Showing posts with label आलोपालो. Show all posts
Showing posts with label आलोपालो. Show all posts

Wednesday, March 4, 2026

भोट केमा ?

‘केमा भोट दिने हो साथी ?’ 

म्यासेन्जरमा एक जना मित्रको यस्तो प्रश्न पर्खिरहेको रहेछ। हेर्दा सामान्य लागे पनि त्यो सामान्य प्रश्न थिएन। जसले सोधेको हो, उसले यसअघि कहिल्यै यसरी सोधेको थिएन। म के सल्लाह दिन्छु, के उचित–अनुचितको बहस गर्छु, कसतर्फ झुकाव राख्छु वा उसको अन्योल हटाउन कस्तो तर्क दिन्छु। यी सबै कुरा एउटै जवाफमा खुल्ने सम्भावना थियो।

३५ वर्षदेखि भेटघाट नभएको, राजनीतिक विषयमा कहिल्यै छलफल नगरेको साथीको प्रश्नले मलाई रोक्यो। उसका फेसबुकका भित्तामा कुनै नारा थिएन, कुनै प्रचार थिएन। ऊ कुन विचारतर्फ छ भन्ने संकेतसमेत थिएन। मैले छोटो जवाफ फर्काएँ -‘विचार गर। सबै अपरिचित होइनन्। खराबमध्ये अलि कम खराबलाई देऊ, जो भए पनि।’

उत्तर ‘सीन’ भयो। प्रतिक्रिया आएन। म प्रतिक्रियाको प्रतीक्षामा पनि थिइनँ। तर त्यो प्रश्न त्यहीँ अडिएन, मनभित्र पसिरह्यो।

***

छोराले अन्तर्वार्ताको नतिजा सुनायो -‘तीन महिना इन्टर्न गर्नैपर्छ रे। बिहान ९ देखि साँझ ६।’
मैले सोधेँ- खर्च दिन्छ ?
- दिँदैन।
-त्यहाँ नजा, अर्को विकल्प खोजौँ।

मैले सजिलै भनेँ, तर सजिलो थिएन। उसले अर्को कम्पनी भेट्टायो, मासिक १७ हजार, काम राति ८ बजेदेखि बिहान ६ बजेसम्म। पश्चिमी देश जाग्ने समयका लागि यताबाट मार्केटिङ गर्ने काम। पढाइ, समय र श्रमको हिसाबले त्यो पारिश्रमिक न्यून थियो। तर उसले अनुभवका लागि प्रयास गर्ने भन्यो।

दैनिक ११–१२ किलोमिटर दूरी, रातभरको काम, थोरै तलब। एक सातामै उसले छाड्यो। घरभित्र सल्लाह मिलेन। उसलाई पनि मन परेन। त्यसपछि उसले स्पष्ट भन्यो - ‘यहाँ बसेर केही हुँदैन। म पढ्न बाहिर जान्छु।’

मलाई थाहा छ, धेरै घरका सन्तान उच्च शिक्षाका लागि विदेश गएपछि उतै बस्छन्। जानै हुँदैन भन्ने होइन। तर फर्कने ग्यारेन्टी पनि छैन। किनभने नयाँ पुस्ताका लागि यहाँ रोजगारीको दायरा साँघुरिँदै गएको छ। योग्यताभन्दा पहुँच ठूलो भएको अनुभूति उनीहरूलाई हुन्छ।

***

अनि एक दिन उसैले सोध्यो - ‘बाबा, यसपालि भोट केमा हाल्ने?’

म झस्किएँ। म्यासेन्जरको प्रश्न र घरभित्रको प्रश्न एउटै रेखामा उभिए। फरक यति मात्र थियो - पहिलो प्रश्न साथीको थियो, दोस्रो आफ्नै सन्तानको।

हामी फेरि एकपटक संसदीय निर्वाचनको संघारमा छौँ। यो नियमित चुनाव होइन, आकस्मिक हो। दुई तिहाइको सरकार ढलेपछि नयाँ जनमतको खोजीमा हुन लागेको चुनाव। त्यो राजनीतिक मोड भदौ २३ र २४ मा आयो। त्यसबारे धेरै दोहोर्‍याइरहनु पर्दैन; धेरै नेपालीलाई सन्दर्भ थाहा छ।

जनआन्दोलन–२ भइरहँदा जन्मेकाहरू आज मतदान गर्न पाउने उमेरमा पुगेका छन्। उनीहरूले राणा शासन देखेनन्, पञ्चायत देखेनन्, दरबार हत्याकाण्डपछिको शाही शासन पनि देखेनन्। तर उनीहरूले बहुदलीय लोकतन्त्र देखेका छन्। गठबन्धनको खेल देखेका छन्। सरकार बनेको र ढलेको चक्र देखेका छन्।

उनीहरूले देश र जनताको नाममा कहिल्यै नथाक्ने भाषण सुनेका छन्। तर महँगो शिक्षा, महँगो स्वास्थ्य सेवा, सीमित रोजगारी, पहुँचबिनाको अवसर पनि देखेका छन्। वैदेशिक रोजगारीको बाध्यता देखेका छन्। खाडी मुलुकबाट बाकसमा फर्किएका आफन्त देखेका छन्।

राज्यका निकायहरूमा भागबण्डाको संस्कार देखेका छन्। अवसर केही सीमित घेराभित्र घुमेको देखेका छन्। योजनाहरू लोकप्रियतामुखी बनेको देखेका छन्। दीर्घकालीन सोचभन्दा क्षणिक तालिको राजनीति हावी भएको देखेका छन्।

त्यसैले नयाँ पुस्ताको प्रश्न सीधा छ - हामीले किन यही चक्र दोहोर्‍याइरहनु ?

तर उत्तर त्यति सरल छैन। लोकतन्त्रमा विकल्प मतपेटिकाभित्रै खोज्नुपर्छ। असन्तुष्टि भए पनि प्रक्रिया छोड्न मिल्दैन। ‘सबै उस्तै हुन्’ भन्ने निष्कर्ष सजिलो हो, तर त्यसले समाधान दिँदैन।

***

एक माघले जाडो जाँदैन। एउटा चुनावले देश कायापलट हुँदैन। तर एउटा चुनावले सन्तुलन फेरिन्छ। शक्ति–सम्बन्ध बदलिन्छ। नयाँलाई मौका दिन सकिन्छ। पुरानालाई सन्देश दिन सकिन्छ।

प्रश्न ‘को राम्रो?’ भन्दा पनि ‘कसलाई मौका दिने?’ हुन सक्छ। प्रश्न ‘को निर्दोष?’ होइन, ‘को कम हानिकारक र सम्भावनायुक्त ?’ हुन सक्छ। कुरा गर्ने र काम गर्ने फरक हुन्छ। वर्षौं अवसर पाएकाहरूको मूल्यांकन गर्ने समय पनि चुनाव नै हो।

मैले साथीलाई भनेझैँ छोरालाई पनि सिधा आदेश दिन सक्दिनँ। म उसलाई आफ्नो विवेक प्रयोग गर्न सिकाउन चाहन्छु। उसले उम्मेदवार चिन्नुपर्छ। उसको अघिल्लो काम, सार्वजनिक व्यवहार, उत्तरदायित्वप्रतिको दृष्टिकोण हेर्नुपर्छ। पार्टीको घोषणापत्र पढ्नुपर्छ। सम्भव छ भने स्थानीय तहमा उसको पहुँच कस्तो छ, बुझ्नुपर्छ।

हामीले लामो समय भावनामा मतदान गर्‍यौँ। कहिले आन्दोलनको स्मृतिमा, कहिले जातीय–क्षेत्रीय पहिचानमा, कहिले यसले पो केही गर्छ की भन्दै। अब कामको हिसाब माग्ने बानी बसाल्नुपर्छ।

छोराले विदेश जाने कुरा गर्दा म रोक्न चाहन्नँ। ऊ आफ्नो भविष्य खोज्न स्वतन्त्र छ। तर यदि ऊ यहीँ केही सम्भावना देखोस् भन्ने चाहना छ भने त्यो सम्भावना राजनीतिक निर्णयसँग जोडिएको छ। नीति, लगानी, शिक्षा, रोजगारी - यी सबै राज्यले तय गर्ने मार्गमा निर्भर छन्।

त्यसैले मतदान व्यक्तिगत रिस–रागको विषय होइन। यो आफ्नै सन्तानको भविष्यसँग जोडिएको विषय हो।

मलाई थाहा छ, भोलिपल्टै चमत्कार हुँदैन। तर मतदान नगरेर निराशा मात्र बढ्छ। कम्तीमा आफ्नो असहमति र आशा दुवै मतमार्फत अभिव्यक्त गर्न सकिन्छ।

साथीको प्रश्न अनुत्तरित छैन। छोराको प्रश्न पनि छैन। मेरो उत्तर एउटै छ - विचार गरेर मतदान गर। विकल्पहरू तौल। अघिल्ला काम हेर। नयाँ सम्भावना खोज। दलहरुका निर्वाचन चिह्न देखेर आँखा चिम्लनुभन्दा त्यसमा उठेकाहरु को हुन्, कस्ता छन्, सम्भावना र क्षमता कस्तो छ भन्ने जानकारी लिएको राम्रो। दलका अगुवाहरु कति प्रष्ट छन्, सम्भावना के छ त्यो हेरिनुपर्छ।

निर्वाचनबाट जित हासिल गर्नेहरु सबै सम्भावना भएका र इमानदार मात्रै अगाडि आउँछन् भन्ने छैन। तर खराबहरुको भीडबाट कम खराब हेर्न रोज्न सकिन्छ। हाम्रा निर्वाचनहरुमा बहुमत मतदाता 'विवेक' घरैमा राखेर गइ मतदान गर्ने परम्परा अझै पनि सुध्रिएको छैन। यसपटक नयाँ पुस्ताले पुरानालाई सम्झाएका छन्। पुरानालाई झस्काएका छन्।

***

देश एउटा दुर्घटनाबाट बौरिनका लागि चुनावमा छ। अब चुनाव किन? भन्ने प्रश्न पुरानो भयो। हामी मतपेटिका नजिक छौं। सम्भावनाहरुले पर्खिरहेका छन्। झण्डावाल गाडीमा साइरन बजाउँदै हिँड्नेहरुलाई फेर्ने दिन आएको छ। अब कसलाई पालो दिने? त्यो मतदाताको हातमा छ।

छिटो-छिटो परिवर्तनहरु देखेका हामी राजनीतिक प्रणाली र तिनका सञ्चालकहरु विभिन्न खालाका देखेका हौँ। आफ्नो हालीमुहाली भएको व्यवस्थालाई कसैले पनि नराम्रो भनेको इतिहास छैन। कुनै पनि व्यवस्था जनताको अहित चिताउने, गर्ने खालको हो भनेर तिनका मुख्य जिम्मेवारले भन्दैनन्। देश चलाउन र खबरदारी गर्न फरक फरक दलहरुले जनमत पाउनुपर्छ। बेठिक गर्नेहरुले टिकिरहन पाउनु हुँदैन। त्यो चयन निर्वाचनबाट हुन्छ। र, हामीलाई जाबो एउटा भोट भन्ने लाग्ने मताधिकारको शक्ति नयाँ नतिजाले देखाउँछ।

***   

नयाँहरु विभिन्न आवरणमा छन्, कोही प्रष्ट कोही प्रश्नहरुबाट भाग्दै। पुराना सच्चिएर आयौं अब इमानदारीपूर्वक काम गर्छौं भनिएरहेका छन्। छनोट जनताको हातमा छ। हामी सम्भावनाको बाटो पहिल्याउँ। भोट दिनका लागि चुनाव चिह्न नयाँ चयन गर्दैमा देशले नयाँ बाटो पाउँछ भन्ने ग्यारेन्टी छैन। त्यो चिह्नले जित्दा नेतृत्व कसले पाउँछ, उ कस्तो हो भन्ने पनि हेक्का राख्नुपर्छ। उनीहरुका योग्यता र सम्भावना थाहा राख्नुपर्छ। 

पुरानो त परीक्षण भएकाहरु छन्, तिनमा पनि फेरबदल छ/छैन। छ भने कस्तो? छैन भने किन? सम्भावनाका बाटो फराकिलो नपारेकाहरुलाई सधैं चुनौती रहन्छ भन्ने नेताहरुले बुझेका हुन्छन्। त्यसैले 'म खराब, हामी खराब। जनहितका काम गर्दैनम्। यो देशलाई लुट्छौं। भागबण्डा गर्छौं, कमिसनतन्त्रलाई बढावा दिन्छौं, महँगी बढाउँछौं, जनतालाई कर बढाएर चुस्छौं, अवसरमा पहुँच सीमित बनाउँछौं' भनेर घोषित रुपमा कसैले भन्दैन। 

कसको बोली र व्यवहारमा इमानदारी छ, को योग्य, को सक्षम भनेर केलाउने काम मतदाताकै हातमा छ।  

र, सबैभन्दा महत्त्वपूर्ण - मतदान गरौँ। लोकतन्त्रमा चुप लाग्नु सबैभन्दा ठूलो सहमति हो। बोल्नु छ भने मतपत्रमार्फत बोल्नुपर्छ।

Monday, February 9, 2026

फेरि मतदानको मौका


हामी फेरि एकपटक मताधिकार प्रयोग गर्ने संघारमा छौं। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन छ। यो निर्वाचन किन र कुन परिस्थितिमा हुँदैछ भन्ने हामीले बिर्सिसकेको हुनुपर्छ। भदौ २३ र २४ गते जे भयो त्यसैले मध्यावधि निर्वाचन तोकिएको हो।

गत भदौ २३ मा जे दुर्घटना भयो, त्यो हुनुहुँदैनथ्यो। भोलिपल्ट भदौ २४ मा जे भयो, त्यो त्यसैको प्रतिक्रिया थियो। अन्तरिम सरकार गठन भयो। निर्वाचन तोकियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिइयो। उनको सरकारले घोषणा गरेको चुनाव हुन लागेको छ। हामीलाई चुनाव लागेको छ।

भदौ २३ मा प्रहरीको गोलीले १९ जनाको ज्यान गएको थियो। उक्त घटनाको प्रतिक्रिया भोलिपल्ट अनपेक्षित भएको हो। माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वमा पनि मुलुकको सार्वजनिक सम्पत्तिमा त्यति क्षति भएको थिएन, जति भदौ २४ मा भयो। मान्छेको ज्यानभन्दा ठूलो भवन, संरचना र कागजात-दस्तावेज होइन भन्ने तर्क आफ्नो ठाउँमा रहँदारहँदै पनि मुलुकको राजनीतिक-प्रशासनिक इतिहासले अकल्पनीय क्षति खेप्नु परेकै हो।

इतिहासदेखि विभिन्न घटनाक्रम केलाउँदा 'क्रान्ति'हरु अपुरा रहिआएका छन्। राणाशासनको अन्त्य गरेर २००७ सालमा प्रजातन्त्र बहाली हुँदा पनि राणा प्रभावशाली थिए। सम्पन्न थिए, छन्। जहानियाँ राणाशासन १०४ वर्षको थियो, प्रभावशाली र जरा गाडिएको थियो। तर, उखेलिँदा त्यसलाई कसैले बचाएन। 

प्रजातन्त्र बहाली भयो। जनता शक्तिशाली भएको व्यवस्था आयो भनियो। जसमा दलहरुले आफ्ना गतिविधि गर्न पाए, संसदीय निर्वाचन भयो। तर, त्यो व्यवस्था तत्कालीन राजालाई अनुकूल लागेको थिएन। 

२०१७ सालमा राजा महेन्द्रले आफूले चाहेको व्यवस्था ल्याए, पञ्चायत। राजाले 'कू' गरेको भनियो त्यसलाई। राजाले 'कू'गर्दा विपक्षमा हुन्न भने उभिने जमात नै थिएन/देखिएन। राजासँग सेना थियो, शक्ति थियो। जनताका नेता शक्तिहीन थिए। 

महेन्द्रले प्रजातान्त्रिक शासन व्यवस्थाका पक्षधरहरुलाई मासेनन्। राजनीतिक गतिविधमा कडाइ गरे। बहुदलीय व्यवस्थाका पक्षधर खुम्चिएर बसे, मासिएनन्। जे मासेनन्, तिनै शक्तिले आफ्ना विचारको बललाई विस्तार गरे। उनीहरुको विस्तारित शक्तिको जानकारी दरबारले राखिरहेको थियो। 

राजा फेरिए। महेन्द्रपछि गद्दीमा वीरेन्द्रले पालो पाए। उनले केही समय हेरे- सत्ता संकट आउने छनक छ ! जनमत संग्रह भयो। राजाले जे चाहे त्यही पक्षमा नतिजा आयो। खुम्चिएर बसेको बहुदलीय व्यवस्थाका पक्षधर नयाँ नयाँ रुपमा सक्रिय रहे। पञ्चायतमै पनि आफ्नो प्रभाव र पकड विस्तार गरिरहे। विस्तारित शक्तिले त्यो बेला आन्दोलन थाल्यो जब लोकलाई पञ्चायती व्यवस्थाबाट अघाइयो भन्ने लाग्ने थालेको थियो। पञ्चायतलाई टिकाइरहने योजना न राजासँग थियो, न त त्यो व्यवस्थामा शक्तिशाली बनेका नेताहरुसँग। 

महेन्द्रले लागू गरेको व्यवस्थाले तीन दशकसम्म देश चलायो। २०४६ सालको जनआन्दोलनले मुलुक बहुदलीय व्यवस्थामा फर्कियो। फेरि २०१७ साल अघिकै दलीय शक्ति शक्तिशाली भएर आयो। जनआन्दोलन-१ ले बहुदलीय मुलुकमा बहुदलीय व्यवस्था फर्कायो। हामीसँग बहुदलीय व्यवस्थाको चाहना गरे पनि त्यसलाई टिकाउने योजना भएका नेता थिएनन्। राजसंस्थालाई संवैधानिक बनाएर शक्ति सीमित गराउने हिम्मत नेतामा देखिएन। 

बामपन्थीको एउटा घटक माओवादी जंगल पस्यो। मुलुक सशस्त्र द्वन्द्वमा धकेलियो। सेना परिचालन भयो। तर, माओवादीको ब्याकअप के थियो, उनीहरु नै जानुन्। राज्य र विद्रोहीतर्फ ठूलो नोक्सान भयो। धेरैको ज्यान गयो। तैपनि तत्कालीन विद्रोहीका भाषामा 'चरु' डढे, द्वन्द्व हाँक्ने हातहरु सुरक्षित रहिरहे।  

आन्दोलनको बलले ल्याएको व्यवस्थामा न दल सबल हुन सके, न त राजसंस्थाले सहज महसुस गर्न सक्यो। त्यसमाथि मुलुक भूराजनीतिक चलखेलको प्रभावमा परिरह्यो। त्यहीबीच दरबार हत्याकाण्ड भयो। परम्पराअनुसार सत्ता सञ्चालनको पालोमा नभएका ज्ञानेन्द्र शाहले राजा हुन पाए। उनीसँग न आफ्नो सुझबुझ देखियो, न त गतिला सल्लाहकार। बहुदलीय व्यवस्थाले उनलाई आलंकारिक मात्रै बनाउने बुझे।

घर र वनका दल एक भए। माओवादी संसदीय व्यवस्थामा फर्कन सहमत भयो। जनआन्दोलन-२ भयो। कांग्रेससहितको मोर्चासँग १२ बुँदे समझदारी भयो। राजा ज्ञानेन्द्र दरबारले दरबार छाडे। दलहरु सत्तामा फर्किए। जुन व्यवस्थाका लागि भन्दै माओवादी जंगल पसेको थियो, पुरा भएकै थिएन। ठूलो मूल्य चुकाइसक्दा पनि त्यो पुरा हुने संकेत दुर दुरसम्म थिएन। शान्ति प्रक्रियामा फर्किएपछि माओवादीले त्यो लक्ष्य हरायो/बिर्सियो। 

माओवादीले संसदीय राजनीतिमा पुनरागमन गरेपछि मधेस आन्दोलन भएको हो। जसमा मुलुकले फेरि जनधनको क्षति बेहोरेको हो। जसबाट मधेसको शक्तिमा रुप केही खास दल उदाए, जो सत्ता भागबण्डामा सधैं ठुला दलसँगै लाभग्राही भइरहे। दलहरुले आलोपालो गर्दै, सरकार बनाउँदै-ढाल्दै मुलुकका सबै तन्त्रमा दलीय भागबण्डा गरिभ्याए। कर्मचारी प्रशासनदेखि शिक्षा, सञ्चार, सुरक्षा, कूटनीति, यस्ता कुनै ठाउँ बाँकी रहेनन् जहाँ दलीय भागबण्डा नहोस्। 

०६२/६३ को जनआन्दोलन-२ पछि बहाल व्यवस्थाले पनि झण्डै दुई दशक मुलुकमा शासन गरिसक्दा वितृष्णा अत्यधिक नै गराएको हो, जो गत भदौ २३-२४ को जेनजी विद्रोहका रुपमा देखयो। त्यो विद्रोहलाई तत्कालीन सरकारले नै सलाइ कोरेको थियो, प्रदर्शनमाथि गोली चलाए। व्यवस्थाको बेथिति के हुन्, कहाँ कहाँ सुधार चाहिन्छ भन्नेमा अहिले भोट माग्न घरदैलो गरिरहेका नेतामा पनि निकै थोरैलाई हेक्का छ। नेताहरु 'हामीले गल्ती गरेका हौँ' भन्न कञ्जुस छन्। प्रचण्ड, देउवा, ओली, नेपाल, उपेन्द्र यादव कसैले पनि 'हामीले चलाएको व्यवस्थामा थिति बिगारेका हौँ' भन्दैनन्।

कुनै पनि मुलुकमा जुनसुकै शासन व्यवस्था लागू होस्, जनहितकारी भएन भने टिक्दैन। जनतालाई अधिकार नदिए विद्रोह हुन्छ, नयाँ व्यवस्था आउँछ। प्रत्येक व्यवस्थामा नेतृत्व इमानदार भएनन् भने क्रान्ति हुन्छ। 

***

देशले अहिलेसम्म बेहोरेको बिडम्वना के हो भने जिम्मेवारहरु कोही पनि आफूले गरेको गल्ती स्वीकार्न तयार छैनन्। न इतिहासमा न त वर्तमानमा। उनीहरुलाई 'तिमीहरुले गरेको गल्तीका कारण यस्तो भयो, सजायको भागीदार छौं' भन्न पनि व्यवस्थाहरु दरिलो बनेनन्/बनाइएनन्।

नेता/जिम्मेवारहरुले सजाय पाउनु त दुरका कुरा, उनीहरुका मुखबाट 'हामीले गल्ती गरेका हौं' भन्ने सुन्न पाउनु दुर्लभ हो।

***  

हामी कस्तो व्यवस्था चाहन्छौं, कसले इमानदार भएर शासन चलाउला? छनोटका लागि यसपटकको निर्वाचन नेपाली जनताका लागि ठूलो मौका हो। यद्यपि दल तिनै छन्, नेताहरु पनि ६० प्रतिशत तिनै तिनै छन् जो हिजो पनि थिए। सबै आलोपालो सत्तामा भित्र-बाहिर गरेकाहरु नै अहिले पनि प्रतिष्पर्धामा छन्। यीबाट पनि 'असल' छनोटको चुनौती मतदातालाई छ।

दलीय नेतृत्वका प्रतिबद्धता हेरौं, उनीहरुका व्यक्तित्व र आचरण हेरौं। उनीहरुले दिन सक्ने 'डेलिभरी'मा अहिलेका प्रष्ट जवाफ हेरौं। देश यस्तै छ। सत्तामा पुग्नेहरु कोही पनि लोभ, मोह, आग्रह-पूर्वाग्रह र घमण्डबाट मुक्त हुँदैनन्। त्यसको मात्रा कति छ/छैन भन्ने मात्रै हो। नेताहरुका लागि सिद्धान्त देखाउने दाँत हुन्छ, जसे हाँस्ने र चपाउने मात्रै गर्दैन, व्यवस्थाको खिल्ली उडाउने पनि गर्छ। सुकिला, चिल्ला, सेलिब्रिटी व्यक्तित्वदेखि खरो, प्रष्ट, खिच्चो र खस्रा सबै खालका मनुवाहरु सत्तामा जान हामीलाई भर्‍याङ बनाउन उद्यत छन्। 

हामी भर्‍याङ नै हौं। कतिपय फिल्मका समीक्षामा समीक्षकले भनेका हुन्छ -'यो फिल्म हेर्न जाँदा दिमाग घरमै राखेर जानु उचित हुन्छ।' निर्वाचनमा हामी करिब करिब त्यही अवस्थाबाट गुज्रन्छौं। असल खराबको पहिचान र तुलना बिर्सन्छौं। मतदानमा हामी केबाट प्रभावित भएका थियौं र किन भन्ने समीक्षा मतदाताले केही पछि गर्छ, जब गल्ती सच्याउन नमिल्नेगरी भइसकेको हुन्छ। हामीलाई नेताका भाषण, चेहरा मोहरा, चुनाव चिन्ह, फ्यान फलोइङ, पहिरनले प्रभावित गर्छ। चुनावका बेला धेरैथोकले प्रभाव पार्छ।


***

यो चुनावले 'त्यो पक्ष'(जेनजी विद्रोह जगाउनेहरु) अपेक्षित नतिजा नआए के हुन्छ? यो बडो जटिल प्रश्न छ। संसार आसले चल्छ, मान्छेको जीवन 'अब पक्कै राम्रा दिन आउँछन्' भनेर चल्छ। ढालिएको सरकार संवेदनशील थिएन, जिम्मेवार थिएन। जिम्मेवार बनाउने प्रयास कतैबाट पनि भएन, किन?

हाम्रो राजनीतिक इतिहास त्यस्तै छ। राणाहरु कसैलाई जेल सजाय भएन, पञ्चायती व्यवस्था ढालिएपछि त्यो व्यवस्थामा हालीमुहाली गरेर परिवर्तनकारी शक्तिमाथि दमन गर्नेहरुलाई छुट दिइयो। सशस्त्र द्नन्द्वका विषयमा त बोल्नै हुन्न। गैरन्यायिक जघन्य अपराधका कसुरवार पनि जोगिएका छन्। सजाय गरे कसकसलाई गर्ने? तिनका प्रभाव क्षेत्र व्यापक छ।

माओवादीको सशस्त्र द्वन्द्वपछि इतिहासले नबिर्सने घटना हो - गौर हत्याकाण्ड। त्यसबारे बोल्नै हुँदैन। त्यसका कुरा गर्नै हुँदैन। जघन्य आपराधिक घटनाका कसुरवार जोगाइरहँदा भदौ २३ को घटनामा ओली र लेखकलाई किन सुनपानी नछर्किने? दिन बित्छन्, हामी पुराना कुरा बिर्सन्छौं। नराम्रा कुरा बिर्सेकै पनि बेस हो। 

जेनजी आन्दोलन छानबिन समितिले प्रतिवेदन बुझाउने बेला नजिकै छ। प्रतिवेदन बुझाए पनि मुलुकमा के हुन्छ भन्ने जगजाहेर नै छ। नेता यही छन्, केही चुनावमा भोट माग्दैछन्, केही पार्टीले टिकट नदिएकाले यसपटक आराम गर्दै नयाँ नेतृत्वलाई सराप्दै बसेका छन्। 

***

नियमित अवधिमा वार्षिक साधारण सभा भयो भने सानो र सामान्य संस्थामा पनि सुधार आउँछ।  सुधार आउन र ल्याउन प्रश्नलाई स्वागत गरिनुपर्छ, इमानदारीपूर्वक उत्तर दिइनुपर्छ। काम गर्छौं भन्नेलाई पालो दिइनुपर्छ। पद ओगटेर बस्ने तर दायित्वअनुसार काम नगर्नेका कारण द्वन्द्व हुने हो। एउटा समय चलाएकाहरु पालोबाट हट्नुपर्छ/हट्नैपर्छ। त्यति भए संस्थामात्रै नभइ पार्टी र देशमा सुधार आउँछ। 

साधारण सभा, अधिवेशन, महाधिवेशन हुनु र गरिनुपर्छ। एक समय नेतृत्व गरिसकेकाहरुले नयाँलाई पालो दिनुपर्छ। जिम्मेवारीको रहर गर्नेहरुले आफूलाई त्यसका लागि तयार गर्नुपर्छ। क्षमतावानले ठाउँ पाउनुपर्छ।

घर भाँड्न परिवारका सदस्य नै जिम्मेवार हुन्छन्, भलै छिमेकीलाई दोष दिइरहौं। हामी आलोपालोमा तयार हुँदैनौं, जिम्मेवारी र अधिकार हस्तान्तरणमा अनुदार हुन्छौं भने त्यो अघि आएको पुस्ताले खोसेर लिन्छ। त्यसबेला छिमेकीले अलिकति काम भरेको हुनसक्छ, केही हौसला दिएको वा फुर्क्याएको पनि हुन सक्छ। तर, दोष उसको होइन। हाम्रो हो, हामी किन पालो दिन अनुदार हुने?  

पुस्तान्तरणका लागि सम्भावना र क्षमताको कदर गर्ने समाजको विकास गतिशील हुन्छ। हामी पक्कै त्यस्तै उन्नत समाज चाहन्छौं। व्यवस्था र देश चाहन्छौं। उदार अर्थतन्त्र र रोजगारीको क्षेत्र फराकिलो हुनुपर्छ। सोर्स सिफारिसविना रोजगारीका अवसर सहज हुनुपर्छ। भ्रष्टाचार रोकिनुपर्छ। भ्रष्टाचारीलाई कार्बाही हुनुपर्छ। 

हामी त उन्नत व्यवस्था चाहन्छौं भनेर दलहरुले नभनेका हुन्? नियमनकारी निकायमा नियुक्ति आशिर्वादले हुन्छ। जहाँसुकै नातावाद, कृपावाद र घूसको डील हावी भएको देख्न-सुन्न पाउनु नौलो रहेन। तर, सबै सकिएको छैन। चुनाव आशा हो, जसले समाज र देश रुपान्तरणका लागि सघाउँछ। थोरबहुत भए पनि करेक्सन गर्छ। के हामी करेक्सन गर्न तयार छौं? 

***

मतदाताले उम्मेदवार छनोटमा विवेक पुर्‍याउनु पर्छ। उम्मेदवार को छन्, के भन्छन्, के भन्दै आएका छन् भन्ने हामीले थाहा नपाएका होइनौ। वरिपरि थुप्रैथरि चटक छन्। जे जे चटक छन् ती हेर्दामा बहुत राम्रा, सुकिला छन्। कोही धेर बोलिरा'छन्, कोही चाहिनेभन्दा बढी ज्ञानी देखिने प्रयासमा छन्। छनोट पक्कै सजिलो छैन। 

हाम्रो विवेक घुँडामा छ भन्ने हामीलाई थाहा छ। तपाइँ-हामीलाई थाहा छ - 'उठेका बाहेकलाई भोट दिन पाइँदैन।' को-को उठेका छन्, किन र के भन्दै उठेका छन् भन्ने पनि थाहा पाएपछि अलमलमा पर्नु छैन। परिवर्तन विस्तारै हुन्छ। तोडफोड गरेर, बालेर, डढाएर फेरि निर्माण सजिलो हुँदैन। भएकालाई जगेर्ना गरेर नयाँ तरिकाले चलाउँछौं भन्ने हो भने सपना बाँड्ने होइन काम गर्ने र क्षमता भएकालाई चयन गरौं। 

फागुन २१ मा मतदानको मिति पूर्वघोषित छ। केही विघ्न परेन भने घोषित मितिमा चुनाव पक्कै हुन्छ। देश बनाउँ, मतदान गरौं। 

***

(दुवै चित्र निर्वाचन आयोगद्वारा सामाजिक सञ्जालमा प्रेषित हुन्।)  

Wednesday, August 13, 2025

left handers day 2025

People's hands, whether they move right or left, should move with the ease of life's rhythm. Yet, for the small number of people in the world who are left-handed for a specific reason, today is a special day. Congratulations.

माथिको फोटो र लेखोट आजको मेरो फेसबुक पोस्ट हो। पत्रकारका लागि खास प्रकारका दिवस रिपोर्टिङका लागि उत्तम विषयमा पर्छ। सम्बद्ध विषयमा सरकारले कहाँ हेर्नुपर्छ, हेरेको छ/छैन, हेरेन भने किन? हेरेको हो भने आखिर भयो के? हुनुपर्ने के? धेरैथोक समेटिन सक्छ। जस्तै : धान दिवस।

कृषि प्रधान देशमा बर्सेनि धान आयात बढेको डरलाग्दो तथ्यांक देखाएर सरकारलाई कर्तव्य स्मरण गराउनु नेपाली सञ्चारकर्ममा परम्परा जस्तै छ। तर, आजको विषय त्यस्तो छैन र यो प्लेटफार्म कसैलाई गाली गर्ने ठाउँ पनि होइन। आफू देब्रे हात चल्ने मनुवा। थोरबहुत गन्थन पहिल्यै लेखेको छु।

आज लेख्न मन छैन। यसो सिनेमाको पोस्टर फेरेजसरी पोस्ट अघि बढाउने चाहना मात्रै हो। तलको विवरणमा पुग्न अघि तपाइँ यो ब्लग पढिरहनुभएकाका लागि एउटा स्मरणीय क्षण कहन्छु

संसदीय निर्वाचनको सिलसिला चलिरहेको थियो। म त्यस बेला पोखरामा थिएँ। कान्तिपुर पत्रिकाको पोखरा ब्युरो संयोजक थिएँ। मतदानका दिन नआउन्जेलका लागि रिपोर्टिङका विषय थरी थरीका थिए। कान्तिपुरले बिगत जसरी नै त्यो निर्वाचनको रिपोर्टिङ गहकिलो गराउन सबै क्षेत्र/प्रदेश प्रदेशमा काठमाडौंबाट वरिष्ठ साथीहरुलाई खटायो। गण्डकी आइपुगे साथी दुर्गा खनाल।

म लेख्ने र फोटो खिच्ने दुवै गर्ने भएकाले अन्त जसरी गण्डकीका लागि अफिसले छुट्टै फोटोपत्रकार साथी पठाएन। म खनालजीका साथ लागेँ। रिपोर्टिङमा जिल्ला जिल्ला गइयो। बागलुङ पुगियो। त्यहाँ हामीले जिल्ला संवाददाता साथी प्रकाश बराललाई साथ लगायौँ। 

बागलुङ बजार। गल्कोट। गल्कोटको हटियामा बास बसियो। एउटा बिहान चित्रबहादुर केसीको टुंगोमा पुगियो। भेटघाट-संवाद। फर्केपछि बागलुङ। त्यहाँ हामी खाजा खान एउटा पसलमा पुग्यौँ, जहाँ साथी प्रकाशले पुर्‍याएका थिए। पसले लेफ्ट ह्यान्डर रहिछन्। 

मैले भनेँ- ओहो ! मेरो पनि देब्रे हात चल्छ नि ।

पसले मुस्काइन। 

अनि दुर्गाजी बोले - अचम्म नै भयो। एकै ठाउँ हामी धेरै जना भेला भएछौं। गजबको संयोग भयो।

साँच्चै गज्जप संयोग थियो त्यो दिन। किनभने म, दुर्गाजी, प्रकाशजी देब्रे हाते नै थियौं। काम गर्न देब्रे हात अघि सर्छ। देब्रे हातले लेख्छ। 


कथा सकियो। मान्छेका हात दायाँ चलोस् की बायाँ, खासमा जोकसैको जीवन सुख र सहजतापूर्वक चल्नुपर्छ। हामी सबैलाई त्यही लाग्छ। तैपनि महिला दिवस छन्, पुरुष दिवस छन्। जो महिला वा पुरुषको वर्गका होइनौ भन्छन्, उनीहरुका लागि झन् खास दिवस छन्। दिवसहरु ती मानिसलाई सबल बनाउनका लागि हुन्। उनीहरुलाई जीवनमा खुसी र सुखी अनुभव दिलाउनका लागि हुन्। उद्देश्यमा जेजे बखान गरे पनि अधिकारका सवालमा बहुसंख्यक वा जिम्मेवारहरुको ध्यानाकर्षणका लागि हुन्।

प्रकृतिले धेरै जनाको हात दायाँ चल्ने बनाएको छ। यहीँ थोरैलाई बायाँ चल्ने पनि बनाइदिएको छ। हिजोआज लेफ्ट ह्यान्डर्स भेट्दा अनौठो मान्नेहरु नगण्य नै भेटिन्छन्। कारण हो, धेरैलाई थाहा भइसक्यो - यो उदेकलाग्ने विषय होइन।  

मनमा लाग्यो यस विषयमा एआइले के भन्छ ? भन्न त उसले सोचेर के नै भन्ने हो ! इन्टरनेटका साइटहरुमा भेटिने जानकारी पढेर, संग्रह गरेर ती सन्दर्भ सामग्री नै हामीलाई देखाउने हो। तैपनि जिज्ञासा त मेट्नै परो। 

अब तलको गन्थन चाहिँ मैले गुगल जेमिनीलाई प्रम्ट दिएँ - 'left handers का विषयमा  जानकारीमूलक एउटा रमाइलो लेख तयार गर ।' केहीबेर लाएर उत्तरमा उसले जे दियो त्यो तल छ, जस्ताको तस्तै-

***

धेरै मानिसहरू दायाँ हात प्रयोग गर्छन्। त्यसैले, दायाँ हात चलाउने मानिसहरूलाई 'दायाँ हाते' (Right-Handed) भनिन्छ। तर, विश्वमा करिब १०% मानिसहरू बाँया हात चलाउँछन्। उनीहरूलाई 'बाँया हाते' (Left-Handed) भनिन्छ।

धेरै मानिसहरूलाई बाँया हाते हुनु भनेको कुनै रोग हो भन्ने लाग्छ। तर, यो कुनै रोग होइन, एउटा विशिष्टता हो। इतिहासदेखि नै बाँया हाते मानिसहरूलाई फरक तरिकाले हेरिन्थ्यो।

इतिहासको पानामा बाँया हाते

पुरानो समयमा, बाँया हात चलाउने मानिसहरूलाई अशुभ र नकारात्मक शक्तिको प्रतीक मानिन्थ्यो। ल्याटिन भाषामा 'बाँया' शब्दलाई 'सिनिस्टर' (sinister) भनिन्छ, जसको अर्थ 'खराब' वा 'दुष्ट' हुन्छ। युरोपमा मध्ययुगको समयमा, बाँया हातले काम गर्ने मानिसहरूलाई बोक्सी (witch) भनेर हेर्ने गरिन्थ्यो।

नेपाल र भारत जस्ता देशहरूमा पनि, बाँया हातले खाना खानु, पैसा दिनु वा ठूला मानिसहरूलाई सम्मान गर्नुलाई गलत मानिन्छ। यसै कारणले गर्दा, कतिपय परिवारमा साना बच्चाहरूले बाँया हात प्रयोग गर्दा उनीहरूलाई बारम्बार दायाँ हात चलाउन बाध्य पारिन्थ्यो।

वैज्ञानिक तथ्य: किन हुन्छन् मानिसहरू बाँया हाते?

मानिसहरू बाँया हाते हुने पछाडि मुख्य कारण मस्तिष्कको संरचनावंशाणुगत गुणहरू हुन्। मानव मस्तिष्कलाई दुई भागमा विभाजन गरिएको हुन्छ: दायाँ र बाँया गोलार्ध (hemisphere)। मस्तिष्कको दायाँ भागले शरीरको बाँया भागलाई नियन्त्रण गर्छ र बाँया भागले शरीरको दायाँ भागलाई नियन्त्रण गर्छ।

धेरैजसो मानिसहरूमा, मस्तिष्कको बाँया भाग भाषा, तर्क र गणितीय कौशलका लागि बढी जिम्मेवार हुन्छ। तर, बाँया हाते मानिसहरूमा मस्तिष्कको दायाँ भाग बढी सक्रिय हुन्छ, जसले सिर्जनशीलता, कलादृश्य-स्थानिक सोच (visual-spatial thinking) लाई बढावा दिन्छ।

वैज्ञानिकहरूले पत्ता लगाएअनुसार, बाँया हाते हुनुको पछाडि एउटा विशेष जीनको पनि भूमिका हुन्छ। यदि आमा-बुबा दुवै बाँया हाते छन् भने, उनीहरूको बच्चा बाँया हाते हुने सम्भावना धेरै हुन्छ।

के बाँया हाते मानिसहरू अरूभन्दा फरक हुन्छन्?

बाँया हाते मानिसहरूमा केही खास विशेषताहरू देख्न सकिन्छ। उनीहरूमा सिर्जनशीलताअभिनव सोच (innovative thinking) बढी हुन्छ। यसैले, लियोनार्डो दा भिन्ची, माइकल एन्जेलो, पिकासो जस्ता विश्वका महान् कलाकारहरू बाँया हाते थिए।

बाँया हाते मानिसहरूले दायाँ हाते संसारमा बाँच्नका लागि धेरै चुनौतीहरूको सामना गर्नुपर्छ। कैंची, क्यान ओपनर, गितार, खेलकुदका सामानहरू जस्ता धेरैजसो उपकरणहरू दायाँ हाते मानिसहरूका लागि बनाइएका हुन्छन्। यस कारण, बाँया हाते मानिसहरूले यी उपकरणहरू प्रयोग गर्नका लागि विशेष तरिका अपनाउनुपर्ने हुन्छ। यो अभ्यासले उनीहरूको मस्तिष्कलाई थप क्रियाशील बनाउँछ र समस्या समाधान गर्ने (problem-solving) क्षमता बढाउँछ।

केही रोचक तथ्यहरू

  • बराक ओबामा, बिल गेट्स, अल्बर्ट आइन्स्टाइनमहारानी एलिजाबेथ द्वितीय जस्ता धेरै चर्चित व्यक्तित्वहरू बाँया हाते थिए।

  • एउटा अनुसन्धानअनुसार, बाँया हाते मानिसहरूमा एलर्जी र माइग्रेनको सम्भावना बढी हुन्छ। तर, यो वैज्ञानिक रूपमा पूर्ण रूपमा प्रमाणित भएको छैन।

  • कतिपय खेलकुदहरूमा, बाँया हाते खेलाडीहरूलाई फाइदा हुन्छ। जस्तै: टेनिस, बक्सिङ र बेसबल। किनकि, उनीहरूको चाल र तरिका दायाँ हाते खेलाडीहरूका लागि अप्रत्याशित हुन्छ।

सत्य कथा : एक बाँया हाते मानिसको अनुभव

मेरो एक साथी, जसको नाम राहुल हो, बाँया हाते छ। सानो छँदा, उसको हजुरबुबाले उसलाई बाँया हातले नलेख्न भन्नुहुन्थ्यो। कहिलेकाहीँ त, उसलाई दायाँ हातले लेख्न लगाउन बलसमेत गर्नुहुन्थ्यो। यसले गर्दा ऊ धेरै दुःखी हुन्थ्यो।

स्कूलमा पनि, कक्षामा शिक्षकहरूले उसलाई दायाँ हातले लेख्ने अभ्यास गर्न भन्थे। तर, राहुलका लागि बाँया हात प्रयोग गर्नु एकदमै सहज थियो। उसले जतिसुकै प्रयास गरे पनि दायाँ हातबाट राम्रोसँग लेख्न सक्दैनथ्यो।

आज, राहुल एक सफल आर्किटेक्ट (वास्तुकलाविद्) हो। उसले आफ्नो सिर्जनशीलता र दृश्य-स्थानिक सोचको प्रयोग गरेर धेरै उत्कृष्ट डिजाइनहरू बनाएको छ। उसलाई लाग्छ कि उसको बाँया हाते हुनु नै उसको सफलताको एक कारण हो। किनकि, यो संसारलाई उसले फरक तरिकाले हेर्छ र सोच्छ।

अन्तमा, बाँया हाते हुनु कुनै कमी होइन, बरु एउटा अद्वितीय गुण हो। यो एउटा यस्तो विशेषता हो जसले मानिसलाई फरक दृष्टिकोण र विशेष क्षमता दिन्छ। त्यसैले, यो संसारमा बाँया हाते हुनुलाई सम्मान गर्नुपर्छ र उनीहरूको विशिष्टतालाई स्वीकार गर्नुपर्छ।

Sunday, August 10, 2025

भयावह कुविचारका जोखिम


धेरै वर्ष अगाडि यही ब्लगको एउटा पोस्टमा मैले एउटा घटना लेखेको छु, जसले मलाइ निकै दिनसम्म नरमाइलो लागिरह्यो। यति पीर लाग्यो की मेरा दिनचर्यामै असर परेको थियो। संक्षिप्तमा फेरि त्यो स्मरण गर्छु अनि अघि बढौँला। 

आज जुन विषय यो पोष्टका लागि छनोट गरेको छु, त्यो निरस छ। मनोविज्ञानका पाठ्यक्रममा आधारित छ। कोर्सका किताब अल्छी लाग्ने हामीलाई ब्लगले झन किन बोर गराउनु। अँ त्यो घटना चर्चा गरौं- फेसबुकमा विदेशी मिडियाका चर्चित एक जना नेपाली पत्रकार (पछि पत्रकारिता छाडेर राजनीतिमा आए)ले दौरा-सुरुवाल र ढाका टोपी लगाएको आफ्नै फोटो पोस्ट गरेका थिए। यो पोसाकमा राष्ट्रियता झल्किएको शायद केही लेखेका थिए।

लन्डन बसेको मेरो एक जना भाइले तिनको पोस्टमा कमेन्ट लेखेछ। म्यासेन्जरमा एक्टिभ देखियो र उसले विराटनगरमा रहेको मलाइ भन्यो 'फलानोको पोस्ट हेर्नुस्, मैले लेखेको कमेन्ट पढ्नुस्।' म त्यो पोस्टमा पुगेँ र पढे। पोसाकले कोही पनि नेपाली नहुने आसयको विचार कमेन्टमा थियो। उसले गोपाल योन्जन र उदितनारायणको उदाहरण दिएर पोसाकले कसैलाई पनि राष्ट्रियता नझल्काउने भनेको थियो।
'क्या बात कान्छा ! कडा लेखिछस्,' मैले उसलाई म्यासेन्जर च्याटमा रिप्लाइ गरेँ। उ 'सिन' भयो/भएन मलाइ सम्झना छैन तर, जवाफ भने दिएन। निकैबेर जवाफ नाएपछि म आफ्नो काममा लागेँ।

भोलिपल्ट एकाबिहानै काठमाडौंबाट ठुल्दाइ(ठुलीआमाका छोरा)को फोन आयो- 'कान्छाले सुसाइड गरेछ।' उ मसँग च्याटमा कुरा गर्दागर्दै कोठाबाट बाहिर निस्केको रहेछ। अनि कतै गएर झुन्डिएछ। निकै दिन नराम्रो लाग्यो। बेलायत उड्नअघि उसको बिहे भएको थियो। दम्पती गएका थिए। पछि सुनियो उसले भनेजस्तो जागिर पाएको थिएन, बरु श्रीमतीको जागिर राम्रो थियो। 
आफूले खोजेको जस्तो जागिर नपाएकोमा उ तनावमा थियो। तनाव बढ्दै उ मानसिक समस्याको औषधि लिने अवस्थामा पुगेको थियो। उ डिप्रेसनबाट बाहिर निस्कन औषधि सेवन गरिरहेको थियो। जुन साँझ उसले त्यस्तो गरेको थियो, कोठामा एक्लै थियो। 

घटनाको निकै वर्ष भयो। अहिले ती बुहारी पनि नयाँ जीवनमा अघि बढिसकेकी होलिन्। आफन्तहरुले त्यो भाइका बारेमा चर्चा गर्न नै बिर्सिसके जस्तो लाग्छ।

जे होस् हामी आज एउटा भयावह कुविचारको चर्चा गर्छौं। यस्तो विचार जो कोहीलाई एक पटक मनमा आउँछ अवश्य। विचार आयो भन्दैमा त्यसलाई कार्यान्वयनको दुस्साहस गर्ने न्यून नै हुन्छन्। तर, जति हुन्छन् तिनले बाँचेकाहरुलाई नरमाइलो बनाउँछन्। जीवन अमूल्य छ, मान्छे मरेपछि फर्केर आउँदैन। जान सबैले पर्छ। अनाहकको हतार किन पो गर्नु?  

आउनुस् अब मूल विषयमा प्रवेश गरौं- आफूलाई बाँच्न मन नलाग्नु र आत्महत्याको विचार आउनु कुनै कमजोर मान्छेको निसानी होइन। यो मानसिक स्वास्थ्यसँग जोडिएको एउटा गम्भीर समस्या हो, जसका पछाडि धेरै कारणहरू हुन सक्छन्। यसलाई समयमै पहिचान गरेर सही उपचार गराउन सके, जीवनलाई नयाँ बाटो दिन सकिन्छ।

किन आउँछ त्यस्तो विचार ?

मनोविज्ञानका कक्षामा पढ्न पाइन्छ - हरेक मान्छेमा एक न एक पटक आत्महत्याको विचार आउँछ। विचार आउनु अस्वाभाविक भने होइन। आत्महत्याको विचार आउनुका विभिन्न कारण हुन सक्छन्, जसलाई सरसर्ती बुझ्नका लागि यी केही बुँदाहरू हेरौं

  • मानसिक रोग : डिप्रेसन, एन्जाइटी, बाइपोलर डिसअर्डर, सिजोफ्रेनियाजस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूले आत्महत्याको जोखिम बढाउँछन्। विशेष गरी डिप्रेसन आत्महत्याको प्रमुख कारण मानिन्छ, किनभने यसले मानिसलाई निराशा र असीमित पीडामा धकेल्छ।
  • अत्यधिक तनाव र जीवनका घटना : जीवनमा आउने ठूला उतारचढावहरू, जस्तैः नजिकको मान्छेको मृत्यु, सम्बन्धविच्छेद, आर्थिक समस्या, गम्भीर रोग, वा काम गुमाउनुजस्ता घटनाहरूले मानिसलाई मानसिक रूपमा कमजोर बनाउन सक्छन्।
  • सामाजिक र पारिवारिक समस्या : एक्लोपन, सामाजिक बहिष्करण, बुलिङ, पारिवारिक झगडा, वा घरेलु हिंसाजस्ता कुराहरूले मानिसलाई बाँच्न मन नलाग्ने अवस्थामा पुर्‍याउन सक्छ।
  • अघिल्ला घटना : बाल्यकालमा भएको दुर्व्यवहार, कुनै ठूलो दुर्घटना वा प्राकृतिक विपत्तिजस्ता घटनाहरूको गहिरो छाप मनमा बसेको हुन सक्छ, जसले पछि गएर आत्महत्याको विचारलाई बढावा दिन्छ।
  • लागूपदार्थको प्रयोग : मादक पदार्थ वा अन्य लागूपदार्थको लतले पनि आत्महत्याको जोखिम बढाउँछ।
  • आफ्नो शारीरिक बनावट वा लैंगिक पहिचानसम्बन्धी समस्या : कतिपय व्यक्तिहरूले आफ्नो शारीरिक बनावट, लैंगिक पहिचान वा यौनिक झुकावका कारण पनि मानसिक तनाव र एक्लोपनको सामना गरिरहेका हुन्छन्।
मनोविज्ञानका सिद्धान्तका दृष्टिमा - 

  • सामाजिक सिद्धान्त : समाजशास्त्री इमाइल दुर्खिमले सन् १८९७ मा आफ्नो पुस्तक 'सुसाइड'मा आत्महत्यालाई सामाजिक घटनाको रूपमा व्याख्या गरेका छन्। यद्यपि यो समाजशास्त्रको सिद्धान्त हो, यसले मनोविज्ञानलाई पनि गहिरो प्रभाव पारेको छ। दुर्खिमका अनुसार जब कुनै व्यक्ति समाजबाट विच्छेद हुन्छ वा सामाजिक बन्धन कमजोर हुन्छ, तब उसले एक्लो र असहाय महसुस गर्छ र आत्महत्याको जोखिम बढ्छ। उनले आत्महत्याका विभिन्न प्रकारहरूको पनि व्याख्या गरेका छन् (जस्तै: अहंवादी, परोपकारी, अराजकतावादी)।
  • मानसिक रोगको सिद्धान्त : यो सबैभन्दा सामान्य र व्यापक रूपमा स्वीकार गरिएको सिद्धान्त हो। यसअनुसार, ९० प्रतिशतभन्दा बढी आत्महत्या गर्ने व्यक्तिहरू कुनै न कुनै मानसिक रोगबाट पीडित हुन्छन्। डिप्रेसन (उदासीनता), बाइपोलर डिसअर्डर, सिजोफ्रेनिया, एन्जाइटी, र लागूपदार्थको लतजस्ता मानसिक समस्याहरूले व्यक्तिलाई जीवनप्रति निराशावादी र असहाय महसुस गराउँछ, जसले आत्महत्याको जोखिम बढाउँछ।
  • हतासा-आक्रामकता सिद्धान्त (Frustration-Aggression Theory) : यो सिद्धान्तअनुसार, जब कुनै व्यक्ति आफ्नो इच्छा वा लक्ष्य पूरा गर्न असफल हुन्छ, तब उसमा हतासा उत्पन्न हुन्छ। यो हतासा आक्रामक भावनामा परिणत हुन्छ। यदि यो आक्रामकता अरूमाथि व्यक्त हुन सकेन भने, यो व्यक्ति आफैँतर्फ फर्कन्छ, जसले आत्महत्याको रूप लिन सक्छ।
  • संज्ञानात्मक सिद्धान्त (Cognitive Theory) : यो सिद्धान्तले व्यक्तिको सोचाइको तरिकामा जोड दिन्छ। यसअनुसार, आत्महत्याको सोच बनाउने व्यक्तिहरूको सोचाइ प्रायः नकारात्मक र संकुचित हुन्छ। उनीहरू भविष्यलाई पूर्ण रूपमा अन्धकार देख्छन् र समस्या समाधानका कुनै विकल्प देख्दैनन्। उनीहरूलाई लाग्छ कि आत्महत्या नै सबैभन्दा उत्तम उपाय हो।

उपचार र रोकथाम

आत्महत्याको विचार आउँदा यसको रोकथाम र उपचारको सबैभन्दा प्रभावकारी उपाय भनेको मनोवैज्ञानिक परामर्श र चिकित्सा उपचार हो। व्यक्ति जो यस्तो भावना, आवेग, चिन्तामा हुन्छन्, तिनको बोलीव्यवहार अघिपछिभन्दा केही फरक हुन्छ। उसले आफूलाई निको पार्न चाहेन भने परिवारका सदस्य, नजिकका आफन्तको साथ चाहिन्छ।

·    चिकित्सकको परामर्श : यदि कसैलाई आत्महत्याको विचार आइरहेको छ भने, तुरुन्तै मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ। उनीहरूले समस्याको कारण पत्ता लगाएर डिप्रेसन वा अन्य मानसिक समस्याहरूको उपचारका लागि औषधि र परामर्शको सही बाटो देखाउँछन्।

·   मनोवैज्ञानिक परामर्श (Psychological Counseling) : थेरापीले व्यक्तिलाई आफ्ना समस्याहरूका बारेमा खुलेर कुरा गर्न, नकारात्मक सोचलाई सकारात्मक बनाउन र समस्या समाधान गर्ने सीप विकास गर्न सहयोग गर्छ।

·    परिवार र साथीहरूको सहयोग : आफूलाई मन नपरेको कुरा खुलेर परिवार वा साथीहरूलाई बताउँदा पनि धेरै सहज महसुस हुन्छ। साथीभाइले पनि आफ्नो वरपर अस्वाभाविक लाग्ने व्यवहार देखिएकालाई चिनेर सम्झाउने, 'तिमी एक्लो छैनौ' भनेर ढाढस दिने गर्नुपर्छ।

   आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन : व्यायाम गर्ने, स्वस्थकर खानेकुरा खाने, राम्रोसँग सुत्ने, र आफूलाई मनपर्ने कामहरूमा ध्यान दिँदा पनि मनलाई शान्त राख्न मद्दत पुग्छ। आफ्ना समस्यामा पहिलो डाक्टर आफैं हो। आफैंले आफूलाई सही परामर्श दिनु पहिलो उपचार हो। खराब विचार मनमा रहेसम्म त्यसले समस्या ल्याउँदैन, जब कार्यान्वन हुन्छ, समस्या त्यसबेला हुने हो। आफूलाई समस्या आएको व्यक्ति स्वयंले छिटो थाहा पाउँछ।  

भयावह छ तथ्यांक

विश्व स्वास्थ्य संगठनको सन् २०२२ को रिपोर्टअनुसार नेपालमा प्रति एक लाखमा ११.६ जनाले आत्महत्या गर्ने गर्छन्। यो सङ्ख्या दक्षिण एसियाका अन्य केही देशको भन्दा बढी हो। आत्महत्या गर्नेमध्ये धेरैजसो १५ देखि २९ वर्ष उमेर समूहका युवा छन्। प्रहरीको तथ्यांक अनुसार, पछिल्ला वर्षहरूमा नेपालमा आत्महत्याको दर बढ्दो क्रममा छ।

संसारभर हरेक वर्ष लगभग ७ लाख मानिसले आत्महत्या गर्छन्। यो सङ्ख्या सडक दुर्घटना, एड्स, मलेरिया र युद्धमा मर्ने मानिसको सङ्ख्याभन्दा पनि धेरै हो। विश्वभर १५-१९ वर्ष उमेर समूहका युवायुवतीको मृत्युको चौथो प्रमुख कारण पनि आत्महत्या नै हो। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर आत्महत्याको दर बढी भएका देशहरूमा निम्न र मध्यम आय भएका मुलुकहरू पर्छन्।

के भन्छन् चिकित्सक र मनोविद् 

  • मनको कुरा गर्ने बानी बसाल्ने :  आफ्नो मनमा आएको कुरालाई लुकाउनुको सट्टा आफूलाई विश्वास लाग्ने व्यक्तिसाथीभाइपरिवार वा कुनै चिकित्सकसँग खुलेर कुरा गर्नुपर्छ।
  • आत्महत्याका संकेतलाई पहिचान गर्ने :  यदि कुनै व्यक्तिले मृत्युनिराशा वा आफूलाई काम नलाग्ने कुरा गरिरहेको छआफ्नो प्रिय चीजहरू अरूलाई दिनेएक्लै बस्ने वा आफ्नो व्यवहारमा अचानक परिवर्तन ल्याएमा त्यो आत्महत्याको सङ्केत हुन सक्छ। यस्ता सङ्केतहरू देख्नासाथ तत्कालै उसलाई सहयोग गर्नुपर्छ।
  • मानसिक स्वास्थ्य सेवामा सहज पहुँच बनाउने : सरकारले गाउँ-गाउँमा मानसिक स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ र यसबारे चेतना फैलाउनुपर्छ ताकि मानिसहरूलाई उपचारका लागि हिचकिचाहट नहोस्। 
  • कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने : स्कुलकलेज र कार्यालयहरूमा मानसिक स्वास्थ्य शिक्षा र परामर्श सेवा उपलब्ध गराउनुपर्छ।

यदि कोही आत्महत्याको विचारबाट गुज्रिरहेका छन् भने, तुरुन्तै सहयोग चाहिन्छ। सहयोगका लागि  सरकारी मानसिक अस्पतालका हटलाइन नम्बरहरू वा कुनै मनोविद्को सम्पर्कमा जान सकिन्छ। सहयोग माग्नु कुनै कमजोरी होइन, यो आफूलाई माया गर्नु हो।

मनोवैज्ञानिकहरूका अनुसारआत्महत्या एक जटिल मानवीय व्यवहार हो, जसका पछाडि केवल एउटा कारण मात्र हुँदैन। यो एउटा यस्तो अवस्था हो, जहाँ व्यक्तिले आफ्नो पीडाबाट मुक्ति पाउने एक मात्र उपाय मृत्यु हो भन्ने सोच्न थाल्छ। उनीहरूले आत्महत्याका कारण र रोकथामका विषयमा विभिन्न पक्षहरूमा जोड दिएका छन्। 

मनोवैज्ञानिक कारण र जोखिम 

मनोविज्ञहरूले आत्महत्याका प्रमुख कारणहरूमा निम्न कुराहरूलाई औँल्याएका छन् : 

मानसिक रोगहरू : आत्महत्याको सबैभन्दा प्रमुख कारणहरूमध्ये डिप्रेसन (उदासीनता), बाइपोलर डिसअर्डर, सिजोफ्रेनिया र एन्जाइटी डिसअर्डर प्रमुख हुन्। यी रोगहरूले मानिसको सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकामा गम्भीर असर पार्छन्। विशेष गरी डिप्रेसनले व्यक्तिलाई गहिरो निराशा र पीडामा धकेल्छ, जसका कारण बाँच्ने इच्छा हराउँछ।

असहनीय पीडा र निराशा : जब व्यक्तिलाई लाग्छ कि जीवनका समस्याहरू कहिल्यै समाधान हुँदैनन् र आफ्नो पीडाबाट मुक्ति पाउने कुनै उपाय छैन, तब उसले आत्महत्याको बाटो रोज्न सक्छ। यो अवस्थालाई 'होपलेसनेस' (आशाविहीनता) भनिन्छ।

संज्ञानात्मक कमजोरीहरू : कतिपय मानिसको सोच्ने तरिका नै नकारात्मक हुन्छ। उनीहरूले कुनै पनि समस्यालाई समाधान गर्न सक्दिनँ भन्ने सोच्छन् र भविष्यलाई सधैँ अँध्यारो देख्छन्। यस्तो सोचाइले आत्महत्याको जोखिम बढाउँछ।

आवेगशील व्यवहार (Impulsivity) : कतिपय व्यक्तिहरूले कुनै समस्या वा घटनाका कारण तुरुन्तै आवेगमा आएर आत्महत्याको कदम चाल्न सक्छन्। उनीहरूले त्यस बेला आफ्नो कार्यको नतिजाबारे सोच्न सक्दैनन्।

सामाजिक र पारिवारिक एक्लोपन : जब व्यक्ति आफूलाई समाज वा परिवारबाट एक्लो भएको महसुस गर्छ, उसलाई लाग्छ कि उसको ख्याल राख्ने कोही छैन। यो एक्लोपनले मानसिक पीडा बढाएर आत्महत्याको विचार ल्याउन सक्छ। आत्महत्या रोकथामका लागि मनोविद्हरूले व्यक्तिगत, सामाजिक र नीतिगत स्तरमा विभिन्न उपायहरूको सुझाव दिएका छन्।

  • मानसिक स्वास्थ्यबारे चेतना फैलाउने : आत्महत्यालाई केवल व्यक्तिगत कमजोरी नभई एक मानसिक स्वास्थ्य समस्याका रूपमा हेर्नुपर्छ। यसका लागि समाजमा मानसिक स्वास्थ्यबारे चेतना फैलाउनु र यससँग जोडिएको सामाजिक लाञ्छना (Stigma) हटाउनु जरुरी छ।
  • संकेतहरू पहिचान गर्ने : आत्महत्याको विचार आएका व्यक्तिले अक्सर केही सङ्केतहरू देखाउँछन्, जस्तै: मृत्यु वा आत्महत्याबारे कुरा गर्ने, जीवनलाई अर्थहीन ठान्ने, एक्लो बस्ने, व्यवहारमा अचानक परिवर्तन आउने आदि। यी सङ्केतहरूलाई चिन्न सक्ने र समयमै सहयोग गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ।
  • सम्बन्धहरूलाई मजबुत बनाउने : परिवार, साथीभाइ वा नजिकका व्यक्तिहरूसँगको बलियो सम्बन्धले व्यक्तिलाई एक्लोपनबाट बचाउँछ र मानसिक रूपमा बलियो बनाउँछ।
  • पेसागत सहयोग लिने : आत्महत्याको विचार आउँदा मनोचिकित्सक वा मनोवैज्ञानिकसँग परामर्श लिनुपर्छ। थेरापी र औषधिको माध्यमबाट यसको सफलतापूर्वक उपचार गर्न सकिन्छ।
  • सहयोगका लागि पहुँच विस्तार गर्ने : सरकार र संघसंस्थाहरूले हटलाइन सेवाहरू, परामर्श केन्द्रहरू र मानसिक स्वास्थ्य क्लिनिकहरूको पहुँच बढाउनुपर्छ। यसले गर्दा जोखिममा रहेका व्यक्तिहरूले सजिलै सहयोग पाउन सक्छन्।

नेपालमा आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य परामर्शका लागि सरकारी र निजी दुवै क्षेत्रबाट प्रयासहरू नभएका होइनन्। यद्यपि, मानसिक स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच अझै पनि एउटा ठूलो चुनौतीको रूपमा छ।

मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवाको एक भागको रूपमा समावेश गर्ने नीति सरकारको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना लागू गरेको छ। जसको मुख्य उद्देश्य मानसिक स्वास्थ्य सेवालाई समुदायस्तरसम्म पुर्याउनु र यससम्बन्धी जनचेतना बढाउनु हो। यसअन्तर्गत विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरूमा मानसिक रोगको उपचार र परामर्श सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

ललितपुरको लगनखेलस्थित मानसिक अस्पताल नेपालको एक मात्र सरकारी मानसिक अस्पताल हो। यसले उपचार र परामर्श सेवा दिन्छ। आपतकालीन अवस्थाका लागि चौबिस घण्टा चल्ने हेल्पलाइन नम्बर ११६६ पनि सञ्चालन गरेको छ।

निजी क्षेत्र र गैरसरकारी संस्थाहरूले पनि मानसिक स्वास्थ्य सेवा विस्तारमा भूमिका खेलेका छन्। विभिन्न सहरहरूमा खुलेका निजी मनोवैज्ञानिक परामर्श केन्द्रहरूले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई परामर्श, थेरापी र अन्य सहयोग दिन्छन्।

विभिन्न गैरसरकारी संस्थाहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका छन्। TPO Nepal ले मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सेवाहरू प्रदान गर्दछ। टोल-फ्री हटलाइन नम्बर १६६००१०२००५ हो। CMC Nepal ले पनि मानसिक स्वास्थ्य सम्बन्धी काम गर्छ र परामर्श सेवा उपलब्ध गराउँछ। हटलाइन नम्बर १६६००१८५०८० छ।

कोसिस नेपाल संस्थाले पनि मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श प्रदान गर्छ। उनीहरूको हेल्पलाइन नम्बर १६६००१२२३२२ हो। मेन्टल हेल्थ हेल्पलाइन नेपाल संस्थाले पनि मानसिक स्वास्थ्यसम्बन्धी परामर्शका लागि हटलाइन नम्बर १६६००१३३६६६ सञ्चालनमा ल्याएको छ। 

यी संस्थाहरूले विशेषगरी हटलाइन सेवामार्फत मानसिक तनाव वा संकटमा परेका व्यक्तिहरूलाई तत्काल सहयोग र परामर्श दिने काम गर्छन्। यी नम्बरहरूमा कल गर्दा गोपनीयताको ग्यारेन्टी हुन्छ र परामर्शदाताले तपाईंको समस्या सुनेर उचित सल्लाह दिनेछन्।