ज्याक म्यानिङघमको चाला निको छैन। पत्नी बेला म्यानिङघमलाई पागल साबित गर्न षड्यन्त्र रच्छन्। घरमा ग्यासबाट बल्ने बत्तीहरू (Gas lights) मधुरो पारिदिन्छन्। जब श्रीमतीले 'बत्ती मधुरो भयो' भन्छिन्, ज्याक भन्छन्, 'होइन, बत्ती त उस्तै छ, तिम्रो भ्रम मात्र हो।'
बारम्बार घरका सामानहरू लुकाउने र श्रीमतीलाई नै 'तिमीले हरायौ' भन्दै दोष लगाउने गरी राख्छन्। धेरैपटक यस्तो झुट र मानसिक प्रहारले श्रीमती बेलालाई साँच्चै 'म पागल त भइरहेकी छैन?' भन्ने शंका लाग्न थाल्छ। ज्याक मौकाको ताकमा छन्।
अब बीचका केही दृश्य छाडेर सोझै लास्टतिर जाउँ? बेलालाई आफ्नो होसहवास ठीक छ भन्ने थाहा छ। तर, श्रीमानले उनलाई भनिरहने कुराले झस्काउँछ। पछि एक जासूसको सहयोगमा उनले श्रीमानको सत्यता थाहा पाउँछिन्। ज्याकले बेलालाई पागल बनाउन र उनको सम्पत्ति हत्याउन अनेकौं मनोवैज्ञानिक चालहरू चलेको खुल्छ।
यो कथासार प्रसिद्ध ब्रिटिस नाटक 'ग्यास लाइट'को हो। प्याट्रिक ह्यामिल्टनले लेखेर सन् १९३८ मा प्रदर्शित यो नाटकमा सन् १८८० को लन्डनको दृश्यमा बेला र ज्याक थिए। पछि यो नाटक अमेरिकामा 'एन्जल स्ट्रिट'को नामले प्रदर्शन हुँदा दर्शकले मन पराएका थिए। पछि १९४४ मा यही कथामा हलिउड फिल्म 'ग्यासलाइट' पनि आएको थियो।
ह्यामिल्टनको मनोवैज्ञानिक थ्रिलर नाटकले मानसिक स्वास्थ्यको क्षेत्रका लागि नयाँ शब्द चर्चामा ल्याइदियो, ग्यासलाइटिङ। यसले कसैलाई आफ्नो वास्तविकता वा सम्झनामा शंका गर्न बाध्य पार्ने चलखेललाई जनाउँछ।
हिजोआज सोसल मिडियामा फाट्टफुट्ट 'घोस्टलाइटिङ' ह्यासट्यागमा आइरहेका पोस्ट ह्यामिल्टनको 'ग्यास लाइट'बाट प्रेरित छ। ग्यास लाइट, ग्यासलाइटिङ, घोस्ट+लाइटिङ = घोस्टलाइटिङ। आफ्नै सम्झना र विवेकमाथि शंका गर्न बाध्य पार्ने प्रक्रियालाई 'ग्यासलाइटिङ' भनिन्छ। अब यही शब्द अचेल 'घोस्टलाइटिङ'मा रुपान्तरित भएको हो। तर, ग्यासलाइटिङ र घोस्टलाइटिङ जसरी शब्दमा फरक छ, घटनाक्रम र अर्थ्याउने भावमा पनि फरक छ।
घोस्टलाइटिङ (Ghostlighting) मनोवैज्ञानिक छलको एक सूक्ष्म तर गम्भीर रूप हो, जसले 'घोस्टिङ' र ग्यासलाइटिङ दुवैको तत्व मिसाउँछ। घोस्टलाइटिङ भन्नाले यस्तो व्यवहारलाई जनाउँछ जहाँ पहिले कुनै सम्बन्धमा सक्रिय रहेको व्यक्ति अचानक सम्पर्क तोड्छ भूतजसरी हराएर। तर, पछि फर्किएर आफ्नो गायब हुनु वा व्यवहारलाई अस्वीकार गर्छ वा दोष उल्टै अर्कोलाई दिन्छ (gaslighting)। सरल भाषामा भन्नुपर्दा 'तिमीलाई त्यस्तो लागेको मात्र हो, म त हराएको होइन' भन्छ। जबकि वास्तविकता फरक हुन्छ।
माया एक दिन अचानक हराइन। उनको फोन उठेन, म्यासेजको जवाफ आएन। दिन हप्ता बने, हप्ता महिना। आर्यनले सुरुमा चिन्ता गर्यो, खोज्यो। नभेट्दा पछि रिसायो पनि, अन्ततः आफूलाई सम्झायो - 'मायाको माया सकियो की !'
लेख्यो - 'म कहाँ हराएँ? तिमी त हरायौ नि… मैले कति मेसेज गरेँ।'
मायाले तुरुन्तै जवाफ दिई - 'कस्तो कुरा गर्छौ? तिमीले त मलाई इग्नोर गर्यौ। मैले नै त लेखिरहेकी थिएँ।'
तर एउटामा पनि मायाको उत्तर, 'सीन' वा उपस्थिति थिएन।
'हेर , मैले त केही पाएको छैन,' आफूले सोधेका प्रश्नमा जवाफ नपाएका च्याटको स्क्रिनसट आर्यनले पठायो।
मायाले हाँस्ने इमोजी पठाई, भनिन् - 'तिमी कति ड्रामाटिक भयौ। टेक्निकल इश्यू होला। म त सधैं यहीँ थिएँ।'
त्यसपछि ऊ फेरि सामान्य कुरा गर्न थाली, जस्तो केही भएकै थिएन।
मोबाइलको स्क्रिन अझै उज्यालो थियो। तर आर्यनले मनभित्र बादल लागेको अनुभव गर्दैथियो, उसलाई आफ्नै स्मृतिमाथिको अविश्वासको भान भइरहेको थियो।
***
सधैं सम्पर्कमा रहने जोडामा एक जनाको फोन उठ्दैन, म्यासेजको रिप्लाइ आउँदैन। लामो समय सम्पर्कविहीन। यो 'घोस्टिङ' हो - साथीभाइ, आफन्त वा जोडीसँग विना सूचना केही समय गायब हुनु।
तिमीले नै इग्नोर गर्यौ, तिमी कति ड्रामाटिक भयौ, टेक्निकल इश्यू होला र म त सधैं यहीँ थिएँ आदि मायाका जवाफले आफू हराउनु अस्वीकार गर्यो, दोष आर्यनमाथि सारियो। वास्तविक घटनालाई नै शंकास्पद बनाइयो। यो नै ग्यासलाइटिङ हो - अर्काको अनुभवलाई गलत देखाउने। यी दुई व्यवहार जोडिँदा पहिले हराउनु (घोस्टिङ) र पछि फर्किएर यथार्थ नै उल्ट्याउनु (ग्यासलाइटिङ) मिलाउँदा यही संयोजन = घोस्टलाइटिङ हुन्छ। तर, यहाँ ग्यासको साटो अगाडि घोस्ट (भूत) जोडिन्छ। भूत जसरी बेपत्ता को हुन्छ?
आर्यनको अवस्था - ऊ प्रमाण (च्याट) हेर्छ। तर, अझै पनि आफूलाई शंका गर्न थाल्छ। यही घोस्टलाइटिङको सबैभन्दा खतरनाक असर हो। मानिस आफ्नो स्मृति र अनुभूतिमाथि नै विश्वास गुमाउन थाल्छ।
डेटिङमा रहेका जोडीमध्येका एक जना बिना पूर्व जानकारी वेपत्ता भए। साता, दुई साता, महिना बित्यो। टुप्लुक्क आए, तर आफू कहाँ कुन कारणले यत्तिका दिन हराएको भन्ने कुरा गर्न चासै नराखे के भन्ने ? मानसिक स्वास्थ्य माथिको परिचर्चामा नयाँ शब्द बनेर घोस्टलाइटिङ बहसमा आएको हो।
यो शब्दमा आधारित रिपोर्ट केही सातायता विभिन्न सञ्चारमाध्यमहरुमा देखिएका छन्। टाइम्स अफ इण्डियामा प्रकाशित एउटा रिपोर्टमा मनोवैज्ञानिक फातिमा आलमले भनेकी छन्, ‘घोस्टलाइटिङ तब हुन्छ जब एक व्यक्ति अचानक तपाईंको जीवनबाट गायब हुन्छ र पछि फर्केर त्यस्तो व्यवहार गर्छ जसले तपाईंलाई आफ्नो भावना वा स्मरणशक्तिमा शंका गर्न बाध्य पार्दछ।’
मानसिक स्वास्थ्यको क्षेत्रमा सक्रिय फातिमा भारतीय मूलकी अमेरिकी विशेषज्ञ हुन्। उनले भनेकी छन्, ‘सम्बन्धमा कसैले तपाईंलाई बेवास्ता गर्नु (घोस्टिङ) उसको कमजोरी हुन सक्छ, तर तपाईंलाई बेवास्ता गरेर उल्टै तपाईंलाई नै दोषी देखाउनु (घोस्टलाइटिङ) उसको नियत हो। आफ्नो मानसिक शान्तिलाई कसैको ’कन्फ्युजन’ को सिकार हुन नदिनुहोस्।’
सामाजिक सञ्जालमा धेरैले आफूलाई ‘घोस्टलिट’ भएको पोस्ट हाल्न थालेपछि मानसिक स्वास्थ्यको क्षेत्रमा यसबारे चर्चा भइरहेको हो। डेटिङ साइटमा जोडिएका एक जनाको भनाइ छ, ‘उनले केही साता कुरा गर्छन् र त्यसपछि अचानक मोबाइलमै प्रतिक्रिया अन्त्य गर्छन्।’ केही हप्तापछि उही व्यक्ति फेरि ‘हामीलाई राम्रो कुरा थियो’ भनेर सन्देश पठाउँछ, र जब प्रश्न गर्दा उनी भन्छन्, ‘तिमीले धेरै सोच्यौ, म त व्यस्त थिएँ।’ यसले सम्बन्धित व्यक्ति आफ्नो अनुभूतिलाई शंका गर्न थाल्छ।
मनोवैज्ञानिक र सम्बन्ध विशेषज्ञहरू भन्छन् कि यस्तो व्यवहारले भावनात्मक रूपमा थप गहिरो असर पुर्याउन सक्छ, किनभने यसले मानिसलाई यो विश्वास गराइदिन खोज्छ कि ‘शायद मैले नै केही गलत गरेँ’ वा ‘म धेरै संवेदनशील हुँ।' सामान्य 'घोस्टिङ'ले केवल सम्पर्क रद्द गर्छ, तर 'घोस्टलाइटिङ'ले तपाईंको अनुभूति र आत्ममूल्यमा नै आघात पुर्याउँछ। ग्यास्लाइटिङको अन्तिम लक्ष्य भनेको पीडितलाई आफ्नै वास्तविकतामाथि विश्वास गर्न नसक्ने बनाउनु हो।
'घोस्टिङ' भन्नाले कुनै मानिसले अचानक सम्पर्क काटेर सबै सञ्चार बन्द गर्नु हो, बिना कुनै स्पष्टीकरण। यसले दुःख, भ्रम र आत्मशंका ल्याउन सक्छ। 'घोस्टलाइटिङ' भनेको कुनै व्यक्तिले अर्काको अनुभूतिलाई अस्वीकार गरेर, उनको याद, अनुभव वा भावनालाई गलत ठान्न बाध्य पार्ने मनोवैज्ञानिक चाल हो। जब यी दुइं व्यवहारहरू एकै साथ देखा पर्दछन्, तब त्यसलाई घोस्टलाइटिङ भनिन्छ। जहाँ कसैले पहिले तपाईंलाई 'घोस्ट' जस्तै उपेक्षा गर्छ र पछि फर्किएर त्यो व्यवहारलाई अस्वीकार/निरस्त गर्ने प्रयास गर्छन्।
- मैले त्यस्तो कहिल्यै भनेकै छैन, तिमीले गलत सुनेका हौ। (सरासर झुट बोल्ने)
- तिमी साह्रै संवेदनशील भयौ, सानो कुरालाई इस्यु नबनाऊ। (भावनाको अवमूल्यन)
- सबैले तिमीलाई पागल भन्छन्, म मात्र तिम्रो साथमा छु। (एक्लो बनाउने रणनीति)
- तिमीलाई कुरा बिर्सिने रोग लागिसक्यो। (सम्झनामा शंका उब्जाउने)

No comments:
Post a Comment