दशकअघिको एउटा भजन अहिले पनि रेडियो नेपालको धार्मिक कार्यक्रममा बज्छ। श्रोता र कार्यक्रम प्रस्तोताले सम्झनामा नराखेको नाम हुन सक्छ - हरिराज राजवंशी। उनी मोफसलका जो परे।
'जय होस् शिवशंकर त्रिपुरारी, जय होस् पशुपतिनाथ भक्त हितकारी...' का सर्जक हरिराज केही समययता गुनगुनाउनै नसक्ने अवस्थामा छन्। विराटनगर-४ का ६४ वर्षीय संगीतकर्मी एकल एल्बमको तयारी गर्दै रहँदादेखि धेरै बिरामी परे। एकातिर सांगीतिक सक्रियता परिवार चलाउने दरिलो माध्यम बन्न नसक्नु, अर्कोतिर रोगको पिरलो। करिअरमा थोरै निराशा र रोगको धेरै सकसले सांगीतिक सक्रियता केही वर्ष यता घटाउँदै ल्यायो। मृगौला र श्वासप्रश्वास सम्बन्धी रोगले थलिएका उनी लामो उपचारपछि घर फर्किएका छन्।
सानो छाप्राको आँगनमा एक्लै हार्मोनियमसँग सुर मिलाइरहेका देखिने हरिराजले अस्पतालबाट सधैंका लागि छुट्टी पाएका होइनन्। बेलाबेला भर्ना गरेर सघन उपचार गरिरहनुपर्छ। 'साताको दुईपल्ट डाइलासिस,' छोरा विनयले भने, 'त्योसँगै दुई पिन्ट रगत पनि चढाउनुपर्छ।'
कुनै बेला गीत लेख्ने, धुन बनाउने अनि आफैं स्वर दिनेमा हरिराज खप्पिस मानिन्थे। भजन, आधुनिक र फिल्मी गीत गरेका उनी आपनो समुदायका गीत-संगीतमा निपुण मानिन्छन्। करिब नौ सय रचनालाई संगीतबद्ध गरेका उनले मातृभाषा राजवंशीसँगै थारू, भोजपुरी र मैथिलीमा तयार पारेका गीत अझै बेलाबखत बज्छन्। थारू भाषाको पहिलो फिल्म 'हमर भाटु' का लागि उनले गीत लेखे, संगीत पनि गरे।
मेरो आँखाको भाका बुझिदेऊ न हजुर लुटाइदिन्छु मेरो जवानी हजुर...
विराटनगरका उत्साहीले निर्माण गरेको नेपाली फिल्म 'सौभाग्य' को यो गीत लेखेर धुन भर्दा उनले पारिश्रमिक पाएनन्। गीतले जब चर्चा पायो त्यसैलाई पारिश्रमिक माने। अर्को फिल्म 'दुश्मन' र टेलिफिल्म 'आमा' लगायतमा पनि उनले गीतसंगीत दिए।
पछिल्ला वर्ष घरैमा साधना गर्दै रहेका भेटिने यी साधकलाई मधुमेह र उच्च रक्तचाप समेतको समस्या भएको डा. रामहरि घिमिरे बताउँछन्। उनका दुवै मृगौलाले काम गर्न छाडेपछि अवस्था अझ नाजुक भयो। चार महिनायता देखिएको यो समस्याको निदानका क्रममा उनलाई २६ पिन्ट रगत दिइएको छोरा विनयले सुनाए।
एक जमाना उनलाई गीतसंगीतको क्षेत्रभन्दा अर्थोक ध्यान थिएन। त्यही मेसोमा २०२९ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरे। फिल्मी र लोक-आधुनिक गीत रचना र संगीत संयोजनमा सक्रिय रहँदा उनका गीत उदितनारायण झा, कुमार कान्छा, कविता कृष्णमूर्ति, पूर्णिमा, रामा लगायतले पनि गाएका छन्। रचना, संगीत र गायनका तीनै विधामा रमाएका यी कलाकर्मीलाई बेलाबखतका पुरस्कार र सामाजिक सम्मानले कला क्षेत्रमा डोर्याइरह्यो। 'मस्की हिँड्छे रंगिला बुट लगाई, ठिटाहरूको दिलमा छुरा चलाई...' जस्ता तन्नेरी रिझाउने गीत समेटेर 'फेसन द लभ' एकल एल्बम निकाल्ने तयारीकै क्रममा उनी बिरामी भए। बेलाबेला श्वासप्रश्वासका लागि नाकमा अक्सिजनका पाइप लगाइन्छ।
स्थानीय नोबेल अस्पतालको शय्यामा एक दिन उनलाई गुनगुनाइरहेको देखेर डा. गोपाल छक्क परेछन्। हरिराज आफैंले लेखेको 'अरू मरेपछि जल्छ चितामा, म ज्यूँदै जल्छु चिन्तामा...' गुनगुनाइरहेका थिए। 'त्यसपछि पो मैले थाहा पाएँ,' डा. गोपालले भने, 'यी बिरामी कलाकार रहेछन्।'
यी कलाकार अब फेरि गीत-संगीतमा फर्केलान् डाक्टर साब ?
***
(२०६९/०१/१९ मा कान्तिपुर कला र शैलीमा प्रकाशित )
No comments:
Post a Comment