Tuesday, November 10, 2015

सीता परियारको कथा

कथा होइन उनका बारेमा लेखिएको हो भन्नु ठीक होला । फरक क्षमता भएकाहरूलाई हामीले दयाका पात्र देखाउँन हुँदैन । गरिखाएका छन्, यसरी पनि बाँचेका छन् भनेर देखाउन पर्छ, किन ? किनभने त्यसको सिको अरूले गरून । प्रेरणा मिलोस् । त्यो प्रयास सदैव छ । तर, सबैका कथाले प्रेरणा दिन्छन्, खुसी दिन्छन् भन्ने छैन । सीताको मुल मर्का जे हो, त्यसको समाधान सहज छैन ।
उनका बारेमा मलाई मित्र/बन्धु भवसागर घिमिरेले भनेका थिए । उनी रेडियो कार्यक्रम बनाउने सिलसिलामा स्कुल पुगेछन् । सीताका बारेमा थाहा भएछ । अनि मेरो अफिस आए र, तपाइँले लेख्दा राम्रो भनेर त्यहाँका गुरूको नम्बर दिए । त्यसपछि नै मैले भेट्न सम्भव भएको हो । पहिलोपटक जाँदा उति धेर कुरा भएनन् । म दोस्रोपटक पुगेँ । उनका बारे बताउन सक्नेहरूलाई खोजी गरि भेटेँ । ९२४ शब्दमा उनका बारे लेखियो तर, लेख्ने प्रसंग भेला पार्न २ साता लाग्यो । 
कोसेलीको भित्री पातोमा प्रकाशित भएका दिन मलाई एलेनको इ-मेल आयो । सीतालाई पढुञ्जेलसम्म पढाइ खर्चमा दिइँदै आएको सहयोग नरोकिने उनले लेखेकी थिइन । मैले धन्यवाद दिएँ, जवाफ लेखेँ । उनीसँग ३/४ पटक इ-मेल संवाद भयो । सीतालाई सहयोग गर्ने फ्रान्सेली एनजीओसँग एलेन असन्तुष्ट रहिछन् । उनको तर्कमा जसले जसलाई सहयोग गर्छ, त्यो सहयोग पाउनेको अवस्थाका बारेमा पनि बेलाबखत सोधिखोजी गर्न र भेटघाट गर्न जरूरी हुन्छ । जो त्यो संस्थाले गरेन । मेरो जवाफले शायद उनको चित्त बुझेन । अहिले कुराकानी भएको छैन । समाजमा मान्छे अनेक भोगाइ लिएर बाँचेका छन् । यो बाँच्ने उपक्रममा मान्छेलाई पत्रकारबाट थुप्रै आसा रहेको भेट्छु । तर, पत्रकारले जे छ, जस्तो छ देखाइदिनु पर्छ, समाजले सक्ने काम गर्नुपर्छ । लेखेर मात्रै छुटकारा मिल्दैन, सामाजिक हुनुका नाताले कति ठाउँ कलमजीविले सम्पर्क र संवादको माध्यम पनि बनिदिनु पर्छ । सीताका हकमा लेखियो, सहयोग जारी रहने जानकारी मिल्यो । एकजनाले पढेर व्यक्तिगत सहयोग पठाउँछु पनि भन्नुभयो । मैले सम्पर्क नम्बर दिएको हो, के गर्नुभो थाहा छैन । यसको शिर्षक मैले 'जिन्दगीका अँध्यारालाई मनको दीप' राखेको थिएँ । छोट्टिएर, छरितो बनेर शिर्षक आयो । 
कान्तिपुरको कोसेलीमा १६ असोज २०७२ मा जे प्रकाशित भएको थियो ती यस्ता छन् । मुनि पढौं -
मनको दीप 
पढेर के बन्ने ? स्कुले सबैसँग उत्तर तयार हुन्छ । तर, उनीसँग रहेनछ । त्यसैले झट्ट भन्न अलमलमा परिन् । केहीबेर गमेपछि भनिन् 'खै के बन्ने बन्ने । मास्टर त होला नि ।' हाँसिन् । फेरि केही छुटेजस्तो गरेर भनिन् 'खासमा मलाइ गायिका बन्न मन हो ।' झण्डै दसक पुग्न लागेको स्कुलमा उनले आएकै साता एउटा बालगीत गाएकी थिइन । सान्त्वना पुरस्कारका कापी-कलम हात परेको थियो । त्यसयता उनले एक्लैछँदा आफैंलाई सुनाउन मात्रै गाउने गर्छिन् । 
हामी सीता परियारका कुरा गरिरहेछौं । पोखराको अमरसिंह उच्चमाविमा कक्षा १० की छात्रा । उनी देख्तिनन् । कुर्कुच्चामुनिका भाग या भनौं पाइताला छैनन् । तर, उनका लागि हरियोखर्क अस्पतालले बनाइदिएको खुट्टाको भरले त्यो नभएको आभास लगभग छैन जस्तो छ । २०३८ देखि विशेष शिक्षा कक्षाअन्तर्गत अमरसिंहमा सुरू भएको दृष्टिविहीनका लागि पढाउने काम अहिले पनि जारी छ । अहिले ५० हाराहारी त्यस्ता विद्यार्थी छन् । ३७ जना विद्यालयकै होस्टलमा बसेर पढ्छन् । सपांगकै कक्षामा मिसिएर उनीहरूले पढ्न पाएका छन् । यी ३७ मध्ये आजको कथा पर्वतको खुर्कोट-४ की सीताको मात्रै हो । अब पर्वका विदा सुरू भएका छन् । यहीसँगै सीता र होस्टल व्यवस्थापन दुवैलाई कसरी बित्छन् यी दिन भन्ने भएको छ । 
०००
खुर्कोटमा महिलाको बाख्रापालन अवलोकनका लागि कुश्माबाट सरकारी अधिकारीको एउटा टोली पुग्यो । टोलीकी महिला विकास अधिकृत लक्ष्मी जिसीले देखिन-एउटी केटी चार हातपाउ टेकेर हिडि्छन् । 'त्यो दिन त्यस्तै भयो । म हेरिरहेँ', उनले सुनाइन, 'सदरमुकाम आएका बेला भेट्नु भनेर हामी फर्कियौं ।' एक दिन महिला विकासमा तिनै केटी चार हातपाउ टेकेर आइपुगिन् । सुरिलो भाका हालेर मिठो गीत सुनाइन । 'मलाइ लाग्यो यो केटीको खुट्टा बनाइदिन पाए उभिन सक्थी । आ“खा नदेखे पनि केही सहारा मिल्थ्यो', उनले भनिन्, 'त्यसपछि मेरो काठमाडौं जाने काम थियो । उनलाई साथै ल्याएर हरियोखर्क अस्पताल भर्ना गरिदिएर गएँ ।' 
पोखरा-१५ नयाँ गाउँको हरियोखर्क भनिने इन्टरनेशनल नेपाल फेलोसीपद्वारा सञ्चालित अस्पताल यस्तो ठाउँ हो, जहाँ कुष्ठरोगीसँगै अपांगता भएकाहरूको उपचार गर्छ । सीता अब यहाँ आइपुगिन् । अस्पतालका थुप्रै इकाइमध्येको एउटाले उनलाई नक्कली खुट्टा लगाएर कसरी उभिने, हिड्ने भनेर सिकायो । अक्युपेसनल थेरापी वार्डमा सिकाउनेहरू थिए- जुना गुरूङ, लक्ष्मी शाही र बेलायती थेरापिस्ट एलेन । 'कहिले आफ्नो खुट्टामा नउभिएकालाई उभ्याउन सजिलो हुँदैन', यसै साताको भेटमा शाहीले संवाददातासँग भनिन् 'उनलाई उभिन सिकाउनसँगै जिन्दगी कसरी असल हुन्छ भनेर परामर्श पनि आवश्यक थियो ।' यी काम अस्पतालमा गरिए । खुट्टा बन्यो । अस्पतालमै उनले सामान्य लेखपढको प्रौढ कक्षा पनि लिन पाइन ।
'मेरो २८ वर्षे जागिरे जीवनमा अस्पताल ल्याइएकाहरूमा सीता जति नजिक अरू कोही भएनन्', जुनाले सुनाइन 'त्यो केटीको गाउने र मादल बजाउन जान्ने कला बिछट्ट राम्रो छ ।' अस्पतालमा काम सकिएपनि उनका साथ अरु कोही आएका थिएनन् । पठाउने ठाउँ भएन । लिन आउने कोही भएनन् । एलेन, गुरूङ र शाहीकै पहलमा अमरसिंह स्कुलमा पढ्न पठाउने सल्लाह भयो । 'स्कुलले अन्धालाई मात्रै लिन्थ्यो । उनी त बहुअपांगता भएकी, उसमाथि विपन्न, दलित र महिला', जुनाले भनिन् 'एउटा स्कलरसिप दिलाएर पढ्न पठाउने कुरा मिल्यो । अरु त्यस्ता अस्पतालबाट २/४ हप्तामै घर जान्थे । सीतालाई चार महिनापछि बल्ल स्कुल र होस्टल मिल्यो ।' कक्षा २ भर्ना भएर पढाइ सुरू भयो ।
०००
छोरी सीताले सुनेकी थिइन बाबु बुद्धिराम परियार दमको रोगले थलिएका थिए । चार छोरी, दुइ छोरामध्येकी उनी कान्छी । थाहा पाउ“दासम्म दिदीहरू बिहेबारी भइवरी घर गइसकेका थिए । एकजना दाजु अल्पआयुमै बिते । अर्का दाजु कामको खोजीमा भारत जाने भनेर हि“डे । दाजु हिडेपछि भाउजु पनि बसिनन् । 
उनी ६ वर्षको छदा बुद्धिरामको निधन भएको थियो । त्यसको तीन वर्षछि आमा द्रुपति परियारको पनि निधन भयो । वर्षदन पनि नपुग्दैकी छोरी घरमा छाडेर सबै मेलापात गएका बेला आगोले दुवै पाइताला डढेका थिए । सीता हुर्कदै जाँदा चार हातपाउ टेक्ने भएकी थिइन । स्कुल जाने उमेर हुन थालेपनि भर्ना गरिदिने कोही भएनन् । घरमा बुढी हजुरआमाको साथमात्रै थियो । ९ वर्षको छँदा रुखबाट डालेघाँस काट्तै गरेको हेर्दा माथिबाट हाँगो खस्यो । बेरुलाका पातले दुवै आँखा घोचे । गाउँघरको समान्य उपचारले निको भएन । हिड्न नसक्ने केटीको दृष्टिशक्ति पनि गुम्यो । 
०००
'एकपटक गाउँमा एकजना सरले काठमाडौं गएर २/४ हप्ता तालिम लिए तिमीले गीतको एल्बम निकाल्न सक्छौं भन्नुभएको थियो', सीताले भनिन् 'जान पाइएन । अहिले ठीकै छ गाउन नपाए पनि पढ्न मिलेको छ ।' असरसिंहको छात्रावासमा विद्यार्थीका लागि कोचिङ कक्षा पनि चलाइन्छ । गणित पढाउने निरञ्जन लोहनीले भने 'सीताको पढाइ राम्रो छ । अबको हाम्रो फिक्री उनले कहाँ बसेर पढ्लिन् भन्ने छ ।'
त्यसबाहेक पनि वर्षेनी होस्टलले झेल्दै आएको समस्या बेग्लै छ । यहाँ बसेर पढ्ने सबै विद्यार्थीको घर छ । आफन्त छन् । विदामा लिन आउँछन् । सबै घर जान्छन् सीताबाहेक । उनलाई लिन कोही आउँदैन । स्कुलले पठाउने ठाउँ पनि छैन । 'विदाको अवधिभरि बस्न स्कुलले कतै होटलमा राखिदिन पनि मिल्दैन', शिक्षक लोहनीले भने, 'छोरीमान्छे । त्यसमाथि बहुअपांगता छ ।' १० जोड २ का कक्षा भएपनि स्कुलमा ती तहका विद्यार्थीका लागि छात्रावासको व्यवस्था छैन । उनले १० पास गरेपछि जानुपर्छ । त्यससँगै होस्टलको वर्षेनी विदाका बेला कता बसाउने भन्ने दुविधा हट्नेछ । तर, उनको घर छैन । गाउँबाट सोधीखोजी गर्ने कोही छैनन् । के गर्छ स्कुलले ? स्रोत शिक्षक लोकबहादुर गुरूङले भने 'यो हाम्रालागि एकदमै गहन प्रश्न छ । के गर्ने ? कहाँ पठाउने ?' उनको गाउँमा रहेको एउटा उच्चमाविमा कुरा गरेर उतै आवास र अध्ययनको व्यवस्था गर्नेबारे आफूले विचार गरिरहेको उनले बताए । 'स्कुल पढाउनका लागिमात्रै नभएर विद्यार्थीको बासको चिन्ता पनि गर्नुपर्ने मानवीय पक्ष हेरिदिनै पर्ने भयो', उनले भने, 'अहिलेसम्म उनका लागि एउटा सामान्य फेलोसिपको सहयोग छ । १० सिध्याएपछि त्यो पनि हुँदैन । समाधानका लागि विचार गर्नुपर्ने पक्ष धेरै छन् ।' 
सीता आफैंलाई पनि थाहा छैन । १० कक्षाको अन्तिम परीक्षापछि ब्रेललिपीमा अभ्यस्त भएर पाएको शिक्षाको ज्योति कहाँ काम लाग्छ । कहाँ गएर बस्ने । कता पढ्ने । उनले भनिन् 'पछिको कुरा पछि होला । अहिले भने स्कुललाई दसैंतिहारको विदा लाग्छ । त्योबेला कहाँ जाने भन्ने नै अप्ठ्यारो छ ।'

No comments: