पटक-पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको गएराती राजधानीमा निधन भयो। शनिबार विराटनगरको बजार बन्द रहने दिन। तर, सञ्चारकर्मीका नाताले मेरो दौडधुप अस्पताल रोडस्थित कोइराला निवासको रह्यो। उनलाई विराटनगर ल्याइएन। तर, यो नगर उनका लागि अभिन्न छ। यहाँबाट उनका लागि स्मरनीय जे-जे छन्, खबर बन्ने चिजबिज टिपेर जो पठाउनु थियो।
विराटनगरमा रहेर पत्रकारिता थाल्दाका दिनदेखि कोइरालाको राम्रो तस्बिरको ध्याउन्ती गिरिजाप्रसादको निधनसँगै सकिएको छ। उनलाई राजनीतिमा शिखर पुरुष भनिन्छ। उनका काम र सक्रियताले यो उपमा ठीक होला। धेरैले देश बिगार्नमा उनले छोरीलाई गरेको माया बढी भयो पनि भन्छन्। राजनीतिको उतरार्द्धमा यस्तो देखिएको पनि हो। उनका छोरा छैनन्, भएकी एउटी छोरीले राजनीतिमा आउन दाबी हाल्दा नाइनास्ती पनि कसरी चल्थ्यो होला ? 'सानोबुवा'को निधनमा निवासका कामदार निन्याउरा देखिए। केही आजै राजधानी हान्निए। सहजसाथ कुरा गर्ने अवस्था थिएन। मेरो अनुभवको पाटो तस्बिरसँग जोडिएको छ। आज त्यही विषयमा मात्र चर्चा गरौँ।
उनी काठमाडौंको साटो विरानगर आएरै नौला कुरा बोल्थे, तिनमा केही विववादित पनि हुन्थे। धेरैपटक उनले बोलेका कुराले विवादको रुप लिन्थ्यो। अनि प्रमुखतासाथ छापिने समाचारका लागि भाव भएको तस्बिरको माग हुन्थ्यो। कोइराला विराटनगर आएका बखत कुनै समय यस्तो थियो। मिडिया हाउसलाई खास चासो रहन्थ्यो। सम्पादकको फोन रिसिभ गर्नुपर्थ्यो। तस्बिर राम्रो हुनुपर्छ। अलि परिश्रम गरेर छाप्न लायक तस्बिर लिन आग्रह र आदेश हुन्थ्यो।
कोइराला निवास कोशी अञ्चल अस्पतालको अगाडि छ। तले घर। काठका ढाचासँग पक्की कोठा जोडिएका। माथिल्लो तलाको बरण्डामा उनी आएका बखत हुने जमघटले धेरैपटक राम्रो तस्बिरका लागि स्थिति असहज हुन्थ्यो। कारण, उनी सञ्चारकर्मीसँग खुलेर बोल्थे। त्यसको मजा कार्यकर्ताले लिन्थे। अनि पत्रकारको भीडमा कार्यकर्ताको बग्रेल्ती उपस्थितिले समस्या पारेको हुन्थ्यो।
उनले विराटनगरका पत्रकारलाई माया गर्थे। काठमाडौंबाट आएका सञ्चारकर्मीका भनाइमा उता सुरक्षा र आफन्तको अवरोध छलेर उनको तस्बिर लिन र कुरा गर्न सहज हुँदैनथ्यो। तर विराटनगरमा जो कोही नजिक आएर सवालजवाफ गर्न सक्थे। कोइराला निवासमा आउजाउ, उपस्थितिमा कसैलाई कडाइ थिएन। कोइराला प्रधानमन्त्री भएका बखत पनि हामीलाई लाग्थ्यो - उनी प्रधानमन्त्री हुन र ! यदि हुन् भने सुरक्षा किन यति फितलो ? जो केही नगिच जान पाएको छ, सवालजवाफ गर्न पाएको छ !
उनले कुरा गर्थे। करिब १५ मिनेट कुरा गरेपछि उनी भन्थे - 'अब जाओ। आजलाई यति नै। म बोल्दिन। चिया खाउँ। ल सबैलाई चिया ल्याओ।' अनि चिया-चमेना चल्थ्यो। चियाका बेला पनि पत्रकारले कुरा धुत्न छाड्दैनथे। उनलाई क्यामेराको फ्ल्यास मन पर्दैन भनेर धेरैपटक नगिचका कार्यकर्ताको अनुरोध आउँथ्यो तस्बिर लिँदा फ्ल्यास नबाल्न। तर, हामी मान्दैनथ्यौँ। किनभने हामी फोटो खिच्नेहरुसँग टिल्ट गर्ने फ्ल्यास थिएन। अफिसलाई राम्रा तस्बिर चाहिने तर, समान भने आफैंले जोहो गर्नुपर्ने हुँदा महँगा क्यामेरा हाम्रो क्षमतामा पर्दैनथ्यो।
जे होस बुढाको तस्बिर खिचिन्थ्यो। स्वादिलो पाराले प्रमुखता दिएर पत्रिकाले छाप्थ्यो। उनकी भाउजु नोना जीवित छँदा देवर-भाउजु सँगै बसेर कुरा गरेका देखिन्थे। उमेरको उतरार्द्धका दुवैमा आपसी स्नेह, सम्मान देखिन्थ्यो। सिसाको ठूलो गिलासमा बुढा 'मिल्क टी'सँगै चुरोट पिउँथे।
चुरोट पिएका बेला फोटो खिच्न वर्जित थियो। त्यसबेला उनले तस्बिर नलिन कडा आदेश गर्थे। पछि उनले चुरोट छाडे। भाउजुको निधनले उनको विराटनगर आउने मेलो टुट्यो। उनको निधनका बेला निवासमा आउँदा कोइरालालाई रोएको पनि देख्न पाइयो।
उनी विराटनगर आएपछि यहाँका सञ्चारकर्मीका लागि ठूलो पर्व आएको भान हुन्थ्यो। कारण पहिलो पेजमा बाइलाइन समाचार र तस्बिर आउँछ भनेर। त्यही हुन्थ्यो पनि। उनलाई केही विवाद र तरंग ल्याउने कुरा गर्नुपरे ठाउँ गृहनगर हुन्थ्यो।
उनी रहेनन्। आज उनलाई सम्झँदा मैले व्यक्तिगत रुपमा कुनै अफसोच मान्नुपर्ने केही छैन। न पार्टी कार्यकर्ता न त पार्टीको दया कतै लिनुपरेको छ, किन पो हुनु ! तर उनको अवसानसँगै नेपाली राजनीतिमा विराटनगरको प्रभाव निस्तेज भएको छ। देश चलाउन कुनै खास जात, समुदाय, भूगोल, पार्टी, सिद्धान्तका प्रभाव आआफ्ना ठाउँमा अर्थ राख्छन्। कोइराला परिवारबाटै पार्टी र सत्तामा प्रभावशाली उपस्थिति अरु कसैले शायदै देखाउन पाउला। उनीसँगै एउटा अध्याय सकिएको छ। अब विराटनगरले सत्तामा अर्को नेता विरलै पाउला।
आज भेटेकामध्ये पुराना कांग्रेस कार्यकर्ता पिताम्बर दाहालको भनाइ उपयुक्त लागेको हो। उनका अनुसार देशले प्रभावशाली नेता गुमाएकै हो। कोइरालाले जे-जे गरे, तिनका केही गल्ती पनि होलान्। तर, अब कांग्रेसमा यस्तो प्रभावशाली र एकात्मक नेता छैनन्। बहुमतीय प्रणालीबाट अब कांग्रेस जानुपर्छ। अनि कोइरालाले भनेर व्यवहारमा लागु भयो/भएन । तर, मुलुक सहमति, सहकार्य र एकतामा चल्नुपर्छ।
उनको आत्माले शान्ति पाओस्। आज यति नै।

No comments:
Post a Comment