Tuesday, November 10, 2015

प्रज्वलनशील बस यात्रा

शीर्षक उही चिर-परिचित अति सुरक्षित भन्या जस्तो नै छ, जो हिजोका दिन इकान्तिपुरको ब्लगमा पढ्न मिलेको भन्ने ठान्नुभो भने ममाथि अन्याय हुन्छ भन्छु । गन्थन पनि उनै हुन नठान्नुस् । यता अलि सप्रसँग व्याख्याको प्रयास छ । तैपनि गन्थन त गन्थनै हो । तिनै ब्लग लेखनको लेखोटमाथि थपथाप । हिजो पोखरा फिर्दाको कुरा लेखियो, यसमा जाँदाका कुरा पनि समावेश छन् । फिर्दाका कुरा लेखेपछि लाग्यो, जाँदाका कुरा पनि त रमाइला थिए । आखिर जिन्दगी फ्याट्ट एक्सिडेन्टमा नपरुञ्जेल गज्जप-गज्जप देख्न-भोग्न मिल्छ/मिलेकै छ । अफिसको वेबसाइटमा प्रकाशित हुनेगरि लेख्दा भरसक छरितो लेखे निको मान्छन् भन्ने कुरा दिमाखमा घुमिरनी, अनि लेखमा लाग्या कति कुरो बिर्सिपठाउनी हुँदो रछ । नियन्त्रित अवस्थाको लेखाइ । भाषाका पनि सीमानामा बस्न पर्छ । नितान्त व्यक्तिगत गन्थन त डायरी जसरी आफ्नै ब्लगमा लेख्नुपर्छ भन्ने लागेर यताको जमर्को गरेको हो भनेर भन्नुस् ।
दसैंको अल्झो
उसै पनि महान तथा गौरवशाली पर्व । घर जानै पर्छ । कारण- परिवार, मातापिता । जेठो छोरो दसैंमा कहिल्यै घरबाहिर रहेको इतिहास बनाउनु पाइएन । जान त जानु तर, कसरी पो ! म पोखरामा छु । घर विराटनगर । बीचमा मधेस आन्दोलित भाको क्षेत्र पर्छ ।
बसपार्क पुगेँ । विराटनगर जाने बसको आउजाउ रोकिएको रछ । धरान र काँकडभिट्टाका लागि यौटा-यौटा चल्दै रछ । तिनमा इटहरीसम्म पुग्न पाए १९ किमि त हो, त्यहाँबाट ब्याट्री-रिक्शा वा अरू विकल्प हुन सक्छ । तर, चार दिनपछिसम्मका टिकट हाउसफुल । डिजल पाइँदैन । चल्दै रहेका बस पनि नियमित हुने/नहुने टुंगो रैनछ । टिकस पाइएन ।
बसपार्क पुग्दा अखबारमा पढेको, टिभीमा देखेको बसका बिजोक दर्शन गर्नै मिल्यो । अगाडिका सीसा फुटेका छन् । बसहरू बिचरा भन्नु जस्ता छन् । फिरेर अफिस आएपछि फेसबुकमा यौटा स्टाटस लेखियो- 'यो बेला बसको यात्रा कतिको सुरक्षित छ ? कृपया जानकार मित्रले भन्दिनुस्न । बसपार्क पुगेर आज अहिलेका बसको अवस्था हेर्दा साह्रै-साह्रै ठीक जस्तो लागेन । हेलमेट लाएर पनि के बसमा हिड्नु !'
