रातको ९ बजिसकेको छ। टेबलमा कफीको कप चिसिँदै छ। प्रदीपको एउटा हात ल्यापटपको की-बोर्डमा छिटो छिटो चलिरहेको छ, जहाँ उनी भोलि बिहानै बुझाउनुपर्ने एउटा महत्त्वपूर्ण प्रतिवेदन ड्राफ्ट गर्दैछन्। ठिक त्यही बेला उनको स्मार्टफोन थर्कन्छ, अफिसकै ग्रुपमा एउटा जरुरी म्यासेज आउँछ। उनी बायाँ हातले फोन स्क्रोल गर्न थाल्छन्। पृष्ठभूमिमा हेडफोनमा 'लो-फाइ' संगीत गुञ्जिरहेको छ र स्क्रिनको कुनामा नेपाल स्टक एक्सचेन्जको आजको क्लोजिङ रिपोर्टको ट्याब पनि खुल्लै छ।
प्रदीपलाई लाग्छ, उनी निकै प्रोडक्टिभ भइरहेका छन्। उनी एकै समयमा चारवटा काम गरिरहेका छन्। तर, जब भोलिपल्ट बिहान प्रतिवेदनको समीक्षा हुन्छ, त्यहाँ गम्भीर तथ्यांकीय गल्तीहरू भेटिन्छन्। उनले पठाएको म्यासेज अस्पष्ट हुन्छ र कफी त उनले बिर्सिएकै थिए।
हामीमध्ये धेरैलाई प्रदीपको यो अवस्था आफ्नै जस्तो लाग्न सक्छ। काम गर्ने आधुनिक संस्कृतिले हामीलाई 'मल्टिटास्किङ' को एउटा यस्तो नशामा धकेलिदिएको छ, जहाँ धेरै काम एकैसाथ गर्नुलाई दक्षता मानिन्छ। तर, मनोविज्ञान र न्यूरोसाइन्सको कडीमा राखेर हेर्ने हो भने, प्रदीपले हिजो राति मल्टिटास्किङ गरिरहेका थिएनन्, बरु आफ्नो मस्तिष्कलाई एउटा भयानक भ्रममा अल्झाइरहेका थिए।
***
रोमन साम्राज्यका प्रसिद्ध शासक जुलियस सीजरका बारेमा एउटा किंवदन्ती प्रख्यात छ। भनिन्छ, सीजर आफ्ना सिपाहीहरूलाई आदेश दिँदै, इतिहासकारसँग कुरा गर्दै र सोही समयमा अर्को महत्त्वपूर्ण पत्र आफैं लेख्न सक्थे। अर्थात्, उनी एकैसाथ तीन-चारवटा जटिल काम गर्थे। शताब्दीऔँदेखि सीजरको यो कथित क्षमतालाई 'महानता' को प्रतीक मानिँदै आयो र आधुनिक युगमा यसैलाई 'मल्टिटास्किङ' को नाम दिएर मानिसहरू सीजर बन्ने होडमा लागे।
तर, के वास्तवमै सीजरको मस्तिष्कको बनावट आधुनिक मानिसको भन्दा फरक थियो? के जैविक रूपमा कुनै पनि मानव मस्तिष्कका लागि यो सम्भव छ? इतिहासले सीजरलाई जतिसुकै मल्टिटास्किङको राजा बनाए पनि आधुनिक न्यूरोसाइन्सले भने यसलाई ठाडै अस्वीकार गर्छ। विज्ञान भन्छ - सीजरले मल्टिटास्किङ गरिरहेका थिएनन्, उनी केवल एउटा कामबाट अर्को काममा तीव्र गतिमा 'स्विच' मात्र गरिरहेका थिए। र, त्यो तीव्र गतिको पनि मस्तिष्कले एउटा ठूलो मूल्य चुकाउनुपर्छ।
***
सन् १९९९ मा हार्वर्ड विश्वविद्यालयका दुई मनोवैज्ञानिक क्रिस्टोफर चाब्रिस र ड्यानियल साइमन्सले एउटा अनौठो प्रयोग गरे। उनीहरूले केही सहभागीलाई एउटा भिडियो देखाए, जहाँ बास्केटबल खेलिरहेका दुईवटा समूह (एउटाले सेतो र अर्कोले कालो टिसर्ट लगाएका) थिए। सहभागीहरूको काम मात्र एउटै थियो, सेतो टिसर्ट लगाउनेहरूले कति पटक बल पास गरे, त्यो गन्ने।
भिडियोको बीचमा एउटा मानिस गोरिल्लाको जस्तो कालो पोसाक लगाएर सुस्तरी मैदानको बीचमा आउँछ, आफ्नो छाती पिट्छ र ९ सेकेन्डसम्म बसेर बाहिरिन्छ। भिडियो सकिएपछि जब मनोवैज्ञानिकहरूले सोधे, 'तपाईंहरूमध्ये कतिले गोरिल्ला देख्नुभयो?'
आश्चर्यको कुरा, आधाभन्दा बढी (झण्डै ५० प्रतिशत) सहभागीहरूले गोरिल्ला आएको पत्तै पाएनन्। उनीहरूको आँखाकै अगाडि ९ सेकेन्डसम्म गोरिल्ला नाच्दा पनि मस्तिष्क बल गन्न व्यस्त भएकाले त्यो गायब भयो। मनोविज्ञानमा यसलाई 'इनएटेन्सनल ब्लाइन्डनेस' (Inattentional Blindness) भनिन्छ।
जब हाम्रो मस्तिष्क एउटा काममा केन्द्रित हुँदा आँखा अगाडिको गोरिल्ला समेत देख्दैन भने हामी कसरी एकैसाथ ल्यापटपमा समाचार टाइप गर्ने, फोनमा कुरा गर्ने र सेयर बजारको उतारचढाव नियाल्ने काम एकैसाथ, बिनाकुनै गल्ती गर्न सक्छौँ ? हामी मल्टिटास्किङ गरिरहेका छौँ कि केवल भ्रमको खेती ?
हाम्रो दैनिक जीवनमा धेरै काम एकैसाथ गर्ने क्षमता (Multitasking) लाई धेरै प्रशंसा गरिन्छ। भनिन्छ - 'फलानोको क्षमता अदभूत छ, एकैसाथ धेरै काम गर्न सक्छ।' यो कति सम्भव छ भन्ने हेक्का धेरैलाई हुँदैन। मनोविज्ञान र न्यूरोसाइन्स (Neuroscience) का अनुसन्धानहरूलाई हेर्ने हो भने मल्टिटास्किङ धेरै हदसम्म एउटा भ्रम (Illusion) मात्र हो। मान्छेले एकपटकमा एउटा मात्रै काम ध्यान दिएर गर्न सक्छ।
हाम्रो मस्तिष्कले कसरी काम गर्छ र मनोविज्ञानले यसबारे के भन्छ ? बुँदागत रूपमा यसरी बुझ्न सकिन्छ -
मस्तिष्क गर्छ 'टास्क स्विचिङ'
हाम्रो चेतना र ध्यानलाई नियन्त्रण गर्ने मस्तिष्कको अघिल्लो भाग (Prefrontal Cortex) ले एक पटकमा एउटा मात्र जटिल संज्ञानात्मक कार्य (Cognitive task) मा पूर्ण ध्यान केन्द्रित गर्न सक्छ। जब हामी मल्टिटास्किङ गरिरहेका छौँ भन्ठान्छौँ, वास्तवमा हाम्रो मस्तिष्कले "टास्क स्विचिङ" (Task Switching) गरिरहेको हुन्छ। यसको मतलब मस्तिष्कले एकदमै तीव्र गतिमा एउटा कामबाट अर्को काममा ध्यान सारिरहेको हुन्छ, जसले गर्दा हामीलाई एकैसाथ काम भइरहेको भान हुन्छ।
'स्विच कोच' र उत्पादकत्वमा ह्रास
वैज्ञानिक अनुसन्धानहरूका अनुसार, जब मस्तिष्क एउटा कामबाट अर्को काममा सर्छ, त्यहाँ 'स्विच कोस्ट' लाग्छ।
ध्यान परिवर्तन गर्दा केही मिलिसेकेन्ड वा सेकेन्ड समय खेर जान्छ।
मनोवैज्ञानिक डेनियल काहनेम्यानको 'अटेन्सन थ्यौरी' अनुसार हाम्रो मानसिक ऊर्जा वा 'अटेन्सनल रिसोर्स' सीमित हुन्छ। जब हामी धेरैतिर ध्यान बाँड्छौँ, कामको गुणस्तर घट्छ।
अनुसन्धानले देखाएको छ कि मल्टिटास्किङ गर्दा मानिसको उत्पादकत्व ४० प्रतिशतसम्मले घट्न सक्छ र काममा गल्ती हुने सम्भावना निकै बढ्छ।
ध्यानको अवशेष (Attention Residue)
जब तपाईं काम 'ए' बाट काम 'बी' मा जानुहुन्छ, तपाईंको ध्यान तुरुन्तै पूर्ण रूपमा सर्दैन। मस्तिष्कको केही हिस्सा अझै पनि अघिल्लो काममै अल्झिरहेको हुन्छ, जसलाई मनोविज्ञानमा 'अटेन्सन रेजिड्यू' भनिन्छ। यसले गर्दा नयाँ काममा सोच्ने र निर्णय लिने क्षमता कमजोर बन्छ।
'अटेन्सन रेजिड्यू' (Attention Residue) को यो अवधारणा सन् २००९ मा मिनेसोटा विश्वविद्यालयकी प्राध्यापक डा. लेरोय सोफी (Sophie Leroy) ले प्रतिपादन गरेकी हुन्। उनका अनुसार, जब हामी एउटा अधुरो काम छोडेर तुरुन्तै अर्को काममा लाग्छौँ, हाम्रो कार्यसम्पादन क्षमता तीव्र रूपमा खस्किन्छ।
उदाहरणका लागि, एउटा गम्भीर समाचारको मस्यौदा लेख्दालेख्दै बीचमै फोनमा सेयर बजारको उतारचढाव हेर्नुभयो भने, फोन राखेपछि पनि दिमागको एउटा हिस्सा सेयरकै अंकहरूमा अल्झिरहेको हुन्छ। मस्तिष्कमा बाँकी रहने यही 'मानसिक अवशेष' ले गर्दा नयाँ काममा तत्काल पूर्ण ध्यान (Focus) पुग्न सक्दैन। परिणामस्वरुप, काममा गल्ती हुने र निर्णय लिने क्षमता कमजोर बन्छ।
अपवाद : कस्तो अवस्थामा मल्टिटास्किङ सम्भव ?
मनोविज्ञानका अनुसार केवल एउटा अवस्थामा मात्र मल्टिटास्किङ केही हदसम्म सम्भव हुन्छ: जब एउटा काम पूर्ण रूपमा 'अटोमेटिक' (स्वचालित) हुन्छ र अर्को काममा सक्रिय दिमाग चाहिन्छ।
उदाहरणका लागि गीत सुन्दै वा कसैसँग कुरा गर्दै गाडी चलाउनु, वा हिँड्दै फोनमा कुरा गर्नु। यहाँ हिँड्ने वा गाडी चलाउने काम (यदि तपाईं अनुभवी हुनुहुन्छ भने) मस्तिष्कको 'प्रोसेड्युरल मेमोरी'बाट स्वतः भइरहेको हुन्छ, जसका लागि धेरै मानसिक ऊर्जा चाहिँदैन। तर, यदि अचानक सडकमा कुनै खतरा आयो भने मस्तिष्कले तुरुन्तै कुराकानीलाई रोकेर पूरा ध्यान गाडी चलाउनमा केन्द्रित गर्छ।
यदि कामहरू बौद्धिक र रचनात्मक छन् (जस्तै: समाचार वा लेख लेख्नु, वित्तीय विश्लेषण गर्नु, पुस्तक पढ्नु वा गम्भीर छलफल गर्नु) भने मल्टिटास्किङ सम्भव छैन। त्यो अवस्थामा मल्टिटास्किङ गर्नु भनेको काम चाँडो गर्नु नभएर, मस्तिष्कलाई थकाउनु र गल्तीहरू निम्त्याउनु मात्र हो।
त्यसैले, मनोविज्ञानले मल्टिटास्किङको सट्टा 'सिंगल-टास्किङ' वा 'डीप वर्क' लाई बढी प्राथमिकता दिन्छ। जहाँ एक समयमा एउटै काममा पूर्ण ध्यान दिइन्छ, जसले कार्यक्षमता र गुणस्तर दुवै बढाउँछ।
***
व्यवहारको अर्थशास्त्र(बिहेभियरल इकोनोमिक्स) र ध्यान (अटेन्सन) को मनोविज्ञानमा क्रान्ति ल्याउने नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानले भनेका छन् - हाम्रो मानसिक ऊर्जा (Mental Effort) र ध्यानको क्षमता एउटा सीमित बजेट जस्तै हो। जब तपाईं एकैसाथ दुईवटा जटिल काम गर्न खोज्नुहुन्छ, तपाईंले आफ्नो बजेटलाई सीमाभन्दा बढी फैलाउनुहुन्छ, जसको नतिजा असफलता मात्र हुन्छ।
उनले सन् १९७३ मा प्रकाशित आफ्नो जग बसाउने पुस्तकहरु 'Attention and Effort' मा र पछि सन् २०११ को 'Thinking, Fast and Slow' मा ध्यानको सीमितताबारे विस्तृत व्याख्या गरेका छन्। उनका अनुसार मस्तिष्कको एउटा निश्चित 'प्रोसेसिङ क्षमता' (Processing Capacity) हुन्छ। यदि तपाईं गाडी चलाउँदै हुनुहुन्छ र अचानक अगाडिबाट अर्को गाडीले ओभरटेक गर्यो भने, त्यो जटिल क्षणमा तपाईंको मस्तिष्कले तुरुन्तै छेउमा बसिरहेको साथीको कुरा सुन्न बन्द गरिदिन्छ। मस्तिष्कले एकै पटक दुईवटा उच्च ऊर्जा चाहिने कामको भार धान्न सक्दैन भन्ने पुष्टि गर्न उनले यो सिद्धान्त दिएका हुन्।
मानव मस्तिष्कको 'प्रिफ्रन्टल कोर्टेक्स' (Prefrontal Cortex) र ध्यान नियन्त्रण प्रणालीका विश्वप्रसिद्ध विशेषज्ञ एवम् म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) का न्यूरोवैज्ञानिक डा. अर्ल मिलरले भनेका छन् - मानिसहरू मल्टिटास्किङ गरिरहेको भ्रममा बाँच्छन्, तर वास्तवमा उनीहरूले एउटा कामबाट अर्को काममा निकै घातक गतिमा 'कग्निटिभ जम्प' मात्र गरिरहेका हुन्छन्। हाम्रो मस्तिष्क एक पटकमा एउटा मात्र विचार समात्न सक्नेगरी 'हार्डवायर्ड' (बनावट नै त्यस्तो) भएको छ।
सन् २००९ देखि २०१५ को बीचमा एमआईटीको आफ्नो प्रयोगशालामा गरिएका धेरै ब्रेन-स्क्यान अनुसन्धानहरू पछि विभिन्न वैज्ञानिक जर्नल र मिडिया अन्तर्वार्ताहरूमा उनले यो कुरा जोडदार रूपमा राखेका हुन्।
मिलरले एमआरआई स्क्यानमार्फत मानिसहरूले मल्टिटास्किङ गर्दा मस्तिष्कमा कस्तो हलचल हुन्छ भनेर हेरेका थिए। उनले पाए कि जब मानिसले ध्यान बदल्छ, मस्तिष्कले पुराना जानकारीहरू मेटाउन र नयाँ जानकारी लोड गर्न समय लिन्छ। यसले गर्दा मस्तिष्कमा 'कग्निटिभ जारिङ' (Cognitive jarring - मानसिक धक्का) पैदा हुन्छ, जसले मानिसलाई सिर्जनशील हुन दिँदैन र तनावको हर्मोन (कोर्टिसोल) बढाउँछ।
मल्टिटास्किङको मनोवैज्ञानिक र न्यूरोवैज्ञानिक पाटोलाई गहिराइबाट बुझ्न क्यालिफोर्निया विश्वविद्यालयका न्यूरोलोजी र साइकियाट्रीका प्राध्यापक डा. एडम गाजली र मनोविज्ञानका प्रोफेसर एमेरिटस डा. ल्यारी डी. रोजेनद्वारा लिखित पुस्तक 'द डिस्ट्र्याक्टेड माइन्ड : एनसियन्ट ब्रेन्स इन अ हाई-टेक वर्ल्ड' (The Distracted Mind: Ancient Brains in a High-Tech World) सबैभन्दा उत्कृष्ट र सान्दर्भ सामाग्री हो।
सन् २०१६ मा प्रकाशित उक्त पुस्तकमा भनिएको छ - हाम्रो मस्तिष्क आदिमकाल (Ancient age) देखिको विकासवादी प्रक्रियामा बाँधिएको छ, जसको क्षमता सीमित छ। तर, आजको प्रविधिले भरिएको हाई-टेक संसारले हामीलाई लगातार मल्टिटास्किङ गर्न बाध्य पारिरहेको छ। यही 'आधुनिक प्रविधि' र 'आदिम मस्तिष्क' बीचको टक्कर नै मल्टिटास्किङको मुख्य समस्या हो।
पुस्तकमा डा. गाजलीले व्याख्या गरेका छन् कि जब हामी मल्टिटास्किङको प्रयास गर्छौँ, मस्तिष्कमा दुई प्रकारका 'इन्टरफरेन्स' (हस्तक्षेप) हुन्छन्।
डिस्ट्र्याक्सन (Distractions): अप्रासंगिक कुराहरू (जस्तै काम गरिरहँदा छेउमा बज्ने फोनको नोटिफिकेसन), जसलाई मस्तिष्कले रोक्न खोज्दाखोज्दै पनि ध्यान भंग हुन्छ।
इन्टरप्सन (Interruptions): हामी आफैंले सचेत रूपमा गर्ने निर्णय (जस्तै लेख लेख्दालेख्दै बीचमै इमेल वा सेयर बजारको अपडेट चेक गर्न जानु)।
अनुसन्धानले के देखाउँछ भने, यी दुवै हस्तक्षेपले मस्तिष्कको कार्यसम्पादन क्षमतालाई डिग्रेड (कमजोर) बनाउँछन्। यस पुस्तकको एउटा महत्त्वपूर्ण अनुसन्धानले भन्छ - उमेर बढ्दै जाँदा मानिसको 'टास्क स्विचिङ' (एउटा कामबाट अर्को काममा सर्ने) क्षमता झन् कमजोर हुँदै जान्छ। युवा पुस्ताले आफूलाई मल्टिटास्किङमा अब्बल ठाने पनि, प्रयोगशालाको नतिजामा उनीहरूको ध्यान र गुणस्तर पनि उत्तिकै खस्केको पाइएको थियो, केवल उनीहरूले महसुस मात्र नगरेका हुन्।
हाम्रो प्रिफ्रन्टल कोर्टेक्समा एउटा 'कग्निटिभ बोटलनेक' अर्थात् साँघुरो गल्ली हुन्छ। जसरी फराकिलो सडकको गाडीहरू अचानक साँघुरो पुलमा पुग्दा जाम हुन्छन्, त्यसैगरी प्रविधिले दिएका धेरै सूचनाहरू जब मस्तिष्कको त्यो 'साँघुरो गल्ली' मा एकैसाथ छिर्न खोज्छन्, तब मस्तिष्कको प्रोसेसिङ प्रणाली जाम हुन्छ।
गाजली र रोजेनले 'द डिस्ट्र्याक्टेड माइन्ड' मा एउटा घतलाग्दो निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार हाम्रो मस्तिष्क अझै पनि आदिम युगकै जस्तो सीमित क्षमताको छ, तर हाम्रो वरिपरिको प्रविधि भने अत्याधुनिक भइसक्यो। जब हामी यो प्राचीन मस्तिष्कलाई एकै समयमा इमेल, समाचार लेखन, र सामाजिक सञ्जालमा कुदाउन खोज्छौँ, तब मस्तिष्कमा 'कग्निटिभ बोटलनेक' (मानसिक जाम) पैदा हुन्छ। विज्ञान भन्छ - हामी मल्टिटास्किङ गरिरहेका हुँदैनौँ, बरु आफ्नै मस्तिष्कलाई जाम गरिरहेका हुन्छौँ।'
एकपटकमा एउटा काम गर्नुस्, राम्रो गर्नुस्
ठ्याक्कै ! मल्टिटास्किङको भ्रमपूर्ण संसारबाट उम्किने र उत्कृष्ट नतिजा निकाल्ने एकमात्र अचूक मन्त्र यही हो - 'एकपटकमा एउटा काम गर्नुस्, राम्रो गर्नुस्।'
मनोविज्ञानको भाषामा यसैलाई 'सिंगल-टास्किङ' (Single-tasking) वा 'डीप वर्क' (Deep Work) भनिन्छ। जब हामी आफ्नो सम्पूर्ण मानसिक ऊर्जा र ध्यानलाई छरिन नदिई एउटै केन्द्रमा केन्द्रित गर्छौँ, तब मात्र काममा विशिष्टता (Excellence) र सिर्जनशीलता आउँछ।
आजको कर्पोरेट संसारले मल्टिटास्किङको जतिसुकै वकालत गरे पनि आधुनिक मनोविज्ञानका प्रख्यात व्याख्याता डा. काल्स न्यूपोर्ट यसलाई ठाडै अस्वीकार गर्छन्। आफ्नो चर्चित पुस्तक 'डीप वर्क' मा उनी भन्छन् कि उत्कृष्ट नतिजा निकाल्ने एकमात्र बाटो ध्यानलाई छरिन नदिएर एउटै काममा केन्द्रित गर्नु हो। ठिक यही दर्शनलाई पछ्याउँदै ग्यारी केलरले आफ्नो पुस्तक 'द वान थिङ' मा पनि जोड दिएका छन् कि सफलताको रहस्य धेरै काम हातमा लिनु होइन, बरु 'एकपटकमा एउटा काम गर्नु र त्यो सर्वोत्कृष्ट गर्नु' हो।
जर्जटाउन विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्राध्यापक तथा आधुनिक कार्यसंस्कृति, उत्पादकत्व (Productivity) र मानव व्यवहारका प्रख्यात विश्लेषक तथा लेखक डा. काल्स न्यूपोर्टले 'डीप वर्क: रूल्स फर फोकस्ड सक्सेस इन अ डिस्ट्र्याक्टेड वर्ल्ड (Deep Work, २०१६) मा एकपटकमा एउटा मात्र काम गर्ने कलालाई 'डीप वर्क' (Deep Work) को नाम दिएका छन्। उनले आजको प्रविधिले घेरिएको संसारमा यो क्षमतालाई एउटा 'महाशक्ति' (Superpower) को रूपमा व्याख्या गरेका छन्।
न्यूपोर्ट लेख्छन् - तपाईंको ध्यानको गहिराइ र तपाईंको कामको गुणस्तर सिधा समानुपातिक हुन्छन्। यदि तपाईं विशिष्ट र गुणस्तरीय काम गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो ध्यानलाई संकुचित (Narrow) र गहिरो बनाउनै पर्छ।'
उनका अनुसार जब हामी एक पटकमा एउटा मात्र काममा पूर्ण रूपमा डुब्छौँ, तब हाम्रो मस्तिष्कले न्यूरोनल नेटवर्कलाई बलियो बनाउँछ र हामी 'फ्लो स्टेट'मा पुग्छौँ, जहाँ गल्ती शून्य हुन्छ र सिर्जनशीलता उच्चतम स्तरमा पुग्छ।
यस्तै ग्यारी केलर र जे एलासनको 'द वान थिङ,' एकपटकमा एउटा काम गर्नुस् भन्ने दर्शनलाई नै केन्द्रमा राखेर लेखिएको कुनै क्रान्तिकारी पुस्तक छ भने, त्यो यही हो। यो पुस्तकले बहुआयामिक कामको भ्रमलाई पूर्णतः ध्वस्त पार्छ।
पुस्तकको मुख्य दर्शन यस्तो छ - यदि तपाईं कुनै पनि क्षेत्रमा असाधारण नतिजा चाहनुहुन्छ भने, आफैंलाई एउटा प्रश्न सोध्नुस्, 'अहिलेको अवस्थामा मैले गर्न सक्ने त्यो एउटै मात्र काम (The One Thing) के हो, जसलाई गर्नाले अरू सबै कामहरू सजिला वा अनावश्यक बन्नेछन् ?'
लेखकद्वयका अनुसार, मल्टिटास्किङ एउटा 'सुन्दर झूट' (A Lie) मात्र हो। इतिहासमा जति पनि मानिसहरूले ठूला र गुणस्तरीय काम गरे, उनीहरूले एक पटकमा एउटै काममा आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरेका थिए। 'द वान थिङ' मा पनि जोड दिइएको छ, सफलताको रहस्य धेरै काम हातमा लिनु होइन, बरु 'एकपटकमा एउटा काम गर्नु र त्यो सर्वोत्कृष्ट गर्नु' हो।'
***
गर्नै हुन्न मल्टिटास्किङ ?
यदि मल्टिटास्किङ पूर्ण रूपमा वर्जित वा असम्भव हुन्थ्यो भने हाम्रो दैनिक जीवन ठप्प हुन्थ्यो। यहाँनिर हामीले मनोविज्ञानले वर्गीकरण गरेको मल्टिटास्किङको सूक्ष्म रेखालाई बुझ्नुपर्छ। मनोविज्ञानले भन्छ, मल्टिटास्किङ गर्नै नहुने होइन, तर हामीले कुन कामसँग कुन काम मिसाउँदैछौँ (Task Pairing), त्यो थाहा पाउनु जरूरी छ। कम संज्ञानात्मक भार भएका दुई/तीन वटा काम एकसाथ गर्न सकिन्छ, व्यवहारमा हामी गरिरहेका पनि छौँ।
अटोमेटिक र कग्निटिभ कामको संयोजन (खाना पकाउँदै गीत सुन्नु, हिँड्दै कुरा गर्नु)
यसलाई मनोविज्ञानमा यसलाई 'डुअल-टास्क पर्फर्मेन्स' (Dual-task performance) भनिन्छ। यो खास कारणले सम्भव भएको हो। हाम्रो मस्तिष्कको एउटा भाग 'प्रोसीजरल मेमोरी' (Procedural Memory) ले हाम्रा पुराना बानीहरू (जस्तै: हिँड्नु, तरकारी काट्नु, गाडी चलाउनु) लाई स्वचालित (Automatic) रूपमा चलाउँछ। यसका लागि मस्तिष्कको सोच्ने भाग (Prefrontal Cortex) लाई धेरै भार पर्दैन। त्यसैले, एउटा काम स्वचालित भइरहँदा अर्को भागले गीत सुन्न वा कुरा गर्न सक्छ।
मनोविज्ञानले जुन मल्टिटास्किङलाई 'भ्रम' र 'हानिकारक' भन्छ, त्यो 'जब दुवै काममा मस्तिष्कको सोच्ने, विश्लेषण गर्ने र निर्णय लिने (Cognitive) क्षमता आवश्यक पर्छ' तब मात्र लागू हुन्छ।
हामीले गल्ती कतिखेर गर्छौं भने अफिसको महत्त्वपूर्ण प्रतिवेदन (Report) लेख्दै गर्दा सहकर्मीसँग गम्भीर व्यावसायिक कुराकानी गर्नु, एउटा इमेल टाइप गर्दै गर्दा फोनमा ग्राहकको कुरा सुन्नु र सम्झौताको निर्णय गर्नु, नयाँ ठाउँमा, व्यस्त र अपरिचित सडकमा गाडी चलाउँदै गर्दा फोनमा जटिल वित्तीय हिसाबकिताब गर्नु (यस्तो बेला गीत सुन्नु फरक कुरा हो, तर फोनमा गम्भीर बहस गर्दा दुर्घटनाको जोखिम हुन्छ)।
मल्टिटास्किङ खराब होइन। बुद्धि-जुक्ति लगाउनुपर्ने जटिल कामहरु गर्दा मल्टिटास्किङ गर्छु भन्नु भ्रम हो। तर दैनिक घरायसी वा स्वचालित कामहरू गर्दा मल्टिटास्किङ गर्नु कुशलता हो। सरल भाषामा भन्दा हात र खुट्टा चल्ने कामसँग दिमाग चल्ने काम मिसाउन सकिन्छ, तर दिमागै चल्ने दुईवटा काम एकैसाथ मिसाउन खोज्दा चाहिँ 'सर्ट सर्किट' हुन्छ।
***
फोन नहेरे पनि टेबलमा मात्र राखिएको स्मार्टफोनले समेत मानिसको कार्यस्मृति (Working Memory) र ध्यान क्षमतामा असर पार्न सक्छ भन्ने निष्कर्ष विभिन्न अध्ययनहरूले देखाएका छन्। मानिसको मस्तिष्क कम्प्युटर होइन, जहाँ दर्जनौँ विन्डो एकैपटक खोल्न सकिन्छ। मस्तिष्क एउटा शक्तिशाली टर्च हो, जहाँ यसको प्रकाश केन्द्रित हुन्छ, त्यहीँ उत्कृष्टता जन्मिन्छ।
विज्ञान र मनोविज्ञान दुवैले पुष्टि गरिसकेका छन् कि मल्टिटास्किङ कुशल हुनुको प्रमाण होइन, बल्कि ध्यान छरिएको संकेत हो। आधुनिक प्रविधिको यो कोलाहलपूर्ण युगमा यदि वास्तवमै उत्पादक र सिर्जनशील बन्ने हो भने हामीले आफ्नो प्राचीन मस्तिष्कको सीमिततालाई स्वीकार्नै पर्छ। त्यसैले, धेरै काम अधुरो र त्रुटिपूर्ण गर्नुभन्दा एउटै मन्त्रलाई आत्मसात गर्नु बुद्धिमानी हुन्छ - एकपटकमा एउटा काम गर्नुस्, र त्यसलाई राम्रो गर्नुस्।

No comments:
Post a Comment