Friday, September 12, 2008

भुँइ जिन्दावाद


आज विराटनगरमामा संसारीमाइस्थानको बाटो पूर्व जाँदै गर्दा एउटा दृश्यले रोकिन बाध्य गरायो । त्यहाँ मन्दिरसँगैको भानुमोरङ प्रावकिा विद्यार्थी भुँइमा बसेर पढ्दै थिए । उपमहानगरको मुटुमा रहेको स्कुल । अनि विद्यार्थी भुँइमा ।
हुन त सरकारी विद्यालयको हालत यस्तै हो । तर कारण जान्न मन लाग्यो । शिक्षिका दिदीले बताउनुभयो । अनि शंका पनि गर्नुभयो । पत्रकारले के छाप्लान छाप्लान । त्यहाँ ५ कक्षासम्म पढाइ हुने रहेछ । कक्षा नपुगेर निजी जग्गामा स्कुलले अलि दक्षिण टहरो बनाएको रहेछ । कक्षा ३ को सेक्सन ख को पढाइ त्यहाँ हुने रहेछ । टीनको छानो, टिनको ढोका अनि टीनकै बारबेर । आलुको तरकारी, आलुको भात, आलुको अचार भने जस्तै । स्कुलले त्यहाँ कक्षा राखेकोमा विवाद अर्कै रहेछ । त्यस्तो सकस हुने कक्षामा पढने केटाकेटीका बारे सोच्ने कोही भएनछ । विवाद अतिक्रमण गरेको बारेमात्र चर्किएको रहेछ ।
घाम चर्किएका बेला टीन तात्दा विद्यार्थी बेहोस हुन थालेछन । दिनमा तीन चार जना बेहोस भएपछि विकल्पको खोजी थालियो । अनि त्यहाँ पढाइ सम्भव भएन । अनि अर्को कोठा पनि रहेनछ , जहाँ उनीहरुलाइ सार्न सकियोस । स्कुलले उनीहलाइ बाहिर भुँइमै पढाउने निधो गरेछ । अनि उनीहरु त्यहाँ रहेछन् ।
धन्य छ । मुलुकको दोस्रो ठूलो सहर । अनि शिक्षालयप्रतिको उतरदायित्व बोकेकाहरु । विद्यालय सुधारका ठूला कुरा गर्नेहरुलाइ विद्यार्थीको त्यो सकस नजरमा परोस ।
(२०६५ भदौ २७ शुक्रवार)

No comments: