Showing posts with label दैनिकी. Show all posts
Showing posts with label दैनिकी. Show all posts

Thursday, April 23, 2026

नवीकरण

'सर्खारले लाइसेन्स भटाभट दिने,' 'सुरक्षण मुद्रण केन्द्रले छापेर पठाउन थाल्यो' लगायतका हाइस्पीड खबर सामाजिक सञ्जालमा हेरिरहँदा मैले सम्झिएँ - 'श्रीमतीजीको स्कुटरको लाइसेन्स २०७९ चैतमा नवीकरण गर्न दिएको। आयो की छापिएर।'

यातायात व्यवस्था कार्यालय https://dotm.gov.np/ सर्च गरियो, पेज देखायो। खुसीको कुरा, त्यसमा - 'यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङ( काठमाडौं)को नियमिततर्फ छपाइ भई कार्यालय पठाइएका सवारीचालक अनुमतिपत्र (लाईसेन्स)हरुको विवरण' देखायो। रहेछ ६९५ पृष्ठको। 'ए'बाट नाम सुरु हुनेको खोज्नमात्रै ५० पेज हेर्नुपर्ने। सूची डाउनलोड गरियो, अनि गरियो – कन्ट्रोल एफ। सूचीमा नाम देखायो। 'ठिक छ, अब भोलि लिन जान पर्छ' भन्ने विचार गरियो। 

अनि यसो सम्झना आयो - 'लाइसेन्स त मेरो पनि पर्समा छ। नवीकरणको म्याद कहिले होला?'  हत्तपत्त झिकेर हेरेको त फेल भएको तीन महिना गुज्रिन एक सातामात्रै बाँकी रछ। पर्‍यो फसाद !  तैपनि ९० दिन ननाघेका कारण जरिवानामा नपरिने भइयो भनेर ढुक्क मानियो। 

भोलिपल्ट दम्पती पुगियो यातायात कार्यालय, ठूलो भर्‍याङ। गेटबाट पसेपछि आआफ्नो कामका लाइनमा लागियो। सोधपुछ गर्ने ठाउँसम्म मेरो पालै नआइपुगी श्रीमतीजी आइपुगिन् र भनिन्, 'मेरो अहिले नदिने रैछ। लाइसेन्स प्रिन्ट भएको हो रे, त्यही भएर लिस्टमा देखिएको। यहाँ त्यो कार्ड आइपुग्न टाइम लाग्छ रे।'

-अनि कहिले सम्पर्क राख्नु भनेको छ?

- एक महिनापछि आउनु भन्यो। 

मेरो पालो आयो। सोधपुछमा बसेकी महिला कर्मचारीले म्याद खु्स्किएको मेरो ड्राइभिङ लाइसेन्स हेरेर यातायात व्यवस्था विभागको सफ्टवेयरमा रहेको मेरो बारेको जानकारीयुक्त एउटा कागज प्रिन्ट गरेर दिइन। अनि भनिन्, 'तपाइँले कोशीबाट बनाउनुभएको रहेछ। यहाँ हुँदैन, उतै जानुपर्छ।'

-किन र ! यो मेरो लाइसेन्स डिटेल प्रिन्ट गरेकै सिस्टममा नवीकरणको एउटा मिति थप्ने काम त हो नि। डाटा जताबाट हेरे पनि उही होइन? 

-होइन। हामीले यहाँबाट नवीकरण गर्न मिल्दैन। 

धेरै कुरा बुझ्नुपर्ने अधिकृतलाई भेट्न सुझाव दिइन। मैले कार्यालय प्रमुखको कोठा नम्बर बोर्डमा हेरेँ। उनलाई भेटेर कुरा राख्न पहिलो तला उक्लिएँ।

***

२०६२ माघमा जारी भएको मेरो ड्राइभिङ लाइसेन्स त्यो बेला लिखित र ट्रायल परीक्षा पास गरेर हात परेको थियो। त्यो बेला मेरो कार्य क्षेत्र विराटनगर थियो। म मोटरसाइकल चलाइरहेको थिएँ तर लाइसेन्स थिएन। पत्रकारिता गर्ने भएकाले बाटामा कतै चेकजाँचमा पर्दा पनि चिनेका प्रहरी भेटिन्थे। एक प्रकारको सहुलियत थियो। त्यसैले ड्राइभिङ लाइसेन्स धेरै जरुरीजस्तो भान हुन्थेन। तैपनि 'चाहिने कुरा हो, प्रक्रियामा गएर छिटै बन्छ भने बनाइराखौँ' भनेर म लाइसेन्स लिन फाराम भर्न गएको थिएँ।

त्यो बेला मोसाको लाइसेन्सका लागि लिखित दिइयो। ट्रायलमा त पास हुनेको सूचीमा पहिलो नम्बरमा नाम निस्केको थियो। लाइसेन्स ५/५ वर्षमा नवीकरण गर्नुपर्छ।

त्यो लाइसेन्स मैले दुईपटक इटहरी र एकपटक पोखराबाट नवीकरण गराएँ। तेस्रोपटकको नवीकरणमा 'स्मार्ट'बनेको थियो, जसका लागि मैले काठमाडौंबाट इटहरी नै पुग्नुपरेको थियो। त्यहाँ बायोमेट्रिक गराएपछि स्मार्ट बन्ने प्रक्रिया पुरा भएको थियो। लामो समय कार्ड छापिएर आएन। जब हात पर्‍यो, तीन वर्ष बितिसकेको थियो। अब चौथोपटक नवीकरणको प्रक्रियामा छु।

***

अँ म हाकिमको कार्यकक्ष बाहिर अलमलमा परेँ। कारण, ढोकाको सीसाबाट देखियो- उनी भित्र कसैसँग सघन वार्तामा थिए। बाहिर उनका सहयोगीको कुर्सी खाली थियो। केहीबेर उभिएँ। ती सहयोगी आइपुगे, भने 'जानुस् जानुस् भित्र जाँदा हुन्छ।' 

-हाकिम साब भित्र कसैसँग छलफलमा भएजस्तो देख्छु, पस्न हुन्छ र ?

-हुन्छ हुन्छ, केही फरक पर्दैन।

म ढोका खोलेर भित्र पसेँ। हाकिमले वार्ता गरिरहेका व्यक्तिले कुरा सिध्याए र बाहिर निस्किए। मैले तलबाट प्रिन्ट गरेर ल्याएको कागज र म्याद गुज्रेको स्मार्ट लाइसेन्स देखाएँ र आउनुको कारण बताएँ। 

उनले हात जोडे र भने 'हेर्नुस् यो लाइसेन्सको नवीकरण यहाँबाट हुँदैन। तपाइँ सम्बन्धित कार्यालयमै जानुपर्छ।

-किन ? तपाइँहरुको सर्भर सिस्टम त एउटै हो, जुन अफिसमा गए पनि यो लाइसेन्सको डिटेल त यही एउटै आउने होइन र? किन जानु इटहरी? 

-मिल्दैन। हामीलाई अख्तियार लाग्छ।

-किन अख्तियार लाग्नु नि? यो के गैरकानुनी काम हो? 

-पोहोरसम्म हामीले नवीकरण गरिदिइरहेको हो तर भर्खरै पोखराका साथीहरुलाई यही केसमा अख्तियारले मुद्दा चलायो। लाइसेन्स जारी गर्ने कार्यालयले सेवाग्राहीको सबै डिटेल सिस्टममा राखेको भए हामीले नवीकरण गरिदिन मिल्छ, तपाइँको जसरी छैन भने मिल्दैन। 

-लाइसेन्सको डिटेल यो कागजमा दिएको प्रिन्टबाहेक अरु के हुन्छ? 

-तपाइँले कहिले लिखित दिनुभयो? कहिले ट्रायल पास गर्नुभयो, के क्याटेगरीमा लाइसेन्स इस्यु गरिएको हो भन्ने डिटेल सिस्टममा हुनुपर्छ। त्यो तपाइँको सम्बन्धित कार्यालयले राखेको छैन रैछ। त्यसैले मिल्दैन। 

उनको कुरा गराइ नम्र थियो। हात जोडेर मलाइ बताइरहेका थिए। कन्फ्युज भइयो। सर्भरमा केके डाटा चाहिने रैछ भने। तैपनि मैले सोधेँ- यो मेरो लाइसेन्स नयाँ होइन। जारी भएकै २० वर्ष भइसक्यो। स्मार्ट पनि बनेको हो। जसको लाइसेन्स हो उसका बारेमा सिस्टममा केके राख्नुपर्छ भनेर त काम कर्मचारीले नै गर्ने हो। तपाइँहरुको कार्यालय एउटै, सर्भर सिस्टम एउटै, प्रणालीबाट सोधेर बनाइदिन मिल्दैन? मलाइ किन यहाँबाट इटहरी जाने दुःख दिनुहुन्छ?

विनम्र पोजमै उनी चर्किए। - भनेपछि कुरा बुझ्नुस्न। मिल्ने भए हामी गरिदिन्थ्यौँ, मिल्दैन।

-इटहरी नेपालमै छ, काठमाडौं पनि नेपाल नै हो, सर्भर एउटै, कार्यालयको सेवा एउटै, नवीकरण गरिदिन नमिल्ने कारण के? 

-तपाइँले कुरा बुझ्नुभएन। मिल्दैन।

-म इटहरी जान्न, यहीँबाट सेवा चाहियो। कुरा बुझाउनुस्। नमिल्ने कारण के हो?

-हेर्नुस्, अब यातायात कार्यालय एउटै होइन। यो अफिस बागमती प्रदेश मातहत छ, इटहरी कोशीको मातहत।

-कोशीको मातहत भएर के भो? तपाइँहरुको सर्भर एउटै छ, उताबाट भरेको मेरो डिटेल तपाइँले यहाँ प्रिन्ट गरेर दिन मिल्ने, नवीकरण गरिदिन नमिल्ने हुन्छ?

-तपाइँले कुरै बुझ्नु भएन। मैले तपाइँको काम गरिदिन बागमतीको यातायात मन्त्रालय सम्पर्क गर्नुपर्छ, त्यहाँबाट संघको भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय, अनि त्यहाँबाट कोशीको यातायात मन्त्रालय, अनि त्यो कार्यालय। तपाइँ सोझै सम्बन्धित कार्यालयमा जाँदा सजिलै हुने कामका लागि हामीले यत्रो ठूलो नेटवर्कमा सोधीखोजी गर्नै मिल्दैन। 

-अनि मैले पोहोर यही अफिसबाट श्रीमतीको लाइसेन्स नवीकरण गराएको। भएको थियो काम। पोहोर मिल्ने अहिले के भयो र?

-पोहोर हामीले गरेकै हौँ। तर अख्तियारले समस्या पारेकाले बन्द गरेका छौँ। 

-काठमाडौंमा देशभरिका मान्छे छन्। मान्छे रोजगारीका लागि कुदेको कुदेकै हुन्छ, एउटै देशभित्र उस्तै अफिसको सेवा जहाँबाट भए पनि लिन पाउनुपर्ने।

-तपाइँले भनेको जायज हो। तर, हामीले मिल्दैन। माफ गर्नुस्।

यति भनेपछि गलफती गरिरहने कुरा थिएन। म उठेँ। 'कुरा बुझाइदिनुभयो, धन्यवाद,' भन्दै बाहिरिएँ।  अनि जिज्ञासा भयो, मैले यतिका बेर कुरा गरेको हाकिमको शुभ नाम के होला? बोर्डमा थियो, सुरेश खनाल, कार्यालय प्रमुख। 

बाहिर आएर अघिको त्यो प्रिन्टेड कागज फेरि एकटपक ध्यानपूर्वक हेरेँ। लाइसेन्स जारी मिति, वर्ग, जारी गर्ने कार्यालय, अञ्चल सबै प्रष्ट छ। जारी भएयता दुईपटक सोही कार्यलय र एकपटक गण्डकीबाट नवीकरण भएको विवरण पनि प्रष्ट छ। 

***

नवीकरणका लागि इटहरी पुग्न झमेला सम्झेर के गर्दा उपयुक्त हुँदो हो भन्ने लागिरह्यो। कोठा आएर नेटमा यातायात कार्यालय इटहरीको साइट खोलेँ। साइटमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी गरी दुई जनाको नाम, फोटो, सम्पर्क नम्बर रहेछ। मलाई खबर लेख्नु थिएन। गुनासो सुन्ने अधिकारी गोपीचन्द्र बोहरालाई फोन गरेँ। कुराकानी सहज रह्यो। 

खनालजीलाई दिनु नपरेको आफ्नो परिचय गुनासो सुन्ने अधिकारीलाई दिनै पर्‍यो। काठमाडौंमा काम गरिरहेको, सवारीचालक अनुमतिपत्र नवीकरण गर्नुपर्ने बेला भएको बताए। अनि उनलाई सोधेँ - मैले लाइसेन्स रिन्यु गर्न इटहरी नआइ नहुने हो?

-होइन। तपाइँले आउनै पर्दैन। देशभरिका यातायात कार्यालय जहाँ गए पनि तपाइँको नवीकरण हुन्छ। 

मैले ठूलोभर्‍याङ गएको, त्यहाँबाट भनिएको कुरा बताएँ।

-तपाइँले कस्तो कर्मचारी भेट्नुभो, तिनले किन नहुने भनेका हुन् भन्ने मैले बुझिँन। गर्दिन मिल्ने कामलाई उनले के  कारणले पन्छाएका हुन् भन्ने मलाइ थाहा भएन। तर, देशभरिबाट सेवाग्राहीका डिटेल हेर्ने हाम्रो सर्भर एउटै हो। जेनजी आन्दोलनका बेला हाम्रो अफिसमा आगजनी भएकाले पुराना रेकर्ड कागजमा छैनन्, जे छ त्यो सर्भरमै छ। त्यो हेरेर नवीकरण गरिदिन सकिन्छ, केही गाह्रो छैन। तैपनि उहाँहरुले के माग्नुहुन्छ त्यो उपलब्ध गराउन हामी कोसिस गर्न सक्छौँ।

-अनि मेरो त काठमाडौंबाट नहुने भयो नि? केही उपाय छ?

-यसो गर्नुस् , तपाइँ एकान्तकुना जानुस्, हुन्छ। 

उहाँले मलाई एकान्तकुनास्थित यातायात कार्यालयमा भेट्न सकिने व्यक्तिको नाम दिनुभयो। पुगेपछि फोन गरेमा आफूले सम्झाइदिने पनि भन्नुभयो। मैले धन्यवाद दिएँ। 

***

दोस्रो दिन म ललितपुरको एकान्तकुना यातायात कार्यालय पुगेँ। इटहरीका गुनासो सुन्ने अधिकारीलाई 'म एकान्तकुना आइपुगेँ, तपाइँले भन्नुभएको मान्छेलाई फोन गर्दिनुस्' भन्छु भन्ने लागेको थियो। तर कार्यालय परिसरमा पसेपछि पहिले 'हेल्प डेस्कले के भन्दो रहेछ, सोध्न परो' भन्ने लाग्यो। 

-मेरो कोशीको लाइसेन्स हो। यहाँबाट नवीकरण हुन्छ? 

उत्तर आयो - 'हुन्छ हुन्छ। लाइन लाग्नुस्। पहिले १०१ मा जानुस्।'

ढुक्क भइयो। फोन गर्नै परेन। लाइन लागियो। लाइन लामो थियो। सेवाग्राहीले बिचौलियाबाट जोगिनका लागि सावधानीका सूचना भित्ताको स्पीकरमा बजिरहेको थियो। ढिला सर्दै सर्दै पालो आयो। पुरानो लाइसेन्स दिएँ। कर्मचारीले मेरो लाइसेन्स नम्बर इन्ट्री गर्दै हिजो जसरी तिनै विवरण एउटा पेजमा प्रिन्ट गरेर अर्को झ्यालमा पठाए। त्यहाँ स्वास्थ्य जाँचको १७५ रुपैयाँ लिइने रहेछ।

बायोमेट्रिक, आँखा जाँच, लाइसेन्स विवरण जाँच र नवीकरण शुल्क दाखिलासम्म १०३, १०५ गर्दै अन्तिममा १०८ पुगेपछि मैले रसिद पाएँ। यो प्रक्रियामा लाइन लामो लामो भए पनि काम छिटो छिटो भइरहँदा छिटै पालो आयो। रसिद लिएर बाहिरिन अघि फेरि हेल्प डेस्कमा पुगेँ।

- मैले नवीकरणका लागि शुल्क बुझाएँ। यो रसिद हो। अब मैले लाइसेन्स कहिले पाउँछु? 

त्यहाँका कर्मचारीबाट भद्र तरिकाले उत्तर आयो - 'अब असारमा सम्पर्क राख्न आउनुस्। प्रिन्ट भएर त्यो बेलासम्म आउँछ होला। रसिद सुरक्षित राख्नुहोला।' घरसम्म आइपुग्दा लागिरह्यो - खनालजीलाई के समस्या होला? किन काम टारेका होलान् ?

Tuesday, February 10, 2026

रातो बत्तीमा किन आउनुभयो ?


बबरमहलमा आर्ट ग्यालरीबाट निस्केर माइतीघरतर्फ लागौं वा नयाँ बानेश्वर, सवारीचालकले ट्राफिक बत्तीको संकेत हेक्का राख्नै पर्छ। यो बाटो मैले धेरैजसो आउजाउ गर्दै रहेको हो। त्यसैले बत्ती रातो, पहेँलो, नीलो के छ भन्ने नहेरी अघि बढिन्न। पहेँलो बल्यो, नीलो बल्यो मैले मोसा अघि बढाएँ। 

जिल्ला अदालत अगाडि सडकमा अर्को ट्राफिक लाइटले पर्खिरहेको थियो। साँझको करिब ५ बजेको थियो। दुइटा अरु दुई पांग्रेसँगै अघि बढियो, स्पीड करिब २५/३० किमि प्रति घण्टाको थियो। टायरले जेब्राक्रस छोयो, माथि पहेँलो बत्ती पिलिक्क गरेको देखियो। 

रातो बल्न अघि पहेँलो सवारी रोक्ने संकेत हो। तर, मलाई लाग्यो रोकौं भने पछाडिबाट आइरहेका सवारीले मलाई ठोक्छन्। म अघि बढेँ। आर्क ब्रिज नपुग्दै सडकमा दायाँबायाँ दुई ट्राफिक प्रहरी थिए। दुवैले मोटरसाइकल रोक्न संकेत गरे। 

मसँगै एउटा स्कुटर र एउटा मोटरसाइकल रोकियो। उनीहरु मभन्दा केही अगाडि पुगेर रोकिएका थिए।
म - के भयो किन रोक्न लाउनुभएको ? 
ट्राफिक - तपाइँ रातो बत्तीमा आउनुभयो। 
म - म रातो बत्तीमा आएको छैन। 
ट्राफिक - तपाइँ रातो बत्तीमै आउनुभएको हो। मैले देखेको। 
यति भनेर ती ट्राफिक केही अगाडि रोकिएको स्कुटरतर्फ गए। म रोकिएर हेरिरहेँ। उनले केहीबेर स्कुटर चालक महिलासँग वार्तालाप गरे। अनि उनलाई जान दिए। मनजिक रोकिएका अर्का मोसा चालकलाई अर्का ट्राफिक प्रहरीले केरकार गरिरहेका थिए। मानौं, हामीहरु मान्छे मारेर भागेकाहरु हौं। 

स्कुटरलाई पठाएर बाटो काट्ने एउटा हुललाई वारिपारि गराएपछि अघिका तिनै प्रहरी मेरा अगाडि प्रकट भए। 
 - खै तपाइँको लाइसेन्स ल्याउनुस्। 
- किन दिने लाइसेन्स? 
- तपाइँ रातो बत्तीमा आउनुभएको हो। 
- होइन म रातो बत्तीमा आएकै छैन। म जेब्रामा आइपुग्दा पहेँलो बलेको थियो। म पहेँलोमा क्रस भएको हो, रातोमा होइन। 
- तपाइँलाई जरिवाना लाग्छ। 
- पहेँलो बत्तीमा पनि लाग्छ? 
- लाग्छ, तपाइँलाई ट्राफिक नियम थाहा छैन? पहेँलो भनेको रोक्नुपर्ने संकेत हो। 

*** 
एक पटक मिनभवनतिरबाट आएर नयाँ बानेश्वरमा मलाई बिजुलीबजारतिर जानुपर्ने थियो। मैले मोड्ने ठाउँमा आइपुग्दा पुग्दै रातो बत्ती बल्यो। हतारिएर आएको मैले झ्याप्प ब्रेक लगाएर रोकिँए। मेरो पछाडि एउटा नयाँ स्कुटर तीव्र गतिमा आइरहेको रहेछ। 

मैले अचानक रोकेपछि त्यो स्कुटर मेरो मोसाको लेगगार्डमा जोडसँग ठोक्कियो। त्यसको अगाडिको भागमा क्षति भयो। प्लाष्टिकका कभरहरु फुटेर सडकमा छरियो। पँहेलो रङको स्कुटर थियो, नयाँ। शायद भर्खरै मात्रै किनेको हुनुपर्छ। 

स्कुटरमा दुई जना सवार थिए। चालक टेम्परमा आए। उत्रिएर मसँग 'किन बाइक रोकेको? यसको क्षतिपूर्ति तपाइँले गर्नुपर्छ' भने। मैले 'हेर्नुस् अगाडि रातो बत्ती बलेको देखिदेखि म कसरी अगाडि जानु? तपाइँले विस्तारै आउनुपर्थ्यो' भनेँ। उनी निकै झोँक्किए। 

रातो बत्ती बलेकाले रोकिएर रहनुको विकल्प थिएन। उनले भने 'म केही जान्दिन यो टुटफुटको जिम्मा तपाइँले लिनुपर्छ।' मैले भने 'मेरो गल्ती नै छैन कसरी यसको जिम्मा म लिन्छु?' उनी झगडा गर्ने मुडमा थिए। अलिकति तनाव भयो। के गर्ने होला भनेर मैले चोकका ट्राफिक प्रहरीतर्फ हेरेँ। 

ती ट्राफिक बीटबाट प्रहरी हाम्रो नजिक आए र भने 'मैले देखिरहेको थिएँ।' उनले स्कुटरचालकलाई भने 'तपाइँ बत्ती देख्नुहुन्छ?' अनि उनले मलाई भने 'तपाइँको गल्ती छैन। जानुस्।' अचानक हरियो बल्यो, स्कुटर चालकलाई वास्तै नगरी म अघि बढेँ। उनी मेरो पछि-पछि थिए। तर, अगाडि गइरहँदा कता गए भनेर मैले चासो दिइँन। 

***
पहिलो पटक जरिवानामा पर्दा मलाई रातभर निन्द्रा लागेको थिएन। श्रीमती र म कालिमाटी गएका थियौं। कालीमाटी तरकारी बजार जानु थियो। टेकुबाट कालीमाटी जाँदा बाटोमा दायाँ पर्छ तरकारीको थोक बजार। तर, यताबाट जाने सवारीले दायाँ मोड्न नपाइने  रहेछ।

म मोसामा सरासर गएँ। ट्राफिक प्रहरी गेटैमा उभिएर हेरिरहेका थिए। दायाँ मोडेँ। भित्र पसेँ। मोसा बिस्तारै थियो। म केही अगाडि बढेपछि ती प्रहरी कराए- 'रोक्नुस् रोक्नुस्।' मैले रोकेँ। उनी दौड्दै आए। चिट झिके, अनि भने 
- लाइसेन्स ल्याउनुस्।
- किन र ? 
- तपाइँले ट्राफिक नियम उल्लंघन गर्नुभो।
- लौ ! कसरी ? 
- यहाँ दायाँ मोड्न पाइँदैन। तपाइँ दायाँ मोडेर आउनुभयो।
- ओहो लौ थाहा थिएन। अनि यता मोड्न पाइँदैन भन्ने बोर्ड कहाँ छ? कतै संकेत देखिन्न, कसरी थाहा पाउनु?
- ल हिँड्नुस्। बोर्ड म देखाउँछु। 
मोटरसाइकल रोकेँ। उनको पछि लागेँ। बाटामा गेटभन्दा केही पर बोर्ड रहेछ - दायाँ मोड्न निषेध। 

गल्ती गरिएकै हो। अब गाह्रो भयो। मैले जरिवानाबाट उम्किने प्रयास गरेँ। 
- हेर्नुस् बोर्ड त्यहाँ छ, उताबाट आउनेले देख्तैन। तपाइँ गेटमा हुन्हुन्थ्यो, यता आउन पाइँदैन भन्ने संकेत गरिदिनुभएको भए मलाई जरिवाना तिर्न केको सोख !
- त्यो म जान्दिन। लाइसेन्स दिनुस्।
- एक पटक हो। पहिलोपटक हो, जानाजान होइन, छाड्दिनुस्। 
- हुँदैन। हामीले छाड्न मिल्दैन। हामीले छाडेर तपाइँहरुले गुन मान्ने हो र ! मलाई थाहा छ तपाईहरु त राम्रो काम गरे पनि पुलिसलाई गाली नै गर्नुहुन्छ नि। 
  
मैले लाइसेन्स दिनै परो। दिएँ। उनका कुरा सुनेँ। उनी पहिल्यै नछाड्ने नियतका साथ तयार सुनिएपछि गलफती गर्नुको अर्थ थिएन। बढी सवालजवाफ गरेर बढी जरिवाना गर्न पनि सक्छन्। म उनलाई सुनिरहेँ। उनले चिट काटे। जीवनमा पहिलोपटक कुनै ठूलो दुर्घटना गरेको जस्तो लाग्यो। २०८१ भदौको शनिबारको दिन थियो त्यो।

उनले चिट थमाएपछि भने - 'जरिवाना बुझाएर लाइसेन्स लानुहोला।' मैले दिने जवाफको उनलाई प्रतीक्षा थिएन। बाटो लागे। उनको कम्मरको ब्यागमा मजस्ता थुप्रैको लाइसेन्स थिए। शायद यस्तै परेको होला भन्ठाने।  

म जरिवानामा परेको थिइँन। त्यसैले लाइसेन्स फिर्ता लिन जानुपर्ने ठाउँ थाहा थिएन। भोलिपल्ट बग्गीखाना पुगेँ। त्यहाँ चिट देखाउँदा 'यहाँ होइन, कालीमाटी जानुस्' भनियो। गएँ। जरिवानाको रकम डिजिटल वालेटबाट तिर्नुपर्ने रहेछ। तिरेँ। लाइसेन्स र फिर्ता आयो तर, मोबाइलको नागरिक एपमा लिंक गरेको ड्राइभिङ लाइसेन्स सेक्सनमा 'भ्वाइलेसन रेकर्ड'मा सधैंका लागि लिखित रहिरह्यो- मानौं मैले मोसा दायाँ मोडेको होइन दुर्घटना गरेको हुँ, मान्छे मारेको हुँ।

यो रेकर्डको पाटो बडो जटिल छ। यसबारे पछि कुनै बेला चर्चा गरम्ला।    
 
***
 
मैले त्यो नयाँ बानेश्वर चोकको करिब तीन/चार महिना अघिको घटना सम्झिएको थिएँ बबरमहलको पहेँलो बत्तीमा जेब्राक्रस गर्दा। यहाँ त फेरि झमेला हुने भयो। लाइसेन्स निकालेँ, दिएँ। त्यो लिएर ट्राफिक प्रहरी मलाइ छाडेर केही पर गए। अर्का साथीसँग साउती गर्न थाले। 

म अघि बढिँन, रोकिएर उनीहरुलाई हेरिरहेँ। मलाई रोक्ने जवान करिब ५.४ फुटका गहुँगोरा थिए। पातलो ज्यान, फुर्तिला देखिन्थे। सडकमा यस्ता बेला कतिपय ठाउँ प्रहरीको संवाद शैलीले रीस उठाउँछ। तर, उनको बोली नरम नै थियो। ती ट्राफिकले मोबाइलले मेरो लाइसेन्सको फोटो खिचे। अनि नजिक आए।
 
-तपाइँ कसरी भन्नसक्नुहुन्छ म रातो बत्तीमा आएको हो भनेर? 
-हेर्नुस् मैले यहाँबाट हेर्दा त्यस्तै देखेँ। रातो बलेको थियो। 
-तपाइँले भनेर म मान्दिन। पुष्टि गर्नुस् । म भन्दैछु पहेँलोमा आएँ भनेर, तपाइँ कसरी मेरो गल्ती भन्नुहुन्छ। झ्याप्प रोक्दा पछाडिको गाडीले मलाई ठोकेको भए के हुन्थ्यो? 
- त्यसो भए त म पनि कन्फर्म भइँन। अब सीसीटीभी हेरेर गल्ती कन्फर्म गर्नुपर्छ। 
- तपाइँको सीसीटीभी मनिटरिङ शाखामा सोध्नुस्। उताबाट मेरो गल्ती हो भन्ने पुष्टि हुन्छ भने मात्रै तपाइँले जरिवाना गर्न मिल्छ। त्यसै दुःख दिन मिल्दैन। 
उनी अलि पर गए। फोनमा कसैसँग कुरा गरे। अनि फेरि मकहाँ आएर भने - 'सीसीटीभी युनिटले दुइटा बाइक र एउटा स्कुटर रारो बत्तीमा क्रस गरेको भन्यो। तर, तपाइँको बाइकको नम्बर कन्फर्म भएन।' 
- त्यसो भए म कसरी मानौं मैले गल्ती गरेको हो? 
- तपाइँले अब सीसीटीभी शाखामा गएर गल्ती हो/होइन कन्फर्म गर्नुपर्छ। मैले त्यसै छाड्न मिल्दैन। 
- के गर्नु त मैले? - मैले तपाइँको लाइसेन्सको फोटो खिचेर राखेको छु। गल्ती फुटेज हेरेरै कन्फर्म गर्नुपर्छ। भोलि बग्गीखाना जानुस्। २१ नम्बरमा जानुस्। 
यति भनेर उनले लाइसेन्स फिर्ता दिए। म कोठा आएँ। कस्तो झमेलामा परियो भनेर त्यो रात राम्रो निन्द्रा परेन। पहेँलो बत्ती बलेको एकैछिनमा रातो बल्छ, न गल्ती नै भएछ भन्ने लागिरह्यो। 

*** 
भोलिपल्ट बिहान ११ बजेतिर बग्गीखाना पुगेँ।

२१ नम्बर कोठा रहेछ ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई परामर्शको कक्षा दिने। त्यसको ढोका लागेको थियो। भित्र कक्षा चल्दै थियो। बाहिर हेल्प डेस्कमा आएँ, आफू आउनुको कारण बताएँ। हेल्प डेस्कका प्रहरीले ४ नम्बर कोठामा जान सुझाए। त्यहाँ गएँ। 

त्यो कोठा रहेछ सीसीटीभी मनिटरिङको। कम्प्युटरको मनिटरमा विभिन्न स्थानका सीसीटीभीका दृश्य चलिरहेका थिए। तर, त्यहाँ ३/४ जना केटाकेटी खेलिरहेका थिए। उनीहरु स्कुल ड्रेसमै थिए। स्कुल छिटो छुट्टी भएकाले आमा या बाबाको अफिस आएका होलान् भन्ने भनुमान गर्न गाह्रो परेन।

मैले खाली कुर्सी देखाएर एउटा बाबुलाई संकेत गरेँ - 'यहाँको ड्युटीवाल खोइ ?' उनले बाहिर गएको संकेत गरे। कोठामा रहेको खाली कुर्सीमा गएर बसेँ। उनीहरु आआफ्नै धुनमा थिए। केही बेरमा एकजना महिला प्रहरी आउनुभयो। बच्चाहरुलाई घर जाओ भनेर सम्झाउनुभयो। उनीहरुले आआफ्ना किताबका ब्याग समेटे। बाहिर निस्किए। 

अनि उहाँले मलाई सोध्नुभयो - तपाइँको के काम थियो? 
मैले हिजो आफूले पहेँलो बत्तीमा जेब्रा क्रस गरेको, ट्राफिक प्रहरीले 'रातोमा आउनुभएको हो' भनेको र यहाँ जान सुझाएको बताएँ। उहाँले भन्नुभयो - 'यहाँ तपाइँको काम छैन। ६ नम्बरमा जानुस्।' म उठेँ, त्यही हेल्प डेस्क गएर '६ नम्बर कता पर्छ?' भनेर सोधेँ। उत्तर पाएपछि उतै लागेँ।

त्यो रहेछ जरिवानाको रकम तिर्ने ठाउँ। लाम लागियो। केहीबेरमा पालो आयो, झ्याल भित्रबाट महिला ट्राफिक प्रहरीले सोधिन्- खै तपाइँको लाइसेन्स ल्याउनुस्।

मैले दिएँ। अनि आउनुको कारण पहेँलो बत्ती, जेब्रा क्रस र ट्राफिक प्रहरीको रातो बत्तीको दाबीको कहानी फेरि सुनाएँ। उनले लाइसेन्सको नम्बर हेर्दै कम्प्युटरको मनिटरमा हेरिन्, मलाई लाइसेन्स फिर्ता गरिन्।

- यो लिनुस्। लाइसेन्स लिनुस् 
- मैले जरिवाना तिर्नु नै पर्ने हो? कति हो?
- पर्दैन। छैन। तपाईले तिर्नु पर्दैन।
- किन नि? मलाई त यहीँ पठाएका हुन्।
- छैन। तपाइँलाई जरिवाना काटेको छैन।
- ए ! अब म के गर्नु ?
- घर जानुस्।

