गत सोमबार एउटा औपचारिक कार्यक्रमको निम्तो अलि पृथक थियो। मलाई सहकर्मी शिव शर्माले देखाए -'एउटा डाकु साधुको जीवन बाँचिरहेको छ। उसैको पत्रकार सम्मेलन।' म अहिले पोखरामा छु।
जिज्ञासा स्वाभाविक थियो। ब्रम्हकुमारी राजयोग सेवा केन्द्र गइयो। करिब एक घण्टा उनका कुरा सुनियो। सवालजवाफ गरियो। केही स्न्याप फोटा खिचियो। मैले अरू सहकर्मीका समाचारहरू सम्पादन गर्नुपर्ने थियो। त्यसैले ती पूर्वडाकुको समाचार शिवजीले लेखे। करिब तीन सय शब्दको। साथमा उनले भने - 'यो मान्छेको बारेको समाचार हाम्रो पत्रिकामा शायद कपिलवस्तुबाट हुनुपर्छ, छापियो।' मैले त्यो समाचार हेरेको रहेनछु। धेरै विचार गरिएन। समाचार पनि औपचारिक पाराको सानो आकारको प्रकाशित भएको रहेछ।
साँझ हामी केन्द्रलाई समाचार इमेल गर्न केही ढिला भइरहेका थियौं। शिवजीले लेखेको समाचार सामान्य सम्पादनपछि केन्द्रमा पठाइयो। भोलिपल्ट बिहानै अखबार हेरियो, छापिएनछ। लाग्यो- यी मान्छे एउटा सामान्य समाचारमा मात्रै अँटाउने पात्र होइन। केही लेख्न पर्छ, विस्तृत नै लेख्नपर्छ।
मैले हिजोका आफूले गरेका नोट डायरीमा हेरेँ। एउटा पठनीय कोसेली स्टाइलको रिपोर्ट हुनसक्ने विषय बन्छ भन्ने लाग्यो। सामान्यभन्दा केही पृथक कुरा थिए, जसलाई हामी अनौपचारिक समाचारमा समेट्न सक्थ्यौँ। त्यसपछि जे लेखियो, त्यो यस्तो भएर आयो। छापिएका कुरा अब तल छन्।
पूर्वडाँका सरदारको बयान
यसमा कुनै शंका छैन, जब उमेर ढल्कन्छ, ज्यान कमजोर हुन्छ, मुहारमा मुजा पर्छन्, युवावस्थाजस्तो जोश रहन्न। ती बेला मान्छे लड्नेभिड्ने कुरा पटक्कै गर्दैन। उनका पनि कुरा लड्ने-भिड्ने छैनन्। युवावस्था डाकाको सरदार भएर बिताएका पञ्चमसिंह चौहान अहिले कुनै पनि कोणबाट अतितको झल्को दिने खालका छैनन्।
सन् १९७२ मा आफ्ना ५ सय ५० जनाको जत्थासहित तत्कालीन भारतमा इन्दिरा गाँधी सरकारसँग आठ सर्तसहित आत्मसमर्पण गरेका उनी गत सोमबार नेपाल भ्रमणका क्रममा पोखरामा भेटिए। ९२ वर्षका यी मनुवाले आफ्ना अनुभव एक घण्टा धाराप्रवाह सुनाएर अन्तिममा भने 'त्रास र अपरोधबोधमुक्त जीवननै सार्थक हुन्छ। मैले यही बुझेको छु।'
सिनेमाका कथा घटनाप्रेरित हुन्छन्। केही यथार्थका अंश, केही कल्पनाशीलता। कथाअनुसार पात्रका पोसाक र परिवेश। डाकु कस्ता हुन्छन् ? लुटेर खाने, हत्याहिंसा गर्ने खलपात्रलाई हिन्दी सिनेमा राम्रो स्वरुपमा चित्रण गर्दैन। काँधमा बन्दुक, छातीमा गोलीगठ्ठा भिरेका, तेज गतिमा घोडा दौडाउँदै लुटपाट र आतंक मच्चाउने डाकाको चित्र हामीलाई सिनेमाले देखाएका छन्। तर, भुक्तभोगी चौहानले भने 'सिनेमाले डाकाको सबै कुरा ठीक-ठीक चित्रण गर्दैन।'
उनका अनुसार सन् १९६० देखि ७० को दसकसम्मका डाकाहरू घोडा होइन जीप कुदाउँथे। प्रहरी र हुनेखानेका सवारीसाधन खोस्थे। इन्धन खोस्थे। दिनहुँ राम्रो धनमाल हाल पर्ने गाउँबस्ती चियो गरेर लुटपाटका योजना बनाउँथे। प्रतिकार हुन नसक्ने वातावरण बुझेपछि घेरा हाल्थे र, अन्न, धनमाल लुट्थे।
सन् ६० दसक नजिक आफ्नो पिहोवा गाउँ बीबीपुरको पञ्चायत निर्वाचनताका विपक्षकाहरूले उनलाई बेस्सरी कुटे। अस्पतालमा २० दिन भर्ती भएर डिस्चार्ज भइ आएको दिन त्यही समूहले फेरि उनका बाबुलाई उसैगरि कुटे। 'मलाई खपीनसक्नु भयो। बदलाको भावना यतिबिघ्न बढ्यो कि म जे पनि गर्न सक्थेँ,' उनी फ्ल्यासब्याकमा गए, 'म चम्बलघाटीका डाकुका सरदार मानसिंहकहाँ पुगेँ। उनले मेरो कुरा सुने। अनि आफ्नो समूहमा बस्न दिने भए।'
उनले आफू उक्त समूहका लागि योग्य भएको टेष्ट दिनुपर्ने भयो। मान सिंहले आफ्नो जत्थाका १२ साथी उनको साथ लगाएर हतियारसहित पठाए। आफ्नो गाउँ आएका उनमा रीस उस्तै थियो। पहिले कुट्नेहरू छानी-छानी ६ जनाको हत्या गरे। र, फेरि त्यही जत्थामा फर्किए। घर आउने, सामान्य दिनचर्या बिताउने जीवनको बाटो फेरियो।
नाइकेको खास विश्वासपात्र बनेकाले उनी छिटै कुख्यात डाका बने। समय आयो सरदार पनि भए। 'हामी पढेलेखेकालाई समूहमा लिँदैनथ्यौं,' उनले भने, 'पढेलेखेकाहरू धेरै सोच्छन्। असल-खराब छुट्याउँछन् र, इनामको लोभमा परेर हामीलाई सिध्याउन लागिपर्छन् भन्ने बुझाइ थियो।' समाजसँग बदलाको भावना राख्ने, पढलेख नगरेका, बलिया ज्यान परेकाहरू डाका समूहमा सदस्य हुन योग्य मानिन्थे।
जजसको परिवारका लोग्नेमान्छे लुटेराको समूहमा पसेका थिए, उनीहरूको पारिवारिक जीवन भने जोखिममा रहन्थ्यो। प्रहरी आउने पक्रने। केरकार गर्ने, दुःख दिने। समाजले पनि टाढै राख्ने, मन नपराउने। 'हामीमध्ये धेरैका परिवार आफ्नो घर छाडेर आदिवासीका बस्तीमा गएर लुकी बस्थे,' उनले भने, 'हामी लुटपाटबाहेक त्यस्तालाई दुःख दिन्थ्यौं जसले हाम्रो परिवारलाई सताउँछ। सिलसिला निरन्तर चलिरहने थियो।' डाका समूहभित्र पनि समाजबाटै गएका मान्छेहरू। बानीबेहोरामा माया, मोह, काम र क्रोध।
***
***
उनी आफूले विपन्नमाथि अत्याचार नगर्ने, महिलालाई दुर्व्यवहार नगर्ने भए पनि केही तत्वमाथि आफ्नो सधैं नियन्त्रण रहँदैनथ्यो। केही हतियारको बलमा किसान परिवारका छोरीचेलीमाथि कुकृत्य पनि गर्थे। आफूहरूले नगर्ने भनेको कर्म गर्नेहरूलाई समूहभित्रै सजाय गरिन्थ्यो। सजाय यति क्रुर हुन्थ्यो कि त्यसका प्रत्यक्षदर्शीले त्यस्तो कर्मबारे सोचाइ आए पनि हच्किनु परोस्।
'एकपल्ट त्यस्तै घटना आयो। मेरो समूहको एउटा साथीले किसानको छोरीलाई बलात्कार गरेको रहेछ,' उनले सुनाए, 'उसले रुँदै आएर मलाइ भनेपछि त्यो साथीलाई बाँधेर ज्यूँदै जलाइयो।' अपराधकर्ममा कुनै पछुतो थिएन। डाकाहरू देवीको पूजा गर्थे। हुनेखानेलाई लुट्थे। लुटको पैसाले गाउँमा देवीको मन्दिर बनाउन लगाएका चौहान एकपल्ट निकै हतास भए। 'अपराधको बाटोमा धेरै मान्छेलाई परिस्थितिले पुर्याउँछ। म पनि त्यसकै सिकार थिएँ,' उनले भने, 'म जानेर नहुनेको नलुट्ने, चेलीको इज्जत गर्ने। नहुनेलाई दिनपर्छ भन्ने। तर, मेरै परिवार ज्यान जोगाएर भागीभागी हिड्नुपर्ने अवस्थामा थियो।'
हिन्दी चलचित्रमा देखाइने चम्बल क्षेत्र नदिको नामले बनेको थियो। यमुना नदिमा मिसिने यो सहायक नदिले जसरी राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न भूभाग छोएको छ। त्यसरी नै किनार आसपासका गाउँ लुटेराको आतंकले आजित क्षेत्र थिए। जसरी डाँकाबाट स्थानीय प्रशासन र सरकार हैरान थियो, त्यसरी नै डाँका आफैं पनि असहज जीवनले हैरान थिए।
***
***
'एक दिन मलाइ लाग्यो भगवान भनेको अन्धविश्वास रहेछ,' उनले सुनाए, 'त्यसपछि मैले आफ्नो जत्था जुन गाउँ पुग्छ मन्दिर भत्काउन लगाएँ। मूर्ति फुटाएँ।' आफ्नो आतंक रहेका क्षेत्रमा पूजापाठमा बाधा पारे पनि न मन शान्त भयो, न त जीवन सहज। छटपटीको अवस्था यस्तो बन्यो कि उनलाई कतै भागेर जान मन भयो। जहाँ परिवारका साथ शान्तिको सास फेर्न सकियोस्। यो अवस्था उनले सहकर्मी लुटेरालाई सुनाउन पनि सकेनन्। सरदारबाट उनीहरू कुशल नेतृत्व चाहन्थे। आफूहरूको दबदबा नघटोस् भन्ने चाहन्थे। सरदार मनबाट केही लाचार भएको र शान्तिको जीवन चाहेको बताउन मिल्ने अवस्था पनि थिएन। कारण, कमजोर हुनेबितिकै आफ्नै साथीबाट मारिने डर।
एकातिर सरकारले डाका समूह जिउँदो या मृत भेटे, सूचना दिए ठूलो धनराशिको पुरस्कार राख्यो। अर्कातिर लुक्दै भाग्दै, परिवारको चिन्दा गर्दै बाँच्नु जोखिमले भरिपूर्ण थियो। त्यहीबेला तत्कालीन इन्दिरा गाँधी नेतृत्वको सरकारका विपक्षी नेता जयप्रकाश नारायण (जेपी)ले चौहानलाई सन्देश पठाए। रतन दासको 'जयप्रकाश नारायण : हिज लाइफ एण्ड मिसन' नामको पुस्तकमा पनि यो प्रसंग छ। गाँधीवादी नेता नारायणले आत्मसमर्पण गरे तत्कालीन सरकारबाट सजायमा सहुलियत दिलाउने खबर पठाएपछि डाँका समूहले एउटा बैठक डाक्यो।
'खासमा हामीमध्येका धेरैजना लुटेर खाँदै बाँच्नका लागि डाका बनेका थिएनौ,' चौहानले भन्छन्, 'अन्यायमा परियो, प्रतिशोधको भावना आयो। बदला लिँदालिँदै यस्तो दलदलमा पुगियो जहाँबाट जिउँदो फिर्न सकिन्छ भन्ने आस कसैलाई थिएन।' समूह छाडेर गए आफ्नै समूहको जोखिम। नछाडी बसे सरकारी गोलीको सिकार हुने भय। पंचममाथि दुई सय जनाको हत्या र अढाइ सय जनाको अपहरण गरेको मुद्दा थियो। करिब पाँच सयको समूहमा धेरैको टाउकाको मोल इनामी थियो। 'हामीले आठ सर्त राख्यौं,' पंचमले सुनाए, 'हामीबाट पीडित परिवार र हाम्रा परिवारलाई ३०/३० बिघा जमिन दिनुपर्ने, खुला जेलमा राखिनुपर्ने, फाँसी दिन नपाइने लगायत थिए । सरकारले सबै सर्त मान्छ भन्ने विश्वास जेपीले दिलाए।'
यो भारतीय लुटेराको इतिहासमै अनौठो घटना थियो। सन् १९७२ को यो घटना संसारकै आतंकको इतिहासमा नौलो थियो। पाँच सयजना बढीले आत्मसमर्पण गरे। त्यसबेला अमेरिकी पत्रिका टाइम्समा संवाददाता विलियम स्ट्रेवार्टले लेखेका छन् - हत्या हिंसाको मार्गमा रहेकाहरूका लागि शान्तिको मार्गमा ल्याउन यो ठूलो घटना थियो।
'तर, मलाइ अदालतले फाँसीको सजाय दिने सुनायो। सर्तअनुसार नारायणले राष्ट्रपतिलाई अपील गरे,' चौहानले भने, 'मेरो सजाय आठ वर्षमात्रै हुने भयो।' सरकारका लागि डाँकाभित्रको अपराधीलाई सज्जन बनाउनु ठूलो चुनौती थियो । अन्ततः राजयोग सेवा केन्द्रका अगुवालाई आग्रह गरियो, जेलमा गएर डाँकालाई साधु बनाउ ।
'मैले राजयोगका तालिमहरू लिएँ। जीवनमा शान्तिको मार्ग बुझेँ,' उनले भने, 'मभित्रको आपराधिक मान्छे आत्मसमर्पण गर्दाताका नै गलिसकेको थियो। जेलबाट निस्कँदा म पुरै साधु भएँ।' १४ वर्षम्म जंगल, गुफा र पहाडी क्षेत्रमा लुक्दै भाग्दै आतंकको जीवन बिताएका उनी आठ वर्षे जेल जीवनपछि पुरै फेरिए। प्रजापिता ब्रम्हकुमारी इश्वरीय विद्यालयको उनी एक साधक भएर निस्किए।
त्यसयता उनी प्रवचन दिँदै हिडेका छन्। उनको समूहका करिब दुई सयजना यो विद्यालयका स्वयंसेवक भएर क्रियाशील छन्। उनले भने 'अपराधकर्मविहीन जीवन नै सार्थक जीवन हो। हामीलाई धेरैपल्ट आवेश, लोभ र क्रोधले असल मार्गबाट पर धकेल्छ। असल जीवन बाँच्ने हो भने बेलैमा फर्कन सक्नुपर्छ।'
(कान्तिपुर कोसेलीमा २०७१ फाल्गुन ३० मा पृ्ष्ठ 'ख' मा प्रकाशित)

No comments:
Post a Comment