Monday, March 24, 2014

क्षयरोगको जोखिम

सप्तरीको बदगामाकी ५० वर्षीया महिला आइतबार कञ्चनपुरबाट सार्वजनिक बस चढेर यहाँ आइपुगिन् । स्वास्थ्य परीक्षणको केही पुर्जी बोकेकी उनलाई भेटेलगत्तै क्षयरोग निवारण संघका कार्यक्रम संयोजक घनश्याम कोइराला अत्तालिए । चिन्ता थियो, रोगले निकै ग्रस्त भइसकेकी उनले बसमा अरू कतिलाई सारिन् होला ? 'उनले सास फेर्दा नजिक भएकालाई हावाबाट संक्रमण हुने एकदमै जोखिम छ,' कोइरालाले भने, 'हामीसँग उनलाई राख्न खाली बेड छैन । फर्काउनु भनेको पनि अरूका लागि जोखिम बढाउनु हो । त्यसैले बरन्डामै बसाएका छौं ।' 
केहीअघि कञ्चनपुर स्वास्थ्य केन्द्रमा परीक्षण गराएकी ती महिलाका आफन्तको अत्तोपत्तो छैन । बेखर्ची भएर सडकमा मागी हिँड्ने उनी सामान्य मुखौटो लगाएर विराटनगर बसपार्कबाट अस्पतालरोडस्थित संघको उपचार केन्द्र आइपुगेकी हुन् ।

उनलाई प्रत्यक्ष निगरानीमा उपचार गराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै कोइरालाले भने, 'क्षयरोगीका हकमा यो एउटा प्रतिनिधि घटना हो । यस्ता एक संक्रमितले वर्षमा १० देखि १५ जनालाई रोग सार्ने खतरा हुन्छ ।' जिल्लामा बर्सेनि १ हजार ४ सय नयाँ रोगी थपिने गरेको जनस्वास्थ्य, मोरङको तथ्यांक छ । पूर्वाञ्चल स्वास्थ्य निर्देशनालयका क्षय-कुष्ठ अधिकृत ध्रुव उरावका अनुसार यो वर्ष मात्रै पूर्वका १६ जिल्लामा २ हजार ८ सय ४८ रोगी पहिचान भए । यो अघिल्लो वर्षको भन्दा ३२ जनाले बढी हो ।

हावाबाट सर्ने भए पनि एकदमै त्रास मान्नु नपर्ने उनी बताउँछन् । 'रोगीले हाच्छ्युँ गर्दा हावाबाट सर्ने जोखिम हुन्छ तर प्रतिरोधात्मक क्षमता कम भएकाले मात्रै सचेत भए पुग्छ । जोसुकैलाई सर्छ भन्ने छैन,' उनले भने । 
कोइरालाका अनुसार क्षयरोग संक्रमणको पहिलो अवस्था जोखिमको हुँदैन । 'थाहा भएन र वर्ष बित्यो भने त्यो अलि जोखिमको दोस्रो अवस्था हो,' उनले भने, 'त्यस्तालाई हामी यहीं राखेर २४ महिनासम्म उपचार गर्छौं ।' उनका अनुसार यस्तो आवधिक गृहको सुविधा पूर्वक्षेत्रमा विराटनगरमा मात्रै हो । अन्यमा भने परीक्षण र डट्स (प्रत्यक्ष निगरानीमा उपचार विधि) उपलब्ध छ । उरावका अनुसार अब पूर्वका सात जिल्लाका ९ ठाउँमा 'जिन एक्स्पर्ट' प्रविधिबाट क्षयरोगीको परीक्षण गर्न थालिएको छ । 'बेलैमा रोग पहिचान भए उपचार सम्भव छ,' उनले भने, 'बिरामीले आफ्नो खर्च गर्नु पर्दैन ।'
संघको आवधिक गृहले ५ वर्षयता यहाँ उपचार गरिनेलाई घरेलु उद्यम, सवारी चालक, मोबाइल, साइकल मर्मत, सिलाइ-बुनाइलगायत तालिम र निको भई र्फकने बेलामा सीपसम्बन्धी काम गर्ने सामग्री पनि दिने गरेको छ । अहिलेसम्म करिब ८० जना निको भई तालिम लिएर घर फर्किएका छन् । नर्वेजियन दातृ निकायको सहयोगमा संघको विराटनगर कार्यालयमा १० शय्याको आवधिक गृह सञ्चालित छ । 
उपचारपछि घर फर्केर टेलरिङको काम गरिरहेका सप्तरी जगतपुर १ का राजकुमार यादवले विश्व क्षयरोग दिवसको अघिल्लो दिन आइतबार भने, 'म आठ महिना उपचारमा बसें । घर आउने बेला पाएको सिलाइ मेसिनले गुजारा गरेर खाएको छु ।'

साभार ; कान्तिपुर दैनिक ।  (  'सर्ला है क्षयरोग ! ' शीर्षकमा  २०७० चैत १० मा प्रकाशित )


No comments: