Friday, November 28, 2014

गढीमाई, बलिप्रथा र हामी

सप्तरीको कंकालिनीमा दशैंको महानवमीमा राँगो-पाडो बलि दिइन्छ। त्यो मन्दिर मेरा लागि डेढ घण्टाकै मोटरसाइकल यात्राको दूरिमा छ। काटेको, रगतपच्छे र विभत्स तस्बिर पत्रिकामा छापिन्नन्। त्यसैले खिच्न जाने कुरो पनि भएन।

तर, एकपल्ट मन लाग्यो। घरमा दशैं लागेको छ। अफिस बिदा भए पनि संग्रहका लागि 'फोटो खिच्न जाने' सुनेर श्रीमतीजीले साथै जान मन गरिन्। २ वर्षअघि हो। गइयो। खिचियो। चार सय हाराहारी बली हुने थियो। ३०/३५ भएपछि नै त्यहाँ बसिरहन मन भएन। हिँडियो। गएको दशैंमा फेरि त्यहाँ जान मन भयो। यसपटक मैले सुनसरीका फोटोपत्रकार साथीहरू यात्रा थुलुङलाई बोलाएँ। इटहरीबाट हाम्रो यात्रामा बिसप ताम्राकार पनि थपिए। बिसप पनि राम्रो फोटोग्राफीमा कुशल छन्।
 
कंकालिनी मन्दिर कोसी ब्यारेजबाट केही पश्चिममा छ। यहाँ तराईवासी र भारतीयकै भीड लाग्छ। भीड थियो। हामीले गाडी प्रहरी कार्यालय हातामा पार्किङ गरि खिच्न गयौं। पुगेलगत्तै बली सुरू भयो। ४०/४२ वटा पुगेपछि त्यो दिन पनि धेर बसिएन। हामीमध्येका धेरै यस्ता हुने- रगत हेरिरहँदा टाउको दुखेजस्तो लाग्ने। बलीका तरिका। छिनालेपछि लडेकाको टाउको र जीउ तह लाइएको हेरियो। खिचियो। हिँडियो।

*** 
सप्तरीको भारदहभन्दा धेरै बली बाराको गढिमाईमा हुने सुन्दै-पढ्दै आएको हो।  बेलायतमा गढीमाईमा हुने बलीको विरोध भएपछि यसपटक धेरैका ध्यान त्यतातिर छ। अझ भारतको अदालतले गढीमाईमा हुने बलीलाई नै लक्ष्य गरी त्यतातिर पशु बिक्रीका लागि लान नदिनु भनेपछि पनि ध्यान सोझिएको हो। गढीमाई र कंलालिनीमा दिइने बलीको हिसाब फरक छ। तरिका लगभग उस्तै हुन्।

तराईवासीमा भाकल गर्ने चलन। र, त्यो मनोकांक्षा पुरा भएको मानिए बली दिएर भारा तिरेको ठान्ने संस्कार। जाती र समुदाय विशेषका चलनका आफ्ना विविधता छन्। जसरी कसैको मौलिक भाषा, भेष र धर्मलाई सम्मान गरिनुपर्छ भन्ने मान्यता हो, त्यसैगरि गढिमाई आउने जमातका चलन पनि बुझ्न बाँकी छन्। एकोहोरो विरोधले उनीहरूका आस्थामाथि चोट पारिनु हुँदैन।
 
काठमाडौंबाट फोटोपत्रकार भाइ लक्ष्मीप्रसाद ङाखुसीले अस्ति फोनमा भनेका थिए, 'खिच्न पाइन्छ/पाइँदैन थाहा छैन दाइ। तर, खिच्नै भनेर गढिमाईतिर लागियो।' आज त्यहाँ बली सुरू भयो भन्ने खबर सञ्चारमाध्यममा छन् । ङाखुसी जसरी पुगेका साथीहरूले सुरक्षित काम गर्न पाउन् भन्ने लागेको छ। उताका खबर आसलाग्दा पढ्न मिलेको छैन। खबर पढ्दा लाग्दैछ- आफ्नो चलन मान्न पनि लुकी लुकी काम गर्नुपर्ने अवस्था पारिएको छ।

यस्ता मन्दिरमा गरिने राँगा-पाडा बलिप्रथा अलि अनौठो छ। अनौठो यस अर्थमा- बली दिन ल्याउनेले त्यो पशु ढालेपछि लैजाँदैनन्। त्यसको रगत छर्छन्। कुल र भैरव पुज्छन्। ढलेका टाउका र जीउ मन्दिर व्यवस्थापन समितिले लिलाम गर्छन्।  खरिदेको भीड लागेको हुन्छ। कंकालिनीमा महानवमीमा गरिने बली ५ सयवटा हाराहारी पुग्ने रहेछ। गढीमाईमा ४ हजार नाघ्छ भन्छन् खबरी साइटहरू।

बली दिइएका पशु त्यतिकै मन्दिर परिसरमा त नसड्दा हुन्। खरिदे त्यहाँ पनि पुग्ने होलान्। विभिन्न सहर पुग्ने मासू बिक्री हुँदो हो। कतै त्यसै नफालिए गिद्धजस्ता पन्छी र स्यालजस्ता जनावरले पनि आहारा कताबाट पाउँछन् होला।
 

आस्थामा अचम्मको नशा हुन्छ। समाज अझै पनि बिरालो बाटो काट्नुलाई साइत बिग्रने मान्छ। बली हट्न समय त लाग्छ नै। मलाई लाग्छ, समयले कुनै दिन यो हटाउँछ। बल गरेर लगाइने रोकमाथि अरू तत्वले खेल्न पाउँछन्।

डार्बिनको बाँच्नका लागि संघर्षकै सिद्धान्त हेर्दा पनि सबै प्राणी बलियाले निर्धाको सिकार गरेका छन्। प्रकृतिले आश्रित हुन सिकाएको छ। बाघ बचाउनु पर्छ भन्नेमा कसैको पनि दुई मत हुँदैन। तर, उसले घाँस खाँदैन। खाने मासू हो। मासूका लागि कुनै पनि प्राणी मारिनु हिंसा होइन र ? तर, प्रकृतिप्रदत्त पारस्थितिक चक्र यस्तै छ। एउटामाथि अर्को निर्भर छ।
  
धान फलेको खेतमा मुसा लाग्छ। मुसाले धान खान्छ। आफ्नो सन्तान वृद्धि गर्छ। तर, त्यसको संख्या धेरै हुन नदिन प्रकृतिको चक्र छ। मुसालाई बिरालो, सर्प, गरूड, लाटोकोसेरो लगायतले सिकार गर्छन्। जाति र संस्कार विशेष मान्छे पनि मुसाको सिकारमा पछि पर्दैन। यो चलनले मुसाको वंश पुरै निर्मुल हुन्न तर, संख्या अत्यधिक हुन नदिन नियन्त्रणको काम गरेको छ।
 
मान्छे सर्वश्रेष्ठ प्राणी भएकाले अरूलाई कज्याएर राख्छ। पशु पाल्छ। आफ्नो मनलागी गर्छ। उसले पाल्ने वा जंगलकै पनि कुखुरा, बाख्रा, गाई, भैंसीको सिकार कसैले नगर्ने हो भने तिनका संख्या कति हुन्थे होलान् ? मान्छेले ती सबैको संख्या नियन्त्रणकै लागि पनि संस्कृतिमा विधि बनाएको छ। हामीले देखेको अब पुराना केही संस्कार फेरिएको समयमा सटिक नलाग्न सक्छ/हुन्छन्। सुधारको बाटो खोजेको राम्रो। केही संस्कार भलै उनीहरूलाई आरिस लाग्दा होलान् तैपनि हामी दातृले दिसा गरेपछि, खाना खानअघि हात धुन पर्छ भनेर सिकाउने युगमै छौँ।
 
छठका बेला नदि, जनाशय, घाट सफा पारिनु पूजाको लागि पवित्रस्थल चाहिने भएर मात्र होइन। सफा हुनु मान्छेकै जीवनका लागि बढि महत्त्व राख्ने वैज्ञानिकता लुकेको पक्ष हो। मान्छेहरू दिवंगतको आत्माले सुख पाउन, मुक्ति मिलोस् भनेर पिण्ड दिन्छन्। पिण्ड भनिने अन्नको डल्लो खोलानालामा बगाउनु भनेको जलचरलाई आहारा दिनु हो। आहारा पाएर ती जीव बढ्छन्। अन्ततः तिनलाई निल्नेहरूमा प्राणी धेरै छन्। बढ्नै पाएनन् भने मान्छेले पनि उनीहरूबाट पाउने लाभको बाटो गुमाउँछ। प्रकृति र पर्यावरण सन्तुलित राख्न धार्मिक संस्कारमा धेरै विधि यस्ता छन् जसले सुदूर परिणाम विचारेका छन् । बुझ्दा भलै हामी झट्ट त्यहाँसम्म पुग्न सजिलो छैन। 

धार्मिक आस्थामाथि चोट दिइनु हुन्न। अझ परबाट अरू कोही फरक आस्थाकाहरूले अर्कालाई होच्याउने त गर्नै हुन्न। सुधार भित्रैबाट खोजियो भने त्यसले विवाद ल्याउँदैन। म गढीमाईमा हुने बलीको विरोधको पक्षमा छैन। तर, यसलाई एकोहोरो विरोधभन्दा व्यवस्थित बनाउन जोड दिइनुपर्छ भन्छु। 

संस्कृति जाति, समुदाय र स्थान विशेषको विशेषता पनि हो। मान्छेका संस्कारहरू सरेर संसार देशजस्तो हुन थाल्यो भन्दैमा बलले तुरून्तै केही फेरिदैन। फेर्ने हो भने सुधारका लागि योजनाबद्ध अभियान हुनुपर्छ। 

मासू कारखानाभित्र पसेर हेर्दा मलाई गढीमाईको बली दिने तरिकाभन्दा धेरै भिन्न लाग्दैन। फरक यति छ, त्यहाँ रगत बाहिर छताछुल्ल पारिँदैन। मार्ने तरिका त बली दिनेले च्वाट्ट काटेभन्दा क्रुर नै छ। अहिलेलाई बलीमा बरू स्वस्थ पशु, निश्चित संख्या, बाहिर विभत्स नदेखिने व्यवस्थापन जरूरी छ। पुरै छेकबार लगाएर त्यहाँ स्लटर हाउस खोल्न खोज्दा प्रत्युत्पादक हुन्छ।

त्यसै पनि पश्चिमाको बोलीमा लोली मिलाउँदा फाइदा बुझेकाको जमात बढ्दो छ। के विश्व बजारमा बिक्री हुन्छ र, हाम्रो गोजी बलियो हुन्छ भन्ने बुझेकाहरू बग्रेल्ती भएका छन्। हामी उताका कुसंस्कार र क्रुर चलनबारे सोध्न सक्ने भएनौ। आफ्ना घरका भित्ता फोरेर सधैं बहादुरी देखाएकै हौँ/छौँ। चेत फिर्नु पर्छ।
 
गढीमाईमा हुने बलीको विरोधले बिस्तारै संसारको ध्यान तानेको छ। यसलाई व्यवस्थित कसरी पार्ने भन्नेतर्फ अब सोच्ने बेला भएकै हो। नगर क्षेत्रमा बढेका भुस्याहा कुकुर कुनैबेला नगरपालिकाले विष खुवाएर मार्ने गरेको थियो। विरोध भयो। लामो समयपछि बल्ल बन्ध्याकरणको विकल्प कतै कतै अवलम्बन गरिएको देख्न पाइएको छ। विरोध गर्नेहरूले पनि धर्मसंस्कृतिमाथि धावा बोल्नेगरि उठ्नुभन्दा सही विकल्प सुझाउनु पर्छ। नकि पश्चिमाले विरोध गरे, उनीहरूको आवाजमा बल दिउँ भनौँ। अहिलेलाई यति नै।

No comments: