Tuesday, September 16, 2008

जोडिएको क्रम




सोमबार बेलुकी १० बजे । घर फिर्दै गर्दा बाटोमा झिलिमिली देखेर बाइक रोक्न मन लाग्यो । विराटनगर-१७ सैनिकटोलको बाल निमावि । जुन स्कुलमा मैले पनि चार कक्षासम्म पढेको थिए । त्यसको परिसरमा निकै भीड थियो । अनन्त चतुर्दशीमा विष्णुको मूर्ति राखेर पुजा गर्नु यहाँको चलन नै छ ।
यही चलनमा यहाँ पुजा थियो । पुजामा अर्को रौनक थियो - नौटंकीको । मधेसमा मिश्रति भएर बसेका जातजातीको संस्कृति रमाइलो छ । नौटंकी मधेसीहरुले रमाइलो मान्ने मञ्चको कला हो । म स्कुल परिसरमा पसें । अनि केहीबेर हेरेपछि फोटो लिन मन थाम्न सकिन । कारण मैले लामो समयपछि फेरि यस्तो देख्न पाएको थिए । महाभारतका पात्र दानवीर कर्णको कथामा मञ्चन भइरहेको रहेछ ।
कर्ण र यमराजको संवाद चल्यो । एउटा पात्र माइकमा आफै बोल्थ्यो । अर्का पात्रको आवाज नेपथ्यमा बसेका बृद्धले बोल्थे , उ मुख चलाउथ्यो । खचाखच दर्शक । रमाइलो बेग्लै । नाटकले धर्म र सत्यको मार्गमा लाग्न मानिसलाइ प्रेरणा हुने संवाद सिलोकमा चलाइरहेको थियो । करीव ५ मिनेट संवाद चल्थ्यो अनि तल बसेका बाद्ययन्त्र लिएका कलाकार गाउँथे । केहीको स्वर गाउँदा गाउँदै सुकेको थियो । र, केहीको धोक्रे स्वर । नौलो थियो । रमाइलो थियो । नाटक रातभर चल्ने कलाकारले नै बताए । मैले केहीलाइ चिनेको रहेछु । केही स्थानीय र केही जतुवाका थिए । उनीहरु दर्शकले मजा मानेको देखेर निकै उत्साहित थिए ।
उनीहरु व्यवसायिक वा प्रचारमा आउने पाराको मञ्चमा देखिदैनन् । धेरै कारखनाका कामदारहरु छन् । यस्तो नौटंकी मञ्चन गर्न पाउनु आफैमा मजा रहेको उनीहरुको भनाइ थियो ।

No comments: