Monday, March 30, 2015

पोखराको यौन पर्यटन

उज्यालो शहरमा अँध्यारोको व्यापार 

-भीम घिमिरे/शिव शर्मा 
१. सात कक्षामा पढाइ राम्रै थियो । गीत गाउनमा सिपालु पनि थिइन । बाबुका तीन श्रीमतिमध्ये  माहिलीकी छोरी । घरमा कचमच पर्‍यो । सुदुर पश्चिमको एउटा जिल्लाबाट भागेर घर छाडेपछि उनी नजिक एउटा शहरमा आफन्तकहाँ केही महिना बसिन् । त्यहाँबाट पढाइको साटो काम गरिखाने रहरले काठमाडौं पुर्‍यायो । रेस्टुराको जागिरबाट संगतले यौनकर्मी बनायो । केही वर्षपछि पोखरा आइन् । यहाँ पनि केही वर्ष बिते । दिनहुँ आफ्नै शरिरको व्यापारले वाक्क बनायो । सही बाटो बताउने भेटिएपछि उनले घर फिर्ने निधो गरिन् । गइन पनि । तर, बस्न मन अडिएन । नौ महिनापछि फेरि पोखरा आएर उनी धन्दामा छिन् ।
२. तनहुँको खैरेनीटारबाट साथीहरूसँग पोखरा आइपुगेकी विपन्न परिवारकी एउटी छोरीले होटलमा काम थालिन् । वेटर भनेर राखिएको थियो । सञ्चालकले ग्राहक पनि रिझाउन दबाब दिए । गर्दागर्दै उनी यौनकर्मी भइन् । केही वर्षपछि उनलाई दौतरी शिक्षकले भेटे । सुरक्षित यौनव्यवहारबारे बताए । दिनदिनै धेरैसँगको यौन व्यवहारले वाक्क उनले विस्तारै त्यो बाटोबाट आफ्नो सक्रियता घटाइन । अहिले पेशा परिवर्तन गरेर अरू नै काम गर्छिन् ।
पर्यटकीय शहर फेवाताल र माछापुच्छ्रे हिमालका दृश्यले जति सुन्दर र उज्यालो छ, उति नै यहाँ यौनव्यापारको अँध्यारो जीवन बाँच्नेहरू पनि छन् । माथिका यौनव्यापारसँग जोडिएमध्येका दुइजनाको भोगाइका सारांश हुन् । आफ्नै योजनामा तालको शहर घुम्न आउनेहरूले झट्ट खोज्दा दृश्यमा तुरन्तै भेट्न गाह्रो पर्ने यी अँध्यारोका पेशाकर्मी यहाँ अनुमानभन्दा धेरै छन् । 
'छोरीजस्तो उमेरकी केटी वन्ली वन थाउजेन्ट रूपीज भनेर अगाडि आउँछे । म पहिले त झस‌ंग भएँ', उनले भने, 'बाटो छेक्न खोज्दै बारम्बार त्यही कुरो भनेपछि एकपटक हकारेँ । अनि म काम दिन्छु, आउ काम गरेर खाउ भनेको उल्टै गाली गरेर गइन ।' यहाँको लेकसाइडका पर्यटन व्यवसायी हरि पहारीले एक साँझ फेवा किनारमा डुल्दाको घटना यसरी सुनाएका हुन् । उनले भने 'त्यस्तो पेशामा लागेर छिनमै आम्दानी गर्न थालेकोलाई मेहनतको काम किन पो गर्न मन लाग्दो होला ।'
यहाँ जहाँ धेरै पर्यटक रिझाउन धेरैथरि होटलरेष्टुरा छन्, उति नै व्यवसायका तरिकाहरू पनि धेरै प्रकारका छन् । विभिन्न मुलुकबाट यहाँ आइपुग्ने पर्यटकलाई खान बस्नमात्रै होइन, प्याराग्लाइडिङ र अल्ट्राइटमा उड्न दिने उडाउनेदेखि लामो-छोटो दुरिका पदमार्गको यात्रा गराउने, पर्वतारोहणका लागि बाटो देखाउने काम गर्ने लेकसाइडमा धेरै छन् । यहीँ अर्को अदृश्य पेशा वेश्यावृत्तिको हो । 
गत फागुनको अन्तिम साता यहाँको वडा प्रहरी कार्यालय बगरले तीन दर्जन यस्ता पेशेवरलाई पक्राउ गरेको थियो । पक्राउको तेस्रोपटक २८ हजार धरौटीमा छुटेकी महिलाले भनिन् 'बाध्यताको पेशा हो । रहरले कसले गर्छ ?' बाबुले सौता हालेपछि कान्छीआमाको प्रताडना, त्यसपछि एक युवकसँगको सम्बन्धले पोखरा आइपुगेको बताएकी उनले यस्तो पेशामा रहेका धेरैजना बाध्यताले आएको उनले बताइन ।
यौनकर्मीलाई एचआइभीको जोखिमबारे सचेत गराउँदै वैकल्पिक पेशामा जान सल्लाह दिने संस्था 'नयाँ गोरेटो' की अध्यक्ष लक्ष्मी रानाभाट भन्छिन् 'यिनीहरूमाथि जति जति कडाइ हुन्छ, उति नै जोखिम समाजका लागि बढ्छ ।' खास खास ठाउँमा बढि भेटिने सूचना पाएर प्रहरीले कडाइ गर्दा जथाभावी फैलिएर बसाइँ सर्दै देहव्यापार गर्नेहरूबाट समाजलाई यौनरोगको जोखिम हुने उनले बताइन । 
प्रहरीमा जब जब उच्चअधिकारी फेरिन्छन्, यहाँको बागलुङ बसपार्कसँगै आधा दर्जन ठाउँमा धरपकड सुरू हुन्छ । यसपटक पनि गत फागुनमा जिल्लाका प्रहरी उपरीक्षक फेरिए । क्षेत्रमा प्रहरी नायव महानिरीक्षक अर्का आएर  महिनाभर निगरानी र छापा मार्ने अभियानलाई तीव्रता दिएका प्रहरीका युनिटहरूले ५० जनाको हाराहारी महिलालाई नियन्त्रणमा लिए । केही भोलिपल्टै छुटे । केही पक्राउको एक सातापछि जिल्ला प्रशासनमा धरौटी बुझाएर छुटे । मुद्दाको प्रक्रिया जारी रहेकाले आधा दर्जन अझै हिरासतमा छन् । यहाँको लेकसाइडस्थित वडा प्रहरी बैदामका इञ्चार्ज नमराज भट्टराई भन्छन् 'पेशेवर हेर्दै चिनिन्छन् । धेरै पटके छन् । पक्राउ गरेर ल्यायो, जरिवाना तिर्छन् छुट्छन् । फेरि उनै समातिन्छन् ।' उनका अनुसार पटकपटक पक्राउ परिरहनेहरूमा अधिकांश विपन्न परिवारका महिला हुन्छन् ।

Saturday, March 14, 2015

अनि बाटो मोडियो

गत सोमबार । म अहिले पोखरामा छु । एउटा अौपचारिक कार्यक्रमको निम्तो अलि पृथक थियो । मलाई सहकर्मी शिव शर्माले देखाए -'एउटा डाकु साधुको जीवन बाँचिरहेको छ । उसैको पत्रकार सम्मेलन ।' जिज्ञासा स्वभाविक थियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र गइयो । करीब १ घण्टा उनका कुरा सुनियो । सवालजवाफ गरियो । केही स्न्याप फोटा खिचियो । मैले अरू सहकर्मीका समाचारहरू सम्पादन गर्नुपर्ने थियो । त्यसैले ती पूर्वडाकुको समाचार शिवजीले लेखे । करीव तीन सय शब्दको । साथमा उनले भने 'यो मान्छेको बारेको समाचार हाम्रो पत्रिकामा शायद कपिलवस्तुबाट हुनुपर्छ, छापियो ।'  मैले त्यो समाचार हेरेको रहेनछु । धेरै बिचार गरिएन । समाचार पनि औपचारिक पाराको सानो आकारको प्रकाशित भएको रहेछ । 
साँझ हामी केन्द्रलाई समाचार इमेल गर्न केही ढिला भइरहेका थियौं । शिवजीले लेखेको समाचार सामान्य सम्पादनपछि केन्द्रमा पठाइयो । भोलिपल्ट बिहानै अखबार हेरियो, छापिएनछ । भोलिपल्ट बिहान लाग्यो- यी मान्छे एउटा सामान्य सामाचारमा मात्रै अँटाउने पात्र होइन । केही लेख्न पर्छ, बिस्तृत नै लेख्नपर्छ । मैले हिजोका आफूले गरेका नोट डायरीमा हेरेँ । एउटा पठनीय कोसेली स्टाइलको रिपोर्ट हुनसक्ने विषय बन्छ भन्ने लाग्यो । सामान्यभन्दा केही पृथक कुरा थिए, जसलाई हामी अनौपचारिक समाचारमा समेट्न सक्थ्यौ‌‌ ।
 त्यसपछि जे लेखियो, त्यो यस्तो भएर आयो । छापिएका कुरा अब तल छन् । 


