Sunday, June 7, 2026

मुन्चाउसेन सिन्ड्रोम : सहानुभूतिको अस्वाभाविक भोक

विवेक मिलनसार थियो, मिहिनेती देखिन्थ्यो। तर, बारम्बार अस्पताल भर्ना भइरहन्थ्यो। कहिले हातमा अनौठा घाउहरू देखिन्थे, कहिले शरीरमा डाबरहरू आउँथे, त कहिले अचानक बेहोस हुन्थ्यो। 

डाक्टरहरूले कति धेरै परीक्षण गरे, तर उनको रोगको कुनै ठोस कारण कहिल्यै फेला पर्न सकेका थिएनन्।

सुरुमा उनका साथीहरू, सहकर्मीहरू र परिवारका सदस्यहरू निकै चिन्तित भए। उनीहरू विवेकलाई हेर्न अस्पताल आउँथे, सहानुभूति दिन्थे र उनको स्वास्थ्यको कामना गर्थे। विवेकलाई सबैको ध्यान आफूतिर खिचिरहेको महसुस हुँदा मजा लाग्थ्यो। उ मनबाटै खुसी हुन्थ्यो।

तर, यो क्रम चलिरह्यो। डाक्टरहरूलाई शंका लाग्न थाल्यो। उनले अस्पतालमा उपचार गराउँदा घाउहरू निको हुँदै जाने, तर घर गएको केही समयमै फेरि नयाँ घाउहरू देखा पर्ने। एकपटक, विवेक अस्पताल भर्ना हुँदा नर्सहरूले एउटा अनौठो कुरा याद गरे। जब वार्डमा कोही हुँदैनथ्यो, विवेकले आफ्नै घाउहरूलाई जानीजानी कोट्याउने र संक्रमण फैलाउने प्रयास गरिरहेका हुन्थे।

डाक्टरहरूले गोप्य रूपमा विवेकको घरमा निगरानी राखे। त्यहाँ जे देखियो, त्यसले सबैलाई चकित बनायो। विवेकले आफैंले रसायन प्रयोग गरेर शरीरमा घाउहरू बनाउने र औषधि खाएर जिउमा रियाक्सन गराउने गरेको खुलासा भयो। उनले कहिलेकाहीँ घाउमा फोहोर वस्तुहरू समेत घुसाउने गरेका थिए, ताकि संक्रमण अझ गम्भीर बनोस् र डाक्टरहरूले शल्यक्रिया गर्न बाध्य हुन्।

जब उनलाई यो सब किन गरेको भनेर सोधियो, विवेकले कुनै आर्थिक लाभ वा जिम्मेवारीबाट भाग्नका लागि नभई, केवल अरूको ध्यान र सहानुभूति पाउनका लागि यस्तो गरेको स्वीकार गरे। उनलाई 'बिरामीको भूमिका' मा बस्नु, अरूको सहानुभूति पाउनु र अस्पतालको वातावरणमा सुरक्षित महसुस हुनु नै सबैभन्दा ठूलो सन्तुष्टि थियो।

विषय प्रवेश सहजीकरणका लागि यो एउटा कथा  हो। तर, कथा कुनै अपराधीको होइन। यो एउटा गम्भीर मानसिक विकार हो, जसलाई मनोविज्ञानमा 'मुन्चाउसेन सिन्ड्रोम' (Munchausen Syndrome) भनिन्छ। यसमा व्यक्तिले अरूको ध्यान र सहानुभूति पाउनका लागि आफू बिरामी भएको नाटक गर्छ वा जानीजानी आफूलाई बिरामी बनाउँछ। यसको अर्को रूप 'मुन्चाउसेन सिन्ड्रोम बाई प्रोक्सी' हो, जहाँ अभिभावकले आफ्नो बच्चा बिरामी भएको झुटो दाबी गर्छन्।

मुन्चाउसेन सिन्ड्रोमलाई चिकित्सा विज्ञानमा 'फ्याक्टिसियस डिसअर्डर' (Factitious Disorder) पनि भनिन्छ। यो एक जटिल मानसिक स्वास्थ्य अवस्था हो। यसमा व्यक्तिले बिरामी भएको बहाना मात्र गर्दैन, बरु बिरामी देखिनका लागि खतरनाक कदमहरू समेत चाल्ने गर्दछ।

किन गरिन्छ ? 

साधारण 'बहाना' र यसमा ठूलो भिन्नता छ। सामान्यतया मानिसहरू कामबाट बच्न वा व्यक्तिगत फाइदाका लागि बिरामी भएको नाटक गर्छन् (जसलाई 'Malingering' भनिन्छ)। तर मुन्चाउसेन सिन्ड्रोम भएका व्यक्तिहरूको उद्देश्य कुनै आर्थिक लाभ वा जिम्मेवारीबाट भाग्नु हुँदैन। उनीहरूको मुख्य चाहना 'बिरामीको भूमिका' मा बस्नु, अरूको ध्यान केन्द्रित गर्नु र सहानुभूति पाउनु मात्र हुन्छ।

यसबाट पीडित व्यक्तिहरूले आफूलाई बिरामी प्रमाणित गर्न उपाय लाग्नेजति उपद्रो गर्न पछि हट्दैनन्। लक्षणहरू बनावटी सुनाउँछन्। असाध्यै टाउको दुखेको, रिँगटा लागेको वा ऐँठन भएको झुटा कुरा गर्छन्। सकेसम्म आफ्नो प्रस्तुतिलाई विश्वनीय बनाउन खोज्छन्। 

रिपोर्टमा गडबडी गर्छन्। प्रयोगशालामा दिइने पिसाबको नमुनामा रगत वा चिनी मिसाइदिने पनि गर्न सक्छन्।जानाजान आपूलाई चोट पुऱ्याउन पछि पर्दैनन्। आफूलाई आफैंले घाउ लगाउने, औषधि खाएर जिउमा ज्वरो, डाबर ल्याउने वा संक्रमण गराउन फोहोर वस्तुले काट्नेसम्म पनि गर्न सक्छन्। डाक्टरहरूलाई पटक-पटक शल्यक्रिया वा गम्भीर परीक्षणका लागि दबाब दिने पनि व्यवहारमा देखिन्छ।

मुन्चाउसेन सिन्ड्रोम बाई प्रोक्सी 

यो यसको सबैभन्दा डरलाग्दो रूप हो। यसमा पीडित व्यक्ति आफैं नभएर उसको संरक्षणमा रहेको अर्को व्यक्ति (प्रायः आफ्नै सन्तान) हुन्छ। आमा वा बाबुले आफ्नो बच्चालाई जानीजानी बिरामी बनाउँछन् (जस्तै: नुनिलो पानी खुवाउने, सास थुन्ने वा औषधि खुवाउने)। बच्चा बिरामी हुँदा आफू 'महान् र केयरिङ अभिभावक' को रूपमा समाजमा देखिन पाइन्छ भन्ने मनोवैज्ञानिक चाहना यसमा लुकेको हुन्छ। यो कानुनी रूपमा बाल शोषणअन्तर्गत पर्छ।

यस्ता मानसिक समस्या भएका व्यक्तिहरू मेडिकल क्षेत्रका शब्दावलीमा निकै पोख्त हुन्छन्। जब एउटा अस्पतालका डाक्टरले उनीहरूको झुट समात्छन्, उनीहरू तुरुन्तै अर्को अस्पताल जान्छन्। उनीहरूको मेडिकल हिस्ट्री (उपचारको इतिहास) निकै लामो र शंकास्पद हुन्छ।

यो कसैलाई हठात् सुरु हुने मानसिक विकार होइन। बाल्यकालको आघात (ट्रमा), उपेक्षा, वा गम्भीर व्यक्तित्व विकार (पर्सनालिटी डिसअर्डर्स) यसको कारण हुन सक्छन्। यसको उपचार निकै कठिन हुन्छ किनभने बिरामीले आफूलाई मानसिक समस्या छ भनेर स्वीकार गर्दैनन्। मनोचिकित्सा काउन्सिलिङ नै यसको मुख्य समाधान हो।

***

मुन्चाउसेन सिन्ड्रोमको इतिहास, नामकरण र यसका पछाडिको मनोवैज्ञानिक कारणहरू निकै रोचक छन्। यो सिन्ड्रोमको नाम १८ औँ शताब्दीका एक जर्मन कुलीन व्यक्ति ब्यारोन मुन्चाउसेन (Baron Munchausen) को नामबाट राखिएको हो। उनी आफ्नो जीवनका घटनाहरूलाई असाध्यै बढाइचढाइ गरेर र झुटो कथा बुनेर सुनाउनका लागि कुख्यात थिए।

ब्यारोन मुन्चाउसेनको यो प्रसंगलाई चिकित्सा क्षेत्रमा जोड्ने काम सन् १९५१ मा बेलायती इन्डोक्राइनोलोजिस्ट चिकित्सक रिचर्ड आशेर (Richard Asher) ले गरेका हुन्। उनले प्रतिष्ठित मेडिकल जर्नल 'द ल्यान्सेट'मा एउटा लेख प्रकाशित गर्दै पहिलोपटक यो शब्दावली प्रयोग गरे। ब्यारोन मुन्चाउसेन वास्तवमा एक जर्मन सैनिक अधिकारी थिए, जसको नाममा रुडोल्फ एरिच रास्पे (Rudolf Erich Raspe) ले सन् १७८५ मा 'द सरप्राइजिङ एडभेन्चर्स अफ ब्यारोन मुन्चाउसेन' नामक पुस्तक लेखेका थिए।

उक्त पुस्तकमा थियो, ब्यारोनले आफू तोपको गोलामा चढेर उडेको वा चन्द्रमामा पुगेको जस्ता काल्पनिक र अतिरञ्जित कथाहरू सुनाउँथे। आशेरले ती बिरामीहरूलाई यो नाम दिए, जो ब्यारोनले जस्तै नाटकीय शैलीमा आफ्ना लक्षणहरू बढाइचढाइ गर्थे र अस्पतालहरूमा काल्पनिक स्वास्थ्य समस्याहरू लिएर पुग्थे। यो नामले बिरामीको 'कथा बुन्ने' र 'झुटो पहिचान बनाउने' प्रवृत्तिलाई सटीक रूपमा चित्रण गरेको मानिन्छ।

आशेरले यस्ता बिरामीहरूको व्याख्या गरे जो एउटा अस्पतालबाट अर्को अस्पताल भौँतारिन्छन् र आफूलाई गम्भीर बिरामी देखाउन निकै जटिल झुटहरू बोल्छन्।

यो सिन्ड्रोमको 'बाई प्रोक्सी' रूपको सबैभन्दा चर्चित र आधुनिक उदाहरण अमेरिकाको मिसौरीमा डी डी ब्लान्चर्ड (Dee Dee Blanchard) र उनकी छोरी जिप्सी रोजको घटना हो। आमा डी डीले आफ्नी स्वस्थ छोरी जिप्सीलाई ह्विलचेयरमा बस्न बाध्य पारिन्। उनले डाक्टरहरूलाई छोरीलाई क्यान्सर, ल्युकेमिया र मांसपेशीको गम्भीर रोग लागेको झुटो विवरण दिइन्। उनले छोरीको दाँत निकाल्न लगाइन् र अनावश्यक रूपमा 'फिडिङ ट्युब' हालिदिइन्।

सन् २०१५ मा वर्षौंको यातना सहन नसकी जिप्सीले आफ्नो प्रेमीको सहयोगमा आमाको हत्या गरिन्। अनुसन्धानपछि मात्र थाहा भयो कि जिप्सीलाई कुनै पनि रोग थिएन, सबै आमाको 'मुन्चाउसेन सिन्ड्रोम बाई प्रोक्सी' को परिणाम थियो।

मुन्चाउसेन सिन्ड्रोम (विशेष गरी 'बाई प्रोक्सी') मा आधारित सबैभन्दा चर्चित र यथार्थपरक चित्रण 'The Act' (२०१९) मिनि-सिरिज र 'Mommy Dead and Dearest' वृत्तचित्रमा देखाइएको छ। यो डी डी ब्लान्चर्ड र उनकी छोरी जिप्सी रोजको सत्य घटनामा आधारित छ। यस्तै, सन् २०२० को फिल्म 'Run' ले पनि यसको भयावह रूपलाई चित्रण गरेको छ। यी कृतिहरूले देखाउँछन् कि यो सिन्ड्रोम केवल झुट मात्र होइन, बरु कसरी अर्को व्यक्तिको जीवनमाथिको घातक नियन्त्रण र गम्भीर मानसिक विचलन हो।

किन यस्तो गर्छन् ?  

मनोवैज्ञानिकहरूले यसलाई 'फ्याक्टिसियस डिसअर्डर' को रूपमा व्याख्या गर्छन्। यसका केही खास कारणहरू  छन्।

  • बाल्यकालका आघात : धेरैजसो पीडितहरू बाल्यकालमा उपेक्षित भएका वा गम्भीर बिरामी पर्दा मात्र अभिभावकको माया पाएका व्यक्तिहरू हुन्छन्। उनीहरूले 'बिरामी भएपछि मात्र माया पाइन्छ' भन्ने कुरालाई अवचेतन मनमा गहिरोसँग राखेका हुन्छन्।

  • नियन्त्रणको चाहना : आफ्नो जीवनमा कुनै नियन्त्रण नभएको महसुस गर्ने व्यक्तिले डाक्टर र नर्सहरूलाई आफ्नो झुटो रोगमार्फत 'नचाउन' पाउँदा एक प्रकारको शक्ति र नियन्त्रणको अनुभव गर्छन्।

  • व्यक्तित्व विकार (पर्सनालिटी डिसअर्डर) : प्रायः 'बर्डरलाइन पर्सनालिटी डिसअर्डर' भएका व्यक्तिहरूमा यो बढी देखिन्छ, जहाँ उनीहरू आफ्नो पहिचान खोज्न र एक्लोपन मेटाउन बिरामीको सहारा लिन्छन्।

चिकित्सा क्षेत्रका केही प्रयोग र अनुभव

चिकित्सा क्षेत्रमा यो सिन्ड्रोम पत्ता लगाउन डाक्टरहरूले केही 'व्यावहारिक परीक्षण' गर्छन्। 

  • विरोधाभासको खोजी : बिरामीले बताएको लक्षण र ल्याब रिपोर्ट कहिल्यै मिल्दैन। उदाहरणका लागि, बिरामीले 'भयानक पेट दुख्यो' भन्छ तर उसको पेट छाम्दा कुनै कडापन (Rigidity) हुँदैन।

  • हस्पिटल हपिङ : जब एउटा डाक्टरले शंका गर्छ, बिरामी तुरुन्तै डिस्चार्ज मागेर अर्को सहर वा अस्पताल जान्छ। यसलाई 'पेरेग्रिनेसन' (Peregrination) भनिन्छ।

यो शारीरिक रोग होइन, बरु मानसिक व्यवहार हो। यसले अस्पतालको स्रोत साधनको दुरुपयोग हुन्छ। यस्ता बिरामीले गर्दा वास्तविक बिरामीले पाउने समय र स्रोत नष्ट हुन्छ। पीडितले आफू बिरामी भएको कुरालाई नै आफ्नो 'अस्तित्व' मान्ने हुनाले उनीहरूलाई मनोचिकित्सककहाँ लैजानु निकै चुनौतीपूर्ण हुन्छ।

***

मानवीय स्वभाव र मुन्चाउसेन सिन्ड्रोमबीच एउटा धेरै मसिनो तर गम्भीर सीमा रेखा हुन्छ। अरूको ध्यान खिच्नु वा सहानुभूति चाहनु स्वाभाविक मानवीय गुण हो, तर मनोविज्ञानले यसलाई दुई फरक तरिकाले वर्गीकरण गर्छ।

स्वाभाविक 'अटेन्सन' वा मुन्चाउसेन

सामान्य मानिसले नयाँ लुगा लगाएर, सफलता हासिल गरेर वा सानातिना दुःख सुनाएर ध्यान तान्न खोज्छ। यसलाई 'सकारात्मक सुदृढीकरण' (Positive Reinforcement) भनिन्छ। तर, मुन्चाउसेन सिन्ड्रोममा यो चाहना 'विकृत' हुन्छ। यहाँ व्यक्तिले ध्यान पाउनका लागि आफ्नै स्वस्थ शरीरलाई हानि पुऱ्याउँछ, जानीजानी संक्रमण वा चोट सिर्जना गर्छ। जटिल र अनावश्यक शल्यक्रिया गराउन तयार हुन्छ।

सामान्य मानिसले खुसी वा सामान्य दुखाइबाट ध्यान खोज्छ, तर यसका बिरामीले 'Self-Harm' (आत्म-हानि) लाई माध्यम बनाउँछन्।

सामान्य 'अटेन्सन सिकिङ' मा व्यक्तिले समाजमा आफ्नो मूल्य बढाउन खोज्छ, तर मुन्चाउसेनमा व्यक्तिले आफूलाई 'अक्षम' र 'बिरामी' देखाएर समाजको ध्यान तान्छ। यस सिन्ड्रोममा 'सेल्फ-हार्म' (आत्म-हानि) केवल शारीरिक चोटमा सीमित हुँदैन; यो एउटा गम्भीर मानसिक छटपटीको उपज हो। सामान्य मानिसले प्रशंसा पाउँदा खुसी महसुस गर्छ, तर मुन्चाउसेनका बिरामीले तब मात्र 'पूर्ण' महसुस गर्छन् जब उनीहरूलाई कसैले टिठ्याउँछ वा दया भाव देखाउँछ।

यो अवस्थामा पीडितले आफ्नो स्वास्थ्यलाई जोखिममा राख्नुका पछाडि एउटा गहिरो 'इमोसनल भ्याकुम' (भावनात्मक रिक्तता) लुकेको हुन्छ। उनीहरूका लागि रगत निकाल्नु, इन्जेक्सन लगाउनु वा घाउ बनाउनु पीडादायी हुनुको सट्टा अरूसँग जोडिने एक मात्र माध्यम बन्न पुग्छ। यसरी, स्वाभाविक सामाजिक अन्तर्क्रियालाई बिरामीको शय्यासँग साट्नु नै यो सिन्ड्रोमको सबैभन्दा दुखद र विकृत पक्ष हो। जहाँ सामान्य मानिसले स्वस्थ रहेर सम्बन्ध गाँस्न चाहन्छ, त्यहाँ यी व्यक्तिहरूले बिरामी बनेर मात्र आफूलाई सुरक्षित र प्रिय महसुस गर्छन्।

नियन्त्रण र शक्तिको भ्रम

सामान्य सहानुभूतिमा मानिस अरूको साथ चाहन्छ। तर मुन्चाउसेनका बिरामीहरू डाक्टर र नर्सहरूलाई आफ्नो झुटो रोगले अलमल्याउन पाउँदा एक प्रकारको बौद्धिक श्रेष्ठता (Intellectual Superiority) र शक्तिको अनुभव गर्छन्। उनीहरूलाई लाग्छ - 'हेर, मैले यति धेरै पढेका डाक्टरहरूलाई पनि झुक्काइरहेको छु। तीभन्दा म नै इन्टेलिजेन्ट हो।' यो सामान्य मानवीय गुणभन्दा धेरै टाढाको कुरा हो।

यो 'श्रेष्ठताको आभास' वास्तवमा बिरामीको कमजोर आत्मविश्वासलाई लुकाउने एउटा रक्षात्मक संयन्त्र हो। मुन्चाउसेनका पीडितहरू प्रायः चिकित्सा विज्ञानका जटिल शब्दावली र प्रक्रियाहरूका बारेमा गहिरो अध्ययन गर्छन् ताकि उनीहरूको झुट वैज्ञानिक देखियोस्। जब उनीहरूले दक्ष विशेषज्ञहरूलाई समेत गलत निदान गर्न बाध्य पार्छन् वा अनावश्यक परीक्षणका लागि मनाउँछन्, तब उनीहरूले महसुस गर्ने 'शक्तिको उन्माद' एउटा नशा जस्तै बन्छ।

मनोवैज्ञानिकहरूका अनुसार, यो प्रवृत्तिले उनीहरूलाई समाजमा आफू "विशेष" र "अद्वितीय" भएको भ्रम दिन्छ। उनीहरूका लागि अस्पतालको कोठा एउटा मञ्च र स्वास्थ्यकर्मीहरू दर्शक जस्तै बन्छन्। सामान्य मानिसले बिमारीलाई कमजोरी मान्छन्, तर यी बिरामीहरूका लागि बिमारी नै अरूमाथि मानसिक विजय हासिल गर्ने र प्रणालीलाई नै नियन्त्रणमा राख्ने एउटा हतियार बन्न पुग्छ। यो केवल सहानुभूति पाउने इच्छा मात्र नभएर, अरूको बुद्धिलाई परास्त गरी 'अदृश्य लगाम' आफ्नो हातमा राख्ने विकृत चाहना हो।

'प्रयोजन' मा भिन्नता

मनोविज्ञानमा यसलाई बुझ्न एउटा शब्द छ, Malingering (स्वार्थका लागि बिरामी हुनु)। यदि कसैले अफिस जान नपरोस् वा बीमाको पैसा पाइयोस् भनेर बिरामीको नाटक गर्छ भने, त्यो मुन्चाउसेन होइन, त्यो स्वार्थ हो। तर, मुन्चाउसेनमा कुनै बाहिरी फाइदा (पुँजी वा बिदा) हुँदैन। उसको एकमात्र 'फाइदा' भनेको 'बिरामीको पहिचान' बनाउनु मात्र हो।

मनोविज्ञानमा 'मलिङ्गरिङ' (Malingering) को स्पष्ट उद्देश्य हुन्छ— जस्तै अदालतको सजायबाट बच्नु, युद्धमा जानबाट जोगिनु वा आर्थिक क्षतिपूर्ति दाबी गर्नु। यो एक प्रकारको 'तार्किक छलकपट' हो। तर मुन्चाउसेन सिन्ड्रोममा प्रयोजन बाह्य नभई पूर्णतः आन्तरिक र भावनात्मक हुन्छ। यहाँ बिरामीको 'फाइदा' भनेको समाजबाट पाइने विशेष दर्जा, केयरटेकरहरूको ममता र आफूलाई केन्द्रबिन्दुमा पाउँदा हुने मानसिक सन्तुष्टि मात्र हो।

चिकित्सकहरूका अनुसार, मलिङ्गरिङ गर्ने व्यक्तिले उद्देश्य पूरा हुनेबित्तिकै बिरामीको नाटक बन्द गर्छ। तर मुन्चाउसेनका पीडितहरूका लागि यो एक 'व्यसन' जस्तै हुन्छ; उनीहरू एउटा रोग निको भएको देखिनेबित्तिकै अर्को झन् जटिल र खतरनाक लक्षण पैदा गर्नतिर लाग्छन्। उनीहरूका लागि अस्पतालको शय्या एक सुरक्षित आश्रयस्थल र डाक्टरको ध्यान एक प्रकारको 'पुरस्कार' बन्न पुग्छ। यसरी, स्वार्थमा आधारित नाटक र मानसिक विकारको रूपमा रहेको यो सिन्ड्रोमबीचको सीमारेखा उनीहरूको 'अदृश्य चाहना' ले तय गर्छ।

समाज र सामाजिक सञ्जालको प्रभाव

'डिजिटल युग' मा यो सिन्ड्रोमको एउटा नयाँ रूप देखिएको छ, जसलाई 'Munchausen by Internet' भनिन्छ। मानिसहरू सामाजिक सञ्जालमा आफूलाई असाध्यै गम्भीर रोग लागेको झुटो दाबी गर्छन् ताकि धेरै लाइक, कमेन्ट र 'सेयर' पाउन सकियोस्। यो सामान्य 'अटेन्सन सिकिङ' बाट सुरु भएर बिस्तारै सिन्ड्रोमको रूपमा विकसित हुन सक्छ।

'मुन्चाउसेन बाई इन्टरनेट' को अवधारणा सन् २००० को दशकको सुरुतिर मनोवैज्ञानिक मार्क फेल्डम्यान (Marc Feldman) ले अघि सारेका हुन्। यसमा व्यक्तिले सामाजिक सञ्जाल, ब्लग वा अनलाइन सपोर्ट ग्रुपहरूमा आफूलाई क्यान्सर जस्ता असाध्य रोग लागेको झुटो कथा र 'एडिट' गरिएका तस्बिरहरू पोस्ट गर्छन्।

डिजिटल संसारमा वास्तविक पहिचान लुकाउन सजिलो हुने र हजारौं अपरिचित व्यक्तिबाट तत्कालै भावनात्मक समर्थन र 'भर्चुअल' सहानुभूति प्राप्त हुने भएकाले यो प्रवृत्ति बढ्दो छ। कहिलेकाहीँ यस्ता व्यक्तिले अस्पतालको शय्याबाट 'लाइभ' गर्ने वा नक्कली मेडिकल रिपोर्टहरू साझा गरेर मानिसहरूलाई भावनात्मक रूपमा प्रभावित पार्छन्। यो केवल 'डिजिटल अटेन्सन' मा मात्र सीमित हुँदैन। कतिपय अवस्थामा यसले अनलाइन चन्दा संकलन (Fundraising) जस्ता ठगीका घटनाहरूलाई समेत जन्म दिन्छ। यसले गर्दा इन्टरनेटमा रहेका वास्तविक पीडितहरूले पाउनुपर्ने सहयोग र विश्वासमा समेत संकट पैदा गरिदिएको छ।

मानवीय गुणको 'अतिवाद' नै मुन्चाउसेन सिन्ड्रोम हो। जब ध्यान पाउने भोक यति धेरै बढ्छ कि मानिस आफ्नै रगत र शरीरसँग खेल्न थाल्छ, तब त्यो मानवीय गुण नरहेर एउटा घातक मानसिक रोग बन्न पुग्छ। मुन्चाउसेन सिन्ड्रोम केवल झुट वा नाटक होइन; यो त आत्म-पहिचान हराएको एउटा मनले सहानुभूति पाउनका लागि गरेको 'क्रन्दन' हो। जब समाजमा व्यक्तिको अस्तित्व उसको स्वास्थ्य वा सफलताले मात्र होइन, बरु उसले पाउने ध्यान र मायाले निर्धारण हुन थाल्छ, तब यस्ता मनोवैज्ञानिक विकारहरूले जन्म लिन्छन्।

अस्पतालका सेता भित्ताहरू र औषधिहरूको गन्धमा आफ्नो सुरक्षा खोज्ने यी बिरामीहरूलाई घृणा होइन, गहिरो मनोवैज्ञानिक उपचार र समानुभूतिको खाँचो छ। शारीरिक घाउहरू त औषधिले निको हुन्छन्, तर 'बिरामीको भूमिका' मा रमाउने यो मानसिक घाउ निको पार्न समाजले ध्यान दिने शैली र व्यक्तिले माया खोज्ने तरिकामा परिवर्तन आउनु जरुरी छ।

No comments: