Showing posts with label यात्रा संस्मरण. Show all posts
Showing posts with label यात्रा संस्मरण. Show all posts

Thursday, August 7, 2025

नूरसँगको यात्रा -२



यात्रामा म फोटोग्राफी गरिरहेको थिएँ। पाहुनाका भन्दा सस्तो नै सही तर मसँग पनि डीएसएलआर क्यामरा थियो, फोटो एडिट गर्न र समाचार लेख्न एसरको एस्पायर वन भन्ने नोटबुक थियो। जहाँ पुगे पनि आफू काम गरिरहेको अखबारका लागि समाचार र फोटा पठाउने काम भइरहेको थियो। नौलो ठाउँ पुगिन्थ्यो। फोटोका विषय पनि नौलो हुन्थ्यो। छापिइ नै रहेको थियो। त्यसले मलाइ यात्रा उपयोगी भइरहेको भान थियो। 

म दुवैका लागि बाटो देखाउने र भाषा अनुवादकको काममा थिएँ। मेरो अंग्रेजी राम्रो थिएन, न मैथिली र भोजपुरी नै राम्रो थियो। तर, काम चलाउन गाह्रो पनि थिएन। कारण, पेप थोरै बोल्थे। उनको अंग्रेजी बुझिने नै थियो। रफिक उर्दु पनि बोल्थे। तर, कम कम। उनलाई अंग्रेजी नै सजिलो लागेको जस्तो बुझिन्थ्यो।

*** 

पूर्वपश्चिम राजमार्गको यात्रामा धनुषाको ढल्केवर र सिरहाको बन्दीपुर सम्झना छ ? कमला नदी पुल त सम्झना पक्कै हुनुपर्छ। हो, त्यो कमला पुलको केही वारि धनुषापट्टि राजमार्ग छाडेर दक्षिण लाग्ने ग्राभेल सडक। करिब ४/५ किलोमिटरको यात्रापछि रघुनाथपुर पुगिने रहेछ।


बाटो निकै खराब थियो। धेरै ठाउँ खाडलै खाडल। एउ ठाउँमा गाडी खाडल पार गर्न नस्कने भयो। चालकले भने, 'तपाइँहरु यहाँबाट हिँडेर जानुस्। म गाडी कुर्छु, यहीँ हुन्छु।' विकल्प थिएन। पैदल यात्रा गाह्रो थिएन। तर, साथीहरुको ट्राइपोर्ट, ब्याट्री लगायतका सामान वजनदार थिए। तैपनि तीन जनाले सक्नेजति बाँडेर बोकियो। हिँडियो। एकाध किलोमिटर अघि बढेपछि एउटा चिया पसलमा केही मान्छे गफिइरहेका भेटिए। 

हामी जसलाई भेट्न जाँदैथियौं उनको घर सोधियो, अलि परै रहेछ। एक जनाले सँगै गएर घरैसम्म लगिदिने भए। हामीलाई पनि राहत भयो। उनी अघि अघि लागे। हामी पछिपछि। बाटो छाडेर गोरेटो र खेतका आली गर्दै त्यो घरमा पुगियो।  

नेपालमा जहाँ पुगे पनि नेपाली भाषा बोले सबैले बुझ्छन्, सञ्चार-संवाद सहज छ भन्ने मेरो भ्रम त्यहाँ पुग्दा तोडियो। कारण, कुरा गर्न मैथिली नै बोल्नुपर्ने रहेछ। 

हामी एक जना महिलासँग संवाद गर्न खोजिरहेका थियौं, जसलाई फिस्टुलाको समस्या थियो। उनले निकै कष्ट खेपेकी थिइन। उनको नाउँ सोध्दै, घर खोज्दै पुगियो। तर, अपरिचित पुरुषहरुसँग बोल्न उनले निकै अप्ठ्यारो मानिन। सुरुमा त बोल्नै पनि मानिनन्।

तर, हामीलाई त्यो गाउँमा स्थानीय जनप्रतिनिधिले उनको घर देखाइदिएका थिए। उनी गाउँका गन्यमान्य रहेछन्, अभिभावक मानिने। उनले भने गाउँलेले  शिरोपर गर्ने बुझियो। अनि उनैलाई मैले सिफारिसको आग्रह गरेँ। उनले ती महिलालाई सम्झाइदिए।

***
हामीले उनीसँग अडियो-भिडियो र फोटो कुराकानी गर्‍यौं। अँध्यारो भइसकेकाले फोटो/भिडियो खिच्न एक्स्ट्रा लाइट प्रयोग गर्नु पर्‍यो। 

संवाद सुरुवातका करिब १० मिनेट उनले कुरा गर्न धक मानेको देखियो। त्यसपछि बिस्तारै भन्दै गइन। उनको माइती कमला पारि सिरहामा तटीय क्षेत्रको एउटा गाउँमा थियो। १७ वर्षकै उमेरमा विवाह कमला पारिको छिमेकी गाउँमा भएको थियो। माइती र घर वारिपारि आउजाउका लागि खोला तर्न डुंगा चल्थ्यो। 

श्रीमान सामान्य मजदुर। घरको आर्थिक अवस्था राम्रो थिएन। दम्पती नै अर्काको खेतमा काम गर्थे। एउटा गर्भ खेर गएपछि उनलाई मलमुत्र नअडिने समस्या जब आयो, निकै सास्ती पाइन। त्यो समस्या गाउँमा कसैलाई भन्न मिल्ने पनि थिएन। भनिहालियो भने नानाथरी कुरा काटिने, अपहेलित भइने डर थियो। माइती गएका बेला त्यहाँको स्वास्थ्य चौकीमा पुगिन्। डाक्टरलाई समस्या बताइन। डाक्टरले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सल्लाह दिए।

उनले धरानसम्मको यात्रा कसरी गरिन् भन्ने कथा फेरि छुट्टै लामो थियो। सुरुमा त आफ्नो समस्या श्रीमानलाई भन्नै गाह्रो परेको थियो। आफ्नो बिमारी बताउँदा श्रीमानले 'अब घर आउनुपर्दैन, माइतीमै बस्नु, म अर्की ल्याउँछु' भन्ने सम्भावना उच्च थियो। किनभने गाउँको वातावरण त्यस्तै थियो।

धेरै संघर्षका दिनपछि उनका लागि धरानको यात्रा मात्रै सम्भव भएन, उपचार पनि भयो। हामीले भेट्दा उनी निको भएकी थिइन। उनले आफ्नो भाषामा हामीलाई सकसका दिनको भोगाइन सुनाइन। बेला बेला आँसु झार्दै ती दिन सम्झेर नमिठो मानिन।

*** 
एउटा प्रश्नमा उनले दिने जवाफ सकिँदा मैले अनुवाद गरेर क्यामराधारी दुई मनुवालाई बुझाइरहेको थिएँ। उनी मैथिलीमा भन्थिन्, म नेपालीमा बुझ्थेँ र ब्रोकेन अंग्रेजीमा उनीहरुलाई बुझाउँथेँ। उनीहरु - 'ओह ! यस यस... द्‍यान, द्‍यान... ओह गड' भनिरहेका हुन्थे। 

हाम्रो संवाद करिब २ घण्टा चल्यो। सकिएपछि हामीले उनी, उनको परिवार र हामीलाई बाटो देखाउने स्थानीय अगुवालाई धन्यवाद दियौं। उनीहरुको आतिथ्य भाव निकै प्रभावित पार्ने खालको थियो। 

'राति यात्रा गाह्रो हुन सक्ला, हाम्रै गाउँमा रोकिनुस्। तपाइँहरुलाई बासको प्रबन्ध गर्छौं,' स्थानीय अगुवाले भने। दुवै पाहुनालाई रोकिनु थिएन। किनभने उनीहरु यात्रामा कहाँ कहिले कति बजेदेखि कति बजेसम्म रहने र कहाँ के गर्ने भन्ने सूची बनाएर आएका थिए। उक्त तालिका अनुसार भोलि बिहानै धरानमा अर्का एक जनालाई भैट्नु थियो।

आग्रहका लागि आभार प्रकट गरेर हामी बिदा भयौं। 

***
फर्किँदा रफिकीले भने, 'कहीँ नुक्कडवाली चाय मिलेगा ?'
मैले भनेँ - 'क्यों नहीँ, चिनी कम दूध ज्यादा, पानी कम रङ ज्यादा?'
- हाँ हाँ
- चलो आगे कहीँ मिलेगी जरुर । वहीँ रुक के चाय पिके आगे बढेंगे।
-जरुर जरुर
उनको मातृभाषा उर्दु थियो। मलाइ पनि संवाद सजिलो। केही अगाडि उही चिया पसल थियो, जहाँबाट हामीले बाटो देखाउनेको साथ पाएका थियौं। रोकियौं र दुई ँजनाले भनेजस्तो चिया पियौं। पेपले चिया खाएनन्।

चिया खाएपछि हामी गाडी भएको ठाउँमा आयौं। बेलुकीको करिब ९ बजेको थियो। चारैतिर घुप्प अँध्यारो। आकाश खुल्ला थियो। चालकले गाडी राजमार्गमा ल्याएपछि हामीलाई धरान पुगुन्जेल कतै रोकिनु थिएन। हेर्दै आइयो। 
  
***
अगाडिका प्रसंग फेरि अर्को किस्तामा लेखौंला। अहिलेलाई यति नै । 

***
 11/28/2014 को लेखोट पढेर जुगपछि ती दिन मगजमा ताजा भए। सम्झेर 8/7/2025 मा ती गन्थनमा थपथाप । 

Sunday, January 8, 2017

सिक्लेसको त्यो दोस्रो यात्रा


सिक्लेसको दुरी भन्नका लागि पोखराबाट सडकमार्ग ४० किमिमात्रै हो । तर, बाटो हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुन्छ । अघिल्लोपल्ट जाँदाको समय वर्षाको थियो । पोखराको काहुँखोलाबाट चढेको बसले निकै दु:ख दिएको सम्झना छँदै थियो । त्योबेला सुदूरपश्चिमसँगै मुलुकका विभिन्न भागका पहाडी बाटामा बस दुर्घटना भएका थिए, त्यसैले प्रहरीले बसमाथि निगरानी बढाएको थियो । ३५ जनाभन्दा यात्रु चढ्न नपाउने । त्यस दिन हामीसँगै बसमा ५० जनाभन्दा धेरै थियौं ।  

केही यात्रु उत्रिएर पैदल अघि लागे । प्रहरीको चेक प्वाइन्ट छलेर बस अघि बढेपछि चढे । भित्र कोचाकोच, छतमा पनि उक्लिनेहरू थिए । बाटामा धेरै ठाउँ उकालोमा बस अघि बढ्न नसक्दा हामी धेरैजना उत्रिँदै, बस ठेल्दै गर्दै पुगेका थियौं ।

नेपालकै सबैभन्दा कम उचाइको भूभागमा अवस्थित हिमताल 'कफूचे' (कपूचे) अवलोकनको त्यो यात्राबारे मैले ब्लगमै पनि लेखिसकेको छु ।

योपल्ट २०७३ पुस १८ सोमबारको यात्रा त्यस्तो सकसको थिएन । कारण - जानका लागि सानो जिपमा मिलेको थियो । सिक्लेसका अगुवा मनबहादुर गुरुङ दाइले किन जानुपर्ने भन्ने कारण प्रष्ट थिएन । गाउँमा कुनै समारोह थियो, त्यसैले उनले जानैपर्छ भनेर १५ दिन अघिदेखि नै आग्रह गर्दै फोन गरेकाले 'हुँदैन, समय छैन' भन्न सकिएन । मलाइ पनि पोखराको कोठा र अफिसको दैनिकीबाट एक दिन भएपनि बाहिर निस्केर सास फेर्न मन लागेको थियो । बिहान ८ बजे काहुँखोला बसपार्कबाट निस्किएपछि ११ बजे सिक्लेस पुगियो ।
***
पुग्दा घाम लागेको थियो । हावा चिसो थियो । बेला बेला घाम देखिँदै, बादलमा छेलिँदै पानीले पनि सिमसिम गर्दै थियो । लमजुङ हिमालको काखमा रहेको यो गाउँ जहिल्यै चिसै हुने हो तर, अघिल्लो दिन उच्च पहाडी क्षेत्रमा हिमपात भएको खबर थियो । त्यसको असर टरिसकेको थिएन ।

ढुंगा र जस्तापाताका छाना भएका गुजमुज्ज घरको बाक्लो बस्ती । ९० प्रतिशतको बोलिचालीको भाषा गुरुङ । अघिपछि आउँदा पनि यहाँको आतिथ्य गजबकै हो । यसपटक पुगेपछि मात्रै कारण बुझियो – त्यो पर्यटकीय गुरुङ गाउँमा यूके बस्ने एकजना लाहुरेले स्वागतद्वार बनाएका रहेछन् । दुई छोरी, एक छोराका पिता कोलप्रसाद गुरूङ । जसले आफ्नी आमाको ८४ वर्ष पुगेको अवसर पारेर पक्की गेट बनाएका रहेछन् । त्यसको उद्घाटनका लागि आमालाई २० वर्षपछि पुर्ख्यौली थलो टेकाउँदै थिए । भोजसहितको समारोह आयोजनाले गाउँले खुसी थिए । पञ्चेबाजा, फूलमाला, अबिरसहित स्वागतको तयारी थियो ।

रिबन काट्ने र  शिलालेख अनावरणको तयारीमा गाउँलेसँगै मनबहादुर दाइ व्यस्त थिए । पोखराबाट लैजाने भनिए पनि अरू सञ्चारकर्मी आएका थिएनन् । मेसो के मिलेन वा ल्याउने योजना स्थगनबारे मलाइ थाहा भएन ।

मलाइ लिन पठाइएको गाडीमा कोलप्रसादकी श्रीमती, छोरा र एकजना आफन्त पनि थिए। उनीहरू हेलिकप्टर उत्रने स्थानमा प्रतीक्षार्थ उभिए। म भने नजिकैको चियापसलमा पुगेँ। बाहिरको चिसो हावा मुटु कमाउने भएको थियो।
***

स्वास्थ्य चौकी अगाडिको पाखामा दिउँसो डेढ बजे धुलो उडाउँदै हेलिकप्टर ल्याण्ड भयो। कोलप्रसाद, आमा बिपी गुरुङ, १९ र १४ वर्षीया दुई छोरीसँगै उत्रिए। गाउँलेले धुमधाम स्वागत गरे। भीड समारोहस्थलमा आयो। एकातर्फ बिपी र उनका दिवंगत श्रीमान शमशेर गुरुङको तथा अर्कातिर तीन सन्तानसँगै कोलप्रसाद परिवारका तस्बिर पनि राखिएको गाउँको गेटको उद्घाटन भयो।

सिक्लेस गाउँ पार्चे गाविसमा पर्छ। र, सिक्लेस भनिने बस्तीमा पार्चेका चार/पाँचवटा वडा पर्छन्। कार्यक्रममा भने पार्चेमात्रै नभइ आसपास गाउँका गुरुङ समुदायको पनि उल्लेख्य सहभागिता थियो। गाउँको स्कुलका छात्रछात्रा र शिक्षक पनि कोलप्रसादको परिवारलाई स्वागत गर्न आएका थिए। फूलमाला, दहीमा मुछेको सेतो टीका, अबिरको स्वागत थापेपछि लाहुरेको परिवारले गेट उद्घाटन गर्‍यो।
***
कोलप्रसादको परिवार गाउँका बाक्ला बस्तीभित्रको ढुंगे बाटो छिचोल्दै पुरानो एउटा घर अगाडि आएर अडियो। चौरासी वर्षीया आमाले आँगन, ढोका र भित्र पसेर चुला ढोगिन। त्यो उनीहरूको पुरानो घर थियो। कोलप्रसादले मलाइ आफ्नो कहानी बताए।

पिता बेलायती सेनामा थिए। सेवानिवृत्त भएर गाउँ फर्किएको छोटो समयमै बिते। शमशेर-बिपी गुरुङको सन्तान ढिलो भएको थियो। कोलप्रसाद डेढ वर्षको छँदा शमशेरको निधन भएको थियो। स्कुले पढाइ अलि ढिला भयो। १० कक्षाको टेस्ट परीक्षा दिएर छाती नाप्न उभिएका कोलप्रसाद भर्ती भइहाले। एसएलसी दिन पाएनन्। भर्तीमा छँदै पोखरामा पनि घर बनाए। बिहे गरे। पत्नीको हङकङ आइडी थियो। सन् २००३ मा रिटायर्ड भएर हङकङ बस्ने योजना बन्यो। पोखराको घरमा एक्लै परेकी आमालाई पनि उतै लगे। जेठी छोरी जन्मिएपछि भने उनलाई हङकङभन्दा बेलायतको बसाइ ठीक होला भन्ने विचार आयो।

उताका लागि आवेदन भरे। बस्न पाउने भएपछि सपरिवार सरे। एउटा सेक्युरिटी गार्डको कम्पनी स्थापनाको तयारीमा रहेकाहरूसँग सम्पर्क भयो। उनले तिनका लागि अपरेसन म्यानेजरको काम सम्हाले। पहिलो वर्ष नै कम्पनीले अपेक्षाभन्दा बढी नाफा कमायो। शेयर हाल्ने विचार गरेका कोलप्रसाद राम्रो तलबमा जागिरे नै बनेर बस्न बाध्य भए।

'मलाइ जागिर भनेर कडिकडाउ छैन,' उनले सुनाए, 'खुसीको जागिर हो। मन लागेका बेला बिदा लिन पाउँछु। तलब आकर्षक छ।' आमाको ८४ मा केही नौलो काम गर्ने, सन्तानलाई गाउँको घर टेकाउने, आमालाई पनि गाउँ र आफन्त भेटाउने इच्छाले आजको दिनसम्म आइपुगेको उनले बताए। कान्छी छोरी र छोरा नेपाली बोल्दैनन्। 'हामी रहरले, बाध्यताले विदेशिएकाको सन्तानले अब हाम्रा भाषा बिर्सने अवस्था छ,' उनले भने, 'बाउबाजेको थलो पनि देखाइएन भने हामी कहाँबाट आएका हौं, इतिहाँस के हो भन्ने बिर्सन्छन् भन्ने लाग्छ।' यसैका लागि पनि सपरिवार गाउँ घुम्न आएको उनले बताए। अघिल्लोपटक छोराछोरीमात्रै पठाउँदा नेपालमा जारी इन्धन संकट र लोडसेडिङले परेको नराम्रो छाप यसपटक मेटिएको उनले सुनाए।

१५ लाख लागतमा गाउँमा गेट बनाइदिन आफूले प्रस्ताव गर्दा गाउँले खुसी भएको पनि उनले बताए। 'मैले डिजाइन हेरेँ, पैसा पठाइदिएँ,' उनले भने, 'बनाउने सबै काम साथीभाइले गरेका हुन्।' 

घरभित्र पसेर अगेना छेउ बसेको गुरुङ परिवारमध्येका नयाँ पुस्ता नौलो मानिरहेका थिए। पुराना पुस्ताको आँखामा आँसू टिलपिलाएको देखिन्थ्यो। भित्र धुवाँ मडारिएकाले नयाँ पुस्ता धेरैबेर बसेनन्। आमा निकैबेर बसिरहिन। घर अलि टाढाका आफन्तलाई रेखदेख गरिदिने सर्तमा सितैंमा बस्नका लागि दिइएको रहेछ।
***

घरबाट अघि बढेको हुल गैरीथरे समाजघर पुगेर सभामा परिणत भयो। त्यहाँ गाउँका सबैजसो विकासनिर्माण र सामुदायिक काममा कोलप्रसादको योगदानको चर्चा भयो। बोल्नेहरू सबैजसोले काममा खातिर जहाँ पुगे पनि आफ्नो थलो नबिर्सन आग्रह गरे।

सिक्लेसका सम्पन्नमध्ये अधिकांशको पोखरामा पनि घर छ। कोलप्रसादले तीमध्येका धेरै परिवारलाई दुई बस रिजर्भ गरि गाउँ लगेका थिए। कार्यक्रममा बोल्ने पालो सकिएपछि आमा समूहहरूले ल्याएका कोसेली खाने मेलो सुरू भयो। समाजघरको पछाडिको भान्सामा खाना पकाउन १०/१२ जना खटिएका थिए। भान्साको र्‍याकमा देखिएका ठूल्ठुला सिङ भएका खसीका दुइटा टाउकाले तरकारीमा पाकेको थोक प्रस्टै बुझिन्थ्यो। ग्यालनमा घरेलु मदिरा र बजारबाट लगिएका बियर र ह्विस्कीका कार्टुन पनि खुल्न सुरू भए।

साँझ ५ बजे खानाको थाल हातमा आइपुग्दा त्यो बिहानको हो वा बेलुकीको छाक भन्नेमा चाहिँ दुविधा भयो। खानापछि नाचगान सुरू भयो। पालैपालो गुरुङ र नेपाली भाषाका लोकभाका घन्किए। नाच्ने नाचिरहे। आयोजक र खायोजक सबै नाचे। कोलप्रसादले गुरुङ समाजका आमा र दिदीबहिनी समूहलाई पालैपालो नगद सहयोग हस्तान्तरण गरे। नाचगान चलिरहँदा राति साढे १० बजेपछि म भने सुत्न गएँ। बिहान उठेपछि थाहा भयो, रंगारंग कार्यक्रम १ बजेसम्म चलेछ।
***

दोस्रो दिन बिहान गाउँ घुम्ने काम भयो। पार्चे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) भित्र पर्छ। यहाँ एक्यापको कार्यालय र गुरुङ संग्रहालय पनि छ। एक्यापका सिक्लेस एकाइ प्रमुख नरेन्द्र लामासँग अघिल्लै दिन भेट र चिनजान भएको थियो।


मनबहादुर दाइले बिहानको चियामा लामाजीको अफिस हाता पुर्‍याए। बसियो, कुराकानी भयो। एक्याप हातामा चियाका बुटा लगाइएका छन्। सानो ठाउँमा भएपनि बोटहरू सजावटका हिसाबले राम्रा देखिन्छन्।

बिदाइ अघि पनि समाजघरको भेला अघिल्लै दिन जस्तो थियो। दोस्रो दिनको भोजका साक्षी र्‍याकमा थिएनन् तर, कटाइ दुइटै भन्ने सुन्न मिल्यो। थालमा हालेको खानाको बाफ छँदाछँदै नसिध्याए सेलाइजाने। दोस्रो दिन भने अघिल्लो रात जसरी मदिराको खान्की थिएन। गाउँलेहरूले पोखरा बसेका आफन्तका लागि तरकारीको कोसेली ल्याइरहेको देखियो। बिहानको खानाको कार्यक्रम सकिएपछि भीड आआफ्नो गाडीतर्फ लाग्यो। गाउँलेले आँखा भिजाउँदै बिदाइ गरे।     

Wednesday, October 26, 2016

थाइल्याण्ड यात्रा


आफ्ना कुरा 
जरूरी छैन, हरेक यात्राका कुरा पठनीय होस् । बग्रेल्ती नेपाली संसारका कुनाकाप्चा पुगेका छन् । सुख-दुःख पाएका छन् । केही बेलाबखत खबरहरूमा आएका छन् ।

हामी सामान्य पेसा गरिखानेका यात्राका बेलिबिस्तार पढ्न लायक नै होस् भन्ने दाबी लाग्दैन । तर, आफूलाई यो लाग्छ, यात्राका कुरा पढ्न मजा हुन्छ । केही लेख्छन्, धेरै भोग्छन् तर, लेख्दैनन् । पत्रकार पर्यटक बनेर सितिमिति घुम्दैनन् । तर, यौटा यात्रा त्यस्तै गरियो, तिनैबारे केही लेखियो । आफू काम गर्ने अखबारको शनिवारे परिशिष्टांकमा पनि लेखोटले ठाउँ पायो । जे होस्, अखबारमा जे आयो, जति आयो, ठीकै छ । अहिलेको जमर्को यहाँ ब्लगमा ती स्मरणलाई जतन गर्न खोजेको हो । पोखरामा रहेर काम गरिन्छ । यात्राको प्रबन्ध विराटनगरबाट साथीहरूले गरे । झापा भएर निस्कने दिन टोलीमा सम्मलित हुन पाइयो । हाम्रा यात्रा मुलुकका उच्च पदस्थजस्तो खबरमै आउन पर्ने भन्ने होइन । तर, देखे-भोगेका कुरा लेख्दा पढेकालाई पछि जाँदा अवश्य नै सहज हुन्छ भन्ने लाग्छ ।
 
नेपाल सुन्दर छ भन्नेमा शंका छैन । तर, सबै ठाउँ यातायात सहज छैन । देशभित्रैका कुनै ठाउँ घुम्न जाउँ भन्दा न हतपत मित्रहरू तयार हुने, नत काम गरेका ठाममा त्यो वातावरण मिल्ने भन्ने अवस्थाका हामी भुक्तभोगी नै छौ । अझ पत्रकारिता पेसा गरिरहँदा ठोस कारण नदेखाइ देशभित्रै कतै घुम्न हिँडेको भनिहाल्न सोच्नै पर्छ ।
 
जे होस्, मुलुकभित्रको यात्रा कामकै सिलसिलाले पनि बेलाबखत गराइरहन्छ । लेख्ने-खिच्ने चलिरहन्छ । २०७३ भदौ २२ देखिका एक सातामा म विराटनगर, काँकभिट्टा, बागडोग्रा, कोलकाता, बैंकक र पटाया पुग्न पाएँ । यात्रा रमाइलो रह्यो । रमाइलो यस अर्थमा की म विधिवत बिदा लिएर निस्केको थिएँ । काम गर्नुपर्ने थिएन । कलम, डायरी र क्यामरा साथै भए पनि मैले कतै पनि प्रेस परिचयपत्र देखाएर कुरा गर्नुपर्ने थिएन । एउटा ट्राभल प्याकेजमा सामान्य पर्यटकका हैसियतले घुम्नु थियो । जो गरियो । देखियो, यौनमा आधारित पर्यटन-उद्योग पनि सम्भव रहेछ । तल अब घुमघामका गन्थन छन् ।
 
पर्यटनको नौलो संसार  
बलिष्ठ ज्यानका गार्डले पालैपालो हाम्रा हातमा रातो मार्करले लेखिदिए - १० । बाहिर बाफिलो गर्मी, भित्र वातानुकूलित रंगीन संसार । सबैलाई अग्र भागको सोफामा बस्न दिइयो । लागेको थियो- हामीलाई यहाँ कुनै कार्यक्रम हेर्न ल्याइएको होला । किनभने यसअघि हामीले दिउँसोदेखि तीनवटा भिन्नाभिन्नै कार्यक्रम यसरी नै बसेर हेरेका थियौं । चिनियाँ, थाइ र रसियाली सांस्कृतिक कार्यक्रमको डिजिटल सजावटसहितको फ्युजन रहेको अल्केजर शो र दुईवटा यौन कार्यमा उत्साहित गर्ने क्याब्रे पाराका शोहरू ।

तर, यहाँ हामी बसेको अगाडि सीसाको पारदर्शी पर्खालपछाडि लघुवस्त्रमात्रै लाएर रिमिक्क परी बसेका सुन्दरीहरू छन् । उनीहरूका ब्राको बायाँतर्फ छुट्टाछुट्टै नम्बर छ । पाहुना देखेर सबै मुस्काए । केहीले आँखा झिम्क्याए, ओठ चलाए, केहीले 'मलाइ रोज' भन्ने इसारा गरे । सीसामा २५ सय र २ हजार भाट लेखिएको थियो । 'नीलो ड्रेसको २५ सय र रातोको २ हजार । तपाइँ जुन छान्नुहुन्छ हामीलाई ट्याग नम्बर भन्नुस्,' हामीलाई बस्न लगाउनेले अर्थ्याए 'तपाइँहरूलाई यहाँको चित्त बुझेन भने माथिका तलाहरूमा पनि यस्तै छ तर, भाउ अलि बढ्दै जान्छ ।' भित्रको शोकेसमा बसेमध्येका केही नेपाली पनि रहेको उनले बताए । तर, गोरा-राम्रा अनुहार, उस्तै नाममात्रको पहिरन देख्ता को नेपाली, को अरु भनेर छुट्याउन सकिँदैनथ्यो ।
 

अरु व्यवहार जेसुकै होस् यो पक्का छ यौनकार्यका लागि भाषाको आवश्यकता छैन । संकेतले काम चल्छ, यहाँ पनि सांकेतिक भाषाले काम चल्न सक्ने अवस्था थियो । हामी थाइल्याण्डको पटायामा थियौं । र, हामी पसेको ठाउँ थियो पीपी बडी मसाज पार्लरको भूइँतला । केही साथी अन्कनाए, केही तुरुन्तै 'हैट कहाँ आइएछ !' भन्दै आत्तिएर बाहिर निस्किए । १० मध्येका आठ साथी बाहिरिएपछि साथी राजेश रौनियार र ममात्रै भित्र भयौं । केहीबेरमै हामीलाई पनि साथीहरुले बाहिर ल्याए । यहाँ नरोकिने, बरु पटायाको समुद्र किनार डुल्ने, कुनै नेपाली रेस्टुरेन्ट खोजेर केही खाने सल्लाह भयो ।

हामीलाई बेलुकी घुमाउँदै यहाँसम्म ल्याउने रेड एप्पल ट्राभल एजेन्सीको गाडीको नम्बर १० थियो, जो हाम्रा हातमा लेखिएका थिए । यो अंकको संयोग बडो गजबको थियो । हामी संख्यामा १० जना थियौं । रातको १० बजेको थियो । हामीमध्ये कसैले शोकेसभित्रका कुनैलाई रोज्दा तिर्ने रकममध्येको १० प्रतिशत गाडीका चालकले कमिसन पाउने रहेछन् ।
 

निकै कम अंग्रेजी जान्ने चालकले हामीलाई बुझाए 'तपाइँ जोजो यहाँ केटी छान्नुहुन्छ, काम सकिएपछि उसले होटल फर्किन यहाँबाट ट्याक्सी सजिलै पाइन्छ ।' आफूलाई चित्त परेको रेट तिर्ने, छानेको नम्बरकी युवतीलाई कोठामा लैजाने, उनले मसाज गरिदिन्छिन् । मन लागे यौन सम्पर्क गर्ने । अनि होटल फर्किने । पटाया आइपुग्ने पुरुष पर्यटकले गर्ने कामको फेहरिस्त उनले बताए ।
 
पटायामा त्यो हाम्रो दोस्रो दिन थियो । औपचारिक घुमघाममा जानुअघिको बिहान हाम्रो गाइड नीनाले यहाँ सुरक्षित घुमघाम, मसाज र यौनकार्यको आनन्द लिने तरिका बताएकी थिइन । उनले भनेकी थिइन 'सस्तो भनेर जतासुकै नजानुस् । लुटिने डर हुन्छ । बाटोमा देखिने रेटको बोर्डभन्दा हामीले लिने चार्ज केही बढी नै हुन्छ तर, सुरक्षित ठाउँमा पुर्‍याउँछौं ।'