पूर्वडाँका सरदारको बयान

यसमा कुनै शंका छैन, जब उमेर ढल्कन्छ, ज्यान कमजोर हुन्छ, मुहारमा मुजा पर्छन्, युवावस्थाजस्तो जोश रहन्न । ती बेला मान्छे लड्नेभिड्ने कुरा पटक्कै गर्दैन । उनका पनि कुरा लड्ने-भिड्ने छैनन् । युवावस्था डाकाको सरदार भएर बिताएका पञ्चमसिंह चौहान अहिले कुनै पनि कोणबाट अतितको झल्को दिने खालका छैनन् ।

सन् १९७२ मा आफ्ना ५ सय ५० जनाको जत्थासहित तत्कालीन भारतमा इन्दिरा गाँधी सरकारसँग आठ शर्तसहित आत्मसमर्पण गरेका उनी गत सोमबार नेपाल भ्रमणका क्रममा पोखरामा भेटिए । ९२ वर्षका यी मनुवाले आफ्ना अनुभव एक घण्टा धाराप्रवाह सुनाएर अन्तिममा भने 'त्रास र अपरोधबोधमुक्त जीवननै सार्थक हुन्छ । मैले यही बुझेको छु ।'   
सिनेमाका कथा घटनाप्रेरित हुन्छन् । केही यथार्थका अंश, केही कल्पनाशीलता । कथाअनुसार पात्रका पोशाक र परिवेश । डाकु कस्ता हुन्छन् ? लुटेर खाने, हत्याहिंसा गर्ने खलपात्रलाई हिन्दी सिनेमा राम्रो स्वरुपमा चित्रण गर्दैन । काँधमा बन्दुक, छातीमा गोलीगठ्ठा भिरेका, तेज गतिमा घोडा दौडाउँदै लुटपाट र आतंक मच्चाउने डाकाको चित्र हामीलाई सिनेमाले देखाएका छन् । तर, भुक्तभोगी चौहानले भने 'सिनेमाले डाकाको सबै कुरा ठीक ठीक चित्रण गर्दैन ।' उनका अनुसार सन् १९६० देखि ७० को दसकसम्मका डाकाहरू घोडा होइन जीप कुदाउँथे । प्रहरी र हुनेखानेका सवारीसाधन खोस्थे । इन्धन खोस्थे । दिनहुँ राम्रो धनमाल हाल पर्ने गाउँबस्ती चियो गरेर लुटपाटका योजना बनाउँथे । प्रतिकार हुन नसक्ने वातावरण बुझेपछि घेरा हाल्थे र, अन्न, धनमाल लुट्थे ।
सन् ६० दसक नजिक आफ्नो पिहोवा गाउँ बीबीपुरको पञ्चायत निर्वाचनताका विपक्षकाहरूले उनलाई बेस्सरी कुटे । अस्पतालमा २० दिन भर्ती भएर डिस्चार्ज भइ आएको दिन त्यही समूहले फेरि उनका बाबुलाई उसैगरि कुटे । 'मलाई खपीनसक्नु भयो । बदलाको भावना यति बिघ्न बढ्यो कि म जे पनि गर्न सक्थें', उनी फ्ल्यासब्याकमा गए, 'म चम्बलघाटीका डाकुका सरदार मान सिंहकहाँ पुगें । उनले मेरो कुरा सुने । अनि आफ्नो समूहमा बस्न दिने भए ।' उनले आफू उक्त समूहका लागि योग्य भएको टेष्ट दिनुपर्ने भयो । मान सिंहले आफ्नो जत्थाका १२ साथी उनको साथ लगाएर हतियारसहित पठाए । आफ्नो गाउँ आएका उनमा रीस उस्तै थियो । पहिले कुट्नेहरू छानी छानी ६ जनाको हत्या गरे । र, फेरि त्यही जत्थामा फर्किए । घर आउने, सामान्य दिनचर्या बिताउने जीवनको बाटो फेरियो । 
नाइकेको खास विश्वासपात्र बनेकाले उनी छिटै कुख्यात डाका बने । समय आयो सरदार पनि भए । 'हामी पढेलेखेकालाई समूहमा लिँदैनथ्यौं', उनले भने, 'पढेलेखेकाहरू धेरै सोच्छन् । असल-खराब छुट्याउँछन् र, इनामको लोभमा परेर हामीलाई सिध्याउन लागिपर्छन् भन्ने बुझाइ थियो ।' समाजसँग बदलाको भावना राख्ने, पढलेख नगरेका, बलिया ज्यान परेकाहरू डाका समूहमा सदस्य हुन योग्य मानिन्थे ।
जस जसको परिवारका लोग्नेमान्छे लुटेराको समूहमा पसेका थिए, उनीहरूको पारिवारिक जीवन भने जोखिममा रहन्थ्यो । प्रहरी आउने पक्रने । केरकार गर्ने, दुःख दिने । समाजले पनि टाढै राख्ने, मन नपराउने । 'हामीमध्ये धेरैका परिवार आफ्नो घर छाडेर आदिवासीका बस्तीमा गएर लुकी बस्थे', उनले भने, 'हामी लुटपाटबाहेक त्यस्तालाई दुःख दिन्थ्यौं जसले हाम्रो परिवारलाई सताउँछ । सिलसिला निरन्तर चलिरहने थियो ।' डाका समूहभित्र पनि समाजबाटै गएका मान्छेहरू । बानीबेहोरामा माया, मोह, काम र क्रोध ।

***

उनी आफूले विपन्नमाथि अत्याचार नगर्ने, महिलालाई दुर्व्यवहार नगर्ने भएपनि केही तत्वमाथि आफ्नो सधैं नियन्त्रण रहँदैनथ्यो । केही हतियारको बलमा किसान परिवारका छोरीचेलीमाथि कुकृत्य पनि गर्थे । आफूहरूले नगर्ने भनेको कर्म गर्नेहरूलाई समूहभित्रै सजाय गरिन्थ्यो । सजाय यति क्रुर हुन्थ्यो कि त्यसका प्रत्यक्षदर्शीले त्यस्तो कर्मबारे सोचाइ आएपनि हच्किनु परोस् । 'एकपल्ट त्यस्तै घटना आयो । मेरो समूहको एउटा साथीले किसानको छोरीलाई बलात्कार गरेको रहेछ', उनले सुनाए, 'उसले रुँदै आएर मलाइ भनेपछि साथीलाई बाँधेर ज्यूँदै जलाइयो ।' अपराधकर्ममा कुनै पछुतो थिएन । डाकाहरू देवीको पूजा गर्थे । हुनेखानेलाई लुट्थे । लुटको पैसाले गाउँमा देवीको मन्दिर बनाउन लगाएका चौहान एकपल्ट निकै हतास भए । 'अपराधको बाटोमा धेरै मान्छेलाई परिस्थितिले पुर्‍याउँछ । म पनि त्यसकै सिकार थिएँ', उनले भने 'म जानेर नहुनेको नलुट्ने, चेलीको इज्जत गर्ने । नहुनेलाई दिनपर्छ भन्ने । तर, मेरै परिवार ज्यान जोगाएर भागीभागी हिड्नुपर्ने अवस्थामा थियो ।'
हिन्दी चलचित्रमा देखाइने चम्बल क्षेत्र नदिको नामले बनेको थियो । यमुना नदिमा मिसिने यो सहायक नदिले जसरी राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न भुभाग छोएको छ । त्यसरी नै किनार आसपासका गाउँ लुटेराको आतंकले आजित क्षेत्र थिए । जसरी डाँकाबाट स्थानीय प्रशासन र सरकार हैरान थियो, त्यसरी नै डाँका आफै पनि असहज जीवनले हैरान थिए ।

***

'एक दिन मलाइ लाग्यो भगवान भनेको अन्धविश्वास रहेछ', उनले सुनाए, 'त्यसपछि मैले आफ्नो जत्था जुन गाउँ पुग्छ मन्दिर भत्काउन लगाए“ । मुर्ति फुटाएँ ।' आफ्नो आतंक रहेका क्षेत्रमा पूजापाठमा बाधा पारेपनि न मन शान्त भयो, न त जीवन सहज । छटपटिको अवस्था यस्तो बन्यो कि उनलाई कतै भागेर जान मन भयो । जहाँ परिवारका साथ शान्तिको सास फेर्न सकियोस् । यो अवस्था उनले सहकर्मी लुटेरालाई सुनाउन पनि सकेनन् । सरदारबाट उनीहरू कुशल नेतृत्व चाहन्थे । आफूहरूको दबदबा नघटोस् भन्ने चाहन्थे । सरदार मनबाट केही लाचार भएको र शान्तिको जीवन चाहेको बताउन मिल्ने अवस्था पनि थिएन । कारण, कमजोर हुनेबितिकै आफ्नै साथीबाट मारिने डर । 
एकातिर सरकारले डाका समूह जिउँदो या मृत भेटे, सूचना दिए ठूलो धनराशिको पुरस्कार राख्यो । अर्कातिर लुक्दै भाग्दै, परिवारको चिन्दा गर्दै बाँच्नु जोखिमले भरिपूर्ण थियो । त्यहीबेला तत्कालीन इन्दिरा गाँधी नेतृत्वको सरकारका विपक्षी नेता जयप्रकाश नारायण (जेपी)ले चौहानलाई सन्देश पठाए । रतन दासको  'जयप्रकाश नारायण : हिज लाइफ एण्ड मिसन' नामको पुस्तकमा पनि यो प्रसङ्ग छ । गाँधीवादी नेता नारायणले आत्मसमर्पण गरे तत्कालीन सरकारबाट सजायमा सहुलियत दिलाउने खबर पठाएपछि डाँका समूहले एउटा बैठक डाक्यो । 
'खासमा हामीमध्येका धेरैजना लुटेर खाँदै बाँच्नका लागि डाका बनेका थिएनौ', चौहानले भन्छन्, 'अन्यायमा परियो, प्रतिशोधको भावना आयो । बदला लिँदालिँदै यस्तो दलदलमा पुगियो जहाँबाट जिउँदो फिर्न सकिन्छ भन्ने आस कसैलाई थिएन ।' समूह छाडेर गए आफ्नै समूहको जोखिम । नछाडी बसे सरकारी गोलीको सिकार हुने भय । पंचममाथि दुइ सयजनाको हत्या र अढाइ सयजनाको अपहरण गरेको मुद्दा थियो । करीव पाँच सयको समूहमा धेरैको टाउकाको मोल इनामी थियो । 'हामीले आठ शर्त राख्यौं', पंचमले सुनाए 'हामीबाट पीडित परिवार र हाम्रा परिवारलाई ३०/३० बिघा जमिन दिनुपर्ने, खुला जेलमा राखिनुपर्ने, फाँसी दिन नपाइनेलगायत थिए । सरकारले सबै शर्त मान्छ भन्ने विश्वास जेपीले दिलाए ।' यो भारतीय लुटेराको इतिहासमै अनौठो घटना थियो । सन् १९७२ को यो घटना संसारकै आतंकको इतिहासमा नौलो थियो । पाँच सयजना बढीले आत्मसमर्पण गरे । त्यसबेला अमेरिकी पत्रिका टाइम्समा संवाददाता विलियम स्ट्रेवार्टले लेखेका छन् - हत्या हिंसाको मार्गमा रहेकाहरूका लागि शान्तिको मार्गमा ल्याउन यो ठूलो घटना थियो ।
'तर, मलाइ अदालतले फाँसीको सजाय दिने सुनायो । शर्तअनुसार नारायणले राष्ट्रपतिलाई अपील गरे',  चौहानले भने, 'मेरो सजाय आठ वर्षमात्रै हुने भयो ।' सरकारका लागि डाँकाभित्रको अपराधीलाई सज्जन बनाउनु ठूलो चुनौति थियो । अन्ततः राजयोग सेवा केन्द्रका अगुवालाई आग्रह गरियो, जेलमा गएर डाँकालाई साधु बनाउ । 
'मैले राजयोगका तालिमहरू लिएँ । जीवनमा शान्तिको मार्ग बुझेँ', उनले भने, 'मभित्रको आपराधिक मान्छे आत्मसमर्पण गर्दाताका नै गलिसकेको थियो । जेलबाट निस्कँदा म पुरै साधु भएँ ।' १४ वर्षम्म जंगल, गुफा र पहाडी क्षेत्रमा लुक्दै भाग्दै आतंकको जीवन बिताएका उनी आठ वर्षे जेल जीवनपछि पुरै फेरिए । प्रजापिता ब्रम्हकुमारी इश्वरीय विद्यालयको उनी एक साधक भएर निस्किए । त्यसयता उनी प्रवचन दिँदै हिडेका छन् । उनको समूहका करीव दुइ सयजना यो विद्यालयका स्वयंसेवक भएर क्रियाशील छन् । उनले भने 'अपराधकर्म विहीन जीवन नै सार्थक जीवन हो । हामीलाई धेरैपल्ट आवेस, लोभ र क्रोधले असल मार्गबाट पर धकेल्छ । असल जीवन बाँच्ने हो भने बेलैमा फर्कन सक्नुपर्छ ।'

(कान्तिपुर कोसेलीमा २०७१ फाल्गुन ३० मा पृ्ष्ठ 'ख' मा प्रकाशित)

Saturday, March 7, 2015

लाटोकोसेरोको सकस

उखुमा फट्याङ्ग्रा लाग्यो । कसरी लागेको रहेछ भनेर हेर्न पुगेका मोरङका जिल्ला कृषि विकास प्रमुख राजेन्द्र उप्रेतीले फिर्दै गर्दा एउटा छोटो भिडियो खिचे । त्यो थियो- उखु खेतमा डांग्रे रुप्पीका बथान रमाउँदै गरेको । उनले भने 'रुप्पीले फट्याङ्ग्रा खाने रहेछ । त्यसैले ठूलो झुण्ड खेतमा रमाइरहेको थियो ।' गएको साउनको बेला थियो । पानी परेको थिएन । सुख्खा जमिनमा फुल पार्न र हुर्कन सजिलो भएरै फट्याङ्ग्रा फस्टाएको थियो । 
बालीमा कीरा लागिरहनुको कारणबारे उनको भनाइ अलि फरक छन् । 'हामीकहाँ सानो-सानो टुक्रामा खेती गर्ने चलन बढ्यो । कीराले एउटापछि उस्तै लाग्ने अरु बालीमा र्सर्ने मौका पाएका छन्', उनले भने, 'कुनै एउटा याममा हुने बाली ठूलो क्षेत्रफलमा भए कीरा सबैमा फैलिएर सक्दैन । उसको पनि जीवनचक्र छ ।' शत्रु नास पार्ने चक्करमा मित्रजीव नास भइरहँदा खेतीमा विषादिको प्रयोग अत्यास लाग्दो भएको उनको तर्क मुसासम्म आइपुग्छ । भन्छन् 'खेतमा लाग्ने मुसा अब पहिलेजस्तो छैन । धेरै बाठो भएको छ ।' पानी टिलपिल पारिएको खेतमा पौडन्छ । हरिया बाला पनि काटेर नास पार्छ । तीखा दाँत र तिक्ष्ण बुद्धि भएको यो स्तनधारी जीव बैज्ञानिक प्रयोगका लागि रोजाइको पहिलो श्रेणीमा पर्छ ।
किसानले खेतमा हाल्न थालेका विषादिले कीरा-फट्याङ्ग्रामात्रै होइन, मुसालाई पनि तह लगाएको छ । यसको सोझो असर यी जीवलाई आहारा बनाउने पंछीमाथि परेको छ । यिनै पंछीमध्ये अन्न बालीको शत्रु मुसालाई सिकार गरेर बाँच्ने किसानको साथी मानिने लाटोकोसेरो अहिले संकटमा छ । 
०००
आज अमलटारीमा मेरो नयाँ नामले बोलाइयो 'उल्लु सर ।' सामाजिक सञ्जालमा राजु आचार्यको यो स्टाटस बडो रमाइलो थियो । डेढ दसकदेखि जैविक विविधता संरक्षण सरोकारका मुद्दामा काम गर्दै आएका उनी फ्रेण्ड्स अफ नेचरमा आबद्ध छन् । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि कार्यक्रम चलाउँछन् । महोत्सव गर्न थालेको तीन वर्ष बित्यो ।  धादिङ, चितवनहुँदै नवलपरासीको अग्यौलीमा तेस्रो महोत्सवको टुंगो लागेकाले गत वर्षमलाइ पनि त्यता सामेल हुने निम्तो आएको थियो । मैले सामाजिक सञ्जालमा आचार्यका पोस्ट हेरिरहेको थिएँ ।