आठवटा कमेन्ट आए । तिनका आधारमा बसमै पनि जान सकिने बुझियो । तर, एक मनले लाग्यो-'मसँग मोसा छ नि । त्यही लिएर जान पाए उता नि हिड्न सजिलो हुन्थ्यो ।'
रौतहट-सर्लाहीका साथी शिव र अमनलाई फोन गरेँ । सोधेँ- मोटरसाइकलमा आउजाउ गर्दा कस्तो होला ? दुवैले अति उत्तम भने, केहीबेर उनीहरूकहाँ पनि रोकिन पर्ने सर्तसहित । कुरो ठीकै थियो । म बाटाउदी फोटा खिचिहिड्न रमाउने मनुवाका लागि मोसा यात्राभन्दा अरू रमाइलो के हुन्थो ! तर, बिगारो पेट्रोलले । त्यो पदार्थ नखुवाइ मोसा नकुद्ने । त्यो मोरोको हाहाकार । बल्लतल्ल प्रेसका नाताले ५ सयको पाइयो । प्लान त सक्सेस होला जस्तो भयो । हेटौडामा काका-बडाबाका घर छन् । त्यताका दाजुभाइलाई फोन लाएँ- 'म मोसामा घर जान लाग्या । ७/८ लिटर पेट्रोल खोज्द्याओ ।' उनीहरूले 'हुन्छ/आइज' भने । फेरि आफ्नै मनले भन्यो -'यति लामो बाटो त्यो जाबो स्प्लेन्डरमा के जान्छस् । दुःख हुन्छ । ढाड दुख्छ । फेरि उसैगरि आउन सक्लास् ?' यो बडो गम्भीर कुरो थियो ।
म पोखरा आउँदा मोसा ढुवानीमा हाल्द्या थिएँ । ४/५ दिनपछि ट्रक चढेर आएको हो । हुन पनि ९९ सीसीको ७ वर्ष पुरानो मोसामा लामो दूरिको यात्रा सहज हुँदैनथ्यो । यो मेरो यसो यतैका वरपर घुम्नका लागि ठिक्कको वाहन हो ।   
अफिस विदा अष्टमीबाट हुने थियो । नौरथा सुरू भएयता घरबाट छोरा, श्रीमति र आमाको फोन बिहान-बेलुकै आउन थालो - 'दसैं सुरू भइसक्यो । कहिले आउने ? कसरी आउने ?' आफैंलाई पनि लामो एक्लो बसाइँ दिक्क लागेको थियो । बिहान-बेलुकै आफैं खाना बनाएर खानु, खाली काम काम भन्नु । दिक्क हुनु अस्वभाविक थिएन/होइन । इच्छ्याउँदैमा पुगिहाल्न मान्छेका पखेटा हुन्नन् । 
पोखराबाट काठमाडौं, त्यहाँबाट अरू विकल्प भएन भने पनि हवाइजहाजमा पुग्न त सकिन्थ्यो । तर, घरभन्दा टाढा रहेर ठिक्क-ठिक्क जीवन चल्ने पारिश्रमिकमा काम गर्नेका लागि हवाइभाडा महंगो । चाडबाडमा त्यसै पनि खर्च बढ्छ, किन पो खर्च बढाउनु । उता भाइले टीका लाएर एकादसीको दिनदेखि चार दिन सपरिवार कोलकाता घुम्न जाने योजना फिक्स गरेको एक महिनाअघि नै हो । यो मोरो नाकाबन्दी सुरू भएयता मलाइ इण्डिया घुम्न जान मनै मरेको हो । तैपनि भाइ र मेरा केटकेटीको रेल चढ्ने, साइन्स सिटी घुम्ने रहर । भाइलाई एकपल्ट 'होस नजाउँ, टिकट क्यान्सिल गरिदे' भनेको पनि हो । तर, क्यान्सिल गर्दा नि पैसो लाग्ने रैछ भनेर उ मानेन । जाने कुरा निश्चित थियो । अनि निश्चित बेलैमा घर जान नपाए मैले दसैंमा धेर दिन घर बस्न नपाउने पनि ।
विराटनगर बसपार्कको पोखरा काउन्टरमा एकजना मित्र छन् । ताराबहादुर (थर थाहा छैन ) । तिनले एकपटक आफूले काम गर्ने जगदम्बा बसका सञ्चालकको मोबाइल नम्बर दिएका थिए । पोखरा पुगेपछि चिनजान गर्नु, भलादमी छन् भनेर । पहिले ताराजीलाई फोन गरेँ । उनले भने -'हाम्रो विराटनगरवाला बस चलेको छैन । चल्ने टुंगो पनि छैन ।' दिन बिते । बजारलाई दसैं लाग्यो, रेडियोले धुन बजाको-बजाकै । उनका सञ्चालकलाई फोन गरेँ । उनले एउटा नम्बर दिए, उतैका बस हेर्नेको । तिनलाई डायल गरेँ । उनले 'एकजना जान किन डराउनु हुन्छ ? म जसरी नि तपाइलाई पठाइदिन्छु' भने । राहतै भो ।
उनले एउटा नौलो कुरो सुनाए । विराटनगरका लागि एउटा बस जान थाल्यो । डायलमा छैन । त्यसैले टिकट पहिले पाइँदैन । ब्याग लिएर जाने टिकट लिने, चढ्ने, लान्छ । यो बडो उत्तम कुरो थियो । त्यसै गरियो । बसपार्क पुगियो ।
पोखरा-इटहरी
२९ कात्तिक, शुक्रवार, दिउँसो २ बजे । म ब्याग लिएर बसपार्क पुगेँ । काउन्टरले टिकट छैन भनेपछि मैले तिनै नम्बरमा फोन गरेँ । काउन्टर स्टाफलाई कुरा गराएँ । उनले ९७०/- मा बी११ को टिकट तुरून्तै दिए ।
बस चढियो तर, त्यो सीटमा अर्कै अधबैंसे सुकिला तराइवासी भलाद्मी विराजमान ! हेर्दा लाग्थ्यो कुनै कलेज पढाउने होलान् । उनलाई नम्रसँग 'मेरो सीट यहाँ हो । मसँग टिकट छ । मलाइ बस्न दिनुस्' भनेँ । छाड्न मानेनन् । उनले भने 'टिकट-सिकट म जान्दिन । बसेपछि यो सिट म छाड्दिन । जे गर्नुहुन्छ गर्नुस् ।' यो बसले मिलाउने कुरा थियो, ती सज्जनसँग मैले बहस गरिँन । कन्डक्टर कहाँ थियो, कोहो थाहै भएन । आएपछि भनम्ला भनेर छेउकै अर्को सीटमा बसेँ ।
बसका सबै सीट भरिए । बीचमा पनि यात्रु उभिए । खलासीले छतमा २५ जना छन् भन्दै गरेको सुनियो । साढे ३ मा बस हिड्यो । लेखनाथको तालचोक नजिकनजिक पुगेपछि टिकट जाँचकी आयो । मैले टिकट देखाएँ र, आफ्ना कुरा भनेँ । उनको प्रत्युत्तर गज्जपको आयो -'त्यो तपाइँको सीट होइन । काउन्टरले काट्न गल्ती गरेको हो । तपाइ केविनमा जानुस् बस्न ।' तर, तुरून्त उठेर अघि निस्कने ठाउँ थिएन । बसिरहेँ । नारायनगढ पुगेपछि फेरि उनी आए र, मलाइ केबिनमा जान भने । मलाइ जसरी पनि घर जानु थियो । यात्राका सकस यसअघि पनि धेरैखालका अनुभव गरेकै हो । यो पनि नौलो होला भन्ने लाग्यो । तर, केबिन भरिएको रहेछ । म थपिएँ । टाउका गनेँ । चालकसित १५ जना । अडेस लाग्न नमिल्ने, कतै ढल्कन नमिल्ने । बडो गज्जपको बसाइँ !
चालक करिब ५०/५५ उमेरका थिए । बेला-बेला गुट्खा खाइरहने । उनीसँग थोरै कुरा भयो । पोखराबाट विराटनगर पुग्न १५० लिटर डिजल चाहिनेमा पुग्दो नभएको उनले बताए । चितवनका केही पम्पमा इन्धन पाइने आसले बस घुमाएका पनि हुन् । कति छ भन्ने भनेनन् । तर, उनको कुराअनुसार गाडीले डिजल पाएन भने हामीलाई बाटैमा कतै रोक्न सक्थ्यो । मकवानपुरको वासामाडीमा खाना खाइयो । खाना ठीकै थियो । कुख्रा-भात २५०/-  
बर्दिवासपछि प्रहरीको स्कर्टिङ सुरू भयो । पूर्व-पश्चिम राजमार्गमा अहिले धेरै पुलहरू जीर्ण छन् । दोहोरो गाडी पास हुँदैन । आन्दोलकारीका ढुंगाको डर सबैलाई । बसहरू रेस खेलेजसरी उछिनाउछिन गर्थे । अनि अगाडि पुल आए एकोहोरो तीनवटा गाडी कसरी पास हुनु । त्यहीँ रोकिन्थ्यो । केहीबेरमा कुरो मिल्थ्यो, अलि पालोमा जान्थे ।
बाटो लामो हो । तर, निदाउन मिल्ने अवस्था थिएन । मसँग क्यामेरा र ल्यापटप बोकेको ब्याग सधैं साथ हुन्छ । यो यात्रामा यो ब्याग गह्रौ लाग्यो । कतै राखौं, फुट्ने डर, नराखौं ठाम छैन, आफ्नै साथ राख्नै गाह्रो । जसोतसो बाटो कटिरह्यो । लहान पुगेपछि बसका पछिल्ला केही सीट खाली भए । चमेरे सीट र भुइँमा निदाएकाहरूलाई उछिन्दै एउटा सीटमा सरेँ । बल्ल सञ्चो भो ।
इनरूवा ल्यायो । झुम्काको एउटा पम्पले तेल देला की भनेर बसले १ घण्टा अड्यायो । पाइएन । अनि इटहरीसम्मका ४/५ वटा सबै पम्प चहार्दै आयो । इटहरीबाट खलासीले हामीलाई भन्यो 'तेल छैन । दुहबीमा ब्लक छ, उता गाडी पनि जाँदैन । लु तपाइँहरू उत्रनुस् ।' ठीकै छ, रमाइलै भो, ल्याउन त नजिकै ल्यायो । हिजै बिहानदेखि मोबाइल चार्जमा नराखेकाले म ब्याट्री-ब्याकपको भरमा चलाउँदै आएको । एक त सामसुङको एन्ड्रोइड धेर ब्याट्री खाने, उसमाथि मलाइ थ्रीजी धेर चलाउन पर्नी !  म बाटामा फेसबुक र टुइटर नेटवर्कले भेटे जति ठाममा चलाउँदै आएँ । अन्ततः दुइटै ब्याकपले हावा खाए । बिहान आफू जागियो । मोबाइल सुत्यो । घरबाट फोन आइरहेथ्यो, उठाउन खोज्यो, मोबाइल कामै नगर्ने भो ।
यौटा ब्याट्री-रिक्शाले २ सयमा विराटनगर लगिदिन्छु भन्यो । यो १९ किमी गाडीमा २५ रूपैयाँ भाडाको बाटो हो । तैपनि बिस्तारै हेर्दै-हावा खाँदै जान पाइने । आन्दोलनकारीले रिक्शा नरोक्ने भनेपछि चढियो तीनजना यात्रु । जे होस् घर पुग्न मैले महेन्द्रचोकबाट फेरि अर्को त्यस्तै वाहन लिन परो । २ सयमा । ६ किमी गाडी चल्दा १५/- भाडा लाग्ने हो । बन्द छ, लुट छ । जे गरे नि छुट छ, आफूलाई घर पुग्नु छ ।
ब्याट्री-रिक्शावालको गन्थन 
हुन त म हरेक यात्रामा साथ रहेका अपरिचितसँग कुरा गर्दै हिड्न रमाउँछु । तर, इटहरी झरेपछि यात्राले ज्यान गलेको जस्तो लाग्याथ्यो । निन्द्रा पुगेको थिएन । तर, २ सयमा हामीलाई चढाउन पाउँदा ठूलो पुरस्कार जितेको जस्तो गर्ने रिक्शावाल खुब खुसी देखिए ।
करिब ५५/५६ उमेरका । तराइवासी । घर सोनापुर, सुनसरी । यहाँको एउटा कारखाना काम गर्दागर्दै छाडेर किनेको रे । सवा ३ लाखमा । ८ घण्टा चार्जमा राखे ब्याट्रीले ६० किमी धान्छ । दिनमा २ हजार/२२ सय आम्दानी । मधेस आन्दोलन सुरू भएदेखुन खुबै फस्टाएछन् यस्ता रिक्शा । उनका अनुसार इटहरीमा ४ हजार र विराटनगरमा १४/१५ सयवटा पुगिसके । किन्न सहकारीबाट ऋण पाइने । दिनिदनै कुदायो, ऋणको किस्ता घटायो । नयाँ-नयाँ भएकाले मर्मत खर्च उति नलाग्ने । मधेस आन्दोलन बन्द भए, यातायात सहज भए रोजीरोटीमा असर पर्ने चिन्ता उनलाई थियो । भन्थे -'हेर्नुस् अझै २ महिना बन्द चलिरहे मेरो ऋण सकिन्छ । रिक्शा आफ्नै हुन्छ ।' ए बाबै मान्छेका अनेक अनेक कुरा छन् । मैले सुनिमात्रै रहेँ । उनले आफूले गरेको कमाइले खान लाउन, ऋण तिर्न पुगेर बचत पनि गरिरहेको सुनाए । आफू धेरै होसले, राम्रो ड्राइभ गर्ने पनि बताए । हामी ३ यात्रुमध्येका २ लाई मुनालपथ उत्रनु थियो । 
उनीहरूले हाइ-वेभन्दा केहीभित्र पुर्‍याइदिन भने । रिक्शावाल मानेनन् । 'लोकल जान्न । अर्कैमा जानुस्' भने । मैले केही पैसा थपिदिने भनेपछि तुरुन्तै राजी भए । दोस्रा ब्याट्री-रिक्शाचालकसँग खासै वार्ता भएन । बरू उनलाई महेन्द्रचोकमा रोक्दा सोधे- 'भाइ, काठमाण्डुबाट आउनुभाको ?' पोखराबाट भनेपछि 'ल हुन्छ । म जान्छु, मिलाएर दिनुहोला । बरू आउनुस् चिया पिउँ, अनि जाउँला' भने । यो बेग्लै आत्मियता लाग्यो । उनले यतिउति नभनेकाले मैले घर पुगेर उनलाई पनि २ सय दिएँ । यसरी ब्याट्री-रिक्शाले महेन्द्रचोकबाट रानी पुर्‍याएको खास भाडा ५०/- रछ । मलाइ केही दिनपछि मात्रै थाहा भयो । तर, मसँग ब्यागहरू पनि थिए । घरैमा लगिदिएकाले बढि भाडा तिरेकाका अफसोच लागेन ।
लु अब तलका प्रसंग चाहि ज्युँकात्युँ इकान्तिपुरको ब्लगलाई लेखेका कुरा छन् । घरबाट फिर्दाका कुरा ।
प्रज्वलनशील बस यात्रा
'केही हुन्न । किन डराउनु हुन्छ ! मिलाएरै राखेको छ । नडराउनुस्' चालकले यति भनेर आश्वस्त पारेपनि मलाइ भने यात्रा अवधिभर दुइ थान ब्याग र चामलको बोराको चिन्ताले छाडेन । विराटनगरबाट पोखराको यात्रा थियो ।