०००

संवैधानिक राजातन्त्र रहेको दक्षिणपूर्वी एसियाली देश थाइल्याण्डको भ्रमण अघि नै यसका बारेमा खोजेर केही कुरा पढेको हो । १५६८ वर्ग किमी क्षेत्रफल, ७५ प्रान्त र करीब ७ करोड जनसंख्या रहेको यो मुलुक शिक्षा, स्वास्थ्य, उद्योगव्यापार र पर्यटनमा अग्रणी छ । यहाँ बहुराष्ट्रिय कम्पनीहरूले व्यापार विस्तार गरेका छन् । ९३ प्रतिशत बौद्ध धर्मावलम्बी, कुल जनसंख्यामध्ये राजधानी बैंककमा मात्रै १३ प्रतिशतको बसोबास छ । 

यहाँका रेड लाइट एरिया संसारमै चर्चितमध्ये पर्छन् । सरकारले नै अनुमति दिएर चलेका रेडलाइट एरियाबाहेक पनि दिनमा करिब तीन हजार हाराहारी युवती देहव्यापारका लागि बैंकक आइपुग्ने यहीँका होटलव्यवसायीले बताए ।  मेट्रो रेल र पानीजहाजको यात्राबाहेक नौलो लाग्ने कुरा यहाँ मोटरसाइकललाई ट्याक्सीको रूप दिएर यात्रुलाई गन्तव्य पुर्‍याउने पेसा आफैंमा उदेक लाग्दो देखियो । अतिथिलाई कसरी हुन्छ सेवा दिने र साटोमा आउने आम्दानीको तरिका जानेकाहरू देख्ता पोखरालगायत हाम्रा पर्यटकीय केन्द्रले सिक्नुपर्ने धेरैथोक रहेछन् ।
 

पूर्वमा लाओस्, कम्बोडिया, दक्षिणमा मलेसिया र पश्चिममा म्यानमार छिमेकी रहेको यो मुलुकले पटायाबाट पानीजहाजको छोटो यात्रामा कोस्टल बीच पुर्‍याउने, मोटरबोटमा डोरी लगाइएका प्यारासुटको छोटो उडान र वाटर-बाइक कुदाउन लगाएर उठाइने शुल्कको तरिका यहाँ गजबको रहेछ । समुद्रको सफा देखिने नुनिलो पानीमा नुहाउनेको बग्रेल्ती भीडमा हामीले भेटेमध्येका अधिकांश भारतीय थिए । उडीसाबाट सपरिवार घुम्न आइपुगेका ५५/६० वर्षका एकजनासँग छोटो कुराकानी भयो । उनले बताए- कोलकाताबाट २० हजार भारू बोकेर घुम्न निस्केका इण्डियनका लागि थाइल्याण्ड मितव्ययी घुमघामका लागि उचित गन्तव्य छ ।

धेरै भारतीय पर्यटक आउने भएकाले बैंकक र पटायाका बाटाहरूमा फाटफुट हिन्दी बोल्ने थाइहरू भेटिने मात्रै होइन पंजाबी, बंगाली र दक्षिण भारतीय परिकारका रेस्टुरा पनि भेटिने रहेछन् । भारतीय खानाका रेस्टुराँमध्ये हामी पुगेकाहरूमा सञ्चालक भारतीय नै भेटिए । त्यसमा काम गर्ने केही नेपालीभाषी पनि । 

बर्माका करिब सात लाख आप्रबासी थाइल्याण्डमा छन् भन्ने सुनिएपनि नेपाली बोल्नेमध्येका धेरैले आफूलाई बर्मेलीका रूपमा परिचय दिन चाहेनन् । फुटपाथमा पसल थापेका, नेपाली बोल्नेहरूसँग किनमेलमा आफ्नै भाषामा संवाद भएपनि उनीहरू नेपाल बारे सोध्न उत्सुक भेटिएनन् । भेटिएका केही उत्साही नेपालीभाषी युवकमध्ये धेरैजसो अरूका पसल, प्रतिष्ठानमा काम गर्न बसेकाहरू थिए । 

बैंकक, फाइथाइ पेचबुरी रोडको एउटा भारतीय रेस्टुराँका कामदार रामुले पहिले हिन्दी बोले । पछि नेपाली भन्ने थाहा भएर हामीसँग नेपाली बोले । 'यहाँ जेजे किनमेल गर्ने हो त्यो ठाउँ थाहा पाइएन भने हराइन्छ,', उनले भने, 'लत्ताकपडाको बेग्लै, इलेक्ट्रोनिक्स समान बेच्ने बेग्लै छन् ।'

०००     

गुगलमा खोज्दा काठमाडौं र बैंककको दूरि २२ सय २० किमि देखाउँछ । हामी भने काठमाडौंबाट सोझै थाइ एयरमा त्यहाँको यात्रा गर्न सकिने भएपनि मितव्ययी 'ट्राभल प्याकेज' खोज्दा रुटका लागि भारतको बाटो रोज्न पुग्यौं । खर्चका हिसाबले यो केही कम लाग्ने रहेछ । पूर्व मेची सिमानाको काँकडभिट्टाबाट करीब १८ किमी दूरीको बागडोग्रा । त्यहाँबाट ५५ मिनेटको उडानमा कोलकाता र त्यहाँबाट २ घण्टा १५ मिनेटको अर्को उडानपछि बैंककको सुवर्णभूमि एयरपोर्ट ।

राति २ बजे कोलकाता छाडेका हामीहरू बिहान हुने हुने बेला बैंकक पुग्यौं । बत्ती झिलीमिली थिए । त्यहाँबाट ट्राभल एजेन्सीको गाडीले १ सय ४७ किमी दक्षिणपूर्वको पटाया पुर्‍याउँदा अझै बिहान भइसकेको थिएन । तर, पटायाका सडकमा खानेकुराका स्टलहरू खुल्लै थिए । केही पसल रातभरि चल्ने रहेछन् । मौसम विराटनगरको भन्दा खासै फरक थिएन । ३४/३५ डिग्री तापक्रम । गाडी, होटल, पसल सबैतिर एयरकन्डिसनको चिसो ।
 

होटल पुगेर लगेज बिसाएपछि घुम्न निस्किएका हामीहरूले खानेकुरा सडकमा बेच्न राखेको देखे पनि भाषा नजान्दा खान हुने हो वा होइन भन्ने थाहा पाउन सकेनौं । एउटा पसलमा समुद्री जीवका परिकारसँगै भात र अनेकथरि खानेकुरा थिए । तर, पसल चलाउने महिलाले 'थाइबाहेक अरू भाषा आउँदैन' भनेपछि संवाद असहज भयो ।

स्ट्रीटका खानेकुराका पसलहरूबाट बेग्लै प्रकारको गन्ध आउने । अलिपछि थाहा भयो त्यो माछाको तेलको गन्ध रहेछ । यहाँको बजार बिहान गर्मि हुने भएकाले अलि ढिला खुल्ने रहेछ । दिउँसो २ बजेदेखि खुल्न सुरू भएर रातभर चहलपहल । मसाज सेन्टर बाहिर हुलका हुल केटीहरूले बोलाउने र मसाजको रेट बताउने रहेछन् । यहाँ ट्याक्सीचालक होस् वा होटलका गार्डहरू, सबैले आगन्तुकलाई ' वान्ट टु गो मसाज ? बुम बुम ?' सोध्ने रहेछन् । मसाजमात्रै गराउने वा अर्थोक पनि गर्ने भन्ने त्यो आगन्तुकको रुचिमा भर पर्ने रहेछ ।

०००

ट्राभल प्याकेजमा पुग्नेहरूको यात्रा सीमित क्षेत्र र समयलाई ध्यानमा राखेर मात्रै हुन्छ । हामी जहाँ जान भनेर आयौं, त्यहाँका लागि पहिलो केही खास क्षेत्र हेर्नैपर्ने गरि तालिका बनाइएका थिए । दोस्रोमा हामीलाई खुला घुमफिरका लागि धेरै समय खाली थिएन । पहिला तीन दिन पटाया घुम्ने, चौथो र पाँचौ दिन बैंकक । आइपुगेपछि मात्रै थाहा भयो घुम्न सकिने ठाउँ धेरै रहेछन्, हामीसँग समय सीमित । 

यात्रा बस, ट्याक्सी वा रेल जेमा गरेपनि सजिलो अनुभव हुने । तर, संवाद कतै-कतै असजिलो । धेरै ठाउँ थाइ भाषामात्रै बोल्नेहरू भेटिँदा उनीहरूले बनाएका नौला पाराका खानेकुरा खान हुने हो वा होइन भन्ने थाहा पाउनै गाह्रो । हामी बिहान-बेलुकी भात खाने बानी परेकाहरूलाई बसेको होटलले बिहान उपलब्ध गराउने ब्रेकफास्टकै भरमा हिड्न पर्ने देखियो । बिहानै बेस्सरी खान हामीलाई कसरी रुच्नु । जति सकिन्छ खाने, दिउँसो बाटाउँदी भेटिने फास्टफुड किन्दै-खाँदै हिड्ने ।
 

बसेको होटलमा धेरै संख्या भारतीय पर्यटकको थियो । होटल परिसरमा आधुनिक पहिरनमा ग्राहक खोज्दै गरेका युवतीहरू कुरो मिलाउँदै लिफ्ट उक्लिरहेका थिए । गार्डले बताए - 'बजार र चहलपहल नभएको अलि सुनसान जस्तो लाग्ने गल्लीमा एक्लैदोक्लै नजानुस्, तेस्रोलिंगीले लुट्छन् । केटीजस्तो लाग्ला र, रोकिनु होला, तिनले पर्स-पैसा लुटेका घटना बारम्बार हुन्छन् ।'

हुन त हामीले हेरेको तीमध्येका दुइवटा शोहरू तेस्रो लिंगी नै धेरै भएकाहरू थिए । अल्केजरको शो सकिएपछि हलबाट बाहिरिँदा कलाकार दर्शकसँग फोटो खिचाउन परिसरमा निस्किएका थिए । जसले आफूसँग फोटो खिचाउँछ, भनिहाल्थे- 'मनि मनि ।' पैसा दिइहाल्नुपर्ने । उनीहरूको पहिरन र भेषभूषा केटीका थिए, बोली पुरुषको । रसियन शोमा पनि धेरै तेस्रोलिंगी थिए । ज्यनमा माथिल्ला वस्त्र फुकाल्दा महिला ठानिनेहरू, तलका लुगा फुकालेर देखाउँदा पुरुष अंग भएका ।
  
पटायाको बीचरोडस्थित बेडरक रेस्टुराँमा भेटिए धरान र दोलखा घर बताउने केही नेपाली । त्यसअघि हामी एउटा '५० भाटमा ड्राफ्ट बियर' लेखेको रेस्टुरामा पसेका थियौं । पोखरामा एउटा त्यस्तै रेस्टुराँ छ, जसले ड्राफ्ट बियर अर्डर गर्दा एउटा बडेमानको जगमा ल्याएर दिन्छ । तीन गिलास बियर हुन्छ । त्यही सम्झेर पसियो । तर, यहाँ एक गिलासमात्रै दिने रहेछ । मलाइ बियर त्यति निको लाग्दैन । कारण- भुँडीमा स्पेस बढी लिने, काम कम गर्ने । बरू त्यसको साटो एक पेग व्हिस्की नै उत्तम ।


सल्लाह मिलेपछि नाइनास्ती गर्ने कुरा भएन । ड्राफ्ट बियरको रेस्टुरामा हामीले करिब हजार भाट खर्च गर्‍यौं । त्यसपछि बाटामा नेपालीभाषी भेटिएकाले बेडरकमा पुगियो । धरान घर बताउनेले भने 'नेपाली पनि टुरिस्ट भएर घुम्न आएको देख्ता धेरै खुसी लाग्छ ।' यहाँ भेटिएमध्येका दोलखाका सविन पाण्डेले आफू काठमाडौंको सांग्रीला होटलमा काम गर्दागर्दै यहाँ आइपुगेको बताए । 'मलाइ ल्याउने साहुसँग तीन वर्षको कन्ट्रयाक्ट सकिएपछि मैले साथीसँग मिलेर दुइटा रेस्टुरा खोलेको छु,' उनले भने, 'ती भइकन पनि म यो बेडरकमा पनि काम गर्छु ।' 

थाइल्याण्ड आउने धेरै नेपाली होटलको सेफका रुपमा काम गरिरहेको भेटिने उनले बताए । उनको पार्टनरले थाइ केटी बिहे गरेकाले सजिलो भएको सुनाए । 'यहाँ काम गर्ने सरकारी अनुमतिका लागि लाग्ने शुल्क तिरेर वैधानिक रूपमा बस्नेले राम्रो कमाइ गर्नैपर्छ,' उनले भने, 'थाइहरू आफैं मिहिनेती छन्, काम गर्ने मान्छे चिन्छन् । टुरिज्ममा काम गर्ने वातावरण छ ।' व्यवसायीले तिरेको करको हिसाब गर्दा सरकारप्रदत्त सुविधाहरू उल्लेखनीय रहेको उनले बताए । 'सिस्टममा कमजोरी जहाँ पनि हुन्छ तर, यहाँ सिस्टम अलि कडा छ,' उनले भने, 'नेपालीहरूले भारतीय जतिको प्रगति गर्न सकेको अवस्था छैन ।'

पटायाका गल्लीहरू हाम्रा ठमेल र लेकसाइडको झल्को दिने भए पनि यहाँ अन्तर्राष्ट्रियस्तरका हिल्टन लगायतका होटल देखिए । आँखाले नभ्याउने अग्ला भवन, आउजाउका आठ/आठ लेनका सडक, बग्रेल्ती गाडी, ट्राफिक प्रहरीको साटो सीसीटीभी क्यामेरा देखिनु र धूवाँ-धूलो नहुनु हामी घुमन्तेका लागि गजब नै रह्यो ।
०००
     

विश्व बैंकको तथ्यांकमा थाइल्याण्डमा बेलाबखतको सुनामी र राजनीतिक अस्थिरताबाहेकका समय पर्यटक आगमन दर उच्च छ । सन् १९९५ मा ६९ लाख पर्यटक भित्रिएको यो मुलुकमा सन् २०१४ मा २ करोड ४८ लाख पाहुना आएको तथ्यांकले देखाएको छ । 

पर्यटक आगमन यहाँको आधुनिक वैभव, वातावरण र स्वाथ्योपचारका लागि मात्र छैन । अर्को प्रमुख आकर्षण यौन बजार पनि छ । त्यसो त व्यवस्थित रूपमा लाइसेन्स दिएर सञ्चालित रेडलाइट एरिया बाहेक पनि यहाँ पटाया र बैंककका सडकहरूमा बेलुकी पोल पोलमा अडिएर मोबाइल खेलाउँदै देहव्यापारका लागि उभिनेको भीड उग्र नै हुने रहेछ । त्यसमाथि पटायामा यौन स्वछन्दताको आभाष गराउने थुप्रै प्रकारका शोहरू नाटकघरमा हेरे जसरी नै प्रदर्शन हुने रहेछ । 

पटायाबाट बैंकक फिरेपछि हाम्रा लागि फिर्नुअघिका १४ घण्टा फुर्सदिला थिए । यो समय हामीले आफैं टिकट लिएर मेट्रो रेलको सफर र किनमेलमा बितायौं । पटाया र बैककको यात्रा गरेपछि मात्रै थाहा भयो - हामीले फुकेट छुटाएछौं । त्यहाँ जानुपर्ने रहेछ । फुकेट हाम्रो प्याकेजमा थिएन । बैककमा केही नेपाली सपरिवार भेटिए । उनीहरू मलेसिया, सिंगापुर घुमेर आइपुगेका थिए, तीन देशको ट्राभल प्याकेजमा ।
  
बैंककमा हाम्रा गाइड पोले नहेरी नहुने भन्दै केही धार्मिकस्थल र व्यापारिक केन्द्र घुमाए । फायाथाइको जेम्स ग्यालरी र वाट टिमिट भनिने गोल्डेन बुद्धको मन्दिर यिनमा भीडभाडको क्षेत्र थियो । ग्यालरीमा बहुमूल्य धातु र पत्थर जडित गहना बिक्रीका लागि राखिएका थिए । तिनको मूल्यसूची अनुमानभन्दा निकै महंगा पनि थिए । जेम्स ग्यालरीमा हामीले केही किनेनौं ।
  
झण्डै १० फीट कदको ५५ सय किलोको बुद्धको सुनौलो मूर्ति रहेको वाट टिमिट मन्दिरका गजुर र छानाहरू सबै सुनौला थिए । यहाँ बग्रेल्ती पर्यटकमात्रै होइन, बुद्ध अर्चनाका लागि भेला भएका थाइ नागरिकको पनि घुइँचो लाग्ने रहेछ ।

०००
बैंककबाट कोलकाताहुँदै बागडोग्रा भएर काँकडभिट्टा आइपुगियो । हामीलाई बागडोग्राबाटै थाइल्याण्ड लैजाने-फिराउने इण्डिगो एयर थियो । यसो भनुम खासमा त्यसको सीट एसी डिलक्स बस जतिको गतिलो चाहिँ थिएन । तर, उडानका लागि तोकिएकै समयमा उडेको-अवतरण गरेको थियो ।
  
बैंकक एयरपोर्टको ड्युटी-फ्री पसलमा हामीमध्येका केहीले लिकर्स किनेका थियौं । सुवर्णभुमि एयरपोर्टमा तिनलाई 'ह्याण्ड-क्यारी' मा लैजान भनियो । कोलकाताबाट बागडोग्राको डोमेस्टिक फ्लाइटमा एयरपोर्टमा सुरक्षा कर्मचारीले 'ह्याण्ड-क्यारी' मा लान नमिल्ने, बरू 'लगेज' मा हाल्न भने । त्यसै गरियो । देश फरक, नियम फरक । बागडोग्राबाट भारत-नेपाल दुवैका सीमा सुरक्षा अधिकारीले हाम्रा ब्याग चेक गरेनन् । हामी काँकडभिट्टा भंसार भएर पूर्व-पश्चिम राजमार्ग विराटनगर आइपुग्यौं । फिरेर मलाइ यात्राका बारेमा केही लेख्न मन लाग्यो । पटाया र बैंककमा जेजे देखियो, तिनलाई गुगलमा सर्च गर्दा सबैका तस्विर र विवरण हेर्न पाइनेगरि राखिएका रहेछन् ।
 
अल्केजर शोमा क्यामेरा लैजान र फोटो खिच्न निषेध थियो । त्यसो त मैले 'फोटो खिच्न नपाइने' भनिएका कुनै पनि शो हेर्न जाँदा क्यामेरा बोकिँन । मलाइ फोटो खिच्न इच्छा थिएन, खिचेर जित्नुपर्ने पनि केही थिएन । पछि केही लेखौं भन्ने लाग्दा फोटो चाहियो ! कथाले माग्यो । मैले वेबसाइट हेरेर अल्केजरलाई इ-मेल लेखेँ । मलाइ जवाफ आयो - 'छुट्टै फोटो पठाउन सक्दैनौ । हाम्रो वेबसाइटमा भएका फोटा डाउनलोड गर्न सकिन्छ ।' मैले त्यही गरेँ । अखबारमा त्यो साइटबाट साभार गरिएको एउटा फोटो चलाइएछ । काम चलिगो । ठीकै छ । 

Sunday, December 27, 2015

कपुचे मोहनी

गोरखाको बारपाक पुगेको टोलीका केही सदस्य साहसिक पदयात्रा रुचाउने पर्यटकलाई यहाँ पठाउन सकिने गफ दिइरहेका थिए। हुन पनि हो, २०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु बारपाक पुग्न राङरूङ खोलाबाट ठाडो उकालो लाग्दा बाटो एकप्रकारको त्रास उत्पन्न गराउने खालकै भएको छ। 

उकालो छिचोल्दै गर्दा डाँडा धेरै ठाउँमा पहिरो जान ठिक्क परेजस्तो देखिन्छ। तर, आतंक बढाउने जतिसुकै खबर आउन, बारपाक पुगेपछि डर लाग्दैन। त्यो बस्ती आफैंमा अनुपम छ। डाँडाबाट हिमाल हेर्नु, जीर्णोद्धार गर्दै उभ्याउन थालिएका घरहरू हेर्नु अन्त सहजै पाइने दृश्यमध्ये पर्दैनन्। भूकम्पको घटनापछि मैले दोस्रोपटक पोखराबाट बारपाकको यात्रा गर्न पाएँ, टोली थियो पोखराका पर्यटनव्यवसायीको। 

त्यसो त पोखरेली पर्यटन व्यवसायी बारपाकबारे उति चासो राख्ने होइनन्। यहाँ आफ्नै खालको व्यापारकर्म छ। पदमार्ग जान इच्छ्याएर पोखरा आइपुग्ने पर्यटकलाई ट्रेकिङ एजेन्सी अन्नपूर्ण पदमार्गको फेरोमा जान हौस्याउँछ। संसारमै राम्रामध्येका परेको यो फेरोको यात्रा आफैंमा गजब छ। दिन धेरै बित्छन्। पाहुनाको जहाँ बास र विश्राम हुन्छन्, ती ठाउँको व्यापार चल्छ। त्यसैले यो परम्परागत प्याकेजबाहेक पाहुनालाई नयाँ रुट बताइदिएर जोखिम मोल्ने ट्रेकिङ एजेन्ट भेटिन गाह्रो छ।
 
म यतिखेर बारपाक र अन्नपूर्ण फेरोको कुरा गर्न लागिरहेको छैन। ट्रेकिङ गाइडका अगुवा जीवन सापकोटालाई बारपाक पुग्दा सोधेको थिएँ- 'पर्यटकलाई कहिल्यै कपुचे जाउ भन्नुभएको छ?' उनले 'छैन' भने । के थाहा भयो भने यो अनौठो नामको ठाउँबारे धेरै पोखरेली गाइडलाई थाहै छैन। म त्यो यात्राबाट फिरेका हुनाले जानकारी थियो। त्यसैले सोधियो। 

पोखराको काहुखोलाबाट ३९ किमी बसयात्रापछि सिक्लेस पुगिन्छ। सिक्लेस धेरैजना घुमन्ते पुगेको हुनहुपर्छ, नपुगेपनि यो सुन्दर गुरूङ गाउँको चर्चा सुनेको हुनुपर्छ। यो गाउँबाट मच्चिएर हिड्दा ८ घण्टाको दूरिमा पर्छ कपुचे हिमताल। 

अन्नपूर्ण-२ हिमशृंखलाबाट खस्ने हिमपहिरो जहाँ मुन्तिर आएर पानीमा परिणत हुन्छ, बस्छ, अनि भरिएर खोलाहुँदै बग्छ, यही ठाउँ कपुचे हो। निकै जोखिमपूर्ण छन् पुग्ने बाटा। त्यसैले यो ठाउँ दूरिले पोखराबाट नजिक भए पनि प्रचार पाउनबाट बञ्चित छ। अब यो क्षेत्रको थोरै आफ्नै यात्राको कुरा गरौं।

०००


कफु खोला र खरिया धाराले टापुजस्तो तेर्सो बनाएको हुगु पुग्दा साँझ पर्न लागेको थियो। हिउँ खसेजस्तो चिसो सिमसिम वर्षा थामिएको थिएन। ज्यान ओताउन मैले भरिया दाईको प्लाष्टिक पाएको थिएँ। दुइटा गोठ। छानोबाट धुआँ आइरहेको देख्ता कतिखेर पुगेर भूइँमा डङरंङ लड्नुजस्तो भएको थियो।

तरेर जाने ठाउँ अलि पर देखियो। पहिरो खसेका बडेमानका ढुंगा छिचोल्दै अघि बढ्दा कफु खोलामा काठको मुडा देखियो। गोठबाट केही मान्छे हामीलाई हेरिरहेका थिए। कालो भोटेकुकुर नौलो देखेर भुकिरहेको थियो। बल्लतल्ल ज्यान अड्याउने ठाउँ हुगुको गोठ पुगियो। अगेना छेउमा बसेर जुका फालियो। तिनले चुसेर बनाएका घाउ गन्ती गरियो। दुवै गोडामा गरेर ७ ठाउँ चुसेछन्। जुका झार्न बोकेको नुनको पोको ज्याकेटको खल्तीमा पानीले भिजेको थियो। जुकाले चुसेका ठाउँ साह्रै चिलाउँछ। 

दायाँ गोडाको एउटा घाउबाट बगेको रगत थामिन निकैबेर लाग्यो। केहीबेरमा केही लडेजस्तो ठूलो आवाज आयो। हामी ओत लागेको गोठका आँगनमा हिउँ फुटाएर छरेजस्तो सेतो भयो। साथीहरूले भने 'कपुचेमा हिमपहिरो गएछ। यो त्यही छर्को आइपुगेको हो।'

हामी सिक्लेसबाट पूर्व पहरै-पहरा बिहान १० बजे हिडेका थियौं । छपक्क मिलेका ढुंगाका छाना भएका घर। बस्ती मास्तिर अन्नपूर्ण हिमश्रृंखला भएको सिक्लेसमा पहिलो यात्रामा पुग्नेका लागि आतिथ्य आनन्दको लाग्छ। अलि पर्तिर, छेउछाउ घुम्न जाउँ भन्ने नलाग्न सक्छ। पोखराबाट साँझ आइपुग्दा मलाई पनि त्यस्तै लागेको हो। तर, हामी मुलुककै होचो ठाउँमा अवस्थित हिमताल हेर्नै भनेर निस्केका थियौं। अतः जान्न भन्न मिल्ने अवस्था भएन।

लगातार हिड्दा पनि ७ घण्टा लाग्ने सुनेपछि पुगेर मेरो हौसला अलि घटेको थियो। सकिँदैन होलाजस्तो लागेर साथीहरूलाई 'तपाईहरू जानुस्। म बरु सिक्लेसमै पर्खन्छु' भनेर  टार्न खोजेँ। यसका कारण थिए। पहाडी यात्रामा हलुका ब्याग, दरिलो लठ्ठी, सजिला स्पोर्टस् जुत्ता र छाता वा रेनकोट हुनैपर्छ। यीमध्ये मसँग भएका कुरा केही थिए भने लगाएका जुत्ता। तै साथीले छाड्ने भएनन्। हार्न मिलेन। उकालो-तेर्सो भीरैभीर र खोलाको बाटो हिँडियो। 

०००

सिक्लेसका चिबा (मुखिया) का मनबहादुर गुरूङका दाजु भीमबहादुरको घरमा खानाको प्रबन्ध थियो। हिड्नेबेला भाउजुले हरियो कपडाका टुक्रामा गा“ठो पारेका स-साना पोका दिइन। 'यो राख्नु । नुन हो। जुका लाग्छन्। दल्न काम लाग्छ,' उनले भनिन्। 

चिबाका दाजुले पनि सम्झाए 'बाटो सजिलो त छैन। तर, नआत्तिकन जानु। पुगिन्छ।' चिबा हाम्रा गाइडमात्रै थिएनन्, उनी आफैं पनि हाम्रा साथको यात्राबाट कपुचेको अहिलेको अवस्था हेर्न चाहन्थे। डा. हुमबहादुर गुरूङको जोडबलले हाम्रो यात्रा अचानक तय भएको थियो। पर्यावरणको क्षेत्रमा लामो समयदेखि भिजेका डा. गुरूङ केहीअघि नेपाल पन्छी संरक्षण संघका अध्यक्ष थिए। अहिले आफ्नै संस्था बनाएर काम गरिरहेका छन्। राजधानी बसे पनि आफ्नो पुरानो थलोमा संरक्षणको काममा उनलाई चासो रहेको गफगाफमा बुझियो।

जल तथा मौसम बिज्ञान विभागका अनुसार मुलुकका अधिकांश हिमतालहरू समुद्र सतहको चार हजार मिटरमाथि छन्। यात्राबाट फिरेपछि मैले विभागका निर्देशक ऋषिराम शर्मालाई फोन गरेको थिएँ। उनले कपुचे २४३७ मिटरमा छ भन्दा अचम्म मानेका थिए। 'हामीले अध्ययन र रेकर्ड गर्ने सबैको होइन। जहाँ कालान्तरमा जोखिम भन्ने अध्ययन हुन्छ, त्यसैको गर्छौं,' उनले भनेका थिए, 'कपुचे अध्ययन गरिनु जरुरी छ। यो पर्यटकीय सम्भावनाको हो भन्ने अनुमान गर्छु।'

००० 

हुगुमा दुई दसकअघि १२ वटा गोठ रहेछन्। अहिले एउटामात्रै छ। मह-सिकारी मेजा गुरूङको गोठ। मेजाका छोरा प्रकाश बाटो देखाउँदै सिक्लेसबाट हाम्रा साथै गएका थिए। गोठमा मुली भेटिएनन्। भेटिए प्रकाशकी आमा नौमाया, काठमाडौंबाट आएका ९ वर्षे भाञ्जा र गोठाला बसेका माइला भनिने मानबहादुर तामाङ।

मेजाको सिकार कथा सुन्नका लागि थुप्रै थिए। केही वृत्तचित्रमा पनि आएको सुन्न मिल्यो। हुगुको गोठहरू नयाँ पुस्ता सेनामा भर्ती जाने चलनले विस्तारै उठेका थिए। पुराना पुस्ताले गोठको भरको आम्दानीले सन्तान हुर्काएका थिए। नयाँ पुस्ता गोठ स्याहारेर बसेनन्, बरु अभिभावकलाई पनि सिक्लेस र पोखरामा घर बनाएर गोठ छाड्न बाध्य पारे। हेर्दा-सुन्दा रमाइलो लागेपनि मान्छेका बस्तीभन्दा टाढा गोठको बसाइ सुखको होइन।

मेजाका तीन भाइ छोरामा पनि एउटा हङकङ, अर्का आयरल्याण्ड रहेछन्। जेठा छोरा प्रकाश १४ वर्ष साउदी अरबमा काम गरेर फिरेका थिए। अब उनी आमालाई सघाइरहेका थिए। बजार पुगेर चाहिने सामान गोठ ल्याउने। गोठबाट घिउ, तरकारी बजार लैजाने। 'मैले पटक-पटक गरेर साउदीको गर्मिमा १४ वर्ष बिताएँ,' प्रकाशले भने, 'अब चाहिँ जान्न। यतै बस्छु। गरेदेखि यतै पेटपालो हुन्छ।'

नौमायाले छाड्न नसकेकै कारण मेजाको गोठ थामिएको थियो। हामी पुगेका बेला मेजा पोखरामा बन्दै गरेको घर कुरिरहेका छन् भन्ने सुनियो। गोठमा डेढ दर्जन भैसी र १४० बाख्रा पालिएका थिए। हुगुमा स्याउ हुने रहेछ। हामी पुग्दा केही पुराना गोठका संरचनासँगैका स्याउका बोटमा फूल लागेका थिए। 

कपुचे यात्रामा जानेका लागि हुगुको गोठ नै एकमात्र विश्रामको थलो हो। यहाँ नबसे ७/८ घण्टा वरपरको बाटोमा कतै बास छैन। हामीले पुगेको रात पाहुनाका लागि भात र ढिँडो रुचिअनुसारको भोजन व्यवस्था भयो। गोठमा आगो बालेर स्लीपिङ ब्यागभित्र ज्यान लुकायौं।

०००

बिहानै चिया सुरुप्प पारेपछि अब थियो मात्र २ घण्टाको बाटो। पहाडका बाटाहरूमा सबैभन्दा उदेक लाग्दो कुरो के हो भने हिडिरहेकाहरूका लागि १ घण्टा भनिन्छ। अभ्यस्त नभएकाहरूलाई त्यही बाटो तीन घण्टा लाग्यो भने पनि अचम्म नमान्दा हुन्छ।

२०२५ मिटर उचाइको हुगुबाट दक्षिण-दक्षिण लेकाली जंगल छिचोलेर कपुचे पुगिने रहेछ। धेरै ठाउँ ठू-ठूला रुख लडेका थिए। गाडी आउजाउ हुने ठाउँका नजिक हुँदो हो भने ती सुकेका रुखका पात पनि बढारेर बोरामा कोचेर काम लाग्छ भनेर लैजानेहरू हुन्थे। बडेमानका सुकेका रुख झन कहाँ यसरी रहन पाउनु ! यहाँ भने रुखहरूमा लेउ पलाएका थिए। 
अघि बढ्दै गएपछि रुखहरूमा हिउँ अडिएको देखिए। भुइँभरि पनि छपक्क सेतो थियो। हामी पुगेको डिल २५४६ मिटर उचाइको रहेछ। यहाँबाट मुन्तिर तालकै सतहको उचाइ २४३७ मिटर। डिलबाट मुन्तिर झर्न सजिलो बाटो थिएन। यहाँ मान्छे नआउने भएकाले कतै गोरेटा रहेनछन्। हिड्न ठाउँ बनाइएको थिएन। माथि हिमालबाट बेला बेला हिउँका डल्ला लड्दै तालमा छप्ल्याङ्ङ-छप्ल्याङ्ङ गर्थे। घाम लागेको थियो। हावा चिसो थियो। 

ताल हेर्दा मदिराको गिलासमा आइसका टुक्रा तैरिएको सम्झाउने। तर, यहाँ गिलास थिएन। तमतन्न नीलो पानी भएको ताल। तैरिएका हिउँ। हामीले अघिल्लो दिनको कष्टपूर्ण हिँडाइको थकान सबै यहाँ बिर्सियौं। यात्रा थाल्दा यतिको उचाइका हिमताल देख्न पाइएला भन्ने पत्यार लागेकै थिएन। तर, यहाँ हाम्रा अघि ताल थियो। 

'यो ताल पहिले सानो आकारको थियो,' डा. गुरूङले सुनाए, '१० वर्षता आकार बढ्दै आएको हो।' यहाँसम्म आइपुग्ने पदमार्ग बनाउन सकेमात्रै पनि साहसिक पदयात्रा रुचाउनेहरूलाई पोखरानजिकै अनौठो गन्तव्य हुने उनले बताए। 

सिक्लेस पार्चे गाविसमा पर्छ। यो अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापअन्तर्गतको संरक्षण कार्यक्रम सञ्चालन भएको एरिया हो। वनजंगल छिचोलेर पुगिने यो ताल मादी नदिको मूल भएको स्थानीय संरक्षण समिति अध्यक्ष मनबहादुर गुरूङले बताए। हामीसँगै रहेका मनबहादुरले निकैबेर वरपर घुमेर बाटो बनाउन सकिने ठाउँ खोजिरहे। 

'वर्षको दुईपल्टजस्तो म यहाँ आउँछु,' उनले भने, 'यहाँ आउनलाई बाटो थोरैमात्रै सजिलो बनाउन सकियो भने सिक्लेस आएकाहरूलाई कपुचे घुम्न जाउ भन्न सकिन्थ्यो।' एक घण्टा हाराहारी समय ताल आसपासमा बिताएपछि हामी फेरि हुगु फर्कियौं। त्यो दिनको रात हुगुमै बित्यो। पाहा हन्टिङ र सिस्नुको फाँडोले माइला दाइले आतिथ्य गरे। 

धादिङको सेरदुङबाट २२ वर्षअघि सिक्लेस आएका माइलाको कथा बेग्लै थियो। उनी फेरि धादिङ गएनन्। 'गुरूङ भाषा बुझछु, अलिअलि आउँछ पनि,' उनले रमाइलो पारामा भने, 'नेपाली जस्तो पटट बोल्न जान्दैन।' निर्माण मजदुर भएर लमजुङका साथीसँगै आएका माइला मेजाको अनुरोधमा गोठमा चार वर्षदेखि अडिएका रहेछन्। जेठ र असार यार्सागुम्बा टिप्न जाने, अरुबेला गोठका बाख्रा चराउने दैनिकी। 

'मेरो बानी राम्रो छैन। अम्मल धेरै छन्,' उनले भने, 'पैसा नहुने होइन हुन्छ। चुरोट पिउन परो, रक्सी खान परो। सक्किइ जान्छ।' उनलाई आफ्नो दिनचर्यामा कुनै पछुतो रहेको कुराकानीले बुझाएन। हँसिला, ठट्यौला। 

०००

हुगुबाट सिक्लेस फिरेपछि थाहा भयो कपुचेको अध्ययन केहीअघि एकजना जापानी प्राध्यापकले गरेर गए। होटल नमस्तेका सञ्चालक धन गुरूङका अनुसार गत फागुन दोस्रो साता तेक्यो हेसे विश्वविद्यालयको स्कुल अफ इन्भाइरोन्मेन्टल इन्फर्मेशनका सहायक-प्राध्यापक जिरो कोमोरीले तालमा करीब २ घण्टा बिताए। अघिल्लोपल्ट ५ महिनाअघि आउँदा उनी मादी तर्न नसकेर तालमा पुग्न सकेका थिएनन्। पछिल्लोपल्ट पट्याएर बोक्न मिल्ने डुंगा लिएर आएका थिए।
 
'डुंगा लिएर तालमा घुम्यो,' गुरूङले भने, 'नापजोख पनि गर्‍यो।' कोमोरीलाई त्यहाँ पुर्‍याउन गाउँबाट आफूसहित तीनजना गएका उनले सुनाए। कोमोरीले ताल ४० मिटर गहिरो, ४ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइको निकालेको हिसाब आफूले पनि टिपेर राखेको उनले देखाए। 

'जाँदा डुंगा मलाइ छाडेर गएको छ', उनले भने।

गुरूङ भाषामा कपूचेको अर्थ 'हिउँ भत्केर खस्ने समथर भाग' भन्ने बुझिने रहेछ। पोखरा फिरेपछि कहिलेकाही ट्रेकिङ गाइड भेट हुन्छन्। 

म सोध्छु -'कपुचे जानु भएको छ ?' गएको छु भन्ने उत्तर मैले पाएको छैन। भूकम्पपछि यो ताल र जाने बाटोको अवस्थाबारे सिक्लेसवासीसँग बेलाबेला कुरा हुन्छ। बाटो उस्तै छ । भत्के-बिग्रेको छैन तर, सजिलो पनि छैन।

***
(२०७२ पुस ११ को कान्तिपुर, कोसेलीमा प्रकाशित)

Tuesday, November 10, 2015

प्रज्वलनशील बस यात्रा


शीर्षक उही चिर-परिचित अति सुरक्षित भन्या जस्तो नै छ, जो हिजोका दिन इकान्तिपुरको ब्लगमा पढ्न मिलेको भन्ने ठान्नुभो भने ममाथि अन्याय हुन्छ भन्छु । गन्थन पनि उनै हुन नठान्नुस् । यता अलि सप्रसँग व्याख्याको प्रयास छ। 

तैपनि गन्थन त गन्थनै हो। तिनै ब्लग लेखनको लेखोटमाथि थपथाप। हिजो पोखरा फिर्दाको कुरा लेखियो, यसमा जाँदाका कुरा पनि समावेश छन्। फिर्दाका कुरा लेखेपछि लाग्यो, जाँदाका कुरा पनि त रमाइला थिए। आखिर जिन्दगी फ्याट्ट एक्सिडेन्टमा नपरुञ्जेल गज्जप-गज्जप देख्न-भोग्न मिल्छ/मिलेकै छ। अफिसको वेबसाइटमा प्रकाशित हुनेगरि लेख्दा भरसक छरितो लेखे निको मान्छन् भन्ने कुरा दिमाखमा घुमिरनी, अनि लेखमा लाग्या कति कुरो बिर्सिपठाउनी हुँदो रछ। नियन्त्रित अवस्थाको लेखाइ। भाषाका पनि सीमानामा बस्न पर्छ। नितान्त व्यक्तिगत गन्थन त डायरी जसरी आफ्नै ब्लगमा लेख्नुपर्छ भन्ने लागेर यताको जमर्को गरेको हो भनेर भन्नुस्।

दसैंको अल्झो
उसै पनि महान तथा गौरवशाली पर्व। घर जानै पर्छ। कारण- परिवार, मातापिता। जेठो छोरो दसैंमा कहिल्यै घरबाहिर रहेको इतिहास बनाउनु पाइएन। जान त जानु तर, कसरी पो ! म पोखरामा छु। घर विराटनगर। बीचमा मधेस आन्दोलित भाको क्षेत्र पर्छ।

बसपार्क पुगेँ। विराटनगर जाने बसको आउजाउ रोकिएको रछ। धरान र काँकडभिट्टाका लागि यौटा-यौटा चल्दै रछ। तिनमा इटहरीसम्म पुग्न पाए १९ किमि त हो, त्यहाँबाट ब्याट्री-रिक्शा वा अरू विकल्प हुन सक्छ। तर, चार दिनपछिसम्मका टिकट हाउसफुल। डिजल पाइँदैन। चल्दै रहेका बस पनि नियमित हुने/नहुने टुंगो रैनछ। टिकस पाइएन।

बसपार्क पुग्दा अखबारमा पढेको, टीभीमा देखेको बसका बिजोक दर्शन गर्नै मिल्यो। अगाडिका सीसा फुटेका छन्। बसहरू बिचरा भन्नु जस्ता छन्। फिरेर अफिस आएपछि फेसबुकमा यौटा स्टाटस लेखियो- 'यो बेला बसको यात्रा कतिको सुरक्षित छ ? कृपया जानकार मित्रले भन्दिनुस्न। बसपार्क पुगेर आज अहिलेका बसको अवस्था हेर्दा साह्रै-साह्रै ठीक जस्तो लागेन। हेलमेट लाएर पनि के बसमा हिड्नु !'

आठवटा कमेन्ट आए। तिनका आधारमा बसमै पनि जान सकिने बुझियो। तर, एक मनले लाग्यो - 'मसँग मोसा छ नि। त्यही लिएर जान पाए उता नि हिड्न सजिलो हुन्थ्यो।'

रौतहट-सर्लाहीका साथी शिव र अमनलाई फोन गरेँ। सोधेँ- 'मोटरसाइकलमा आउजाउ गर्दा कस्तो होला ?' दुवैले अति उत्तम भने, केहीबेर उनीहरूकहाँ पनि रोकिन पर्ने सर्तसहित। कुरो ठीकै थियो। म बाटाउँदी फोटा खिचिहिड्न रमाउने मनुवाका लागि मोसा यात्राभन्दा अरू रमाइलो के हुन्थो ! तर, बिगारो पेट्रोलले। त्यो पदार्थ नखुवाइ मोसा नकुद्ने। त्यो मोरोको हाहाकार। बल्लतल्ल प्रेसका नाताले ५ सयको पाइयो। प्लान त सक्सेस होला जस्तो भयो। 

हेटौंडामा काका-बडाबाका घर छन्। त्यताका दाजुभाइलाई फोन लाएँ- 'म मोसामा घर जान लाग्या। ७/८ लिटर पेट्रोल खोज्द्याओ।' उनीहरूले 'हुन्छ/आइज' भने। फेरि आफ्नै मनले भन्यो -'यति लामो बाटो त्यो जाबो स्प्लेन्डरमा के जान्छस्। दुःख हुन्छ। ढाड दुख्छ। फेरि उसैगरि आउन सक्लास् ?' यो बडो गम्भीर कुरो थियो।

म पोखरा आउँदा मोसा ढुवानीमा हाल्द्या थिएँ। ४/५ दिनपछि ट्रक चढेर आएको हो। हुन पनि ९९ सीसीको ७ वर्ष पुरानो मोसामा लामो दूरिको यात्रा सहज हुँदैनथ्यो। यो मेरो यसो यतैका वरपर घुम्नका लागि ठिक्कको वाहन हो।
   
अफिस बिदा अष्टमीबाट हुने थियो। नौरथा सुरू भएयता घरबाट छोरा, श्रीमती र आमाको फोन बिहान-बेलुकै आउन थालो - 'दसैं सुरू भइसक्यो। कहिले आउने ? कसरी आउने ?' आफैंलाई पनि लामो एक्लो बसाइ दिक्क लागेको थियो। बिहान-बेलुकै आफैं खाना बनाएर खानु, खाली काम काम भन्नु। दिक्क हुनु अस्वाभाविक थिएन/होइन। तर इच्छ्याउँदैमा पुगिहाल्न मान्छेका पखेटा हुन्नन्।
 
पोखराबाट काठमाडौं, त्यहाँबाट अरू विकल्प भएन भने पनि हवाईजहाजमा पुग्न त सकिन्थ्यो। तर, घरभन्दा टाढा रहेर ठिक्क-ठिक्क जीवन चल्ने पारिश्रमिकमा काम गर्नेका लागि हवाई भाडा महंगो। चाडबाडमा त्यसै पनि खर्च बढ्छ, किन पो खर्च बढाउनु ! 

उता भाइले टीका लाएर एकादसीको दिनदेखि चार दिन सपरिवार कोलकाता घुम्न जाने योजना फिक्स गरेको एक महिनाअघि नै हो। यो मोरो नाकाबन्दी सुरू भएयता मलाइ इण्डिया घुम्न जान मनै मरेको हो। तैपनि भाइ र मेरा केटकेटीको रेल चढ्ने, साइन्स सिटी घुम्ने रहर। भाइलाई एकपल्ट 'होस नजाउँ, टिकट क्यान्सिल गरिदे' भनेको पनि हो। तर, क्यान्सिल गर्दा नि पैसो लाग्ने रैछ भनेर उ मानेन। जाने कुरा निश्चित थियो। अनि निश्चित बेलैमा घर जान नपाए मैले दसैंमा धेर दिन घर बस्न नपाउने पनि।

विराटनगर बसपार्कको पोखरा काउन्टरमा एकजना मित्र छन्। ताराबहादुर (थर थाहा छैन)। तिनले एकपटक आफूले काम गर्ने जगदम्बा बसका सञ्चालकको मोबाइल नम्बर दिएका थिए। पोखरा पुगेपछि 'चिनजान गर्नु, भलादमी छन्' भनेर। पहिले ताराजीलाई फोन गरेँ। उनले भने -'हाम्रो विराटनगरवाला बस चलेको छैन। चल्ने टुंगो पनि छैन।' 

दिन बिते। बजारलाई दसैं लाग्यो, रेडियोले धुन बजाको-बजाकै। उनका बस सञ्चालकलाई फोन गरेँ। उनले एउटा नम्बर दिए, उतैका बस हेर्नेको। तिनलाई डायल गरेँ। उनले 'एकजना जान किन डराउनु हुन्छ ? म जसरी नि तपाइँलाई पठाइदिन्छु' भने। राहतै भो।

उनले एउटा नौलो कुरो सुनाए। विराटनगरका लागि एउटा बस जान थाल्यो। डायलमा चाहिँ छैन, त्यसैले टिकट पहिले पाइँदैन। ब्याग लिएर जाने टिकट लिने, चढ्ने, लान्छ। यो बडो उत्तम कुरो थियो। त्यसै गरियो। बसपार्क पुगियो।

पोखरा-इटहरी
२९ कात्तिक, शुक्रबार, दिउँसो २ बजे। म ब्याग लिएर बसपार्क पुगेँ। काउन्टरले 'टिकट छैन' भनेपछि मैले तिनै नम्बरमा फोन गरेँ। काउन्टर स्टाफलाई कुरा गराएँ। उनले ९७०/- मा बी११ को टिकट तुरून्तै दिए।

बस चढियो तर, त्यो सीटमा अर्कै अधबैंसे सुकिला तराईवासी भलाद्मी विराजमान ! हेर्दा लाग्थ्यो कुनै कलेज पढाउने होलान्। उनलाई नम्रसँग 'मेरो सीट यहाँ हो । मसँग टिकट छ। मलाइ बस्न दिनुस्' भनेँ। छाड्न मानेनन्। उनले भने 'टिकट-सिकट म जान्दिन। बसेपछि यो सिट म छाड्दिन। जे गर्नुहुन्छ गर्नुस्।' 

यो बसले मिलाउने कुरा थियो, ती सज्जनसँग मैले बहस गरिँन। कन्डक्टर कहाँ थियो, कोहो थाहै भएन। आएपछि भनम्ला भनेर छेउकै अर्को सीटमा बसेँ।

बसका सबै सीट भरिए। बीचमा पनि यात्रु उभिए। खलासीले छतमा २५ जना छन् भन्दै गरेको सुनियो। साढे ३ मा बस हिड्यो। लेखनाथको तालचोक नजिकनजिक पुगेपछि टिकट जाँचकी आयो। मैले टिकट देखाएँ र, आफ्ना कुरा भनेँ। उनको प्रत्युत्तर गज्जपको आयो -'त्यो तपाइँको सीट होइन। काउन्टरले काट्न गल्ती गरेको हो। तपाइँ केबिनमा जानुस् बस्न।' 

तर, तुरून्त उठेर अघि निस्कने ठाउँ थिएन। बसिरहेँ । नारायणगढ पुगेपछि फेरि उनी आए र, मलाइ केबिनमा जान भने। मलाइ जसरी पनि घर जानु थियो। यात्राका सकस यसअघि पनि धेरैखालका अनुभव गरेकै हो। यो पनि नौलो होला भन्ने लाग्यो। तर, केबिन भरिएको रहेछ। म थपिएँ। टाउका गनेँ। चालकसित १५ जना। अडेस लाग्न नमिल्ने, कतै ढल्कन नमिल्ने। बडो गज्जपको बसाइँ !

चालक करिब ५०/५५ उमेरका थिए। बेला-बेला गुट्खा खाइरहने। उनीसँग थोरै कुरा भयो। पोखराबाट विराटनगर पुग्न १५० लिटर डिजल चाहिनेमा पुग्दो नभएको उनले बताए। चितवनका केही पम्पमा इन्धन पाइने आसले बस घुमाएका पनि हुन्। उनको ट्यांकीमा कति परसम्म धान्नेगरी छ भन्ने बताएनन्। तर, उनको कुराअनुसार गाडीले डिजल पाएन भने हामीलाई बाटैमा कतै रोक्न सक्थ्यो। मकवानपुरको वासामाडीमा खाना खाइयो। खाना ठीकै थियो। कुख्रा-भात २५०/-
  
बर्दिबासपछि प्रहरीको स्कर्टिङ सुरू भयो। पूर्व-पश्चिम राजमार्गमा अहिले धेरै पुलहरू जीर्ण छन्। दोहोरो गाडी पास हुँदैन। आन्दोलकारीका ढुंगाको डर सबैलाई। बसहरू रेस खेलेजसरी उछिनाउछिन गर्थे। अनि अगाडि पुल आए एकोहोरो तीनवटा गाडी कसरी पास हुनु। त्यहीँ रोकिन्थ्यो। केहीबेरमा कुरो मिल्थ्यो, अलि पालोमा जान्थे।

बाटो लामो हो। तर, निदाउन मिल्ने अवस्था थिएन। मसँग क्यामेरा र ल्यापटप बोकेको ब्याग सधैं साथ हुन्छ। यो यात्रामा आफ्नो सदाकाल बोकिरहने ब्याग गह्रौँ लाग्यो। कतै राखौं, फुट्ने डर, नराखौं ठाम छैन, आफ्नै साथ राख्नै गाह्रो। जसोतसो बाटो कटिरह्यो। लहान पुगेपछि बसका पछिल्ला केही सीट खाली भए। चमेरे सीट र भुइँमा निदाएकाहरूलाई उछिन्दै एउटा सीटमा सरेँ। बल्ल सञ्चो भो।

इनरूवा ल्यायो। झुम्काको एउटा पम्पले तेल देला की भनेर बसले १ घण्टा अड्यायो। पाइएन। अनि इटहरीसम्मका ४/५ वटा सबै पम्प चहार्दै आयो। इटहरीबाट खलासीले हामीलाई भन्यो, 'तेल छैन। दुहबीमा ब्लक छ, उता गाडी पनि जाँदैन। लु तपाइँहरू उत्रनुस्।' ठीकै छ, रमाइलै भो, ल्याउन त नजिकै ल्यायो। 

हिजै बिहानदेखि मोबाइल चार्जमा नराखेकाले म ब्याट्री-ब्याकपको भरमा चलाउँदै आएको। एक त सामसङको एन्ड्रोइड धेर ब्याट्री खाने, उसमाथि मलाइ थ्रीजी धेर चलाउन पर्नी !  म बाटामा फेसबुक र टुइटर नेटवर्कले भेटे जति ठाममा चलाउँदै आएँ। अन्ततः दुइटै ब्याकपले हावा खाए। बिहान आफू जागियो। मोबाइल सुत्यो। घरबाट फोन आइरहेथ्यो, उठाउन खोज्यो, मोबाइल कामै नगर्ने भो।

यौटा ब्याट्री-रिक्शाले २०० रुपैयाँमा विराटनगर लगिदिन्छु भन्यो। यो १९ किमि गाडीमा २५ रूपैयाँ भाडाको बाटो हो। तैपनि बिस्तारै हेर्दै-हावा खाँदै जान पाइने। आन्दोलनकारीले रिक्शा नरोक्ने भनेपछि चढियो तीनजना यात्रु। जे होस् घर पुग्न मैले महेन्द्रचोकबाट फेरि अर्को त्यस्तै वाहन लिन परो। २ सयमा। ६ किमि गाडी चल्दा १५/- भाडा लाग्ने हो। 

बन्द छ, लुट छ। जे गरे नि छुट छ, आफूलाई घर पुग्नु छ।

ब्याट्री-रिक्शावालको गन्थन 
हुन त म हरेक यात्रामा साथ रहेका अपरिचितसँग कुरा गर्दै हिड्न रमाउँछु। तर, इटहरी झरेपछि यात्राले ज्यान गलेको जस्तो लाग्याथ्यो। निन्द्रा पुगेको थिएन। २ सयमा हामीलाई चढाउन पाउँदा ठूलो पुरस्कार जितेको जस्तो गर्ने रिक्शावाल खुब खुसी देखिए।

करिब ५५/५६ उमेरका। तराईवासी। घर सोनापुर, सुनसरी। यहाँको एउटा कारखाना काम गर्दागर्दै छाडेर सिटीरिक्सा किनेको रे। सवा ३ लाखमा। ८ घण्टा चार्जमा राखे ब्याट्रीले ६० किमि धान्छ। दिनमा २ हजार/२२ सय आम्दानी। मधेस आन्दोलन सुरू भएदेखुन खुबै फस्टाएछन् यस्ता रिक्शा। उनका अनुसार इटहरीमा ४ हजार र विराटनगरमा १४/१५ सयवटा पुगिसके। किन्न सहकारीबाट ऋण पाइने। दिनदिनै कुदायो, ऋणको किस्ता घटायो। नयाँ-नयाँ भएकाले मर्मत खर्च उति नलाग्ने। 

मधेस आन्दोलन फिर्ता भए, यातायात सहज भए रोजीरोटीमा असर पर्ने चिन्ता उनलाई थियो। भन्थे -'हेर्नुस् अझै २ महिना बन्द चलिरहे मेरो ऋण सकिन्छ। रिक्शा आफ्नै हुन्छ।' ए बाबै मान्छेका अनेक अनेक कुरा छन् ! मैले सुनिमात्रै रहेँ। उनले आफूले गरेको कमाइले खान लाउन, ऋण तिर्न पुगेर बचत पनि गरिरहेको सुनाए। आफू धेरै होसले, राम्रो ड्राइभ गर्ने पनि बताए। हामी ३ यात्रुमध्येका २ लाई मुनालपथ उत्रनु थियो।
 
उनीहरूले हाइवेभन्दा केहीभित्र पुर्‍याइदिन भने। रिक्शावाल मानेनन्। 'लोकल जान्न । अर्कैमा जानुस्' भने। मैले केही पैसा थपिदिने भनेपछि तुरुन्तै राजी भए। दोस्रा ब्याट्री-रिक्शाचालकसँग खासै वार्ता भएन। बरू उनलाई महेन्द्रचोकमा रोक्दा सोधे- 'भाइ, काठमाण्डुबाट आउनुभाको ?' पोखराबाट भनेपछि 'ल हुन्छ । म जान्छु, मिलाएर दिनुहोला। बरू आउनुस् चिया पिउँ, अनि जाउँला' भने। 

यो बेग्लै आत्मीयता लाग्यो। उनले यतिउति नभनेकाले मैले घर पुगेर उनलाई पनि २ सय दिएँ। यसरी ब्याट्री-रिक्शाले महेन्द्रचोकबाट रानी पुर्‍याएको खास भाडा ५०/- रछ। मलाइ केही दिनपछि मात्रै थाहा भयो। तर, मसँग ब्यागहरू पनि थिए। घरैमा लगिदिएकाले बढी भाडा तिरेकाका अफसोच लागेन।

लु अब तलका प्रसंग चाहि ज्युँकात्युँ इकान्तिपुरको ब्लगलाई लेखेका कुरा छन्। घरबाट फिर्दाका कुरा।
***
प्रज्वलनशील बस यात्रा
'केही हुन्न। किन डराउनु हुन्छ ! मिलाएरै राखेको छ। नडराउनुस्,' चालकले यति भनेर आश्वस्त पारे पनि मलाइ भने यात्रा अवधिभर दुई थान ब्याग र चामलको बोराको चिन्ताले छाडेन। विराटनगरबाट पोखराको यात्रा थियो।

काउन्टरको स्टाफ चिनजानको भएकाले टिकट पाउन अप्ठेरो परेको थिएन। उनले भनेकै दिन, सजिलो सिटको टिकट मिलाइदिएका थिए। यसपटक टिकट लिँदा नौलो लागेको कुरो थियो- काउन्टरले बस चढ्ने बेलामा मात्रै टिकट दिनु। कुन बसको पालो पर्छ, जान्छ/जाँदैन भन्नेमा बुकिङ नै अनभिज्ञ हुने अवस्था रछ।

घरबाट कार्यक्षेत्र फिर्नको हतारो थियो। साँझ ५ बजे आइपुग्नुपर्नेमा म १ घण्टा अघि नै पुगेको थिएँ। बसले भने ७ बजेमात्रै बसपार्क छाड्यो। ४ किलोमिटर अघि बढेपछि रोकियो। कञ्चनवारी मास्तिरको धिताल पेट्रोल पम्पमा लाइनमा बस्यो। करिब ५० वटा बस लाइनमा थिए। हाम्रो बसको पालो ३ घण्टापछि मात्रै आयो। यात्रुहरू भनिरहेका थिए -'इटहरीबाट स्कर्टिङमा ११ बजेमात्रै हिड्छ।'

मसँगैको सिटमा वीरगञ्जमा काम गर्ने सप्तरी, बरमझियाका एकजना भाइ परेका थिए। सँगै पछाडिको सिटमा राजबिराजका दुई इञ्जिनियरिङका विद्यार्थी थिए। उनीहरू पोखरा विश्वविद्यालयले लिने परीक्षाका लागि हिडेका रहेछन्। तीनैजनाले सप्तरीको एरियामा लामो दूरिका बस नरोकिने हुनाले विराटनगर आएर चढ्नु परेको सुनाए। अझ पथलैया जाने भाईले पोखरासम्मकै एक हजारको भाडा तिर्नु परेको गुनासो गरे। उनले भने, 'एक त घरबाट विराटनगर आएरमात्रै बस चढन् पाइन्छ, त्यहीमाथि काम बन्द हुँदा पनि नपुगी नहुने अवस्था छ। अनि भाडा जति लिए पनि पुग्न पाए हुन्छ भन्नु परेको हो।' उनी दसैंमा घर आएर अहिले फिर्दै गरेका थिए।

हालको मधेस आन्दोलनयता लामो दूरिका बसहरू सप्तरीका एरियामा रोकिँदैनन्। कतै केहीबेर रोकिए भने पनि ती प्रहरीको स्कर्टिङको पालोमा छन् भन्ने बुझे हुन्छ। डिजल हाल्ने पम्पमा लागेको निकैबेरमा बाहिर झरेर हेरियो। त्यहाँ उही बस काउन्टरका स्टाफ भेटिए। उनले भने -'हेर्नु दाइ, कति अप्ठेरो छ भने दुइटा बसले पाउने तेल एउटालाई मिलाएर दिन लाएपछिमात्रै विराटनगरबाट पोखरा पुग्न सकिन्छ। अहिले त्यही गरेको। अर्को बस थन्किएको छ।' 

बाटामा आन्दोलनकारीले ढुंगा हान्छन्, बसलाई क्षति पुग्छ भन्नेमा अब फिक्री गरेर बस्ने अवस्था नभएको उनले बताए। 'पेटले मान्दैन, गाडी नचलाइ के गर्ने ?,' उनले भने, 'अब तेलको संकटले पो त्यो आन्दोलनभन्दा अप्ठ्यारो छ।' यातायात मजदुर संगठनका पदाधिकारी बसहरूको सूची लिएर तेल हाल्ने पालो मिलाइरहेका थिए।

एक बोरा चामल, लुगाफाटा र किताब भएका दुईवटा ब्याग मलाइ बस कर्मचारीकै सल्लाहमा पछाडि डिक्कीमा राख्न लगाइएको थियो। बस तेलको लाइनमै रहेका बेला ट्राफिक प्रहरीको एउटा जीप आयो। करिब ३० लिटर पेट्रोल रहेको जर्किन त्यही पछाडिको डिक्कीमा राख्न लगायो। त्यो शायद पोखराका कुनै आफन्तका लागि पठाएका थिए। मेरा सामान रहेकै ठाउँमा त्यो पेट्रोल भरिएको जर्किनसँगै बोरामा बाँधिएका ४/५ वटा ग्यास सिलिण्डर राखिए। उत्रेर हेरेका हुनाले मलाइ त्यो पेट्रोल पोखियो भने त मेरा सामानलाई जोखिम हुन्छ भन्ने लागेको हो। 

पछाडिको डिक्की भरिएर पुगेन, अगाडि बायाँतिरको डिक्की र बसभित्रै पनि बोरामा सिलिण्डर लोड गरियो। पश्चिममा यस्तै सामानसहित हिडेको एउटा बस दुर्घटनामा पर्दा आगलागी भएर यात्रु जली मरेको खबरले मगजमा फन्को मारिरह्यो। थोरै बस चलेका छन्। जोखिम देखेर भैगो म यो बसमा जान्न भन्दा पनि विकल्प छैन। चालकसँगको छोटो कुराकानीपछि मैले आफ्नो डर बताएर गलफती गरिरहनु पनि उचित थिएन। किनभने इन्धन हाहाकारको अवस्था बुझेरै होला अरू कोही यात्रुले पेट्रोलियम पदार्थ बसमा राख्दा गुनासो गरेको सुन्न मिलेन।

***
वाइफाइ थियो, अन गरेन। गीत बजाएन। इटहरीबाट बस करिब साढे ११ बजे पश्चिम हुइकियो। बरू यात्रुलाई सुरूमै भनिएको थियो -'इटहरीबाट बस रोकिने एकैपल्ट पथलैयामा मात्रै हो। बीचमा कहीँ पनि रोकिँदैन है।' यो सूचना गजबको थियो। मलाइ सप्तरी, बरमझियाका पेँडा पसले र लालबन्दीका खानाका होटलहरू हिजोआज के गर्दा होलान् भन्ने लागिरह्यो। राजमार्गका यस्ता व्यापारमात्र छैनन्, यी क्षेत्रका यात्रुले पनि यात्राका लागि के गर्दा होलान् ! अनि सामान्य अवस्थामा हेटौंडा, चितवन, काठमाडौं र पोखरा जाने बसले मालसामान पनि बोक्थे। हुटमा केरा हुन्थ्यो, खसीबोका र केरा, फलफूल पनि बोक्थे। अहिले बोक्तैन रछन्।

हामी चढेको बसले डिक्कीमात्र होइन, भित्र पनि पस्न-निस्कनै अप्ठेरो हुनेगरि ग्यासका सिलिण्डर हालेको थियो। कथंकदाचित दुर्घटना भइहाले झट्ट निस्केर बाहिरिने ठाउँ सजिलो थिएन। त्यो देखेर मन चिसो भइरह्यो। दुर्घटना आफैं परेर सिकिने पाठ होइन, सवारी र यात्रु दुवैले सावधान रहनु पर्छ। सावधान हुने चिन्ताले मलाइ भने निन्द्रा परेन। छेउको भाइ उसको गन्तव्य नआउञ्जेल घुरिरहे।

पेट्रोलियम पदार्थ सामान्यतः यात्रु सवार गाडीमा ओसारपसार गर्ने वस्तु होइन। यदि हुन्थ्यो भने कुरो अर्कै हुन्थ्यो। तर, यो बीचमा कहीँ कतै बसले यात्रुबाहेक के-के बोकेको छ भनेर चेकजाँच भएन। अघिल्लो साता पोखरेली मित्र गनेस पौडेलले सुनाएका थिए। उनका लागि आफन्तले ल्याइदिएको एक ग्यालन पेट्रोल बसमा चेकजाँच गरेर प्रहरीले हेटौंडामा खोसेको थियो। तर, म सवार बसमा त पेट्रोल प्रहरीले नै राख्न लगाएका थिए। यो अभावको रन्कोमा कसले किन पो चेकजाँच गर्थ्यो !

यतिका लामो दूरिमा यात्रु चढाउन र झार्न भनेर बस साँच्चै रोकेन। यो दूरिमा कुनै यात्रुले 'भोक  लाग्यो, दिसा-पिसाब आयो, रोकौं' भनेको सुन्न पाइएन। योपल्टको यात्रामा भिन्न र रमाइलो लागेको कुरा यात्रु अधिकांशले आफ्ना खानेकुरा, पानी बोकेका थिए। शौचालय जानुपर्ने खाँचो चाहिँ कसरी व्यवस्थापन गरे भन्ने थाहा भएन।

इटहरी-पथलैया बीच राजमार्गमा बस कतै थोरैबेर अडियो भने ती ठाउँमा प्रहरीको स्कर्टिङका एरियाको पालो फेरिएर अर्को जिल्लाको टोलीलाई कुर्नका लागि मात्रै थिए। जसमा यात्रुले उत्रन मिल्दैनथ्यो। बाटामा देखिन्थ्यो- प्रहरीको एउटा पिकप गाडी अगाडि लाग्थ्यो, त्यसलाई पच्छ्याउँदै बस र मालवाहक गाडी पछिपछि लाग्थे। एउटाले थोरै गति घटाए अर्को गाडी अघि बढि जान्थ्यो। गति बढे दाँया-बायाँ रेस खेलाए पाराले बसहरू एकअर्कोलाई उछिनेर अघि जाने होडमा देखिन्थे। धेरै गाडीका अग्र भागका सीसा फुटेका छन्। 

केहीले चालक अघिल्तिर सानो भाग सीसा काटेका छन्। केहीले अगाडि ढुंगा छेल्न सीसामाथि जाली लगाएका छन्। स्कर्टिङबीचको यात्रा हेर्दा-खेप्दा द्वन्द्वग्रस्त मुलुकमा भएको भान पर्छ। पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व यसैगरि रात-रात सयौंको संख्यामा सवारी चल्न भने छाडेको छैन।

***

पथलैया नाघेपछि बल्ल स्कर्टिङको झन्झट हट्यो। परीक्षा दिन हिडेका दुई विद्यार्थीले मधेस आन्दोलनले मधेसका विद्यार्थीको पढाइमा असर पारेको गुनासो गरे। एउटाले भने 'यति लामो बन्द भएपछि अरू ठाउँको उही लेवलको स्टुडेन्टसँगको कम्पिटिसनमा मधेसका त पछि परिहाल्छन् नि।' अर्काले भने 'नेतालाई चिन्ता भए पो।'

मधेसको आन्दोलनले पढाइमा पारेको असरको चिन्ताबाट म पनि मुक्त थिइँन। बन्दको ४५ दिनपछि छोराको स्कुलबाट फोन आएको थियो -'बच्चालाई आउट ड्रेसमा भोलि बिहान ७ बजेदेखि स्कुल पठाइदिनु। आन्दोलनकारीले चलाउन नदिएकाले बस लिन आउँदैन।' मेरो घर र त्यो स्कुलको दूरि ५ किमि छ। सधैं बसमा जाने केटो अब कसरी जाला भन्ने चिन्ता पछि साइकल किनिदिएर दुर गरियो। सधैं कुदाइरहने बानी नपरेको १२ वर्षे केटो अबका दिन घर ढिला पुगे कतै दुर्घटनामा पर्‍यो की भन्ने चिन्ता हुन्छ। हुन पनि चोटै पारेर २ पल्ट लडिसक्यो। मेरो त यसरी भए पनि चलेको छ तर, अरू साना नानीहरू भएका अभिभावकलाई अझ कति गाह्रो होला भन्ने सोच्दा 'मलाइ ठीकै छ' भन्नुपर्छ।

साँझ ५ बजे चढेको बस बिहान ९ बजे जब मुग्लिन काटेर पोखरातर्फ सोझियो, अनि लाग्यो-'ठीकै छ। सुरक्षित पुर्‍याए त भैगो।' बाटामा अब बसले विभिन्न ठाउँ रोकेर सिलिण्डर झार्दै गयो। अनि बुझियो, राजमार्गका होटलहरूले यस्ता बसलाई ग्यास ल्याइदिन अह्राउने रहेछन्। तनहुँ, विमलनगरमा खाना खान आइपुग्दा झण्डै ११ बजेको थियो। यहाँसम्ममा ती बसभित्रका बोरामा बाँधिएका प्रज्वलनशील फलामे भाँडा सबै उत्रिसकेछन्।

१ बजे पोखरा बसपार्कमा रोकिएपछि म हतार हतार पछाडि डिक्की हेर्न पुगेँ। मेरा सामान सुरक्षित थिए। पेट्रोलको जर्किन जसरी राखिएको थियो, उसैगरि सुरक्षित नै रैछ। मेरा सामान झारिदिएर खलासी भाइले सोधे -'दाइले पनि पेट्रोल ल्याउनु पर्थ्यो नि। यहाँ कस्तो हाहाकार छ।' म मुस्काएँ, केही भनिँन। प्रज्वलनशील सामानसहितको यात्रामा पनि सुरक्षित आउन पाएकोमा आनन्द लागेको थियो। ज्यान सुरक्षित भए नै मान्छे अभावसँग लड्दै गर्छ भन्ने लाग्यो। 

Wednesday, December 10, 2014

रमितेखोला सम्झना

मोरङका ७ गाविस पुरै पहाडी भूगोलमा छन्। विराटनगरको भू-भाग हेरेर ती गाविसका बारे अनुमान पनि अप्ठेरो छ। २०६४ वैशाख दोस्रो साता रमितेखोला गाविस यात्राका फोटामाथि आज ध्यान गयो। त्यो यात्रा जिल्लाका घुमघाम योग्य ठाउँका बारेमा खोजीका लागि थियो।

त्यसबेला याङशिला, पाटीगाउँ, सिंहदेवी, वारांगी, भोगटेनी, टाँडी र रमितेखोलालाई दुई साता लगाएर घुमिएको थियो। साथीहरु जिल्लाका स्थानीय तहका पर्यटकीय क्षेत्रको डिजिटल प्रोफाइलका लागि तथ्यांक र फोटा संकलनमा थिए। मेरो उद्देश्य उनीहरुको साथमा जाँदा नौला ठाउँ हेर्न पाइन्छ भन्ने थियो। 

मेरो यो दोस्रो यात्रा थियो। यसअघि म भेडेटारबाट पूर्व धनकुटाको डाँडाबजार भएर पाटीगाउँ, याङशिला र वारांगी हुँदै लेटां झरेको थिएँ। त्यो यात्राले मलाई मोरङ तराई मात्रै होइन रहेछ भन्ने जान्ने मौका मिलेको थियो। धनकुटासँग जोडिएका भूभाग विकट थिए। कतिपय गाउँमा बाटो पुगेकै थिएन। विराटनगरमा उखरमाउलो गर्मीका बेला वैशाखमा पाटीगाउँ टेकियो। गुराँ फुलेका थिए, न्यानो लुगा अनिवार्य हुने चिसो थियो।

यो यात्रा दोस्रो थियो। फोटो खिच्न असाध्यै सोखका बाबजुद मलाई साह्रै धेर लेख्ने र लेखनयोग्य कथा टिप्ने बानी पनि परिसकेको थिएन। आफूले बोकेका फारामअनुसार साथीहरुले तथ्य तथ्यांक टिप्दै जाँदा म फोटो खिच्दै थिएँ। 

कति घरमा बास मागेर बसियो। मास्तिर होटल नपाइने, होम-स्टेबारे जानेकाहरू नहुने। फेरि फेरि यस्तो यात्राको रहर लागे पनि समय त्यस्तो जुरेको छैन। 

साथीहरू संजोग लुइटेल र वालकृष्ण पाण्डेसँगका ती यात्रामा धेरै फोटा खिचिएको थियो। केही सीडी खुल्दै नखुल्ने भइसकेछन्। पुराना फोटा जतन गरि राख्न पनि त अप्ठेरै छ। 

रमितेको जौबारी पाँचथरको लिम्बाबाट नजिक पर्छ। यहाँ बाह्रैमास चिसो भइरहने रहेछ। इयर-फोन लाएर एफएम सुन्दै आलु गोड्दै गरेकी यी चेलिले भन्थिन् - 'यहाँ २१ वटा एफएम टिप्छ। फेरि-फेरि सुन्न पाइन्छ।' कता-कताका स्टेशन होलान् त्यो सोधिएन। तर, शैली रमाइलो लागेको थियो। 


गाउँलेको खान्की सत्कार कति रमाइलो ! अलि मास्तिर उक्लेपछि गाउँलेका घरमा काँसकै थाल प्रयोग गरेको देखिने। दाल पिउन र जाँड पिउन उही सिलबरे डबका। खानाको थाल काँसका। 

रमितेखोलामा पहाडका बीच खाल्डोजस्तो छ। वर्षैभरि पानी रहन्छ। त्यसलाई चुलीपोखरी भन्छन्। हामी गएका बेला धेरै ठाउँ गाउँले बाटो लैजाने तरखरमा देखिएका थिए। अब त ती भेगमा पनि गाडी आउजाउ गर्दो होला।  


बास मागेको एउटा घरमा त्यो रात केटाहरू टुकीको उज्यालोमा यसरी पढ्दै थिए। अब त त्यो ठाउँमा पनि बिजुली पुग्यो होला। यिनीहरू डेढ घण्टा पैदल दूरिको स्कुल जाँदा रहेछन्। यिनका लागि डेढ घण्टा। हाम्लाई हिड्दा तीन घण्टा। 

मुलुकलाई बिजुली छेलोखेलो कहिले हुने होला ? यसको उत्तर जटिल छ। केही साता अघिमात्रै भारतसँग बिजुली सम्झौता गरेको सुनियो। तर, पर्याप्त बिजुली कहिले हुन्न। हामीलाई सानैदेखि पढाइने 'नेपाल जलसम्पदामा संसारकै दोस्रो ठूलो मुलुक' झुट हो। भरपुर उपयोग कहिल्यै हुन सकेन। यसैको परिणाम हामीले खेप्ने लोडसेडिङ हुँदै हो। 

Friday, November 28, 2014

नूरसँगको यात्रा

'यू डोन्ट नो अबाउट लाइट,' रफिकी र पेप दुवै मलाई हेरेर मज्जाले हाँसे। अनि पेप बोनेटले भने, - 'वी वील बी ब्याक इन दीस रूरल एरिया अफ्टर थ्री। वी कान्ट डु फोटो इन दिस लाइट ।' (हामी यो गाउँमा ३ बजेपछि फर्कन्छौं। अहिलेको यस्तो उज्यालोमा हामीले फोटो खिच्न उपयुक्त हुँदैन।) 

खाना खानका लागि हामी कोसीब्यारेजतिर फर्कियौं। सप्तरीको जोगिनियाँमा थियौं। दिउँसोको १ बज्दै थियो। टन्टलापुर घाम। ब्यारेजमा कंकालिनी मन्दिरबाट केही पश्चिममा आइपुग्ने चोक भारदह हो। त्यहाँबाट पूर्व-पश्चिम राजमार्ग छाडेर राजबिराजतर्फ लाग्न हनुमाननगरको बाटो जान सकिन्छ। हनुमाननगरबाट एक किलोमिटर वरको गाउँ नै जोगिनियाँ हो। हामी यहीँ थियौं। यो सप्तकोशीको पश्चिमी तटबन्ध क्षेत्रबाट नजिक छ।

खाना खाएर आएपछि फेरि फोटो गर्ने। त्योबेला मान्छे होइन गाउँका दैनिकी, खोला किनारका बस्तीका गतिविधि खिच्ने सल्लाह थियो। असिम रफिकीले 'खाना खान जाने' प्रस्ताव गर्दा मैले जिस्कने पारामा भनेको थिएँ - 'ह्वाइ डोन्ट वी कम्प्लिट टास्क नाउ ? द्यान गो फर लञ्च ?' उनीहरूले मलाइ गिज्याउने पारामा 'तँलाइ फोटोग्राफीमा लाइटको महत्त्वबारे थाहा रैनछ' भने। मैले हाँसेर टारेँ। कारण - कुबेला जिस्किनेगरी बोल्नु मेरो गल्ती नै थियो।

लाइटको भाषा बुझेकाहरूबाट सुन्न मिल्छ। सामान्यतः आउटडोर फोटोग्राफीका लागि बिहान १० बजेअघि र दिउँसो ४ बजेपछिको समय उपयुक्त मानिन्छ। कारण - सूर्यको प्रकाश। घाम कताबाट छ। लिनुपर्ने विषयमाथि पर्ने प्रकाशको अवस्था नबुझे राम्रो फोटो लिन सकिन्न। फोटोग्राफी प्रकाशको भाषा हो। क्यामेराले जेसुकै विषयमाथिको उज्यालोलाई खिचेर चित्र बनाउँछ। 


जीप ब्यारेजतिर फर्कियो। हाम्रो यात्रामा अर्को एउटा गाडी पनि अघिपछि भयो। यी थिए कम्बोडियाको 'रुम कलेक्टिभ'का पत्रकारको टोली। म 'नूर इमेजेज'का दुई फोटोपत्रकारका साथ थिएँ। रूमका निक र ल्युक अलिपछिमात्रै भेट भएका थिए।
 
उनीहरूको साथ खाना खानेबेलासम्मका लागि मात्रै थियो। कारण- उनीहरूले खोज्ने खबर र खिच्ने तस्बिरका विषय हाम्राभन्दा फरक थिए। खाना खाएपछि टोली पुनः फिर्‍यो। ठाउँ खोजी-खोजी खिच्यो। एउटै विषयमाथि धेरै समय लगायो।  म गत साताको यात्राको कुरा गरिरहेको छु।

***
अस्ति भर्खर पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष महेन्द्र विष्टले सुनाएका थिए। विराटनगर सतवार्षिकोत्सव समारोह समितिका सदस्य रहनु दोष आउला कि जस्तो लागेको कुरा ।  '४८ लाख खर्च भयो भन्छन्। जहिले सोध्छु के-केमा खर्च भो हिसाब देखाउनुस् हामी पनि हेरौं,' उनले भने, 'कर्मचारी हामीले हिसाब मिलाइसक्यौँ, केलाइ खोज्नु हुन्छ पो भन्छन् ! सदस्यका नाताले एउटा बैठकमा मैले एक कप चियाबाहेक केही खाएको छैन। हिसाबमा तलमाथि निस्क्यो भने दोष आउला भन्ने पीर छ।' 

यो एउटा कार्यक्रमको हिसाब मिलानको प्रसंग थियो। हाम्रा सरकारी कार्यक्रम स्वास्थ्य, शिक्षा, नगर विकास आदि जेमा पनि जति गहिरिएर हेर्‍यो बजेट खर्चनुको तरिका, क्षेत्र र उपयोगमाथि प्रश्न उठाउने ठाउँ निस्कन्छ। दातृका कार्यक्रममा पनि बजेटको राम्रै हिस्सा कन्सल्ट्यान्टले लैजान्छन्। धेरै कार्यक्रम यस्ता छन् जसको अनुगमन आग्रहले ओतप्रोत हुन्छ।

२०७१ मंसिर ११ का विराटनगरका पत्रिकाले रमाइलो खबर लेखेका थिए। सिडिओको नेतृत्वमा खोलाका ढुंगा-गिटी अनुगमनमा हिडेको टोलीको। योजना अधिकृत बीच बाटैबाट त्यही ठेकेदारको गाडी चढेछन् जसको कामबारे अनुगमन गर्न टोली हिडेको थियो। बाटामा उतारेर सिडियोले सार्वजनिक रूपमै हप्काएछन्। भैगो यी कुरा।

नूरको टिम यस्तै एउटा खबरको लागि आएको थियो, जो कुनै संयुक्त राष्ट्र संघीय कार्यक्रमको हाँगाको भरमा धेरै विकासोन्मुख मुलुकमा चलेका छन्। खासमा रिपोर्टले सेवाग्राही भनेर पठाएका नामहरूले सेवा पाएकै हुन् ? हुन भने कस्तो अवस्थाका हुन् ? त्यो सेवा लिने अवस्थासम्म उनीहरू कसरी पुगे ? काम गराई पुरै समयको हिसाब किताबको थियो। काममा कुनै कसैको आग्रह र हस्तक्षेप थिएन।

***
नूर इमेजेजको टिमसँग ५ दिन यात्रा गर्दा हाम्रो राजधानी बाहिरका पत्रकारले गर्ने फोटोग्राफी र विदेशीले गर्ने बीचका अन्तरहरू देख्न पाइयो। रफिकी पोट्रेट फोटो र बोनेट डीएसएलआरबाट भिडियो खिच्ने। दुवैलाई आफूले खिचेका विषयमाथिका कथा पनि चाहिएको थियो।

फोटो, भिडियो, लेखन, अडियो लिने सबै काम एकसाथ गरिरहेका थिए। एउटा विषयमा चाहिने जानकारी केही नछुटाउने तरिकाको काम गराइ थियो उनीहरूको। फोटो र भिडियोका लागि प्रकाशको मापदण्ड पुरै नापजोखसहितको। लाइट मिटर, जीपीएस आदि सबैको काम लिइने। पोट्रेट खिच्न पनि सब्जेक्टको ब्याकग्राउण्डमा सेतो पर्दा राख्ने, एक्स्टर्नल फ्ल्यास पनि कोडालाइटको ठूलो चलाउने। त्यसको ब्याट्री पनि भारी भरकम। पहिले भिडियो-अडियो। त्यसपछि फोटोको काम। 

हुन त फोटोपत्रकारिता आफैंमा जटिल छ। जटिल यस अर्थमा - खिचेर हिँड्न पाइँदैन। के खिचियो ? त्यसको जानकारी टिप्नै पर्छ। टिपेको जानकारीलाई न्याय दिने फोटो हुनैपर्छ।
 
हाम्रो नेपाली फोटोपत्रकारितालाई अर्थ्याउनु पर्दा मलाई सोखका लागि गीति एल्बम निकल्ने र गायनलाई निरन्तरता दिएर टिक्न खोज्नेका उदाहरण सटिक लाग्छ। आफ्नो आवाज सुन्नके लागि नि पैसा खर्च हुन्छ। यो रहर, ट्रायल अनेक रूपमा हुन सक्छन्। करिअर नै बनाउनका लागि पनि मान्छे जिन्दगीमा 'टर्निङ प्वाइन्ट' पर्खिरहेको हुन्छ। राम्रो गाउनेले पनि खास प्रकारका मोडमा आफूलाइ प्रमाणित हुनेगरि उपस्थित गराउन सकेन भने करिअरको बाटो फेरिन्छ। यो बाटोको तालमेल अनौठो छ।
 

फोटोपत्रकारिताको करिअर बनाउँछु भनेर कस्सिनेका लागि हाम्रा नेपाली सञ्चारमाध्यम कति मित्रवत छन् भन्नेमा केलाउनु-खुर्किनुपर्ने कुरा धेरै छन्। आफ्नो घरबाट पैसो हालेर सञ्चारमाध्यमका लागि काम गरिरहेको युगमा नेपाली छन्। केही समय बिताउन रहर गरेर सञ्चारमाध्यममा पस्ने पनि जमात छ। त्यो पक्कै लामो समय टिक्दैन तर, पारिश्रमिक पाए/नपाए पनि निस्फिक्री रहने मनुवाहरूका कारण यसैलाई करिअर बनाउँछु भन्नेलाई अप्ठ्यारा सिर्जित हुन्छन्। 

नेपाली फोटोपत्रकारितामा अहिले पनि २/४ जनाबाहेक अरूले निजी सम्पत्ति खर्चेर किनेका सामान खियाएका छन्। काम गरिरहेको माध्यम देखिने ठाउँ हो, यसका आधारमा बाहिरका आवधिक अवसर हात पार्ने काम गरिन्छन्/गर्छन्। की वायर सर्भिसका लागि काम गर्न पाए टिकिने, कि त आफ्नो अर्को बलियो आधार भएर पत्रकारिता नामका लागि गर्नेलाई सजिलो छ।  

यी दुई पाहुना आफू कार्यरत संस्थालाई सबथोक किनाएर क्याप्चर भएका कुरामात्रै दिनेगरि आएका थिए। कसैलाई भेट्नै परे उसको समय नाश हुने, आर्थिक नोक्सानी पर्ने अवस्थामा क्षतिपूर्ति दिनेसम्मको विकल्प उनीहरूका साथ थियो।
 
**** 
पाकिस्तानी मुस्लिम परिवारका रफिकीले आफ्ना अनुभव सुनाए - 'मैले धेरैपल्ट टाइम्स, न्यूयोर्क टाइम्स र यस्ता ठूला पत्रिकाका सम्पादक तहकाहरूसँग झगडा गरेको छु। धेरैजना फोटोपत्रकारलाई अवमूल्यन गरेर हतोत्साही गरिरहेका हुन्छन्।' आफ्नो कामको मूल्यांकन आफैं गरेर अघि बढ्नको विकल्प नभएको उनले बताए।

'धेरैपल्ट फोटो स्टोरी त्यस्ताको प्रमुखतासाथ छापिन्छ, जो एडिटर, पेज एडिटरका चिनजानका, आफन्त र मूल रूपमा फोटोपत्रकारितालाई मुख्य काम मानेर गर्ने हुँदैनन्,' उनले भने, 'यो एक प्रकारले फोटोपत्रकारलाई चिढ्याउने काम हो । पेसामाथिको भद्दा मजाक हो। तर, गर्छन्। गरिरहेका छन्। त्यसैले कहिलेकाँही झगडा पर्छ।' यस्तो स्थिति जहाँसुकैका सञ्चारमाध्यममा समस्या भएको उनले सुनाए । 

'तर, निराश नभइ आफूले छानेको विषयमाथि राम्रो काम गरेर अडान राख्नैपर्छ,' उनले विकल्प बताए, 'सोसल मिडियामा आफ्नो कामको प्रचार हुनेगरि पोस्ट बढाउनु पर्छ। यसका लागि फेसबुक, इन्स्ट्राग्राम र यस्ता माध्यम ठीक छन्। पत्रिकाका पाठकले यी माध्यमबाट पनि फोटोपत्रकारको कामलाई याद गर्छन्।'

रफिकी सञ्चारमाध्यमसँगको कामका मामिलामा कुरा गराइले अनुभवी लागे। उनका तर्क हाम्रो कामका मामिलामा पनि धेरै फरक थिएन। 'एउटा फोटो स्टोरी गरौँ। त्यसको अलि लामो टेक्स्ट लेखौं। पेज एडिटरले २/३ वटा फोटोमात्रै छानेर काम खत्तम गर्छ,' उनले बताए, 'अरू फोटा जतनसाथ राख्ने अनि मौका पर्खने। छिटो र भनेकै बेला नहुन सक्ला तर, त्यो कामको कदर हुने समय आउँछ।'

मलाइ लाग्यो- 'के कुरा गर्छ यसले ! सोझो र सुनिदिने भेटेर खुब अर्तिवाला कुरा गरिरहेछ !,' मैलै सोधेँ - 'त्यसरी मौका आउला भनेर कसरी चल्छ ? कहिले आउँछ त वास्तवमै मौका ?' 

उनी हाँसे र, भने - 'म भन्न सक्दिन । तर, आउँछ भन्ने थाहा छ। मेरा लागि आएका छन्।'  साँच्चै आदर्शका कुरा गर्न सजिलै हुन्छ। व्यवहारिक हुने कसरी भन्ने चाहि मान्छेले भोग्छ-सिक्छ। 

उनले सम्झौता नगरी विषय टिप्नुपर्ने बताइरहे। म सुनिरहें। भेटको दोस्रो दिन थियो दुवैका कामका तरिका देख्न पाएको। धरानको बसाइँमा मैले यी दुवै भेट्रानहरूका गूगलले देखाएका केही लिंक खोलेर हेरें। साँच्चै निकै काम गरेकाहरू रहेछन्।
 
पेपको काम गराइ रफिकीभन्दा फरक। उनले विषयलाई आफ्नो उपस्थितिको बाधा पर्न नदिइ खिच्थे। यो शैली मलाई मन परेको हो। उनी कम बोल्थे। फरर नभए नि काम चल्ने उर्दू बोल्ने रफिकी कश्मीरका मुसलमान परिवारका, हाल उनका आफन्त पाकिस्तानमा। आफू अफ्रिका बसेर रूवान्डामा काम गरिरहेका। 

नेचुरल लाइटमै काम गर्न मन पराउने पेप स्पेनिस। 'म लाइट डिस्टर्ब गरेर खिच्दा रमाउँदिन,' उनले भने, 'जस्तो छ त्यही नेचुरल लाइटमा फोटो गर्दा राम्रो । मैले अहिलेसम्म त्यस्तै गर्दै आएको छु।'

***
निकोनको डी८१० (फुलफ्रेम) क्यामेराधारी यो जमात फिक्स र २.८ लेन्स चलाइरहेका थिए। दुई ट्राइपोर्ट, एक्स्टर्नल भ्यू-फाइन्डर, हार्ड-ड्राइभ, फ्ल्यास, माइक, रेकर्डर, त्यसका आवश्यक डिभाइसहरू। एप्पलका ल्यापटप। लोप्रोका ब्याग।  सामानको अति जतन गर्ने। हराउला, झर्ला, धुलो लाग्ला भनेर चनाखो। स्थितिअनुसार बढी ट्राइपोर्ट नै प्रयोग गर्ने।
 

एउटा खास विषयका लागि यिनीहरू आफू अनुकूल परिस्थिति बनाउन हरतरहले तयार थिए। खोटाङ फर्कनुपर्ने एउटा जोडीलाई एक दिन रोकिन लगाएर होटल, खाना र गाडीभाडा दिएपछि उनीहरू कतिसम्म तयारीमा थिए भन्ने बुझियो।

फुर्सदमा पेप एमेजोनमा आउने क्यामेराका सहयोगी डिभाइसबारे सर्च गरिरहने। रफिकी इन्स्ट्राग्राममा फोटो पोष्ट गरिरहने। नूरको अर्को टोली पाकिस्तान पुगेको रहेछ । त्यो टोली पनि उसैगरि फोटो पोष्ट गरिरहेको थियो।  
***
हामीले धरानबाट थालेको यात्रामा सप्तरीको जोगिनियाँ, सिरहाको कर्जन्हाहुँदै धनुषाको रघुनाथपुर छिचोलियो । रघुनाथपुरको किरतपुर पुग्दा झमक्क साँझ परेको थियो । नेपाली भाषा बुझ्ने नै भेट्न गाह्रो । तर, तराईका भाषा सजिला छन् । जवाफ उनीहरूकै लबजमा फिराउन सकिएन भने पनि भोजपुरी-मैथिली मिसाएर बोल्दा चल्छ । थोरै हिन्दी थोरै नेपाली मिसाएर जवाफ दिँदा पनि सञ्चार हुन्छ । भाषैले समस्या भएन ।

अहिलेका डीएसएलआर क्यामेरा भिडियो खिच्न गज्जप सुविधासहितका छन् । तर, कस्तो खिच्ने ? जेमा दिनुपर्ने हो, त्यहाँ गुणस्तर बुझेकाहरू के खोज्छन् ? यी प्रश्न महत्त्व राख्छन् । ती महत्त्वअनुसारै हुने रहेछ मूल्य र गुणस्तरका लागि क्यामेराको चयन ।
फोटो सकभर ठूलो साइजमा 'र' फर्मेटमा खिच्ने ।

***
नेपाली यूनिकोडमै फरर टाइप गर्दै जाम भनेको ..................
लेख्ता लेख्तै अल्छि लाग्यो । 
कुनैबेला लेखम्ला फुर्सदमा फेरि ।