अफिसबाट लीला भाइको फोन आउदा म महिला पुनस्थापना केन्द्र (ओरेक) को विराटनगर कार्यालयमा थिएँ। टंकीसिनवारीमा एक जना स्थानीयको घरमा कुनै नौलो जन्तु आएपछि हल्लीखल्ली भएको कुरा उसले भन्यो। घरधनी विष्णु चालिसेले आफ्नो मोबाइल नम्बर पनि छाडेका रहेछन्। झुठो आरोपमा १० महिना थुना शीर्षकको समाचार लेखेपछि त्यसले असजिलो पारेको ओरेककी सुनसरी-मोरङ कार्यालय संयोजक नीतु पोखरेलले फोनमा भनेकी थिइन।
मेरो मनशाय कसैलाई जागिर नै धराप पार्ने गरि असजिलो पार्ने हिसाबले समाचार लेख्नु थिएन। समाचार तयार पार्ने क्रममा पोखरेललाई मैले भेटेको होइन। फोनमा कुरा गरेको हो। विषय अलि असजिलो थियो। कारण- दृश्यमा वादी-प्रतिवादी दुवै पीडित देखिएको थियो।
एउटी १३ वर्षकी छात्रामाथि बलात्कारपछिको गर्भ। उनको सन्तानको बाबु यकिन हुन नसक्नु। अनि जसमाथि बलात्कार गरेको भन्ने आरोप लागेको थियो, उसलाई डीएनए परीक्षणपछि अदालतले सफाइ दिएको थियो। छात्रामाथि सहानुभूति अस्वभाविक होइन। र, यस्ता घटना बारम्बार देख्न, सुन्न र पढ्न मिलेकै हो। तर, एउटा युवकलाई बलात्कार आरोपमा १० महिना थुनेपछि निर्दोष भनेर छाडियो।
यो अवधिमा उसको समयमात्र नाश भएन, समाजिक प्रतिष्ठामा पनि परेको असरको क्षतिपूर्तिको बाटो केही थिएन। जे होस् मुद्दामा छात्राका लागि न्यायिक बाटो देखाउने र उनलाई सुरक्षित आवासमा आश्रय दिने काम ओरेकले गरेको रहेछ। जबर्जस्ती करणीका मुद्दा पीडितका पक्षबाट सरकारले लडिदिन्छ। तर, मुद्दा अदालतमा लैजान पहल कुनै न कुनै संस्थाले नै गरेका हुन्छन्। संस्थाहरुको यो कामै भएको छ।
पीडितका हकमा राम्रो मानिए पनि निर्दोषलाई पीडा पुगे त्यसको सुनुवाइको निकाय छैन। कारण- पुर्पक्षका लागि अदालती आदेशमा कोही थुनिएर फेरि पनि निर्दोष भन्दै सफाइ पाए उसका लागि क्षतिपूर्ति दिलाउने कानुन नेपालमा छैन।
आरोपितले सफाइ पाएपछि ती छात्रा र उनको शिशु कसलाई जिम्मा लगाउने भन्ने अन्योल भएका बेला समाचारले चोट पारेको बताएर छलफलमा बोलाएपनि नजाने भन्ने कुरा भएन। त्यसैले सामान्य छलफल गरियो। त्यसपछि चालिसेलाई फोन गरेर उनको घर लागियो।
***
विराटनगरसँग जोडिएको टंकी गाविस-१ स्थित उनको घरमा म पुग्दा भीड थियो। प्रयोगै नगरेको बाथरुमजस्तो सानो कोठामा छानोसँगैको माथिल्लो खाबामा यो जन्तु बसेको रहेछ। मैले पनि चिनेको परेन। विहान ७ बजेदेखि देखेको भनेपछि यसलाई सुरक्षित निकाल्नु उत्तम हुन्छ भन्ने लाग्यो।
मैले केही तस्बिर खिचेपछि कोशी टप्पु वन्य जन्तु आरक्षमा फोन गरेँ। आरक्षका अधिकृत अशोक रामले मोरङ जिल्ला वन कार्यालयका सहायक अधिकृत गणेश चौधरीको नम्बर दिए। जन्तुका बारेमा बताउदा उनले ओत हुन सक्ने बताए। चौधरीलाई फोन गरेपछि उनी आउन तयार भए। आधा घण्टापछि आए पनि तर, समात्न सकेनन्। भीडले तर्सेको जन्तु मकैबारीहुँदै भागेर हरायो।
म अफिसभन्दा पहिले घर पुगेँ। 'नेपालका स्तनधारी जनावर' पुस्तक ल्याएर हेर्दा त्यो जन्तु सानो नीर बिरालो रहेछ भन्ने यकिन भयो। स्मल इण्डियन सिभेटलाई गुगलमा सर्च गर्दा यस सम्बन्धी धेरै पेज भेटिए।
आइयूसीएनको रेड लिस्ट (संकटमा परेका जीवजन्तुको सूची)मा सन् २००८ मै संकटमा परेको तर, बढी खोजी नभएको दक्षिण-पूर्व एसियाली रैथाने भन्ने जानकारी मिल्यो। यसको तस्बिर २३ वैशाख ०६९ शनिबार कोसेलीमा छापिएको छ।

No comments:
Post a Comment