Thursday, August 13, 2015

देब्रे हातेको दिवस

ट्वीटर चलाउन थालेपछि मात्रै थाहा भो International Lefthanders Day भन्ने पनि रैछ  । अघिल्लोपटक साथी अजय दासले यो दिन सम्झाए । योपल्ट मैले उनलाई । रमाइलो भो । मलाइ नि एकाबिहानै उज्जल  भाइको ट्वीट पढेपछि थाहा भो । उज्जल पनि उस्तै । यही मेसोमा उनको ब्लग पढियो । देब्रे हुनुको गुलियो-अमिलो अनुभूति बडो मजाले लेख्या रैछन् । रमाइलो लाग्यो । केही लेख्न मन लाग्यो । तालु खुइलेका कुरा एकपल्ट सञ्चारकर्मी साथी यज्ञशले बडो मजाले लेखेका थिए । म पनि थोरै कुरा खोज्छु । देब्रे-हाते जिन्नगीका । मनरूपी इन्टरनल हार्डड्राइभबाट संस्मरणका केही पुराना फाइल खोजुम् है । 
मान्छेलाई तबसम्म मात्रै ती कुरा असहज अनुभव हुन्छन्, जबसम्म कुनै खास समस्या या वचनको सामना तिनैका कारणले होस् । समय बित्यो । अब असहज छैन । यो प्रष्ट बुझम् । 'तपाइँ लेफ्टी ?' यति भनेका कति मान्छेसँग संसारका प्रतिभा र नाम कहलिएका लेफ्टीबारे फरर भन्ने 'दिमाख चटाइ' भेटिरहिन्छ । एक मनले त कैलेकैले साला जिन्दगीमा केही नै पो गर्न सकिएनछ, हेर त लेफ्टी कस्ता-कस्ता हुनी रछन् झै नी लाउँने । अनि फेरि बखान गर्नेलाई हेरेर माया नि लाग्छ । मानौ उनले लेफ्टी हुन चाहेका थिए, भएर जन्मन पाएनन् । जे होस् मान्छेलाई भेटमा गर्न गफ चाहिन्छन् र, बोल्छन् । ठीकै छ । 
अनि अगाडिको गन्थन फुलबुट्टाको मुन्तिर छ ।  

***
मिल्स मावि, विराटनगर-२०, मिल्सएरिया । म पढेको स्कुल । क्लासमा देब्रेले लेख्ने मबाहेक थिएनन् । 'यसले गु धुने हातले लेख्छ, खान पनि यसैले होला' भन्दै साथी जिस्क्याउँथे । सर/मिसले पनि देब्रेहाते भएकै कारण म नजरमा परेको थिएँ । 
पढाउन जाँगर नचलेका दिन देब्रे-हाते महात्मय सुन्न मिल्थ्यो । दिमाख दाँया सक्रिय हुुनेको बायाँ हात-गोडा चल्छन् । धेरैजनामा नगन्यमात्रै यस्ता जन्मिन्छन् । ठूल्ठुला मान्छे छन् । क्रिकेट खेले राम्रो । लेफ्ट ह्याण्डस खेलाडी पनि हुन्छन् । थाहा छ - अमिताभ बच्चन पनि लेफ्टी हो ।  कलाकार छन्, बैज्ञानिक, राजनीतिक नेताहरू आदि इत्यादि ।
लेखा पढाउने भूराज राइ सर भन्नुहुन्थ्यो -'तिमीले मास्टर भए राम्रो हुन्छ । ब्ल्याक-बोर्ड छेलिँदैन । बिद्यार्थीलाई हेर्न सजिलो हुन्छ ।' सानैदेखि एउटा रहर के थियो भने जसरी हुन्छ सबैले मलाइ चिन्नुपर्छ । साथीभाइ, गुरू/गुरूआमा, पियन दाइ सबैले देब्रे-हाते भनेर चिन्छन् । त्यही सही । अरू को छ र ! बिस्तारै अरू पनि भेटिए । एकाध कक्षामा अरू पनि रछन् भन्ने थाहा भो । 
साथीहरू भन्थे -'लेफ्टीको दिमाख तेज हुन्छ । अक्षर राम्रा हुन्छन् । ट्यालेन्ट हुन्छन् ।' सुन्यो गमक्क पर्‍यो । कापी पल्टायो, आफैंलाई चित्त नबुझ्ने अक्षर छन् । न म्याथमा सिपालु, न इङलिसमा । हैट !
म सम्झन्छु मिस कौशल्या थापा । करीब ६ फीट हाइट की । बडेमानका आँखा । ठूलो सोर । उहाँले गाली गर्दा हामी बालखको डरले पेन्ट भिज्छ जस्तो हुने । मलाइ खुब कराउनु हुन्थ्यो -'यही पारा हो भने तिमी कलेज जाने बेलासम्म अक्षर लेन्स लाएर हेर्न पर्ने हुन्छ । अलि ठूलो लेख । बुझिने लेख । ठूलो लेख्दा बिस्तारै ठिक्कको राम्रो हुँदै जान्छ ।' 
मैले स्कुलको फेसबुक ग्रुप बनाएको छु । एडमिन दिनका लागि भरलाग्दा साथी भएनन् । अप्डेट सन्तोषजनक छैन । तैपनि स्कुलको समुहमा थुप्रैजना जोडिएका छन् । मभन्दा केही ब्याच सिनियर उदय अर्याल दाइलाई एडमिन शेयर गरेको हो । तर, हामीलाई आ-आफ्ना कामले घर र स्कुलभन्दा धेरै टाढा पुर्‍याएको छ । उदय दाइले एकपल्ट कौशल्या मिसको फोटो शेयर गर्नुभो । मैले थाहा पाएँ -उहाँ अहिले क्यानडा हुनुहुन्छ । मैले मिसलाई अक्षरका ती ठूलो सोर गर्दाका कुरा कमेन्टमा लेखेँ - 'मेरो अक्षर राम्रै भएका थिए मिस । तर, हिजोआज कम्प्युटरले बिगारेको छ ।'

***
देब्रे हातको निशाना खुप कडा हुन्छ । स्कुल जाँदा आँप र लिचीको सिजनमा गोजीमा ढुंगा बोक्यो । लायो निशाना टुइ टुइ । देब्रे चल्ने भन्दैमा संस्मरणको महात्मय नै लेख्यो होला भन्ठान्नुभो भने गलत हुन्छ । दिमाखबाट संस्मरणका थुप्रै पुराना फाइल डिलिट भएछन् । अतः कुरा धेर छैनन् । अहिले नि सम्झना हुने कुरो चाहिँ बालखमा घराँ खान बस्दाको छ । तीबेला आमा साह्रै कडा अनुशासनमा राख्न खोज्नुहुन्थ्यो (हुन्त अहिले नि त्यस्तै हुनुहुन्छ । कुट्नु चाहि हुन्न । ;) । देब्रे-दाहिने हात कुन हो भनेर म बिर्सन्थेँ । 
भात खाइरा बेला 'तँलाइ दिसा धुने र भातखाने हात नि हेक्का हुँदैन' भनेर ठ्यामठ्याम चड्काउँदा त अहो ! हैट । भातै छाडेर रूँदै ट्युवेल दौड्यो । हात धोयो अनि 'लु म भातै खान्न' भन्दै दङ्ग्यायो । खाँदाखाँदैको भात छाडेर हिड्दा अन्नले सराप्ने अर्को त्रास बढाउने डाइलग अजंगको लाग्थ्यो । त्यो त अहिले म नि छोरोलाई भन्छु । 
त्योबेला दङ्ग्यायो अनि केहीबेरपछि फेरि खान बस्यो । कुटाइ बिर्सियो चल्थ्यो । कुटाइ र ठूलो सोरका डरले कहिलेकाही हातमा डटपेनले हातमा लेख्यो - दाहिने । 'हात राम्ररी धोएर मात्रै खाने' भनेर आमा आफैं अगाडि उभिएर निर्देशनात्मक आदेश दिनुभो भने लेखेको नि मेटिन्थ्यो । अनि परो फसाद ! 
घर त घरै हो । हामीमात्रै हुन्छौं । कुटाइ-रुवाइ, ठूलो सोर र आँसू अरूले देख्दैनन् भन्ने ढुक्क हुने । मनलाई बढि चोट अनुभव हुने अवस्था चाहि कतै पाहुना गएका बेला हुने । त्यहाँ पनि आमाले त्यसै गर्नुहुन्थ्यो । देख्नेका लागि म केहीबेर हाँसो र केहीपछि दयाको पात्र हुन्थेँ । यस्तो पटक्क मन पर्दैनथ्यो । 
म किन देब्रे-दाहिनेमा झुक्किन्छु ! साह्रै नरमाइलो लाग्थ्यो । बिस्तारै एउटा आइडिया आयो । जुन हातले लेख्छ-त्यो देब्रे हुुँदै हो, किन कन्फ्युज भाको होला ! 
अनि खान बस्ता पानीले थालमा केही लेख्न खोज्यो । जुन हातले लेख्न जान्दैन, त्यो नै खानाखाने हात । क्या मज्जा । जुन हातले लेख्न सक्छ, त्यो देब्रे । यो उपाय बडो जाती । सधैं काम लाग्ने । 
***
इटहरीमा मामाघर । ठूलामामाको स्टेसनरी पसल थियो । मलाइ कथा पढ्न खुब रूचि लाग्थ्यो । सिनेमा हेर्न ज्यान दिन्थेँ । मामालाई सिनेमा हेर्ने मान्छे मन नपर्ने । ठुलोमामा र ममा दुइटा समानता थिए । उहाँ पनि देब्रे हाते । उहाँलाई पनि 'डस्ट एलर्जी' । किताब जतनसाथ पढेर जस्तो लगेको हो उस्तै फिर्ता गर्ने शर्तसहित दिनुहुन्थ्यो । 
एक दिन भन्नुभो -'राजु (मेरो घरको नाम) तिमी पनि दाहिनेले लेख्ने प्राक्टिस गर । म त दुवै हातले लेख्छु ।' शायद यो २०४३/४४ सालको कुरा हुँदो हो । यो मेरा लागि त्यो बेला  घोर आश्चर्यको विषय थियो । उहाँले पालैपालो दुवै हातले लेखेर देखाउनुभो । घर फिरेर कोशिश गरिहेरेँ । अहँ म के सक्थेँ । आ जेसुकै होस् देब्रे भए नि केही छेकिएको छैन भन्ने भयो । 
***
२०४८ पछि जब कलेज गइयो, देब्रे-हाते निकैजना भेट भए । रमाइलो भयो । यो कुनै अनौठो कुरो होइन भन्ने भयो । धेरै कार्यक्रमहरूमा देब्रे-हाते भेट हुन थाले ।  पहिले पहिले देब्रेले लेखेको देख्ता अचम्म मान्थे । सोध्थे मान्छे । अब त कौन पुछे खेसारी के दाल बराबर । 
मोरङको लेटाङमा एउटा कार्यक्रममा एकजनाले भनेको सम्झन्छु-'प्रत्येक २२ जना मान्छे भेला हुँदा त्यहाँ भरसक एकजना देब्रे-हाते हुन्छन् ।' फर्मुला कतिको पक्का हो भन्ने थाहा छैन । त्योबेला भने ती मान्छेले बोलेको पुगेको थियो । सबैतिर संख्यामा दाबी लाग्छ भन्ने नि केही छैन । त्यो भनाइ सम्झँदा अनौठो नि किन पो मान्न छ र । आखिरमा जुन हातले लेखे नि गतिलो बनाउन-भनाउन निधार बलियो हुन जरूरी छ । श्रमसँगै मान्छेलाई समयले साथ दिएको हुनुपर्छ । लडिलडि आउने केही होइन ।
मनोबिज्ञानले भन्दो रछ - मान्छेमा गुण २ प्रकारको हुन्छ । जन्मजात र अर्जित । जन्मजात आउने केही गुण मान्छेमा आमा या बाबुको २५ पुस्तासम्मको आउन सक्छ/नआउन पनि सक्छ । जिनसम्बन्धी बिकार र केही खास गुण पुस्तौंपुस्ता सन्तानमा सरिरहने रहेछ । 
कुरा बडा दुबिधावाला छ । प्रष्ट चाहि के हो भने यो गुण मेरो मावलातिरबाट आको हुनपर्छ । मैले मामाको कुरा भनिसकेँ । मामा बित्नु भो । उहाँको आमा (मेरी हजुरआमा) ९१ वर्ष पुग्नुभो । हुनुहुन्छ । उहाँ देब्रे हातले लेख्नुहुन्छ । कहिलकाही मावला पुग्दा भन्नुहुन्छ 'ए यो आएछ । तँ पनि तेरो ठूलोमामा जस्तै । म जस्तै देब्रे-हाते ।' बडा खुसी लाग्छ । 

कुरो सकियो । फेरि अर्को विषयमा गन्थन गरम्ला ।  
     

No comments: