Saturday, September 13, 2008

गधाको खोजी



सपना भाँचिएका कथाहरु पुराना हुन् । तर, सपना पुरा गर्नका लागि ज्यान जोखिममा हाल्ने कथा त्रासपूर्ण र सधै नयाँ लाग्न सक्छन् । क्यामराम्यानबाट निर्देशक बनेका बलिवुडका युवा फिल्मकार सन्तोष सिवनले केही समयअघि 'टेरोरिस्ट' ल्याएका थिए । यसपटक उनको 'तहान' मानवीय अन्तर्मन र विवेकका साथ जीवनका आधारहरु बारे सोचनीय बनाउने प्रकारको छ ।
तहानमा शिर्षपात्र तहान (पूरव भण्डारे) नामका बालक र उनको बिरबल नामको गधाको सेरोफेरोमा कथा छ । तहानका पिता तीन वर्ष अघि एकाएक वेपत्ता भएका थिए । उनी आमा हाबा (सारिका), बैनी जोया (साना शेख) र हजुरबा (भिक्टर बनर्जी) का साथ कश्मीरमा बस्छन् । उनलाइ आशा छ, बुवा एक दिन फर्केर आउनेछन् । तर, जीवनमा नयाँ मोड आउँछ । जब बुवाले लिएको ऋणको बदलामा गाउँले साहुले उनको गधा सुभान (अनुपम खेर) नामको एक धनी मान्छेलाई बेचिदिन्छन् । गधा सुभानसँग पहाडमा पुग्छ । तहानको मनोभावना गधाको खोजीमा केन्द्रित हुन्छ ।

अब उनी त्यसको खोजीमा लाग्छन् । बाटामा भेट भएका जफर (राहुल खन्न्) पनि उनको खोजीमा सहयात्री बन्छन् । दुवै त्यो गधा भएका सुभानसम्म पनि पुग्छन् । अनि सुरु हुन्छ चलचित्रको खास क्लाइमेक्स । एक रहस्यमय इद्रिस नामको मान्छेले उनीहरुसँग एउटा प्रस्ताव राख्छ । यदि उनीहरुले उसको एउटा काम गरिदिए गधा फिर्ता दिलाइदिने । तहान छक्क पर्छन । इद्रिसले उनको हातमा एउटा ग्रिनेड -बम) राखेर गएको हुन्छ । तहानले बिरबल फिर्ता पाउन त्यो बम हान्नु पर्ने हुन्छ । त्यसबेला एउटा बालकको अप्ठ्यारो परिस्थितिलाई सिवनले सजिलै चलचित्रमा उतारेका छन् । आठ वर्षका बालकको सुझबुझले निर्दोषहरुको ज्यान बच्ने कथा दर्शकका लागि नयाँ धारमा आएको छ । गत साताबाट प्रदर्शन सुरु भएको यो हिन्दी चलचित्रका पात्रहरुको अभिनय पनि जीवन्त छ । लामो समयपछि यसमा सारिकालाइ देख्न पाइन्छ ।
भारत-पाकिस्तानको लामो समयदेखिको विवादका कारण चर्चामा रहने कश्मीरका दृश्य देखन सकिने यो चलचित्रमा त्यो भुभाग सम्झदा गुन्जिने बाद्ययन्त्रका धुनहरु सुन्न सकिनेछ । निर्देशक मणिरत्नमसँग क्यामराम्यानका रुपमा 'दिल से' मा काम गरिसकेका सिवनको यसपटकको विषय बलिवुडको मुलधारभन्दा पृथक छ । र, यसले आमीर खानको 'तारे जमीं पर' मन पराउनेहरुले नरुचाउने कुरै भएन ।

No comments: