आत्तिनु भो ? ढुक्क हुनुस् प्रवचन दिने मुडमा छैन । एउटा घटना सम्झना भयो । सञ्चारकर्मीका जीवनमा धेरै घटना हुन्छन् । त्यसो त मान्छेको व्यक्तिगत जीवन नै घटनाहरूको संगालो भन्नुहोला । हो पक्कै । तर, हामी जो अरूका खबर लेख्छौं, हाम्रा कुरा भन्दैनौ । भन्न मिल्दैन, सिकाइएको छैन । अझ भनौं त्यो हाम्रो प्राक्टिसमा परेन । एकाध लेखिन-देखिन थालेका छन् । ती बिस्तारै बढ्लान् । अहिले म ५५ वर्ष र १३ वर्षका दुइ मान्छेका कहानी सम्झन चाहन्छु ।
बेलुकी अबेर प्रहरीको जिल्ला कार्यालयबाट फोन आयो - 'छोरीलाई करणी गर्ने बाबुलाई समातेका छौं । इप्रकाले भोलि यहाँ ल्याइपुर्याउँछ ।' ल्याएपछि भेटेर कुरा गरौंला भनियो । खबर लेख्न अरूबेला हतारै हुन्थ्यो । तर, योपल्ट विषय सुन्दै जाँगर आएन । 'थुक्क त्यस्तो पनि बाउ हुन्छन् !' भन्न मन लाग्यो । जमाना फ्याक्सकै थियो । लेख्ने, कागज फ्याक्समा हाल्ने । फोटो भए, खिच्ने, ल्याब पुग्ने, क्यामेरालाई ज्याकेट लाइदिएर रील काट्ने, डेभलपरबाट नेगेटिभ बाहिरिएपछि राम्रो आउने छानेर धुलाउने । अनि खामबन्दी गरेर आफ्नो अखबारको अफिसमा कुरियर सर्भिसबाट पठाउने । त्यो रात अबेरसम्म निन्द्रा परेन । कस्तो बाउ होला भन्ने भइरह्यो ।
***
इनरूवा सुनसरीको सदरमुकाम । मेरो कार्यक्षेत्र । दिउँसो १२ बजे फोन आएपछि गइयो । मलाई खबर गर्ने प्रहरी निरीक्षकले भने 'हिरासतमा राखेको मान्छेसँग तपाईले सवालजवाफ गर्छु भन्नुभो भने मैले मिल्दैन भन्छु । के गर्नुहुन्छ ?' मैले भने 'हेर्न दिनुस् । अनुहार हेर्छु । केस टिप्छु । तपाईको भनाइ लिन्छु, अनि सम्भव छ भने छोरी भेट गराइदिनुस् ।' कुरा मिल्यो ।
उनले त्यो बाउको हुलिया बताए । हामी हिरासत कोठाको बाहिर पु्ग्यौं, जहाँबाट भित्रका सबैलाई देख्न सकिन्थ्यो । ४/५ जना थुनुवा बसेर तास खेल्दै थिए । हुलिया बताएको मान्छे कुनामा एक्लै थियो । हामीले हेरेको देखेर उभियो । सतर्क भयो । करीव ५ फीट हाइट । झुस्स दाह्री । दुब्लो-पातलो ज्यान ।
उ एकाएक कराउन थाल्यो । हिरासतका फलामे डण्डी समातेर चिच्याउन थाल्यो । 'डण्डी बांगो भो, उ उ ...' उसले बेसुरे मान्छे जस्तो केके भन्न थाल्यो सबै सम्झनामा छैनन् । तर, यति हो उसले प्रहरी र हामी प्रहरीजस्ता नदेखिने युवकलाई यस्तो देखायो मानौ हामीले ठान्ने छौं -उसको मगज खुस्केको छ । यो पागल हुनुपर्छ ।
बाहिरिँदा तिनै प्रहरीले फेरि भने 'तपाइँहरू नौलो मान्छे देखेर यसले एक्टिङ गरेको हो । यो पुरै सद्दे छ । हामीसँग मजाले कुरा गरेको हो । बयान दियो । मुद्दामा म्याद थपेर ल्याएको हो ।' उसलाई हाडनाता करणीसँगै नाबालकलगायत केके मुद्दा चलाउने भन्ने बारेमा तिनले बताए ।
***
बाहिर छानो हालेको चौतारो थियो । जहाँ प्रहरीले सबैलाई पहिले पर्खन लगाएर मात्रै भित्र पस्न दिन्थ्यो । मैलो मैलो लुगा लगाएकी एउटी दुब्ली-दुब्ली गोरी केटी थिइ । कुपोषण हुँदा मान्छेको अनुहार, हातगोडा दुब्ला-पातला हुन्छन् । भूँडी नसुहाउने गरि पुटुस्स उकासिएको हुन्छ भनेर हामीलाई स्वास्थ्यकर्मीले पोषणका कार्यक्रममा भनेको सम्झना भयो । उनी त्यस्तै थिइन । उनै रहिछन् मैले भेट्न खोजेको बाबुकी छोरी ।
