एउटा कम्पनीमा म्यानेजर पदका लागि अन्तर्वार्ता चलिरहेको थियो। प्रतिक्षालयमा दुईजना उम्मेदवार थिए - नितिन र सुमित। नितिनले निकै महँगो निलो सुट लगाएको थियो, जुत्ता टल्किएका थिए र ऊ निकै आत्मविश्वासका साथ हाँसेर सबैसँग बोलिरहेको थियो। त्यहाँ आउने जाने जोकोहीलाई लाग्थ्यो - 'हो, म्यानेजर हुन लायक त यही व्यक्ति हो।' यो सबैको मगजमा 'सिस्टम-१ ले बनाएको 'फर्स्ट इम्प्रेसन' थियो।
अर्कोतिर सुमित थियो। लुगा अलि खुम्चिएका, अनुहारमा पसिना। केही हतारिएको जस्तो देखिन्थ्यो। ऊ कसैसँग नबोली कुनामा फाइल हेरेर बसिरहेको थियो। उसलाई देख्नेहरूले मनमनै भने - 'यस्तो लापर्वाह मान्छे पनि कतै म्यानेजर हुन्छ र ?'
अन्तर्वार्ता सुरु हुनुअघि एउटा घटना भयो।
कार्यालयको एउटा बुढो कर्मचारी भारी सामान बोकेर सिँढी चढ्दै गर्दा अचानक लड्यो। सामानहरू यत्रतत्र छरिए। नितिन (निलो कोटवाला) ले टाढैबाट हेर्यो र आफ्नो घडी हेर्दै सोच्यो - 'अहिले मद्दत गर्न गएँ भने मेरो सुट फोहोर हुन्छ र अन्तर्वार्तामा मेरो इम्प्रेसन बिग्रिन्छ।' ऊ उस्तै आत्मविश्वासका साथ बसिरह्यो।
तर सुमित तुरुन्तै उठेर दौडियो। उसले आफ्नो फाइल भुइँमा फाल्यो, ती बुढाको हात समातेर उठायो र सबै सामान मिलाइदियो। त्यही क्रममा उसको लुगामा अझै फोहोर लाग्यो।
संयोगवश, त्यो सबै दृश्य भित्रबाट अन्तर्वार्ताको तयारीमा रहेका कम्पनी सञ्चालकहरुले सीसीटीभीमा हेरिरहेका थिए। जब दुवै भित्र छिरे, कम्पनीका मालिकले नितिनलाई भने - 'तिम्रो 'फर्स्ट इम्प्रेसन' निकै लोभलाग्दो थियो, तर तिम्रो 'जरा' कमजोर रहेछ।' अनि सुमितलाई हेर्दै भने - 'तिम्रो पहिरनले मलाई झुक्याउन खोजेको थियो, तर तिम्रो 'चरित्र' बलियो रहेछ। जागिर तिम्रो भयो।'
कथाको सन्देश : हाम्रो मस्तिष्कले पहिलो भेटमा नितिनको 'निलो सुट' लाई हेरेर धारणा बनायो (सिस्टम-१), तर सुमितको वास्तविक क्षमता बुझ्न उसको 'व्यवहार' हेर्नुपर्यो (सिस्टम-२)। यो एउटा आदर्श प्रेरित कथा हो, त्यसैले नतिजा सुमितको पक्षमा गएको बनाइयो। भन्न खोजेको कथा होइन पहिलो भेटको प्रभावमाथिको मनोवैज्ञानिक कारण हो।
पहिलो भेट एउटा 'किताबको गाता' जस्तै हो। गाता राम्रो हुँदैमा भित्रको कथा राम्रो हुन्छ नै भन्ने छैन र गाता झुत्रो हुँदैमा किताबका कथा झुर हुन्छ भन्ने पनि छैन। त्यसैले, मानिसलाई बुझ्न पहिलो भेटको 'निलो कोट' मा मात्र नभई, उसको 'जरा' सम्म पुग्न समय दिनुपर्छ।
***
हामी अहिले फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसनको कुरा गरिरहेका छौँ। तपाइँलाई कस्तो लाग्छ, पहिलो भेटमै मान्छेलाई बुझ्नुहुन्छ? उसका बानीबेहोरा थाहा पागनुहुन्छ? यो हामीले धेरैपटक भनिरहने भनाइमा पर्छ। किन यसो भनिएको होला? पहिलो भेटमै कसैलाई विस्तृत बुझ्न कसरी सम्भव छ? झट्ट धारणा बनाइहाल्नु हतार होइन? अर्को एउटा कहानी सुनाउँछु।
'बालयौन दुराचारका आरोपी पक्राउ'
यो शीर्षकको समाचार कसैले सोसल मिडियामा शेयर गरेको थियो। मैले लिंक खोलेर हेरेँ, अनि छक्क परेँ। जो समातियो भनिएको थियो, उनलाई मैले चिन्थेँ। विराटनगरमा रहँदा विभिन्न कार्यक्रममा भेट हुन्थ्यो। सशस्त्र द्वन्द्वकालमा जिल्ला शिक्षा कार्यालयमा आएको एउटा कार्यक्रमा मोरङका पहाडी गाउँहरु पाटीगाउँ, सिंहदेवी, वारांगी लगायत पुग्नुपर्ने थियो। शायद त्रस्त कर्मचारी मानेनन्, हामी दुई सञ्चारकर्मी र ती एकजना विकासे कार्यकर्ताको भागमा आयो। हामी करिब एक साताको यात्रामा गएका थियौं।
जुन आरोपमा समातिका थिए, त्यो खराब बानीको छेकछन्द, संकेतसम्म न तिनको बोलीचालीमा थियो, न त व्यवहारमा। त्यो समाचार हेरेर पत्यार लागेन। एकजना मित्रलाई फोन गरेँ, साँच्चै रहेछ। उनले जुन बालकलाई लगेर जे गरे तीसहित समातिएका रहेछन्। 'आरोप सही हो, ती त्यो विकृतिको बिरामी रहेछन्' भनेर ती साथीले बताएपछि मैले नपत्याइ सुख भएन। म सोचिरहेँ - तिनको व्यक्तित्वको राम्रो इम्प्रेसनका कारण तिनको त्यस्तो खराब आचरणको छेकछन्द थाहा नभएको पो हो की। जे होस्, निष्कर्ष रह्यो - पहिलो भेट वा छोटो चिनजानले मान्छे अल्प अल्प मात्रै चिनिन्छ।
***
पहिलो भेटमै मानिसले बनाउने धारणा कति शक्तिशाली हुन्छ भन्ने हामीले दैनिक जीवनमै महसुस गरिरहेका हुन्छौं। कसैको अनुहार, हाउभाउ, बोल्ने तरिका वा पहिरनले केही सेकेन्डमै हाम्रो मनमा एउटा चित्र बनाइदिन्छ। पछि धेरै समय सँगै बिताउँदा पनि त्यही पहिलो छापले हाम्रो सोचलाई निर्देशित गरिरहन्छ। व्यवहारिक मनोविज्ञानका अनुसार यो प्रक्रिया संयोग होइन, बरु मस्तिष्कको स्वाभाविक कार्यप्रणाली हो। छिटो निर्णय गर्ने प्रवृत्ति, ऊर्जा बचत गर्ने चाहना र विभिन्न मानसिक पूर्वाग्रहहरूले पहिलो भेटलाई असाधारण रूपमा प्रभावशाली बनाइदिन्छन्।
त्यसैले ‘फर्स्ट इम्प्रेसन' केवल सुरुवात होइन, प्रायः सम्बन्धको दिशानिर्देशक पनि बन्छ। यो किन यति बलियो हुन्छ भन्ने प्रश्नको उत्तर मानव मस्तिष्कको संरचना र व्यवहारिक मनोविज्ञानसँग गहिरो रूपमा जोडिएको छ। व्यवहावादी मनोविज्ञान भन्छ - मानिसले छिटो निर्णय गर्न बनाइएको मस्तिष्क बोकेको हुन्छ, र यही कारण पहिलो भेटमै बनाएको धारणा धेरै टिकाउ हुन्छ।
हामीले प्रायः सुन्ने 'फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन' भन्ने उखानको पछाडि गहिरो मनोवैज्ञानिक कारणहरू छन्। डेनियल काहनेम्यानको सिस्टम-१ को अवधारणा र अन्य मनोवैज्ञानिक सिद्धान्तका आधारमा यसलाई यसरी बुझ्न सकिन्छ:
१. किन भनिएको होला 'फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन'?
यसको मुख्य कारण 'पुष्टिकरण पूर्वाग्रह' (कन्फर्मेसन बायस) हो। जब हाम्रो मस्तिष्कले पहिलो भेटमा कसैको बारेमा एउटा धारणा बनाउँछ, त्यसपछि हाम्रो दिमागले सोही धारणालाई पुष्टि गर्ने खालका प्रमाणहरू मात्र खोज्न थाल्छ।
यदि पहिलो भेटमा कोही व्यक्ति भद्र र सहयोगी देखियो भने, पछि उसले सानो गल्ती गर्दा पनि हामी भन्छौँ - 'होइन, ऊ त राम्रो मान्छे हो, झुक्किएर यस्तो भएको होला।'
तर यदि पहिलो भेटमै कसैले नराम्रो छाप छोड्यो भने, उसले पछि जतिसुकै राम्रो काम गरे पनि हाम्रो दिमागले त्यसलाई शंकाको नजरले हेर्छ।
२. पहिलो भेटमै कसैलाई बुझ्न सम्भव छ?
मनोविज्ञानका अनुसार, पहिलो भेटमा कसैलाई विस्तृत रूपमा बुझ्न असम्भव छ। पहिलो भेटमा हामीले देख्ने कुराहरू केवल बाह्य आवरण, बोल्ने शैली र तत्कालीन परिस्थिति (कन्टेक्स्ट) मात्र हुन्।
परिस्थितिको प्रभाव: मानौँ, तपाईंले भेटेको व्यक्ति त्यो दिन निकै तनावमा छ वा बिरामी छ भने उसको व्यवहार स्वाभाविक नहुन सक्छ।
सामाजिक मुखौटा: मानिसहरू पहिलो भेटमा प्रायः आफ्नो सबैभन्दा राम्रो पक्ष मात्र देखाउने प्रयास गर्छन्। त्यसैले, त्यो 'वास्तविक स्वरूप' नभएर 'प्रस्तुत गरिएको स्वरूप' मात्र हुन सक्छ।
३. पहिलो भेटमै धारणा बनाउनु हतार होइन?
तार्किक रूपमा भन्दा यो हतार नै हो, तर जैविक रूपमा यो हाम्रो मस्तिष्कको बाध्यता हो।
सुरक्षा संयन्त्र : आदिम कालमा मानिसले जंगलमा कुनै अपरिचित प्राणी वा मानिस देख्नेबित्तिकै ऊ 'शत्रु हो कि मित्र' भनेर तत्काल निर्णय लिनुपर्थ्यो। ढिलो निर्णय लिनुको अर्थ ज्यान जानु हुन सक्थ्यो। हाम्रो सिस्टम-१ ले अझै पनि त्यही 'सर्भाइभल इन्स्टिंक्ट' प्रयोग गर्छ।
संज्ञानात्मक आलस्य (कग्निटिभ लेजिनेस) : कसैलाई समय दिएर, विभिन्न परिस्थितिमा जाँचेर बुझ्नु (सिस्टम-२ को प्रयोग) निकै थकाइलाग्दो काम हो। हाम्रो दिमाग सधैं ऊर्जा बचाउन चाहन्छ, त्यसैले छिटो धारणा बनाएर "यसको बारेमा निर्णय भइसक्यो" भन्दै ढुक्क हुन खोज्छ।
पहिलो भेटमा बन्ने धारणा (फर्स्ट इम्प्रेसन) एउटा 'फिल्टर' जस्तो हो। यसले हामीलाई सुरुवाती कुराकानी गर्न सजिलो त बनाउँछ, तर यो सधैं सत्य हुँदैन। कसैलाई साँचो अर्थमा बुझ्नका लागि धैर्य र समय चाहिन्छ। त्यसैले, पहिलो भेटको धारणालाई अन्तिम सत्य मान्नुको सट्टा त्यसलाई एउटा 'कार्यकारी अनुमान' (वर्किङ हाइपोथेसिस) मात्र मान्नु र नयाँ जानकारीका आधारमा आफ्नो धारणा बदल्न तयार रहनु नै परिपक्वता हो।
पहिलो भेट खास लाग्नुका पछि मनोवैज्ञानिक कारण छन्। जसले हामीलाई त्यो नौलो र स्मरणीय लाग्छ। अनि मनमन कतै लागेको हुन्छ - 'मैले त्यो मान्छेलाई बुझेँ, यस्तो पो रहेछ।' पहिलो भेट यादगार हुनुका पछि विभिन्न कारण हुन्छन्।
१. मस्तिष्कको छिटो निर्णय गर्ने प्रणाली
मानिसको सोचाइमा एउटा छिटो, स्वचालित प्रणाली हुन्छ। मनोवैज्ञानिक डेनियल कानेम्यानले यसलाई 'सिस्टम-१' भनेका छन्। यो प्रणालीले केही सेकेन्डमै निर्णय गर्छ, अनुहार, हाउभाउ, बोल्ने शैलीबाट निष्कर्ष निकाल्छ। त्यसैले कसैलाई देख्नेबित्तिकै 'विश्वासिलो,' 'घमण्डी' वा 'मिलनसार' भन्ने लेबल लागिहाल्छ।
कानेम्यानले सन् २०११ मा प्रकाशित चर्चित पुस्तक 'थिंकिङ, फास्ट एण्ड स्लो' मा मानव सोचलाई सिस्टम १ र २ मा दुई भागमा विभाजन गरेका छन्। 'सिस्टम-१' लाई छिटो, स्वचालित र सहज रूपमा काम गर्ने प्रणालीका रूपमा व्याख्या गरेका छन्। छिटो हुने भएकाले बिना धेरै प्रयास, नियन्त्रण वा सचेत सोचबिनै तुरुन्त प्रतिक्रिया दिने उनको व्याख्यामा छ। यही कारणले गर्दा पहिलो भेटमै बन्ने इम्प्रेसन प्रायः यही प्रणालीबाट प्रभावित हुन्छ, जहाँ हामी सोचेर होइन, महसुस गरेर निर्णय गर्छौं।
सिस्टम-१ मस्तिष्कको त्यो हिस्सा हो जसले बिना कुनै मेहनत, तुरुन्तै र भावनाको आधारमा काम गर्छ। जब हामी कसैलाई पहिलो पटक देख्छौँ, हाम्रो मस्तिष्कले सेकेन्डको भरमा एउटा धारणा बनाइसक्छ। कसैको अनुहारको हाउभाउ हेरेर उनीहरू 'भरोसायोग्य' छन् वा 'खतरनाक' छन् भन्ने निर्णय सिस्टम-१ ले तत्कालै गरिदिन्छ। यसका लागि हामीले सोचेर तर्क गरिरहनु पर्दैन।
काहनेम्यानका अनुसार फर्स्ट इम्प्रेसनमा 'हेलो इफेक्ट'ले ठूलो भूमिका खेल्छ। यदि हामीलाई कसैको एउटा पक्ष मन पर्यो भने (जस्तै: उनीहरू देख्दा राम्रा वा सफा छन्), सिस्टम-१ ले उनीहरूका अन्य पक्षहरू पनि राम्रै होलान् भन्ने अनुमान लगाउँछ।
यदि कोही व्यक्ति आकर्षक छ भने, हाम्रो मस्तिष्कले उनीहरू 'बुद्धिमान' वा 'दयालु' पनि होलान् भनेर स्वतः मानिदिन्छ।
काहनेम्यानले एउटा रोचक शब्द प्रयोग गरेका छन् - WYSIATI (What You See Is All There Is)। यसको अर्थ हो - 'जे देखिन्छ, त्यही नै सबथोक हो।' फर्स्ट इम्प्रेसनको समयमा हाम्रो मस्तिष्कसँग थोरै मात्र जानकारी हुन्छ। तर सिस्टम-१ ले त्यो सानो जानकारीलाई नै आधार मानेर एउटा पूर्ण 'कथा' बुन्छ र त्यसैलाई सत्य मान्छ। यसले गर्दा हामी मानिसको वास्तविक चरित्र बुझ्न अघि नै उनीहरूका बारेमा एउटा बलियो धारणा बनाउँछौं।
हाम्रो मस्तिष्क सधैँ सजिलो बाटो खोज्छ। कसैलाई भेट्दा उनीहरूका बारेमा गहिरो अनुसन्धान गर्नु (सिस्टम-२ चलाउनु) थकाइलाग्दो हुन्छ। त्यसैले, सिस्टम-१ ले पहिलेकै अनुभव वा पूर्वाग्रहका आधारमा एउटा छिटो निर्णय लिन्छ, जसले मस्तिष्कलाई 'सहज' महसुस गराउँछ। काहनेम्यानको तर्कअनुसार, फर्स्ट इम्प्रेसन धेरै शक्तिशाली हुन्छ तर सधैँ सही हुँदैन। यो सिस्टम-१ को एउटा 'सर्टकट' हो। यदि हामीले कसैलाई सही ढंगले मूल्यांकन गर्नु छ भने, हामीले आफ्नो सिस्टम-२ (तार्किक र सचेत मस्तिष्क) लाई सक्रिय बनाएर सुरुमा बनेको त्यो 'पहिलो छाप' लाई चुनौती दिनुपर्छ।
सरल भाषामा भन्दा, सिस्टम-१ ले चित्र कोर्छ, तर त्यो कति वास्तविक छ भनेर जाँच्ने काम चाहिँ सिस्टम-२ को हो।
२. ऊर्जा बचत गर्ने प्रवृत्ति
मस्तिष्कलाई धेरै सोच्न मन पर्दैन। ऊ ऊर्जा बचाउन चाहन्छ। पहिलो प्रभाव बनिसकेपछि नयाँ सूचना आए पनि पुरानै धारणा टिकाइराख्न खोजिन्छ, यसलाई 'कन्फर्मेसन बायस' भनिन्छ। अर्थात्, पहिलो 'इम्प्रेसन' बनेपछि हामी त्यही पुष्टि गर्ने प्रमाण मात्र खोज्छौं।
३. 'Halo Effect' को प्रभाव
'हलो इफेक्ट' अनुसार एउटा राम्रो गुण देखियो भने बाँकी सबै राम्रो जस्तो लाग्छ। जस्तै: राम्रो पहिरन - 'यो व्यक्ति सक्षम पनि होला।' त्यसैले सानो संकेतले ठूलो धारणा बनाउँछ।
यो अवधारणा पहिलोपटक मनोवैज्ञानिक एडवर्ड थोरन्डाइकले सन् १९२० मा प्रस्तुत गरेका हुन्। उनले सैनिक अधिकृतहरूमाथि गरेको अध्ययनमा देखाए कि कुनै व्यक्तिको एउटै सकारात्मक गुण (जस्तै, आकर्षक देखिनु वा आत्मविश्वासी हुनु) ले उसको अन्य गुणहरू (बुद्धिमत्ता, नेतृत्व क्षमता) पनि राम्रो छन् भन्ने समग्र धारणा बनाउँछ।
थोरन्डाइकले यसलाई मानवीय मूल्यांकनको 'कन्स्ट्यान्ट इरर' भनेका थिए। यस प्रभावका कारण मानिसले वस्तुगत मूल्यांकन गर्न नसकी एउटा विशेष गुणको आधारमा सम्पूर्ण व्यक्तित्वलाई आँक्ने गर्छ, जसले पहिलो इम्प्रेसन अस्वाभाविक रूपमा बलियो र प्रायः पक्षपाती बनाइदिन्छ।
४. समयको अभाव र सामाजिक दबाब
दैनिक जीवनमा छिटो निर्णय गर्नुपर्ने अवस्था हुन्छ, विशेष गरी नयाँ मान्छे, जागिर अन्तर्वार्ता, सम्बन्ध सुरु गर्दा त्यसैले मस्तिष्क शर्टकट प्रयोग गर्छ। पहिलो इम्प्रेसन नै आधार बन्छ।
छिटो निर्णय गर्नुपर्ने अवस्थालाई मनोविज्ञानमा 'ह्युरिस्टिक्स' को प्रयोगसँग जोडिन्छ, जसलाई हर्बर्ट सिमनले 'बन्डेड रेसनालिटी' को अवधारणामार्फत व्याख्या गरेका छन्। उनका अनुसार मानिससँग समय, सूचना र संज्ञानात्मक क्षमता सीमित हुन्छ, त्यसैले उसले 'सन्तिषजनक' अर्थात् पर्याप्त ठानिएको निर्णय रोज्छ, सर्वोत्तम होइन। सामाजिक दबाब र परिस्थितिगत हतारले गर्दा मस्तिष्कले छोटो बाटो (शर्टकट) अपनाउँछ, जसमा पहिलो इम्प्रेसन नै आधार बन्छ। यसले निर्णयलाई छिटो बनाउँछ तर सधैं सही बनाउँदैन।
५. विकासवादी कारण
पुरानो समयमा छिटो निर्णय जीवन–मृत्युको सवाल थियो। 'यो व्यक्ति खतरा हो कि सुरक्षित?' भन्ने छिटो बुझ्नुपर्थ्यो।त्यसैले आज पनि हाम्रो मस्तिष्कले छिटो जजमेन्ट गर्छ।
छिटो जजमेन्ट गर्ने प्रवृत्तिलाई विकासवादी मनोविज्ञानले मानव अस्तित्वसँग जोडेर व्याख्या गर्छ। डेभिड बसका अनुसार, प्रारम्भिक मानव समाजमा अपरिचित व्यक्ति 'खतरा कि अवसर?' भन्ने छुट्याउन नसक्दा ज्यानै जोखिममा पर्थ्यो। त्यसैले मस्तिष्कले छिटो निष्कर्ष निकाल्ने प्रणाली विकास गर्यो। यस्तो छिटो मूल्यांकनले धेरै अवस्थामा जीवन जोगायो, भले त्यो कहिलेकाहीँ गलत किन नहोस्। आजको आधुनिक समाजमा पनि त्यही पुरानो मानसिक संरचना सक्रिय छ, जसले पहिलो भेटमै बलियो धारणा बनाउन प्रेरित गर्छ।
६. परिवर्तन किन गाह्रो हुन्छ?
एकपटक पहिलो इम्प्रेसन बनेपछि मस्तिष्कले त्यसलाई सत्य जस्तो मान्छ। नयाँ व्यवहार देखिए पनि 'अपवाद' भनेर बेवास्ता गर्न सक्छ। यसैले पहिलो छाप अन्तिम छाप जस्तो लाग्छ। यद्यपि त्यो सधैं सही हुँदैन।
फर्स्ट इम्प्रेसन बलियो हुन्छ, किनकि मस्तिष्क छिटो निर्णय गर्छ, ऊर्जा बचाउन खोज्छ, पूर्वाग्रह (बायस)हरूले त्यसलाई बलियो बनाउँछन्। तर राम्रो कुरा के हो भने यो पूर्ण सत्य होइन, परिवर्तन सम्भव छ। त्यसका लागि समय, निरन्तर व्यवहार र विश्वास निर्माण चाहिन्छ।
युवा-युवतीको प्रेम र आकर्षणको सन्दर्भमा 'फर्स्ट इम्प्रेसन' झन् बढी शक्तिशाली र कहिलेकाहीँ 'भ्रामक' पनि हुन्छ। मनोवैज्ञानिक दृष्टिकोणले प्रेममा पहिलो भेटको प्रभावलाई ४ बुँदामा बुझ्न सकिन्छ :
१. तीन सेकेन्डको निर्णय
अनुसन्धानले भन्छ कि हामीले कसैलाई देख्नेबित्तिकै लगभग ३ सेकेन्डभित्र उनीहरू आकर्षक छन् वा छैनन् र उनीहरूसँग कुरा गर्न सकिन्छ कि सकिँदैन भन्ने निर्णय गरिसक्छौँ। प्रेमको सन्दर्भमा, हाम्रो सिस्टम-१ ले उनीहरूको शारीरिक बनावट, लुगा लगाउने शैली र मुस्कानलाई हेरेर 'केमेस्ट्री' मिल्ने खालको छ/छैन भन्ने संकेत दिइहाल्छ।
२. हेलो इफेक्ट र 'जादुई' चस्मा
प्रेममा 'हेलो इफेक्ट' सबैभन्दा बढी सक्रिय हुन्छ। यदि पहिलो भेटमा कुनै युवक वा युवतीको एउटा कुरा मन पर्यो (जस्तै: उसको स्वर वा उसको जोक भन्ने शैली), भने हाम्रो मस्तिष्कले सोच्न थाल्छ - 'यति राम्रो स्वर हुने मान्छे त मनको पनि सफा होला, पक्कै पनि जिम्मेवार होला।'
हामी एउटा सानो राम्रो गुणको आधारमा उसको पूरै व्यक्तित्वलाई 'देवता' जस्तो बनाइदिन्छौं।
३. 'प्रोजेक्सन'को खेल
पहिलो भेटमा हामी प्रायः वास्तविकता भन्दा पनि आफ्नो कल्पनालाई बढी देख्छौँ। हामीलाई कस्तो जीवनसाथी चाहिएको छ, त्यो छविलाई हामी अगाडिको मान्छेमा 'प्रोजेक्ट' गर्छौँ।
उनीहरूले बोलेको एउटा सामान्य शब्दलाई पनि हामीले 'मलाई कति बुझेको' भन्ठान्छौँ।
यो वास्तवमा उनीहरूले बुझेको नभएर हाम्रो मस्तिष्कले उनीहरूलाई त्यसरी बुझ्न खोजेको मात्र हो।
४. 'रेड फ्ल्याग्स'लाई बेवास्ता गर्नु
फर्स्ट इम्प्रेसन यति बलियो हुन्छ कि यसले कहिलेकाहीँ मानिसका नराम्रा पक्षहरू (रेड फ्ल्याग्स) लाई छोपिदिन्छ। काहनेम्यानको WYSIATI (जे देखिन्छ, त्यही सबथोक हो) सिद्धान्त यहाँ लागू हुन्छ।
पहिलो भेटमा उनीहरूले निकै मीठो बोले भने, उनीहरू भित्र कति स्वार्थी वा क्रोधी छन् भन्ने कुरा हाम्रो मस्तिष्कले देख्न चाहँदैन।
"उसले मसँग त राम्रो बोल्यो नि, अरूसँग जेसुकै गरोस्" भन्ने सोचले हामीलाई गलत निर्णयतर्फ लैजान सक्छ।
प्रेममा पहिलो भेटपछि के गर्ने?
मनोवैज्ञानिकहरू भन्छन् - 'पहिलो भेटलाई ट्रेलर मान्नुहोस्, पूरा सिनेमा होइन।' समय दिनुहोस्, पहिलो भेटमा उत्पन्न भएको त्यो डोपामाइनको लहरलाई अलि शान्त हुन दिनुहोस्।
विभिन्न परिस्थितिमा हेर्नुहोस्, मान्छे कस्तो छ भनेर बुझ्न उसले वेटरसँग कसरी बोल्छ, भीडमा कसरी व्यवहार गर्छ वा गाह्रो पर्दा कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरामा ध्यान दिनुहोस्।
प्रश्न सोध्नुहोस्, केवल बाहिरी रूपमा नभई वैचारिक रूपमा कति मेल खान्छ भन्ने बुझ्न सिस्टम-२ (तार्किक दिमाग) प्रयोग गरेर प्रश्नहरू सोध्नुहोस्। प्रेममा 'फर्स्ट इम्प्रेसन'ले ढोका त खोल्छ, तर त्यो कोठाभित्र बस्न लायक छ कि छैन भनेर थाहा पाउन 'सेकेन्ड', 'थर्ड' र 'फोर्थ' इम्प्रेसनहरू कुर्नु नै बुद्धिमानी हुन्छ।
युवा-युवतीको प्रेममा पहिलो भेट र त्यसले निम्त्याउने मनोवैज्ञानिक उथलपुथलका बारेमा केही रोचक तथ्यहरू यस्ता छन्:
१. 'स्पार्क' वा 'केमेस्ट्री' को रहस्य
हामी प्रायः भन्छौँ - 'हाम्रो त पहिलो भेटमै केमेस्ट्री मिल्यो।' वास्तवमा यो केमेस्ट्री हाम्रो मस्तिष्कमा हुने डोपामाइन र अक्सिटोसिनको विस्फोट हो। जब हामीलाई कोही मन पर्छ, सिस्टम-१ ले तत्कालै सकारात्मक संकेत दिन्छ र शरीरमा ऊर्जाको लहर चल्छ। यसलाई नै हामी 'प्रेमको स्पार्क' भन्छौँ।
२. बाहिरी आकर्षणको 'फिल्टर'
प्रेममा पहिलो छाप शारीरिक आकर्षण (फिजिकल एट्रयाक्सन) बाट सुरु हुन्छ। तर यहाँ एउटा मनोवैज्ञानिक पासो छ - जसलाई 'आत्मसात प्रभाव' (असिमिलेसन इफेक्ट) भनिन्छ। यदि कसैको रूप-रंग वा बोल्ने शैलीले हामीलाई प्रभावित गर्यो भने, उसको बाँकी कमजोरीहरू हाम्रो मस्तिष्कले अटो-करेक्ट गरेर राम्रो देखाइदिन्छ।
उनीहरूले ढिलो गर्दा हामीलाई सायद व्यस्त होलान् भन्ने लाग्छ (सकारात्मक)।
तर यदि पहिलो प्रभाव नराम्रो छ भने त्यही ढिलाइलाई हामी समयको महत्त्व नबुझ्ने मान्छे भन्ठान्छौं (नकारात्मक)।
३. समानताको खोजी (The Similarity-Attraction Effect)
पहिलो भेटमा हामी अन्जानमै आफूसँग मिल्दोजुल्दो बानी वा रुचि भएको व्यक्तिप्रति बढी आकर्षित हुन्छौँ। यदि उसले पनि तपाईंलाई मनपर्ने गीत वा ठाउँको नाम लियो भने, सिस्टम-१ ले तुरुन्तै 'यो त मेरै लागि बनेको मान्छे हो' भन्ने ठूलो निष्कर्ष निकालिदिन्छ। यसलाई 'इको' प्रभाव भनिन्छ, जहाँ हामी अर्को व्यक्तिमा आफ्नै प्रतिविम्ब खोजिरहेका हुन्छौँ।
४. 'हनिमून फेज' को सुरुवात
फर्स्ट इम्प्रेसनले 'हनिमून फेज' को जग बसाल्छ। यस बेला हाम्रो तार्किक दिमाग (सिस्टम-२) लगभग सुतेको अवस्थामा हुन्छ। हामी अगाडिको मान्छेलाई एउटा 'आदर्श पात्र' को रूपमा हेर्छौं। काहनेम्यानको भाषामा भन्दा, हामीसँग थोरै जानकारी हुन्छ, तर हामी त्यसैलाई आधार मानेर एउटा सुन्दर भविष्यको कल्पना गरिसक्छौं।
पहिलो भेटमा भएको आकर्षणलाई मोह (इन्फ्याचुएसन) भनिन्छ, जुन डोपामाइनले भरिएको हुन्छ। वास्तविक 'प्रेम' हुनका लागि त त्यो मान्छेका कमी-कमजोरीहरू थाहा पाएपछि पनि उसलाई स्वीकार गर्ने क्षमता चाहिन्छ।
त्यसैले, पहिलो भेटमा मुटुको ढुकढुकी बढ्नु स्वाभाविक हो, तर जीवनको महत्त्वपूर्ण निर्णय लिनुअघि मस्तिष्कको 'सिस्टम-२' लाई एकपटक सोध्न नबिर्सिनुहोला - 'के म यो मान्छेलाई साच्चै चिन्छु, कि मैले बनाएको उसको छवि (इमेज) लाई मात्र माया गरिरहेको छु?'
आजलाई यत्ति नै । यसबारे बाँकी वार्तामा फेरि कुनै बेला जोडिनुपर्छ।

No comments:
Post a Comment