Monday, September 13, 2021

ट्याक्सी

अस्पतालबाट डेराको यात्रा आज जसोतसो प्रबन्ध भयो ।  हामीहरु केही कुराको प्रतीक्षा गर्छौ ।  प्राप्तिसँगै पट्यारलाग्दो त्यो प्रतीक्षाको समयलाई बिर्सन्छौं । आज त्यसैगरी नबिर्सन ब्लगमा लेखिराखेको । कोठामा आइसकेपछि लागेको के हो भने यस्तो त अरुलाई पनि पर्छ। ट्याक्सी कसरी व्यवस्थापन हुँदो होला ?

गत साता श्रीमती र छोरालाई कोभिड-१९ को संक्रमण भयो । छोरालाई खासै शारीरिक समस्या देखिएन,
श्रीमतीलाई भने यो रोगले निकै दु:ख दियो । भएको के थियो भने उनी एउटा विवाह समारोहबाट स्कुटर कोठा फर्किँदा वर्षामा भिजेकी थिइन । ज्वरो आयो, रुघा लाग्यो । हामीले ठान्यौं -भिजेका कारणले हुनुपर्छ। ३/४ दिनसम्म पनि सञ्चो नभएपछि हामीले कोभिड पनि हुनसक्ने शंका गर्दै घरमा सतर्कता अपनायौं। निको नहुनु, ज्वरो र रुघाखोकी लम्बिनु, जिउ दुख्नु, खान मन नलाग्नु आदि लक्षण हाम्रा परम्परागत मौसमी रुघामर्कीका हुन् भन्ने सुनिआएको हो । तैपनि  एकपटक कोभिड टेस्ट गरि हेरौं भन्ने सल्लाह गरियो । 

अघिल्लो आइतबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गराउन पुग्यौं । एक्सरे पनि गरायौं । पीसीआरको रिपोर्ट बेलुकी ८ बजे एसएमएसमा आयो - कोरोना पोजिटिभ । त्यही रात छोरालाई पनि ज्वरो आयो । मैले भोलिपल्ट उसलाई अस्पताल पुर्‍याएँ । उसको पनि रिपोर्ट पोजिटिभ।

छोरालाई जँचाउन जाँदा मैले श्रीमतीजीको एक्सरे रिपोर्ट लिएँ, ओपीडीमा देखाएँ । डाक्टरले उनलाई निमोनियाका सामान्य लक्षण सुरु भएको संकेत गरे । भने 'फोक्सोमा सेता दाग देखिन थालेका छन्। लेखेको औषधि खुवाउनुस् । झोल पदार्थमा बल गर्नुस् । आत्तिनु पर्दैन।'

मंगलबार श्रीमतीजीको अक्सिजन लेवल घट्यो । अक्सिमिटरले सामान्य अवस्थामा हाम्रो शरीरमा अक्सिजनको मात्रा ९४ देखि ९७ सम्म देखाउने रहेछ । उनको ९३ देखायो । खोकी बढ्यो । दमको समस्या भए जसरी सास फेर्न थालेपछि मैले उनलाई पीसीआर गरेकै अस्पतालको आकस्मिक कक्ष पुर्‍याएँ । तर त्यहाँ त्यतिबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले 'अवस्था गम्भीर होइन, घर जानुस्' भने । ५/६ मिनेट पैदल हिड्न लगाएर अक्सिजनको मात्रा जाँच्दा मेसिनले ९५ देखाएपछि उनीहरुले खोकी कम गर्ने औषधि लेखिदिएर पठाएका थिए । भनेका थिए - 'अक्सिजनको मात्रा ९० भन्दा तल गयो भने आउनुस् । हामी गम्भीर बिरामी हेर्छौ। उहाँको अवस्था गम्भीर छैन ।' डाक्टरका कुरा प्रतिवाद गर्न भएन । तर श्रीमतीजीलाई गाह्रो भइरहेको थियो। तैपनि हामीलाई लाग्यो - डाक्टरले भनेको मान्नु ठीक । औषधि लैजाउँ, कसो बिसेक नहोला ।

बिसेक भएन । अक्सिजन लेवल ८५ मा झरेपछि बिहीबार सवेरै हामी फेरि त्यहीँ पुग्यौं । यसपटक स्वास्थ्यकर्मीले सतर्कतासाथ उपचार सुरु गरे । अक्सिजन सपोर्टमा राखियो । छातीको एक्सरे, रगत र पिसाब जाँच गर्न लगाए । निमोनिया निकै बढिसकेको थियो । अस्पतालमै भर्ना गरेर उपचार सुरु भयो ।

कोभिड जनरल वार्डमा  चार रात, पाँच दिन बिते । कसरी कसरी र त्यसबेला केके देखिए भन्ने पछि अर्को गफ गरौंला । मलाइ यतिबेला ट्याक्सीका कुरा लेख्नु छ ।

***

हिजो नै डाक्टरले 'घर लैजानुस्, अब आत्तिनु पर्दैन' भनेका थिए ।  जब जब अक्सिजनको पाइप झिक्यो, खोकी बढ्न थालिहाल्ने अवस्था कम भएको थियो । तर फेरि जोखिम कसरी लिने ? हामीले एक रात बिना अक्सिजन सपोर्ट अस्पतालमै बस्ने, अवस्था बिग्रिएन भने मात्रै  डिस्चार्ज लिने निर्णय गर्‍यौं ।

आज डिस्चार्ज लिइयो । दिनको करिब १ बजे डिस्चार्ज पेपर तयार भएपछि म ट्याक्सी खोज्न थालेँ । सुरुमा आफ्नो डेरा छेवैका एकजना गुरुजीलाई फोन गरेँ, जसले अघिल्लोपटक अस्पताल ल्याइदिएका थिए । उनले यतिबेला काँडाघारीतिर रहेकाले नभ्याउने अवस्था रहेको सुनाए । अस्पताल आएका धेरैजसो ट्याक्सीहरुलाई सोधेँ,  उनीहरु जसलाई लिएर आएका थिए, उनीहरुलाई नै लिएर फर्किने भेटिए । खाली भेटिएका २/३ वटाले बिरामी नबोक्ने जवाफ दिए । 

*** 

कोरोनासँग डराउनु पर्छ, सही हो । सतर्कता अपनाउनै पर्छ भन्नेमा दुबिधा पटक्कै राख्न हुँदैन । तर मैले घर लैजान लागेको व्यक्तिलाई संक्रमणको लक्षण देखिएको १४ दिन पुगिसकेको थियो । अस्पतालले 'घर लानू' भनिसकेपछि बिरामीको अवस्था अब रोग सार्ने थिएन ।  तर ट्याक्सी मानेनन् ।

निको भएकालाई एम्बुलेन्समा लैजाने कुरा पनि भएन । 'पठाओ' को सम्झना भयो । मोबाइल एपमा त्यसबाट ट्याक्सी खोजेँ । तुरुन्तै पाइयो । अर्डर कन्फर्म गर्नुअघि पठाओले कोभिड संक्रमित हो/होन पनि सोध्दो रहेछ । हामी संक्रमणमुक्त थियौं । त्यही अप्सन छनोट गरियो ।  हामीलाई लैजाने चालक र गाडी नम्बर देखायो । ट्याक्सी आउनेमा ढुक्क भयो । भाडा ३६९ रुपैयाँ पनि देखाएपछि अघिल्लोपटक आउँदाको भाडासँग तुलना गरेँ । महंगो होइन ।

बिरामी र पोको पारेका झोलाहरु  बाहिर निकालियो । वार्डबाट बाहिर आएर आकस्मिक कक्ष छेउ झोला बिसाएर ट्याक्सीको प्रतीक्षा थालियो । अचानक मोबाइलमा पठाओको एपले म्यासेज देखायो - 'राइडर ह्याज क्यान्सिल ।' (चालक जान मानेनन्)

*** 

अब फेरि अघिकै अप्सन ट्राइ गर्नुको विकल्प रहेन । म अस्पतालको गल्ली छाडेर त्रिपुरेश्वर-कालीमाटी मूल सडकमा आएँ । अस्पतालले डिस्चार्ज गरेको बिरामी बोक्छु भन्ने ट्याक्सी खोज्न निकैबेर लाग्यो । बल्ल बल्ल एउटा ट्याक्सी सहमत भयो । तर चालकले कोरोना सर्ने अवस्था हो/होइन भन्नेमा निकै केरकार गरे । 

जे होस् उनले गुँडमा पुर्‍याइदिए । फर्केपछि सोच्दैछु- कोरोनाले सबैतिर गाँजेको छ । जुनसुकै अस्पतालमा बिरामी बग्रेल्ती छन् । ट्याक्सी नपाइने समस्या अरुतिर पनि होला की नहोला ?