Tuesday, September 15, 2026

एटेलोफोबिया

मान्छेले गल्ती गर्छ। मान्छे हो, गल्ती हुन्छन्। गल्ती नगर्नेहरुले पनि काममा निपुण हुन्जेल गल्तीका थुप्रै चरण पार गरेका हुन्छन्। गल्ती नगर्ने बन्नका लागि मान्छेले गल्ती गरेकै हुन्छ। गल्ती हुन्छ भनेर डराउनु हुन्छ ? डराउनु पर्छ, तर सतर्कताको तहसम्म मात्रै। यति पनि नडराउनुस् कि त्यही डरले नै काम नबिगारोस्।

यदि तपाइँलाई कुनै काम गर्दा 'यो पूरै पर्फेक्ट भएन भने बर्बादै हुन्छ' भन्ने डरले अत्यधिक सताउँछ वा गल्ती हुने डरले कुनै काम सुरु नै गर्न सक्नुहुन्न भने यो केवल सामान्य चिन्ता मात्र नभएर एटेलोफोबिया (Atelophobia) हुन सक्छ।

साधारण भाषामा भन्नुपर्दा, एटेलोफोबिया भनेको अपूर्णता वा त्रुटि मान्ने डर (Fear of Imperfection) हो। यो पर्फेक्सनिज्म (Perfectionism) को एउटा चरम र मानसिक रूपमा सास्ती दिने रूप हो। आउनुस्, यो विषयलाई दुई पात्रका कथा, वैज्ञानिक तथ्य, र यसबाट उम्किने उपायहरूमार्फत गहिरोसँग बुझौँ -

कहिले हुने ढुक्क ?

सम्राट (काल्पनिक) एउटा प्रतिष्ठित मिडिया हाउसमा काम गर्छन्। उनको लेखाइ र सम्पादन शैली उत्कृष्ट मानिन्छ। तर, पछिल्ला केही महिनादेखि उनी गम्भीर मानसिक तनावमा छन्। उनलाई लाग्छ -'मेरो लेखमा एउटा सानो व्याकरणको गल्ती भयो भने वा तथ्यमा अलिकति पनि चुक भयो भने मेरो करिअर र साख सिद्धिनेछ।'

एउटा १५०० शब्दको समाचार वा रिपोर्ट लेख्न उनलाई हप्ता दिन लाग्न थालेको छ। उनी रातभर जागेर एउटै वाक्यलाई दस पटक दोहोर्‍याएर पढ्छन्। कामको गुणस्तरमा कुनै खोट हुँदैन, तर समयमा काम नबुझाउँदा र सधैं 'अझै पुगेन, अझै उत्कृष्ट भएन' भन्ने डरले उनलाई भित्रभित्रै खाएको छ। 

उनी गल्ती हुने डरले धेरै खोजी गर्नुपर्ने, गहकिला, बोल्ड विषयहरू लिनै छाडिसकेका छन्। उनको यो अवस्था एटेलोफोबियाको प्रत्यक्ष उदाहरण हो।

क्यामरा अगाडिको डर

स्नेहा फोटो पत्रकारिता र अध्यापनमा रुचि राख्ने एक प्रतिभाशाली युवा हुन्। उनको फोटोग्राफी र विषयवस्तुप्रतिको पकड लोभलाग्दो छ। तर जब उनलाई कुनै ठूलो प्रदर्शनी वा सार्वजनिक मञ्चमा आफ्ना कामहरू प्रस्तुत गर्ने अवसर आउँछ, उनी पसिना-पसिना हुन्छिन्।

उनी सोच्छिन्, 'यदि मैले खिचेको फोटोमा एक्सपोजर वा कम्पोजिसन थोरै मात्र मिलिसकेको रहेनछ भने मानिसहरूले मलाई कसरी मूल्यांकन गर्लान् ?'

उनी घण्टौँसम्म आफ्ना फोटोहरू सम्पादन गर्छिन्, तर कहिल्यै सन्तुष्ट हुँदिनन्। अन्ततः 'पर्फेक्ट हुन नसकेको' महसुस गर्दै उनी आफ्ना उत्कृष्ट कामहरू पनि डस्टबिनमा फ्याँकिदिन्छिन् र कार्यक्रम रद्द गर्छिन्। यो अपूर्णताको डरले उनको क्षमतालाई थुनेर राखिदिएको छ। उनलाई पनि एटेलोफोबियाले गाँजेको छ। 

अपूर्णको डर

'Atelophobia' (एटेलोफोबिया) शब्द प्राचीन ग्रीक भाषाका दुई शब्द - 'Ateles' (अपूर्ण वा त्रुटिपूर्ण) र 'Phobos' (डर) मिलेर बनेको हो। यो एउटा यस्तो विशिष्ट मनोविकार हो, जसमा व्यक्तिलाई आफूले गरेको काम पर्फेक्ट भएन कि, वा आफू नै अपूर्ण छु कि भन्ने अत्यधिक र अतार्किक डर हुन्छ। यसका बिरामीहरू गल्ती गर्नुलाई आफ्नो अस्तित्वकै पराजय मान्छन्।

यस्तो डरले ग्रस्त व्यक्तिहरू कुनै काम सुरु गर्नै हिचकिचाउँछन् वा अन्तिम रूप दिन सक्दैनन्। उनीहरू सधैं आफूलाई अरूको कडा मूल्यांकनको नजरमा पाउँछन्। सानातिना भूल वा त्रुटिलाई पनि उनीहरूले ठूलो अपराध वा व्यक्तिगत असफलताका रूपमा लिन्छन्। नतिजास्वरूप, उनीहरू निरन्तरको मानसिक तनाव, आत्म-ग्लानि र निराशाको दुश्चक्रमा फस्छन्, जसले गर्दा उनीहरूको सिर्जनशीलता, क्षमता र दैनिक कार्यसम्पादन क्षमता गम्भीर रूपमा प्रभावित हुन पुग्छ।

मनोवैज्ञानिक के भन्छन् ?

एटेलोफोबिया र पर्फेक्सनिज्मका विविध आयामबारे मनोवैज्ञानिकहरूले समय-समयमा महत्त्वपूर्ण अनुसन्धान र भनाइहरू सार्वजनिक गरेका छन्। टोरोन्टो मेट्रोपोलिटन युनिभर्सिटीका मनोविज्ञानका प्राध्यापक तथा लेखक डा. मार्टिन एम. एन्टोनीले आफ्नो पुस्तक When Perfect Isn't Good Enough (सन् २००४) मा यो धारणा प्रस्तुत गरेका हुन्। उनले भनेका छन् - अत्यधिक पर्फेक्सनिज्म र गल्तीप्रतिको असोचनीय डर (एटेलोफोबिया) ले मानिसलाई उत्कृष्ट बनाउँदैन, बरु उसलाई कुनै पनि काम सुरु गर्नै नदिने गरी पक्षाघात (Procrastination & Paralysis) गराइदिन्छ।

उनले संज्ञानात्मक व्यवहार थेरापी (CBT) को प्रयोगका क्रममा चिन्ता (Anxiety) र पर्फेक्सनिज्मका बिरामीहरूमाथि अध्ययन गर्दा यो निष्कर्ष निकालेका हुन्। उनको अध्ययनले पर्फेक्सनिज्म केवल उच्च मापदण्ड राख्नु मात्र नभई एउटा गम्भीर मानसिक बाधा हो भन्ने स्पष्ट पार्छ। 

डा. एन्टोनीका अनुसार एटेलोफोबियाबाट पीडित व्यक्तिहरू असफलताको काल्पनिक डरले गर्दा कामको सुरुआतमै हिचकिचाउँछन्। उनीहरू गल्ती हुनुलाई आफ्नो क्षमताको कमी मान्छन्, जसले गर्दा उनीहरूमा निरन्तर आत्म-सन्देह र चिन्ता पैदा हुन्छ। CBT थेरापीका क्रममा उनले बिरामीहरूलाई आफ्ना अतार्किक विचारहरू पहिचान गर्न र 'पर्फेक्ट' हुनुभन्दा 'पर्याप्त' हुनुलाई स्वीकार गर्न सिकाएका थिए। यो अनुसन्धानले देखाउँछ कि गल्ती गर्ने स्वतन्त्रता नदिँदा मानिसको सिर्जनशीलता मर्न जान्छ र उनीहरू समयमै काम सम्पन्न गर्न नसक्ने मानसिक द्वन्द्वमा फस्छन्।

यसबारे अध्ययन र व्याख्या गर्ने अर्का मनोवैज्ञानिक हुन् डा. पल हेविट (Dr. Paul L. Hewitt)। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका क्लिनिकल साइकोलोजिस्ट डा. हेविटले सन् १९९१ मा (डा. गोर्डन फ्लेटसँग मिलेर) पर्फेक्सनिज्म र फोबियाको वर्गीकरण गर्दै आफ्नो शोधपत्र प्रकाशित गरेका थिए।

उनले भनेका छन् - 'एटेलोफोबिया भएका मानिसहरू आफ्ना उपलब्धिहरूमा खुसी हुन सक्दैनन्। उनीहरूका लागि ९९ प्रतिशत सफलता पनि शतप्रतिशत असफलता सरह हुन्छ, किनकि उनीहरू त्रुटिरहित हुन चाहन्छन्।'
उनले 'Multidimensional Perfectionism Scale' (MPS) को निर्माण र प्रयोग गरी मानसिक बिरामीहरूको परीक्षण गर्दा यो व्याख्या गरेका थिए। डा. हेविट र डा. फ्लेटको यो अनुसन्धानले पर्फेक्सनिज्मका विविध आयामहरू विशेषगरी आत्म-केन्द्रित, सामाजिक रूपमा आरोपित र अरूमाथि थोपर्ने पर्फेक्सनिज्मलाई उजागर गर्छ।

उनीहरूको निष्कर्ष अनुसार, एटेलोफोबियाले व्यक्तिलाई आफ्नै सफलताको आनन्द लिनबाट वञ्चित गराउँछ। जब व्यक्तिले ९९ प्रतिशत सफलता प्राप्त गर्दा पनि बाँकी १ प्रतिशत त्रुटिलाई नै आफ्नो मुख्य ध्येय बनाउँछ, तब उसको आत्म-सम्मान र आत्म-सन्तुष्टि शून्यमा झर्छ। MPS स्केलमार्फत गरिएको परीक्षणले देखाएको छ कि त्रुटिरहित हुने यो अस्वस्थ होडबाजीले बिरामीलाई निरन्तरको हीनभावना, कडा डिप्रेसन र मानसिक तनावतर्फ धकेल्छ।

यसबारे अर्का अध्येता हुन् स्मिथ कलेजका मनोविज्ञानका प्राध्यापक डा. स्टेफनी फ्रस्ट (Dr. Randy O. Frost)।सन् १९९० मा प्रकाशित 'Multidimensional Perfectionism Scale' सम्बन्धी अध्ययनमा उनले भनेका छन्, 'गल्ती गर्नुलाई आफ्नो व्यक्तिगत असफलता र अस्वीकार्यतासँग जोड्ने मानसिक प्रवृत्ति नै एटेलोफोबियाको मूल जड हो।' 

उनको व्याख्याअनुसार विद्यार्थी र विविध पेसामा रहेका मानिसहरूमा गल्तीप्रतिको दृष्टिकोण र चिन्ताको स्तर मापन गर्ने वैज्ञानिक प्रयोगका क्रममा यो सिद्धान्त प्रतिपादन गरिएको हो। यी अध्ययन र व्याख्याहरू आजभोलि Journal of Personality and Social Psychology (एकेडेमिक रिसर्च पेपरहरू) र 'When Perfect Isn't Good Enough' (Dr. Martin M. Antony को पुस्तक) मा पढ्न पाइन्छ। 

Diagnostic and Statistical Manual of Mental Disorders (DSM-5) मा एटेलोफोबियालाई 'Specific Phobia' (विशिष्ट फोबिया) को दायराभित्र राखेर अध्ययन गरिन्छ।

यो समस्या कसरी सुरु हुन्छ र केले ट्रिगर गर्छ?

एटेलोफोबिया एकाएक आउने समस्या होइन। यसको सुरुआतका मुख्य कारणहरू निम्न हुन् -

  • बाल्यकालको वातावरण : सानैमा अभिभावक वा शिक्षकबाट अत्यधिक दबाब पाउनु, गल्ती गर्दा कडा सजाय वा अपमान भोग्नु।
  • तुलना गर्ने बानी : अभिभावक वा समाजले निरन्तर अरूसँग तुलना गरिरहँदा 'म कहिल्यै पर्याप्त हुन सकिनँ' भन्ने भावना मनमा गढ्नु।
  • विगतका आघात (Trauma) : विगतका कुनै सानो गल्तीका कारण सार्वजनिक रूपमा बेइज्जत हुनु वा ठूलो क्षति भोग्नु।
  • सामाजिक सञ्जाल : सामाजिक सञ्जालमा देखिने अरूको 'पर्फेक्ट' जीवन र उपलब्धिले पनि यो डरलाई बढावा दिन्छ।

केले गर्छ ट्रिगर?

  • कुनै नयाँ काम वा योजना सुरु गर्दा।

  • आफ्नो कामको मूल्यांकन वा सम्पादन हुने समयमा।

  • सार्वजनिक रूपमा प्रस्तुति दिनुपर्दा।

  • अरूभन्दा पछि परिने हो कि भन्ने सोच्दा।

कति घातक छ यो समस्या?

भौतिक रूपमा एटेलोफोबियाले ज्यानै लिने त होइन, तर मानसिक र व्यावहारिक रूपमा यो अत्यन्तै घातक हुन सक्छ।

  • काम टार्ने बानी (Procrastination) : गल्ती हुने डरले काम सुरु नै नगर्ने वा अन्तिम समयसम्म अल्झाएर राख्ने। यसले गर्दा व्यक्तिमा मानसिक दबाब झनै बढ्दै जान्छ र अन्तिम समयमा हतार-हतार काम गर्दा थप गल्ती हुने सम्भावना रहन्छ। फलस्वरूप, व्यक्ति पुनः आत्म-ग्लानि र गल्तीको डरको उही दुश्चक्रमा फस्न पुग्छ।

  • सम्बन्धमा दरार : अरूबाट पनि पर्फेक्सनको आशा राख्दा पारिवारिक र व्यावसायिक सम्बन्ध बिग्रने। जब एटेलोफोबियाले ग्रस्त व्यक्तिले आफूजस्तै अरू पनि त्रुटिरहित होऊन् भन्ने अपेक्षा राख्छ, तब परिवारका सदस्य वा सहकर्मीहरूसँग निरन्तर किचलो हुन थाल्छ। अरूका सानातिना गल्तीमा पनि आलोचना गर्दा विश्वास घट्छ र सम्बन्धहरूमा टाढापन आउँछ।

  • शारीरिक लक्षण : मुटुको धड्कन तीव्र हुनु, पसिना आउनु, टाउको दुख्नु, अनिद्रा र पाचन प्रणाली बिग्रनु। जब अपूर्णता वा गल्तीको डरले मनमा बढी दबाब सिर्जना गर्छ, तब मस्तिष्कले शरीरलाई 'खतराको मोड' (Flight or Fight response) मा लैजान्छ। यसले गर्दा सास फेर्न गाह्रो हुने, हात-खुट्टा काप्ने, मांसपेशीहरू कडा हुने र लगातार थकान महसुस हुने जस्ता समस्याहरू देखिन्छन्, जसले व्यक्तिको स्वास्थ्यलाई थप कमजोर बनाउँछ।

  • डिप्रेसन : निरन्तरको असन्तुष्टिले मानिसलाई डिप्रेसन र कडा एन्जाइटीतिर धकेल्छ। आफूले गरेका कामहरू कहिल्यै 'पर्याप्त' नलाग्ने र निरन्तर आत्म-आलोचनामा अल्झिरहने बानीले व्यक्तिलाई बिस्तारै निराशाको गहिरो खाडलमा पुर्‍याउँछ। गल्तीप्रतिको अत्यधिक डरले गर्दा उत्पन्न हुने निरन्तरको मानसिक तनावले मस्तिष्कलाई कहिल्यै शान्त हुन दिँदैन। समयमै यसको रोकथाम वा समाधान नभएमा यसले मानिसको आत्मबल पूर्ण रूपमा गिराइदिन्छ, जसका कारण मानिस सामाजिक अन्तरक्रियाबाट टाढिँदै तीव्र डिप्रेसन र कडा एन्जाइटीको सिकार बन्न पुग्छ।

यो आफैंमा विशिष्ट फोबिया हो वा अरू रोगको लक्षण?

यो दुवै हुन सक्छ।

  • विशिष्ट फोबिया (Specific Phobia) : मुख्य रूपमा Diagnostic and Statistical Manual (DSM-5) अनुसार यो 'Specific Phobia' कै एउटा रूप हो, जहाँ डरको केन्द्र 'गल्ती वा अपूर्णता' हुन्छ। DSM-5 ले यसलाई छुट्टै नाम नदिए पनि 'अदर स्पेसिफिक फोबिया' को श्रेणीमा राख्छ। यसमा व्यक्तिलाई कुनै निश्चित परिस्थिति वा वस्तुभन्दा पनि 'गल्ती भइहाल्छ कि' भन्ने विचारले नै तर्साउँछ। यो डर सामान्य चिन्ताभन्दा कयौँ गुणा कडा र अतार्किक हुने भएकाले व्यक्तिको सोच, निर्णय क्षमता र सामाजिक व्यवहारलाई गम्भीर रूपमा नियन्त्रण गर्न पुग्छ।

  • प्रारम्भिक लक्षण : यो प्रायः अन्य मानसिक समस्याहरूसँग जोडिएर आउँछ। जस्तै: Obsessive-Compulsive Disorder (OCD), Social Anxiety Disorder (SAD), र Generalized Anxiety Disorder (GAD) को प्रारम्भिक लक्षणका रूपमा पनि एटेलोफोबिया देखिन सक्छ। अझ विस्तृतमा भन्नुपर्दा, OCD भएका मानिसहरूमा हरेक कुरा नियन्त्रणमा राख्ने वा निश्चित ढाँचामा मिलाउने चाहना हुन्छ, जसले एटेलोफोबियालाई जन्म दिन्छ। त्यसैगरी, सामाजिक चिन्ता (SAD) भएका व्यक्तिहरू अरूले आफ्नो गल्ती समातेर खिल्ली उडाउलान् भन्ने डरले सताइन्छन्। यी मानसिक अवस्थाहरू एकापसमा जोडिएका हुनाले एटेलोफोबियालाई मूल रोगको सुरुआती संकेत वा त्यसैसँग जोडिएर आउने अर्को मानसिक सास्तीका रूपमा लिन सकिन्छ।

के कुनै खास उमेर समूहलाई मात्र हुन्छ?

एटेलोफोबिया कुनै खास उमेरमा मात्र सीमित हुँदैन, तर यसको विकास हुने र बढी असर देखिने समय फरक हुन्छ:

  • किशोरावस्था (Adolescence) : विद्यालयको नतिजा, प्रतिस्पर्धा र अभिभावकको अपेक्षाका कारण यो उमेरमा यसको बिउ रोपिन्छ। किशोरावस्थामा आत्म-पहचान (identity) को विकास भइरहेको हुन्छ। यस्तो बेला अभिभावक वा शिक्षकको अत्यधिक दबाब र साथीभाइबीचको प्रतिस्पर्धाले गर्दा सानो गल्ती हुँदा पनि 'म सक्षम छैन' भन्ने हीनभावना मनमा बस्छ। यही भावना कालान्तरमा एटेलोफोबिया वा अपूर्णताको कडा डर बनेर विकसित हुन्छ।

  • वयस्क अवस्था (Young Adults & Professionals) : करिअर, रोजगारी र जीवनका जिम्मेवारीहरू सुरु हुने २० देखि ४० वर्षको उमेर समूहका मानिसहरूमा यो समस्या सबैभन्दा बढी तीव्र रूपमा देखिन्छ। यस उमेर समूहमा कार्यक्षेत्रको तीव्र प्रतिस्पर्धा, नतिजाप्रतिको दबाब र सामाजिक प्रतिष्ठा जोगाउने चिन्ता अत्यधिक हुन्छ। सानातिना गल्तीले पनि करिअर वा मान-सम्मानमा धक्का पुग्ला भन्ने लगातारको डरले उनीहरूलाई सताउँछ। नतिजास्वरूप, उनीहरू कार्यस्थलमा अत्यधिक समय बिताउने (workaholism) वा असफलताको डरले नयाँ अवसर र जिम्मेवारी लिनै अस्वीकार गर्ने प्रवृत्ति देखाउँछन्।

तपाइँलाई छ/छैन ? यसरी गर्नुस् जाँच

तलका प्रश्नहरू ध्यानपूर्वक पढ्नुहोस् र आफूलाई सोध्नुहोस् 

क्र.सं.प्रश्न / लक्षणहो / होइन
कुनै काम शतप्रतिशत पर्फेक्ट हुँदैन भनेर सुरु नै गर्न डर लाग्छ ?[ ]
सानो गल्ती हुँदा पनि आफू पूर्ण रूपमा असफल भएको महसुस हुन्छ ?[ ]
कामको मूल्यांकन (Feedback) सुन्न निकै डर लाग्छ ?[ ]
एउटै कामलाई पटक-पटक जाँचिरहन्छु, जसले गर्दा डेडलाइन छुट्छ?[ ]
अरूले गरेका साना गल्तीहरू पनि म सहन सक्तिन ?[ ]

नतिजा : यदि ३ वा सोभन्दा बढी प्रश्नको उत्तर 'हो' दिनुभएको छ भने, तपाईँमा एटेलोफोबिया वा अत्यधिक पर्फेक्सनिज्मको लक्षण हुन सक्छ।

डराउन पर्दैन, राख्नुस् यी कुराको ध्यान

यदि तपाईँ वा तपाईँको कोही नजिकको मानिस यो समस्याबाट गुजरिरहेको छ भने डराउनु पर्दैन। मानसिकतामा थोरै परिवर्तन र केही अभ्यासले यसलाई घटाउन र हटाउन सकिन्छ:

१. 'पर्फेक्ट' होइन, 'प्रगति' खोज्नुहोस्

संसारमा कुनै पनि कुरा पूर्ण रूपमा पर्फेक्ट हुँदैन। 'म पर्फेक्ट काम गर्छु' भन्नुको सट्टा 'म सकेसम्म राम्रो गर्न  प्रयास गर्छु र सिक्दै जान्छु' भन्ने सोच राख्नुहोस्। यो सोचले तपाईँको मनबाट गल्ती हुने काल्पनिक भारी हटाउँछ। जब तपाईँ पर्फेक्सनको सट्टा निरन्तर सिकाइ र सुधारलाई प्राथमिकता दिनुहुन्छ, तब काम गर्दाको तनाव घट्छ र नयाँ कुराहरू प्रयोग गर्ने आत्मविश्वास तथा सिर्जनशीलता स्वतः बढेर जान्छ।

२. गल्तीलाई सिकाइको हिस्सा मान्नुहोस्

गल्ती हुनु भनेको असफलता होइन, प्रयास गरिरहेको प्रमाण हो। गल्तीबाटै मानिसले नयाँ कुरा सिक्छ। गल्तीलाई स्वीकार्न थालेपछि असफलताको डर स्वतः कमजोर हुँदै जान्छ। गल्तीहरूले नै हामीलाई हाम्रा कमजोरीहरू चिन्ने र कार्यशैली सुधार्ने अवसर दिन्छन्। त्यसैले हरेक भूल वा त्रुटिलाई सजायका रूपमा होइन, अनुभव र परिपक्वतातर्फको एउटा महत्त्वपूर्ण खुड्किलोका रूपमा लिनु आवश्यक हुन्छ।

३. 'Good Enough' (पर्याप्त छ) को सिद्धान्त अपनाउनुहोस्

८० प्रतिशत उत्कृष्ट भएको कामलाई बुझाउनु वा अघि बढाउनु, १०० प्रतिशत पर्फेक्ट बनाउने चक्करमा काम नै नगर्नुभन्दा हजार गुणा राम्रो हो। यस सिद्धान्तले मानिसलाई अनावश्यक मानसिक बोझबाट मुक्त गराउँछ। जब तपाईँ कामलाई 'पर्याप्त मात्रामा राम्रो' मानेर अघि बढाउनुहुन्छ, तब समयको बचत हुनुका साथै काम अड्किने (paralysis by analysis) समस्या हट्छ। यसले तपाईँलाई निरन्तर क्रियाशील राख्छ र पूर्णताको अतार्किक पर्खाल तोडेर वास्तविक सफलता र मानसिक शान्तितर्फ लैजान्छ।

४. संज्ञानात्मक व्यवहार थेरापी (CBT) र काउन्सिलिङ

यदि समस्याले दैनिक जीवन, निद्रा वा करिअरमै बाधा पुर्‍याएको छ भने मनोविद् वा मनोचिकित्सकसँग परामर्श लिनुहोस्। CBT थेरापी यसका लागि अत्यन्तै प्रभावकारी मानिन्छ। CBT ले व्यक्तिलाई आफ्ना नकारात्मक वा अतार्किक विचारहरू (जस्तै: 'गल्ती गर्नु भनेको पूर्ण असफलता हो') लाई चिन्न र तिनलाई व्यावहारिक तथा सकारात्मक विचारले प्रतिस्थापन गर्न मद्दत गर्छ। काउन्सिलिङका क्रममा बिरामीलाई गल्तीहरूसँग सामना गर्ने र अपूर्णतालाई सहज रूपमा स्वीकार्ने मानसिक अभ्यास गराइन्छ, जसले गर्दा मनको डर र चिन्ता बिस्तारै घट्दै जान्छ।

५. माइन्डफुलनेस र ध्यान (Mindfulness)

वर्तमानमा जिउन सिक्नुहोस्। ध्यान र योगले मनको चिन्ता कम गर्न र आत्म-दया (Self-compassion) बढाउन मद्दत गर्छ। माइन्डफुलनेस र ध्यानको नियमित अभ्यासले व्यक्तिलाई "भविष्यमा केही बिग्रिएला कि" भन्ने काल्पनिक डरबाट मुक्त गराई वर्तमान क्षणमै स्थिर रहन सिकाउँछ। यसले आफ्ना त्रुटि वा कमजोरीहरूप्रति कठोर हुनुको सट्टा आफूलाई माया गर्न र स्वीकार्न (self-compassion) मद्दत गर्छ। जब मानिसले ध्यानमार्फत आफ्ना विचारहरूलाई नराम्रो वा राम्रो भनी मूल्याङ्कन नगरी केवल नियाल्न थाल्छ, तब अपूर्णताप्रतिको डर र आन्तरिक तनाव बिस्तारै शान्त हुँदै जान्छ।

अपूर्णताभित्रको सुन्दरता र मानसिक मुक्ति

हाम्रो अपूर्णता नै वास्तवमा हाम्रो मौलिकता हो। गल्ती गर्ने छुट आफूलाई दिनु नै आन्तरिक शान्ति र आत्म-स्वीकृतिको पहिलो पाइला हो। एटेलोफोबियाले तपाईँको क्षमता र सिर्जनशीलतालाई डरको साङ्लोमा बाँधेर राख्न दिनु हुँदैन।

सन् २०१० यता मानसिक स्वास्थ्य र पर्फेक्सनिज्मको क्षेत्रमा नयाँ दृष्टिकोणहरू अघि सारिएका छन्। यसै सन्दर्भमा टेक्सास युनिभर्सिटी (अस्टिन) की शोधकर्ता डा. क्रिस्टिन नेफ (Dr. Kristin Neff) ले सन् २०११ मा प्रकाशित आफ्नो चर्चित पुस्तक Self-Compassion: The Proven Power of Being Kind to Yourself मा एटेलोफोबिया र अत्यधिक पर्फेक्सनिज्मलाई सम्बोधन गर्दै एउटा महत्त्वपूर्ण व्याख्या प्रस्तुत गरेकी छन्। 

उनले भनेकी छन्, 'अपूर्णता भनेको कुनै व्यक्तिगत कमजोरी वा असफलता होइन, यो त सम्पूर्ण मानव जातिको साझा अनुभव (Common Humanity) हो। जब हामी आफूलाई पर्फेक्ट हुनैपर्ने दबाबबाट मुक्त गर्छौँ र आत्म-दया (Self-Compassion) अपनाउँछौँ, तब मात्र अपूर्णताको डर हराउँछ।'

उनका अनुसार गल्तीप्रतिको डरले मानिसलाई आत्म-आलोचनाको दलदलमा फसाउँछ। तर, जब मानिसले आफूलाई साथी सरह व्यवहार गर्दै सानातिना भूलहरूलाई सहज रूपमा स्वीकार्न थाल्छ, तब एटेलोफोबिया जस्ता मानसिक सास्तीहरू स्वतः हराएर जान्छन्।

एटेलोफोबियासँग यसकारण डराउनु पर्दैन

यो कुनै निको नहुने भयानक शारीरिक रोग होइन। यो त केवल हाम्रो सोच र मस्तिष्कले सिर्जना गरेको एउटा अतार्किक काल्पनिक डर मात्र हो। यसबाट डराउनु नपर्ने केही सरल कारणहरू यहाँ छन् - 

  • यो पूर्ण रूपमा समाधानयोग्य छ : विचार र व्यवहारमा सानो परिवर्तन (जस्तै: Cognitive Behavioral Therapy वा माइन्डफुलनेस) ल्याउनाले यो डर सजिलै नियन्त्रणमा आउँछ। जब व्यक्तिले थेरापी वा माइन्डफुलनेस अभ्यासका माध्यमबाट आफ्ना अतार्किक विचारहरूलाई चिन्छ र तिनलाई व्यावहारिक ढङ्गले चुनौती दिन्छ, तब मस्तिष्कको चिन्ता उत्पन्न गराउने प्रणाली बिस्तारै शान्त हुँदै जान्छ। यसले गर्दा गल्ती हुने काल्पनिक डर हटेर जान्छ र मानिसले आत्मविश्वासका साथ हरेक कामलाई सहज र सकारात्मक दृष्टिकोणले अघि बढाउन सक्छ।

  • गल्ती हुनु प्राकृतिक हो : संसारका कुनै पनि सफल व्यक्ति वा काम कहिल्यै शतप्रतिशत पर्फेक्ट हुँदैनन्। विकास र प्रगति गल्तीहरूबाटै सम्भव हुन्छ। गल्तीहरू नै अनुभवका वास्तविक स्रोत हुन्, जसले मानिसलाई परिपक्व र दक्ष बनाउँछन्। जब हामी गल्तीलाई असफलताको सट्टा सिकाइको अवसरका रूपमा स्वीकार्न थाल्छौँ, तब आन्तरिक भय हराएर जान्छ। गल्ती गर्ने जोखिम मोल्न सक्ने मानिसले नै जीवनमा नयाँ प्रयोग गर्न, नयाँ कुरा सिर्जना गर्न र वास्तविक प्रगति हासिल गर्न सक्छ।

  • यसलाई जित्न सकिन्छ : 'Good Enough' (पर्याप्त छ) भन्ने भावनालाई जीवनमा स्थान दिनेबित्तिकै यसको प्रभाव शून्यप्रायः हुन्छ। जब हामी शतप्रतिशत पूर्णताको असम्भव मापदण्ड त्यागेर 'काम पर्याप्त रूपमा राम्रो छ' भन्ने सोच अपनाउँछौँ, तब आन्तरिक तनाव र डर आफैं हराएर जान्छ। यसले हामीलाई पर्फेक्सनको चक्करमा काम नै रोकिने (paralysis) अवस्थाबाट जोगाउँछ। 'गुड इनफ' को सिद्धान्तले मानिसलाई नतिजाको अस्वाभाविक चिन्ताबाट मुक्त गराई निरन्तर क्रियाशील र मानसिक रूपमा सन्तुष्ट रहन मद्दत गर्दछ।

तसर्थ, एटेलोफोबियासँग डराएर आफ्नो क्षमतालाई ब्रेक नलगाउनुस् । सधैं सम्झनुस् - 'A done work is better than a perfect work that is never done !' (सम्पन्न भइसकेको काम, कहिल्यै सुरु वा पुरा नसकिने पर्फेक्ट कामभन्दा सधैं उत्तम हुन्छ।) आफ्नो यात्राको आनन्द लिनुस् र अपूर्णतामै आफ्नो खास पहिचान खोज्नुस्।

Monday, August 24, 2026

डिलिरियम : मस्तिष्क जब अलमलिन्छ एकाएक

हरिप्रसाद, वर्ष ७२। सधैंझैँ बिहान चिया पिएर उनी आँगनमा बसेका थिए। परिवारका लागि उनी सामान्य दिनजस्तै देखिन्थे। दुई दिनअघि मात्र उनलाई निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो। औषधि चलिरहेको थियो र चिकित्सकले अवस्था सुधार हुँदै गएको बताएका थिए। तर तेस्रो दिन बिहान अचानक सबै कुरा फेरियो।

उनले छोरीलाई हेरेर भने, 'तिमी यहाँ कसरी आयौ? तिमी त सानो छँदा हराएकी थियौ।' छोरी अचम्ममा परिन्। केहीबेरपछि कोठाको कुनातिर औँला देखाउँदै उनी फुसफुसाए, 'त्यहाँ मान्छे उभिएको छ, त्यसलाई बाहिर निकाल।' वास्तवमा त्यहाँ कोही थिएन। केही मिनेटअघि शान्त देखिएका उनी एकाएक आत्तिए, उठेर घर जान खोजे र आफू अस्पतालमा रहेको कुरा नै स्वीकार्न मानेनन्।

परिवारले सुरुमा यो बुढ्यौलीको असर हो कि स्मरणशक्ति हराउन थालेको संकेत भन्ने ठाने। कसैले तनावको परिणाम भन्यो, कसैले मानसिक समस्या। तर चिकित्सकले परीक्षण गरेपछि भने, 'यो डिमेन्सिया होइन, डिलिरियम हो। शरीरमा भएको संक्रमणले मस्तिष्कको काम गर्ने तरिकालाई अस्थायी रूपमा बिगारेको छ।'

संक्रमण नियन्त्रणमा आएपछि केही दिनमै हरिप्रसादको अवस्था विस्तारै सामान्य हुन थाल्यो। उनले आफ्नी छोरीलाई चिने, अस्पतालमा किन आएको हुँ भन्ने सम्झिए र केही दिनअघिका अनौठा व्यवहारबारे आफैंलाई केही याद नभएको बताए।

यस्तो घटना धेरै परिवारका लागि डर र अन्योलको कारण बन्छ। एकछिनअघिसम्म सामान्य देखिएको व्यक्ति अचानक भ्रमित, असंगत वा अपरिचितजस्तो व्यवहार गर्न थालेपछि धेरैले त्यसलाई मानसिक रोग, बुढ्यौली वा पागलपनसँग जोड्छन्। तर वास्तविकता फरक हुन सक्छ। त्यो अवस्था डिलिरियम हुन सक्छ - अचानक देखापर्ने तर समयमै कारण पत्ता लगाएर उपचार गरे धेरै अवस्थामा निको हुन सक्ने गम्भीर मस्तिष्कीय अवस्था।

Delirium (डिलिरियम) भनेको अचानक सुरु हुने गम्भीर मानसिक अवस्था हो, जसमा व्यक्तिको चेतना, ध्यान, सोचाइ र वरिपरिको वास्तविकता बुझ्ने क्षमता अस्थायी रूपमा बिग्रिन्छ। मनोविज्ञान र चिकित्साशास्त्र दुवैले यसलाई अत्यन्त गम्भीर अवस्था मान्छन्, तर यसको मुख्य कारण प्रायः शारीरिक हुन्छ, केवल मानसिक होइन।

मनोविज्ञानले कसरी हेर्छ ?

मनोविज्ञानको दृष्टिले डिलिरियम केवल 'भ्रम देखिने' अवस्था मात्र होइन, बरु मस्तिष्कले वरिपरिको संसारलाई सामान्य रूपमा बुझ्न, त्यसमा ध्यान दिन र त्यसअनुसार प्रतिक्रिया दिन सक्ने क्षमतामा अचानक आएको गम्भीर अवरोध हो। यो अवस्था विस्तारै होइन, प्रायः केही घण्टा वा केही दिनभित्रै सुरु हुन्छ। यही कारण डिलिरियमलाई मनोविज्ञान र चिकित्साशास्त्र दुवैले तत्काल ध्यान दिनुपर्ने अवस्था मान्छन्।

डिलिरियम भएको व्यक्तिमा सबैभन्दा पहिले ध्यान केन्द्रित गर्ने क्षमता कमजोर हुन्छ। उनीसँग सामान्य कुराकानी गर्न पनि कठिन हुन सक्छ। कसैले प्रश्न सोध्यो भने केही सेकेन्डमै उनको ध्यान अन्तैतिर मोडिन सक्छ, एउटै विषयमा लामो समय केन्द्रित रहन सक्दैनन् र सामान्य निर्देशनसमेत बुझ्न गाह्रो हुन सक्छ। यही कारण उनीहरू कहिलेकाहीँ अलमलिएका वा असहयोगी देखिन्छन्।

यस अवस्थाले व्यक्तिको समय, स्थान र व्यक्तिको पहिचान गर्ने क्षमतामा पनि असर पुर्‍याउँछ। उनी अहिले कहाँ छन्, आज कुन दिन हो वा आफ्नो अगाडि उभिएको व्यक्ति को हो भन्ने कुरामा अन्योलमा पर्न सक्छन्। कतिपयले आफ्नै घरमा बसेर आफू कुनै अपरिचित ठाउँमा आएको अनुभव गर्छन् भने अस्पतालमा रहेका बिरामीले आफूलाई घर फर्किसकेको ठान्न सक्छन्।

डिलिरियममा सोच्ने र बोल्ने प्रक्रियामा पनि असंगति देखिन्छ। कुराकानी सुरु एउटा विषयबाट हुन्छ तर केही क्षणमै कुनै सम्बन्ध नभएको अर्को विषयमा पुग्छ। वाक्यहरू नमिल्ने, तर्क असंगत हुने वा प्रश्नको उत्तर सान्दर्भिक नहुने अवस्था देखिन सक्छ। कहिलेकाहीँ उनीहरूले वरिपरि नभएका मानिस, जनावर वा वस्तु देखेको दाबी गर्न सक्छन्, आवाज सुनेको अनुभव गर्न सक्छन् वा कसैले आफूलाई हानि पुर्‍याउन खोजिरहेको छ भन्ने गलत विश्वाससमेत गर्न सक्छन्। यस्ता अनुभव उनीहरूका लागि पूर्ण रूपमा वास्तविक हुन्छन्, त्यसैले उनीहरूको डर र प्रतिक्रिया पनि वास्तविक नै हुन्छ।

व्यवहार र भावनामा आउने तीव्र परिवर्तन पनि डिलिरियमको अर्को महत्त्वपूर्ण विशेषता हो। केहीबेरअघि शान्त र सामान्य देखिएको व्यक्ति अचानक अत्यन्त आत्तिन, रिसाउन वा उत्तेजित हुन सक्छ। अर्को क्षण उनी फेरि सुस्त, निद्रामय वा प्रतिक्रिया नै नदिने अवस्थामा पुग्न सक्छन्। यही उतारचढावले परिवारका सदस्यलाई अझ बढी अन्योलमा पार्छ।

डिलिरियमको सबैभन्दा विशिष्ट पक्ष भनेको यसको लक्षण दिनभरि एउटै नहुनु हो। बिहान सामान्यजस्तै देखिएको व्यक्ति साँझपख निकै भ्रमित हुन सक्छ, केही घण्टापछि फेरि सुधारिएको जस्तो देखिन सक्छ। यही परिवर्तनशील प्रकृतिका कारण धेरैले सुरुमा यसलाई सामान्य बिर्सने बानी, बुढ्यौली वा मानसिक रोग ठान्ने गल्ती गर्छन्। वास्तवमा डिलिरियम मस्तिष्कमा अचानक आएको अस्थायी गडबडीको संकेत हो, जसको कारण समयमै पहिचान गरेर उपचार गर्न सके धेरै अवस्थामा व्यक्ति पुनः सामान्य अवस्थामा फर्किन सक्छ।

बुझौँ उपचारयोग्य परिवर्तनका रूपमा 

डिलिरियमबारे आधुनिक चिकित्सा र मनोविज्ञानको बुझाइ निर्माण गर्न केही विश्वप्रसिद्ध विशेषज्ञहरूको योगदान निकै महत्त्वपूर्ण मानिन्छ। उनीहरूले डिलिरियमलाई केवल 'बिरामी अलमलिएको अवस्था' भनेर होइन, मस्तिष्कमा आएको गम्भीर तर धेरै अवस्थामा उपचारयोग्य परिवर्तनका रूपमा बुझ्न आग्रह गरेका छन्।

यसमा सबैभन्दा पहिले उल्लेख गर्नुपर्नेमा डा. शेरोन के. इनोउए (Sharon K. Inouye) पर्छन्। हार्वर्ड मेडिकल स्कुलसँग आबद्ध वृद्धावस्था चिकित्सा विशेषज्ञ इनोउएले सन् १९९० मा 'Confusion Assessment Method' (CAM) विकास गरिन्, जुन आज पनि विश्वभर डिलिरियम पहिचान गर्न सबैभन्दा धेरै प्रयोग हुने विधि हो। 

पछि सन् २००६ मा New England Journal of Medicine मा प्रकाशित 'Delirium in Older Persons' शीर्षकको समीक्षात्मक लेखमा उनले डिलिरियमलाई अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरूमा देखिने सबैभन्दा सामान्य तर धेरैजसो छुट्ने जटिलता भनेर व्याख्या गरिन्। उनको मुख्य सन्देश स्पष्ट थियो - डिलिरियम उमेरको स्वाभाविक परिणाम होइन, यसको पछाडि कारण खोजेर उपचार गर्न सकिने अवस्था हो। सन् २०२० मा त्यही जर्नलमा प्रकाशित 'Joining Forces against Delirium' लेखमा उनले चिकित्सकहरूलाई 'शरीरका अन्य अंगजस्तै मस्तिष्कको कार्यक्षमताको पनि समान महत्व दिनुपर्छ' भन्ने सन्देश दिइन्।

डिलिरियम अध्ययनका अर्का प्रभावशाली विद्वान् डा. ज्बिग्न्येभ जे. लिपोव्स्की (Zbigniew J. Lipowski) हुन्, जो मनोचिकित्सक थिए। सन् १९८७ मा JAMA मा प्रकाशित 'Delirium (Acute Confusional States)' र त्यसपछि New England Journal of Medicine मा प्रकाशित 'Delirium in the Elderly Patient' लेखमार्फत उनले डिलिरियमलाई 'अचानक सुरु हुने, ध्यान, चेतना र संज्ञानात्मक क्षमतामा विश्वव्यापी अवरोध ल्याउने अस्थायी मस्तिष्कीय अवस्था' भनेर परिभाषित गरे। 

आज पनि मनोचिकित्सा र न्युरोलोजीका धेरै पाठ्यपुस्तकहरूले उनको अवधारणालाई आधार मानेर डिलिरियमको व्याख्या गर्छन्। उनले विशेष जोड दिएको कुरा के थियो भने, डिलिरियम आफैं रोग होइन, यो शरीरभित्र भइरहेको अर्को गम्भीर समस्याको संकेत हो।

तेस्रो महत्त्वपूर्ण नाम हो डा. ई. वेस्ली इली (E. Wesley Ely), जो अमेरिकी क्रिटिकल केयर चिकित्सक र न्युरोलोजिकल अनुसन्धानकर्ता हुन्। उनले आईसीयूमा उपचाररत बिरामीहरूमा डिलिरियमबारे दशकौँ अनुसन्धान गरेका छन्। 

उनको विचारमा डिलिरियमलाई सामान्य अलमल वा बेहोसपन भनेर बेवास्ता गर्नु ठूलो भूल हो, किनकि यसले बिरामीको दीर्घकालीन स्मरणशक्ति, सोच्ने क्षमता र जीवनको गुणस्तरमा समेत असर पार्न सक्छ। उनले सह-लेखन गरेको 'Delirium in Critical Care' पुस्तक र आईसीयू डिलिरियमसम्बन्धी अनुसन्धानहरूले विश्वभरका अस्पतालहरूमा नियमित डिलिरियम स्क्रिनिङ र रोकथामका कार्यक्रम सुरु गर्न प्रेरित गरेका छन्।

यी तीनै विशेषज्ञहरूको साझा सन्देश एउटै छ - डिलिरियमलाई 'बुढ्यौलीको सामान्य लक्षण' वा 'क्षणिक मानसिक समस्या' भनेर बेवास्ता गर्नु हुँदैन। यो मस्तिष्कले शरीरभित्र कतै गम्भीर समस्या भइरहेको संकेत दिने चेतावनी हो। समयमै पहिचान, कारणको खोजी र उपचार गरियो भने धेरै बिरामी पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सक्छन्। यही कारण आधुनिक मनोविज्ञान, मनोचिकित्सा र न्युरोलोजीले डिलिरियमलाई तत्काल पहिचान र शीघ्र उपचार आवश्यक पर्ने चिकित्सा अवस्थाका रूपमा लिन्छन्।

डिलिरियम किन हुन्छ ?

डिलिरियम सामान्यतया मस्तिष्कमा अचानक आएको शारीरिक असरका कारण हुन्छ। उदाहरणका लागि उच्च ज्वरो वा संक्रमण, मस्तिष्कमा चोट, औषधिको दुष्प्रभाव वा रक्सी/लागूपदार्थ छोड्दा, अक्सिजनको कमी, कलेजो वा मिर्गौलाको गम्भीर समस्या, शल्यक्रियापछि, विशेषगरी वृद्ध व्यक्तिमा देखा पर्छ।

डिलिरियम तब हुन्छ जब मस्तिष्कको सामान्य कार्यप्रणाली अचानक अवरुद्ध हुन्छ। यसको पछाडि प्रायः एकभन्दा बढी कारण एकैसाथ सक्रिय हुन्छन्। संक्रमण, शरीरमा पानीको कमी, इलेक्ट्रोलाइट असन्तुलन (जस्तै सोडियम वा पोटासियमको गडबडी), रक्तचापमा तीव्र उतारचढाव वा अत्यधिक पीडाले पनि मस्तिष्कको सूचना प्रशोधन गर्ने क्षमता प्रभावित हुन सक्छ। विशेषगरी वृद्ध, डिमेन्सिया भएका व्यक्ति वा आईसीयूमा उपचाररत बिरामीमा यसको जोखिम धेरै हुन्छ। कारण पहिचान गरी समयमै उपचार गरे अधिकांश अवस्थामा डिलिरियम सुधार हुन सक्छ, तर ढिलाइ भए जटिलता बढ्न सक्छ।

बढी जोखिम कसलाई ? 

  • ६५ वर्षभन्दा माथिका व्यक्ति
  • डिमेन्सिया भएका
  • आईसीयूमा रहेका बिरामी
  • ठूलो शल्यक्रियापछि
  • धेरै औषधि सेवन गर्ने
  • मदिरा वा लागूपदार्थ छोडेका व्यक्ति
  • गम्भीर संक्रमण भएका बिरामी

कस्ता हुन्छन् यसका लक्षण ?

डिलिरियमका लक्षण सबै व्यक्तिमा एउटै प्रकारका हुँदैनन्। कसैमा ती अत्यन्त स्पष्ट देखिन्छन् भने कसैमा निकै सूक्ष्म हुन्छन्। यही कारण धेरै परिवारले सुरुआतमा यसलाई सामान्य थकान, बुढ्यौली, तनाव वा स्मरणशक्ति कमजोर भएको समस्या ठानेर बेवास्ता गर्न सक्छन्। तर डिलिरियमको विशेषता भनेको यसको लक्षण अचानक सुरु हुनु र केही घण्टा वा दिनभित्रै तीव्र रूपमा बदलिनु हो।

प्रायः सबैभन्दा पहिले व्यक्तिको ध्यान केन्द्रित गर्ने क्षमता प्रभावित हुन्छ। उनी सामान्य कुराकानीमा पनि लामो समय ध्यान दिन सक्दैनन्। एउटा प्रश्न सोध्दा अर्को विषयको उत्तर दिन सक्छन्, कुराकानीको बीचमै अलमलिन सक्छन् वा आफूले के भन्न खोजेको हो भन्ने बिर्सिन सक्छन्। यही कारण उनीहरूको सोचाइ र बोली असम्बद्ध देखिन थाल्छ।

यसपछि समय, स्थान र व्यक्तिको पहिचानमा अन्योल देखिन सक्छ। बिरामीले आफू अस्पतालमा हुँदा पनि घरमै छु भन्ने ठान्न सक्छ, दिन–रात छुट्याउन सक्दैन वा आफ्नै परिवारका सदस्यलाई अपरिचित व्यक्तिका रूपमा लिन सक्छ। कतिपयले वरिपरि नभएका मानिस वा जनावर देखेको, अनौठा आवाज सुनेको वा कसैले आफूलाई हानि पुर्‍याउन खोजिरहेको महसुस गरेको बताउन सक्छन्। यस्ता भ्रम उनीहरूका लागि वास्तविक अनुभवजस्तै हुन्छन्।

व्यवहार र भावनामा पनि अचानक परिवर्तन आउन सक्छ। केहीबेरअघि सामान्य र शान्त देखिएको व्यक्ति एक्कासि अत्यन्त आत्तिन, रिसाउन, कराउन वा उठेर हिँड्न खोज्न सक्छ। अर्कोतर्फ, केही बिरामी अत्यधिक सुस्त, निद्रामय वा प्रतिक्रिया नै नदिने अवस्थामा पुग्छन्। चिकित्सकहरूले यसलाई हाइपरएक्टिभ र हाइपोएक्टिभ डिलिरियमका रूपमा छुट्याउने गर्छन्। हाइपोएक्टिभ प्रकार झन् चुनौतीपूर्ण हुन्छ, किनकि बिरामी चुपचाप र सुस्त देखिने भएकाले परिवारले समस्या गम्भीर भएको महसुस गर्न ढिलो गर्न सक्छ।

डिलिरियमको अर्को महत्त्वपूर्ण संकेत भनेको लक्षण स्थिर नहुनु हो। बिहान सामान्यजस्तो देखिएको व्यक्ति साँझपख निकै भ्रमित हुन सक्छ, फेरि केही घण्टापछि सुधारिएको जस्तो पनि देखिन सक्छ। यही उतारचढावका कारण यसको पहिचान कहिलेकाहीँ जटिल हुन्छ।

अमेरिकी क्रिटिकल केयर चिकित्सक तथा डिलिरियम अनुसन्धानकर्ता डा. ई. वेस्ली इली (E. Wesley Ely) ले डिलिरियमलाई 'मस्तिष्कले शरीरभित्र गम्भीर समस्या भइरहेको संकेत दिने आपत्कालीन चेतावनी' का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार बिरामी अचानक अलमलिनु, परिचित मानिस नचिन्नु, अस्वाभाविक व्यवहार गर्नु, भ्रम देख्नु वा चेतनामा छिटोछिटो परिवर्तन आउनु सामान्य घटना होइन। यस्तो अवस्था देखिएमा मानसिक समस्या भनेर बेवास्ता गर्नु वा आफैं निको हुन्छ भन्ने अपेक्षा गर्नु जोखिमपूर्ण हुन सक्छ। यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सक वा मनोचिकित्सकसँग परामर्श लिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ, किनकि समयमै उपचार सुरु भए डिलिरियमका अधिकांश कारण नियन्त्रण गर्न सकिन्छ।

एक मिनेटमा बुझौँ - डिलिरियमका ४ संकेत

  • अचानक सुरु हुन्छ।
  • ध्यान केन्द्रित गर्न सकिँदैन।
  • व्यक्ति, ठाउँ र समय चिन्न गाह्रो हुन्छ।
  • भ्रम वा असामान्य व्यवहार देखिन सक्छ।

कारण पत्ता लागे धेरै अवस्थामा निको हुन्छ।

डिलिरियम र मानसिक रोगबीचको फरक

धेरैले डिलिरियमलाई मानसिक रोग सम्झन्छन्, तर यो प्रायः कुनै शारीरिक कारणले उत्पन्न हुने अस्थायी मस्तिष्कीय अवस्था हो।

  • डिलिरियम : अचानक सुरु हुन्छ, केही घण्टा वा दिनमै देखापर्छ, कारण उपचार भएपछि प्रायः सुधार हुन्छ।
  • डिमेन्सिया : बिस्तारै सुरु हुन्छ, महिनौँ वा वर्षौंमा बढ्छ।
  • सिजोफ्रेनिया : व्यक्तिको चेतनास्तर सामान्य रहन सक्छ, तर सोचाइ र वास्तविकताको बुझाइमा समस्या हुन्छ।

के यसलाई मनोरोग भन्ने ?

सामान्य अर्थमा 'मनोरोग' भन्नुभन्दा 'तीव्र मस्तिष्कीय भ्रमको अवस्था' वा 'अचानक देखिने चेतना र सोचाइको विकार' भन्नु बढी सही हुन्छ। चिकित्सकीय वर्गीकरणमा डिलिरियमलाई न्यूरोकग्निटिभ विकार (Neurocognitive Disorder) अन्तर्गत राखिन्छ। त्यसैले यसको उपचारमा मनोचिकित्सकसँगै फिजिसियन, न्युरोलोजिस्ट वा सम्बन्धित चिकित्सकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ।

यदि कसैमा अचानक अत्यधिक अन्योल, भ्रम, असंगत बोली वा व्यवहार, वा चेतनामा परिवर्तन देखियो भने यसलाई आपत्कालीन चिकित्सा अवस्था मानिन्छ। यस्तो अवस्थामा तुरुन्त अस्पताल लैजानुपर्छ, किनकि यसको पछाडि गम्भीर शारीरिक कारण हुन सक्छ।

कति छन् प्रकार ?

डिलिरियम सबै व्यक्तिमा एउटै रूपमा देखिँदैन। कसैमा अत्यधिक उत्तेजना र बेचैनी देखिन्छ भने कसैमा असामान्य शान्तता र सुस्ती। यही आधारमा चिकित्साशास्त्रले मुख्यतः तीन प्रकारमा वर्गीकरण गर्छ - हाइपरएक्टिभ, हाइपोएक्टिभ र मिक्स्ड।

हाइपरएक्टिभ डिलिरियम (Hyperactive Delirium) : यो सबैभन्दा सजिलै चिनिने प्रकार हो । यसमा बिरामी अत्यधिक चञ्चल, आत्तिएको वा उत्तेजित देखिन्छ। उनी बारम्बार उठेर हिँड्न खोज्न सक्छन्, ठूलो स्वरमा बोल्न सक्छन्, नभएका मानिस वा वस्तु देखेको दाबी गर्न सक्छन् वा वरिपरिका मानिसप्रति शंकालु व्यवहार गर्न सक्छन्। परिवारले प्रायः यही प्रकारलाई तुरुन्तै समस्या भनेर पहिचान गर्छ।

हाइपोएक्टिभ डिलिरियम (Hypoactive Delirium) : जुन तुलनात्मक रूपमा कम चिनिन्छ तर धेरै अवस्थामा अझ जोखिमपूर्ण मानिन्छ। यसमा बिरामी अत्यन्तै सुस्त, निद्रामय, कम बोल्ने वा प्रतिक्रिया दिन अनिच्छुक देखिन्छ। उनी अधिकांश समय ओछ्यानमै बस्न वा सुत्न चाहन्छन्। परिवारले यसलाई सामान्य थकान, कमजोरी वा धेरै सुत्ने बानी ठानेर बेवास्ता गर्न सक्छ। यही कारण यो प्रकार ढिलो पहिचान हुने सम्भावना बढी हुन्छ।

मिश्रित डिलिरियम (Mixed Delirium) : यसमा बिरामीको अवस्था एउटै दिनभित्र पनि परिवर्तन भइरहन्छ। केही समय अत्यन्त उत्तेजित र बेचैन देखिने व्यक्ति केही घण्टापछि एकदमै सुस्त र निस्क्रिय हुन सक्छ। डिलिरियमको यही परिवर्तनशील स्वरूपले यसको पहिचानलाई चुनौतीपूर्ण बनाउँछ।

चिकित्सकहरूका अनुसार जुनसुकै प्रकारको डिलिरियम भए पनि त्यसलाई सामान्य व्यवहार परिवर्तन भनेर बेवास्ता गर्नु हुँदैन। प्रकार फरक भए पनि तीनै अवस्थामा मस्तिष्कले शरीरभित्र कुनै गम्भीर समस्या भइरहेको संकेत दिइरहेको हुन्छ। त्यसैले बिरामी अत्यधिक चञ्चल देखिए पनि वा अस्वाभाविक रूपमा सुस्त देखिए पनि समयमै चिकित्सकीय मूल्यांकन र उपचार गराउनु नै सबैभन्दा उचित कदम हो।

जोखिम घटाउने सजिला सूत्र  

  • पर्याप्त पानी पिउने
  • राम्रो निद्रा
  • संक्रमणको समयमै उपचार
  • अनावश्यक औषधि नखाने
  • वृद्ध बिरामीलाई अस्पतालमा परिवारको साथ
  • चस्मा र हियरिङ एड प्रयोग

डिलिरियमसँग डराउनु पर्छ ?

डिलिरियम सुन्नासाथ धेरैजना डराउँछन्। परिवारको कुनै सदस्य अचानक नचिन्ने कुरा गर्न थाल्यो, नभएका मानिस देखेको बतायो वा आफ्नै घरपरिवारलाई चिन्न छाड्यो भने धेरैले यो स्थायी मानसिक रोग हो कि भन्ने चिन्ता गर्छन्। तर वास्तविकता अलि फरक छ। डिलिरियम आफैंमा आजीवन रहने मानसिक रोग होइन। अधिकांश अवस्थामा यो शरीरभित्र भएको अर्को समस्याको संकेत हो र त्यो कारण समयमै पत्ता लगाएर उपचार गर्न सके बिरामी पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सक्छ।

त्यसैले डिलिरियम देखिँदा पहिलो काम आत्तिनु होइन, यसको कारण खोज्नु हो। चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था, औषधिको इतिहास, संक्रमण, रगतका परीक्षण, अक्सिजनको मात्रा, इलेक्ट्रोलाइटको सन्तुलन र अन्य सम्भावित कारणको मूल्यांकन गर्छन्। यदि संक्रमणका कारण डिलिरियम भएको हो भने संक्रमणको उपचार गरिन्छ। औषधिको दुष्प्रभावका कारण भएको भए औषधि परिवर्तन वा बन्द गरिन्छ। शरीरमा पानीको कमी, अक्सिजनको अभाव वा अन्य शारीरिक समस्या भए ती सुधार्ने प्रयास गरिन्छ। अर्थात् उपचारको केन्द्र डिलिरियम होइन, त्यसको मूल कारण हुन्छ।

परिवारको भूमिका पनि उपचारमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। बिरामीसँग ठूलो स्वरमा बहस गर्नु, 'तिमीले गलत देखिरहेका छौ' भनेर जबर्जस्ती सम्झाउने वा रिसाउनेभन्दा शान्त, धैर्यपूर्ण र आश्वस्त बनाउने व्यवहार गर्नुपर्छ। उनीहरूलाई आफू कहाँ छन्, आज कुन दिन हो र वरिपरि को-को छन् भन्ने कुरा बारम्बार सहज रूपमा सम्झाइदिनु उपयोगी हुन्छ। कोठामा पर्याप्त उज्यालो राख्ने, रात–दिनको समय छुट्याउन सहयोग गर्ने, चस्मा वा श्रवणयन्त्र प्रयोग गर्ने व्यक्तिलाई ती उपलब्ध गराउने र परिवारको परिचित सदस्यलाई साथमा राख्ने जस्ता उपायले पनि डिलिरियम कम गर्न मद्दत पुग्न सक्छ।

कतिपय अवस्थामा बिरामी अत्यधिक उत्तेजित भएर आफू वा अरूलाई हानि पुर्‍याउने जोखिममा पुगेमा चिकित्सकले सीमित अवधिका लागि केही औषधि पनि प्रयोग गर्न सक्छन्। तर औषधि सबै बिरामीका लागि पहिलो उपचार होइन, यसको प्रयोग अवस्था हेरेर सावधानीपूर्वक गरिन्छ।

अमेरिकी वृद्धावस्था मनोचिकित्सक तथा डिलिरियम विशेषज्ञ डा. शेरोन के. इनोउए (Sharon K. Inouye) ले बारम्बार जोड दिएकी छन् कि डिलिरियम 'पहिचान गर्न सकिने, धेरै हदसम्म रोकथाम गर्न सकिने र प्रायः उपचार गर्न सकिने अवस्था' हो। उनका अनुसार समयमै लक्षण चिन्नु नै सफल उपचारको पहिलो कदम हो।

संकेत बुझ्नु, लक्षण देखिनेबित्तिकै अस्पताल पुग्नु, चिकित्सकको सल्लाहअनुसार उपचार सुरु गर्नु र बिरामीप्रति धैर्य, सम्मान र सहयोगी व्यवहार गर्नु उत्तम उपाय हो। सतर्कता र समयमै उपचारले बिरामीलाई सुरक्षित रूपमा सामान्य जीवनमा फर्काउन मद्दत हुन्छ।

डिलिरियमले मानिसको व्यक्तित्व परिवर्तन गर्दैन, बरु केही समयका लागि मस्तिष्कको सामान्य काम गर्ने क्षमता अवरुद्ध गर्छ। त्यसैले यसलाई पागलपन, बुढ्यौली वा भाग्यको खेल भनेर बेवास्ता गर्नु सबैभन्दा ठूलो गल्ती हुन सक्छ। सही समयमा चिन्ने, चिकित्सकसम्म पुर्‍याउने र परिवारले धैर्यपूर्वक साथ दिने हो भने अधिकांश बिरामी सामान्य जीवनमा फर्कन सक्छन्। कहिलेकाहीँ मस्तिष्कले पनि शरीरजस्तै 'मलाई तत्काल उपचार चाहियो' भनेर संकेत दिइरहेको हुन्छ - डिलिरियम त्यही संकेत हो।

Thursday, August 20, 2026

आफूले विश्वास गरेका कुरा मात्र किन सही लाग्छ ?

सामाजिक सञ्जालमा रमेशले एउटा भिडियो देखे। भिडियोमा एउटा लोकप्रिय जडीबुटीले मधुमेह पूर्ण रूपमा निको पार्ने दाबी गरिएको थियो। उनले तुरुन्तै त्यही विषयका अरू भिडियो खोजे। जहाँ-जहाँ जडीबुटीको प्रशंसा गरिएको थियो, ती सबै भिडियो उनले हेरे, सेयर गरे र विश्वास गरे। 

तर चिकित्सकहरूले दिएको वैज्ञानिक अध्ययन, औषधि विशेषज्ञहरूको विश्लेषण वा त्यस दाबीलाई अस्वीकार गर्ने सामग्री भने उनले हेर्नै चाहेनन्। कसैले 'त्यो प्रमाणित छैन' भन्यो भने उनको उत्तर एउटै हुन्थ्यो - 'तपाईंहरूलाई सत्य मन पर्दैन।'

सीमा धेरै वर्षदेखि एउटा राजनीतिक दलको समर्थक थिइन्। चुनावअघि सामाजिक सञ्जालमा उनले आफ्नो दलका राम्रा कामका समाचार मात्र साझा गरिन्। विपक्षी दलले गरेका सकारात्मक काम देखाउने समाचारलाई उनले 'प्रचार' भनेर बेवास्ता गरिन्। आफ्नै दलका कमजोरी देखाउने तथ्य आए पनि उनले त्यसलाई षड्यन्त्र ठहर गरिन्। अन्ततः उनले तथ्यभन्दा आफ्नो विश्वासलाई बलियो बनाउने सूचना मात्र रोजिरहिन्।

रमेश र सीमाका अवस्था र सोचका कोण फरक देखिए पनि दुवैको सोचमा एउटै मनोवैज्ञानिक प्रवृत्ति काम गरिरहेको छ, त्यो हो पुष्टि पूर्वाग्रह अर्थात् Confirmation Bias।

मानिसले आफूले पहिलेदेखि विश्वास गरेको धारणा, विचार वा निष्कर्षलाई समर्थन गर्ने प्रमाण मात्र खोज्ने, त्यसलाई बढी महत्त्व दिने र त्यससँग नमिल्ने तथ्यलाई बेवास्ता गर्ने वा अस्वीकार गर्ने मानसिक प्रवृत्तिलाई मनोविज्ञानमा कन्फर्मेसन बायस भनिन्छ। यसले हाम्रो सोच, निर्णय, सम्बन्ध, राजनीति, धर्म, स्वास्थ्य र दैनिक व्यवहारसम्म गहिरो प्रभाव पार्छ।

यो एउटा संज्ञानात्मक पूर्वाग्रह (Cognitive Bias) हो। यसमा मानिसले आफ्नो विश्वासलाई पुष्टि गर्ने जानकारीलाई सहजै स्वीकार गर्छ भने त्यसको विपरीत प्रमाणलाई कमजोर, गलत वा अविश्वसनीय ठान्ने सम्भावना बढ्छ। यसले हामीलाई वस्तुगत रूपमा सोच्नबाट रोक्छ।

सरल भाषामा भन्नुपर्दा, हामी सत्य खोजिरहेका हुँदैनौं, हामी आफूले पहिले नै विश्वास गरेको कुरालाई सही साबित गर्ने प्रमाण खोजिरहेका हुन्छौं।

मनोवैज्ञानिक के भन्छन् ?

Confirmation Bias सम्बन्धी पहिलो प्रसिद्ध प्रयोग बेलायती संज्ञानात्मक मनोवैज्ञानिक पिटर वेसन (Peter Cathcart Wason) ले सन् १९६० मा गरेका थिए। उनले '2–4–6 Task' नामक प्रयोगमार्फत मानिसहरूले आफ्नो अनुमान गलत हुन सक्छ भनेर परीक्षण गर्नुभन्दा त्यसलाई सही सावित गर्ने प्रमाण मात्र खोज्ने प्रवृत्ति देखाए।

यो अनुसन्धान सन् १९६० मा प्रकाशित भएको 'On the Failure to Eliminate Hypotheses in a Conceptual Task' शीर्षकको शोधपत्रमा समेटिएको छ। यही अध्ययनलाई Confirmation Bias को आधारभूत वैज्ञानिक प्रमाण मानिन्छ।

अमेरिकी मनोवैज्ञानिक रेमन्ड निकर्सन (Raymond S. Nickerson) ले सन् १९९८ मा प्रकाशित 'Confirmation Bias : A Ubiquitous Phenomenon in Many Guises' शीर्षकको विस्तृत समीक्षा लेखमा Confirmation Bias मानव सोचको सबैभन्दा व्यापक संज्ञानात्मक पूर्वाग्रहमध्ये एक भएको बताएका छन्।

उनका अनुसार मानिसले प्रमाणको निष्पक्ष मूल्यांकन गर्दैन। बरु आफ्नो विश्वाससँग मेल खाने प्रमाणलाई बढी महत्त्व दिन्छ र नमिल्ने प्रमाणलाई कम महत्त्व दिन्छ। उनको यो लेख Psychological Bulletin जर्नलमा प्रकाशित भएको थियो र आज पनि यस विषयको सबैभन्दा धेरै उद्धृत अनुसन्धानमध्ये एक मानिन्छ।

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक ड्यानियल काहनेम्यान (Daniel Kahneman) ले सन् २०११ मा प्रकाशित आफ्नो प्रसिद्ध पुस्तक Thinking, Fast and Slow मा मानिसको छिटो सोच्ने प्रणाली (System 1) ले Confirmation Bias लाई बलियो बनाउने बताएका छन्।

उनका अनुसार हाम्रो मस्तिष्कले आफूलाई सहज लाग्ने विश्वासलाई जोगाउन चाहन्छ। त्यसैले विपरीत प्रमाण आए पनि त्यसलाई गम्भीर रूपमा परीक्षण नगरी अस्वीकार गर्ने सम्भावना बढी हुन्छ। काहनेम्यानका अनुसार सही निर्णयका लागि ढिलो, विश्लेषणात्मक र आलोचनात्मक सोच आवश्यक हुन्छ।

कन्फर्मेसन बायस किन हुन्छ ?

मानव मस्तिष्क ऊर्जा बचाउन चाहन्छ। नयाँ सूचना आएपछि प्रत्येक पटक शून्यबाट विश्लेषण गर्नु कठिन हुन्छ। त्यसैले पहिले बनेको विश्वाससँग मिल्ने सूचना स्वीकार गर्न सजिलो लाग्छ। यसले मानसिक असहजता (Cognitive Dissonance) कम गर्छ। साथै, सामाजिक पहिचान, परिवार, धर्म, राजनीति र संस्कृतिले पनि हाम्रो विश्वास निर्माण गर्छन्। ती विश्वास चुनौतीमा पर्दा मानिसले आफ्नो पहिचान नै संकटमा परेको अनुभव गर्न सक्छ।

यो कति हानिकारक छ ?

  • यसको प्रभाव सामान्य गल्तीभन्दा धेरै गम्भीर हुन सक्छ।
  • स्वास्थ्य क्षेत्रमा मानिसले गलत उपचारमा विश्वास गर्न सक्छ।
  • लगानीमा आफ्नै अनुमान सही देखाउने समाचार मात्र हेर्दा ठूलो आर्थिक नोक्सानी हुन सक्छ।
  • राजनीतिमा मानिसहरू तथ्यभन्दा प्रचारमा विश्वास गर्न सक्छन्।
  • न्यायिक प्रक्रियामा अनुसन्धानकर्ताले एउटा शंकालाई मात्र सही ठानेर अन्य सम्भावना बेवास्ता गर्न सक्छ।
  • पारिवारिक सम्बन्धमा पनि 'ऊ सधैं यस्तै गर्छ' भन्ने सोच बनेपछि मानिसले सकारात्मक व्यवहार पनि नदेख्ने अवस्था आउन सक्छ।

सामाजिक सञ्जालले पनि Confirmation Bias बढाइदिन्छ। एल्गोरिदमले हामीले मन पराएका सामग्रीजस्तै सामग्री बारम्बार देखाउँछ। परिणामस्वरूप, हामी फरक दृष्टिकोणबाट झन् टाढा जान्छौं। यसलाई 'Echo Chamber' वा 'Filter Bubble' को प्रभाव पनि भनिन्छ।

के यो कुनै खास उमेरमा मात्र हुन्छ?

हुँदैन।

Confirmation Bias बालबालिका, किशोर, युवा, वयस्क र वृद्ध सबैमा देखिन सक्छ। यद्यपि यसको रूप फरक हुन सक्छ। बालबालिकामा परिवारबाट सिकेको विश्वाससँग जोडिएर देखिन सक्छ। किशोरावस्थामा साथी समूह र सामाजिक सञ्जालको प्रभाव बढी हुन्छ। युवामा राजनीतिक, वैचारिक र व्यावसायिक निर्णयमा यसको प्रभाव देखिन सक्छ।

वृद्धावस्थामा लामो समयदेखि बनेका विश्वास परिवर्तन गर्न कठिन भएकाले Confirmation Bias अझ बलियो देखिन सक्छ। त्यसैले यो उमेरको होइन, मानव सोचको विशेषता हो।

उमेरअनुसारको मानसिक अनुकूलता र पूर्वाग्रह

विकासवादी मनोविज्ञान (Evolutionary Psychology) को दृष्टिकोणबाट हेर्दा, मानिस जुनसुकै उमेर समूहको भए पनि उसमा आफ्ना मान्यताहरू जोगाउने र सुरक्षित क्षेत्र (Comfort Zone) मा रहने तीव्र चाहना हुन्छ। उमेरसँगै हाम्रो जीवनका अनुभवहरू गाँसिँदै जान्छन्, जसले गर्दा हाम्रो पूर्वाग्रहको स्वरूप पनि परिवर्तन हुँदै जान्छ।

  • बालबालिका र किशोरावस्था : यो उमेरमा मस्तिष्कको पूर्ण विकास भइनसकेकाले साना बालबालिकाहरूमा 'अधिकारप्राप्त व्यक्ति' (Authority Bias) र परिवारले भनेका कुरालाई बिना प्रश्न स्वीकार्ने र त्यसैलाई मात्र सत्य मान्ने प्रवृत्ति हुन्छ। किशोरहरूमा भने 'In-group Bias' (आफ्नो साथीभाइ वा समूहसँग मिल्नुपर्ने दबाब) सँग जोडिएर कन्फर्मेसन बायस प्रकट हुन्छ।

  • युवा र वयस्क अवस्था : यो उमेरमा मानिसहरू आफ्नो करियर, राजनीति, लगानी र विचारधारामा गहिरोसँग जोडिन्छन्। यहाँ कन्फर्मेसन बायस मुख्यतया 'Ego Protection' (आफ्नो अहम् र निर्णयको रक्षा) का लागि काम गर्छ। आफूले रोजेको राजनीतिक दल, करियर वा लगानी गलत थियो भन्ने स्वीकार्न गाह्रो हुने भएकाले मानिसहरू आफ्नै निर्णय सही थियो भनेर देखाउने तथ्य मात्र खोज्छन्।

  • वृद्धावस्था : जीवनभरका अनुभव र मान्यताहरू 'Crystallized Intelligence' (दृढ बुद्धिमत्ता) मा बदलिसकेका हुन्छन्। दशकौँदेखि पालन गरेको विश्वास गलत सिद्ध हुनु उनीहरूका लागि आफ्नो अस्तित्वमाथि नै प्रश्न उठ्नुसरह हुन्छ। त्यसैले वृद्ध उमेरमा पुराना विचारहरू झन् कडा र अपरिवर्तनीय बन्न पुग्छन्।

उमेरले सोचको परिपक्वता बढाए पनि मानिसलाई पूर्वाग्रहमुक्त बनाउँदैन। उमेर जुनसुकै होस्, सजग र सचेत रहेर आफ्नो सोचलाई निरन्तर परीक्षण नगरेसम्म जोकोही पनि यसको प्रभावमा पर्न सक्छ। वस्तुतः उमेर बढ्दै जाँदा प्राप्त हुने अनुभवले मानिसलाई 'ज्ञाता' होइन, केवल 'अनुभवी' मात्र बनाउँछ। यदि अनुभवलाई आलोचनात्मक सोच (Critical Thinking) ले परिस्कृत गरिएन भने त्यसले पुराना गल्ती र पूर्वाग्रहहरूलाई झन् कडा बनाउँदै लैजान्छ। त्यसैले, परिपक्वता भनेको धेरै कुरा जान्नु वा निश्चित हुनु होइन, बरु सत्यको अगाडि आफ्नो अज्ञानता र गल्तीलाई सहजै स्वीकार गर्न सक्ने बौद्धिक विनम्रता (Intellectual Humility) हो।

आफूलाई जाँच्नुस्

  • आफ्नो विचारसँग असहमत लेख वा भिडियो कति पटक हेर्नुहुन्छ?
  • आफ्नो विश्वास गलत हुन सक्छ भन्ने सम्भावनालाई स्वीकार गर्न सक्नुहुन्छ?
  • कुनै बहसमा नयाँ प्रमाण आएपछि विचार परिवर्तन गर्न तयार हुनुहुन्छ?
  • सामाजिक सञ्जालमा तपाईंले एउटै विचार भएका व्यक्तिलाई मात्र पछ्याउनुहुन्छ?
  • कुनै समाचार मन परेपछि त्यसको स्रोत र तथ्य जाँच गर्नुहुन्छ कि गर्नुहुन्न?

यदि यीमध्ये धेरै प्रश्नको उत्तर 'होइन' वा 'कम' छ भने Confirmation Bias को प्रभाव हुन सक्छ।

Bias कति प्रकारका हुन्छन्?

मनोविज्ञानमा Bias का दर्जनौं प्रकार वर्णन गरिएका छन्। विभिन्न अनुसन्धानमा १८० भन्दा बढी Cognitive Bias उल्लेख गरिएका छन्। तीमध्ये केही प्रमुख हुन्–

  • Confirmation Bias 
  • Anchoring Bias
  • Availability Bias
  • Hindsight Bias
  • Halo Effect
  • Self-serving Bias
  • Negativity Bias
  • Optimism Bias
  • Framing Effect
  • Overconfidence Bias

यी सबै Cognitive Bias अर्थात् संज्ञानात्मक पूर्वाग्रह अन्तर्गत पर्छन्। Confirmation Bias पनि यही समूहको सबैभन्दा धेरै अध्ययन गरिएको पूर्वाग्रहमध्ये एक हो।

यसबाट कसरी जोगिने ?

पहिलो, आफू गलत हुन सक्ने सम्भावना स्वीकार गर्नुहोस्।

दोस्रो, आफ्नो विचारसँग असहमत स्रोत पनि पढ्ने बानी बसाल्नुहोस्।

तेस्रो, कुनै समाचार वा दाबीलाई कम्तीमा दुई–तीन विश्वसनीय स्रोतबाट पुष्टि गर्नुहोस्।

चौथो, भावनाले होइन, प्रमाणले निर्णय गर्ने अभ्यास गर्नुहोस्।

पाँचौं, बहस जित्ने होइन, सत्य पत्ता लगाउने उद्देश्य राख्नुहोस्।

छैटौं, 'म किन यस्तो विश्वास गर्छु?' भन्ने प्रश्न आफैंलाई बेला–बेलामा सोध्नुहोस्।

सातौं, वैज्ञानिक सोच अपनाउनुहोस्। वैज्ञानिक दृष्टिकोणले आफ्नो अनुमान गलत पनि हुन सक्छ भन्ने मान्यता राख्छ।

डिजिटल युगमा किन अझ महत्त्वपूर्ण ?

आजको डिजिटल संसारमा कन्फर्मेसन बायस पहिलेभन्दा अझ शक्तिशाली बनेको छ। सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्ताले मन पराउने सामग्री नै बढी देखाउँछन्। यसले फरक विचार सुन्ने अवसर घटाउँछ। गलत सूचना, षड्यन्त्र सिद्धान्त, अफवाह र ध्रुवीकरण बढ्नुमा पनि यही प्रवृत्तिले भूमिका खेल्छ।

यही कारण वैज्ञानिक, पत्रकार, शिक्षक र अनुसन्धानकर्ताले तथ्य जाँच, स्रोतको विश्वसनीयता र आलोचनात्मक सोचमा जोड दिन्छन्।

यस विषयलाई अझ गहिरोसँग बुझ्न डेनियल काहनेम्यान (Daniel Kahneman) को प्रसिद्ध पुस्तक 'Thinking, Fast and Slow' (सोच: तीव्र र धीमा) को एउटा प्रसंग र अंश निकै सान्दर्भिक हुन्छ। त्यसमा भनिएको छ - हाम्रो मस्तिष्क ऊर्जा बचत गर्न र तीव्र गतिमा निर्णय लिन निर्मित भएको हो। मनोवैज्ञानिक रूपमा हाम्रो चेतनालाई दुई भागमा बाँडेर हेर्न सकिन्छ - System 1 (जसले द्रुत, स्वतःस्फूर्त र भावनात्मक रूपमा काम गर्छ) र System 2 (जसले ढिलो, सचेत र तार्किक विश्लेषण गर्छ)। 

कन्फर्मेसन बायस मुख्यतया हाम्रो System 1 को उपज हो। जब कुनै नयाँ सूचना हाम्रो अगाडि आउँछ, System 1 ले तुरुन्तै सोध्छ— 'के यसले मेरो पुरानो मान्यतालाई समर्थन गर्छ?' यदि गर्छ भने, दिमागले त्यसलाई बिना कुनै मेहनत तुरुन्तै साँचो मानिदिन्छ। System 2, जसको काम तथ्यको गहन छानबिन गर्नु र प्रश्न उठाउनु हो, त्यो प्रायः अल्छी वा सुषुप्त अवस्थामा रहन्छ।

हाम्रा पूर्व-स्थापित धारणामाथि प्रश्न उठाउनु वा तिनलाई गलत साबित गर्न खोज्नु मस्तिष्कका लागि निकै थकाउनेसम्मको मानसिक श्रम हो। त्यसैले मानिसको स्वभाविक प्रवृत्ति असजिला तथ्यहरूतर्फ ध्यान दिनुभन्दा आफ्नो आरामदायी भ्रमभित्रै रहनुमा हुन्छ। हामी प्रमाण हेरेर निष्कर्षमा पुग्दैनौँ, बरु पहिले नै निकालेको निष्कर्षलाई सही ठहऱ्याउन प्रमाणको निर्माण वा छनौट गर्छौँ।

यसै कारणले गर्दा, अत्यधिक शिक्षित र बौद्धिक मानिसहरू पनि झन् बढी कन्फर्मेसन बायसको सिकार हुने गर्छन्, किनभने तिनीहरूसँग आफ्नो गलत विचारलाई पनि तार्किक रूपमा सही साबित गर्ने क्षमता र शब्दको भण्डार बढी हुन्छ।

कन्फर्मेसन बायस कुनै मानसिक रोग होइन। यो मानव मस्तिष्कको सामान्य तर प्रभावशाली संज्ञानात्मक प्रवृत्ति हो। सबै मानिसमा कुनै न कुनै स्तरमा यसको प्रभाव हुन्छ। समस्या तब उत्पन्न हुन्छ जब हामी आफ्नो विश्वासलाई तथ्यभन्दा माथि राख्छौं।

सही निर्णय लिन, राम्रो सम्बन्ध बनाउन, लोकतान्त्रिक संवादलाई स्वस्थ राख्न र वैज्ञानिक सोच विकास गर्न कन्फर्मेसन बायसलाई पहिचान गर्नु अत्यन्त आवश्यक छ। सत्य प्रायः हाम्रो विश्वाससँग होइन, प्रमाणसँग जोडिएको हुन्छ। त्यसैले राम्रो सोचको पहिलो सर्त भनेको आफ्नो विचारलाई पनि प्रश्न गर्न सक्ने साहस हो। जब हामी आफू गलत हुन सक्ने सम्भावनालाई स्वीकार गर्न सिक्छौं, त्यही क्षणबाट निष्पक्ष सोचको यात्रा सुरु हुन्छ।

Sunday, August 16, 2026

मतिभ्रम

कोठामा एक्लै हुँदा पनि कसैले नाम बोलाएजस्तो लाग्ने, अरूले नदेख्ने अनौठो आकृति वा छाया देखिने वा विनाकारण शरीरमा किरा घस्रेजस्तो महसुस गर्दै हुनुहुन्छ ? यस्ता अनुभव बारम्बार भइरहेमा यो सामान्य भ्रम नभई मतिभ्रम (Hallucination) को अवस्था हुन सक्छ।

कुनै बाह्य भौतिक stimulus वा आधारविना नै मस्तिष्कले उत्पन्न गराउने यो यस्तो अनुभूति हो, जुन अनुभव गरिरहेको व्यक्तिका लागि १०० प्रतिशत वास्तविक महसुस हुन्छ। यो केवल दृष्टि (नदेखेको कुरा देख्नु) मा मात्र सीमित हुँदैन, सुन्ने (Audio), सुँघ्ने (Olfactory), स्वाद लिने (Gustatory) र स्पर्श गर्ने (Tactile) गरी हाम्रा पाँचै ज्ञानेन्द्रियमा मतिभ्रम हुन सक्छ।

सुनसान कोठाको त्यो नसुनिने स्वर

४५ वर्षका रामबहादुर काठमाडौंको एक पत्रिकामा रातिको सिफ्टमा काम गर्थे। हप्तामा ५०-६० घण्टाको निरन्तर खटाइ, चुरोटको अत्यधिक लत र अनिद्रा उनका नजिकका साथी बनेका थिए।

एक रात, २ बजेतिर आफ्नो डेस्कमा समाचार सम्पादन गर्दै गर्दा उनले स्पष्टसँग आफ्नो नाम बोलाएको सुने - 'रामबहादुर... यहाँ हेर।'

उनले वरिपरि हेरे, तर कार्यकक्ष सुनसान थियो। सबै सहकर्मीहरू घर फर्किसकेका थिए। उनले मनको भ्रम ठाने। तर, भोलिपल्टदेखि त्यो स्वर निरन्तर आउन थाल्यो। कसैले कानै निर आएर कानेखुसी गरेझैँ फुसफुसाउँथ्यो - 'तिमीलाई कसैले पछ्याइरहेछ, सतर्क रहनु।'

उनले कोठाका भित्ता, ढोका पछाडि र झ्यालमा मान्छे खोज्न थाले। उनलाई लाग्थ्यो, कोही मान्छे उनीभन्दा केही इन्च मात्र टाढा उभिएर बोलिरहेछ। तर त्यहाँ कोही थिएन। यो श्रवण मतिभ्रम (Auditory Hallucination) को एक गम्भीर उदाहरण थियो, जुन अत्यधिक मानसिक तनाव र अनिद्राका कारण उनको मस्तिष्कमा सिर्जना भएको थियो।

मध्यरातको अनौठो आगन्तुक

६८ वर्षीया सुशीला देवी आफ्नै धुनमा बाँचिरहेकी थिइन्। उमेरसँगै उनलाई पार्किन्सन्स रोगको सुरुआती लक्षण देखिएको थियो र उनी विगत केही महिनादेखि नियमित औषधि सेवन गरिरहेकी थिइन्।

एक साँझ, बत्ती बाल्नुअघि उनले आफ्नो बैठक कोठाको सोफामा एकजना अपरिचित वृद्ध बसिरहेको देखिन्। उनी सेतो लुगामा थिए र शान्त भएर सुशीला देवीलाई हेरिरहेका थिए। उनले सोधिन्, 'तपाईं को हो ?' तर ती वृद्धले कुनै उत्तर दिएनन्, केवल मुस्कुराइरहे।

उनी अत्तालिँदै भान्सामा गएर छोरालाई बोलाएर ल्याइन्। तर छोराले हेर्दा सोफा खाली थियो। सुशीला देवीले भने स्पष्ट रूपमा ती वृद्धको कपडाको रङ र अनुहारको चाउरीपनसमेत देखिरहेकी थिइन्। यो दृष्टि मतिभ्रम (Visual Hallucination) थियो, जुन उमेरजन्य स्नायुसम्बन्धी रोग र त्यसको औषधिको साइड-इफेक्टका कारण उत्पन्न भएको थियो।

मनोरोग कि केवल रोगको लक्षण ?

सामान्य भाषामा भन्नुपर्दा, मतिभ्रम आफैंमा कुनै छुट्टै मनोरोग होइन, यो एक जटिल लक्षण हो। जसरी शरीरमा भाइरस प्रवेश गर्दा ज्वरो आउनु एउटा लक्षण हो, त्यसरी नै मस्तिष्कको सूचना प्रशोधन गर्ने प्रणालीमा गडबडी हुँदा मतिभ्रम देखिन्छ। यो विभिन्न मानसिक र शारीरिक अवस्थामा देखा पर्न सक्छ।

  • गम्भीर मनोरोगको चरण: सिजोफ्रेनिया, बाइपोलर डिसअर्डर वा गम्भीर डिप्रेसन। यी गम्भीर मनोरोगहरूमा मस्तिष्कको डोपामाइन र सेरोटोनिनजस्ता न्युरोट्रान्समिटरको असन्तुलनले गर्दा मानिसको सोचाइ र वास्तविकता बिचको सम्बन्ध टुट्छ। सिजोफ्रेनियामा श्रवण मतिभ्रम र भ्रम (Delusions) मुख्य हुन्छन् भने बाइपोलर र साइकोटिक डिप्रेसनमा अत्यधिक निराशा वा उन्माद (Mania) सँगै वास्तविकताबाहिरका दृश्य वा आवाज महसुस हुन्छन्। सही औषधीय उपचार र मनोसामाजिक परामर्शले यी अवस्थालाई नियन्त्रणमा राख्न सकिन्छ।

  • स्नायुजन्य समस्या (Neurological Issues): डिमेन्सिया (Dementia), पार्किन्सन्स, अल्जाइमर्स वा ब्रेन ट्युमर। स्नायुजन्य समस्याहरूमा मस्तिष्कका तन्तु वा नसाहरू क्षतिग्रस्त हुँदा सूचना सम्प्रेषण प्रणाली अवरुद्ध हुन्छ। डिमेन्सिया र अल्जाइमर्समा स्मृति तथा सोच्ने क्षमता घट्दा मस्तिष्कले भ्रमित सन्देश सिर्जना गर्छ। पार्किन्सन्सका औषधि वा ब्रेन ट्युमरले मस्तिष्कको दृश्य र श्रवण केन्द्रमा दबाब दिँदा बिरामीले नभएका दृश्य देख्ने वा आवाज सुन्ने जस्ता मतिभ्रम भोग्न पुग्छन्।

  • शारीरिक र वातावरणीय कारक: अत्यधिक ज्वरो (Delirium), छारेरोग (Epilepsy), अत्यधिक अनिद्रा, कडा लागूपदार्थ वा रक्सीको लत/छोड्दा हुने रियाक्सन (Withdrawal Effects)। शारीरिक र वातावरणीय प्रतिकूलताले मस्तिष्कको रासायनिक वातावरण र विद्युतीय तरंगलाई क्षणिक रूपमा अस्तव्यस्त बनाउँछन्। अत्यधिक ज्वरो वा इन्फेक्सनले मस्तिष्कमा सुजन ल्याई डेलिरियम गराउँछ भने लागूपदार्थ वा रक्सी छोड्दा मस्तिष्क उत्तेजित भई भयानक दृष्टि वा स्पर्श मतिभ्रम हुन्छ। त्यस्तै, अनिद्रा र छारेरोगको आक्रमणले स्नायुको सन्तुलन बिर्गार्दा मस्तिष्कले नभएका कुराहरू महसुस गराउँछ।

मनोवैज्ञानिकका व्याख्या र ऐतिहासिक सन्दर्भ

वैज्ञानिक इतिहासमा मतिभ्रमलाई कसरी हेरियो र व्याख्या गरियो भन्ने जान्नु निकै रोचक छ। जर्मन मनोचिकित्सक एमिल क्रेपेलिनले मतिभ्रमलाई गम्भीर मानसिक रोग (खास गरी सिजोफ्रेनिया, जसलाई उतिबेला Dementia Praecox भनिन्थ्यो) को प्राथमिक र मुख्य लक्षणका रूपमा वर्गीकरण गरे। उनले मतिभ्रम र भ्रम (Illusion) बीचको भिन्नता स्पष्ट पारेका थिए।

उक्त व्याख्या सन् १८९६ मा प्रकाशित उनको प्रसिद्ध पुस्तक Psychiatrie: Ein Lehrbuch für Studirende und Aerzte (छैटौँ संस्करण) मा छ। उनको यो कार्य आधुनिक मनोरोग विज्ञान (Psychiatry) को आधारस्तम्भ हो। Mental Health Literacy र Psychiatry का क्लासिक पुस्तकहरू जस्तै Kraepelinian Dichotomy सम्बन्धी अनुसन्धान पत्र वा Dementia Praecox and Paraphrenia (Transl. 1919) मा यो अहिले पनि अध्ययन गर्न सकिन्छ।

क्रेपेलिनका अनुसार मतिभ्रम कुनै बाह्य वस्तुको गलत बुझाइ (Illusion) नभई पूर्ण रूपमा आन्तरिक मानसिक प्रक्रियाको परिणाम हो। उनले बिरामीले सुन्ने अमानवीय वा धम्कीपूर्ण स्वरहरू उनीहरूको आन्तरिक विचार प्रणाली बिग्रिएको संकेत भएको बताएका थिए। उनका अनुसार यस्ता मतिभ्रमहरूले बिरामीको चेतनालाई वास्तविकताबाट टाढा लग्दै मानसिक अवस्था तीव्र रूपमा बिगार्न निर्णायक भूमिका खेल्छन्।

जर्मन अस्तित्ववादी दार्शनिक तथा मनोचिकित्सक कार्ल जसपर्सले मतिभ्रमको 'अनुभूतिगत सत्यता' माथि व्याख्या गरे। उनका अनुसार मतिभ्रम कुनै कल्पना वा दिवास्वप्न होइन; यो व्यक्तिलाई बाह्य संसारका वास्तविक वस्तुजत्तिकै स्पष्ट र वस्तुगत (Objective) महसुस हुन्छ। 

उनका व्याख्या सन् १९१३ मा प्रकाशित 'General Psychopathology' (Allgemeine Psychopathologie)मा छ। General Psychopathology (John Wiley & Sons द्वारा अनुवादित र पुनर्मुद्रित) पुस्तकमा आज पनि जसपर्सको यो सिद्धान्त विस्तृत रूपमा पढ्न पाइन्छ।

जसपर्सका अनुसार मतिभ्रममा अनुभव गरिने आवाज वा दृश्यहरू व्यक्तिको नियन्त्रणबाहिर हुन्छन् र तिनमा वास्तविक वस्तुजस्तै प्रत्यक्ष शारीरिक उपस्थिति (Leibhaftigkeit) हुन्छ। बिरामीले आफ्ना आँखा वा कानले देखे-सुनेजत्तिकै पक्का मान्ने भएकाले उनीहरूलाई यो केवल कल्पना हो भनेर सम्झाउन सकिँदैन। यसले गर्दा मतिभ्रमले व्यक्तिको समग्र आत्मपरक अनुभव (Subjective experience) र वास्तविकताप्रतिको दृष्टिकोणलाई नै पूर्ण रूपमा बदलिदिन्छ।

प्रसिद्ध न्युरोलोजिस्ट तथा लेखक ओलिभर स्याक्सले मतिभ्रम केवल पागलपन वा मनोरोगको उपज मात्र होइन, यो सामान्य मस्तिष्कले विशेष परिस्थितिमा (जस्तै: दृष्टि गुम्दा हुने Charles Bonnet Syndrome, वा कडा माइग्रेनमा) देखाउने न्युरोलोजिकल प्रतिक्रिया पनि हो भनी व्याख्या गरे।

उनले आफ्ना विविध अनुसन्धानात्मक लेखहरू र सन् २०१२ मा प्रकाशित विश्वप्रसिद्ध पुस्तक Hallucinations मा यसबारे चर्चा गरेका छन्। उनको पुस्तक Hallucinations (Knopf Publishing Group) मा यी सबै घटना र मनोवैज्ञानिक/न्युरोलोजिकल व्याख्या पढ्न सकिन्छ।

स्याक्सका अनुसार मतिभ्रम मस्तिष्कको सिर्जनात्मक क्षमता र अनुकूलन प्रयासको पाटो पनि हो। दृष्टि वा श्रवणशक्ति गुमाउँदा मस्तिष्कको सम्बन्धित भाग (Visual/Auditory Cortex) निष्क्रिय नभई आफ्नै संवेदनशीलता बढाएर भित्री चित्र वा आवाज सिर्जना गर्न थाल्छ। त्यसैले, हरेक मतिभ्रम मानसिक रोगको संकेत होइन; यो त बाह्य उद्दीपकको अभावमा मस्तिष्कले आफैँलाई सक्रिय राख्ने एक स्वाभाविक न्युरोलोजिकल संयन्त्र मात्र हो।

मतिभ्रमका प्रमुख चरणहरू

मतिभ्रम अचानक उत्कर्षमा पुग्दैन। मनोवैज्ञानिक रूपमा यसलाई सामान्यतया चार मुख्य चरणमा विभाजन गरेर हेरिन्छ:

१. सान्त्वनादायी चरण (Non-psychotic / Comforting)
२. निन्दात्मक वा डराउने चरण (Condemning)
३. नियन्त्रण गुम्ने चरण (Uncontrolling)
४. पूर्ण हावी हुने चरण (Conquering)


  • सुरुआती वा सान्त्वनादायी चरण (Comforting Stage)

यस चरणमा व्यक्तिले आफू तनावमा हुँदा वा एक्लोपनमा केही मन्द स्वर वा आकृति अनुभव गर्छ। व्यक्तिलाई यो आफ्नै मस्तिष्कको उपज हो कि भन्ने हल्का भान हुन्छ। स्वरहरू सकारात्मक वा सान्त्वना दिने खालका हुन सक्छन्।

यो प्रारम्भिक चरणमा मतिभ्रम प्रायः अस्पष्ट र क्षणिक हुन्छ, जसलाई व्यक्तिले आफ्नो कल्पनाशक्ति वा थकाइको परिणाम ठानेर बेवास्ता गर्न सक्छ। कतिपय अवस्थामा, यी स्वर वा आकृतिहरूले अप्ठ्यारो परिस्थितिमा उसलाई साथ दिएको वा हौसला बढाएको जस्तो भान हुन्छ, जसले गर्दा व्यक्तिले यसप्रति तुरुन्तै कुनै डर वा चिन्ता व्यक्त गर्दैन र यो समस्या बिस्तारै उसको दैनिक जीवनमा भुलिँदै जान्छ।

  • निन्दात्मक वा डराउने चरण (Condemning Stage)

यो चरणमा आइपुग्दा मतिभ्रम अप्रिय बन्न थाल्छ। सुनिने स्वरहरूले व्यक्तिको आलोचना गर्ने, जिस्क्याउने वा नराम्रो भनिदिने गर्छन्। व्यक्तिले यसलाई रोक्न खोज्छ, तर असमर्थ हुन्छ। यसले गर्दा चिन्ता (Anxiety) र डर बढ्छ।

यस चरणमा मतिभ्रमको तीव्रता र बारम्बारता बढ्छ, जसले गर्दा व्यक्तिको मानसिक सन्तुलन बिग्रन थाल्छ। सुनिने स्वरहरूले व्यक्तिको आत्म-सम्मानमा चोट पुर्याउने, उनीहरूलाई असफल र बेकार महसुस गराउने गर्छन्। व्यक्तिले यसलाई रोक्न वा नियन्त्रण गर्न खोज्दा पनि असफल हुन्छ, जसले गर्दा उनीहरूमा हतासा र निराशाको भावना पैदा हुन्छ। कतिपय अवस्थामा, यी स्वरहरूले व्यक्तिलाई आफैँलाई वा अरूलाई हानि पुर्याउन उकास्न पनि सक्छन्, जसले गर्दा यो चरण अत्यन्तै खतरनाक हुन सक्छ।

  • नियन्त्रण गुम्ने चरण (Uncontrolling Stage)

यहाँ पुगेपछि व्यक्तिले मतिभ्रममा आउने आदेश वा दृश्यलाई पूर्ण रूपमा पत्याउन थाल्छ। बाह्य आवाज वा दृश्य यति बलियो हुन्छ कि व्यक्तिले आफ्नो वास्तविक वातावरणसँगको सम्पर्क गुमाउँछ। उनीहरू ती आवाजसँग बहसमा उत्रिने वा प्रतिवाद गर्ने गर्छन्।

यो चरणमा आइपुग्दा मतिभ्रमले व्यक्तिको तर्क र विवेकलाई पूर्ण रूपमा ओझेलमा पारिदिन्छ। उनीहरूले देख्ने वा सुन्ने कुराहरू यति यथार्थपरक हुन्छन् कि, उनीहरूले आफ्ना परिवार वा चिकित्सकको कुरा भन्दा मतिभ्रमको आदेशलाई बढी विश्वास गर्छन्। यसले गर्दा उनीहरूको व्यवहार असामान्य र कहिलेकाहीँ खतरनाक पनि हुन सक्छ, किनकि उनीहरू पूर्ण रूपमा मतिभ्रमको नियन्त्रणमा आइसकेका हुन्छन्।

  • पूर्ण हावी हुने चरण (Conquering Stage)

यो सबैभन्दा गम्भीर अवस्था हो। यहाँ मतिभ्रमले व्यक्तिको विचार, भावना र व्यवहारलाई पूर्ण रूपमा नियन्त्रण गर्छ। सुनिने स्वरहरूले अरूलाई वा आफूलाई हानि पुर्‍याउन आदेश दिन सक्छन् (Command Hallucinations)। व्यक्ति पूर्ण रूपमा साइकोसिसको सिकार बन्छ र तत्काल चिकित्सकीय हस्तक्षेपको आवश्यकता पर्छ।

यस चरणमा व्यक्ति र वास्तविक संसारबिचको सम्बन्ध पूर्ण रूपमा विच्छेद हुन्छ। उनीहरू आफ्नै आन्तरिक र काल्पनिक संसारमा हराउँछन्, जहाँ मतिभ्रम नै एकमात्र सत्य बन्न पुग्छ। मतिभ्रमबाट आउने आदेशहरू यति शक्तिशाली हुन्छन् कि व्यक्तिले नचाहेर पनि ती पालना गर्न बाध्य हुन्छ, जसले गर्दा गम्भीर हिंसा वा आत्म-हानिका घटनाहरू घट्न सक्छन्। यो अवस्थामा बिरामी आफैं अस्पताल जान वा मद्दत माग्न असमर्थ हुने हुनाले परिवार र समाजले तुरुन्तै हस्तक्षेप गरी अनिवार्य उपचारको व्यवस्था मिलाउनु अत्यन्तै जरुरी हुन्छ।

के यो कुनै खास उमेर समूहलाई मात्र हुन्छ?

मतिभ्रम कुनै खास उमेर समूहमा मात्र सीमित छैन। यो जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ। तर, उमेर अनुसार यसको कारण र प्रकृति फरक हुन्छ।

  • बालबालिका र किशोरकिशोरी : उच्च ज्वरो आउँदा (Febrile seizures/delirium), बाल्यकालको गहिरो मानसिक आघात (Trauma), वा न्युरोडेभलपमेन्टल विकारहरूमा। बालबालिकामा शारीरिक र मानसिक विकास भइरहेको हुनाले यी कारकहरूले उनीहरूको स्नायु प्रणालीमा प्रत्यक्ष असर पार्छन्। यस्तो बेला उनीहरूले डराउने आकृति देख्ने वा काल्पनिक स्वरहरू सुन्ने सम्भावना उच्च रहन्छ।

  • युवावस्था र वयस्क (१८-३५ वर्ष) : सिजोफ्रेनिया, बाइपोलर डिसअर्डर, अत्यधिक मानसिक तनाव, लागूपदार्थ वा रक्सीको प्रयोग, र अनिद्राका कारण। यो उमेर समूहमा तीव्र सामाजिक, पेसागत तनाव र मस्तिष्कमा हुने रासायनिक परिवर्तनका कारण मानसिक स्वास्थ्य प्रभावित हुने जोखिम बढी हुन्छ। लागूपदार्थ वा अनिद्राले मस्तिष्कको न्युरोट्रान्समिटर सन्तुलन बिगारेर श्रवण वा दृष्टि मतिभ्रमको सम्भावनालाई झनै बढाउँछन्।

  • वृद्धावस्था (६० वर्षभन्दा माथि) : डिमेन्सिया, अल्जाइमर्स, पार्किन्सन्स, Charles Bonnet Syndrome (दृष्टि क्षमता कम हुँदा मस्तिष्कले आफैं चित्र बनाउने अवस्था), वा धेरै प्रकारका औषधिको प्रतिक्रिया (Polypharmacy)। उमेर ढल्कँदै जाँदा मस्तिष्कका स्नायुहरू क्षीण हुँदै जाने र दृष्टि वा श्रवण क्षमता घट्ने गर्छ। यस्तो अवस्थामा मस्तिष्कले प्राप्त गर्न नसकेको बाह्य सूचनाको भर्पाई गर्न आफैं काल्पनिक दृश्य वा ध्वनि सिर्जना गर्न थाल्छ। साथै, वृद्धावस्थामा विभिन्न रोगका लागि एकैपटक धेरै प्रकारका औषधि सेवन गर्दा हुने न्युरोकेमिकल अन्तक्रिया (Polypharmacy) ले पनि वृद्धवृद्धाहरूमा दृष्टि तथा श्रवण मतिभ्रमको जोखिमलाई उच्च बनाउँछ।

पछिल्लो नयाँ अध्ययनले के भन्छ?

वैज्ञानिकहरूले मतिभ्रमलाई लिएर लगातार नयाँ खोजहरू गरिरहेका छन्। स्ट्यानफोर्ड युनिभर्सिटी र क्याम्ब्रिज युनिभर्सिटीका शोधकर्ताहरूद्वारा गरिएको र Nature Neuroscience (२०२३-२०२४) मा प्रकाशित एक ल्यान्डमार्क अध्ययनले मतिभ्रमबारे नयाँ तथ्य बाहिर ल्याएको छ।

उक्त अध्ययन अनुसार, मतिभ्रम हुनु भनेको मस्तिष्क 'बिग्रनु' वा 'पागल हुनु' मात्र होइन, यो मस्तिष्कको 'भविष्यवाणी गर्ने क्षमता' (Predictive Processing) मा आउने असन्तुलन हो।

हाम्रो मस्तिष्कले सधैं बाह्य संसारबाट आउने सूचना र पूर्व-अनुभव (Prior Beliefs) को आधारमा संसारलाई बुझ्ने प्रयास गर्छ। अध्ययनले देखाएको छ कि मतिभ्रम भएका व्यक्तिहरूमा मस्तिष्कले ज्ञानेन्द्रियबाट आउने वास्तविक डाटाहरू (Sensory Input) भन्दा आफ्नै भित्री अपेक्षा र पूर्व-अनुभव (Prior Expectations) लाई अत्यधिक महत्त्व (Over-weight) दिन्छ।

अर्थात्, जब मस्तिष्कले बाहिरको वास्तविकता र भित्री कल्पनाबीचको सन्तुलन मिलाउन सक्दैन, तब उसले बाहिर केही नहुँदा पनि आफ्नै भित्री कल्पनालाई नै "वास्तविक दृश्य वा आवाज" बनाएर चेतनालाई पठाइदिन्छ। यो अध्ययनले न्युरोइमेजिङ (fMRI) को सहयोगमा मस्तिष्कको StriatumAuditory/Visual Cortex बिचको सञ्चार गडबडीलाई स्पष्ट पारेको छ।

यस अध्ययनले मतिभ्रमको उपचार र यसलाई हेर्ने दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। परम्परागत रूपमा मतिभ्रमलाई केवल न्युरोट्रान्समिटरको रासायनिक गडबडी वा 'पागलपन'को रूपमा हेरिन्थ्यो, तर प्रिडिक्टिभ प्रोसेसिङ (Predictive Processing) मोडलले यो मस्तिष्कको सूचना प्रसोधन गर्ने एक विशेष क्षमताको विसर्जन हो भन्ने स्पष्ट पारेको छ।

fMRI प्रविधिमार्फत गरिएको अनुसन्धानले Striatum मा डोपामाइनको अत्यधिक बहावले visual र auditory cortex मा सञ्चारित हुने वास्तविक संवेदनालाई दबाइदिने देखाएको छ। यसले गर्दा व्यक्तिले बाह्य संसारको यथार्थभन्दा आफ्नै मस्तिष्कभित्र उत्पन्न भएका अपेक्षा वा सन्देशलाई बढी प्राथमिकता दिन्छ। यो निष्कर्षले आगामी दिनमा सिजोफ्रेनिया वा अन्य मनोरोगका बिरामीहरूका लागि मस्तिष्कको यही 'भविष्यवाणी सन्तुलन' (Predictive Balance) लाई पुन: मिलाउने targeted cognitive therapy र नयाँ पुस्ताका औषधीहरू विकास गर्न महत्त्वपूर्ण बाटो खोलेको छ।

सुरुआतमै कसरी थाहा पाउने ? 

सुरुआती संकेतहरू (Early Warning Signs)

  • अरूले नसुन्ने वा नदेख्ने कुरा महसुस हुनु, तर मनमा हल्का शंका बाँकी हुनु। यो मतिभ्रमको सुरुआती वा सान्त्वनादायी चरणको संकेत हो, जहाँ व्यक्तिले अनौठो अनुभव गरे पनि विवेक गुमाइसकेको हुँदैन। समयमै सचेत भई विशेषज्ञको सल्लाह लिएमा समस्या बढ्न पाउँदैन।

  • टोलाउने, लगातार कान थुन्ने वा हावामा हेरेर एक्लै गफरेजस्तो गर्ने। यस्तो व्यवहारले व्यक्तिले आफ्नो आन्तरिक संसारमा काल्पनिक आवाज वा दृश्यहरूसँग प्रतिक्रिया जनाइरहेको संकेत गर्छ। यो मतिभ्रम अलि कडा हुँदै गएको र तुरुन्तै चिकित्सकीय सहयोग चाहिने अवस्था हो।

  • निद्राको चक्र पूर्ण रूपमा बिग्रिनु। निरन्तरको अनिद्राले मस्तिष्कलाई आराम पाउन नदिई सूचना प्रसोधन प्रणालीलाई अस्तव्यस्त बनाउँछ। यसले मस्तिष्कमा थकान र तनाव बढाएर नभएका आवाज वा दृश्यहरू महसुस गराउने मतिभ्रमको जोखिमलाई तीव्र पार्छ।

  • मानिसहरूसँग टाढिनु (Social Withdrawal) र अत्यधिक शंकालु स्वभाव हुनु। यो अवस्था मतिभ्रमको गम्भीर चरणतिरको संकेत हो। जब व्यक्तिले नभएका आवाज वा दृश्यहरूलाई सत्य मान्न थाल्छ, उसलाई अरूले आफ्ना कुरा नबुझेको वा आफ्ना विरुद्ध षड्यन्त्र गरिरहेको भान हुन्छ। यही डर र अविश्वासका कारण व्यक्ति परिवार र समाजबाट पूर्ण रूपमा टाढिन्छ र आफ्नै काल्पनिक संसारमा सीमित हुन पुग्छ।

जोगिने र व्यवस्थापन गर्ने उपायहरू

  • पर्याप्त निद्रा र दिनचर्या: दैनिक ७-८ घण्टाको गुणस्तरीय निद्राले मस्तिष्कलाई रीसेट गर्न मद्दत गर्छ। नियमित सुत्ने र उठ्ने तालिकाले मस्तिष्कको 'भविष्यवाणी सन्तुलन' कायम राख्छ। यसले न्युरोकेमिकल गडबडी हुन नदिई सूचना प्रशोधन प्रणालीलाई स्वस्थ बनाउँछ र मतिभ्रमको जोखिमलाई न्यूनीकरण गर्छ।
  • तनाव र पदार्थ सेवनबाट टाढा रहनु : गाँजा, रक्सी वा अन्य Psychoactive पदार्थहरूले मतिभ्रमको जोखिमलाई मल्टिप्लाइ गर्छन्। यी पदार्थहरूले मस्तिष्कको डोपामाइन र सेरोटोनिनजस्ता न्युरोट्रान्समिटरको सन्तुलनलाई प्रत्यक्ष रूपमा असर गर्छ। यसले मस्तिष्कको सूचना प्रशोधन क्षमतामा बाधा पुर्‍याइ सामान्य तनावलाई पनि गम्भीर मतिभ्रम र साइकोसिसमा परिणत गरिदिन सक्छ।
  • शारीरिक स्वास्थ्यको ख्याल : उच्च ज्वरो, डिहाइड्रेसन, र कडा संक्रमणको समयमै उपचार गर्ने। गम्भीर शारीरिक समस्या वा संक्रमणले शरीरमा विषाक्त तत्व बढाउँछ र मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको आपूर्तिमा बाधा पुर्‍याउँछ। विशेष गरी वृद्धवृद्धा र बालबालिकामा यसले स्नायु प्रणालीलाई प्रभावित पारेर छिट्टै हडबडी वा डेलिरियम (Delirium) को स्थिति सिर्जना गर्छ, जसले दृष्टि वा श्रवण मतिभ्रम गराउन सक्छ। त्यसैले शारीरिक स्वास्थ्यको समयमै उपचार गर्नु मानसिक सन्तुलनका लागि पनि उत्तिकै आवश्यक हुन्छ।
  • सामाजिक सम्पर्क (Social Connection) : एक्लोपनले मतिभ्रमका स्वरहरूलाई अझ मुखरित बनाउँछ। सकारात्मक सामाजिक अन्तरक्रियाले मस्तिष्कलाई बाह्य वास्तविकतामा जोडिराख्छ। परिवार र साथीभाइसँगको निरन्तर कुराकानीले मस्तिष्कलाई आन्तरिक भ्रमहरूबाट ध्यान हटाएर बाह्य वातावरणमा केन्द्रित गराउँछ। जब व्यक्ति सामाजिक रूपमा सक्रिय रहन्छ, उसले वास्तविक संवेदनाहरू (Sensory Inputs) प्राप्त गर्छ, जसले भित्री काल्पनिक आवाज वा दृश्यहरूलाई मन्द बनाइदिन्छ। बलियो सामाजिक सहयोगले एक्लोपन र डर घटाएर बिरामीलाई मानसिक रूपमा सुरक्षित र सुरक्षित महसुस गराउन ठूलो भूमिका खेल्छ।
  • व्यावसायिक उपचार (Professional Help) : यदि यो लक्षण दोहोरिन थालेमा ढिला नगरी मनोचिकित्सक वा न्युरोलोजिस्टलाई देखाउनुपर्छ। Antipsychotics औषधि र थेरापी (CBT) ले यसलाई पूर्ण नियन्त्रणमा ल्याउन सक्छ। मानसिक वा स्नायुसम्बन्धी समस्यालाई समयमै पहिचान गरी विशेषज्ञको परामर्श लिनु उपचारको सबैभन्दा प्रभावकारी कदम हो। एन्टीसाइकोटिक्स औषधिले मस्तिष्कको न्युरोट्रान्समिटर सन्तुलन मिलाउन मद्दत गर्छ भने कग्निभ थेरापी (CBT) ले बिरामीलाई आफ्ना नकारात्मक विचार र मतिभ्रमका लक्षणहरूलाई चिन्न र व्यवस्थापन गर्न सक्षम बनाउँछ। यी दुवैको सही संयोजनले बिरामीलाई सामान्य र सक्रिय जीवनमा फर्काउन पूर्ण रूपमा मद्दत गर्छ।

के यसबाट डराउनु पर्छ?

डराउनु पर्दैन, तर सजग र गम्भीर भने हुनुपर्छ।

हाम्रो समाजमा अझै पनि मतिभ्रम (Hallucination) लाई लिएर अनेकौँ अन्धविश्वास र डर व्याप्त छ। कसैले यसलाई दैवी प्रकोप, भूतप्रेत वा बोक्सीको असर ठान्छन् भने कसैले व्यक्तिको मानसिक कमजोरी वा 'पागलपन' को रूपमा हेर्ने गर्छन्। तर आधुनिक न्युरोसाइन्सले यो सोचलाई पूर्ण रूपमा गलत साबित गरिसकेको छ।

मतिभ्रम हुनु कुनै रहस्यमयी वा डरलाग्दो कुरा होइन। यो केवल शरीर वा मस्तिष्कमा न्युरोकेमिकल, शारीरिक वा मनोवैज्ञानिक सन्तुलन बिग्रिएको एउटा स्पष्ट जैविक संकेत (Biological Signal) हो। जसरी आँखा धमिलो हुँदा वा दृष्टि कमजोर हुँदा हामी विना कुनै संकोच चिकित्सककहाँ गएर परीक्षण गराउँछौँ, त्यसरी नै मस्तिष्कले बाह्य वास्तविकता र भित्री कल्पनाबीच सन्तुलन मिलाउन नसक्दा विशेषज्ञको सहयोग लिनु अति सामान्य र आवश्यक प्रक्रिया हो।

बुझ्नैपर्ने मुख्य कुराहरू :

  • लक्षण हो, स्थायी अवस्था होइन : मतिभ्रम आफैंमा एउटा लक्षण मात्र हो। अत्यधिक मानसिक तनाव, निरन्तरको अनिद्रा, लागूपदार्थ वा रक्सीको प्रयोग, शरीरमा कडा संक्रमण वा न्युरोलोजिकल अवस्था (जस्तै: सिजोफ्रेनिया, डिमेन्सिया) यसका कारक हुन सक्छन्। सही कारण पहिचान गरी उपचार गर्दा यो समस्या पूर्ण नियन्त्रणमा आउँछ।

  • समयमै उपचार र रोकथाम : लक्षणहरूलाई समाजको डरले लुकाउनाले समस्या अझ जटिल बन्दै जान्छ। प्रारम्भिक अवस्थामै ध्यान दिन सकियो भने कग्निटिभ थेरापी (CBT), जीवनशैलीमा सुधार र आवश्यक औषधीको प्रयोगबाट मस्तिष्कको 'भविष्यवाणी सन्तुलन' (Predictive Balance) लाई पुन: पुरानै अवस्थामा ल्याउन सकिन्छ।

  • पारिवारिक र सामाजिक सहयोग : मतिभ्रमको महसुस गरिरहेको व्यक्तिलाई आलोचना गर्ने वा जिस्क्याउने काम कदापि गर्नु हुँदैन। उनीहरूका लागि यो अनुभव १०० प्रतिशत वास्तविक हुन्छ। त्यसैले उनीहरूलाई माया, सहानुभूति र सुरक्षित वातावरण दिँदै विशेषज्ञसम्म पुर्‍याउनु परिवार र समाजको मुख्य दायित्व हो।

अन्त्यमा, मतिभ्रम भनेको मस्तिष्कले विश्राम र उपचारका लागि मागेको एउटा संकेत हो। यसलाई अन्धविश्वासको घेरामा बाँध्नुभन्दा एक स्वास्थ्य समस्याका रूपमा स्वीकारेर सही चिकित्सकीय र मनोवैज्ञानिक परामर्श लिनु नै बुद्धिमानी हो।

सही समयको उपचार, औषधि र परिवारको सकारात्मक सहयोग पाउने हो भने मतिभ्रमबाट प्रभावित व्यक्ति पूर्ण रूपमा निको भएर आफ्नो सामान्य, सक्रिय र खुसी जीवनमा फर्किन सक्छ। त्यसैले डराएर लुकाउने होइन, सचेत बनेर सही कदम चाल्ने गरौँ।