उमेरका उतरार्द्ध। रिटायर्ड जीवन। हतारका नियमितता कति पनि घटेको होइन। ६७ वसन्त छोएर जीवनका अवयव देखेभोगेकाहरु थाक्छन्। सक्रिय हुनुपर्ने कामको निरन्तरता छाड्न चाहन्छन्। होचो कद। पावरदार चश्मा। सेता कपाल। रातो झोलाधारी जगतप्रसाद अर्याल आफूसरह पाकाभन्दा पृथक अभियानमा छन्।
'कहिलेकाही छोराले अमेरिकाबाट फोन गर्छ, भन्छ बाबा अब त आराम गर्नोस्,' केहीबेर मौन हुन्छन् अनि भन्छन्, 'मलाई लाग्दैन जीवन आराम गरेर बित्छ।' पाका दुई प्राणी बसेको घरबाट अर्याल सहर चहार्छन्। वृद्धाश्रम पुग्छन्। अनि साँझ बिहानको किर्तन, दिनचर्यामा अपुगको जोहो दैनिकी। भन्छन्, 'कसरी बाँच्ने भन्ने निर्णय आफ्नै हुनुपर्छ।'
०००
औपचारिक कार्यक्रमस्थलहरुमा अलि छिटै देखापर्छन्। तोकिएको समयमा कार्यक्रम सुरू गर्न सधैं ढिला हुन्छ नै। नेपाली कल्चर भनिने ढिलाइको यो समय उनका लागि उपयोगी बन्छ। पंचुअल बन्न आएकाहरुसँग बात मार्छन्। टेबलमा रातो झोला बिसाउँछन्। अनि आफ्ना कुरा खोल्छन् - '५ रुपैयाँ दान गर्नोस्। तपाइँलाई बुढेसकालमा काम लाग्छ।' चिया पनि नआउने ५ रुपैयाँ कसरी बुढेसकालका लागि काम लाग्ला ? 
आगन्तुकमा जिज्ञासामिश्रित आश्चर्य देखिनु स्वाभाविक छ। अनि अर्थ्याउँछन् - 'दान वृद्धाश्रमका लागि हो।' विराटनगर-१८ मा मलायारोडमा विराटेश्वर वृद्धाश्रम छ। त्यसमा अहिले ३३ बुढाबुढी आश्रित छन्। दिगो बनाउन सकियो भने आश्रम तपाइँलाई पनि काम लाग्छ। तपाइँ वृद्ध भएपछि आश्रमले एउटा पत्र पठाउँछ। सहारा छैन, बाँच्न गाह्रो भएको छ भने दाताका नाताले आश्रममा तपाइँलाई स्वागत गरिने छ।
०००
'हो त, दाताको नाम दर्ता गरेर राख्छु,' उनले भने, 'पछि सबैको घरमा पेन्सन खाने अवस्था भइराख्छ भन्ने छैन। त्यसबेला वृद्धाश्रम काम लाग्छ।' पुराना पोथीपत्रा खोल्छन्। नामका सूची देखाउँछन्। भन्छन् '१ लाख १९ हजार ६ सय ८ जना पुगे है अहिलेसम्म।' अभियान थालनी सम्झँदा केही निराशाका भाव अनुहारमा आउँछन्।
विराटनगरको संसारीमाईस्थानस्थित भानुमोरङ प्राविमा उनी प्रधानाध्यापक थिए। विद्यालयलाई खर्चेका ४२ वर्षमध्ये ३४ वर्ष उनले प्रधानाध्यापक भएर बिताए। उपमहानगरभित्रको त्यही स्कुल जो मन्दिर परिसरमा छ। एक दसकअघिसम्म पटक-पटक विद्यार्थीलाई कक्षा कोठा अपुग हुँदा बाहिर बसाएर भूइँमा पनि पढाइन्थ्यो। पत्रकार आउँथे। तस्बिर लिन्थे। धेरैलाई सोही स्कुलका हेड सरको अभियान बारे थाहै थिएन।
'रिटायर भएको ५ वर्ष लाग्यो,' उनले सुनाए 'स्कुलमा छँदादेखि अभियान थालेको धेरैले निराश पारे। थोरैले मात्रै हौस्याए।' राम्रो काम भनेर हौस्याएजस्तो गर्ने कतिपयले दानको फारम लगेर फिर्ता गरेनन्। थोरैले फिराए। केहीले 'यो उमेरमा पनि चन्दा उठाउनेजस्तो ठगाहा काम कनि थाल्नुभो' भन्दै प्रश्नसँगै निराश पार्न खोजे। 'जस्तो परेपनि मैले अभियान छाडिनँ,' उनी भन्छन्, 'ज्यान रहेसम्म लागिरहन्छु। नश्वर शरीर आखिर कसैको काम आएकै बेस हो।'
०००
'यो एउटा वृद्धाश्रमको सपना मात्रै होइन,' उनी सपना सुनाउँछन्, 'समाजको ढाँचा यसरी बदलिएको छ कि वृद्ध आमाबुवाले घर छाडेर हिड्नुपर्ने अवस्था भएको छ।' दान संकलनका लागि पुगेका कतिपय घरमा वृद्धवृद्धाको व्यथा बेग्लै भेटिने उनको अनुभव छ। राम्रो अभियान भन्दै कुनै-कुनै घरका छोराबुहारीले बोलाएर दान दिएपनि भित्र गहभरी आँसू पारेर बसेका आमाबुवा उनले देखेका छन्।
०००
विराटेश्वर वृद्धाश्रम अहिले सञ्चालनमा रहेको घरजग्गा एक जना दाताले उपलब्ध गराइदिएका हुन्। सरोचियाका जाकीर हुसेनले आश्रमले आफ्नो जग्गा र भवन व्यवस्था नहुञ्जेलका लागि आवाससहितको ५ कट्ठा जग्गा भोगका लागि दिएका छन्। 'उहाँको बुवा जियाउल हक अञ्चलाधीश हुनुहुन्थ्यो, म चिन्दथेँ,' उनी भन्छन् 'अहिले बितिसक्नुभो। परिवार दयालु छन्। उनीहरुले यो जग्गा कुनै रेस्टुरेन्टलाई दिएको भए भाडामा राम्रै पैसा पाउथे। त्यसो गरेनन्।'
०००
सानो कटेरोजस्तो कोठाको ढोकैछेउ अध्यक्ष लेखेको उनको नेमप्लेट छ। अनि त्यससँग लहरै जोडिएका साना कोठामा चार वृद्धा परलोक जाने दिनको प्रतीक्षामा बसेका छन्। कोठाको गन्ध अस्पतालका कुनै वार्डभन्दा कम छैन। ओच्छ्यान परेका वृद्धा नजर घुमाउँछन्। उनीहरुका आँखाले सहारा खोजेको जस्तो देखिन्छ। यी साँघुरा चार कोठा हिडडुल गर्न नसक्नेहरुका लागि हुन्। खौरिएपछि मुडुलोमा पलाएका सेता कपाल। चाउरिएको अनुहार। आफन्तबाट परित्यक्त्य जीवनका दिन।
अर्को भवनको छतमा कोही लुगा सुकाउँदै-उठाउँदै गर्दैछन्। आँगनको आँपको रुखमा फेददेखि करिब ६ फीट उचाइसम्म हरियो रंगका टीनका प्लेटमा सेतो अक्षरले नाम लेखिएका छन्। छुट्टाछुट्टै टाँसिएका प्लेट कुनै सवारीसाधनको नम्बर प्लेटभन्दा कम छैन। यहाँ आश्रितहरूको मान्छेपिच्छे नाम र उमेर लेखिएका छन्। जो परलोक गए , उनीहरुका नेमप्लेट हटाइन्छ।
०००
अभियान लिएर देश दौडाहाको तयारी उनले निकै अघि गरेका हुन्। तर, निस्कने चाँजोपाँजोमा जहिल्यै 'ढिकीच्याउँ' को बाधा आइरह्यो। भन्छन् 'कहिले नेपाल बन्द, कहिले सशस्त्र द्वन्द्व, कहिले मधेस अशान्त। चिनेजानेकाहरुले कहिल्यै सजिलै अवस्था छ, जाउ भनेनन्।' शरीरलाई केही बुढ्यौलीले छोएको भान हुन्छ हिजोआज। 'जाने इच्छा छ तर, कसले सघाउने ? प्रश्नसँगै निराशा प्रष्ट देखिन्छ 'समाजको लागि गर्नेहरुलाई आशाभन्दा निराशाको मात्रा बढी हात लाग्दो रहेछ।'
उनी सवारी चलाउँदैनन्। हम्मेसी कसैको सवारीमा चढेको पनि देखिँदैन। पैदलै यताउता गरिरहने उनलाई खानेकुरा अपुग भयो, कोही बिरामी परे, कोही मरे अनि दैनिक खटनपटनको नियमितताले छाड्दैन। सधै एकैनाश एउटा अभियानमा लागिपर्ने ऊर्जा कसरी पाउने ? उनी अर्थ्याउँछन्- 'सबैले एक दिन वृद्ध हुनुपर्छ। अनि जानुपर्छ। केही गरेर जान्छु भन्ने सोच्नोस् यस्तै कुनै अभियान थाल्न मद्दत मिल्छ।' मान्छेको ज्यानलाई रिटायर्ड लाइफमा सकुञ्जेल समाजको हितमा लगाउनु उचित हुने सोचले ऊर्जा दिने उनको तर्क छ।
'मर्नु अनौठो होइन। सबै मर्छन्,' उनी भन्छन् 'सबैले आफैंलाई सोधे हुन्छ तिमी के गरेर जान्छौ ?' अरुले सम्झनेगरी जान पाउनु जीवनको सार्थकता हो भन्ने उनलाई लाग्छ।
3 comments:
Its Nice Reporting.'Two shoe makers of Traffic chowk contributing one rupee per day' This line touched me well.Its the ground reality of charity.
Interesting!
what?
Post a Comment