काउन्टरको स्टाफ चिनजानको भएकाले टिकट पाउन अप्ठेरो परेको थिएन । उनले भनेकै दिन, सजिलो सिटको टिकट मिलाइदिएका थिए । यसपटक टिकट लिँदा नौलो लागेको कुरो थियो- काउन्टरले बस चढ्ने बेलामा मात्रै टिकट दिनु । कुन बसको पालो पर्छ, जान्छ/जाँदैन भन्नेमा बुकिङ नै अनभिज्ञ हुने अवस्था रछ ।
घरबाट कार्यक्षेत्र फिर्नको हतारो थियो । साँझ ५ बजे आइपुग्नुपर्नेमा म १ घण्टा अघि नै पुगेको थिएँ । बसले भने ७ बजेमात्रै बसपार्क छाड्यो । ४ किलोमिटर अघि बढेपछि रोकियो । कञ्चनवारी मास्तिरको धिताल पेट्रोल पम्पमा लाइनमा बस्यो । करिब ५० वटा बस लाइनमा थिए । हाम्रो बसको पालो ३ घण्टापछि मात्रै आयो । यात्रुहरू भनिरहेका थिए -'इटहरीबाट स्कर्टिङमा ११ बजेमात्रै हिड्छ ।'
मसँगैको सिटमा बिरगञ्जमा काम गर्ने सप्तरी, बरमझियाका एकजना भाइ परेका थिए । सँगै पछाडिको सिटमा राजबिराजका दुइ इञ्जिनियरिङका बिद्यार्थी थिए । उनीहरू पोखरा विश्वविद्यालयले लिने परीक्षाका लागि हिडेका रहेछन् । तीनैजनाले सप्तरीको एरियामा लामो दूरिका बस नरोकिने हुनाले विराटनगर आएर चढ्नु परेको सुनाए । अझ पथलैया जाने भाईले पोखरासम्मकै एक हजारको भाडा तिर्नु परेको गुनासो गरे । उनले भने 'एक त घरबाट विराटनगर आएरमात्रै बस चढन् पाइन्छ, त्यहीमाथि काम बन्द हुँद पनि नपुगी नहुने अवस्था छ । अनि भाडा जति लिए पनि पुग्न पाए हुन्छ भन्नु परेको हो ।' उनी दसैंमा घर आएर अहिले फिर्दै गरेका थिए ।
हालको मधेस आन्दोलनयता लामो दूरिका बसहरू सप्तरीका एरियामा रोकिँदैनन् । कतै केहीबेर रोकिए भने पनि ती प्रहरीको स्कर्टिङको पालोमा छन् भन्ने बुझे हुन्छ । डिजल हाल्ने पम्पमा लागेको निकैबेरमा बाहिर झरेर हेरियो । त्यहाँ उही बस काउन्टरका स्टाफ भेटिए । उनले भने -'हेर्नु दाइ, कति अप्ठेरो छ भने दुइटा बसले पाउने तेल एउटालाई मिलाएर दिन लाएपछिमात्रै विराटनगरबाट पोखरा पुग्न सकिन्छ । अहिले त्यही गरेको । अर्को बस थन्किएको छ ।' बाटामा ढुंगा हान्ने आन्दोलनकारीले ढुंगा हान्छन्, बसलाई क्षति पुग्छ भन्नेमा अब फिक्री गरेर बस्ने अवस्था नभएको उनले बताए । 'पेटले मान्दैन, गाडी नचलाइ के गर्ने ?', उनले भने, 'अब तेलको संकटले पो त्यो आन्दोलनभन्दा अप्ठ्यारो छ ।' यातायात मजदुर संगठनका पदाधिकारी बसहरूको सूचि लिएर तेल हाल्ने पालो मिलाइरहेका थिए ।
