकारिताका गुरुहरु भन्छन् 'समाचारमा विचार आउनु हुँदैन । विचार लेखमा आउनुपर्छ ।' विचारविहिन मान्छे हुँदैनन् । राम्रो, नराम्रो वा कुनै पनि राय दिन नचाहने, थरिथरिका मान्छे भेटिन्छन् । स्टाटसमाथिका प्रतिक्रिया केवल विचारमा मात्र आधारीत हुन्नन्, धेरैपल्ट क्षणिक सनकमा पनि लेखिएका हुन्छन् । 
गत आइतवार तस्बिरमा वाटरमार्क (पानी संकेत) राख्न सिक्दै गर्दा मैले जालमा माछा भएको एउटा तस्बिर अपलोड गरें । सुवासले कमेन्ट लेख्यो 'दाजु, फोटो त राम्रो छ । तर, यो नामचाहिं अलि सानो साइजमा यसो साइडतिर राख्नु भए फोटोको सुन्दरता बिग्रिन पाउने थिएन कि...।' मैले उसलाई जवाफ लेखे 'मुला, यहा फोटो चोरले ढुटो पार्छन् । अनि यसरी राखेको हो ।' फेसबुकको भीतो सार्वजनिक ठाउँ भएकाले मेरो 'मुला' थेगो अरुलाई अपच लाग्ला भनेर तुरुन्तै डिलिट गरें । उसले सन्देशमा लेखेछ 'दाजु, कमेन्ट त मेटनु भो नि' मैले जवाफ दिए 'हेर भाइ, फोटो खिच्न सजिलो छैन । खिच्ने क्यामरामा परेको दाम, अनि सही समय र भाग्यले भएका सुन्दर क्लिकलाई चोरले कपी गरेर आफ्नो काममा उपयोग गर्छन् । फोटो खिच्नेको श्रम-पसिना मर्छ । त्यसैले वाटरमार्क राख्नु उत्तम हो । फोटो हेरेर जसलाई चाहिन्छ उसले इ-मेल वा फोन गरिहाल्छन् । समस्यै हुँदैन नि ।' 
०००
उसले पनि फेसबुकमा एउटा अभियान चलाएको थियो 'मातृभूमिको पर्यटन प्रवर्द्धनप्रति समर्पित' शिर्षकमा । धेरै राम्रा तस्बिर संग्रह गरेको थियो । उसले बतायो 'मैले त राम्रा फोटा संकलन गरेर कलेजमा प्रदर्शनी नै गरें । कस-कसले खिचेका हुन् के थाहा ' संवाद अलि लामो चल्यो । 
बुधवार साँझ थाहा भयो, उसले मिश्रको स्टाटसमा लेखेको कमेन्ट अन्तिम रहेछ । उसले त्यसपछि 'सुसाइड' गरेछ । पत्याउन गाह्रो भयो । आफन्तहरुसँग फोन संवादपछि थाहा भयो- उ केही दिनदेखि डिप्रेशनको शिकार थियो । आफुलाई सम्हाल्न सकेन । प्रहरीले उसको शव झुण्डिरहेको अवस्थामा नर्थहेम्टनमा फेला पारेछ । अब उता बुहारी र यता बृद्ध मातापिता कसरी सम्हालिएलान् । आलोपालो लेखिसिध्याउदा म उसँग भएका सन्देश संवाद, अपलोड तस्बिर र उसका कमेन्ट खोजी-खोजी हेदैछु । थाहा छ मलाइ,  अब उ फेसबुकको दोहोरो संवादमा आउने छैन । सोच्दैछु 'कान्छा, तैले आफ्नो अन्तरंग कुरा किन भनिनस् ? किन यस्तो गरिस् ? जीवन फेरि-फेरि पाइँदैन ।'

(विराटनगरको उदघोष दैनिकको आलोपालो स्तम्भमा ०६८ चैत ९ बिहीवार प्रकाशित)

Wednesday, March 14, 2012

चड्कन


'पाँच बज्यो' मोबाइलको अलार्म चिच्यायो । उठें । उसको कोठाको ढोका खुलै थियो । उ थिएन । काउन्टरको केटो टेबलमै निदाएको थियो । बोलाएपछि उठ्यो । बिल तिरें । बिस्तारै तल झरें । 
सोचें 'रात गइ बात गइ, आउने हो कि ।' तर, उ देखिएन । ड्राइभिङ सीटमा एउटा सेतो चिर्कटोमाथि चाबी थियो । त्यो कागज अलिपर सारेर बसें । स्र्टार्ट गरें । डम्म कुहिरो छ । गाडी बिस्तारै अघि बढाएँ ।
रातको बातले मगजमा फन्को मार्‍यो । एक्लै फत्फताएँ - रामबहादुरले के गरेको त्यस्तो ? यतिका वर्षको विश्वास एकै झवाकमा भत्कायो । मत्थु मोरो । 'सरको ड्राइभर झगडा गर्दैछ' राती ११ बजे वेटरले उठाएपछि मेरो पारो तातेको थियो । काउन्टरमा उ लठ्ठ थियो । होटल मालिक्नीले सटको कलर समातेकी थिई । दुवै तँतँ मम गर्दै अपशब्द बोलिरहेका । छुट्याउन एक चड्कन लगाएँ । 'सर पनि कुरै नबुझी...' ऊ रोएको थियो । 
दिउँसै भनेथें 'रक्सी नखाउ है । ५ बजे नै फर्कनु पर्छ ।' रेडियोको रिपिटर टावर राख्न डाँडामा ठाउँ छनोट गर्ने काम । जडान थाल्ने जोहो गर्न विहान ७ बजे नै विराटनगरबाट काठमाडौं उड्नु थियो । 

भेडेटार-धरानको १६ किलोमिटर नागबेली घुम्तीमा ओह्रालो असजिलो लाग्छ । ब्रेकबाट खुट्टा हटाउनै मिल्दैन । सोच्छु -'छिटो कुदाएर केही जित्नु छैन-बिस्तारै गए अवश्य पुगिन्छ ।' एक्लै बोलें -'ब्रेक अलि लुज भएछ कि क्या हो । यस्तो गाडी कसरी कुदाउँछ रामबहादुर ?' 
ध्यान त्यो अघिको सेतो चिर्कटोमा पुग्यो । उठाएँ । उसले लेखेको रहेछ । 
सर, 
त्यस्तो चिसो कोठामा सिरक थिएन । सोध्न झरेको थिएँ । होटल मालिक्नीले मनपरी बोली । पैसा तिरेरै बसेको हो, कसरी सहने ? मैले पनि जवाफ दिए । भनाभन भयो । उसले हात हाली । अनि तपाइले आएर कुरै नबुझी मलाई चड्काउनु भो ।
धेरै रीस उठेको थियो । त्यही झोकमा मैले दुवै ब्रेक खोलेर पुर्जा छुट्याएँ । टुल बक्स डाँडाबाट हुर्‍याइदिए । पछि मलाइ गल्ती गरें भन्ने चेत भयो । अनि टुल बक्स खोजें, भेटिन । सर, गाडी नचलाउनु होला । अरु कुनै रिजर्भ लिएर जानुहोला । म मर्मत गरेर दिउँसो लिएर फर्कन्छु । मलाई माफ गर्नुहोला । 
हजूरको आज्ञाकारी 
रामबहादुर 
(लघुकथा)  

Sunday, March 11, 2012

साथी हुने अधिकार


-'तिमीले चरा देखेनौ ?' 
- 'अहँ, खोइ कहाँ छ चरा ?' 
सेतो रंगको पर्खाल, तार जेलिएका बिजुलीका खाबा, सुर्यास्त सांकेतिक पहेलो आकाश खिचेको उसको लो एंगल तस्बिरलाई धेरैबेर हेरिरहेँ । उ त्यसमा चरा खोज्न आग्रह गरिरहेको थियो । म चराका कुनै आकृति ठम्याउन सकिरहेको थिइँन । 
धेरैबेर कुनै भित्तो हेरिरहे, उक्किएका रंग, चर्किएका धर्का र झिँगाले बिष्ट्याएका दागहरु आकृति देखिन्छन् । तर, न म एकोहोरिन सकिनँ वा ऊ मलाई उल्लु बनाउन उद्दत थियो । ठम्याउन सकिएन । मनोविज्ञानको 'अब्सेसन कम्पल्सन' को पाठ मगजमा घुम्यो । त्यसमा थियो 'यो रोगी उसले सोचेजस्तै भएको ठान्छ । गुडिरहेको गाडी पल्टिन्छ जस्तो, सोचेजस्तो आकृति देखेजस्तो । मात्रा बढ्दै गए उ डराएरै मर्न पनि सक्छ । त्यस्तालाई उसका कुरा प्रतिवाद होइन समर्थन गर्दै सहानुभूतिको उपचार थाल्नुपर्छ ।' मनले भन्यो 'ऊ मनोरोगी हुनसक्दैन, उ दर्शनको छात्र पनि त होइन । उसले झुक्याउन सक्दैन । कारण, उ फोटोग्राफर, जे खिच्छ, त्यही पस्कन्छ । जस्ताको तस्तै ।'
उसको पोस्ट मुन्तिर दिनेभए सोझै प्रतिक्रिया, 'लाइक' को अप्सन थिएन । शिर्षक थियो -'आकाश र चरा ।' एकले 'तस्बिर मन पर्‍यो', दोस्रोले 'क्या दामी' लेखेका, मैले 'खोइ, चरा त देखिन है ।'  
फोटोब्लगमा उसका पाना किन हेरिएछ ? हेरेपनि प्रतिक्रियामा किन हतार ? भित्रभित्रै छटपटी भयो । ऊ म्यासेन्टरको च्याटमा अनलाइन, बारम्बार चरा खोज्न आग्रह गरिरहेको थियो । सबै सोधाइमा मैले सुरुकै प्रतिक्रिया दोहोर्‍याइरहेँ । डर थियो, देखे भन्दिदा कहाँ छ लौ देखा भन्ला । हो, उसका तस्बिरमा चरा थिएनन् । 'सीआरटी मनिटर' मा करीव आधा घण्टा चराको खोजी गर्दा मेरा आँखा टट्टाएका थिए । 
उसले संवाद अन्त्यको संकेत गर्‍यो 'तँ आजबाट मेरो साथी होइन । म तँलाइ मेरो मित्रसूचीबाट हटाउँदैछु ।' अफलाइन भयो । इ-मेल आयो । उसको थियो 'हो, तस्बिरमा वास्तवमै चरा छैन । तर, के चरा भौतिक रुपमै देखिनुपर्छ ? तस्बिरले समेटेको क्षितिजमा म अनगिन्ती चराहरु गुँड फर्किरहेको देख्छु । म जसरी नदेख्नेलाई मेरो साथी हुने अधिकार छैन ।' (लघुकथा)

Friday, March 9, 2012

विरामी कुरुवा : (लघुकथा)


फुच्चे साँचो दिदै मुस्काउँछ । बोल्दैन । बुझेको छ जोडीलाई उसँग संवाद गर्ने समय छैन । उसले देखेका ग्राहकको यो महिना तेस्रोपटकको आगमन हो । हसिलो, छरितो देखिने युवकका हातमा हेलमेट छ । युवतीले सलले टाउको छोपेकी छ । पहिरन हेर्दा उ कुनै प्लस टू की छात्रा वा कुनै अफिस कर्मचारी हुनुपर्ने लख काट्छ फुचे । तर, उसलाई व्यक्तिगत परिचयको चासो छैन । यसपटक पनि जोडीले भनेका छन् 'विरामी इमरजेन्सीमा भर्ना छ । राती कुनै पनि बेला उठेर जानुपर्छ ।'
             एक रातको वासका लागि अस्पतालअघिको त्यो लज सुरक्षित छ । कारण, धेरैलाई लाग्छ यहा बस्ने सबै विरामीका कुरुवामात्रै हुन्छन् । काउन्टरमा बसेको अर्को केटोको मुहार हँसिलो हुन्छ । एक/दुइ सय बढी भन्दिदैमा ग्राहक पक्कै अन्त जाने होइनन् । बढि आए आफूलाई गोजी खर्च जुट्छ । उ बोल्छ 'सर, चार्ज बढेको छ । अब एक रातको ५ सय लाग्छ ।' अघिल्लो साता २ सय ५० तिरेको युवक नाइनास्ती गर्दैन । 'ल ठीकै छ । लिइहाल,' उ भन्छ, 'हामी खाना खाएर आएको हो । केही चाहिदैन । डिस्टर्ब नगर्नु । अनि गेटमा भन्दिनु ।'
          बेलुकी ८ बजे कोठा पसेको जोडी दुइ घण्टापछि निस्कन्छन् । गेट खुलै भएकाले केटो बोलाउनु परेन । मोटरसाइकलको प्रकाशमा बाटामा उभिएको फुच्चे देखिन्छ । उ भन्छ 'दाइ अस्पतालको बाटो त उता हो नि ।' हेलमेटको सीसा अलिकतिमाथि सारेर युवक सयका नोट फुचेलाई थमाउछ । अब फुचेलाई जवाफ चाहिएन । उ सोच्दैछ 'टिप्स दिइरहने यसरी नै आइरहुन् ।' 

Saturday, March 3, 2012

फेरिएका परिदृश्य र पूर्व राजा



गत बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाह भविष्य पुराणका अतिथि भएर सुनसरीको झुम्का पुगे । बुद्ध एयरको एटीआर-७२ विमानबाट विराटनगर विमानस्थल ओर्लदा उनको धेरै वर्ष पहिलेजस्तो तस्बिर लिन समस्या थिएन । पत्रिकाले छाप्ने ग्यारेन्टी थिएन, तापनि विराटनगरसँग जोडिने भएकाले उनको तस्बिर खिचिराख्दा घाटा हुने देखिएन । 
त्यसैले म विमानस्थल पुगेको थिए । पुग्दा म दोस्रो सञ्चारकर्मी भएँ । झापाली टेलिभिजन हिमशिखरका संवाददाता भाइ यज्ञ मात्र एकजना पुगेका थिए । बिस्तारै साथीहरुको संख्या थपियो । संख्या थपिनुको अर्को कारण रहेछ एसएमएस । पत्रकार महासंघ शाखाका कार्यालय सचिव दीपक भाइले अवतरणको आधा घण्टाअघि राप्रपा नेपालले विमानस्थलमा गरेको निम्तोको एसएमएस सन्देश पठाएका थिए । मैले त्यो सन्देश विमानस्थलमै हेरे ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मी साथीहरुले कहिलेकाही गजब गर्छन् । कोही चढ्न उत्रन नभ्याउदै पुग्छन् । यो आयो, उ गयो, यसले ख्वाक्क गरो, उसले प्वाक्क लाग्ने बोल्यो । फलानो चुप लाग्यो । फलानोले हंुकार र चिलानोले डकार गर्‍यो । अनि तातो तातो समाचार बनाउछन् । मलाई अघोषित एयरपोर्ट सञ्चार क्लवको उति चासो रहन्न । जानैपर्ने गतिलो कारण भएमात्रै पुगिन्छ । 
०००
यसपटक मलाइ हेर्नु थियो, माघ १९ को कु पछि पूर्वाञ्चलवासीका तर्फबाट राजारानीलाई अभिनन्दन भन्दै आएका बेला ज्ञानेन्द्रको तस्बिर लिन हम्मे परेको थियो । उनी कोसीअञ्चल अस्पताल पसेका थिए । म तस्बिर लिन भित्र जान खोजेको शरद चन्द नामका डीएसपीले 'भाइले नेपाली टोली लगाउनु भएको छैन । भित्र जान मिल्दैन' भनेर पस्नै दिएनन् । अस्पतालको मुल गेटबाट हाडजोर्नी विभागको गेटको दूरि झण्डै पाच सय मिटर । बाटामा सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको थियो । सुरक्षाकर्मीलाई परिचयपत्र देखाउदै, अनुरोध गर्दै बल्ल पुगियो । त्यो गेटमा सइ मोहन बोगटी भेटिए । उनलाई मैले तीन वर्षअघि चिनेको थिए । परिचय राम्रै थियो । उनलाई समस्या बताएपछि चोर जसरी भीडबाट लुसुक्क पस्न सिकाए । त्यसै गरियो । भित्र पसेर तस्बिर लिन सक्दा युद्ध जिते बराबर भएको थियो ।
ज्ञानेन्द्र गेटबाहिर उनको सवारीमा बसेनन् । लुरुलुरु हिडे, मानौ चुनाव प्रचारमा भोट माग्न आएका नेता हुन् । त्यसबेला बाटामा फोटो लिन पनि हम्मे पर्‍यो । सेनाले छेकेको छेकेकै । लिइयो, समाचार पनि लेखियो 'राजा सडकमा' भनेर ।
०००
दोस्रोपटक गत वर्ष गणेश पुजामा उनी आउदा अघिल्लोपटक जस्तो सकस भएन । बरु असारे झरीको बेला थियो । मेरो क्यामेरा ब्रि्रेको थियो । एक जना साथीको क्यामेरा मागेर काम चलाइयो । झरीमा आफु भिज्दा क्यामेरा चाहि केही नहोस् भन्ने चिन्ता थियो । 
कृष्णजन्माष्टमीका भोलीपल्ट रथमा मूर्ती राखेर नगर घुमाइने चलन विराटनगरको ठूलो सार्वजनिक पर्व मानिन्छ । यो छ दसक पुरानो चलन अझै निरन्तर छ । यसबेला विराटनगरमा धेरै भीड हुन्छ । यस्तै कुनै रथयात्राका बेला रथ तान्ने र हेर्नका लागि बाटामा पानी र शर्बत वितरण गर्ने एउटा जमातको चित्त बुझेन । रचयात्रा आयोजकसग मनमुटाव भएछ । त्यसपछि उनीहरुले पनि त्यस्तै अर्को कार्यक्रम डिजाइन गरे । यही हो गणेश चौथीमा गणेशको मुरर्ती राखेर पुजा गर्ने चलन । 
राधाकृष्ण रथयात्रा पोखरियास्थित मन्दिरबाट सुरु हुन्छ । गणेशपूजा बजारस्थित सरस्वती हाइस्कुल परिसरमा । गणेश पूजाका लागि सक्रिय हुने जमातका केही प्रभावशाली राप्रपानजिकका छन् । त्यसैले ज्ञानेन्द्र आउने चाजो मिलेको थियो । जे होस् गणतन्त्र घोषणापछि ज्ञानेन्द्र घुमफिर गर्दा तस्बिर लिन समस्या छैन । तैपनि उनको तस्बिर लिनसक्नु आफैमा सजिलो हुदैन । उनको सुरक्षा घेरा । प्रहरीको आवश्यकताभन्दा बढि नै सतर्कताको बनावटी पारा । त्यसबेला तस्बिर लिइयो । अघिल्लोपटकजस्तो समाचार लेख्न अघि सरिएन । मलाइ कभरेज शैलीको भान थियो । पेपरले महत्व दिदैन वा क महत्वको समाचारको श्रेणीमा राख्छ । त्यसैले अघि सर्न उचित भएन । 
०००
यसपटक झुम्कामा भविष्य महापुराणका अतिथि भएर आएका ज्ञानेन्द्र विमानस्थलबाट करीव दुइ सय मिटर पैदल हिडे । शुभेच्छुकका उनका लागि लागेका नारा सुने । अनि झुम्का गए । फिरेर आएपछि पत्रकार भेटघाट भनिएको होटल रत्नामा हामीलाई बोलाइएको थियो । गइयो, उनका संक्षिप्त कुरा सुनियो । उनी केही गलेकाजस्ता देखिए । उनले देशभक्तिका कुरा गरे । गर्नै नपाइने भने होइन । तर, .............दैला देख्योको उखान सम्झना हुन्छ । समय बित्यो । उनका तस्बिर खिचियो । यसपटक ज्ञानेन्द्रका तस्बिर खिच्नु प्रचण्डभन्दा सजिलो देखियो । बेला बेला प्रचण्डका सुरक्षामा खटिएकाहरुले नजिक जान रोक्छन् । खिच्न खोज्दा अघि आइदिन्छन् । परिदृश्य कसरी फेरिदो रहेछ भन्ने तस्बिर हेरेर सोच्छु ।