प्रहरीले चिनाइदिए । तर, सोध्न कसरी थाल्ने भन्ने अलि संकोच भयो । तैपनि मैले 'बैनी, यस्तो कसरी भयो ?' भने । पहिले रोइन । मैले रूँदा डिस्टर्ब गरिन । अनि आँसू पुछ्दै उनले भनिन् 'मेरो बाबालाई छुटाइदिनुस् । जे भो हाम्रो कुरा हो । पछि जे होला होला । मेरो बाबालाई छुटाइदिनुस् ।' यो मेरो प्रश्नको उत्तर थिएन । र, म यतिखेर उनलाई मैले सोधेको कुरा भन्नैपर्छ भन्ने मुडमा पनि थिइँन । बिस्तारै उनको कुराको कन्तुरो फुक्यो । म सुन्दै गएँ । प्रश्न गर्नै परेन ।
***
५ वर्षअघि आमा मरिन् । एक्ली छोरी । जनबनी गरेर गुजारा गर्ने छाप्रामा बाउ-छोरी मात्रै भए । एउटा रात बाबुले रक्सी खाएर आएका थिए । जबरजस्ती गरे । दुख्यो, रोइन । बाउले करणीपछिको बिहान 'कसैलाई भनिस् भने तँलाई मार्छु, म पनि मर्छु' भनेर तर्साए । छोरी बोलिन । बाहिर भनिन ।
घटनाको एक सातापछि फेरि उस्तै रात दोहोरियो । त्यसको बिहान पनि उसैगरि तर्साए । त्यसपछि जब जब बाबु मातेर आउँथे करणीको क्रम नियमित बन्यो । उनले स्कुल जान छाडिन् । साथी भेट्न छाडिन् । आफ्नो अवस्थाबारे कसैलाई भन्न सकिनन् ।
नजिक आफन्त थिएनन् , जहाँ छोरी भागेर जान सक्थी । खपेर बस्दाका महिना बित्न थाले । छिमेकीले शंका गरे । एउटा साँझ त्यही क्रममा प्रहरी टोली आयो । पक्रेर थाना लग्यो ।
***
स्वास्थ्य जाँचको कुरो त्यो साँझ प्रहरीले बतायो -' ७ महिनाको गर्भ रछ । केटीलाई हामीले माइती नेपालको जिम्मा लगायौं ।' यस्ता घटना पहिले लेख्नु परेको थिएन । हाडनाता करणीका अरू धेरै घटना सुनेपनि यस्तो नजिकबाट यस्तो अकल्पनीय देख्न-सुन्न परेकै थिएन । खबर लेखियो 'उफ ! कस्तो बाबु'
माइती नेपालको एउटा आवधिक गृह इटहरीमा छ । खबर छापिएका केही हप्तापछि त्यता जाने काम पर्दा म एकजना साथी लिएर त्यहाँ पनि निस्केँ । त्यहाँका कर्मचारीले ती छोरीको आनीबानी राम्रो भएको बताए । उनी सिलाइकटाइ सिक्न थालेकी थिइन । मसँग फेरि कुरा भएन ।
***
कैयौं महिना बिते । माइतीनेपालका कर्मचारीले उनको छोरी जन्मिएको जानकारी मलाइ फोनमा दिए । आमा-बच्चा सकुशल । उनले आफ्नो सन्तानको बाबुलाई कस्तो नातामा सम्झँदी हुन् भन्ने लागिरहन्थ्यो । केहीपछि अदालतको फैसला आयो । फेरि एउटा खबर लेखियो -'बाबुलाई सर्वस्वसहित १७ वर्ष जेल सजाय ।'
फर्केर हेर्दा १३ वर्ष बितेछ । उनीहरू कहाँ छन् भन्ने अहिले मलाई थाहा छैन । कहिलेकाही नारायण वाग्ले दाइले एकपल्ट भनेको सम्झन्छु -' हामी चट्याङ परे जस्तो खबर लेख्छौं । एकपल्ट लेख्यो, फलोअपमा ध्यानै छैन । धेरैपल्ट सुरूमा लेखेकोभन्दा पनि फलोअप जोडदार हुन्छ भन्ने बिर्सनु हुँदैन ।'
केही खबर त यस्ता हुन्छन्, जसलाई लेखेपछि बिर्सन नै मन लाग्छ । केही खबर सम्झनामा रहिरहन्छन् । अहिले ब्लगमा लेख्न मन लागेको कुरो सकियो । साहित्य छाँटेर नतन्काउँ होला । कसो ?
No comments:
Post a Comment