एक बोरा चामल, लुगाफाटा र किताब भएका दुइवटा ब्याग मलाइ बस कर्मचारीकै सल्लाहमा पछाडि डिक्कीमा राख्न लगाइएको थियो । बस तेलको लाइनमै रहेका बेला ट्राफिक प्रहरीको एउटा जीप आयो । करिब ३० लिटर पेट्रोल रहेको जर्किन त्यही पछाडिको डिक्कीमा राख्न लगायो । त्यो शायद पोखराका कुनै आफन्तका लागि पठाएका थिए । मेरा सामान रहेकै ठाउँमा त्यो पेट्रोल भरिएको जर्किनसँगै बोरामा बाँधिएका ४/५ वटा ग्यास सिलिण्डर राखिए । उत्रेर हेरेका हुनाले मलाइ त्यो पेट्रोल पोखियो भने त मेरा सामानलाई जोखिम हुन्छ भन्ने लागेको हो । पछाडिको डिक्की भरिएर पुगेन, अगाडि बायाँतिरको डिक्की र बसभित्रै पनि बोरामा सिलिण्डर लोड गरियो । पश्चिममा यस्तै सामानसहित हिडेको एउटा बस दुर्घटनामा पर्दा आगलागी भएर यात्रु जली मरेको खबरले मगजमा फन्को मारिरह्यो । थोरै बस चलेका छन् । जोखिम देखेर भैगो म यो बसमा जान्न भन्दा पनि विकल्प छैन । चालकसँगको छोटो कुराकानीपछि मैले आफ्नो डर बताएर गलफती गरिरहनु पनि उचित थिएन । किनभने इन्धन हाहाकारको अवस्था बुझेरै होला अरू कोही यात्रुले पेट्रोलियम पदार्थ बसमा राख्दा गुनासो गरेको सुन्न मिलेन ।
------
वाइफाइ थियो, अन गरेन । गीत बजाएन । इटहरीबाट बस करिब साढे ११ बजे पश्चिम हुइकियो । बरू यात्रुलाई सुरूमै भनिएको थियो -'इटहरीबाट बस रोकिने एकैपल्ट पथलैयामा मात्रै हो । बीचमा कहीँ पनि रोकिँदैन है ।' यो सूचना गजबको थियो । मलाइ सप्तरी, बरमझियाका पेँडा पसले र लालबन्दीका खानाका होटलहरू हिजोआज के गर्दा होलान् भन्ने लागिरह्यो । राजमार्गका यस्ता व्यापारमात्र छैनन्, यी क्षेत्रका यात्रुले पनि यात्राका लागि के गर्दा होलान् ! अनि सामान्य अवस्थामा हेटौंडा, चितवन, काठमाडौं र पोखरा जाने बसले मालसामान पनि बोक्थे । हुटमा केरा हुन्थ्यो, खसीबोका र केरा, फलफूल पनि बोक्थे । अहिले बोक्तैन रछन् ।
हामी चढेको बसले डिक्कीमात्र होइन, भित्र पनि पस्न-निस्कनै अप्ठेरो हुनेगरि ग्यासका सिलिण्डर हालेको थियो । कथंकदाचित दुर्घटना भइहाले झट्ट निस्केर बाहिरिने ठाउँ सजिलो थिएन । त्यो देखेर मन चिसो भइरह्यो । दुर्घटना आफैं परेर सिकिने पाठ होइन, सवारी र यात्रु दुवैले सावधान रहनु पर्छ । सावधान हुने चिन्ताले मलाइ भने निन्द्रा परेन । छेउको भाइ उसको गन्तव्य नआउञ्जेल घुरिरहे ।
पेट्रोलियम पदार्थ सामान्यतः यात्रु सवार गाडीमा ओसारपसार गर्ने वस्तु होइन । यदि हुन्थ्यो भने कुरो अर्कै हुन्थ्यो । तर, यो बीचमा कहीँ कतै बसले यात्रुबाहेक के-के बोकेको छ भनेर चेकजाँच भएन । अघिल्लो साता पोखरेली मित्र गनेस पौडेलले सुनाएका थिए । उनका लागि आफन्तले ल्याइदिएको एक ग्यालन पेट्रोल बसमा चेकजाँच गरेर प्रहरीले हेटौंडामा खोसेको थियो । तर, म सवार बसमा त पेट्रोल प्रहरीले नै राख्न लगाएका थिए । यो अभावको रन्कोमा कसले किन पो चेकजाँच गर्थ्यो !
यतिका लामो दूरिमा यात्रु चढाउन र झार्न भनेर बस साँच्चै रोकेन । यो दूरिमा कुनै यात्रुले 'भोक  लाग्यो, दिसा-पिसाब आयो, रोकौं' भनेको सुन्न पाइएन । योपल्टको यात्रामा भिन्न र रमाइलो लागेको कुरा यात्रु अधिकांशले आफ्ना खानेकुरा, पानी बोकेका थिए । शौचालय जानुपर्ने खाँचो चाहि कसरी व्यवस्थापन गरे भन्ने थाहा भएन ।
इटहरी-पथलैया बीच राजमार्गमा बस कतै थोरैबेर अडियो भने ती ठाउँमा प्रहरीको स्कर्टिङका एरियाको पालो फेरिएर अर्को जिल्लाको टोलीलाई कुर्नका लागि मात्रै थिए । जसमा यात्रुले उत्रन मिल्दैनथ्यो । बाटामा देखिन्थ्यो- प्रहरीको एउटा पिकप गाडी अगाडि लाग्थ्यो, त्यसलाई पच्छ्याउँदै बस र मालवाहक गाडी पछिपछि लाग्थे । एउटाले थोरै गति घटाए अर्को गाडी अघि बढि जान्थ्यो । गति बढे दाँया-बायाँ रेस खेलाए पाराले बसहरू एकअर्कोलाई उछिनेर अघि जाने होडमा देखिन्थे । धेरै गाडीका अग्र भागका सीसा फुटेका छन् । केहीले चालक अघिल्तिर सानो भाग सीसा काटेका छन् । केहीले अगाडि ढुंगा छेल्न सीसामाथि जाली लगाएका छन् । स्कर्टिङबीचको यात्रा हेर्दा-खेप्दा द्वन्द्वग्रस्त मुलुकमा भएको भान पर्छ । पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व यसैगरि रात-रात सयौंको संख्यामा सवारी चल्न भने छाडेको छैन ।
-------
पथलैया नाघेपछि बल्ल स्कर्टिङको झन्झट हट्यो । परीक्षा दिन हिडेका दुइ बिद्यार्थीले मधेस आन्दोलनले मधेसका बिद्यार्थीको पढाइमा असर पारेको गुनासो गरे । एउटाले भने 'यति लामो बन्द भएपछि अरू ठाउँको उही लेवलको स्टुडेन्टसँगको कम्पिटिसनमा मधेसका त पछि परिहाल्छन् नि ।' अर्काले भने 'नेतालाई चिन्ता भए पो ।'
मधेसको आन्दोलनले पढाइमा पारेको असरको चिन्ताबाट म पनि मुक्त थिइँन । बन्दको ४५ दिनपछि छोराको स्कुलबाट फोन आएको थियो -'बच्चालाई आउट ड्रेसमा भोलि बिहान ७ बजेदेखि स्कुल पठाइदिनु । आन्दोलनकारीले चलाउन नदिएकाले बस लिन आउँदैन ।' मेरो घर र त्यो स्कुलको दूरि ५ किमी छ । सधैं बसमा जाने केटो अब कसरी जाला भन्ने चिन्ता पछि साइकल किनिदिएर दुर गरियो । सधैं कुदाइरहने बानी नपरेको १२ वर्षे केटो अबका दिन घर ढिला पुगे कतै दुर्घटनामा पर्‍यो की भन्ने चिन्ता हुन्छ । हुन पनि चोटै पारेर २ पल्ट लडिसक्यो । मेरो त यसरी भए पनि चलेको छ तर, अरू साना नानीहरू भएका अभिभावकलाई अझ कति गाह्रो होला भन्ने सोच्दा 'मलाइ ठीकै छ' भन्नुपर्छ ।
साँझ ५ बजे चढेको बस बिहान ९ बजे जब मुग्लिन काटेर पोखरातर्फ सोझियो, अनि लाग्यो-'ठीकै छ । सुरक्षित पुर्‍याए त भैगो ।' बाटामा अब बसले बिभिन्न ठाउँ रोकेर सिलिण्डर झार्दै गयो । अनि बुझियो, राजमार्गका होटलहरूले यस्ता बसलाई ग्यास ल्याइदिन अह्राउने रहेछन् । तनहुँ, विमलनगरमा खाना खान आइपुग्दा झण्डै ११ बजेको थियो । यहाँसम्ममा ती बसभित्रका बोरामा बाँधिएका प्रज्वलनशील फलामे भाँडा सबै उत्रिसकेछन् ।

१ बजे पोखरा बसपार्कमा रोकिएपछि म हतार हतार पछाडि डिक्की हेर्न पुगेँ । मेरा सामान सुरक्षित थिए । पेट्रोलको जर्किन जसरी राखिएको थियो, उसैगरि सुरक्षित नै रैछ । मेरा सामान झारिदिएर खलासी भाइले सोधे -'दाइले पनि पेट्रोल ल्याउनु पर्थ्यो नि । यहाँ कस्तो हाहाकार छ ।' म मुस्काएँ, केही भनिँन । प्रज्वलनशील सामानसहितको यात्रामा पनि सुरक्षित आउन पाएकोमा आनन्द लागेको थियो । ज्यान सुरक्षित भए नै मान्छे अभावसँग लड्दै गर्छ भन्ने लाग्यो । 

No comments: