होली। नामले नै रंगहरुको पर्व। यसपटक ब्लग लेख्नका लागि होली रमाइलो रहयो। तर, मैले लेख्नका लागि समय निकाल्न सकिन। ढिलो भयो। तैपनि अब भने होली सम्झन चाहन्छु।
विराटनगरमा रिचमण्ड फेलोसिप नामको संस्थाको शाखा छ। लागूऔषधको सेवनमा लागेर यो बाटो छाड्न चाहनेलाई यो संस्थाले सघाउने रहेछ। होलीका केही दिन अघिमात्र राजधानीबाट म फिरेको थिएँ। रातभर अनिदो यात्राले रुघा लाग्यो। पिनास भयो। होलीसम्म पनि तंग्रिन सकिन।
युवा अभियानका विराटनगर संयोजक विशाल राईले फोन गरेका थिए। होली मनाउने यसपटकको अभियान अलि पृथक छ भनेर। मलाई युवा साथीहरुको गतिविधिमा सामेल हुन मन पर्छ। यही क्रम जोडियो। अभियानसम्बद्ध युवा साथीहरु २५ जना रिचमण्डको विराटनगर पाञ्चालीस्थित कार्यालय परिसर पुगे।
यहाँ लागूऔषधको लत छुटाउन लागिपरेका २९ जना रहेछन्। एक जना चिनियाँ र दुई भारतीय। अरु नेपाली युवा। १२ देखि ४५ वर्षसम्मका। उनीहरुसँग यी युवा साथीले परिचय गरे। अनि एकअर्काको परिचय दिलाएर कार्यक्रम गरियो। अनि नशारहित होलीका लागि भन्दै पेन्टिङ बनाउन लगाइयो। शीर्षक थियो - नयाँ संविधान र नयाँ नेपाल।
नेताहरुको नारामा सुन्दा सुन्दा युवाका लागि आकर्षक विषय नलाग्ने शीर्षकमा लागूऔषध छाडन बसेकाहरुको प्रस्तुति भने बेजोड रहयो । सबैका चित्रको विषयमा म उल्लेख गर्दिन।
त्यहाँका दीनेश बस्नेतले कोरेको चित्रमा एकापटि युवा राष्ट्रपति सम्बोधन गर्दै, जनता सुन्दै। अर्कापटि भ्रष्ट नेताहरु कारागारमा थुनिएको अंकित थियो। उनको चित्र तेस्रो भयो। रमेश प्याकुरेलले कोरेको चित्रमा पहाड, खोला, कारखाना, व्यवस्थित नर्सरी। अनि 'से नो ड्रग्स'को प्लेकार्ड बोकेको मान्छे थियो। नीतेश खड्गीको दोस्रो भएको चित्रले जीवनको अँध्यारो र उज्यालो पाटो अंकित थियो।
हामीले ब्यानरमा चित्र कोरेर कार्यक्रम थाल्यौँ। उनीहरुसँग मैले पनि बोल्न पाएँ। लत छाडन बसेकाहरुमा प्रतिबद्धता थियो। उनीहरुसँग होली मनाउन भेला भएका विभिन्न कलेजका युवायुवती पनि खुसी थिए। कार्यक्रमपछि रुचि अनुसार अबिर खेलियो। यस्तै भयो। मैले सबै वर्ष होलीमा नगरका गतिविधि समेटेर फोटो गर्ने बानीलाई यही कार्यक्रमका कारण यसपटक निरन्तरता दिन सकिन। केही तस्वीर गरे पनि औपचारिक मात्र भए। तर, युवा साथीहरुसगको होली रमाइलो रहयो।

1 comment:
Dai, thank u for Ur support and sorry for inconvenient we made to shot pic of other place by engaging u.
with the support and encouragement from senior people like u we r always inspired and motivated to do more for positive change.
together change is possible.
Post a Comment