सहकर्मीसँग बेलाबेला झर्को मानिरहेका रेस्टुराँ सञ्चालकको 'मुड अफ' हुनुको कारण आन्तरिक रूपमा बिग्रेको कुनै कामले थिएन। एक दशकदेखि यो पेसामा रहेका विराटनगर कलेज रोडका सुरेन्द्रलाल श्रेष्ठ भन्छन्, 'साउनभरि व्यापारमा मन्दी भएपछि कसरी मुड ठीक हुन्छ ? उनीजस्तै चल्ती रेस्टुराँहरूमा साउन लागेपछि त्यसका 'साहुजी' का मुड बिग्रिएको देख्न पाउनु विराटनगरमा नौलो छैन।
साउनमै किन मन्दी ? प्रश्नको उत्तर ताम्राकार कोल्ड सेन्टरका सञ्चालक पुरुषोत्तम ताम्राकार प्रस्ट्याउँछन्, 'धेरैले साउनमा माछामासु र रक्सी बार्छन्, धर्म गर्छन्। त्यसैले मन्दी हुने हो।' उपमहानगरभित्र सानाठूला गरी तीन सयको हाराहारीमा मदिरा बेचविखन गरिने रेस्टुराँ छन्। अधिकांशको अवस्था उस्तै छ।
'नियमित खानेमा पनि धेरै कोही बोलबम जान्छन्, कोही व्रत बस्छन्,' ताम्राकार भन्छन्। यो व्यवसायमा नगरमै पुरानामध्ये पर्ने उनलाई पछिल्ला केही वर्ष साउनमा ग्राहकै नहुने समस्या भने भएको होइन। ग्राहक छन् तर यो महिना पहिलेजस्तो बग्रेल्ती आउने क्रम रहँदैन। 'यो महिनाभरि सातामा दुई दिनका दरले मात्र व्यापार चल्छ भन्ने बुझे हुन्छ,' उनी अर्थ्याउँछन्। मन्दी आउने महिना भएकै कारण अरू बेला व्यस्त रहने रेस्टुराँ सञ्चालकले साउनभरि बोलबमको तीर्थयात्रा र अन्य काममा ध्यान दिन पाएका छन्।
मदिराको थोक बिक्री कक्ष चलाएका कामना कोल्ड सेन्टरमा विनोद केसी पनि साउन महिनामा व्यापार घट्ने बताउँछन्। '५ वर्षअघिभन्दा साउनमा बार्ने केही घटेका हुन्,' उनी भन्छन्, 'तर, रक्सीमा साउनचाहिँ वर्षको एउटा यस्तो महिना हो जसमा मन्दी भएरै छाड्छ।' उनका अनुसार साउनमा धर्मकर्म गर्नेेले खान छाडेर मात्र मन्दी आउने भने होइन। बर्सेनि असार अन्तिममा आउने बजेटमा मदिरामाथि राजस्व लगायतका करका दर वृद्धि भएर आउँछ। त्यो घोषणा अघि स्टक गर्ने प्रवृत्तिले पनि साउनमा मन्दी गराएको हो।
उपमहानगरमा मदिराका डेढ दर्जन थोक बिक्रेता छन्। ठूला बिक्रेतामध्येको रोविन ट्रेड सेन्टर र कोसी सप्लायर्समा पनि सञ्चालक-कर्मचारीको भनाइ फरक छैन। रोविनका कर्मचारी गंगा दाहाल भन्छन्, 'साउनका व्यापार ५० प्रतिशत घट्छ। यो त बर्सेनि दोहोरिने पुरानो कुरा हो।' उनका अनुसार बजेटले गर्ने राजस्व वृद्धिका क्रममा हुने फाइदालाई ध्यानमा राख्दै स्टक राख्न चाहनेले गर्दा पनि साउन प्रभावित हुने गरेको हो। 'धर्म एउटा कुरा हो तर बोलबमका नाउँमा मन्दी भन्न मिल्दैन,' उनले भने, 'चाहिने जति पहिल्यै किनेर राखेको रेस्टुराँले फेरि कसरी किन्थ्यो र !'
कोसी सप्लायर्सका सञ्चालक सुरेशमान श्रेष्ठको बुझाइमा साउन मन्दी हुनुका पछि धार्मिक कारणसँगै स्टक राख्ने प्रवृत्ति बढी हो। 'नभए अघिपछि पनि बिक्री राम्रो हुन्छ,' उनी भन्छन् । २५० प्रतिशतसम्म कर लिए पनि इजाजत लिई उत्पादित मदिराका लागि सरकारले ध्यान नदिएको उनको गुनासो छ।
'नक्कली समातियो भने १० हजार तिरे छुटिहाल्छ,' उनी भन्छन्, 'फेरि थालिहाल्छ। त्यसले बजारमा पारेको अप्ठयारोलाई सरकारले ध्यान दिनुपर्छ।' उनका अनुसार तराई क्षेत्र भएकाले बोलबमको प्रचलित तीर्थका नाउँमा नभई नहुनेमध्येका धेरै मदिरा सेवनकर्ता साउनमा एक महिनाका लागि छाड्ने गरेका छन्। चार/पाँच वर्षअघि साउनमा व्यापार नहुने अवस्था रहे पनि केही सुधार आएको छ।
उपमहानगरमा ९० प्रतिशत बजार नेपालमै उत्पादित मदिराको हो। मोरङमै मदिराका तीन कारखाना छन्। आन्तरिक राजस्व कार्यालयका प्रमुख टेकबहादुर खत्री भन्छन्, 'साउन भनेर मन्दी भनिहाल्न मिल्दैन। अरू महिनाले कभर गर्छ।' उनका अनुसार कार्यालयले २०६६/६७ मा मदिराबाट १ अर्ब २० करोड राजस्व असुली गरेको छ। पैठारीबाट मात्रै ४७ करोड ७६ लाख ७५ हजार संकलन गरेको छ।

No comments:
Post a Comment