जरिवाना तिर्नुपर्ने ठाउँमा पुगेर पनि तिर्नु नपर्दा एक प्रकारले खुसी लाग्यो। अनाहकमा दुःख दिएकोमा ती ट्राफिक जवान सम्झेर रीस पनि उठ्यो। कता कसलाई के भन्ने ? पार्किङमा गए, मोसा स्टार्ट गरेँ, घर फर्किएँ। हिजोआज म त्यो ठाउँमा आइपुग्दा सतर्क हुन्छु। परै पहेँलो बत्ती बलिहाले रोकिन्छु। आखिर त्यो रोकिनुपर्ने संकेत हो।  

***
आफ्ना कुरा
  
यो २०८२ असार २३ को नोट हो। मैले लेखेर ब्लगको ड्राफ्टमा जतन गरेको रहेछु। ट्राफिक प्रहरीको बग्गीखाना अफिसबाट फर्केको शायद एक सातापछि लेखेको हो। कोठाका नम्बरमा म केही कन्फ्युज भएकाले पब्लिस गरेको थिइँन। 

यो समाचार होइन, त्यसैले कोठाका नम्बरहरु फरक परे पनि खास गाह्रो नपर्ला ठानेर सात महिनापछि पब्लिस गर्दैछु। यो कसैलाई देखाउन, होच्याउन, उडाउन लेखिएको होइन। यो एउटा हल्काफुल्का दैनिकी लेखन मात्रै हो। पढ्दा रमाइलो लागोस्, त्यस्तो त मलाई पनि परेको हो नि जस्तो लागोस् भनेर हो।

घटना भएकै हो, म बग्गीखाना गएकै हो। ती दिन सडकमा ट्राफिक प्रहरी सक्रिय थिए। काठमाडौंका कतिपय ठाउँमा लेन हेर्ने, बत्ती हेर्ने र उल्लंघनमा जरिवानाको चिट थमाउन ट्राफिक फुर्तिलो थियो।

गत भदौ २४ को घटनापछि धेरै ठाउँमा लाग्छ- 'ट्राफिक प्रहरीको सातो गएको छ।' काठमाडौंमा निकै कम ठाउँ यस्ता छन्, जहाँ ट्राफिक हतार हतार चिट काट्छन्। धेरै ठाउँ सवारीचालकले जथाभावी गर्दा पनि सडकमा ट्राफिक संयमित देखिन्छन्। हत्तपत्त चिट काटेको देखिँदैन। चालकहरुले नियम मिचेर जरिवानामा पर्नु ठिक होइन। सबैले आफैंले हेक्का राखेर नियम पालन गर्नुपर्छ।
***

 
*(चित्र गुगल जेमिनीले बनाइदिएको हो)
   

Thursday, August 7, 2025

नूरसँगको यात्रा -२



यात्रामा म फोटोग्राफी गरिरहेको थिएँ। पाहुनाका भन्दा सस्तो नै सही तर मसँग पनि डीएसएलआर क्यामरा थियो, फोटो एडिट गर्न र समाचार लेख्न एसरको एस्पायर वन भन्ने नोटबुक थियो। जहाँ पुगे पनि आफू काम गरिरहेको अखबारका लागि समाचार र फोटा पठाउने काम भइरहेको थियो। नौलो ठाउँ पुगिन्थ्यो। फोटोका विषय पनि नौलो हुन्थ्यो। छापिइ नै रहेको थियो। त्यसले मलाइ यात्रा उपयोगी भइरहेको भान थियो। 

म दुवैका लागि बाटो देखाउने र भाषा अनुवादकको काममा थिएँ। मेरो अंग्रेजी राम्रो थिएन, न मैथिली र भोजपुरी नै राम्रो थियो। तर, काम चलाउन गाह्रो पनि थिएन। कारण, पेप थोरै बोल्थे। उनको अंग्रेजी बुझिने नै थियो। रफिक उर्दु पनि बोल्थे। तर, कम कम। उनलाई अंग्रेजी नै सजिलो लागेको जस्तो बुझिन्थ्यो।

*** 

पूर्वपश्चिम राजमार्गको यात्रामा धनुषाको ढल्केवर र सिरहाको बन्दीपुर सम्झना छ ? कमला नदी पुल त सम्झना पक्कै हुनुपर्छ। हो, त्यो कमला पुलको केही वारि धनुषापट्टि राजमार्ग छाडेर दक्षिण लाग्ने ग्राभेल सडक। करिब ४/५ किलोमिटरको यात्रापछि रघुनाथपुर पुगिने रहेछ।


बाटो निकै खराब थियो। धेरै ठाउँ खाडलै खाडल। एउ ठाउँमा गाडी खाडल पार गर्न नस्कने भयो। चालकले भने, 'तपाइँहरु यहाँबाट हिँडेर जानुस्। म गाडी कुर्छु, यहीँ हुन्छु।' विकल्प थिएन। पैदल यात्रा गाह्रो थिएन। तर, साथीहरुको ट्राइपोर्ट, ब्याट्री लगायतका सामान वजनदार थिए। तैपनि तीन जनाले सक्नेजति बाँडेर बोकियो। हिँडियो। एकाध किलोमिटर अघि बढेपछि एउटा चिया पसलमा केही मान्छे गफिइरहेका भेटिए। 

हामी जसलाई भेट्न जाँदैथियौं उनको घर सोधियो, अलि परै रहेछ। एक जनाले सँगै गएर घरैसम्म लगिदिने भए। हामीलाई पनि राहत भयो। उनी अघि अघि लागे। हामी पछिपछि। बाटो छाडेर गोरेटो र खेतका आली गर्दै त्यो घरमा पुगियो।  

नेपालमा जहाँ पुगे पनि नेपाली भाषा बोले सबैले बुझ्छन्, सञ्चार-संवाद सहज छ भन्ने मेरो भ्रम त्यहाँ पुग्दा तोडियो। कारण, कुरा गर्न मैथिली नै बोल्नुपर्ने रहेछ। 

हामी एक जना महिलासँग संवाद गर्न खोजिरहेका थियौं, जसलाई फिस्टुलाको समस्या थियो। उनले निकै कष्ट खेपेकी थिइन। उनको नाउँ सोध्दै, घर खोज्दै पुगियो। तर, अपरिचित पुरुषहरुसँग बोल्न उनले निकै अप्ठ्यारो मानिन। सुरुमा त बोल्नै पनि मानिनन्।

तर, हामीलाई त्यो गाउँमा स्थानीय जनप्रतिनिधिले उनको घर देखाइदिएका थिए। उनी गाउँका गन्यमान्य रहेछन्, अभिभावक मानिने। उनले भने गाउँलेले  शिरोपर गर्ने बुझियो। अनि उनैलाई मैले सिफारिसको आग्रह गरेँ। उनले ती महिलालाई सम्झाइदिए।

***
हामीले उनीसँग अडियो-भिडियो र फोटो कुराकानी गर्‍यौं। अँध्यारो भइसकेकाले फोटो/भिडियो खिच्न एक्स्ट्रा लाइट प्रयोग गर्नु पर्‍यो। 

संवाद सुरुवातका करिब १० मिनेट उनले कुरा गर्न धक मानेको देखियो। त्यसपछि बिस्तारै भन्दै गइन। उनको माइती कमला पारि सिरहामा तटीय क्षेत्रको एउटा गाउँमा थियो। १७ वर्षकै उमेरमा विवाह कमला पारिको छिमेकी गाउँमा भएको थियो। माइती र घर वारिपारि आउजाउका लागि खोला तर्न डुंगा चल्थ्यो। 

श्रीमान सामान्य मजदुर। घरको आर्थिक अवस्था राम्रो थिएन। दम्पती नै अर्काको खेतमा काम गर्थे। एउटा गर्भ खेर गएपछि उनलाई मलमुत्र नअडिने समस्या जब आयो, निकै सास्ती पाइन। त्यो समस्या गाउँमा कसैलाई भन्न मिल्ने पनि थिएन। भनिहालियो भने नानाथरी कुरा काटिने, अपहेलित भइने डर थियो। माइती गएका बेला त्यहाँको स्वास्थ्य चौकीमा पुगिन्। डाक्टरलाई समस्या बताइन। डाक्टरले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सल्लाह दिए।

उनले धरानसम्मको यात्रा कसरी गरिन् भन्ने कथा फेरि छुट्टै लामो थियो। सुरुमा त आफ्नो समस्या श्रीमानलाई भन्नै गाह्रो परेको थियो। आफ्नो बिमारी बताउँदा श्रीमानले 'अब घर आउनुपर्दैन, माइतीमै बस्नु, म अर्की ल्याउँछु' भन्ने सम्भावना उच्च थियो। किनभने गाउँको वातावरण त्यस्तै थियो।

धेरै संघर्षका दिनपछि उनका लागि धरानको यात्रा मात्रै सम्भव भएन, उपचार पनि भयो। हामीले भेट्दा उनी निको भएकी थिइन। उनले आफ्नो भाषामा हामीलाई सकसका दिनको भोगाइन सुनाइन। बेला बेला आँसु झार्दै ती दिन सम्झेर नमिठो मानिन।

*** 
एउटा प्रश्नमा उनले दिने जवाफ सकिँदा मैले अनुवाद गरेर क्यामराधारी दुई मनुवालाई बुझाइरहेको थिएँ। उनी मैथिलीमा भन्थिन्, म नेपालीमा बुझ्थेँ र ब्रोकेन अंग्रेजीमा उनीहरुलाई बुझाउँथेँ। उनीहरु - 'ओह ! यस यस... द्‍यान, द्‍यान... ओह गड' भनिरहेका हुन्थे। 

हाम्रो संवाद करिब २ घण्टा चल्यो। सकिएपछि हामीले उनी, उनको परिवार र हामीलाई बाटो देखाउने स्थानीय अगुवालाई धन्यवाद दियौं। उनीहरुको आतिथ्य भाव निकै प्रभावित पार्ने खालको थियो। 

'राति यात्रा गाह्रो हुन सक्ला, हाम्रै गाउँमा रोकिनुस्। तपाइँहरुलाई बासको प्रबन्ध गर्छौं,' स्थानीय अगुवाले भने। दुवै पाहुनालाई रोकिनु थिएन। किनभने उनीहरु यात्रामा कहाँ कहिले कति बजेदेखि कति बजेसम्म रहने र कहाँ के गर्ने भन्ने सूची बनाएर आएका थिए। उक्त तालिका अनुसार भोलि बिहानै धरानमा अर्का एक जनालाई भैट्नु थियो।

आग्रहका लागि आभार प्रकट गरेर हामी बिदा भयौं। 

***
फर्किँदा रफिकीले भने, 'कहीँ नुक्कडवाली चाय मिलेगा ?'
मैले भनेँ - 'क्यों नहीँ, चिनी कम दूध ज्यादा, पानी कम रङ ज्यादा?'
- हाँ हाँ
- चलो आगे कहीँ मिलेगी जरुर । वहीँ रुक के चाय पिके आगे बढेंगे।
-जरुर जरुर
उनको मातृभाषा उर्दु थियो। मलाइ पनि संवाद सजिलो। केही अगाडि उही चिया पसल थियो, जहाँबाट हामीले बाटो देखाउनेको साथ पाएका थियौं। रोकियौं र दुई ँजनाले भनेजस्तो चिया पियौं। पेपले चिया खाएनन्।

चिया खाएपछि हामी गाडी भएको ठाउँमा आयौं। बेलुकीको करिब ९ बजेको थियो। चारैतिर घुप्प अँध्यारो। आकाश खुल्ला थियो। चालकले गाडी राजमार्गमा ल्याएपछि हामीलाई धरान पुगुन्जेल कतै रोकिनु थिएन। हेर्दै आइयो। 
  
***
अगाडिका प्रसंग फेरि अर्को किस्तामा लेखौंला। अहिलेलाई यति नै । 

***
 11/28/2014 को लेखोट पढेर जुगपछि ती दिन मगजमा ताजा भए। सम्झेर 8/7/2025 मा ती गन्थनमा थपथाप । 

Monday, September 13, 2021

ट्याक्सी

अस्पतालबाट डेराको यात्रा आज जसोतसो प्रबन्ध भयो ।  हामीहरु केही कुराको प्रतीक्षा गर्छौ ।  प्राप्तिसँगै पट्यारलाग्दो त्यो प्रतीक्षाको समयलाई बिर्सन्छौं । आज त्यसैगरी नबिर्सन ब्लगमा लेखिराखेको । कोठामा आइसकेपछि लागेको के हो भने यस्तो त अरुलाई पनि पर्छ। ट्याक्सी कसरी व्यवस्थापन हुँदो होला ?

गत साता श्रीमती र छोरालाई कोभिड-१९ को संक्रमण भयो । छोरालाई खासै शारीरिक समस्या देखिएन,
श्रीमतीलाई भने यो रोगले निकै दु:ख दियो । भएको के थियो भने उनी एउटा विवाह समारोहबाट स्कुटर कोठा फर्किँदा वर्षामा भिजेकी थिइन । ज्वरो आयो, रुघा लाग्यो । हामीले ठान्यौं -भिजेका कारणले हुनुपर्छ। ३/४ दिनसम्म पनि सञ्चो नभएपछि हामीले कोभिड पनि हुनसक्ने शंका गर्दै घरमा सतर्कता अपनायौं। निको नहुनु, ज्वरो र रुघाखोकी लम्बिनु, जिउ दुख्नु, खान मन नलाग्नु आदि लक्षण हाम्रा परम्परागत मौसमी रुघामर्कीका हुन् भन्ने सुनिआएको हो । तैपनि  एकपटक कोभिड टेस्ट गरि हेरौं भन्ने सल्लाह गरियो । 

अघिल्लो आइतबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गराउन पुग्यौं । एक्सरे पनि गरायौं । पीसीआरको रिपोर्ट बेलुकी ८ बजे एसएमएसमा आयो - कोरोना पोजिटिभ । त्यही रात छोरालाई पनि ज्वरो आयो । मैले भोलिपल्ट उसलाई अस्पताल पुर्‍याएँ । उसको पनि रिपोर्ट पोजिटिभ।

छोरालाई जँचाउन जाँदा मैले श्रीमतीजीको एक्सरे रिपोर्ट लिएँ, ओपीडीमा देखाएँ । डाक्टरले उनलाई निमोनियाका सामान्य लक्षण सुरु भएको संकेत गरे । भने 'फोक्सोमा सेता दाग देखिन थालेका छन्। लेखेको औषधि खुवाउनुस् । झोल पदार्थमा बल गर्नुस् । आत्तिनु पर्दैन।'

मंगलबार श्रीमतीजीको अक्सिजन लेवल घट्यो । अक्सिमिटरले सामान्य अवस्थामा हाम्रो शरीरमा अक्सिजनको मात्रा ९४ देखि ९७ सम्म देखाउने रहेछ । उनको ९३ देखायो । खोकी बढ्यो । दमको समस्या भए जसरी सास फेर्न थालेपछि मैले उनलाई पीसीआर गरेकै अस्पतालको आकस्मिक कक्ष पुर्‍याएँ । तर त्यहाँ त्यतिबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले 'अवस्था गम्भीर होइन, घर जानुस्' भने । ५/६ मिनेट पैदल हिड्न लगाएर अक्सिजनको मात्रा जाँच्दा मेसिनले ९५ देखाएपछि उनीहरुले खोकी कम गर्ने औषधि लेखिदिएर पठाएका थिए । भनेका थिए - 'अक्सिजनको मात्रा ९० भन्दा तल गयो भने आउनुस् । हामी गम्भीर बिरामी हेर्छौ। उहाँको अवस्था गम्भीर छैन ।' डाक्टरका कुरा प्रतिवाद गर्न भएन । तर श्रीमतीजीलाई गाह्रो भइरहेको थियो। तैपनि हामीलाई लाग्यो - डाक्टरले भनेको मान्नु ठीक । औषधि लैजाउँ, कसो बिसेक नहोला ।

बिसेक भएन । अक्सिजन लेवल ८५ मा झरेपछि बिहीबार सवेरै हामी फेरि त्यहीँ पुग्यौं । यसपटक स्वास्थ्यकर्मीले सतर्कतासाथ उपचार सुरु गरे । अक्सिजन सपोर्टमा राखियो । छातीको एक्सरे, रगत र पिसाब जाँच गर्न लगाए । निमोनिया निकै बढिसकेको थियो । अस्पतालमै भर्ना गरेर उपचार सुरु भयो ।

कोभिड जनरल वार्डमा  चार रात, पाँच दिन बिते । कसरी कसरी र त्यसबेला केके देखिए भन्ने पछि अर्को गफ गरौंला । मलाइ यतिबेला ट्याक्सीका कुरा लेख्नु छ ।

***

हिजो नै डाक्टरले 'घर लैजानुस्, अब आत्तिनु पर्दैन' भनेका थिए ।  जब जब अक्सिजनको पाइप झिक्यो, खोकी बढ्न थालिहाल्ने अवस्था कम भएको थियो । तर फेरि जोखिम कसरी लिने ? हामीले एक रात बिना अक्सिजन सपोर्ट अस्पतालमै बस्ने, अवस्था बिग्रिएन भने मात्रै  डिस्चार्ज लिने निर्णय गर्‍यौं ।

आज डिस्चार्ज लिइयो । दिनको करिब १ बजे डिस्चार्ज पेपर तयार भएपछि म ट्याक्सी खोज्न थालेँ । सुरुमा आफ्नो डेरा छेवैका एकजना गुरुजीलाई फोन गरेँ, जसले अघिल्लोपटक अस्पताल ल्याइदिएका थिए । उनले यतिबेला काँडाघारीतिर रहेकाले नभ्याउने अवस्था रहेको सुनाए । अस्पताल आएका धेरैजसो ट्याक्सीहरुलाई सोधेँ,  उनीहरु जसलाई लिएर आएका थिए, उनीहरुलाई नै लिएर फर्किने भेटिए । खाली भेटिएका २/३ वटाले बिरामी नबोक्ने जवाफ दिए । 

*** 

कोरोनासँग डराउनु पर्छ, सही हो । सतर्कता अपनाउनै पर्छ भन्नेमा दुबिधा पटक्कै राख्न हुँदैन । तर मैले घर लैजान लागेको व्यक्तिलाई संक्रमणको लक्षण देखिएको १४ दिन पुगिसकेको थियो । अस्पतालले 'घर लानू' भनिसकेपछि बिरामीको अवस्था अब रोग सार्ने थिएन ।  तर ट्याक्सी मानेनन् ।

निको भएकालाई एम्बुलेन्समा लैजाने कुरा पनि भएन । 'पठाओ' को सम्झना भयो । मोबाइल एपमा त्यसबाट ट्याक्सी खोजेँ । तुरुन्तै पाइयो । अर्डर कन्फर्म गर्नुअघि पठाओले कोभिड संक्रमित हो/होन पनि सोध्दो रहेछ । हामी संक्रमणमुक्त थियौं । त्यही अप्सन छनोट गरियो ।  हामीलाई लैजाने चालक र गाडी नम्बर देखायो । ट्याक्सी आउनेमा ढुक्क भयो । भाडा ३६९ रुपैयाँ पनि देखाएपछि अघिल्लोपटक आउँदाको भाडासँग तुलना गरेँ । महंगो होइन ।

बिरामी र पोको पारेका झोलाहरु  बाहिर निकालियो । वार्डबाट बाहिर आएर आकस्मिक कक्ष छेउ झोला बिसाएर ट्याक्सीको प्रतीक्षा थालियो । अचानक मोबाइलमा पठाओको एपले म्यासेज देखायो - 'राइडर ह्याज क्यान्सिल ।' (चालक जान मानेनन्)

*** 

अब फेरि अघिकै अप्सन ट्राइ गर्नुको विकल्प रहेन । म अस्पतालको गल्ली छाडेर त्रिपुरेश्वर-कालीमाटी मूल सडकमा आएँ । अस्पतालले डिस्चार्ज गरेको बिरामी बोक्छु भन्ने ट्याक्सी खोज्न निकैबेर लाग्यो । बल्ल बल्ल एउटा ट्याक्सी सहमत भयो । तर चालकले कोरोना सर्ने अवस्था हो/होइन भन्नेमा निकै केरकार गरे । 

जे होस् उनले गुँडमा पुर्‍याइदिए । फर्केपछि सोच्दैछु- कोरोनाले सबैतिर गाँजेको छ । जुनसुकै अस्पतालमा बिरामी बग्रेल्ती छन् । ट्याक्सी नपाइने समस्या अरुतिर पनि होला की नहोला ?

Thursday, August 26, 2021

के हामी आफूलाई चिन्छौं ?


 

अब मैले छाडेँ साधु गुरु र गोपाल दासको प्रवचन् सुन्न । सजिलो छ, हातमा मोबाइल, घर र अफिसमा कम्प्युटर । युट्युब खोल्यो, सुन्यो । 

यो संसार बडा अनौठो छ, इन्टरनेटले जे खोज्न, पढ्न वा हेर्न खोज्यो, तिनका लिंक सजिलै बताउँछ। खोज्न, हेर्न सजिलो पारेको छ। 

साधु गुरु बडा अच्छा कुरा गर्छन् । गुरु गोपाल दासका कुरा पनि रमाइला । यसो यसो गरे जीवन सफल हुन्छ । यसो यसो गर्न हुँदैन । हामी के गर्दैछौं, किन र कसरी ? खासमा हाम्रो बुझाइ साँघुरो छ, त्यसको दायरा बढाउनु पर्छ । जीवन चलाउन पैसा चाहिन्छ । यसो गरे पैसा पाइन्छ । पैसा भए मात्रै जीवन सफल हुँदैन । हाम्रा सुख, हर्ष-विस्मात यसकारण हुन्छन् । 

ओहो ! तिनका कुरामा के छैन ? सबैथोक छ । सुन्न आनन्द, सुनाउन झन् आनन्द ।

एपिसोडपिच्छे उनीहरुलाई सुनिरहँदा एकदिन लाग्यो- यिनीहरु किन राम्रा कुरा मात्रै गर्छन् ? किन मान्छेका बानी सपार्ने, राम्रो जीवन जिउने सूत्र बताउँछन् ? अनि फेरि लाग्यो- जसले जे काम गरिरहन्छ, उ पोख्त हुन्छ। राम्रो गर्छ । नियमित प्रवचन दिइरहने कोही पनि कटु बोल्दैनन्, नमिठो बोल्दैनन् । यो सही हो, उनीहरु कामै प्रवचन् दिने गर्छन्- अनि नगरुन् त रसिला कुरा !

साधु गुरु यतिबेला हुम्लातिर मानसरोवर हेर्न गएका रैछन् । समाचार पढ्न पाइयो । ती भीआइपी साधु हुन् । उनलाई केही कमी छैन । घुम्न-खान, आनन्दले निदाउन पुग्यो भने मान्छेले दु:खका कुरा गर्दैन । किनभने जे व्यहोर्नु पर्दैन, त्यसबारे सोचेर-बोलेर किन टाउको दुखाउने ! 

एउटा कुनै परिकार बनाइरहनेले छिटो र मिठो बनाउँछ । धेरै तरिकाबाट बनाउन जान्दछ, जो एकाधपटक मात्रै अभ्यास गरेकाको ल्याकतको कुरा हुँदै होइन । उसको रेसिपीको हामी तारिफ गरौं तर बिर्सन नहुने के हो भने उ त्यही गर्छ, राम्रो गर्दैन भने किन पो गरिरहन्थ्यो ।   

युट्युबका भिडियोमा बेला बेला  विज्ञापन दौडन्छन् । अँ साँच्चै भिडियोले पैसा दिन्छन् । जति धैरैले हेरेको छ, त्यसको गणना हुन्छ। यो छुट्टै कुरा हो की हजारौं, लाखौं भिडियोमा भ्युअर कसका कति होलान् । तर मानिसलाई जीवन सफल बनाउनु छ । खुसी र सुखी भएर बाँच्नु छ । सबै खालका कन्टेन्टका खास खालका दर्शक छन् । त्यसैले युट्युबमा अपलोडर धैरै खालका छन् । 

साधुहरु प्रवचनबाट कमाउँछन्- अनुयायी, स्रोता-दर्शक र पैसा ।  हामी के कमाउँछौं ? ज्ञान त्यसै पाइन्छ भन्नुहोला । यो पनि सही हो । तर हामीले हाम्रो समय गुमाएका छौं । थोर थोरै सही, पैसा पनि गुमाएका छौं ।

अनि यसपछि यिनीहरुका प्रवचनमाथिको मेरो मोह भंग भयो । मैले सुन्न छाडेँ। त्यसै पनि मलाइ धेरै अघिदेखि लाग्दै आएको हो- मननीय भनाइहरु भित्तामा कोरिएको सुन्दर देखिन्छ, मान्छेले अनुसरण गर्दैनन् । जसले गर्छु भन्छ, ढाँट्छ । यो कोरोना महामारीको त्रासको समय हो । सिनेमाघर बन्द छन् । भेला-जमघट विरलै मात्र छन् । हामी ले भेला हुन बिर्सनु परेको छ।  हाम्रो दिनचर्या बिथोलिएको छ । बिथोलिनुलाई नै हामीले रुटिन बनाएर सामान्यीकरणको प्रयास जारी राखेका छौं । आफैंलाई लगाउन मन पर्दैन तर अरुलाई सोध्छौं- तपाइँको मास्क खोइ ?  

परामर्श मनोविज्ञानको कक्षामा अस्ति सरले भन्नुभो- 'मान्छेले अरु कस्तो छ भन्ने फरर भनिदिन्छ । आफू कस्तो हुँ भन्ने जानेकै हुँदैन। आफूलाई जान्न खोज्नेहरु अरुका विषयमा कम बोल्छन् । धैरै सुन्छन् ।' यो मलाइ प्रवचनकै अंश जस्तो लाग्यो । हो पनि । 

हरेकलाई अरुका बारेमा चासो छ । को के गर्छ, किन गर्छ, बानीबेहोरा कस्तो ? अनि यहाँ सकारात्मक कम, नकारात्मक कुरामा बढी चासो हुन्छ । समाज  किन यस्तो हुन्छ ? हामी किन त्यस्तो हुन्छौं ? विचार गर्नुपर्ने थुप्रै कुरा छन् ।  कोही किन त्यस्तो छ ? तपाइ-हामीले व्यहोर्नु वा कुनै किसिमको सम्बन्ध-सम्पर्क गर्नु छैन भने 'नजाने गाउँको बाटो नसोध्नू' लाई अनुसरण गर्नुपर्ने हो । त्यो हुन सक्छ । 

तर हामीलाई आफ्नो बानी थाहा हुन्छ । हामीलाई के र कस्ता अवस्थाले खुसी, दु:खी र आवेशमा ल्याउँछ भन्ने पनि हेक्का हुन्छ । ज्ञान दिन बडा सजिलो छ । हिन्दी फिल्म 'सिंघम' मा एउटा डाइलग छ, थानामा आएको भिलेनको चम्चालाई भकुरेर हिरासतमा थुनेपछि 'छाडि दे' भन्न आएको डीएसपीलाई इन्सपेक्टर अजय देवगनले भनेको -' मेरी जरुरतें कम है, इसलिए मेरी जमीर मे दम है ।' 

सिनेमाको कथा समाजबाटै टिप्ने हो । अनि संवाद लेख्ने पनि स्वाभाविक लाग्ने नै हुन्छन् । त्यो हो त सिनेमाको डाइलग , मलाइ यसलाई धेरै कोणबाट व्याख्या गर्न सकिन्छ । मान्छेलाई आवश्यकताले दौडाउँछ । मेहनत गराउँछ । हाम्रा आवश्यकता जति कम हुन्छन्, तनाव पनि कम हुन्छ । 

हाम्रा आवश्यकताहरुको पनि प्रकारलाई वर्गीकरण गर्नुपर्छ । भान्सालाई सामान चाहियो भने किराना पसल र डिपार्टमेन्टल स्टोरमध्ये कहाँ जानु हुन्छ ? किरानामा गए केके चाहिन्छ, त्यही त्यही ल्याइन्छ । डिपार्टमेन्टल स्टोरमा पसे चाहिने त ल्याइन्छ तर साथमा नल्याउँदा हुने सामान पनि बोकिन्छ । कारण जुन ढोकाबाट हामी पस्छौं, त्यहाँ हामीलाई नबोक्दा पनि हुने सामान बडो गज्जपले सजिएर आकर्षित गरिरहेका देखिन्छन् । 

त्यसैले  हाम्रा आवश्यकता बानीमा धेरै निर्भर गर्छन् । के चाहिन्छ, किन चाहिन्छ, के हामी त्यही मात्रै गर्छौ जे आवश्यक हो ?   

मनोविज्ञानले भन्ने गरेको मान्छेका दुई गुण बारे मैले धेरै अघि पनि लेखेको छु- जन्मजात र अर्जित । आवश्यकताहरु मात्रै होइन गुण, बानीबेहोराले हामीलाई खर्च गर्न सजिलो-अप्ठ्यारो पार्छ ।  हामीलाई आफ्ना बानी असल छैनन् भन्ने अन्त मनबाट थाहा हुन्छ । अलिकति आडम्बर, अलिकति बनिसकेको इमेजमा अरुले के ठान्लान् भनेर कमसल बानीलाई असल भन्ने वकालत हामी छाड्दैनौं । 

समय यस्तो छ की मान्छे आफ्नो क्षमता, पौरखलाई माझ्नुभन्दा अरुको खोट देखाउँदा आफ्नो जय हुन्छ भन्ने ठान्छ । हरेकलाई अरुमा कमजोरी मात्रै देखाउनु छ । कसैका प्रशंसा गरिहाले पनि वक्ता चाहन्छ- त्यो प्रशंसा पाउनेले म प्रति अनुगृहित हुनुपर्छ, मलाइ मान्नुपर्छ ।  

मनोविज्ञानको कक्षा आफूलाई चिनाउँछ । आफैंप्रति सशंकित पनि बनाउँछ । आफूलाई सामान्य बनाएर समाज र असमान्यतालाई हेर्न सिकाउँछ । अभ्यास जारी छ ।

दुइटा होमवर्क पेन्डिङ छन् । लेख्ने बानी बनाउनु छ । रमाइला कुरा फेरि फेरि ब्लगमा जतन गरम्ला ।

अरू पछि लेखौंला ...

Wednesday, January 13, 2021

एटीएम

हिजो राति एक जनाले अनलाइनमा रिवल्विङ चियर सेलमा राखेका थिए। कुर्सीको फोटो हेर्दा दाम अलि अपत्यारिलो तरिकाको सस्तो लाग्यो। बजारमा पाइनेमा आधाभन्दा पनि सस्तो। 

च्याटमा सोधेँ - तपाइँले भनेकै दाम हो ?

धेरैबेर उत्तर आएन । उनले टाइप गरेको जस्तो संकेत बुझिन्थ्यो, निकैबेर उत्तर भने आएन। मलाइ लाग्यो उताको मान्छेलाई मोबाइलमा टाइप गरेर जबाफ दिन गाह्रो परेको हुनुपर्छ। अनि लेखेँ- तपाइँको नम्बर दिनुस् ।

उनले दिएको नम्बरमा कुराकानी भयो । उनले पाइने ठेगाना बताए।

आज छोरालाई मोसामा पछाडि राखेर म कुर्सी किन्न जाने भएँ। राम्रो पाए अरु साथीहरूका लागि पनि लिइदिने गरी। 

बैंक पुगेँ। कार्ड छिराएपछि एटीएममा सूचना देखियो - 'तपाइँले सीमाभन्दा बढी कारोबार गरेकाले अब पैसा दिन सक्दिन।'

जिन्नगीमा कैल्यै नदेखेको सूचना ! 

बाहिर निस्केँ । गार्डलाई सोधेँ - बैंकले खातामा होल्ड गर्ने पैसाको अंक बढाएको हो ? मलाइ त सीमा नाघ्यो भन्छ एटीएम !

गार्ड- सीमा ५ लाखको हो। तपाइँले एक महिनामा त्यति झिकिसक्नु भो होला।

म - छैन। कहाँ झिक्नु त्यति ? 

गार्ड -  भित्र स्टाफलाई सोध्नुस्।

बैंक पसेँ। सामाजिक दुरीको लफडाले बैंकभित्र तीन हात परै रोकियो। परैबाट महिला कर्मचारीलाई भनेँ - मलाई एटीएमले सीमा नाघ्यो भन्यो। खातामा कतिसम्म राखेर एटीएमले पैसा दिन्छ ?

उनी बडो रुखो पारामा बोलिन् - ५ लाख झिकिसक्नु भो होला। त्यो भन्दा बढी एक महिनामा निकाल्न मिल्दैन एटीएमबाट।

म- मैले झिकेको छैन। अनि मिनिमम ब्यालेन्स कति हुनुपर्छ ?

बैंक कर्मचारी - ५ सय राखेर बाँकी निकाल्न मिल्छ ?

म - मैले सीमा नाघ्ने झिकेकै छैन। अनि मेरो कार्डमा किन एटीएमले त्यसो भनेको ? चेक गर्दिनु हुन्छ ? 

बैंक कर्मचारीले रिसाएको पारामा हेर्नुभो, रिप्लाउनु भएन।

उहाँको मुद्रा देखेर फेरि सोध्न मन लागेन।

बाहिर निस्कँदै गर्दा देखियो, भित्रबाट प्राविधिकहरूले त्यो एटीएम खोलखाल पर्दै रहेछन्। अनि भित्रको गार्डलाई सोधेँ - के हुँदै हो?

उनी बोले - एटीएमले काम गरिरहेको छैन। मर्मत चल्दैछ।

काम त गर्दै थियो, त्यो सूचना दिने ! कारण त्यस्तो रहेछ।

अनि दुई किमि पर्तिरको एटीएम पुगियो। त्यसले अघिल्लो जस्तो सूचना देखाएन।    

Wednesday, November 4, 2020

निन्द्रा, निन्द्रा अनि निन्द्रा


आज लकडाउनको आज १८ औं दिन ।

बीचमा केही दिन काम गरियो, एक साता काम बन्द भएर फेरि सुरु भयो । दैनिकीले अफिस आउँदा-जाँदाकै दिन जस्तो लय पक्रेको छ । राति करिब साढे १२ मा सुत्ने र ८ बजे उठ्ने । फ्रेस हुने, चिया पिउने, पत्रिका हेर्ने, केहीबेर इमेल र अखबारी साइट हेर्ने । फरक यतिमात्रै छ- यतिका दिनदेखि आँगनमा उभ्याएको मोसा चढ्नु पर्दैन, अफिस टेक्नु पर्दैन ।  ४ बजेदेखि ल्यापटप खोल्यो, काम थाल्यो, भिडियो च्याटमा हाजिरी जनायो । समूहमा छलफल गर्दै काम गर्‍यो।

यतिबेला पढ्न-सुन्न खुब मज्जा लाग्ने शब्द हो- वर्क फ्रम होम । बन्दाबन्दी (लकडाउन) मा बन्दाबन्दी नहुने भनेको मान्छेको भुँडी हो । यसले खाना माग्छ, टाइम टु टाइम मागिरहन्छ । हामीले माग पूरा गरिरहनु पर्छ । खासमा मान्छेलाई सक्रिय बनाउने भनेकै त्यसले हो जस्तो लाग्छ, अरू खाले लोभ, लालसा र रहरलाई मान्छेले केही कुरामा मन बुझाएर 'भैगो अहिलेलाई' भन्दा हुन्छ तर, खान पाएन भने इञ्जिन चल्दैन । भुँडीको माग हाम्रो बाध्यता ।

त्यसपछि जिब्रो छ, जसले हामीलाई अझ बढी सक्रिय हुनैपर्ने जनाउ दिन्छ । सजिलो पच्ने मिठो-नमिठो जे होस्, फर्माइसी कार्यक्रम जिब्रोले चलाउँछ । भुँडीभन्दा जिब्रोले महंगोमा पार्छ ।

***

पोखरा रहँदा म अफिसमा ११ बजे पसेँ भने बेलुकी ९ बजे निस्केका दिन पनि थिए । त्यस बीचमा कतै सहकर्मीले भ्याएनन् भने कुनै समाचारका लागि फिल्ड रिपोर्टिङमा जाने, अफिस आएर टाइप गरेर समाचार र ल्याएका फोटा मेल गर्ने गर्थेँ । धेरै थाकेका अनुभव भएको दिन लाग्थ्यो- एक साताको बिदा लिन्छु, कतै जान्न दिनभर सुत्छु । खान्छु-सुत्छु । तर त्यसो गर्न सकिएन ।

जुन दिन धेरै खटाइ परेको हुन्थ्यो, त्यही बेलुकी १० बजेपछि डेस्कका साथीहरूको फोन आउँथ्यो- 'त्यो तपाइँले प्रदेशको मेन न्युज भनेको म्याटर हामीले अगाडिका पेजमा तान्यौं, अब खाली ठाउँ भर्ने चिज छिटो दिनुस् ।' ल्यापटप खोल्यो, अनि जे बाँकी छ र, उपयुक्त जस्तो लाग्छ, छाक टार्न त्यही पठाइदियो । हत्ते नै हुने ।
कहिलेकाही सुत्छु, एक साता सुत्छु भन्ने बिचार आए पनि कहिल्यै कार्यान्वयन गर्न सकिएन । हामीलाई सरदर ८ घण्टाले निन्द्रा पुग्छ । तर सुत्न पाइयो भने १२ घण्टा नै सुते पनि निन्द्रा पुगेजस्तो लाग्दैन ।

***

बन्दाबन्दीले हाम्रो नियमित दैनिकी बिथोलेको थियो । अब बिथोलिएर बनेको रुटिन नै सामान्य जस्तो लाग्न थालिसकेको छ । फेसबुक र ट्वीटर खोल्यो, थरी थरीका प्रतिभा देख्न मिलेको छ । आफ्नो दिक्दारी हटाउन धेरैले अनेक अनेक उपाय निकालेका छन् ।

मान्छेका घर, परिवार, खान्की, गाना बजाना, कथा कवितामा प्रतिभा सबै बन्दाबन्दीले देखाएको छ । साथी बनेदेखि कहिल्यै कुनै पोस्टमा 'लाइक' र कमेन्ट' गर्न नभ्याउने अति व्यस्त मनुवाहरू पनि च्याटमा प्रकट हुन्छन्, म्यासेन्जरमा भिडियो कुराकानी गर्न आउँछन् । कसैले रूचि दिउन् नदिउन्, आफूलाई घत परेका भिडियो सेयर गरिरहेका छन् । मान्छेका फुर्सद हेर्दा लाग्छ, लकडाउनलाई पर्व मानिएको छ ।

***
ब्लग लेख्दा लेख्दै कोरोना भाइरस गणनाको साइटले संसारभर संक्रमित १७ लाख ३ सय ७८ जना, मृत्यु १ लाख २ हजार ७ सय ५५ र उपचारपछि निको भएकाको संख्या ३ लाख ७६ हजार ५ सय ४८ देखाइरहेको छ । संक्रमण प्रसार हुन नदिन बन्दाबन्दी उपयुक्त उपाय त भनिएको छ, तर यस्तो अवस्था कहिलेसम्म चल्छ भन्ने टुंगो छैन ।

किनेर खानसक्ने क्षमता नभएकालाई स्थानीय तहले सहयोग गर्न थालेको समाचार हामी छापिरहेका छौं । तर  यतिबेला किनेर खानसक्ने भनिएका गरिखाने वर्गलाई पनि मर्का त परेकै छ । असर दूरगामी छ भन्दैमा कामधन्दा छाडेर बौलाउन सकिन्न । लकडाउन खुले पनि संक्रमणको त्रास कम हुनेमा ढुक्क कसरी हुने होला ?

***
हिजो म दिउँसो पनि ४ घण्टा सुतेँ । राति पनि निन्द्रा आयो । यतिबेला पनि सुतौं जस्तो भइरहेको छ । म साताव्यापी सुत्ने चाहना पूरा गर्ने अवस्थामा त पुगेको होइन ? के भएको हो ? जस्तो पनि लागिरहेको छ । धेरै निन्द्रा लाग्नु पनि लक्षण पक्कै नराम्रो हो । तर मेरो ब्लड प्रेसर १२०/८० नै छ । तौल ७३ बाट बढेको छैन ।

 'लकडाउन उपयोग गरेर सिर्जना कर्ममा जुटेका छौं, रचना गरिरहेका छौं' भनेर लेख्ने र आफ्ना सिर्जना सामाजिक सञ्जालमा पस्कनेहरू महान लागिरहेका छन् । कसरी संयमित हुन सकेका होलान् ?

अँ वर्क फर्म होमका पनि केही गन्थन गरौं ।

लकडाउनपछि म गुँड बाहिर निस्केको छैन । धेरैपटक इन्टरनेटको लाइन अवरुद्ध भइरहन्छ । आइएसपीलाई फोन गर्‍यो, चल्छ । अनि फेरि बेला बेला बिग्रन्छ । ल्यापटप पनि छक्क परेरै होला- धेरैपटक ह्याङ भएर दुःख दिन थालेको छ । कहिलेकाही २/३ सातासम्म म खोल्दिनथेँ । बरू लाग्थ्थो - मोसाले सराप्दो हो । भन्दो हो -'आफू चाहिँ साताको एक दिन बिदा बस्छ, तर, मलाइ बिदाका दिन पनि चलाउन छाड्दैन ।' आनन्द त यो छ की मोसा बोल्दैन । ल्यापटप ह्याङ भइदिएर यस्तै दिक्दारी बोलेको हो की !

***
हामीलाई बितेको समय सम्झन मन पर्छ । गाउँठाउँ, घुमघाम, नातासम्बन्ध । तर, आनन्द लाग्ने समय हामीले अहिले बिताइरहेको नै हो ।

(४/११/२०२० मा राति २ः११ बजे लेखेको यो गन्थन ब्लगको ड्राफ्टमा जतनसाथ रहेछ। अहिले डिस्प्लेमा एक्टिभ गरेको हो। कोरोनाजी गएदेखि हामीले उहाँलाई बिर्सियौं, ती समय सन्दर्भ पनि विस्मृतिमा पुगे। )  

Tuesday, March 31, 2020

लकडाउन छटपटी




एकताका लाग्थ्यो, ब्लगमा ती कुरा लेख्छु, जो खबरी कुराभन्दा भिन्न हुनेछन् । तर त्यो क्रमलाई निरन्तरता दिन सकिएन । आज फेरि यौटा लेख पढेर दिक्क लागेका बेला केही लेख्न मन लाग्यो ।
 
गत बिहीबार बेलुकी हामीले घर-घरबाटै अखबारका लागि काम गरेका थियौं । मैले काम गर्ने अखबारको शुक्रबारको अंकमा सूचना थियो- 'कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन् ।'

यति लेखेपछि म केमा काम गर्छु भनिरहन पक्कै पर्दैन । हाम्रा सञ्चारमाध्यम हेर्दा लाग्छ, 'महान महान हस्ती' का मात्रै छटपटी पस्कनका लागि हो, जो हामी गरिरहेकै छौं । त्यसैले नितान्त आफ्ना कुरा ब्लगतिर जतन गरियो ।

सामान्यतयाः हाम्रो बानी के छ भने जसलाई पर्खन्छौं, उसले ढिला गरे छटपटी हुन्छ । बारम्बार घडी हेर्छौं, मोबाइल थिच्छौं, फोन-म्यासेज गर्छौं । समय कटाउन साह्रै गाह्रो हुन्छ । जब उ आइपुग्छ, हामी त्यो दिक्दारी सबै बिर्सन्छौं । आवेशमा आउनेहरूका लागि प्रवचनहरूमा सुन्न पाइने राम्रो कुरा के छ भने 'तपाइँलाई रिस उठ्यो भने म किन रिसाएको हुँ ? रिसाउनु कतिको जायज हो ? नरिसाउँदा हुन्थेन र ! भनेर सोच्नू ।' सोच नै एकाग्र हुन नसकेका बेला यस्ता कुरा दिमागमा ल्याउनै सकिँदैन । ल्याउन प्रयास गर्दा पनि सजिलो पक्कै होइन । यदि सोचियो भने रिसको तापक्रम घट्छ । मान्छे सामान्य मनस्थितिमा फिर्छ । सम्भावित दुर्घटना टार्न सकिन्छ ।

क्लिनिक र अस्पताल पस्नेबित्तिकै देखिने टेलिभिजन सेट यसको एउटा प्रयास हो । आवेशमा आएको कसैको समय बाटामा केहीबेर ध्यानाकृष्ट गर्ने हरू कुरामा गए आफ्नो पुरानो तापक्रमबाट चिसिन्छ । प्रतीक्षाको केहीबेर बिरामी र तिनका कुरुवामा दुखाइ र आवेगको मात्रा घटेको महसुस गराएपछि मात्रै उपचारका प्रक्रिया थालिन्छन् । वरिपरि त्यस्ता धेरैथोक छन्, जसले हाम्रो आवेशको शिकार हुनबाट जोगिन मन भुलाइदिने वस्तु राखिएका छन् ।
  
लकडाउन अनुभवका गन्थन लेख्ने धृष्टता त्यही उपक्रम हो भनेर बुझौं । खुल्ला आएपछि अहिले कस्तो अनुभव गरिँदै भनेर बिर्सिहालिन्छ । सम्झना गरियो भने पनि अनुभवको तापक्रम नियन्त्रित आवस्थामै पुगेको हुनेछ ।

यतिबेला म ब्लग लेख्दै गर्दा युट्युबमा 'श्रीमद भगवद गीता सार | संपूर्ण गीता' सुन्दैछु । यति प्रष्ट भए हुन्छ यो कोही पाठक लक्षित लेखाइ होइन । आफूलाई लागेको दिक्क पोख्न समय बिताउने मेलो हो । 

०००
गत मंगलबारदेखिका तीन दिनको हाम्रो काम गराइ सहज पक्कै थिएन । किनभने, पत्रिकाको डेस्कमा चरणबद्ध र समूहमा काम नगरे सिलसिला मिलाउन गाह्रो पर्छ । समाचार सम्पादन गर्ने, प्रुफबाट आएपछि तिनलाई निश्चित पेजमा सबमिट गर्ने, जिम्मेवारी तोकिएको पेजका लागि समाचार र फोटा ठिक्क पार्ने,  पालो परेका डिजाइनरसँग मिलेर पेज तयार पार्ने । सल्लाहमा त्यसमा पुनः आवश्यक सम्पादन गर्ने । अरूले बनाएका पेज पनि हेरेर त्रुटि वा सुधारका सल्लाह दिने । डेस्क, प्रुफ र डिजाइनर गरेर २०/२२ जनाले गरिरहेको कामलाई एक्लाएक्लै घर घरबाट अनलाइन भएर काम गर्नु सहज नहुने रहेछ । तैपनि त्यो सिलसिला तीन दिन चल्यो ।

यतिबेला साथीहरू फोन कुराकानीमा भन्छन्- 'अरूले बन्द गरेका छैनन्, हाम्रोमात्रै किन बन्द ?' बन्द गर्नु हुन्थ्यो/हुँदैनथ्यो भन्ने बहसमा मजस्ता डेस्कमा काम गर्नेभन्दा वितरण र प्रेसका साथीहरूले मज्जाले बताउन सक्लान् । व्यवस्थापनले उनीहरूसँग पक्कै कुरा गरेर हाललाई प्रकाशन स्थगनको निर्णय गरेको हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।
जेबाट जसरी पनि संक्रमण हुन सक्छ भन्ने पुष्टि नै भइसकेपछि वितरक पनि त मान्छे हुन्, उनीहरूका पनि घरपरिवार छ, जोखिमको अवस्थामा अरूले घर घरबाट काम गरेर तल्लो तहमा काम गर्ने कर्मचारीको ज्यानको सुरक्षाप्रति गैरजिम्मेवार बन्न पक्कै मिल्दैन । अहिलेका लागि जे होस् स्थितिमा सुधार आउनेछ, हाम्रो दिनचर्या पूर्ववत् नियमिततामा फिर्नेछ भनेर पर्खनुको विकल्प रहेन ।

त्यसो त कोरोनाको त्रास बढ्दै जाँदा फागुन दोस्रो सातादेखि नै बाहिरभन्दा अफिसमै धेरै सतर्कता थियो । लिफ्टको ढोकैमा ज्यानको तापक्रम जाँच, तलापिच्छे सेनिटाइजर, ट्वाइलेटमा साबुन-पानीको व्यवस्था । सधैं ३०/३५ जना भेला हुने ग्रुप मिटिङ क्यान्सिल गरेर थोरै बस्ने, काम गर्नेहरूले दुरी मेन्टेन गर्ने, हात धोइरहने र रिपोर्टिङमा काम गर्नेले 'भर्चुअल' माध्यमबाट आफ्ना विषय बताउने अभ्यास अफिसमा सुरू भइसकेको थियो ।
    
०००
चैत ६ मा म घर पुगेको थिएँ । मोरङको सुन्दर हरैंचा नपा-३ लोचनी । गत वैशाखमा मैले पोखरा छाड्दा आफ्नो दसक पुरानो दुइपांग्रे वाहनलाई काठमाडौं ल्याउन उचित मानिँन । भाइलाई 'बेचिदिनू' भनेँ । 'स्प्लेन्डर प्लस' दिवा सेवाको बसको छतमा चढेर भाइकहाँ विराट चोक पुगेको थियो । म सपरिवार संघीय राजधानी खाल्डोमा आएँ ।

फागुन दोस्रो साता भाइले फोन गरेको थियो- 'तेरो बाइक बिक्री भयो, नामसारी गरिदिन आइज । सकभर छिटो आउनू ।' सवारीसाधन जसको नामको ब्लुबुक होस्, चलाए हुन्छ । सवारीधनीलाई समस्या त्यसबेला पर्छ, जब त्यो कुनै दुर्घटनामा पर्छ । अझ त्यो सवारीसाधन 'लाइसेन्स' नभएकाले हाँके र दुर्घटनामा पर्‍यो भने सवारीधनी नै पक्राउ परेका घटना देख्न-सुन्न मिलेकै हो । यसैले म घर नगइ नहुने भयो । साथीहरूको आलोपालो बिदा मिलानका क्रममा मैले 'होली' मा जाने मूड बनाए पनि जान पाइएन । अलि पछि जानुपर्ने भयो ।

२०७६ चैत ७ शुक्रबारका दिन इटहरीको हलगडास्थित यातायात कार्यालयमा 'को४प २१६९' का सवारीधनी फेरिए । करिब तीन घण्टा लाग्यो नामसारीको प्रक्रिया पूरा गर्न । काठमाडौं छाड्दा अफिस र बाटामा देखेजस्ता मास्कधारी इटहरीमा कमै थिए । देख्न मिलेको कोरोना सतर्कताको कुरा- गोरखा डिपार्टमेन्टल स्टोरले प्रदेशद्धार बाहिर धारा र साबुनको व्यवस्था गरेको थियो । भित्र पस्नुअघि साबुन-पानीले हात धुनुपर्ने ।

०००
बिहीबार मेरो साप्ताहिक बिदा परेको थियो । शुक्रबारदेखि मंगलबारसम्मका ५ दिनको बिदा लेखेर हिँडेको थिएँ । शुक्रबारै अफिसबाट खबर आयो- 'चैत १० सोमबारदेखि सरकारले लामो दुरीका सबै सवारी बन्द गर्दैछ ।' हामी जोडी नै घर गएका थियौं । दसैं-दसैंमा मात्रै घर टेक्ने जेठा छोराबुहारी समय निकालेर बीचमा आएकामा आमाबुवा खुसी हुनुभएको थियो।

मातापिताको बासभन्दा ९/१० किमि पर्तिर विराटचोकमा भाइको बसोबास छ । भाइका छोराछोरी पनि ठूलोबा-ठूलीआमा केही दिन बस्छन् भनेर खुसी थिए । लामो दुरीको यातायात बन्द भए त यतै फसिन्छ, अब के गर्ने ? हामीलाई फिर्न हतार भयो । मूल काम मोसाको ब्लुबुकमा नामसारी थियो, त्यो भइसकेको थियो । अरू भेटघाट, खानपान र किनमेल अरू सहज हुँदाका अवस्थामा पनि गरे भइजाने हुन् ।

लेटाङबाट काठमाडौं जाने माइक्रोमा आइतबार बिहान फिर्ने टुंगो गरियो । बिहान ३ बजे नै हिड्ने टुंगो भयो ।

आइतबार बिहान साढे ४ बजे माइक्रोले इटहरीसम्म ल्याउँदा यात्रु ६ जना, गाडी स्टाफ तीनजना मात्रै काठमाडौं पुग्ने टुंगो भयो । बाटामा निकै कम गाडी काठमाडौं जाने भेटिए, जति देखिन्थे, उनीहरूमा पनि फाट्टफुट्टमात्रै यात्रु थिए ।
छरिएर बसेका परिवारका सदस्य कोरोनाको त्रासका बीच घरमा भेला भइरहेका थिए । हामीलाई भने कर्मक्षेत्र जानै परेको थियो । आइयो । सोमबार नियमित ड्युटी भ्याउन अफिस पुगियो । काम गरियो । अनि भोलिबाट हुने 'लकडाउन' मा घरैबाट काम गर्ने मनस्थिति लिएर गुँड आइयो ।

०००

आफू बसेको डेराबाट निस्केर पल बाटो नटेकेको, मोटरसाइकल गेटबाट बाहिर ननिकालेको आज आज आठौं दिन हो । बिहान ८ बजे उठ्नु, नित्य कर्म सकेर एकपटक मोटरसाइकलसम्म पुग्नु, केहीबेर स्टार्ट गरेर घ्यार्र-घ्यार्र पार्नु, अनि भान्सा पसेर चिया पिउनु, ल्यापटप खोलेर बस्नु, अफिसका जिम्मेवारीमा परेका काम गर्नु, खाना खानु, टिभी हेर्नु र बेला बेला छतमा उक्लेर वरिपरि नियाल्नु गर्दै दिन बितेका छन् ।

लकडाउनले राजनीतिक परिवर्तनका बेला 'नेतालाई घरैमा बन्द' भनिएका समाचारमा आखिर कस्तो हुँदो होला भन्ने अनुभव गराएको छ । स्थितिले कोठा, चोटा, सुत्ने कोठा, भान्सा र बाथरूमबाहेक बाहिर जान नपाउनुका सकस केके हुँदा हुन् भन्ने कल्पनालाई 'यस्तो हो' भन्ने बुझाएको छ ।

हाम्रा लागि यो सकसमा पनि सन्तोष मान्ने कुरा के छ भने टेलिभिजन हेर्न पाइएको छ, एकैपटक 'युजर' धेरै 'एक्टिभ' भएर सेवा प्रदायकका सर्भर डाउन भए पनि इन्टरनेट चलाउन पाइएको छ । भलै यो इन्टरनेटले 'डायलअप' को जमाना किन नसम्झाओस्, चलेको छ । रिङ गरेपिच्छे 'कोभिड-१९' बाट बच्न 'यसो गरौं उसो गरौं' भनेर झर्को लाग्दो सन्देश बोले पनि मोबाइलले काम गरिरहेको छ ।

सामान थोरबहुत महंगै भए पनि तेस्रो-चौथो दिनदेखि डेरा नजिक डोरीको घेरा हालेर पनि किराना पसल खुलेका छन् । शायद जेलको बसाइ यस्तै हुँदो हो । हाम्रोभन्दा जेलको बसाइ कष्टकर हुनुपर्छ । किनभने त्यहाँ आधारभूत सुविधा थोरै हुन्छन् । सरसफाइ सजिलो हुन्न । मन लगेका कुरा किनेर खान्छु भने पनि सजिलो हुँदैन ।

०००
सामाजिक सञ्जालमा यतिबेला अर्ति-उपदेशदेखि मान्छे यो प्राइभेट-लिमिटेड बसाइमा केके गरिरहेका छन्, त्यो देखिन्छ । कतिपयले यो अवस्थालाई सिर्जनाकर्ममा उपयोगी भनिरहेका छन् । उदेक उदेक छ । एक सातामा पनि बन्दी जीवनमा अभ्यस्त हुन गाह्रो परिरहेको छ ।

स्कुले बेलामा मलाइ लाग्थ्यो, संसारमा धैर्यवान कोही हुन् भने एक नम्बरमा पसले र नाइ हुनुपर्छ । म देख्थेँ-बिहान पसल खोलेर सरसफाइ गरेर ग्राहक कुरिरहेका उनीहरू बेलुकी अबेरसम्म त्यही पसलको चौघेरामै हुन्थे/हुन्छन् । त्यस्तो दिनचर्यामा मान्छे कसरी अभ्यस्त हुँदो होला ? बडा जिज्ञासा हुन्थ्यो । किन उनीहरूलाई बाहिर जान मन नलागेको होला ?

अहिले लाग्छ, उनीहरूलाई हातमुख जोर्ने उपक्रमले बाध्य पारेको रहेछ । त्यसैले उनीहरू त्यसरी बस्न सकेका हुन् । मलाइ पछिसम्म लागेको के हो भने आफू पनि त्यसरी तिनै पसले जसरी बस्न सक्छु । लाग्नु र सक्नु फरक कुरा हो ।

कल्पना र भोगाइ फरक पर्छन् भन्ने यो अहिलेको बन्दाबन्दीले नै अनुभव गराइरहेको छ । छोराले १२ पूरा गरूञ्जेलका दुई वर्ष म आफ्नो 'बाइलाइन' को माया गर्दिन, नेपथ्यमा रहेर काम गर्छु भनेरै पोखराको चार वर्षे बसाइलाई बिट मार्दै काठमाडौं आइयो । करिब १० महिना बित्यो, मेरो रुटिन जे गर्छु भनेको थिएँ, त्यसबाट बिचलित छैन ।

मेमोरीकार्ड र ब्याट्री छुट्याएर क्यामेरा थन्क्याएको छु । अरूले लेखेकै हेर्दैछु । क्षमतालाई 'अन्डर इस्टिमेट' गर्नेहरूलाई पनि वास्ता नगरी जिम्मेवारीमा पारिएका काम गरिएको छ । केही यस्ता साथीहरू भेटिएका थिए, जो लामो समय काठमाडौंमा काम गरेर घर फिरेका थिए । उनीहरूको 'समाचार सम्पादन' र 'पेज सेटिङ' को खुबी अति मन परेको हो । उनीहरू किन फिरेछन् भन्ने चाहिँ यतिबेला काठमाडौंको बसाइले राम्रैसँग बुझाएको छ ।

दैनिक जिम्मेवारी, पारिश्रमिक, स्तर निर्धारण, डेराको बसाइ । थुप्रै आयाम छन् काम गराइका जसले आशा जगाउने र निराश पनि पार्ने रहेछ । अरू जिल्लामा बसेर काम गर्नु र काठमाडौंको रुटिनमा एउटै मूल फरक हो, काठमाडौं जे चाहन्छ त्यो पस्कन्छ, अरूले त्यो ग्रहण गर्नैपर्छ भन्ने मान्यता हाबी छ ।
  
०००

लकडाउन हट्ला र हामी पुनः नियमिततामा फिर्नेछौं भनेर यतिबेला पर्खनुको विकल्प छैन । किनभने लकडाउन काठमाडौं मात्रै होइन, पुरै देश हो र देशमात्रै होइन संसारका थुप्रै मुलुकले यस्तो अवस्था व्यहोरिरहेका छन् । प्रतीक्षाको यो दिन बिताइमा मननीय कुरा थुप्रै देखिरहेको छु ।

बच्चाहरू ठूला भएर एक्लाएक्लै बस्न रमाउने भएछन् । मोबाइलबाहेक अर्थोक नचाहिने भएछ । बाबुले घरबाटै अफिसका काम गर्नुपर्दा कम्प्युटर खोलेर एउटा कुना समात्ने,  आमाका आफ्नै काम । घरमा थुप्रैजना भए पनि शून्य । आमाका घरभित्रका आफ्ना नियमित कामलाई लकडाउनले फरक पारेको छैन । भात-भान्सा, सरसफाइ आदि सधैं एकनास चल्दो रहेछ ।

बेला बेला आमालाई फोन गर्छु । भन्नुहुन्छ 'तिमीहरूलाई यतै बस्न भन्नुपर्ने रहेछ । नातीलाई पनि यतै बोलाउन पाएको भए यो डरलाग्दो स्थितिमा परिवारका सबै सँगै भइन्थ्यो, हतार छ भनेर गइहाल्यौं ।' कोरोनासँग डराएर यसरी देश बन्दाबन्दी होला भन्ने कसलाई थाहा थियो र !

यो सरकारले कुनै राजनीतिक कारणले गरेको भए चर्को विरोध हुन्थ्यो । तर यो अवस्था सबैको ज्यानको जोखिमसँग जोडिएको छ । यतिबेला हामी घर घरमा छौं, सोचनीय कुरा चाहिँ के छ भने प्रहरी, सशस्त्र र सेना सडकमा छन् । भाइरसले सुरक्षाकर्मी र सर्वसाधारणमा विभेद गर्दैन । कर्तव्यका लागि काम गरिरहेकाहरूका परिवारमा कति चिन्ता होला ? के सोच्दा होलान् ? उनीहरू आफैं पनि यो जोखिममा कसरी मन बुझाइरहेका होलान् ?          

Sunday, January 7, 2018

चराका कुरा के लेख्ने ?


गत महिना राजधानीमा एउटा कार्यक्रम मैले सञ्चालन गरेँ । कुरा किताबको थियो । अरू विधा भए के कसो हो तर, किताब पनि 'लाटोकोसेरो' को । त्यो भेलाका लागि म २४ घण्टा राजधानीमा थिएँ । शुक्रवार बेलुकी ९ बजे चढेको बसले मित्र राजु आचार्य र मलाइ कलंकीमा बिहान कसरी ४ बजे उतारेको थियो ।
 

कार्यक्रम 'लाटोकोसेरो की बाठोकोसेरो' किताब विमोचनको थियो । डा. हेमसागर बराल र गुरु करणबहादुर शाहले किताब बिमोचन गर्नुभयो । कार्यक्रमपछिको चियापान  बसाइँमा प्राध्यापक शाहले मलाइ २/३ पल्ट नै 'भाइले लेख्न छाड्नु हुँदैन । लेख्नुस् । लेखीरहनुस्' भनिरहनु भयो । यस्ता उर्जा दिने प्रेरक मनुवासँगका बसाइँ आनन्दका हुन्छन् । लेख्न नछाडौं भइरहन्छ । तर, सजिलो छ र चराका कुरा लेख्न !
 
हामी अखबारी मजदुरलाई बिकाउ कुरा जहिल्यै 'राजनीति' रहिआएको छ । तै फरक विषयहरूमा लेख्दालेख्दै पनि चराका कुरा सजिलै सूचना पाइनेमा पर्दैन । वन, वातावरण, जैविक विविधता र चराका कुरा अखबारका नियमित पाठकका लागि नयाँ खुराकी हो । दिनु पर्छ । तर, सही सूचना जुटाउन समय लाग्छ । पोखरा बसाइँमा जैविक विविधतामा रूचि भएका र यही विषय पढ्ने-पढाउनेका जमातले पनि हौस्याउँछ । तर, म हिजोआज विषय हराएजस्तो भएको छु ।
 

चराका कुरा लेख्न फोटो राम्रो हुनुपर्छ । फोटा खिचेपछि जे खिचियो, त्यसका बारे बुझेकालाई भेटेर-सोधेर जानकारी जुटाउनुपर्छ । मसँग केही विषय छन् तर, 'अन्डर कन्स्ट्रक्सन ।' पत्रकारिता यस्तो पेशा हो जहाँ आफूले कलेजमा जुन विषय पढियो, त्यही विषयले पनि काम गर्न सघाउँछ । तर, धेरथोर लेख्नु सबैथोकका बारेमा पर्छ । राजधानी बाहिर रहेर  सञ्चारमाध्यममा काम गर्नेले 'म यो जान्दिन' भन्न पाउँदैन । अत: विषय चयन गरेर म केही चिजबिज तयार त पार्दैछु । तर, भन्न सक्दिन पुरापुर पढ्न हुने कहिले बनाउन सक्छु । 

भूगोलअनुसार पाइने चराका प्रजाति फरक छन् । तर, अन्नपूर्ण संरक्षण क्षेत्र यो मामिलामा धेरैथोक खोज्न र खिच्न-लेख्न सकिनेमा पर्छ । विषय भेटिन्छन् । तिनका पछि लाग्ने समय पर्याप्त छैन । तैपनि रूचिले डोर्‍याएको मान्छे क्यामेरालाई साथी बनाएर हिडेकै छ । 

के लेख्ने ?

चराका कुरा थुप्रै छन् । कहाँ केके पाइन्छन्, तिनको जीवनचक्रदेखि अहिलेका अवस्थासम्म विषयलाई रोचक बनाउनु आफ्नै रुचि र खोजीमा निर्भर छ । पहाडी बस्तीमा जाँदा दिनदिनै बन्दै गरेका पक्की घर, होटल, रिसोर्ट देख्दा अब गौ‌‌थलीले गुँड कहाँ लगाउँदा हुन् । यही विषय हुन सक्छ । हामीले आफ्ना बास बनाउँदा आफ्ना लागि बनाएका छौं । मान्छेकै आडमा बास लिने पंछीका प्रजाति थुप्रै छन् । कोही घरमै आएर बस्छन्, कोही बस्ती वरपर बस्न रुचाउँछन् ।
 
घडेरी बनाउने, जग्गा सम्याउने गरेको देख्न पाउनु सहज छ । रुखपात मासिएका छन् । घर फलेको फलेकै छन् । मान्छेले आफ्नो बास बढाएको बढाएकै छ । हामीले देख्दै आएका धाद्रा, धाप, वर्षैभरि चिस्यान रहने क्षेत्र पुरिएर तिनमा पनि घर फलेका छन् । ती क्षेत्रका जीवजन्तु बाटो लागे हुनन् ।


घरआँगनमा भँगेरा आउँछन् भने ती कहाँ बस्छन्, कसरी बस्छन्, के खान्छन् । आफैंमा यो विषय छ । सफासुग्घर चाहने मनुवा पन्छीका बिष्टा सफा झेल्न रुचिकर मान्दैन । त्यसैले गुँड लगाएर फोहोर झार्ने प्राणीले उकहाँ आश्रय लिन खोजे धपाउँछ ।
 
विषय छरपस्ट छन् । तिनलाई पठनीय बनाउनु लेख्ने स्वयंको जिम्मेवारी पनि हो भन्ने लाग्छ । चराका बारेमा लेख्दै गर्दा 'मलाइ चरा मन पर्दैन' भन्ने मान्छे मैले भेटेको छैन । बरू माइण्ड नगर्नुस् है भनेर  'त्यसको फ्राइ कति मिठो हुन्थ्यो होला' भन्नेलाई बराबर भेटिन्छ ।
 

चराहरू आकारमा जति साना हुन्छन्, तिनीहरूको गुँड उति नै मिहिनेत गरेर बनाएको देख्न पाइन्छ । जस्तो की फिस्टा, कालेबुंगे, तोप चरा । ठूला आकारका चराका गुँड नियालेर हेर्दा तिनलाई बनाइदिनु पर्छ की के हो जस्तो हुन्छन् । जस्तो की काग, ढुकुर, बकुल्ला, गरुड, चील, गिद्ध आदिका गुँड । झिक्रामिक्रा बटुलेर बनाइएका गुँडमध्ये हामीले सजिलै देख्न सक्ने भनेको बकुल्ला र ढुकुरका गुँड हुन् । आकाशमा निकै माथिसम्म उडान भर्नेहरू गुँड लगाउन पनि अग्ला ठाउँ रोज्छन् । जहाँ मान्छे सजिलै पुग्दैनन् ।
 

भूइँ-भूइँ र झाडी-बुट्यानमा सजिलै देख्न सकिने पन्छीका गुँड हाम्रै वरपर हुन्छन् । प्रकृतिले आआफ्नै प्रकारले गरिदिएको जीवनचक्रमा पंछी स्वार्थ राख्दैनन् । बरू हामी आस राख्छौं । तर, हामी न तिनको बास राख्छौं न त तिनलाई आफ्ना कारणले पर्ने बाधामा गम्भीरता ।

पहिले पहिले केके धेरै देखिन्थे/देखिँदैनथे, अनि अहिलेको अवस्था के हो बाट पनि विषय सुरु हुन सक्छ । बालीविरूवामा चलाउने विषादीले पनि तिनलाई असर पारेकै छ । चितवनका केही रिसोर्टमा देख्न पाइने रमाइलो दृष्य के हो भने पाकेका फलफूल बोटैमा छाडिदिनु । यस्तो गरे चरा आउँछन् । तिनीहरूले सजिलै आहारा पाउँछन् । हामी सजिलै फोटो खिच्न सक्छौं ।
 

केही चराचुरूंगीलाई हाम्रो बाली चक्रको प्रभाव परेको छ । वर्षभरि लगाइने बालीमा केके हटे, केके थपिए । त्यसबाट पनि विषय भेट्न सकिन्छ । चराले मन पराउने बाली घटे की घटेनन् ! पोखरामा फेवातालको पश्चिमी क्षेत्र पामेमा 'कुर्मा' आएर बस्न थालेको करीब एक दसक भएछ । दुई वर्षअघि मैले सजिलै तिनका हुल देख्न पाएको हो । तर, हिजोआज त्यहाँ खेती गर्नेभन्दा रेस्टुराँ र रिसोर्ट फलाउने धेरै भए । कुर्माले धान खाइदिन्छ । किसानले मन पराउँदैनन् । पहिले पहिले त्यो क्षेत्रमा कुर्मा मारेका घटना अहिले पनि सुन्न पाइन्छ ।
  

पोखरामै मैले हिड्दा-डुल्दा देखेको विषयमा भँगेरा र डाङ्ग्रे (सारौं/रुप्पी) पनि छन् । भँगेराका दुइ प्रजाति रूख भँगेरा र घर भँगेरा एउटै हुलमा देखिन्छन् । अनि जंगल मैना भनिने वनरूपी र कमन मैना भनि डाङ्ग्रे पनि सँगै घुमेका देखिन्छन् ।

पोखरामा रहेर तालका कुरा गर्दा अतिक्रमणको ब्यथा चर्को छ । मान्छेहरू तालको पानी मुनिको जमिनका लालपुर्जा हातमा लिएर बसेका छन् । फेवातालमा पानी उम्रँदैन । पश्चिममा अँधेरी, हर्पन र नगर क्षेत्रभित्र बुलौंदी र फिर्के खोला मुल स्रोत हुन् । हिउँदमा पानी थोरै रहने भएपनि चारैवटा खोलाले फेवातालको पानीलाई भरथेग गरेका छन् । नगरको घना बस्तीभित्र भएर बग्ने फिर्के र बुलौंदी नालामा परिणत भइसकेका छन् । यी दुई खोलाले तालमा ढलसहितको फोहर पुर्‍याउँछन् ।


पोखरा महानगरपालिकाले आव २०७४/७५ देखि फिर्केलाई संरक्षण गर्ने भन्दै योजना अघि सारेेको छ । तर, यसको कार्यान्वयन जटिल छ । कारण- खोलाको मापदण्ड मिचेर डीलै-डील बस्ती बसेको छ । अग्ला अग्ला घरहरूको साँधमा फिर्के धेरै ठाउँ सहजै देखिँदैन । ती घरहरू भत्काएर फिर्केलाई पुरानै अवस्थामा सुरक्षित पार्ने योजना प्रभावकारी रूपमा बढाउन स्थानीय सरकारलाई धेरै वर्ष लाग्न सक्छ । 

पोखरा महानगर बन्दा गाभिएको लेखनाथ क्षेत्रमा पनि बेगनाससहितका आठवटा ताल छन् । जहाँ जहाँ जलाशय, खोलानाला र जंगल छन्, त्यहाँ चरा छन् । तुलनात्मक रूपमा पुरानो पोखराभन्दा नयाँ पोखरा भन्न मिल्ने लेखनाथ क्षेत्रमा धेरै चरा छन् ।


लेखनाथ क्षेत्र धेरै पोखरेलीको खेती गर्ने कामत थियो । कालान्तरमा यहाँ पनि अव्यवस्थित बसोबास तीव्र भइसकेको छ । जहाँ खेती हुन्छ, त्यहाँ कीरा-फट्यांग्रा र मुसा हुन्छन् । तिनलाई आहारा बनाउने चराका थुप्रै प्रजाति पनि हुन्छन् ।  

पोखराको पछिल्लो अभ्यास परम्परागत तवरको खेतीभन्दा अन्य व्यवसाय छ । बोरामा चामल-दाल आइपुग्छ, तेल आउँछ । दूधको माग डेरीले पुरा गरिरहेकै छन् । त्यसैले खेतीका तुलनामा जमिन टुक्रयाएर घडेरीमा बेच्दा राम्रो घर, गाडी र विलासी आवश्यकताको सहज पूर्ति भइरहेको सहरले देखेको छ । खेतमा काम गर्न मजदुर, बिउ-मल र भित्र्याउन पर्ने लागत, समय र श्रमको हिसाब निकाल्दा जग्गा दलाल घडेरी किनबेचमा उत्साहित छन् ।


यसले परम्परागत कृषि प्रणालीमा असर पारेको छ । जसको असर वातावरणमा परेको छ । चराचुरुंगी र अन्य जीवमा परेको छ । यस्तो अवस्था एक्लो पोखरा उपत्यकाको मात्रै होइन । पटक पटक व्यवस्था फेरिए पनि कुनै  सरकारले बसोबास, उद्योग र खेती गर्ने क्षेत्र छुट्याएर नाप-नक्सा योजना निर्धारण गरेन । जसले गर्दा मनलाग्दी जतासुकै छ ।
केही ठाउँ औद्योगिक क्षेत्र त बनाएको छ तर, त्यहाँ उद्योग राख्न मन नलाग्नेले जहाँ चाह्यो कारखाना खोल्न सक्छ, जग्गा कारोबारीले जसले जतासुकैका जग्गा कित्ताकाट, प्लटिङ र किनबेच गर्न सक्छ। 'यो उर्वर जग्गा हो, यहाँ खेतीपातीबाहेक अर्थोक गर्न पाइँदैन' नभनिदिँदा खेती भइरहेका जहाँसुकैका जग्गामा घर बनाउन र उद्योग उभ्याउन पाइन्छ। केही नगरी बाँझै छाड्दा पनि कसैले केही भन्नेवाला छैन।

को ठूलो, कसका आवश्यकता महान
केही वर्षअघि मैले 'चमेरो बिचरो' लेख्दा सुरुवातमा एउटा व्यवसायीको प्रसंग उल्लेख गरेको थिएँ । विराटनगरका ती व्यवसायीले जहाँ आफ्नो व्यवसायिक प्रतिष्ठानका लागि भवन बनाएका थिए, त्यहाँ कुनै जमानामा वरको ठूलो रूख थियो । चार मान्छे उभिएर अंगालो हाल्दा पनि नसकिने गोलाइ थियो त्यो बरको रूखको । काटियो, घर उभियो ।

बर छउञ्जेल त्यहाँ झुण्ड झुण्ड चमेरा बस्थे । दिउँसो त्यो बरको रूख भएको बाटो हिड्दा अनौठो लाग्थ्यो । बासस्थान विनास भो, झुण्ड तितरबितर भयो । ती व्यापारीले भनेका थिए-बजारभित्र महंगो मूल्यको जग्गा चमेरा बस्छन् भनेर कसरी छाड्ने ? हामीले गरिखानु परेन ?' उनको तर्क नाजायज लागेको होइन । तर, हामी जहाँ जहाँ पुगौं, खेती हुने वा बाँझो जमिनका कुरा छाडौं । डाँडा, खोला धाप, पैनी, वन बुट्यान जे भएनि ती निजीकरण भए/भइरहेका छन् ।

मान्छेलाई घर चाहिएको छ । घर भएर पुगेन थुप्रै सम्पत्ति चाहिएको छ । आफ्ना लागि मात्रै चाहिएको छ । मान्छेकै इच्छा सर्वोपरि भइरहँदा प्रकृतिमा रहेका अरू जीवको वासस्थान विनास गम्भिरताको विषय मानिन्न । उनीहरू कहाँ जालान् ? 
   

पर्यटकीय नगरी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । अँ, पोखराको कुरा गर्दा यहाँ कसैले पनि त्यो विमानस्थलका विरूद्ध बोल्नुहुँदैन भन्ने जमातको जगजगी छ । जसले बोल्छ, त्यो पोखराको विकासको शत्रुमा दरिन्छ । विमानस्थल चाहिन्छ भनेर जग्गा छुट्याएको पाँच दसकपछि पनि योजना सरकारले सजिलै अगाडि बढाएको होइन । धेरै दिन आन्दोलन र धर्ना भए । विकासप्रेमी भनिएका अगुवाहरू यतिबेला 'हामीले गर्दा' भनेर भन्न छुटाउँदैनन् । 

अबको चार वर्षपछि विमानस्थल तयार भइसक्ला, विदेश आउजाउ गर्ने जहाज चढ्न पोखरेलीले काठमाडौंको जमिन टेक्न नपर्ला । योजनाकारका सुकिला कुरा रमाइला छन् । विमानस्थलले पोखराको विकासमा क्रान्ति ल्याएको छ । होटल-रेस्टुरेन्ट र अरू व्यवसायमा भविष्य देखाएको छ । पोखरामा लगानी आएको छ ।

यी गन्थनको अर्को एउटा पाटो चासोको छ, जो निकै कमले कुरा गर्छन् । विमानस्थलका लागि भनिएको जमिन वर्षौदेखि खाली थियो । त्यो वस्तुभाउको चरन क्षेत्रमात्रै थिएन, पोखरामा विभिन्न प्रजातिका गिद्ध सजिलै हेर्न पाइने ठाउँ थियो । घाँसे मैदानमा पाइने चराका थुप्रै प्रजाति त्यहाँ जाँदा सजिलै हेर्न सकिन्थ्यो । यतिबेला निर्माण धमाधम छ । त्यो क्षेत्रमा चौपाया हुल्न पाइँदैन । चराचुरुंगीले विकल्प खोजी सके हुनन् ।


दक्षिण एसियामा नौ प्रजाति गिद्ध पाइन्छन् । पोखरा उपत्यकामा मात्रै आठ प्रजाति हेर्न सकिन्थ्यो । जहाँ हाम्रो कृषि प्रणाली फेरिएर खेती गर्ने क्षेत्र घट्यो, त्यहीँ खेती भइरहेका ठाउँमा पनि किटनासकको उपयोग बढेको छ । ट्रयाक्टर र मिनीटिलरले जोते पुग्ने भएपछि गोरू पाल्ने झन्झट पनि रहेन । खेतमा पहिले पहिले जसरी मुसा लाग्दैनन् । जहाँ लाग्छन्, त्यो क्षेत्रमा पनि निकै कम भइसकेको छ ।

मुसा लाटोकोसेरो र चीलका विभिन्न प्रजातिको मुख्य आहारा हो । गिद्धले सिकार गर्दैन । मरेर फालिएका सिनो खान्छ । चौपाया पाल्न घट्यो । जहाँ जहाँ पालिन्छन्, त्यहाँ मरेका जन्तु बाहिर त्यसै फालिँदैनन् । पुरिन्छ, गाडिन्छ । 

सन् २०१५ सम्म गरपालुवा पशुलाई दर्द निवारकका रूपमा प्रयोगमा रहेको 'डाइक्लोफेनेक' को विषाक्त असरले थुप्रै गिद्ध मासिए । पछि त्यसको प्रयोगमा सरकारले बन्देज गरेपनि गिद्धका लागि हितकर वातावरणीय चक्र नै फेरिएको छ । गुँड लगाउन अग्ला रूख त मासिए नै, आहारा पनि नपाउने भएपछि गिद्ध अबका वर्ष झन दुर्लभ हुँदै जाने अवस्था छ ।

***
फेरि अर्को पटक थप लेखौंला । 

Wednesday, February 10, 2016

त्यो अन्तर्वार्ता



सोमबार रातिको खबर मंगलबार बिहान थाहा भो- पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला भौतिक शरीर छाडि बिदा भएछन्। मान्छे जन्मेपछि मर्छ, यसमा नौलो मान्नु केही छैन। भावपूर्ण श्रद्धाञ्जलि भन्नुबाहेक 'सुशीलदा'लाई सम्झेर रोइलो गाउनुपर्ने मेरो भागमा त्यस्तो उल्लेख्य केही छैन। 

गत पुस ५ मा उनी पोखरा आएका बेला अन्तर्वार्ता गर्न पाइएको हो। छापा माध्यमलाई उनको त्यो उनको सम्भवतः अन्तिम अन्तर्वार्ता थियो । र, मेरा लागि पत्रकारिता जीवनको पहिलो।

पहिलो यो अर्थमा की आफैंले लीड गरेर अन्तर्वार्ता गर्ने मौका त्यसअघि लागेको थिएन। धेरैजनाका यस्ता कुराकानीमा थुप्रैका नाम गाँसिएर आएका हुन्छन्। ती बेला आफूले प्रश्न गर्न मिलो/मिलेन, लेख्न सघाइयो/सघाइएन ती प्राविधिक कुरा हुन्छन्। साथमा गएकै कारण साथीहरूले नाम जोडिदिएका थुप्रै त्यस्ता अन्तर्वार्ता छन्, यद्यपि सुशीलदासँगको कुराकानी आफैंले अघि सरेर सहकर्मी शिव शर्माका साथ लिन मिल्यो।

त्यसो त उनले प्रधानमन्त्री पदबाट हटेपछि उनले त्यसरी अन्तर्वार्ता दिएको मैले पढ्न पाएको थिइँन। यस्ता बेला जब पार्टीको आसन्न तेह्रौं महाधिवेशनका लागि सभापतिमा आकांक्षी देखिएका उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवाको दौडधूप चलिरहेको थियो, उनी केही निराश देखिएका थिए। कुराकानीको वातावरण मिलाउन पनि ठूलै सकस परेको थियो।

कांग्रेस पार्टीमा देख्तै आएको एउटा असजिलो कुरा के हो भने पार्टीका प्रभावशाली नेताहरू आफ्ना जिल्लामा आइपुग्दा एयरपोर्टमा स्वागत गर्नेदेखि लिएर बास बस्ने गुँडसम्म कार्यकर्ता ओइरो लाग्छन्। 'दाजु दाजु, जय नेपाल दाजु' भन्छन्, छोप्छन्, अरूलाई कुरा गर्ने भेट्ने पालो सहजै दिँदैनन्। अरूबेला पार्टी कार्यालय पुगो भने मान्छे भन्ने छाया नि देख्न पाइँदैन। सुशीलदाको पोखरा बसाइको त्यो दिन पनि त्यस्तै थियो। भीडले छाड्दै नछाड्ने खालको।

***

एकछिन सुशीलदाका प्रसंग बिर्सँदा मेरो विराटनगर रहँदाका समय सम्झन्छु, पत्रकारितामा सबैले जानैपर्ने ठाउँ कोइराला निवास थियो। त्यो समाचारका विषय भइरहने ठाउँ।

नोना र गिरिजाप्रसादको अवसानपछि पनि डा. शेखरले त्यहाँ पत्रकार बोलाउँछन्, अहिले पनि बेलाबखत समाचारमा पढ्न-हेर्न मिल्छ। पिताजी कृष्णप्रसादको त्यो घर अझै छँदैछ। कोइराला परिवारका जस-जसको भागमा जति जति पुर्ख्यौली सम्पत्ति परेको थियो, ती जमिन बेच्दै गए। तिनमा घर, भवन उम्रिँदै आए। कोसी अञ्चल अस्पताल अगाडिको कोइराला निवास अब बाटाबाट सजिलै देखिँदैन। कांग्रेसको आन्दोलनका इतिहासको बखान मुलुकका जुन भागमा पुगे पनि नेता-कार्यकर्ताको मुखारविन्दबाट सुन्न मिलिरहन्छ। म पनि त्यहाँ धेरैपल्ट गएको थिएँ/गएको छु। 

लाग्थ्यो, बिपी, मातृका, गिरिजा आदि नेताका बारेमा, कोइराला परिवारको इतिहासका बारेमा पछिल्ला पुस्ता, अध्ययनकर्ता आदिलाई मात्रै होइन कांग्रेस पार्टीकै विकासक्रम बुझ्न चाहनेका लागि त्यो निवास संरक्षण गरिनुपर्छ। मुलुक जुन राजनीतिक विकासक्रमबाट अघि बढेको छ, त्यसका जानकारी दिने धरोहर कुनै एउटा परिवारको निजी सम्पत्ति मात्रै होइन, जुनसुकै शासन व्यवस्थाले पनि इतिहास संरक्षण गर्नुपर्छ। विराटनगरलाई मात्रै सम्झँदा पनि त्यहाँबाट व्यापार थाल्ने गोल्छा, सारडा, दुगड, राठी लगायतका व्यापारीक घराना हुन् की पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, कसैका बारेमा अध्ययन गर्ने थलो संरक्षित गरौं भन्ने चेत अझै जिम्मेवारहरूमा आएन। 

महेन्द्र चोकको राजा महेन्द्रको सालिक ढालियो, त्यहाँ अझै ठुटो छ। हुन त सभ्यताको विकासक्रम नै यस्तै होला, पुर्खाका चिनो जतन गरि राख्दा कुनै पुस्तालाई ती फोहर कति कहिलेसम्म ठाउँ ओगट्ने गरि राखिरहने भन्ने लाग्दो होला।

ऐतिहासिक धरोहरको संरक्षणमा चासो जगाउन हामी सञ्चारकर्मीले पनि नसकेका होलाउँ। मुलुकलाई एकपछि अर्को संक्रमणकालले छाड्दै छाडेन, जिम्मेवारलाई त्यो चेत आउँदै आएन।

*** 

पूर्वाञ्चलबाट अब पोखरा आएपछि मैले विराटनगरको खबर लेख्नुपर्दैन, त्यो कोइराला निवासको त झन् किन पो पर्थ्यो ! तर, कांग्रेस-कम्युनिष्ट पार्टीका खबर नलेखम् भनेर सुख त मुलुकभरि जता पुगे नि छैन। म्युजिकल-चियर जस्तो सत्ता राजनीति कांग्रेस र बामपन्थी पार्टीकै सेरोफेरोमा घुम्छ।

सुशील कोइरालाका कार्यक्रमको रिपोर्टिङ गर्नुपरेको मेरो साह्रै कम अनुभव छ। यसको कारण- उनी विराटनगरको कोइराला निवास होइन बाँके जिल्ला बस्थे। त्यही उनको राजनीतिक व्यक्तित्व विकासको ठाउँ थियो। धेरैपल्ट कार्यक्रममा विराटनगर आउँथे। तर, प्रधानमन्त्री नहुञ्जेल उनको कार्यक्रमको रिपोर्टिङ अखबारमा साह्रै ठाउँ पाउने विषय बन्थेन।

साथीहरूका साथ धेरैपल्ट गिरिजाप्रसादका सामाचार र फोटो सञ्चारमाध्यमका लागि नछुटाइ पठाउनुपर्ने विषय हुन्थ्यो। छुच्चा, टर्रा लाग्ने ती गिरिजाप्रसाद विराटनगर आएरै बोल्थे, जे बोल्थे। त्यसले पनि त्यो निवास नगइ सुख थेन। 

कहिले सबै भेला भएर अब के बोल्ने हुन् भनेका बेला 'आज केही बोल्दिन, सबैजना जाओ' भन्थे। अरू साथीहरू भएका बेला केही बोलिगए समाचार छुट्ला भन्ने तनाव हुन्थ्यो। सम्पादक नै फोन गर्थे - 'जे बोल्छन् सप्पै पठाउने, फोटो पनि त्यो भनाइलाई जस्टिस हुने हुनुपर्छ।' साथीहरूले सामाचारमा ध्यान दिन्थे, मलाई फोटोको काम नै गह्रौं थियो। तर, जे भए नि गिरिजाप्रसाद जे बोल्थे, फ्रन्टपेज हुने बोल्थे।

समय फेरियो। जनताको अपेक्षाअनुसारको विकास र रोजगारीका अवसर नबढे पनि राजनीतिक घटनाक्रम यस्तरी फेरियो की अब विराटनगरमै गएर कोही त्यसरी बोल्ला भन्ने अवस्था रहेन। गत वर्षदेखि मेरो पनि कार्यक्षेत्र फेरियो। विराटनगरबाट पोखरा आइपग्दा यहाँ पनि थुप्रै कोइरालाका निवास देखेको छु। तर, राजनीतिक वृत्तमा जोडदार खबरमा समेट्नुपर्ने अझसम्म त कोही छैनन्।

सुशील कोइरालाको सादा जीवनबारे धेरै कुरा अरू जसरी नै पढेर थाहा पाइन्छ। उनको प्रधामन्त्रीत्वकाल, काम गराइ, उपासना-आलोचना आदि–इत्यादि बेलाबखत खबर लेख्नैपर्ने जिम्मेवारीले आइपर्नेबाहेक साह्रै धेर सरोकारका विषय पनि परेनन्।   

***   
गत पुस १६ मा स्याङ्जा पार्टी कार्यालयको उद्घाटनका लागि उनी एक बास पोखरामा बसेका थिए। जिल्ला ब्युरो संयोजक साथी गंगा बीसीले फोन गरे -'सुशील कोइराला पोखरा आउँदै छन्। इन्टर्भ्यु गर्न सक्नुहुन्छ ?' नसक्ने भन्ने कुरा के भो र ! तर, उनी बोल्लान  की नबोल्लान भन्ने पो ठूलो दुविधावाला कुरा परो । मैले 'हुन्छ । सक्छु' भनेँ।

हाम्रा सञ्चारमाध्यममा हालसम्मको काम गराइको अभ्यास के हो भने केन्द्रीय नेतासँगका अन्तर्वार्ता सकेसम्म राजधानीमा कार्यरत साथीहरूले मात्रै गर्छन्। यस्तो किन भनेर सोधियो भने यसमा दुई प्रमुख कारण छन् भन्ने मलाई लाग्छ।

पोलिटिकल बीटका, अझ सम्बद्ध पार्टीका सामाचारको जिम्मेवारी भएका संवाददातालाई राजनीतिक घटनाक्रम थाहा हुन्छ। निरन्तर अप्डेट गरिरहने भएकाले नेताको स्तर, उसको भनाइ-गराइ सबै थाहा हुन्छ, के सोध्ने र त्यसबाट तयार हुने लेखोट कतिको 'डिजर्भिङ' हुन्छ भन्ने थाहा हुन्छ। नेताहरूसँग पहिल्यैको चिनजानलाई पनि उसले उपयोग गरेर कुरा गर्ने पहुँच बनाउने बाटो बेग्लै छँदै हुन्छ। सम्पादक, चीफ-रिपोर्टरको पनि सल्लाहमा काम गर्न पनि सजिलो, लेखाइको भाषामा जिल्लाका भन्दा तुलनात्मक दख्खल। यसले गर्दा अन्तर्वार्ता लिनेमा पनि आत्मविश्वास हुन्छ।

राजधानी बाहिरको पत्रकारले एउटा खास बीटमा काम गर्न पाएको हुँदैन। त्यसैले उ परनिर्भर जस्तो हुन्छ, उसले पठाउने समाचार छापिन्छ भन्ने ग्यारेन्टी नहुने भएकाले आत्मविश्वासको मामिलामा राजधानीको संवाददाता जतिको 'कन्फिडेन्ट' हुँदैन। र, उसले मिहिन तरिकाले राजनीतिक खबर ध्यानमा राख्दैन। आम बुझाइ पनि यही हो। केही संवाददाता फरक बानीबेहोरा र कार्यशैलीका हुनु अपवाद मानिन्छ। 

डेस्कले पनि काठमाडौंबाहिर रहेर काम गर्नेलाई यो अभ्यास नगराउने चलनले उसको कामप्रति केन्द्र ढुक्क हुँदैन। जिम्मेवारी दिने नगर्दा जिल्ला संवाददाताले त्यो अभ्यास गर्न पाएकै हुँदैन। खास घटना वा व्यक्ति केन्द्रित विषयमा लेख्न परे 'काठमाडौंबाट कोही आइहाल्लान म किन टाउको दुखाउने' भनेर जिम्मवारी लिन नपरे सुख ठान्ने बानी आफ्नो ठाउँमा छँदै हुन्छ।

उपरोक्त कुरा परे हाम्रो पत्रकारिताको चलेको चलनका। तर, कान्तिपुरका सवालमा बेलाबखत केन्द्रले क्षेत्रीय ब्युरो र जिल्लास्तरका संवाददातालाई प्रसंगको महत्त्व र उसको कार्यक्षमताका आधारमा मौका दिने गरेको छ। मधेस आन्दोलनको समय आन्दोलनकारी तथा जिम्मेवार कतिपय नेतासँगका कुराकानी काठमाडौंले बाहिरी जिल्लाका साथीहरूलाई गर्न लगाएर प्रकाशित भएका हुन्। योपटक अन्तरवार्ताको जिम्मेवारी त्यही मौकामध्येको थियो।

म सुशीलदाको प्रसंगमा फिर्छु। 'हुन्छ' त भनिगएँ तर, कांग्रेसका नेताहरू चिनेको थिएन। उनी कहाँ बस्छन्, के कार्यक्रम हो भन्नेसम्म थाहा थिएन। र, अचानक अन्तर्वार्ताका लागि भेटेर भनिहाले पनि सुशील कोइराला मान्लान् वा नमान्लान् भन्ने थाहा थिएन। सहकर्मी शिव शर्मालाई मोटरसाइकल पछाडि लिएर म निस्किएँ। कार्यक्रम के हो, बास कता, कोमार्फत कुराकानीको सहजीकरण गराउने भन्ने बुझ्न समय लागेन। कास्कीका कांग्रेस सांसद यज्ञबहादुर थापा र जिल्लाका युवा राजबहादुर गुरुङसँग फोनमा कुरा गरेँ। थापा एयरपोर्टमा थिए। उनले सुशीलदा आउने ठाउँमा पुग्दै गरे हुन्छ भने।

थापा र गुरुङ दुवैले पहिलो फोन कुराकानीमै सुशीलदासँग संवादको मौका मिलाइदिने बताए। मेरो यी दुवैसँग यसअघि यसरी अनुरोध नै गर्नुपर्ने जसरी औपचारिक भेट भएकै थिएन। थाहा भयो कोइराला त्यो रात लेकसाइडमा अर्जुन कुँवरको घरमा बस्नेछन्। कोइरालाहरू प्राय सबैजसो नेताको बानी कतै पनि भरसक होटलमा बसौं भन्ने भएको निकै कम सुन्न पाइएको हो। उनीहरू आफ्ना कुनै पुराना कार्यकर्ता, हितैषी वा आफन्तकहाँ बस्छन्। सुशीलदाले पनि त्यही गर्दा रहेछन्।

कुँवरको घरमा हामी उनी आइपुग्नु १० मिनेट अघि नै पुग्यौं। आएपछि 'नमस्कार' को औपचारिकतासँगै अन्तर्वार्ता लिन्छौं भन्यौं। उनी पहिलो भेटमै तर्किए। 

'मसँग किन कुरा गर्नु ? पर्दैन।' 

कार्यकर्ताको हुल आउन थाल्यो। हामी कुरिरह्यौं। करिब आधा घण्टापछि सांसद यज्ञबहादुर थापाले सहजीकरण गरिदिए। कुरा सुरू नगर्दै उनले २/३ पटक भनेका थिए -'पत्रकारले कुरा ट्वीस्ट गर्छन्। भैगो नबोलौं। मैले बोल्नुपर्ने नै केही छैन।' 

यस्तो सुन्दा नरमाइलो पनि लागेको हो। यति जिम्मेवार नेतालाई हाम्रो पत्रकारिताप्रति कस्तो शंका !

उनले प्रधानमन्त्रीबाट हटेपछि त्यसरी बोल्न नपरेको बताएका थिए। मैले भने 'हेर्नुस्, तपाई अहिले प्रधानमन्त्रीबाट हटे पनि जिम्मेवार दलको जिम्मेवार नेता हो। पार्टी अधिवेशनको तयारीमा छ, देशले मधेसको आन्दोलनबाट दुःख पाएको धेरै दिन भइसक्यो। तपाइँ कसरी चुप लागेर बस्नु हुन्छ, केही नबोल्ने ? नबोलेर हुन्छ ?' सांसद थापाले सही थापे। 

थापाले बोलाउन साँच्चै बल पुर्‍याएका हुन् । शायद उनका लागि प्रतिष्ठाको कुरा पनि थियो। पार्टी सभापतिले पोखरा आएर बोल्दा ठीकै हुन्छ भनेर। सुशीलदाले आफ्ना कुरा जस्ताको तस्तै राख्नुपर्छ भन्ने सर्त गराए। गरियो । अनि बल्लतल्ल बोल्न माने।

उनीसँग ३६ मिनेट कुरा गरियो। २००७ सालबाट, १७, ३२, ३६, ४६, ६२-६३ र नयाँ संविधान अनि मधेस आन्दोलनसम्मका। बिपीले के-के भन्थेदेखि नयाँ सरकारको मूल्यांकन अहिल्यै गरिहाल्नु हतार हुनेसम्मन। कुराकानीका क्रममा उनले लामो बोल्थे, बीचमै रोकेर सोध्नु पर्थ्यो। 

सुरूमा बोल्न नमानेका उनले बोल्दै गएपछि अलि खुलेर कुरा गरेका थिए। अन्तमा मैले सोधेको थिएँ -'तपाइँ योपल्ट सभापति छाड्नुहुन्छ की रहिरहने ?,' उनी जंगिएका थिए -'यो कस्तो प्रश्न हो, मैले के बिगारेको छु ?' एकैछिनमा शान्त भए र, उत्तरमा जे भने त्यो अन्तर्वार्तामा प्रकाशित छ।

केही कार्यकर्ताले 'कति कुरा गरेको ? भएन ? लामो भो ? दाइलाई दिक्क नपार्नुस्' भन्दै हतार लाएका थिए। मोबाइलको रेकर्डर अफ र डायरी ब्यागमा राखेपछि पनि उनले भने 'भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला।' मैले 'केही पनि ट्वीस्ट हुँदैन, ढुक्क हुनुस्' भनेर आश्वस्त पारेपनि एक मनमा लागेको थियो -'यो परिस्थितिमा मैले चाहिने चाहिने कुरा पो गरेँ की गरिँन होला। मलाइ केन्द्रका साथीले काम लाग्ने केही रैनछ भन्ने पो हुन् की।'

कुराकानी सक्नै लागेका बेला तारानाथ रानाभाट आइपुगेका थिए। अन्तर्वार्तामा छापेको फोटो कुराकानी गरिसकेपछि खिचेको हो। फोटो खिच्दा उनी हामीसँग होइन रानाभाटलगायत कास्कीका आफ्ना अगुवा कार्यकर्तासँग गफिन सुरू गरेका थिए।

त्यो साँझ हतार हतार आएर लेखियो । भोलिपल्ट ती हिजो 'छिटो कुराकानी सक्नुस् , भएन ?' भन्नेमध्येकै एकले फोन गरेर धन्यवाद दिए। 'भाइ पत्यारै लागेको थिएन जस्ताको तस्तै लेखिदिनु हुन्छ भनेर,' उनले भने, 'बुढालाई दाजु तपाइँको इन्टरभ्यु आको रैछ हेर्नुस् भनेर पत्रिका देको, हेरे, पट्याएर कोटको खल्तीमा राखिहाले । फिर्तै देनन्।'

***

('भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला' शीर्षकमा मंगलबार इ-कान्तिपुरको 'ब्लग' मा प्रकाशित आफ्नै लेखोटलाई यता मैले थपथाप पारि लम्बेतान बनाएर जतन गरेको हो ।)

त्यो अन्तर्वार्ता - पछिल्लो अन्तर्वार्तामा कोइरालाले भनेका थिए- संकट लामो नजाला (साइट डिजाइन फेरिएकाले लिंक ब्याक राख्दा पनि चिजबिज नभेटिने भइगएकाले लिंकब्याक हटाइएको छ।)