बहनाको चालमा समावेसी सम्मान

बेगनासतालमा महिला डुंगाचालक पुरूष बराबरी नै काम गर्छन् । यो पेशामा कुनै विभेद नभएको उनीहरूको अनुभव छ । धेरैले आफूले बहना खियाउने पेशा थामेर घरका अरू सदस्यलाई वैकल्पिक पेशाको बाटो खोज्न सघाएका छन् । 

लेखनाथ (कास्की)- 'मलाई थाहा थिएन आधा घण्टा पुग्यो/पुगेन', उनले भनिन् 'भित्तामा लगेर डुंगा ठोक्काएँ । पसिनाले निथ्रुक्क भिजेकी थिएँ ।' लेखनाथस्थित बेगनासतालमा आइतवार स्थानीय माया पाण्डेले एक दशकअघिको आफ्नो पहिलो व्यवसायिक डुंगाचालनका दिनको अनुभव सुनाइन । चितवनको माडीबाट विवाह गरेर यहाँ आइपुगेकी उनका लागि तालको पानीसँग डुंगामा बहनाको चाल मिलाउन निकै समय लाग्यो । '१५ मिनेट मात्रै भएको रहेछ तर, पेसेन्जर भाइले फेरि घुमाइदिन्छु भन्दा पर्दैन भने', उनले भनिन् 'पहिलो दिनको अनुभव त जीवनमै नबिर्सिने छ ।' 
२०६१ देखि डुंगा चलाउन थालेकी उनले अहिले श्रीमान शिवप्रसादलाई तालबाट सडकको पालो दिएकी छन् । 'हामी भदौमा ट्याक्सी किन्यौं', उनले भनिन् 'उहाँ (श्रीमान) गाडी चलाउनु हुन्छ । म डुंगा ।' चार छोरीका अभिभावक पाण्डे दम्पतिमा श्रीमान/श्रीमति नै आआफ्नो जिम्मेवारीको काममा जुटेका छन् । महिलाका लागि बढि शारीरिक श्रम पर्ने काम भएपनि बेगनासमा मायाजस्ता तीन दर्जन महिना डुंगामा बहना खियाउन तल्लिन भेटिन्छन् । 
'गरिखान्छु भन्दा कुनै विभेद नभएकैले हामी महिलालाई यहाँ अलि सजिलो भएको हो', अर्की डुंगाचालक शारदारानाभाट भन्छिन्, 'हामीले काम महिलाको हो कि पुरूषको भनेर छुट्टयाउँदैनौ । जसको पालो परेको छ उसले गर्छ । उसलाई सहयोग चाहियो, सबै जुट्छौं ।' रानाभाट बेगनास डुंगा सञ्चालन समितिकी कोषाध्यक्षसमेत हुन् । उनको अनुभवमा यहाँ दुइ प्रकारका चेलीबेटी डुंगाचालकको पेशा गरिरहेका छन् । यहीँ आसपास हुर्केबढेका र अन्तबाट विवाह भइआएर श्रीमानको पेशालाई विस्तारै आफूले भर दिएकाहरू हुन् । 'यहाँ हुर्केकाहरूले त सजिलै गर्न सक्ने नै भए, बाहिरबाट आएकाले पनि बिस्तारै यो कामलाई सिकेर गरिखाएका छन्', उनले भनिन् 'केही अप्ठ्यारो छ भने फरर अंग्रेजी बोल्न नजान्नु मात्रै हो । पानीसँग पौठेजोरी खेल्न त गरिखानका लागि हात हालेपछि गर्नैपर्छ ।'