Saturday, September 13, 2008

गधाको खोजी


सपना भाँचिएका कथाहरु पुराना हुन्। तर, सपना पुरा गर्नका लागि ज्यान जोखिममा हाल्ने कथा त्रासपूर्ण र सधैं नयाँ लाग्न सक्छन्। क्यामराम्यानबाट निर्देशक बनेका बलिउडका युवा फिल्मकार सन्तोष सिवनले केही समयअघि 'टेररिस्ट' ल्याएका थिए। यसपटक उनको 'तहान' मानवीय अन्तर्मन र विवेकका साथ जीवनका आधारहरु बारे सोचनीय बनाउने प्रकारको छ।

तहानमा शीर्षपात्र तहान (पूरव भण्डारे) नामका बालक र उनको बिरबल नामको गधाको सेरोफेरोमा कथा छ। तहानका पिता तीन वर्ष अघि एकाएक बेपत्ता भएका थिए। उनी आमा हाबा (सारिका), बैनी जोया (साना शेख) र हजुरबा (भिक्टर बनर्जी) का साथ कश्मीरमा बस्छन्। उनलाई आशा छ, बुवा एक दिन फर्केर आउनेछन्। तर, जीवनमा नयाँ मोड आउँछ। जब बुवाले लिएको ऋणको बदलामा गाउँले साहुले उनको गधा सुभान (अनुपम खेर) नामको एक धनी मान्छेलाई बेचिदिन्छन्। गधा सुभानसँग पहाडमा पुग्छ। तहानको मनोभावना गधाको खोजीमा केन्द्रित हुन्छ।

अब उनी त्यसको खोजीमा लाग्छन्। बाटामा भेट भएका जफर (राहुल खन्ना) पनि उनको खोजीमा सहयात्री बन्छन्। दुवै त्यो गधा भएका सुभानसम्म पनि पुग्छन्। अनि सुरु हुन्छ चलचित्रको खास क्लाइमेक्स। 

एक रहस्यमय इद्रिस नामको मान्छेले उनीहरुसँग एउटा प्रस्ताव राख्छ। यदि उनीहरुले उसको एउटा काम गरिदिए गधा फिर्ता दिलाइदिने। तहान छक्क पर्छन्। इद्रिसले उनको हातमा एउटा ग्रिनेड (बम) राखेर गएको हुन्छ। तहानले बीरबल (गधा) फिर्ता पाउन त्यो बम हान्नुपर्ने हुन्छ। त्यसबेला एउटा बालकको अप्ठ्यारो परिस्थितिलाई सिवनले सजिलै चलचित्रमा उतारेका छन्। 

आठ वर्षका बालकको सुझबुझले निर्दोषहरुको ज्यान बच्ने कथा दर्शकका लागि नयाँ धारमा आएको छ। गत साताबाट प्रदर्शन सुरु भएको यो हिन्दी चलचित्रका पात्रहरुको अभिनय पनि जीवन्त छ। लामो समयपछि यसमा सारिकालाई देख्न पाइन्छ।

भारत-पाकिस्तानको लामो समयदेखिको विवादका कारण चर्चामा रहने कश्मीरका दृश्य देख्न सकिने यो फिल्ममा कश्मीरका भूभाग सम्झँदा गुन्जिने वाद्ययन्त्रका धुनहरु सुन्न सकिनेछ। 

निर्देशक मणिरत्नमसँग क्यामराम्यानका रुपमा 'दिल से' मा काम गरिसकेका सिवनको यसपटकको विषय बलिउडको धारभन्दा पृथक छ र, यसले आमीर खानको 'तारे जमीं पर' मन पराउनेहरुले नरुचाउने कुरै भएन।

No comments: